काठमाडौं: बढ्दो सुक्खायामका कारण खोला तथा नदीमा जलसतह घट्दा नदी प्रवाही जलविद्युत् आयोजनाको विद्युत् उत्पादन करिब २५ प्रतिशतको हाराहारीमा सीमित हुन पुगेको छ। झण्डै दुई सय मेगावाट बिजुली उत्पादन गर्ने काबेली करिडोरको पछिल्लो उत्पादन झण्डै ३० मेगावाटको हाराहारीमा छ। सोही कारण बिजुली आपूर्तिमा समस्या देखिँदा पूर्वका केही उद्योगमा समस्या देखिएको छ। यद्यपि, पूर्णरुपमा बिजुली काटिएको भनेर उद्योगी तथा व्यवसायीले लगाएको आरोपमा प्राधिकरणले भनेको छ, “पूर्णरुपमा बिजुली काटिएको होइन, पूर्ण क्षमतामा नचलाउनुस् भनिएको हो। ‘लाइट लोड’ कायम छ।” विराटनगर क्षेत्रमा उद्योगी तथा व्यवसायीले प्राधिकरणले लोडसेडिङ गरेको भन्दै विरोध गरेका छन्। प्राधिकरणले आइतबार विराटनगर क्षेत्रमा नियमित रुपमा बिजुली आपूर्ति गरेको छ। कुनै पनि समस्या नरहेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिनुभयो। उहाँले भन्नुभयो, “सुक्खायाममा औद्योगिक क्षेत्रको लोडसेडिङ गतवर्ष भन्दा सहज अवस्थामा छौँ। एकाध क्षेत्रमा केही प्राविधिक समस्या देखिएको थियो। त्यो समाधान भइसकेको छ।” धेरै ठाउँबाट आयात गर्न सक्ने अवस्था नभएका कारणले पनि केही जटिलता स्वभाविक रुपमा पैदा भएको जानकारी दिँदै भन्नुभयो, “उद्योगले विगत केही समयदेखि लोड काटियो भनेर उजुरी गरेका थिए। रुपैनीमा प्राविधिक समस्या देखिएको थियो। सोही कारण पूर्वाञ्चलमा समस्या भएको हो। अहिले कुनै जटिलता छैन।” बिजुली नभएर भन्दा पनि प्रसारण लाइनको क्षमता अभावमा ‘ओभरलोड’ भएर समस्या भएको भए पनि अहिले सामान्य भइसकेको कार्यकारी निर्देशक घिसिङको भनाइ छ। गतवर्ष वैशाखको पहिलो साता कूल जडित क्षमता दुई हजार मेगावाट बराबर थियो। यस पटक जडित क्षमता दुई हजार छ सय मेगावाट बराबर पुगेको छ। तर यसवर्ष तर हिउँ कम परेकाले पनि नदीमा जल सतह घटन गई उत्पादन घटेको छ। यसवर्ष जडित क्षमतामा वृद्धि भएको भए पनि गत वर्षको तुलनामा २५ देखि ३० प्रतिशत उत्पादन घटेको छ। निजी क्षेत्रका आयोजना औसतमा १५ प्रतिशत हाराहारीको क्षमतामा मात्रै चलिरहेका छन्। औद्योगिक ग्राहकको विद्युत् माग बढेको छ। त्यो माग सात सयदेखि आठसय मेगावाट बराबर छ। तराईमा पानी नपर्दा सिँचाइमा प्रयोग हुने बिजुलीको खपत बढेको छ। कार्यकारी निर्देशक घिसिङका अनुसार अहिले सिँचाइका लागि एक सय ५० देखि दुई सय मेगावाटसम्म बिजुली खपत भइरहेको छ। अहिले भारतमा पनि विद्युत् माग बढेकाले भारतले बेलुका सात बजेदेखि राति २/३ बजेसम्म बिजुली नपठाउने गरेको छ। ढल्केबर(मुजफ्फपुर अन्तरदेशीय प्रसारण लाइनबाट मागअनुसार बिजुली आयात गर्न सकिने भए पनि पूर्व–पश्चिम जाने प्रसारण लाइनको क्षमताका कारण सम्भव नभएको उहाँको भनाइ छ। आगामी एक वर्षभित्र निर्माणाधीन हेटौँडा(ढल्केबर(इनरुवा प्रसारण लाइनको निर्माण सक्ने प्राधिकरणको योजना छ। सो प्रसारण लाइनको क्षमता चार सय केभीको छ। यस्तै, हेटौँडा(भरतपुर(बर्दघाट प्रसारण लाइन पनि आगामी वर्षभित्र सम्पन्न हुनेछ। सो प्रसारण लाइनको क्षमता दुई सय २० केभी क्षमताको छ। उद्योगी व्यवसायीलाई बिहान बेलुका कम चलाउन आग्रह गरिएको र