पोखरा: गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले श्रमको सम्मान गर्ने शासन नै लोकतन्त्र रहेको बताएका छन् । अन्तर्राष्ट्रिय मजदूर दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री पाण्डेले दिनरात श्रम गरेर हातमुख जोर्ने श्रमजीवीहरुको हक, अधिकार र स्वतन्त्रतालाई स्थापित गर्दै सबै वर्गका मजदुरहरुलाई एकताको सूत्रमा बाँध्न यस दिवसले सहयोग गर्ने विश्वास व्यक्त गरेका हुन् । उनले भनेका छन्, ‘विसं २००७ को ऐतिहासिक जनक्रान्तिको जग विराटनगर मजदुर आन्दोलन नै थियो । यस अवसरमा विसं २०१६ मा नेपाली कांग्रेसको जन–निर्वाचित सरकारले कारखाना र मजदूरसम्बन्धी कानुन तर्जुमा गरेर, मजदुरहरुलाई कानुनसम्मत् अधिकार प्रदान गरेको सन्दर्भ स्मरण गर्दछु ।’ मुलुकमा भएका विभिन्न चरणका राजनीतिक आन्दोलनहरुको अग्रपंक्तिमा जुट्ने श्रमिक वर्गको उच्च योगदानको सम्मान गर्दै मुलुकमा समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने संवैधानिक प्रावधानले मूर्तरुप लिन सकेमात्र यो वर्गको उचित सम्मान हुने मुख्यमन्त्री पाण्डेको धारणा छ । शासन व्यवस्था संस्थागत हुने क्रममा नेपाली श्रम क्षेत्रमा अझै पनि अनेकन समस्या रहेको भन्दै उनले ती समस्याहरुको क्रमैसँग समाधान गर्दै मजदूर वर्गकोे हक, हित सुरक्षाका लागि गण्डकी प्रदेश सरकार सदा प्रतिबद्ध रहेको उल्लेख छन् । सन्देशमा उल्लेख छ, ‘मजदुर वर्गको आर्थिक हैसियत माथि उकास्न सकेमात्र राजनीतिक परिवर्तनले सार्थकता पाउन सक्छ ।’ मुख्यमन्त्री पाण्डेले देश विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी/दाजुभाइहरुमा विश्वभरका श्रमिकहरुको अधिकार स्थापित भएको दिन अर्थात् अन्तर्राष्ट्रिय मजदुर दिवसका अवसरमा सुख, शान्ति, समृद्धि एवं श्रम अधिकार सुनिश्चितताको कामना गर्दै शुभकामना व्यक्त गरेका छन् ।
पोखरा: चलचित्र पत्रकार संघ कास्कीका संस्थापक अध्यक्ष श्रीराम सिग्देल राष्ट्रिय चलचित्र पत्रकारिता सम्मानबाट सम्मानित हुनेभएका छन् । चलचित्र पत्रकार संघ नेपालले आगामी जेठ ७ गते २४औं वार्षिक उत्सवको अवसरमा उनलाई सम्मान गर्न लागेको हो । सिग्देलसँगै अन्य देश भरका अन्य ५ पत्रकार सम्मानित हुँदैछन् । संघको आइतबार सम्पन्न केन्द्रीय समितिको बैठकले राष्ट्रिय मोफसल चलचित्र पत्रकारिता पुरस्कार २०८० बाट चलचित्र पत्रकार संघ नेपाल चितवन शाखाका निवर्तमान अध्यक्ष तथा चलचित्र पत्रकार रवि अधिकारी, राष्ट्रिय चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार २०८० बाट श्रृष्टि पोखरेल, राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार २०८० बाट दीपज्योति थापा, राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार २०८० कुबेर डंगोल, राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान २०८० बाट तुलसी गिरी भावुक र राष्ट्रिय चलचित्र पत्रकारिता रजत सम्मान २०८० बाट शान्तिप्रियलाई सम्मान गर्न लागेको चलचित्र पत्रकार संघ नेपालका महासचिव रघुनाथ सापकेटाले जानकारी दिए । बैठकले संघका पूर्व सदस्यहरुलाई मानार्थ सदस्य र चलचित्र पत्रकारिता गरिरहेका क्रियाशिल चलचित्र पत्रकारहरुलाई साधारण सदस्यता वितरण गर्ने निर्णय गरेको संघका केन्द्रीय अध्यक्ष समीर बलामीले बताए । २०५४ साल देखि पोखरालाई कर्मथलो बनाई निरन्तर पत्रकारिता गर्दै आएका सिग्देलको नेतृत्वमा २०६० सालमा चलचित्र पत्रकार संघ कास्कीको स्थापना भएको थियो ।
काठमाडौँ; सशस्त्र प्रहरीले प्रति आतंकवाद इकाई गठन गरेको छ । प्रति आतंकवाद इकाई गठन गरेर काम सुरु गरिएको सशस्त्र प्रहरीका प्रवक्ता एसएसपी राजेन्द्र खड्काले जानकारी दिएका छन् । सोमबार सशस्त्र प्रहरी प्रधान कार्यालयमा पत्रकारहरूसँग कुरा गर्दै सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक खड्काले सो कुरा बताएका हुन् । खड्काले भने– ‘प्रति आतंकवाद इकाई गठन गरेर काम प्रारम्भ गरिएको छ ।’ प्रतिआतंकवाद इकाईमा काम गर्ने अधिकारीहरूलाई कार्य तालिका बनाएर तालिम प्रदान गर्न लागिएको एसएसपी खड्काले जानकारी दिए ।
पोखरा: लायन्स क्लब अफ पोखरा ब्लु स्काईले विद्यार्थीलाई शैक्षिक सामाग्री तथा पोशाक वितरण गरेको छ । पोखरा २३ हर्पनमा अवस्थित श्री जनसिद्ध आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई शैक्षिक सामाग्री तथा पोशाक वितरण गरिएको हो । क्लबले विद्यालयमा अध्ययनरत ४० विद्यार्थीलाई झोला, स्टेसनरी सामान र कपडा सेट गरि ८० हजार रुपैयाँ बराबरको शैक्षिक सामाग्री र पोशाक वितरण गरिएको क्लबका अध्यक्ष कमल सुवेदीले जानकारी दिए । सुवेदीका अनुसार उक्त रकम क्लबका सदस्य बैकुण्ठ पौडेलले सहयोग गरेका थिए । कार्यक्रममा जनसिद्ध आधारभूत विद्यालयकी विद्यालय व्यवस्थापन समिति अध्यक्ष लोक कुमारी क्षेत्रीले क्लबले गरेको कामको प्रशंसा गर्दै धन्यवाद ज्ञापन गरेकी थिइन् । त्यस्तै क्लबका संस्थापक अध्यक्ष युवराज पौडेलले संस्थालाई सबैको साथ र सहयोगले नै विगत देखि यस्ता कार्यहरु गर्न सफल भएको बताए । साथै निम्न वर्गीय र सहयोगको आवश्यकता भएकालाई सहयोग गर्नुपर्ने उद्देश्यका साथ ब्लु स्काई स्थापना भएको उनको भनाई थियो । त्यसैगरी कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने क्लबका सदस्य बैकुण्ठ पौडेललाई क्लबका प्रथम उपाध्यक्ष दिपकराज अधिकारीले आभार व्यक्त गरे । कार्यक्रममा रामजी पौडेलले गीत गाएर विद्यार्थी तथा अभिभावकलाई मनोरञ्जन गराएका थिए ।
