पोखरा: गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री तथा प्रदेशका नेकपा एमालेका संसदीय दलका नेता खगराज अधिकारीले सुशासन भाषणमा नभएर व्यवहारमा हुनुपर्ने बताएका छन् । गण्डकी प्रदेश सभामा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत माग्ने प्रस्तावमाथि बोल्दै उनले नेताहरु सबैतिरबाट कैद भएकाले चर्को भाषणमा नभएर व्यवहारमा सुशासन हुनुपर्ने बताएका हुन् । ‘मेरो नेतृत्वमा सरकार हुँदा केही भिडियो टेलिभिजनमा आयो, धन्यवाद, सुशासन भाषणमा नभएर व्यवहारमा देखाउन पर्छ नेता लगायत सम्पूर्ण नागरिक सबैतीरबाट सुशासन पालनाका निम्ति कैद भएका छन् ।’ नेता अधिकारीले भने । उनले प्रदेश सभामा कुनै पनि राजनीतिक दलको बहुमत नआउँदा मौखिक र लिखित रुपमा आधाआधा सरकार गर्ने भनेर सहमति गर्नु जनताको भावना विपरित भएकोसमेत बताए । ‘प्रदेश सभामा कुनैपनि राजनीतिक दलको बहुमत छैन, संविधान अनुसार सरकार गठन पर्ने हुन्छ । म मुख्यमन्त्री हुँदै गर्दा पुरै पाँच वर्षनै मुख्यमन्त्री बन्छु भनेर आएको थिए । सम्भव भएन, उनले भने, ‘अहिले तपाईले आधाआधा कार्यकाल भनेर प्रदेश सरकारमा अस्थिरता निम्ताउन खोज्नुभएको छ ।’ नेकपा एमालेका संसदीय दलका नेता अधिकारीले प्रदेश सरकार आलोपालो गरेर अस्थिरता पक्षमा गएर त्यसको भार जनतालाई बोकाउने पक्षमा नभएको समेत दाबी गरे । उनले संविधानको धारा १६८ को उपधारा ३ अनुसार सरकार गठन हुनुपर्ने भए पनि उपधारा २ मै गोलचक्कर लगाएर बसेको बताउँदै दुई÷दुई महिनामा सरकार परिवर्तन हुँदा प्रदेश सरकारप्रति जनतामा कस्तो प्रश्न उब्जिएको छ भनेर प्रश्न समेत गरेका थिए ।
पोखरा: गण्डकी प्रदेशका निवर्तमान सामाजिक विकास तथा स्वास्थ्यमन्त्री प्रदेश सभा सदस्य पन्चराज गुरुङले गण्डकी प्रदेश सरकामा म्याच फिक्सिङ भएको बताएका छन् । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत लिने बैठकलाई सम्बोधन गर्दै राप्रपाका संसदीय दलका नेता गुरुङले प्रदेशको सत्ता साझेदारीमा रहेको माओवादी केन्द्रले म्याच फिक्सिङ गर्दै कांग्रेसलाई जिताएको बताएका हुन् । गुरुङले कांग्रेस नेतृत्वको गण्डकी सरकारमाथि अब म्याच फिक्सिङ नर्गन समेत शुभकामना व्यक्त गरे । उनले नेकपा माओवादी केन्द्रले सत्ता केन्द्रित राजनीति सधै दिगो नहुने भन्दै बफादार हुनुपर्ने धारणा राखे । ‘कुशल राजनीतिक खेलाडीको रुपमा निवर्तमान मुख्यमन्त्री खगराज अधिकारी नेतृत्व सरकारले राम्रो काम गर्दै गर्दा कुनै राजनीतिक पार्टीले सत्ता केन्द्रित राजनीति गर्दा गोल हुन सकेन, गण्डकीमा म्याच फिक्सिङ भयो, उनले भने, ‘अबको सरकारमाथि म्याच फिक्सिन नगर्नुस् हार्दिक शुभकामना ।’ उनले वर्तमान राजनीतिक परिस्थितीकै कारण गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिन नसक्ने बताए । यद्यपी पाण्डे नेतृत्वको सरकारको सकरात्मक कार्यमा भने साथ दिने धारणा राखेका थिए ।