त्यसैलाई बिजुली पाइएन भनेर गलत प्रचार गर्नुको अर्थ नभएको कार्यकारी निर्देशक घिसिङको भनाइ छ। “प्रि-मनसुन सुरु हुनुअघि समस्या हुनसक्छ। तर अर्को वर्षको सुक्खा समयमा यो समस्या आउँदैन”, कार्यकारी निर्देशक घिसिङले भन्नुभयो। प्रसारणलाइनका कारणले छोटो समयका लागि समस्या देखिएको हो। केही समयपछि फेरि हामी निर्यातमा जानुपर्ने उहाँको भनाइ छ। “कम्तीमा पनि एक हजार मेगावाट बिजुली निर्यात गर्नैपर्छ। त्यसका लागि आवश्यक तयारी भइरहेको छ”, उहाँले भन्नुभयो। प्राधिकरणले कूल चार सय ५२ मेगावाट बिजुली भारत निर्यात गरेको थियो। अझै एक दर्जन आयोजनाको बिजुली निर्यातका लागि अनुरोध गरिएको छ। उहाँले सन् २०५० सम्मको आपूर्ति व्यवस्थापनका लागि प्रसारण, सवस्टेशन निर्माणका लागि रु १० खर्ब बराबरको लगानी जरुरी रहेको जानकारी दिनुभयो। हाल दैनिक अवस्था हेरी पाँच सय मेगावाट बराबरको बिजुली आयात भइरहेको छ। रासस
चितवन: नेपाली काँग्रेस चितवनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति र प्रमुख जिल्ला अधिकारीले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको भन्दै निर्वाचन कार्यालयमा उजुरी दिएको छ । निर्वाचन भइराखेको समयमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा उम्मेदवार रवि लामिछानेले फेसबुक लाइभमार्फत मत मागेको, मतदान स्थलमा हूलहुज्जत गरी प्रचार गरेको र प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले वेवास्ता गरेको भन्दै उजुरी हालेको हो । नेपाली काँग्रेसका निर्वाचन प्रतिनिधि ध्रुवराज पोखरेलले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिनुभएको हो । उहाँले उजुरीपत्रमा निर्वाचन ऐन, निर्देशिका, कार्यविधि र निर्देशन बमोजिम कारबाही गरी पाऊँ भनी प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार जीतनारायण बेडको तर्फबाट उजुरी पेश गर्नुभएको छ । निर्वाचनमा प्रशासनबाट आवश्यक सहयोग भएन र रास्वपाले आचारसंहिता उल्लङ्घन भएको भनी उजुरी परेकाले त्यस पत्रमाथि आवश्यक अध्ययन हुने मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी ईश्वर आचार्यले जानकारी दिनुभयो ।
रुपन्देही: बुद्धजयन्ती तथा लुम्बिनी दिवसको अवसरमा विभिन्न कार्यक्रमको तयारी सुरु भएको छ । प्रत्येक वर्ष वैशाख शुक्लपूर्णिमाको दिनलाई गौतमबुद्धको जन्मजयन्तीका रूपमा मनाउने गरिन्छ । यसपटक वैशाख २२ गते परेको २५६७औँ बुद्धजयन्तीलाई भव्य बनाउन लुम्बिनी विकास कोषले मूल व्यवस्थापन समिति र विभिन्न उपसमिति गठन गरिसकेको छ । बुद्धजयन्तीको तयारीका लागि विकास कोषका उपाध्यक्ष भिक्षु अवधेशकुमार त्रिपाठीको संयोजकत्वमा मूलसमिति गठन गरिएको छ । विकास कोषका कोषाध्यक्ष सानुराजा शाक्यको संयोजकत्वमा सुरक्षा र स्वयंसेवक उपसमिति गठन गरिएको छ । त्यस्तै कोषाध्यक्ष सिद्धिचरण भट्टराईको संयोजकत्वमा प्रचारप्रसार उपसमिति र योजना प्रमुख सरोज भट्टराईको संयोजकत्वमा मञ्च, सरसफाइ र वृक्षारोपण उपसमिति गठन गरिएको छ । यस्तै पुरस्कार तथा सम्मान व्यवस्थापन उपसमिति, पूजा परित्राण उपसमिति, बिहार गुम्बा समन्वय उपसमिति, देवदह, रामग्राम, कपिलवस्तु