पोखरा: विक्रम सम्वत् २०१९ साल असार १३ गते बुवा स्व. दयाप्रसाद मर्सानी र आमा शारदादेवी मर्सानीको ज्येष्ठ सुपुत्रका रुपमा तनहुँको बन्दीपुरमा विद्याप्रसाद मर्सानीको जन्म भएको हो । तीन जना भाइ र एक जना बहिनीमा जेठो सन्तान हुन् उनी । मर्सानीलाई बक्सिङ खेलमा रस पसेको १५ वर्षको उमेरदेखि हो । जागिरे बुवाको प्रेरणामा २०३४ साल अघि नै साथीहरुसँग बक्सिङ खेल्न थालें । बुवाको नोकरीको सिलसिलामा जर्मनी प्रोजेक्ट अन्तर्गत खैरहनी क्वार्टरमा रहँदा त्यतिबेला ननलिस्टिङ प्रतियोगिता एनसीसीबाट खेलेका थिए । त्यो समयमा पोखराकै आश बहादुर गुरुङ, जसको सहयोगमा महेन्द्रपुल युथ क्लब मार्फत् बक्सिङका लागि प्रशिक्षण लिने दिने काम पोखरामा सुरु भयो । मर्सानीले बक्सिङ प्रतियोगितामै भाग लिएको भने २०३७ सालदेखि हो । भैरहवामा बक्सिङकै पहिलो राष्ट्रिय प्रतियोगिता भयो, जहाँ गण्डकी अञ्चलबाट उनी छनौट भए । पहिलो सहभागितामै काँस्य जिते पनि । त्यसपछि २०३८ सालमा काठमाण्डौमा वृहत राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागिता जनाए । वीरगञ्जमा भएको सातौं राष्ट्रिय बक्सिङ प्रतियोगितामा सिल्भर मेडल जिते । २०४१ मा नवौं बक्सिङ प्रतियोगितामा भने गोल्ड मेडल हात पारे । त्यसपछि मर्सानी पढ्नका लागि २०४२ सालमा सहायक प्रशिक्षकका रुपमा खेलकुद विकास समितिमा प्रवेश गरें । दुई वर्ष भारत पढेर फर्किसकेपछि पूर्ण प्रशिक्षकका रुपमा नेपाली राष्ट्रिय बक्सिङ टीमको नेतृत्व गरें । बक्सिङ खेलको प्रशिक्षकको रुपमा ३५ वर्ष जागिरे भएर २०७७ साल असारमा अनिवार्य अवकास पाएका थिए । सहायक प्रशिक्षक भएपछि उनले गण्डकीका विभिन्न जिल्ला पुगेर प्रशिक्षणका लागि बक्सिङ खेलाडी खोज्दै हिँडे । प्रशिक्षणका क्रममा उनले थुप्रै तीता मीठा क्षणहरुको अनुभव गरें । आठौं राष्ट्रिय खेलकुदमा १० पदकमा ९ पदक जित्न सफल भए । २ स्वर्ण, ५ रजत र २ काँस्य प्राप्त भएको थियो । त्यसपछि, नवौं सागमा प्रशिक्षक भई इस्लामावाद पुगेर फर्किए । २०५७ मा अण्डर नाइन्टिन साफ गेम खेलाउँदा उत्कृष्ट प्रदर्शन पश्चात् शिक्षा पुरस्कारबाट पुरस्कृत भए । मर्सानीले अमेरिका, कोरिया, जापान, थाइल्याण्ड, सिंगापुर, इन्डोनेसिया, मलेसिया, श्रीलंका, भारत, पाकिस्तानको भ्रमण गरेका छन् । गण्डकी प्रदेश र नेपालकै बक्सिङ खेललाई माथि पु¥याउन तथा खेलको विकास र विस्तार गर्न उनको योगदान अतुलनीय छ । त्यसैले सातौं संस्करणको पोखरा स्पोर्ट्स अवार्ड अन्तरगतको लाइफ टाइम अचिभमेन्ट अवार्ड बक्सिङ खेलका बरिष्ठ प्रशिक्षक विद्याप्रसाद मर्सानीलाई प्रदान गरिने भएको छ । आयोजक नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले अवार्डका लागि गठन गरेको प्रतिभा छनोट उपसमितिले गरेको सिफारिसको आधारमा ३५ वर्ष प्रशिक्षक भएरै खेलकुदमा जीवन अर्पण गरेका मर्सानीलाई अवार्ड प्रदान गर्न लागिएको हो । उपसमितिको सिफारिसलाई मञ्चको तेइसौं बैठकले अनुमोदन गरेको थियो । यस अगाडि कृष्ण थापा, खड्क बहादुर रानाभाट, डा.