पोखरा: तनुहँको चुँदेर युवा क्लबद्वारा आयोजित प्रथम चुँदेर कप साबिक वडास्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि अन्नपूर्ण युवा क्लब शुक्लागण्डकी २ कोत्रेले जितेको छ । व्यास नगरपालिका ५ मा चुँदेर खेल मैदानमा आज (सोमबार) भएको फाइनल खेलमा सिद्धबाबा युवा क्लब व्यास १३ लाई २५–२१ र २५–२२ को सोझो सेटमा हराउदै अन्नपूर्णले उपाधि जितेको हो । उपाधिसँगै अन्नपूर्ण क्लबले शिल्ड, मेडल तथा प्रमाणपत्रसहित नगद रु ३३ हजार ३ सय ३३ रुपैयाँ प्राप्त गर्याे । यसैगरी उपविजेता बनेको सिद्धबाबा क्लबलाई शिल्ड, मेडल तथा प्रमाणपत्रसहित नगद रु २२ हजार २ सय २२ रुपैयाँ प्रदान गरेको आयोजक संस्थाका अध्यक्ष सुक बहादुर थापामगरले जानकारी दिए । उनका अनुसार सान्त्वना स्थान हासिल गरेको त्रिवेणी युवा क्लबले शिल्ड, मेडल तथा प्रमाणपत्रसहित नगद रु ११ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्याे । प्रतियोगिताबाट सर्वाेत्कृष्ट खेलाडीका रुपमा अन्नपूर्ण युवा क्लबका रवि गुरुङ घोषित हुदै पुरस्कृत भएको खेल संयोजक कुशल थापाले बताए । उनका अनुसार उत्कृष्ट स्पाइकरका रुपमा त्रिवेणी युवा क्लबका विवेक कुमाल र उत्कृष्ट लिफ्टरका रुपमा सिद्धबाबा क्लबका नवीन आले पुरस्कृत भए । प्रतियोगिताबाट विजेता तथा उपविजेता टोलीलाई व्यास नगरपालिका ५ का वडाध्यक्ष विष्णु कुमार श्रेष्ठ तथा पुरस्कार प्रायोजकहरुले पुरस्कार वितरण गरेका थिए । सो अवसरमा बोल्दै प्रमुख अतिथिसमेत रहेका वडाध्यक्ष श्रेष्ठले स्थानीय स्तरको खेलाडी उत्पादन गराउनका लागि वडास्तरीय प्रतियोगिताको आवश्यकता रहने धारणा राखे । उनले आगामी दिनमासमेत सो प्रकारका प्रतियोगितालाई निरन्तरता दिन आग्रह गर्दै आफ्नो तर्फबाट पनि सहयोग गर्ने बताए । उनले प्रतियोगिताले प्रतिभावान खेलाडीलाई अवसर मिल्ने बताउदै प्रोत्सहान गर्न अपरिहार्य रहेको उल्लेख गरेका थिए । सो प्रतियोतिको प्रथम पुरस्कार बेलायती सेना विजय सुनारले, द्वित्तिय पुरस्कार पोखरा इन्जिनियरिङ क्याम्पसका सहायक प्राध्यापक इन्जिनियर यम बहादुर थापामगरले र तृतीय पुरस्कार पुष्पराज ओझाले प्रायोजन गरेका थिए । क्लबका अध्यक्ष सुक बहादुर थापामगरको सभापतित्वमा भएको पुरस्कार वितरण तथा समापन समारोहको सञ्चालन विकास थापामगरले गरेका थिए ।
काठमाडौं: संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीशमा कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको नाम सिफारिस गरेको छ । आज सोमवार सिंहदरबारमा बसेको संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीशमा कार्कीको नाम सिफारिस गर्ने निर्णय गरेको हो । अब संवैधानिक परिषद्को सिफारिसलाई संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि प्रधानन्यायाधीश नियुक्त हुने व्यवस्था छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपसभामुख इन्दिरा राना, कानुन न्याय र संसदीय मामिला मन्त्री धनराज गुरुङ र प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली सहभागी थिए।