समन्वय उपसमिति, सुरक्षा, छात्रवृत्ति, खेलकुद, यातायात, भोजन तथा प्रसाद, शोभा यात्रा व्यवस्थापन उपसमिति गठन गरिएको छ । विश्व शान्तिको प्रमुख केन्द्र लुम्बिनीमा हुने बुद्धजयन्तीको औपचारिक कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन कार्यक्रम भएकाले उक्त अवसरलाई प्रभावकारी बनाउन भव्य तयारी भएको लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले जानकारी दिनुभयो । सो अवसरमा नेपालस्थित विभिन्न देशका राजदूतलाई कार्यक्रममा निमन्त्रणा गरिएको छ । बुद्ध जयन्तीको अवसरमा गरिने कार्यक्रमका लागि लागि रु एक करोड बजेट विनियोजन गरिएको विकास कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराईले जानकारी दिनुभयो । गौतमबुद्धको जन्म भएको, बुद्धत्व प्राप्त गरेको र महापरिनिर्वाण प्राप्त गरेको दिनलाई त्रिसंयोग दिवसका रूपमा समेत मनाउने गरिन्छ । इसापूर्व ६२३ वैशाख शुक्ल पूर्णिमाका दिन रुपन्देहीको लुम्बिनीमा बुद्धको जन्म भएको थियो । पहिलो सन्तानको माइतीमा जन्म दिने तत्कालीन परम्परा अनुसार मायादेवी आफ्नो माइती देवदह जान लागेका बेला लुम्बिनी उद्यानमा गौतमबुद्धको जन्म भएको थियो । राजा शुद्धोधनको दरबारमा राजकुमार भएर रहेका सिद्धार्थले मानिसले पाएको दुःख देखेर त्यसबाट मानव जातिलाई छुट्कारा दिने उद्देश्यले २९ वर्षको उमेरमा दरबारको सुख छोडी तपस्या गर्न निस्किनुभएको थियो । वैशाख शुक्ल पूर्णिमाकै दिन उहाँले बुद्धगयास्थित बोधिवृक्ष (पीपलको रुख) मुनि बुद्धत्व प्राप्त गर्नुभएको थियो । वैशाख शुक्ल पूर्णिमाकै दिन उहाँको महापरिनिर्वाण भएको थियो । त्यसै वर्षदेखि बुद्धजयन्ती मनाउन थालिएको हो । बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण (मृत्यु) वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्धजयन्ती मनाउने गर्दछन् । राजकीय बुद्ध बिहार लुम्बिनीका प्रमुख संरक्षक भिक्षु सागर धम्मका अनुसार सारनाथमा चार आर्य सत्यका विषयमा बुद्धले पहिलो प्रवचन गर्नुभएको थियो । जसमा संसार दुःखै दुःखले व्याप्त छ, दुःखको कारण छ, दुःखको अन्त्य हुनसक्छ र दुःखको अन्त्यका उपाय वा मार्ग पनि छन् भन्ने विषय रहेको थियो । बुद्धले आर्य अष्टाङिक मार्ग र पञ्चशीलको उपदेश पनि दिनुभएको छ । बुद्ध दर्शनअनुसार मध्यम मार्ग भनेकै आर्यअष्टाङ्कि मार्ग हो र यो मार्ग नै दुःख मुक्तिको उपयुक्त मार्ग हो । यसमा सम्मिलित ८ मार्गको इमानदारीपूर्ण अभ्यासबाट नै दुःखलाई अन्त्य गरी निर्वाण प्राप्त गर्न सकिने भिक्षु धम्मको भनाइ छ । आर्य अष्टाङ्कि मार्गमा सम्यक् दृष्टि, सम्यक् सङ्कल्प, सम्यक् वचन, सम्यक् कर्म, सम्यक् जीविका, सम्यक् व्यायाम, सम्यक् स्मृति, सम्यक् समाधि पर्दछन् । यसैगरी पञ्चशीलमा चोरी नगर्नु, झुटो नबोल्नु, यौन व्यभिचार नगर्नु, मद्यपान नगर्नु र हिंसा नगर्नु रहेका छन् । मानव समुदायका लागि आवश्यक यी उपदेश दिएकैले बुद्धलाई एसियाका तारा उपाधिले पनि सम्मान प्रकट गरिन्छ । हिन्द दर्शनले बुद्धलाई विष्णु भगवानको नवौँ अवतार मान्दछ । यसैकारण वैशाख शुक्ल पूर्णिमामा हिन्दु र बौद्ध दुवै धर्मावलम्बीले बुद्धलाई पूजा गरी बुद्धजयन्ती मनाउँछन् । वि।