वीरेन्द्रसिंह गुरुङ, चित्रबहादुर गुरुङ, आनन्द रञ्जित र गणेश बहादुर भट्टराईले यो विधा अन्तरगतको पुरस्कार पाएको मञ्चका महासचिव राजाराम पौडेलले खुलाए । यहीं बैशाख २३ गते शनिबार दिउँसो २ बजेबाट पोखरा सभागृह हलमा आयोजना हुने अवार्ड कार्यक्रममा लाइफटाइम अचिभमेन्ट अवार्ड प्राप्त गर्नेनलाई चाँदीको करुवा, ट्रफी, ताम्रपत्र र दोसल्ला सम्मान गरिनेछ ।
काठमाडौं: एसिसी प्रिमियर कपको उपाधिका लागि घरेलु टिम नेपाल र युएईबीचको खेल वर्षाका कारण रोकिएको छ। कीर्तिपुरस्थित त्रिवि मैदानमा सोमबार नेपालले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरिरहेको युएईले २७.३ ओभरमा ९ विकेटको क्षतिमा १०६ रन बनाउँदा खेल वर्षाले रोकिएको हो। अब आज खेल हुने सम्भावना भएमा ओभर घटाइनेछ। दिउँसो ३ बजेसम्म पानी रोकिएर २० ओभरसम्मको खेल हुन सक्ने स्थितिमा आजै खेल हुनेछ। यद्यपि त्रिवि मैदानको आउट फिल्डमा पानी जम्दा मैदान हिलो भएको छ। त्यसैले आज खेल हुने सम्भावना न्यून छ। आज खेल हुन नसकेको अवस्थामा खेल भोलि रिजर्भ डेसम्मका लागि स्थगित हुनेछ। भोलिका लागि खेल स्थगित भए आजकै स्थितिबाट खेल सुरू हुनेछ। नेपाल क्रिकेट संघ (क्यान) का क्रिकेट म्यानेजर विनोद दासका अनुसार आज ओभर घटाएर पनि खेल हुन सकेन भने भोलि आजकै स्थितिबाट युएईले (१०६/९- २७.३ ओभर) ब्याटिङ सुरू हुनेछ। भोलिको खेल पनि वर्षाले अवरूद्ध भएमा ओभर घटाइनेछ। ओभर घटाएर पनि खेल सम्भव नभए सुपर ओपर हुनेछ। सुपर ओभर पनि सम्भव नभएमा वरीयताको आधारमा च्याम्पियनको टुंगो लाग्नेछ। यस्तो अवस्थमा अपराजित रहेको नेपाल प्रतियोगिताको च्याम्पियन हुनेछ भने एसिया कपमा छनोट हुनेछ ।
काठमाडौं: सरकारले राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक अध्यक्ष महावीर पुनसँग आज पनि वार्ता गर्ने भएको छ। उपप्रधानमन्त्री, रक्षामन्त्री एवं कानून मन्त्रीसमेत रहेका पूर्णबहादुर खड्का र धर्ना बसिरहेका पुनबीच वार्ता हुने भएको हो। सोमबार अपरान्ह ४ बजे सिंहदरबारस्थित रक्षा मन्त्रालयमा सरकार र पुनबीच वार्ता हुने मन्त्रालय स्रोतले जानकारी दिएको छ। आइतबार पनि रक्षा मन्त्रालयमा खड्का र पुन लगायतबीच वार्ता भएको थियो। आविष्कारका क्षेत्रलाई सरकारले प्राथमिकतामा राख्नुपर्ने र आगामी आर्थिक वर्षको बजेटमा कम्तीमा १ प्रतिशत बजेट आविष्कार क्षेत्रमा बिनियोजन गरिनुपर्ने माग पुनको छ। पुनको आन्दोलनलाई एक्यबद्धता जनाउदै कास्कीमा पनि युवाहरु सहिदचोकमा धर्ना