पोखरा: पोखराको नदीपुरमा रहेको पद्म नर्सिङ होममा पोखरामै निजी हस्पिटलमा पहिलो पटक पेटमा रहेको क्यान्सरको शल्यक्रिया सफल भएको छ । अन्य अप्रेसन भन्दा पेटमा रहेको क्यान्सरको अप्रेसनमा ग्रन्थि सहित क्यान्सर फाल्नुपर्ने र उक्त कार्य निकै जटिल हुने भएकाले त्यहांका शल्य चिकित्सकले ८ घण्टा लामो समय लगाएर ५१ वर्षिय पुरुषको पेटमा रहेको क्यान्सरको सफल शल्यक्रिया गरेका हुन् । पद्म नर्सिङ होमका पेट कलेजो, आन्द्रा तथा प्याङक्रियाज रोग शल्यचिकित्सक GI and HPB surgeon डाक्टर सुजन गौतमको टीमले ५१ वर्षिय पुरुषको पेटमा रहेको क्यान्सरको सफल पुर्वक शल्यक्रिया सम्पन्न गरेको अस्पतालले जनाएको छ । सामान्य अप्रेसन र क्यान्सर सम्बन्धी अप्रेसनमा भिन्नता हुने बताउदै डाक्टर सुजन गौतमले कुनै पनि क्यान्सरको शल्यक्रिया गर्दा ग्रन्थि lymphnode सहित निकाल्नुपर्ने हुदा क्यान्सर भएको ठांउको ग्रन्थिहरुलाई पनि शल्यक्रियाको माध्यामबाट रगत बहने नसाको छेउछाउमा रहेर शल्यक्रिया गर्नु पर्ने भएकोले निकै जटिल हुने र कौशलता पूर्वक क्यान्सर निकाल्नुपर्ने भएकाले आफ्नो टीमलाई ८ घण्टा समय लागेको वताउदै पोखरामा नै पहिलो पटक निजी हस्पिटलबाट उक्त सेवा प्रदान गर्न पाउदा निकै खुसी लागेको बताए । ८ घण्टा लामो समय लगाएर sub total gastrectomy + D2 lymphnode dissection + Roux- en- Y gastro jejunostomy मार्फत विरामीलाई शल्यक्रिया गराइ ७ दिनमा नै डिस्चार्ज गर्न पाउदा खुसी लागेको वताउदै डाक्टर गौतमले खाना खान नसक्ने अवस्थामा हस्पिटल भर्ना भएको बिरामीलाई ७ दिनमै घर पठाउन पाउदा आफ्नो टीम निकै हौसिएको बताए । उनले पोखरामा नै यस्ता जटिल प्रकारका क्यान्सरका बिरामीले समेत उपचार पाउने भएकाले अव काठमाण्डौ चितवन जान पर्ने समस्या नरहने बताए । डाक्टर सुजनको टीममा डाक्टर सुशील सुवदी, एनेस्थेसिया डाक्टर अनिल न्यौपाने र डाक्टर बसन्त कोइराला संगै ओटि नर्स लक्ष्मीदेवी शर्मा लगायतको टीम ८ घण्टा सम्म उक्त विरामीको शल्यक्रियामा खटिएको जनाईएको छ । सो अवसरमा वोल्दै पद्य नर्सिङ होमका अध्यक्ष इन्दीरा शर्मा सुवेदीले विगत २८ वर्षदेखी पोखरामा विरामीहरुको सेवा प्रदान गर्दै आइरहेको पद्य नर्सिङ होमले पोखराको नदीपुरबाट सञ्चालनमा आएसंगै पोखरामा पहिलोपटक क्यान्सर जस्तो रोगको सफल शल्यक्रिया गरी विरामीहरुलाई हौसला प्रदान गरेको वताइन । बिगत २८ बर्ष देखि पोखराको न्युरोडमा भाडाको भवनमा संचालनमा रहेको यस क्षेत्रकै पहिलो निजी अस्पताल पद्म नर्सिङ्ग होम प्रा।लि। गत असोज देखि पोखरा –३, नदिपुर स्थित आफ्नै सुबिधा सम्पन्न भवनबाट संचालनमा आएको छ । हस्पिटलमा २४ सै घण्टा आकस्मिक सेवा, मुटु तथा मेडिकल, जनरल सर्जरी, आँखा सम्बन्धि रोग, हाडजोर्नी तथा नशा रोग, नाक कान घाँटी सम्बन्धि रोग, बालरोग, स्त्रीरोग, छाला तथा एलर्जी, बाल दन्तरोग, नसा तथा मानसिक रोग लगायतका बहिरंग (ओपिडी) सेवा संचालनमा छन् । यस्तै अत्याधुनिक प्रयोगशाला, सबै प्रकारका अप्रेसन सेवाहरु, आइसियु, एनआईसियु , एक्सरे ,भिडियो एक्सरे, इण्डोस्कोपी,कोल्नोस्कोपी, इकोकार्डियोग्राफी, एलर्जी परिक्षण एवं स्किन लेजर सर्जरी लगयतका सेवाहरु पनि संचालनमा रहेको हस्पिटलले जनाएको छ ।
