काठमाडौं: हाल देशका पहाडी भू-भागमा आंशिक बदली रहेको छ । आज दिउँसो देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसैगरी कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका केही स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना छ । लुम्बिनी प्रदेशका तराईका भू-भागका केही स्थानमा सामान्य हावाहुरीको सम्भावना रहेको अनुमान गरिएको छ । हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव कायमै छ । आज राति भने गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
काठमाडौं: नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले पूर्व गृहमन्त्री एवम् नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणलाई पक्राउ गरेको छ । प्रहरीले अनुसन्धानको लागि भन्दै खाँण र उहाँका निजी सचिव नरेन्द्र केसीलाई बुधबार बिहान निवासबाटै पक्राउ गरेको हो । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गरेको अभियोगमा यसअघि पक्राउ परेकाहरुले दिएको बयानका आधारमा नेता खाँण पक्राउ परेका हुन् । खाँणकी पत्नी मञ्जु खाँण र कांग्रेस नेतृ आरजु राणालाई रकम बुझाउनुपर्ने भन्दै बिचौलियासँगको अडियो सम्वादसमेत यसअघि सार्वजनिक भैसकेको छ । त्यो अडियोमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पूर्व उपप्रधानमन्त्री एवम् एमाले सचिव टोपबहादुर रायमाझी भने फरार छन् । प्रहरीले यसअघि सचिव टेकनारायण पाण्डे, टोपबहादुर रायमाझीका छोरा सन्दीप, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार ईन्द्रजित राई, केशव दुलाल, सानु भण्डारी, टङ्क गुरुङ, सन्देश शर्मा पोखरेल र सागर थुलुङसहित १० जनालाई पक्राउ गरेको छ ।
पोखरा: पोखरामा म्याद गुज्रेका १३ लाख बढीको बर्डवाइजरको बियर प्रशासनले नियन्त्रणमा लिएको छ । पोखरा महानगरपालिका ५ प्रस्याङ शिवालय मार्गस्थित लाभाजु इन्टरप्राइजको स्टोरबाट १३ लाख ९८ हजार ५ सय ३० रुपैयाँ बराबरको बर्डवाइजरको बियर जिल्ला प्रशासन कार्यालय कास्कीले नियन्त्रणमा लिएको सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले जानकारी दिए । ‘स्थानीयहरुले लावाजु इन्टरप्राइजको स्टोरबाट म्याद गुज्रेको बियर बिक्री हुँदै आएको छ भन्ने गुनासो आएपछि अनुगमनको क्रममा जाँदा म्याद गुज्रेको बियर बरामत गरेका हौं, ढकालले भने, ‘भोलि म्याद गुज्रेको बियरलाई सरकारवालाहरुको उपस्थितिमा बियर नष्ट गछौं, त्यसपछि म्याद गुज्रेको बियर कसरी पोखरा ल्याइयो भनेर थप अनुसन्धान गछौं ।’ उनका अनुसार बर्डवाइजरको बियर पोखरा लाभाजु इन्टरप्राइजको स्टोरबाट बरामत भएको हो । ६ सय ५० एमएलको ३ सय १३ कार्टुन र ३ सय ३० एमएलको ६ कार्टुन बियर प्रशासनले बरामत गरेको हो । कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी ढकालका अनुसार म्याद गुज्रेका बियर नष्ट गरेपछि ऐन अनुसार कारवाही हुने जानकारी दिए ।