संं २००८ जेठ ८ गते बुद्धजयन्तीका दिनदेखि यस पर्वका अवसरमा देशभर सार्वजनिक बिदा दिन थालिएको हो । विसं २०१२ फागुन ७ गते लुम्बिनीमा बुद्धजयन्तीका दिन हत्या, हिंसामाथि प्रतिबन्धको घोषणा गरिएको थियो । विश्वशान्तिका अग्रदूत भगवान् गौतमबुद्धको जन्मजयन्तीका दिन संयुक्त राष्ट्रसङ्घीय प्रणालीमा पनि सन् २००२ देखि सार्वजनिक बिदा दिइँदै आएको छ । बुद्धजयन्तीका अवसरमा लुम्बिनीसहित विभिन्न जिल्लामा रहेका बौद्ध विहार तथा गुम्बामा बुद्ध पूजा र शोभा यात्राको तयारी गरिएको छ । लुम्बिनी र कपिलवस्तुमा विशेष सरसफाइ बुद्धजयन्ती नजिकिँदै गर्दा लुम्बिनी र कपिलवस्तुमा विशेष सरसफाइ अभियान चलाइएको छ । विकास कोषका कर्मचारी तथा नेपाली सेनाले लुम्बिनी परिसरमा विशेष सरसफाइ गरिरहेका छन् । शनिबार लुम्बिनी विकास कोषले शान्तिदीप, मायादेवी मन्दिरको बाहिरी क्षेत्र, मुख्य नहर क्षेत्रसहित– ४ नं र ५ नम्बर गेट वरपरको क्षेत्रमा सफाइ गरेर अभियानको सुरुवात गरेको हो । ग्रीन लुम्बिनी क्लिन लुम्बिनी’ भन्ने नाराका साथ बुद्धजन्मस्थललाई सफा र स्वच्छ राख्ने उद्देश्यले अभियान सुरु गरिएको हो । विकास कोषका योजना प्रमुख तथा मञ्च, सरसफाइ र वृक्षारोपण उपसमितिका संयोजक सरोज भट्टराईले बुद्धजयन्तीको अवसरमा विकास कोषभित्रको फोहर सङ्कलन गरेको बताउनुभयो । “सङ्कलन गरिएको फोहोर कहाँ फाल्ने भन्ने समस्या छ । दिगो समाधानका लागि उपाय पनि खोज्दै छौँ”, उहाँले भन्नुभयो । नियमित रूपमा सफाइ गर्दै आए पनि ४ नम्बर र ५ नम्बर गेट नजिकै स्थानीयले फोहर फाल्ने गरेकाले सचेतनाका लागि कोषका पदाधिकारी, कर्मचारी, नेपाली सेना, प्रहरी, स्थानीय अगुवाको सहभागितामा जनचेतनाका लागि सरसफाइ गरिएको उहाँले बताउनुभयो । फोहर व्यवस्थापनको दिगो समाधान नहुँदा स्थानीय केही होटल व्यवसायी विकास कोषको परिसरलाई नै डम्पिङ साइट बनाएका छन् जसले गर्दा महिलबार क्षेत्रमा प्रदूषण बढेको छ । लुम्बिनीमा वृक्षारोपण गरिने बुद्धजयन्तीका अवसरमा लुम्बिनीमा पाँच सय ६७ बिरुवा रोपिने भएको छ । विकास कोषभित्र विभिन्न फलफूलका बिरुवा रोप्ने तयारी गरिएको विकास कोषका योजना प्रमुख तथा मञ्च, सरसफाइ र वृक्षारोपण उपसमितिका संयोजक भट्टराईले जानकारी दिनुभयो । विकास कोष परिसरमा आँप, लिची, अम्बा लगायतका विभिन्न जातका फलफूलका बिरुवा रोपिने विकास कोषले जनाएको छ । रासस
चितवन: चितवनको भरतपुर-११ स्थित नयाँकिरण मावि मतदानस्थलमा विवादले स्थगित मतदान पुन: सुरु भएको छ । रास्वपा र अन्य दलका समर्थकबीच विवाद हुँदा ११:१५ मिनेटदेखि मतदान अवरुद्ध भएको थियो । रास्वपा सभापति रवि लामिछाने मतदान केन्द्रमा पुग्दा समर्थकले नाराबाजी गरेपछि स्थिति तनावग्रस्त बनेको थियो । मतदान अधिकृत कमला न्यौपानेका अनुसार रास्वपाले आचारसंहिता उल्लंघन गरेको स्वीकार गरी माफी मागेपछि सर्वदलीय सहमतिमा दिउँसो सवा ३ बजेदेखि पुन: मतदान सुरु भएको हो । यो मतदानस्थलमा यसअघि ४० प्रतिशत मत खसिसकेको छ । ‘रास्वपाबाट मतदान भइरहेको समयमा आचारसंहिता उल्लंघन गर्ने कार्यक्रम संचालन भएको पाइयो। उक्त दलबाट क्षमायाचना गर्ने निर्णय गरियो,’ दलहरुबीच भएको सहमतिमा उल्लेख छ । रास्वपाले आचारसंहिता उल्लंघन गरेको जानकारी मुख्य निर्वाचन कार्यालयलाई जानकारी गराउने निर्णय पनि भएको छ। त्यस्तै, मतदानस्थलमा शान्ति सुरक्षा कायम गर्न तीन सय मिटर वरीपरी कुनै गतिविधि नगर्ने सहमति पनि भएको छ।