टीकापुर: कैलालीको टीकापुरमा भएको भुपेन्द्र बडुवाल हत्या काण्डका मुख्य अभियुक्त भनिएका नवीन रावलले कैलाली जिल्ला अदालतमा आत्मसमर्पण गरेका छन् । लम्कीचुहा नगरपालिका–३ चिसापानीका २९ वर्षीय रावलले आइतबार अदालतसमक्ष आत्मसमर्पण गरेकाे इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख डीएसपी उद्धवसिंह भाटले जानकारी दिए । डीएसपी भाटका अनुसार २३ कात्तिक २०७८ मा लम्कीचुहा नगरपालिका–१ का २२ वर्षीय बडुवालको धारिलो हतियार प्रयोग गरी टीकापुरमा हत्या भएकाे थियाे । घटनामा संलग्नता रहेको भन्दै जिल्ला अदालतमा प्रहरीले २१ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । हालसम्म घटनामा रावलसहित १६ जना कानुनी कारबाहीको दायरामा आएका छन् भने पाँच जना अझै फरार छन् ।
काठमाडौं: निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की विन्दाबासिनी कंसाकारलाई सांसद बनाएको छ। आयोगले कंसाकारलाई आइतबार सांसदको प्रमाणपत्र समेत दिइसकेको आयोगका उपन्यायाधिवक्ता गुरूप्रसाद वाग्लेले जानकारी दिए। रास्वपाका समानुपातिक सांसद रहेका ढाकाकुमार श्रेष्ठले व्यवसायी दुर्गा प्रसाईंसँग मन्त्री बन्न दुई करोड रुपैयाँ मागेका थिए। उक्त अडिओ बाहिर आएपछि रास्वपाले छानविन गरी उनलाई निलम्बन गरेको थियो। यस्तै पार्टीले उनको सांसद पद समेत नरहने गरी कारबाही गरी विन्दाबासिनीलाई सांसद बनाउने निर्णय गरेको थियो। प्रतिनिधि सभा संसदले पनि समानुपातिक सांसदको पद खाली रहेको जानकारी निर्वाचन आयोगलाई दिन्छ। उक्त जानकारी प्राप्त भएपछि आयोगले ७ दिनभित्र समानुपातिक सांसदको नाम पठाउन माग गर्ने वाग्लेले बताए। त्यसअनुसार नै रास्वपाले विन्दावासिनीको नाम पठाएको थियो। त्यसमा उनलाई सांसद बनाउने आयोगले निर्णय गरेको हो। निर्णय गरेपछि आयोगले यसको जानकारी संघीय संसदलाई पनि दिनुपर्ने र प्रमाणपत्र दिनुपर्ने वाग्लेले बताए। आजै सर्वोच्च अदालतले तत्कालीन सांसद ढाकाकुमार श्रेष्ठलाई गरिएको कारबाही तत्काल कार्यान्वयन नगर्न रास्वपालाई अन्तरकालीन अन्तरिम आदेश दिएको छ।
उदयपुर: १३ वर्षीया बालिका र १६ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गरेको अभियोगमा २ जना पक्राउ परेका छन् । उदयपुर प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा भोजपुर आमचोक गाउँपालिका–१० घर भई उदयपुर चौदण्डीगडी नगरपालिका–४ बर्खेडाँडा बस्ने १८ वर्षीय र उदयपुर चौदण्डीगढी नगरपालिका–३ बसाह बस्ने सोही उमेरकै किशोर रहेका छन् । उनीहरूले ती बालिका र किशोरीलाई शनिबार राति जबरजस्ती करणी गरेको उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय बेल्टार उदयपुरबाट खटिएको प्रहरीले उनीहरूलाई आइतबार बिहान पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