काठमाडौं, वैशाख २१ गते । सरकारले डेंगुका लक्षण देखिए तुरुन्त स्वास्थ्य संस्था जान आग्रह गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सूचना निकाल्दै ज्वरो आउने, टाउको मांसपेशी तथा जोर्नी दुख्ने, थकान महसुस हुने, वाकवाकी लाग्ने, दैनिक खानपान वा अन्य कामकुरामा रुचि नलाग्ने जस्ता डेंगुका लक्षण देखिए तुरुन्त स्वास्थ्य संस्था जान आग्रह गरेको हो । पछिल्लो समय डेंगुका बिरामी बढ्दै गएकाले मन्त्रालयले यस्तो आग्रह गरेको हो । डेंगु एडिस इजिष्टी एडिस आल्बोपिक्टस प्रजातिको पोथी लामखुट्टेको टोकाइबाट सर्ने सङ्क्रमण रोग हो । यसैगरी, मन्त्रालयले लामखुट्टेको टोकाइबाट बच्न सधैँ झुल टाँगेर सुत्न, खेतबारीमा काम गर्दा लामो बाहुला भएको लुगा लगाउन, घरको झ्याल ढोकामा जाली हाल्न, सम्भव भएसम्म लामखुट्टे भगाउने धूप वा मलमको प्रयोग गर्ने, घरपालुवा पशुपक्षी व्यवस्थित ढङ्गले पाल्न, सरकारले घरवरिपरि गमला, टायर वा कुनै पनि खुल्ला भाँडामा पानी जम्न नदिन आग्रह गरेको छ ।
काठमाडौं: सुनको मूल्य प्रतितोला एक हजार दुई सय रुपियाँले बढेर नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज (बिहीबार) छापावाल सुनको मूल्य प्रतितोला एक हजार दुई सय रुपियाँले बढेर एक लाख ११ हजार आठ सय कायम भएको छ । महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ११ हजार २५० पुगेको छ । साथै चाँदीको मूल्य प्रतितोला एक हजार ४४५ पुगेको छ ।
काठमाडौं: नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै ठगी गरेको आरोपमा अहिलेसम्म ८ जना पक्राउ परेका छन् । गृह मन्त्रालयका पूर्व सचिव एवं उपराष्ट्रपति कार्यालयमा कार्यरत सचिव टेकनारायण पाण्डे, पूर्व मन्त्री एवम् सांसद टोपबहादुर रायमाझीका छोरा सन्दीपसहित ८ जना पक्राउ परेका हुन् । ठगी धन्दामा संलग्न रहेको आरोपमा प्रहरीले यसअघि केशव दुलाल, सानु भण्डारी, टङ्ककुमार गुरुङ, सागर राई र सन्देश शर्मालाई पक्राउ गरेको थियो । उनीहरुकै बयानका आधारमा प्रहरीले अस्ति मङ्गलवार तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’ का सुरक्षा सल्लाहकार डा. इन्द्रजित राईलाई पक्राउ गरेको थियो । लगत्तै राईका छोरा निरज फरार भएका छन् । त्यस्तै, नेता रायमाझीका छोरा सन्दीपलाई प्रहरीले हिजो बेलुका बुटवलबाट पक्राउ गरेको छ । उनलाई आज काठमाण्डौ ल्याइँदैछ । सन्दीपलाई आज नै अदालतमा पेस गने तयारी छ । सांसद एवम् एमाले सचिव रायमाझीलाई पनि प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ । हिजो अर्घाखाँचीमा रहेका रायमाझीलाई प्रहरीले खोजिरहेको छ । बहालवाला सचिव पाण्डेलाई प्रहरीले हिजो पक्राउ गरी अदालतमा उपस्थित गराएर तीन दिन थुनामा राख्न म्याद लिएको छ । पक्राउ पुर्जी जारी भएका तत्कालीन गृहमन्त्री बादलका छोरा प्रतीक फरार छन् । यो गिरोहले झण्डै ९ सय जनालाई ठगी गरेको र प्रतिव्यक्ति १० लाखदेखि ५० लाख रुपैयाँसम्म रकम उठाएको प्रहरीको प्रारम्भिक आकलन छ । ठगी र सङ्गठित अपराध कसुरमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।