तनहुँ: तनहुँ क्षेत्र नम्बर-१ मा अहिलेसम्म ३५ प्रतिशत मत खसेको छ । आज भइरहेको उपचुनावअन्तर्गत मतदानमा दिउँसो पौने २ बजेसम्म ३५ प्रतिशत मत खसेको निर्वाचन कार्यालय तनहुँले जनाएको छ । यस क्षेत्रमा एक लाख २३ हजार तीन सय पाँच मतदाता रहेका छन् । अहिले एक सय ५२ वटै मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान चलिरहेको छ । बिहान ७ बजेदेखि सुरु भएको मतदान बेलुकी ५ बजेसम्म चल्नेछ । निर्वाचन क्षेत्रमा व्यास नगरपालिकाका ५ र ६ बाहेक १२ वडा, देवघाट गाउँपालिका, आँबुखैरेनी गाउँपालिका, बन्दीपुर गाउँपालिका र भानु नगरपालिका पर्दछ । तनहुँ क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित हुनुभएपछि रिक्त ठाउँमा उपचुनाव भएको हो । उपचुनावका लागि नेपाली काङ्ग्रेसबाट गोविन्द भट्टराई, नेकपा एमालेबाट सर्वेन्द्र खनाल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट डा. स्वर्णिम वाग्ले, राप्रपाबाट शोभा गुरुङ, नेपाल मजदुर किसान पार्टीबाट रामप्रसाद प्रजापति, राष्ट्रिय जनमुक्ति पार्टीबाट पूर्णबहादुर राना, मङ्गोल नेशनल अर्गनाइजेशनबाट प्रेमबहादुर थापा, नेकपा समाजवादीबाट गणेश श्रेष्ठ, नागरिक उन्मुक्ति पार्टीबाट भीमबहादुर सुनार प्रतिस्पर्धामा हुनुहुन्छ ।
काठमाडौं: बैशाख २९ गते रिलिज हुने नेपाली चलचित्र ‘हल्कारा’ले चिठ्ठी लेखन प्रतियोगिता आयोजना गरेको छ । प्रतियोगितामा सहभागि हुन आफ्नो जीवनबाट टाढा भईसकेका, आफुले अत्यन्तै चाहेका, आफुले चाहेर पनि नपाएका अथवा आफुले सँधै सम्झिरहने व्यक्तिलाई पत्र लेख्नुपर्नेछ । उत्कृष्ट पत्र लेख्ने ३ जनाले पुरस्कार प्राप्त गर्ने निमार्ण पक्षले जनाएको छ । चिठ्ठी लेखन प्रतियोगिताको प्रथम हुनेले ५० हजार द्वितीय हुनेले ३० हजार र तृतीय हुनेले २० हजार पुरस्कार प्राप्त गर्ने छन् । पत्र चलनचल्तिको सेतो कागजको ए ४ साइजको पानामा लेखिएको हुनुपर्नेछ र नेपालको गोश्वारा हुलाक कार्यालयमा पठाइएको हुनुपर्नेछ । पत्र औपचारिक शैलीमा लेखिएको हुनुपर्नेछ । अभिवादन र समापन समावेश गर्नुपर्नेछ । एकभन्दा बढी पाना आवश्यक परेमा प्रयोग गर्न सकिनेछ । पत्र कम्तीमा ५०० देखि बढीमा १००० शब्दमा लेखिएको हुनुपर्नेछ । पत्र नेपालभर वा विदेशबाट जो कोही नेपालीले पठाउन सक्नेछन् । खाम तथा चिठ्ठीमा आफ्नो कुनैपनि सरकारी परिचयपत्रमा भएको नाम हुनुपर्नेछ। प्रेषकमा आफ्नो नाम र ठेगाना प्रष्ट लेखिएको हुनुपर्नेछ भने प्रापकमा ‘नेपाली चलचित्र हल्कारा परिवार’ लेखि ठेगाना काठमाडौँ, नेपाल, पोस्ट बक्स नम्बर १४१४ लेखि पठाउनु पर्नेछ । चिठ्ठीको अन्तिममा यूट्युबमा रहेको चलचित्र ‘हल्कारा’को ट्रेलर हेरी आफुलाई बुझेको कथा लेख्नुपर्नेछ। चिठ्ठीमा आफ्नो नाम र ठेगानासँगै सम्पर्क फोन नम्बर लेखेको हुनुपर्नेछ। विदेशबाट