काठमाडौं: प्रहरी उपरीक्षकबाट प्रहरी वरिष्ठ उपरीक्षक पदमा पदोन्नति भएका २० जना प्रहरी अधिकृतहरू दर्ज्यानी प्रदान गरिएको छ । प्रहरी सँगठनका प्रमुख प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नेपाल प्रहरी प्रधान कार्यालयमा आज (सोमबार) आयोजित एक समारोहबीच २० जना एसएसपीलाई दर्ज्यानी चिन्ह प्रदान गरेको हो । नेपाल सरकार उपप्रधानमन्त्री तथा गृहमन्त्रीस्तरको वैशाख २४ गतेको निर्णयले प्रशासन तथा प्राविधिकतर्फ २१ जनालाई पदोन्नती गरेको थियो । तर कार्यक्रममा २० जनाले दज्र्यानी चिन्ह प्रदान गरिएको थियो । पदोन्नती हुनेहरुमा प्रशासनतर्फ प्रहरी वरिष्ठ उपरीक्षकहरू विश्व अधिकारी, भुपेन्द्र बहादुर खत्री, सानुराम भट्टराई, ओम प्रसाद अधिकारी, शेखर खनाल, अबि नारायण काफ्ले, सोमेन्द्र सिंह राठौर, मुकुन्द मरासीनी, दीप शम्शेर जवरा, वेल बहादुर पाण्डे, दिनेशराज मैनाली, गोपाल चन्द्र भट्टराई, प्रविण पोखरेल, कृष्ण बहादुर पल्ली मगर, विश्वमणी पोखरेल, तारादेवी थापा र प्रज्वल महर्जन रहेका छन् । यस्तै प्राविधिकतर्फ प्रहरी वरिष्ठ उपरीक्षकहरू डा.संज्ञा मल्ल, डा.दिवा शर्मा र डा.आषिश दत्त रहेका छन् । साथै सोही निर्णयबाट पदोन्नति भएका प्रहरी वरिष्ठ उपरीक्षक गंगा पन्त भने हाल संयुक्त राष्ट्र संघीय मिसनमा छन् । सो कार्यक्रममा बोल्दै प्रहरी महानिरीक्षक बसन्त कुँवरले पदोन्नतिसँगै जिम्मेवारी बढेकाले संगठनको प्रतिष्ठा बढाउने काममा सधै समर्पित हुनुपर्ने बताएका थिए ।
पोखरा: सांसद पद गुमाएका राष्ट्रिय स्वतन्त्र पार्टीका नेता ढाकाकुमार श्रेष्ठलाई कारबाही नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । सर्वोच्चका न्यायाधीश तीलप्रसाद श्रेष्ठको इजलासले आज (सोमबार) तत्काल कारबाही नगर्न भन्दै रास्वपालाई अल्पकालीन अन्तरिम आदेश दिएको हो । डाक्टर श्रेष्ठले व्यवसायी दुर्गा प्रसाईसँग मन्त्री बन्नका लागि दुई करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएपछि पार्टीबाट निष्कासित भएका थिए । त्यसपश्चात आफूमाथिको भएको कारबाही न्यायोचित नरहेकाले श्रेष्ठले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । सर्वोच्च अदालतले रास्वपा र अनुशासन समितिसँग श्रेष्ठमाथि कारबाही गर्नुको लिखित कारण पनि मागेको छ । रास्वपाको कारबाहीपछि समानुपातिक सांसद रहेका श्रेष्ठको सांसद पदसमेत रिक्त भइसकेको छ ।
काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा। स्वर्णिम वाग्लेले सरकारले संसदमा पेस गरेको आउँदो आर्थिक वर्ष २०८०र८१ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा अर्थतन्त्र सुधारका लागि प्रयास गरेको भए पनि त्यो पर्याप्त नभएको बताएका छन् । विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताबारे प्रतिनिधि सभाको आज सोमवारको बैठकमा सांसद वाग्लेले अर्थतन्त्र सुधारका लागि गम्भीर सर्जरी नै आवश्यक रहेका बेला सामान्य झारफुकले मात्र यो सम्भव नहुने धारणा राखे । त्यस्तै विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताले धेरै विषय समटेको भए पनि त्यसले अपेक्षित आशा जगाउन नसकेको उनको भनाइ छ । ‘धेरै विषय परेका छन् । केही छुटाउन नहुने कुरा छुटेका छैनन् । भन्दिनुपर्ने, सुनाइदिनुपर्ने कुरा पनि ल्याइएको नै छ’, वाग्लेले भने, ‘आर्थिक वृद्धि, सुशासन, जलवायु परिवर्तनको असर न्यूनीकरण, सङ्घीयताको सबलीकरण, सामाजिक न्याय, निजी क्षेत्रको मनोबल बढाउनेजस्ता कुरा अर्थमन्त्रीले ल्याउनुभएको छ । तर पनि माहोल खल्लो छ । हामी उत्साहहीन कर्मकाण्डमा सामेल भइरहेको जस्तो अनुभूति भइरहेको छ ।’ बजेटको सिद्धान्त र प्राथमिकतामा अर्थतन्त्रलाई तत्काल सुधार्न हतार (सेन्स अफ अर्जेन्सी) नदेखिएको पनि उनले उल्लेख गरे । ‘यो यथास्थितिवादी निबन्धले सम्पूर्ण नीति, योजना, बजेट निर्माण र शासकीय प्रक्रिया नै अविश्वसनीय भइरहँदा, सच्चिने, सुधार्ने, सपार्ने गुञ्जायस हामीले भेटाएका छैनौँ । त्यो सेन्स अफ अर्जेन्सी हामीले भेटाइरहेका छैनौँ’, वाग्लेले भने । अर्थतन्त्रले लय गुमाइरहेका बेला आर्थिक वृद्धि र उन्नतिका कुरा असुहाउँदो रहेको टिप्पणी पनि उनले भने । ‘चालु आर्थिक वर्षका लागि आठ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य राखिएकोमा अहिले हामी दुई प्रतिशत हाराहारीमा रुमलिनुपरेको छ’, उनले भने, ‘लयमा भएको अर्थतन्त्रमा स्थिरताका कुरा गर्न सुहाउँछ । तर सङ्कटमा जाकिएको र भड्कालोमा परेको अर्थतन्त्रका बेला स्थिरता र स्थायित्वको नाराले न्याय गर्दैन ।’ नेपालको कर्जा विस्तारमा आर्थिक वृद्धिदरसँग सामञ्जस्यता देखिन नसकेको उनले बताए । त्यस्तै सरकारी आयको तुलनामा खर्च बढ्दै जानु पनि गम्भीर विषय रहेकोउनले उल्लेख गरे । ‘बजेट घाटाको खाडल कसरी हटाउने भन्ने ठूलो चुनौती छ । कर्जा लगानी र आर्थिक वृद्धिदरबीच ठूलो भ्वाङ छ । कर्जा नियमितरूपमा २०÷२२ प्रतिशतले वृद्धि भइरहेको छ । तर त्यसले अर्थतन्त्रको वृद्धिदरमा उपेक्षित योगदान दिन सकेको देखिँदैन’, सांसद वाग्लेले भने । सत्तारूढ दल नेपाली कांग्रेसको चुनावी घोषणापत्रमा परेको ‘ओम्निबस’ आर्थिक सुधारका विषयलाई गम्भीर भएर लिइनुपर्ने उनले बताए । ‘छोटो समयमा ठूलठूला काम गर्नुछ । लगानीमैत्री वातावरण बनाउनका लागि चार दर्जनभन्दा बढी कानुन संशोधन गर्नुपर्ने भनिएको छ । त्यसमा सरकारको ध्यान पुगोस्’, वाग्लेले भने । नेपालमा डिजिटल प्रविधिको पर्याप्त विकास हुन नसकेको, विश्वआपूर्ति शृङ्खला खल्बलिएको, सस्तो पुँजी दुर्लभ हुँदै गएको, स्वास्थ्य र शिक्षा क्षेत्रमा पूर्वाधार पर्याप्त रहेपछि त्यहाँबाट पाइने सेवाको प्रभावकारिता देखिन नसकेकोलगायतका विषय उनले उठाएका छन् ।