दिइरहेका छन् । यी हुन् पुनका माग: १. अनुसन्धान, नवप्रवर्तन र आविष्कार गर्ने प्रतिभाशाली र सिर्जनशील नेपालीहरूलाई अनुसन्धान गर्ने काममा ठोस सहयोग गर्न हरेक वर्ष संघीय र प्रदेश सरकारले आफ्नो विकास बजेटको १ प्रतिशत रकम छुट्याउनु पर्ने र ‘अनुसन्धान, नवप्रवर्तन र आविष्कार कोष’ मा राख्नुपर्ने। सो कोषबाट नेपालका सम्पूर्ण प्रतिभाशाली सन्ततिहरूलाई आवश्यक अनुसन्धान, नवप्रवर्तन र आविष्कार गर्न सहयोग गर्नुपर्ने। कोषमा जम्मा भएको रकम सोही वर्ष खर्च नभए आगामी वर्षमा पनि खर्च गर्न पाउने व्यवस्था गर्नुपर्ने। २. सो कोषको रकम सहज तरिकाले समयमा नै प्रतिभाशाली र नवीनतम् सोच भएका नेपालीहरूलाई उपलब्ध गराउन संसदले नेपाल सरकारको सार्वजनिक खरिद ऐनभन्दा छुट्टै ‘अनुसन्धान, नवप्रवर्तन र आविष्कार प्रवर्द्धन, सञ्चालन तथा खरिद ऐन’ बनाउनुपर्ने र आवश्यकताअनुसार अनुसन्धानको कामलाई बहुवर्षीय कार्यक्रममा राख्न मिल्ने गरी नीति नियम बनाइनु पर्ने। ३.अनुसन्धान, नवप्रवर्तन र आविष्कार गरेर बनेका र सफलतापूर्वक परीक्षण गरिएका चिजलाई उत्पादन गरी नवउद्यमी बन्न चाहने नेपालीहरूलाई उद्यम सुरू गर्नको लागि चाहिने अनुमति, लाइसेन्स, अनुदान र सहज ऋण उपलब्ध गराउनु पर्ने र स्वदेशी उत्पादनलाई बजारीकरण गर्न ठोस सहयोग गर्ने नीति नियम बनाउनु पर्ने। सो कामलाई सहज बनाउन र आवश्यकताअनुसार नीति नियम बनाउनका लागि ‘नव उद्यमी प्रवर्द्धन समिति’ बनाउनु पर्ने र सो समितिले सरकारलाई आवश्यक कदम चाल्न अनुरोध गर्ने व्यवस्था गर्नुपर्ने। ४. प्राइभेट अनुसन्धान केन्द्र, मुनाफा वितरण नगर्ने अनुसन्धान केन्द्र र विश्वविद्यालयहरूमा व्यवहारिक अनुसन्धानलाई उच्च प्राथमिकताका साथ प्रोत्साहन गर्न र प्रवर्द्धन गर्नका लागि विज्ञान मन्त्रालयअन्तर्गत ‘व्यवहारिक अनुसन्धान र नवप्रवर्तन विभाग’ खोल्नुपर्ने। उक्त विभागलाई देशका प्रतिभाहरूलाई विदेश पलायन हुन नदिन र विदेश पलायन भैसकेका प्रतिभाहरूलाई के कसरी र कुन रूपमा हुन्छ स्वदेश फिर्ता ल्याउन र उनीहरूबाट फाइदा लिनको लागि चाल्नु पर्ने ठोस वातावरण तयार गर्ने पूर्ण अधिकारसहित जिम्मा दिइनुपर्ने।
काठमाडौं: सुडानमा अलपत्र नेपाली नागरिकको सुरक्षित रुपमा उद्धार प्रयास भइरहेको नेपालस्थित परराष्ट्र मन्त्रालयले जनाएको छ । संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा कार्यरत नेपाली अधिकारीहरुबाहेक हालसम्म अन्य ३० जना नेपाली नागरिकहरु नेपाली राजदूतावास कायरोसँग सम्पर्कमा रहेको भन्दै मन्त्रालयले सबै नेपालीहरुलाई नेपाल फिर्ता गर्न सहजीकरण भइरहेको जनाएको हो । मन्त्रालयका अनुसार सुडानमा रहेका नेपाली नागरिकहरुसँग निरन्तर सम्पर्कमा रहि कायरोस्थित नेपाली राजदूतावासले