प्रेषित हुने चिठ्ठीमा आफ्नो नेपालमा हुने निकटतम व्यक्तिको परिचय समेत लेख्नुपर्नेछ । यस प्रतियोगिताको निर्णायकहरुमा विप्लब प्रतिक कवि तथा साहित्यकार, मनोजबाबु पन्त चलचित्रकर्मी र महेश त्रिपाठी अभिनेता रहेका छन् । प्रतियोगिताको मापदण्डमा रहेका पत्रहरुको रचनात्मकता, मौलिकता, विषयवस्तुको पालना, व्याकरण र हिज्जे र समग्र प्रभावलाई समीक्षा गरी उत्कृष्टता मापन हुनेछ । पत्र पठाउँदा २०८० बैशाख १० गतेदेखि चलचित्र ‘हल्कारा’ रिलिजको मिति बैशाख २९ गते भन्दा ९ दिन अगाडी बैशाख २० गते सम्म पठाइसकेको र बैशाख २५ गते सम्म पोस्ट बक्समा प्राप्त भैसकेको हुनुपर्नेछ । ‘हल्कारा’ रिलिजको मिति बैशाख २९ गतेभन्दा २ दिन अगाडी बैशाख २७ गते पुरस्कार घोषणा हुनेछ । आफ्ना भावनाहरू र तपाईंको हृदयले व्यक्त गर्न चाहेका अलिखित कुराहरुलाई व्यक्त गर्ने माध्यमको रुप हुनसक्छ भन्ने पत्र लेखन प्रतियोगिताको प्रमुख उद्देश्य रहेको चलचित्रका निर्देशक बिक्रम सापकोटाले बताए । सापकोटाले भने, “हामी तपाईंका पत्रहरु पढ्नको लागि पर्खिरहेका छौँ । उत्कृष्ट पत्र लेख्न सक्ने ३ जनालाई पुरस्कार पनि प्रदान गर्दैछौँ ।” गाउँमा चिठ्ठी पुऱ्याउने एक हल्काराको माध्यमबाट वैदेशिक रोजगारीले नेपाली समाजमा पारेको प्रभावलाई यस चलचित्रले प्रस्तुत गर्छ । चलचित्रमा अभिनेता महेश त्रिपाठीले हल्कारा अर्थात् हुलाकीको चरित्र निर्वाह गरेका छन् । यो चलचित्रलाई कालीपार स्टुडियोले निर्माण गरेको हो भने आइसफल प्रोडक्सनको सहकार्य रहेको छ । यो चलचित्रले विभिन्न प्रतिष्ठित अन्तराष्ट्रिय चलचित्र महोत्सवहरुमा सहभागिता जनाई उत्कृष्ट अभिनेता, सिनेमाटोग्राफी एवं उत्कृष्ट चलचित्र बनिसकेको छ । महेश त्रिपाठी र बिनिता थापामगरको प्रमुख अभिनय गरेको यस चलचित्रका लेखक, निर्देशक तथा सम्पादक विक्रम सापकोटा हुन् । यसमा विप्लव प्रतीक र आकाश बरालले सह९लेखन गरेका छन् । महेश र बिनिताको साथमा शारदा गिरी, रोशनी कार्की, पशुपति राई, उमेश तामाङ्ग, विद्या कार्की, प्रकाश दाहाल, बिष्णुभक्त अधिकारी, दीपक क्षेत्री लगायतको अभिनय रहेको छ । यो चलचित्र पूर्णरुपमा ‘कमर्शियल’ तथा मनोरञ्नात्मक कथानक चलचित्र रहेको निर्देशक सापकोटाले बताए । “यो चलचित्रलाई हामीले पूर्ण ‘मेनस्ट्रिम’मा रहेर बनाएका छौँ । यसको कथा भन्ने क्रममा पूर्ण मनोरञ्जनात्मक र व्यावसायिक दृष्टिकोणबाट बनाएका छौँ”, निर्देशकले भने । यो चलचित्रले सबैभन्दा पुराना फेस्टिवलहरु मध्ये एक ‘वल्र्डफेस्ट ह्युस्टन फिल्म फेस्टिवल २०२२’मा सर्वश्रेष्ठ चलचित्रको अवार्ड ‘प्लेटिनम रेमी’ प्राप्त गरेको छ भने सोहि फेस्तिवलमा महेश त्रिपाठीले उत्कृष्ट अभिनेता र चिन्तन राजभण्डारीले उत्कृष्ट सिनेमाटोग्राफी अवार्ड प्राप्त गरेका छन् । साथै, ‘नेपाल अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२२’मा उत्कृष्ट ‘लङ्ग न्यारेटिभ फिल्म ‘फ्लिकर्स रोड आइल्याण्ड अन्तर्राष्ट्रिय फिल्म महोत्सव २०२२’मा सेमिफाइनलिस्ट र यूकेको ‘कार्मार्थेन बे फिल्म फेस्टिवल २०२२’मा सेलेक्सनमा परेको थियो ।