पोखरा । लक्जम्बरकाका अर्थ तथा विकास मन्त्री फ्रांन्च फायोतले दिदी बहिनी बचाउ, कास्की नेपाल (एसोएस, बहिनी) को भ्रमण गरेका छन् । उनीसहित लक्जमबर्गबाट नेपालको राजदुत पेगी फ्रान्टजेन, ह्युमातरियन कोओपोरेसनको लक्जमबर्गको अध्यक्ष फ्रांन्सो प्रुम र सचिव पिट कासेयरसहितको टोलीले बुधबार एसोएस बहिनीको भ्रमण गरेका हुन् । उनीहरुले एसोएस, बहिनीले स्वागत तथा सम्मान गरेको छ । संस्थाकी अध्यक्ष कृष्णकुमारी पहारीले मन्त्री र राजदुतलाई ढाका टोपी र संस्थाकै बालिकाहरुले कोरेर पेन्टिंग प्रदान गरेकी थिइन् । संस्थाकी आश्रित बालिकाहरुले नृत्य, मन्तव्य तथा कराते प्रस्तुत गरेका थिए । कार्यक्रमको सञ्चालन बालिका रसिला कार्की र स्नेहा धितालले गरेका थिए । मन्त्री फायोतले संस्था भ्रमण गर्न पाउँदा खुशी, र एकदमै राम्रोसंग व्यवस्था गरेको देख्दा खुशी व्यक्त गरे । संस्थालाई गरेको योगदानलाई कदर गर्दै सम्मान गरिएको एसोएस बहिनीकी अध्यक्ष पहारीले बताइन् ‘उहाँले हाम्रो संस्थालाई सहयोग गरिरहनु भएको थियो, हेर्न आउनुभएको थियो, उहाँलाई योगदानको कदर गर्दै हामीले सम्मान गरेका हौं,’ उनले भनिन्, ‘उहाँहरुले हामीले सञ्चालन गरेको कार्यक्रम, तालिम केन्द्रहरु हेर्नुभयो ।’ २०६१ सालदेखि देखि बालबालिका तथा महिलाको क्षेत्रमा काम गर्दै आएको छ । संस्थाले समुदायमा एकल महिलालाई रासन दिने, बालबालिका पढाई दिने, गरिबी भएका बालिकालाई शैक्षिक सहयोग गर्दै आइरहेको छ । अहिले ८५ जना बालिका र २० वटा एकल महिलाको परिवारलाई रासन दिदैँ आइरहेको छ । बुबाआमा नभएको, भएकोकाको पनि संरक्षण नभएको नानीहरुको क्षेत्रमा काम गर्दै आएको छ । उक्त सस्था महिलाहरुले सञ्चालन गरिरहेका छन् । संस्थाले समुदायमा २० परिवारलाई सहयोग र समुदायको ५० बालबालिकालाई शैक्षिक सहयोग प्रदान गरिरहेका छ ।
पोखरा, २० वैशाख । तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नं १ र २ मा पर्ने ज्यामिरबोट सुन्दरीगाउँमा अवस्थित सिद्धिकाली मन्दिर उद्घाटन तथा मूर्ति प्राणप्रतिष्ठा सम्पन्न भएको छ । आँखेताल संरक्षण तथा सिद्धिकाली मन्दिर निर्माण समितिद्वारा आयोजित एक कार्यक्रमका बीच आज प्रदेशसभा सदस्य श्यामराजा महतले मन्दिरको उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा प्रदेशसभा सदस्य महतले यस क्षेत्रको विकासका लागि आफ्नोतर्फबाट सक्दो पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । सिद्धिकाली मन्दिरको विकासका लागि समितिले भक्तजन र शुभेच्छुकलाई सहयोग गरौं भन्ने वातावरण सृजना गरे आर्थिक सहयोग जुटाउन समस्या नहुने उहाँले बताउनुभयो । देशमा आर्थिक संकट उत्पन्न भएको र यसको समाधानकालागि कृषि क्षेत्रलाई प्राथमिकता दिई उत्पादनतर्फ जोड दिनुपर्ने उल्लेख गर्दै उहाँले भन्नुभयो, “बैंक, सहकारी कतै पैसा पाइन्न, लिएको ऋण उठाउन वित्तीय संस्थाले छोड्दैन अब गाउँघरका बाँझो जमिनमा उत्पादन गरेमात्र अहिलेको अवस्थालाई पार लगाउन सकिन्छ ।” २०७८ साल जेठ ४ गते