विवरण अद्यावधिक तथा उद्धार कार्य जारी राखेको छ । कायरोस्थित नेपाली राजदूतावासको अनुरोध बमोजिम पोर्ट सुडानमा पुगेका १९ जना नेपालीहरु साउदी अरेबिया सरकारको सहयोगमा पानीजहाजबाट जेद्दा शहरमा सुरक्षित तवरले सकुशल पुगेका छन् । यसअघि नै एक जना नेपाली सकुशल जेद्दा पुगेका थिए । जेद्दा पुगेका सबै नेपालीहरुको नेपाल फिर्तीका लागि सहजीकरण भइरहेको मन्त्रालयले आज जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
पाेखरा: कास्की जिल्ला वुमन्स टि–ट्वान्टी क्रिकेट च्यालेन्जर ट्रफी प्रतियोगितामा कास्की ‘बी’ले विजयी यात्रा जारी राखेको छ । कास्की जिल्ला क्रिकेट संघ (क्यान)को आयोजनामा शनिबारदेखि पोखरा रंगशालामा शुरु भएको प्रतियोगिताको दोश्रो खेलमापनि कास्की ‘बी’ विजयी भएको हो । आईतबार भएको दोश्रो खेलमा कास्की ‘बी’ले कास्की ‘ए’लाई ७० रनले हराएको छ । टस जितेर ब्याटिङ रोजेको कास्की ‘बी’ले पूरै ओभर खेल्दै १२९ रन बनाएको थियो । १३० रनको लक्ष्य पछ्याएको कास्की ‘ए’ पूरै ओभर खेल्दै ५९ रनमा सिमित भएपछि कास्की ‘बी’ बिजयी भएको कास्की जिल्ला क्रिकेट संघका सचिव विरेन पुनले जानकारी दिए । आईतबारको खेलमा कास्की ‘बी’ की कप्तान श्रृष्टी जैसीले नटआउट ५१ रनको योगदान गरेकी थिईन् भने बलिङतर्फपनि १ विकेट लिईन् । आईतबारको खेलमापनि अलराउण्ड प्रदर्शन गरेकी श्रृष्टी जैसी वुमन अफ दी म्याच घोषित भएको सचिव पुनले बताए । यसअघि शनिबार भएको पहिलो खेलमापनि कास्की ‘बी’ बिजयी भएको थियो । सो खेलमा कास्की ‘बी’ले कास्की ‘ए’लाई ५ विकेटले पराजित गरेको थियो । टस जितेर ब्याटिङ गरेको कास्की ‘बी’ले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १२० रन बनाएको थियो । जवाफी ब्याटिङ गरेको कास्की ‘ए’ ५ विकेट गुमाएर लक्ष्य पूरा गर्दै बिजयी भएको सचिव पुनले जानकारी दिए । २८ बलमा ४० रन बनाएकी श्रृष्टी जैसी शनिबारको खेलमा उमन अफ दी म्याच घोषित भएकी पुनले बताए । पोखरा रंगशालामा शुरु भएको प्रतियोगिताको पोखरा महानगरपालिकाका कार्यवाहक मेयर मोतीराज तिमिल्सिनाले शनिबार उद्घाटन गरेका थिए । उनले प्रतियोगिताले महिला क्रिकेट खेलाडीलाई प्लेटफर्म प्रदान गरेको र यसले कास्कीको क्रिकेट उकास्न महत्वपूर्ण योगदान दिने विश्वास व्यक्त गरे । उद्घाटन कार्यक्रम कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देलको अध्यक्षतामा भएको थियो । यसैबीच, प्रतियोगिताको उपाधि भिडन्त भोलि सोमबार हुने भएको छ । कास्की ‘ए’ र कास्की ‘बी’ गरेर दुई टिमको सहभागिता रहेको प्रतियोगिताको उपाधि भिडन्त सोमबार हुने सचिव पुनले जानकारी दिए । प्रतियोगितामा बिजेता र उपबिजेता दुबैलाई ट्रफी र प्रमाणपत्र प्रदान गरिने सचिव पुनले बताए ।