चितवन: चितवन क्षेत्र नम्बर २ मा भइरहेको उपनिर्वाचनमा भरतपुर –११ नयाँ किरण मावि मतदान केन्द्रमा मतदान स्थगित भएको छ । प्रहरीका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछाने उक्त केन्द्रमा पुगेपछि उनका समर्थकले नाराबाजी गरेपछि अन्य दलका कार्यकर्ताले मतदान केन्द्रमा नाराबाजी गर्न पाइँदैन भन्दै विरोध गर्दा मतदान स्थगित भएको हो । सो क्रममा दुई पक्षबीच धकेलाधकेल भएको थियो। रास्वपाले उक्त धकेलाधकेलमा आफ्ना केन्द्रीय सदस्य दीपक बोहोराको मोबाइल फुटाइएको बताएको छ। उनी भिडिओ खिचिरहेका थिए। स्थगित भएको मदान सुचारू गर्न छलफल भइरहेको छ। अहिले मतदानस्थलमा छलफल जारी रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत ईश्वरी आचार्यले जानकारी दिए। नाराबाजी गरेसँगै आचारसंहिता कार्यान्वयन नभएको आरोप अन्य दलका प्रतिनिधिले लगाएका छन्। सर्वदलीय बैठक बसेर मतदान प्रक्रिया सुरू गर्ने तयारी भइरहेको उनले बताए। ‘बैठकको तयारी भइरहेको छ, जटिल समस्या नभएकाले बैठकपछि मतदान सुरू हुन्छ,’ उनले भने।
काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा बनेका सवारी साधन दर्ता प्रक्रियाका लागि कानुनको मस्यौदा छिट्टै अगाडि बढाउन तथा प्रोत्साहनको नीति ल्याउन निर्देशन दिएका छन् । आइतबार बिहान प्रधानमन्त्री प्रचण्डले नेपाल सरकारका मुख्यसचिव शङ्करदास वैरागीलाई नेपालमा बनेको सवारी साधन दर्ता नभएको भन्ने गुनासो आएको भन्दै नागरिकको गुनासो सम्बोधन हुनेगरी दर्तासम्बन्धी कानुनको तयारी गर्न र नेपाली उत्पादनलाई प्रोत्साहन गर्ने नीति अख्तियार गर्न निर्देशन दिएका हुन् । प्रधानमन्त्रीले “यात्री” लगायतका नेपालमै उत्पादित सवारी साधनले दर्ता भई काम गर्न नपाएको भनि सञ्चारमाध्यममा आएका गुनासोप्रति आफू गम्भीर रहेको भन्दै सोका लागि आवश्यक कार्यविधिलाई छिटो टुङ्गोमा पुर्याउन मुख्यसचिवलाई निर्देशन दिएका हुन् । प्रधानमन्त्रीको निर्देशनलगत्तै मुख्यसचिवले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधु मरासिनीलाई तत्कालै नेपालमा उत्पादित सवारी साधनको दर्ता एवम् प्रवर्द्धनसम्बन्धी कानुनको मस्यौदा बनाई पेश गर्न निर्देशन दिएका छन् ।
दमौली: तनहुँको बन्दीपुर गाउँपालिकामा निर्माणाधीन केबलकारका ‘डिब्बा’ जडानको तयारी थालिएको छ । बन्दीपुर केबलकार एन्ड टुरिजम लिमिटेडले सो केवलकार निर्माण गरिरहेको हो । लिमिटेडका अध्यक्ष रामचन्द्र शर्माले डिब्बा जडानका लागि सम्पूर्ण टावर तयार भइसकेको र अब डिब्बा जडानको कामलाई अगाडि बढाउन लागिएको जानकारी दिनुभयो । उहाँका अनुसार केबलकारका २१ डिब्बा आइपुगेको छ । “अब डबल सिफ्टमा कामलाई तीव्रता दिन्छौँ, दुईवटा सामान बोक्ने र छवटा रेष्ट्रो क्याविन आउन बाँकी छ”, उहाँले भन्नुभयो । केबलकारको परीक्षण आगामी वैशाख २५ गतेदेखि सुरु गर्ने तयारी छ । “केबलकारका टावर, तार सबै जोडिसकिएको छ, डिब्बा जडानको काम अब दु्रतगतिमा अगाडि बढ्छ”, उहाँले भन्नुभयो । केबलकारभित्रै रेष्टुरेन्ट सञ्चालनको तयारीसमेत गरिएको छ । साँझ ५ बजेपछि केबलकारभित्रै रेष्टुरेन्ट सञ्चालन हुनेछ । “केबलकारभित्र रेष्ट्रोको सुविधा प्रत्येक आकर्षण र हट प्रडक्ट बन्छ, प्रत्येक