शिलान्यास गरिएको मन्दिर निर्माणकालागि हालसम्म करिव १२ लाख रुपैँया खर्च भएको समितिका सचिव ढकालले जानकारी दिनुभयो । शुनपा–१ ज्यामिरबोटमा अवस्थित आँखेताल हाल सामान्य रुपमा संरक्षण गरिएको छ । सोहि ताल परिसरमा सिद्धिकाली मन्दिर निर्माण गरिएको हो । सो क्षेत्रको संरक्षण र विकासकोलागि करिब तीन वर्ष अघि निर्माण समिति गठन गरिएको थियो । प्रतियोगिताबाट बचत रकम समेत मन्दिरको विकासको लागि खर्चिएको समितिले जनाएको छ । यहाँस्थित आँखे ताललाई धार्मिक पर्यटनसँग जोड्ने अभियानका साथ शुक्लागण्डकी नगरपालिका वडा नं १ ज्यामिरबोटे र वडा नं २ सुन्दरी गाउँका युवाहरु यसलाई धार्मिक पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने अभियानका साथ जुटेका हुन् । यसको संरक्षण र विकासका लागि पाँच वर्षअघि सुन्दरी गाउँ र ज्यामिरबोटेका स्वदेश तथा विदेशमा रहेका युवाले विशेष सक्रियता देखाएका थिए । उनीहरुबाट सहयोग संकलन गर्दै सुरु गरिएको अभियानसँगै हाल आएर मन्दिरको उद्घाटन एवम् प्राणप्रतिष्ठासम्म आइपुग्नलाई निकै महत्वका साथ हेरिएको छ । पृथ्वी राजमार्गको गगनगौँडाबाट पाँच किलोमिटरको दुरीमा पुग्न सकिने यहाँ आउन बीचमा पर्ने खुदी खोला र गुवे खोलामा पक्की पुल बनिसकेका अवस्थामा यो एउटा आन्तरिक पर्यटनको राम्रै गन्तव्य बन्न सक्ने विश्वास लिइएको छ ।
दार्चुला: मंगलबार दिउँसो दार्चुलाको व्याँस गाउँपालिका–१ को भोलुम डाँडामा गएको हिमपहिरोमा पुरिदाँ दुई जना अझै बेपत्ता छन् । जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) तर्कराज पाण्डेका अनुसार बेपत्ता हुनेहरुमा डोटीको जोरायल गाउँपालिका–२ बुडरकी २८ वर्षीया ईश्वरी थापा र १५ वर्षीया छिमी सामो थापाको रहेका छन् । उनीहरुको खोजीकार्य तिब्र पारिएको पाण्डेले जानकारी दिए । सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले हाल बेपत्ता उनीहरुको खोजीकार्य गरिरहेको छ । मंगलबार हिमपहिरो गएपछि यार्सागुम्बा टिप्न गएका ५ जना बसिरहेको टेन्टसहित बेपत्ता भएका थिए भने ७ जनाले भागेर ज्यान जोगाएका थिए । सो ५ जना मध्ये दार्चुलाको दुहुँ गाउँपालिका–४ की ३८ वर्षीया कमला कुँवर, १८ वर्षीय प्रविण कुँवर र डोटीको जोरायल गाउँपालिकाको बुडर बस्ने ४५ वर्षीय नक्की डोमा थापाको शव निकाल परीक्षणका लागि जिल्ला अस्पताल लगिएको प्रहरीले जनाएको छ ।
काठमाडौं: हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभावले बदली र वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कर्णाली प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ । काठमाडौँ उपत्यकामा बिहानैदेखि छिटफुट वर्षा भइरहेको छ । काठमाडौँको आकाशमा बिहानैदेखि बदली रहेको छ । दिउँसो देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । कोशी प्रदेश, मधेस प्रदेश र बागमती प्रदेशलगायत देशका पहाडी भू-भागका थोरै स्थानमा तथा बाँकी भू-भागमा केही स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।

