नेकपा एमालेको केन्द्रीय कमिटी बैठक काठमाडौंमै बस्ने भएको छ। वैशाख २८ गतेदेखि ३० गतेसम्म केन्द्रीय कार्यालय च्यासलमै बैठक बस्ने भएको हो। एमाले प्रचारप्रसार विभागका उपप्रमुख विष्णु रिजालले बजेट अधिवेशन र संसदीय गतिविधिलगायत कारणले केन्द्रीय कमिटी बैठक काठमाडौंमै गर्ने निर्णय भएको जानकारी दिएका छन् । एमालेले मिसन ग्रास रूट अभियानु र चुनावीबारे समीक्षा गर्न केन्द्रीय समिति बैठक राखेको हो। यद्यपी बैठकका एजेन्डा कार्यालय र सचिवालय बैठकले तय गर्नेछ।
पोखराका सर्जक घनश्याम रिजालले विन्ध्यवासिनी म्युजिक अवार्ड प्राप्त गरेका छन् । काठमाडौंमा आयोजित एक सांगीतिक समारोहमा उनलाई विन्ध्यवासिनी म्युजिक अवार्ड बाट पुरस्कृत गरिएको हो । रिजालले सर्वोत्कृष्ट लोक दोहोरी गीतको अवार्ड हात पारे । उनले सिर्जना गरेको “शुन्य भयो डाँडैको चौर” सर्वोत्कृष्ट भएको हो र जसमा लोकदोहोरी गायक रामजी खाँण र गायिका अन्जु पन्तको आवाज रहेको छ । पोखरामा रहेर संघर्षरत रहे पनि नेपाली संगीत क्षेत्रमा भने उनको योगदान अतुलनीय छ । नेपाली लोकगीत क्षेत्रमा उनले सिर्जना गरेका गीतहरुलाई रुचाइएको छ । प्रेमिल भावका गीत सँगै उनले सामाजिक यथार्थपरक विषयवस्तुमा आधारित गीत पनि सिर्जना गरेका छन् भने, घर शुन्य भो, बाख्रा पालम्ला उनका सामाजिक यथार्थपरक गीत रहेका छन् ।
मकवानपुर: मकवानपुर प्रहरीले एक जनालाई एकनाले भरुवा बन्दुकसहित पक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा मकवानपुरगढी गाउँपालिका–७ दुम्सिडाडाँका ३० वर्षीय बाबुलाल थिङ रहेका छन् । थिङले आफ्नै भाइलाई जग्गाको विषयमा हातपात गरेर घाइते बनाएको सुचना पुगेपछि प्रहरीले थिङलाई खोजी गरेको थियो । सोही क्रममा प्रहरीले उनलाई शनिबार दिउँसो प्रहरीले एकनाले भरुवा बन्दुकसहित पक्राउ गरेको हो । पक्राउ परेका थिङमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
स्याङ्जा: संविधान सभा सदस्य अमृता थापाको पहलमा स्याङजाको पुतलीबजार नगरपालिकाकाे १४ वटा सामुदायिक विद्यालयलाई शैक्षिक सामग्री सहयोग गरिएको छ । गाउँपालिका भित्र रहेका १४ सामुदायिक विद्यालयका बाल विकासदेखि कक्षा ८ सम्म अध्यनरत विद्यार्थीहरुलाई स्टेसनरी तथा झोला वितरण गरिएको हो । चाइना फाउण्डेशन फर रुलल डेभलपमेन्टको आर्थिक सहयोग र ग्लोबल कोअपरेशन फर डेभलपमेन्टको संयोजनमा १ हजार १ सय ६३ थान स्टेसनरीका सामानसहित झोला संविधान सभा सदस्य थापामगरको हस्तान्तरण गरिन् । सो अवसरमा बोल्दै थापामगरले विद्यार्थीहरुलाई अध्ययनमा थप प्रोत्साहन मिल्ने धारणा राखिन् । उनले बालबालिका भविष्यको कर्णधार रहेको बताउदै अध्ययनको वातावरण सिर्जना गर्नुपर्ने अवश्यकता रहेको उल्लेख गरिन् । ‘यि बालबालिका भविष्यका कर्णधार हुन्, उनले भनिन्, ‘त्यसैले नानीबाबुहरुलाई पढ्नका लागि उचित वातावरण हामीले मिलाइदिनुपर्छ ।’ उनले आगामी दिनमासमेत पुतलीबजार नगरपालिकाकाे विद्यालयको शैक्षिक गुणस्तर उकास्नका लागि सधै साथमै रहने बताएकी थिइन् । यस्तै पुतलीबजार नगरपालिकाको प्रमुख तुलसी रेग्मीले उक्त पहलको लागि अमृता थापामगर र चाइना फाउण्डेशनलाई धन्यवाद व्यक्त गर्दै उदाहरणीय कार्य गरेको बताए । प्रमुख रेग्मीले शैक्षिक क्षेत्रमा गरिएको सहयोगको कुनै मूल्य नहुनेसमेत धारणा राखेका थिए । सो कार्यक्रममा कावा प्र.अ. दिपक वाग्ले, शिक्षा शाखा प्रमुख जिवलाल भुषाल वडा सदस्य नारायण थापा, ग्लोबल कर्पाेरशन फर डेभलपमेन्टका उक्तम कार्की, युवा नेता तथा समाजसेवी मन बहादुर थापा, विद्यालय व्यवस्थापन समितिका सदस्यहरु लगायतको सहभागिता रहेको थियो । जनजागृति प्रा.विका व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मी केसीको अध्यक्षता भएको कार्यक्रमको सञ्चालन सहायक प्र.अ गिता गाहा मगरले गरेकी थिइन् ।