दिनको अफ आवर साँझ ५ देखि ९ बजेसम्म यो सेवा दिने तयारीमा छौँ”, अध्यक्ष शर्माले भन्नुभयो । उहाँका अनुसार तल्लो र माथिल्लो स्टेशनमा रेष्टुरेन्ट हुने भएकाले रेष्ट्रो प्याकेजमा सेवा दिन सक्नेछ । विसं २०७५ साउनदेखि केबलकार निर्माणको कामलाई अगाडि बढाइएको थियो । विसं २०८० मङ्सिरभित्र पाँचतारे होटल, माघभित्र सम्मेलन केन्द्र निर्माण सम्पन्न गर्ने लक्ष्य छ । जेठभित्र भ्यूजरुम, असारभित्र वाक्स म्युजियम, साउनभित्र जीपलाइन, भदौभित्र बन्जी, स्काइवाक, असोजभित्र रेष्ट्रो क्याबिन सम्पन्न गर्ने लक्ष्य लिइएको छ । बन्दीपुर गाउँपालिका–४ बरालथोकमा पाँचतारे होटलको निर्माण पनि तीव्रगतिमा भइरहेको छ । केबलकार सिधै होटलभित्र छिर्ने प्रविधिसहित काम भइरहेको छ । पाँचतारे होटलसहितको केबलकारमा लगानी वृद्धि भएको छ । केबलकार र होटलको क्षमता बढेकाले लगानी पनि वृद्धि भएर रु दुई अर्ब ६० करोड पुगेको छ । यस अगाडि केबलकारको क्षमता प्रतिघन्टा तीन सय रहेकामा त्यसलाई बढाएर पाँच सय पु¥याइएको छ । होटलको कोठा सङ्ख्या ६६ रहेकामा त्यसलाई बढाएर ८७ पु¥याइएको छ । दश तल्लाको होटलसहितको भवनमा आधुनिक भ्यूटावर, बेनक्युट हल र ८० कोठाका स्तरीय होटल निर्माण हुनेछ । होटलको पूर्वाधारको काम सकिएको र फिनिसिङको काम बाँकी रहेको छ । यहाँ ल्यान्डस्क्यापिङ र कृत्रिम झरना पनि बनाइनेछ । बन्दीपुरको ऐतिहासिकता झल्कने गरी बन्दीपुर घडी, बन्दीपुर गार्डेन बनाउने लक्ष्य लिइएको छ । यस गार्डेनभित्र बटम स्टेशनको पाँच तलामाथिबाट पानीको आकर्षक झरना बनाइनेछ । यसले पर्यटकलाई लोभ्याउने विश्वास गरिएको शर्माले बताउनुभयो । यसैगरी वाटर पार्क, म्युजिकल वाटर शो बनाउने लक्ष्य छ । बन्दीपुर–४ ठुल्ढुङ्गाबाट सुरु हुने केबलकार सोही वडाको बरालथोकसम्म पुग्छ । केबलकारबाट एसियाकै ठूलो दाबी गरिएको विमलनगरस्थित सिद्धगुफा पनि अवलोकन गर्न सकिनेछ । ठूल्ढुङ्गास्वाँराबाट सुरू हुने केबुलकार सिद्धगुफाको छेउ हुँदै बन्दीपुरको उचाइसम्म पुग्नेछ । केवलकारले एक किलोमिटर छ सय मिटर यात्रा गर्नेछ । केबलकारको साधारण सेयरको सार्वजनिक निष्काशन ९आइपिओ० खुला गर्न सम्झौता भइसकेको छ । लिमिटेडको प्रतिसेयर अङ्कित मूल्य रु एक सय दरका २५ लाख ८० हजार कित्ता साधारण सेयर प्रचलित कानुनबमोजिम सार्वजनिक निष्काशन तथा बिक्रीका लागि सम्झौता भइसकेको छ । रु तीन अर्ब ४९ करोड कुल परियोजना लागत रहेको कम्पनीको चुक्ता पुँजी रु दुई अर्ब १५ करोड रहेको अध्यक्ष शर्माले जानकारी दिनुभयो । त्यसमध्ये चुक्ता पुँजीको दुई प्रतिशत अर्थात् रु चार करोड ३० लाख परियोजना प्रभावित स्थानीयवासीलाई छुट्याइनेछ । चुक्ता पुँजीको १० प्रतिशत रु २१ करोड ५० लाख सर्वसाधारणलाई छुट्याइने शर्माले बताउनुभयो । आरकेडी रियल स्टेट एन्ड कन्स्ट्रक्सन प्रालि, पन्चासे केबुलकार एन्ड टुर्स प्रालि, टुरिजम इन्भेष्टमेन्ट फन्ड लिमिटेड, बन्दीपुर गाउँपालिका र स्थानीयवासीको लगानीमा केबलकार परियोजना निर्माणको काम भइरहेको छ । लगानीदाता कम्पनी नेपाल र विदेशमा बस्ने नेपालीहरूको कम्पनी हो, जहाँ एक हजार एक सयभन्दा बढी लगानीकर्ता छन् ।