पोखरा: शनिबार साँझ परेको असिनापानीका कारण मकैबाली र लहरे तरकारीमा क्षति पुगेको छ । साँझको समयमा हावाहुरीसहित आएको असिनापानीले पोखरा महानगरपालिका वडा नं २३, २४, ३२, ३३ लगायत वडाका मकैबाली तथा लहरे तरकारीलाई क्षति पु¥याएको महानगरपालिकाका कृषि महाशाखा प्रमुख मनोहर कडरियाले जानकारी दिनुभयो । केही स्थानमा क्षति पु¥याएको जानकारी आए पनि त्यसको यकिन विवरण भने प्राप्त नभएको उहाँले बताउनुभयो । वडा नं ३२स्थित तल्लो गगनगौडाको बेलबुटे र आसपासका क्षेत्रमा मकैबालीका साथै फल्ने बेलाको लहरे तरकारीमा क्षति पुगेको स्थानीयवासीले बताए । हावाहुरीसहितको असिना पानीले मकैका पात छियाछिया बनाएको छ भने फल्ने तयारीमा रहेका लहरेबालीमा समेत क्षति पु¥याएको छ ।
काठमाडौं: प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया लामो समयदेखि अघि बढ्न नसकेको भन्दै नेपाल बार एसोसिएसनले तत्काल प्रक्रिया अघि बढाउन निरन्तर दबाब दिँदै आएको छ । यसै अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सोमबार संवैधानिक परिषद्को बैठक बोलाउनुभएकाले प्रधान न्यायाधीश नियुक्ति प्रक्रिया अघि बढ्ने विश्वास बढेको छ । न्यायालयको इतिहासमा २०७९ साल कायम कामुकै नेतृत्वमा सर्वोच्च अदालतको सयम बितेको छ । विसं २०७८ फागुन १ गते तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध संसद्मा महाभियोग प्रस्ताव दर्ता भएपछि वरिष्ठतम न्यायाधीशले कार्यभार सम्हाल्दै आएकामा अहिले वरिष्ठतम न्यायाधीश हरिकृष्ण कार्की कामु प्रधानन्यायाधीश रहनुभएको छ । बारले प्रधानन्यायाधीश नियुक्तिको प्रक्रियाअघि बढाउन प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख देवराज घिमिरेसँग आग्रह गरे पनि ठोसरुपमा काम अघि बढ्न सकेको छैन । बारका अध्यक्ष गोपालकृष्ण घिमिरेले प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया यथाशीघ्र अघि बढाउन माग गरिरहेकामा सोमबार संवैधानिक परिषद्को बैठक बोलाइएकाले प्रक्रियाअघि बढ्ने विश्वास व्यक्त गर्नुभयो । बारले प्रधानन्यायाधीशको तत्काल नियुक्तिलगायत विषयमा एकहप्ताअघिदेखि दबाबमूलक कार्यक्रम गर्दै आएको थियो । “ प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउनाका साथै न्यायालयको शुद्धीकरणका लागि निरन्तर आन्दोलन भइरहेको छ”, उहाँले भन्नुभयो, “संवैधानिक परिषद्को बैठक सोमबार बोलाइएको हुनाले प्रधानन्यायाधीश नियुक्तिको काम अघि बढ्ने विश्वास छ ।” न्यायपालिका भित्रको भ्रष्टाचार, विकृति विसङ्गति अन्त्य गर्न तत्कालीन न्यायाधीश हरिकृष्ण कार्कीको प्रतिवेदन कार्यान्वयन गर्नसमेत बारले माग गर्दै आएको छ । नेपालको संविधानको धारा २८४ मा संवैधानिक परिषद्सम्बन्धी व्यवस्था छ । उक्त धाराको उपधारा ३ मा परिषद्ले प्रधानन्यायाधीश वा अन्य संवैधानिक निकायका प्रमुख वा पदाधिकारीको पद रिक्त हुनु एक महिनाअगावै नियुक्तिका लागि सिफारिस गर्नुपर्ने व्यवस्था छ तर सर्वोच्च अदालतमा महाअभियोगको प्रस्ताव निर्णयमा नपुग्दै तत्कालीन निलम्बित प्रधानन्यायाधीश राणाको अवकाश भएपछि वरिष्ठतम न्यायाधीशलाई प्रधानन्यायाधीश बनाउन संवैधानिक परिषद्बाट सिफारिस हुनुपर्नेमा परिषद्को बैठक बस्न सकेको थिएन ।
पोखरा । पोखरा महानगरपालिका वडा नंं। २५ हेमजामा कार दुर्घटना भएको छ । शुक्रबार पोखराबाट बागलुङतर्फ जाँदै गरेको ग२च ७८८५ नम्बरको कार हेमजामा दुर्घटना भएको हो । दुर्घटनामा ६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । घाइतेहरुको पोखरा मणिपाल शिक्षण अस्पतालमा उपचार पश्चात घर फर्किसकेको प्रहरी कार्यालयका सूचना अधिकारी शिवप्रसाद पाठकले जानकारी दिएका छन् ।
पोखरा: नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले सस्तो लोकप्रियताको लागि छोटे राजालाई प्रधानमन्त्रीको अफर एमालेले नगर्ने बताएका छन् । प्रेस चौतारी कास्कीले आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै नेता बस्नेतले सस्तो लोकप्रियताका लागि कसैलाई एमालेले प्रधानमन्त्रीको अफर नगर्ने र एमालेको प्रचार विभागले कुनै सिरियल निर्माण गर्ने त्यसमा प्रधानमन्त्रीको रोल दिन सक्ने बताएका हुन् । केही दिन अगाडि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र नेकपा एमालेका अध्यक्ष केपी ओलीबीचको भेटवार्तामा लामिछानेलाई प्रधानमन्त्रीको अफर गरेको हो भन्ने प्रश्नमा नेता बस्नेतले यस्तो प्रतिक्रिया दिए । ‘नेकपा एमाले त्यस्तो सस्तो लोकप्रियताका लागि कसैलाई प्रधानमन्त्रीको अफर गर्दैन, स्तरहीन र राजनीतिक चेतना नभएका कसैलाई एमालेले प्रधानमन्त्रीको अफर ग¥यो भन्नु हास्यापद हो, उनले भने, ‘एमालेको प्रचार विभागले कुनै सिरियल बनाए त्यसमा प्रधानमन्त्रीको रोल चाँहि दिन सकिएला, मुलुकको प्रधानमन्त्रीको अफर एमालेले कसैलाई गरेको छैन ।’ उनले सामाजिक सञ्जालमा लोकप्रियता कमाएकालाई एमालेले नभएर फेसबुक र सामाजिक सञ्जालले प्रधानमन्त्री बनाउने भन्दै व्यङ्ग्य गरे । ‘नयाँ उदय भएका राजनीतिक पार्टीहरुको पनि प्रधानमन्त्री बन्ने चाहना छ, प्रधानमन्त्री पनि कस्तो भन्दा फिल्मको नायक जस्तो, २४ घण्टा, १ सय दिन दिनुहोस् देखाइदिन्छौं भन्ने, उनले भने, ‘मैले अरुको बारेमा धेरै टिका टिप्पणी गर्दिन, सस्तो लोकप्रियताको लागि नेकपा एमालेले कसैलाई प्रधानमन्त्रीको अफर गर्दैन ।’ उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ३२ सिट हुँदा पनि च्याखे दाउ थापेर प्रधानमन्त्रीको जुँवा खेलीरहेको र त्यसमा दाउ लागेकोसमेत बताए । यस्तै उनले नक्कली शरणार्थी प्रकरण छानविनमा नेकपा एमालेले सहयोग गर्ने समेत बताएका छन् ।
म्याग्दी: म्याग्दीको अन्नपूर्ण गाउँपालिका –३ स्थित रुप्से झरनामा अवलोकन गर्ने क्रममा चिप्लिएर शनिबार बिहान एक जना पर्यटकको ज्यान गएको छ । बेनी जोमसोम सडकअन्तर्गत पर्ने पर्यटकीय स्थल रुप्से झरनाको अवलोकन गर्न पुग्नुभएका काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–१ चपली बस्ने ५६ वर्षीय बसन्त भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । प्रहरी निरीक्षक किरण लामाका अनुसार झरना अवलोकन गर्दा ढुङ्गाबाट चिप्लिएर ३० मिटर तल खस्दा टाउकोमा चोट लागेर गम्भीर घाइते भएका भण्डारीको बेनी अस्पतालमा उपचारका क्रममा चिकित्सकले मृत घोषणा गरेका थिए ।