पोखरा: हङकङ बजारका व्यवसायीहरुले माग सम्बोधन नभए महानगरमा ताला लगाउने चेतावनी दिएको छ । विभिन्न मागसहित चरणबद्ध आन्दोलनमा रहेका हङकङ बजारका व्यवसायीले आज पनि महानगरलाई घेराउ गर्दै आफुहरुको माग सम्बोधन नभए तालाबन्दी गर्ने चेतावनी दिएका हुन् । उनीहरुले विरोधका क्रममा महानगरले आफ्ना मागहरु बेवास्ता गरेको भन्दै सिठ्ठी बजाएर नाराबाजी गरेका थिए । हङकङ बजारका व्यवसायीमाथि अस्भाविक भाडा वृद्धि गरेको र कृषि सामाग्री कम्पन्नीले आह्वान गरेको टेण्डर खारेज गरि उचित भाडादर कायम गर्नुपर्ने ३ बुँदे उनीहरुको माग छ । ‘हिजो सडकमा फुटपाटमा व्यवसाय गर्दै गर्दा कृषि सामाग्री कम्पनीको जग्गामा हामीलाई व्यवस्थापन गरियो, व्यवसायी जीवन अलिले सुनगाभा न्यूजसँग भने, ‘अहिले ४ सय प्रतिशत भाडा बढाएर टेण्डर आह्वान भयो, टेण्डर प्रक्रियामा जाँदा त्यो बढेर जान्छ, बढेर आएको भाडा तिर्न सक्दैनौ, व्यापार त्यही अनुसार हुँदैन ।’ उनले हङकङ बजारमा व्यवसाय गर्दै आएका व्यवसायीहरुको अभिाभावक महानगरपालिका भएकाले महानगरपालिकाले नै समस्याको समाधान गर्नुपर्ने बताए । अर्का व्यवसायीले भने, ‘हिजो हामी सडकका फुटपाथ व्यवसायी हौं, पोखरालाई सुन्दर र फुटपाथ व्यवसायी मैत्री बनाउने योजनामा साथ दिन हामीलाई कृषि साम्रगी कम्पनीको सामित्वमा रहेको जग्गा र उक्त जग्गासँगै जोडिएको नगर विकास समितिको जग्गामा व्यवस्थापन गरियो तर अहिले बोलपत्र आह्वान गर्दा हामी व्यवसायी मर्कामा प¥यौं महङ्गो सटरमा व्यवसाय गर्न सक्दैनौं ।’ व्यवसायीहरुले महानगरपालिकाले सर्वदलीय बैठकबाट नै समस्याको समाधान निकाल्नुपर्नेसमेत आग्रह गरे । पोखराको विभिन्न स्थानका फुटपाट व्यवसायीहरुलाई महानगरपालिकाले तत्कालिन समयमा २०६९÷११÷१०÷१५ गते पोखरा महानगरपालिका ९ स्थित कृषि सामाग्री कम्पनीको स्वामित्वमा रहेको ७ रोपनी जग्गा र उक्त जग्गासँगै जोडिएको नगर विकास समिति पोखराको ३ रोपनीमा व्यवस्थापन गरेको थियो । व्यवसायीको आन्दोलनमा राजनीतिक दलको ऐक्यबद्धता हङकङ बजारका व्यवसायीहरुको आन्दोलनलाई कास्कीमा क्रियाशिल राजनीतिक दलहरुले समेत ऐक्यबद्धता जनाएका छन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधिहरुले व्यवसायीहरुलाई धरायसी बनाउन नहुने बताउदै ऐक्यबद्धता जनाएका हुन् । हङकङ बजार व्यवस्थापन समितिले ४ सय प्रतिशत भाडावृद्धि गरेर कृषि सामाग्री कम्पनीले विचौलियाहरुलाई फाइदा पुग्ने गरी टेण्डर आह्वान गरेपछि त्यसको विरोध गर्दै राजनीतिक दलहरुलाई पत्र पठाएका थिए । आन्दोलनलाई सम्बोधन गर्दै नेपाली कांग्रेस कास्कीका सचिव भानु ढकालले फुटपाटमा व्यवसाय गर्दै व्यवसायीहरुलाई हतोत्साहित गराउने गरी टेण्डरमा जानु गलत भएको बताए । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी गण्डकी प्रदेशका महामन्त्री अशोक खड्काले विचौलियाहरुलाई फाइदा पुग्ने गरी टेण्डर आह्वान भएको बताए । ‘कृषि सामाग्री कम्पनीले कुनै विचौलियालाई पोस्ने गरी टेण्डर आह्वान गरेको छ, ३ देखि ४, ५ सय प्रतिशत भाडादर वृद्धि हुने गरी टेण्डर आह्वान भएको छ, खड्काले भने, ‘हङकङ बजारका व्यवसायीहरुको समस्या समाधान नभएरसम्म संसददेखि सडकसम्मसँगै रहन्छौं ।’ २०६९ सालमा पोखरा महानगर ९ स्थित कृषि सामाग्री कम्पनीको स्वामित्वमा रहेको नन्द प्रसाद तिवारीले भाडा लिएको ७ रोपनी जग्गा र उक्त जग्गासँगै जोडिएको नगर विकास समिति पोखराको ३ रोपनीमा व्यवस्थापन गरिएपनि अहिले कृषि साम्रगी कम्पनीको सामित्वमा रहेको ७ रोपनी जग्गा कम्पनीले न्यूनतम १२ लाख १५ हजार भाडा दिन सिलबन्दी बोलपत्र आह्वान गरेपछि व्यवसायी आन्दोलित भएका हुन् ।
काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री तथा सांसद विश्वप्रकाश शर्माले सरकारले भ्रष्टाचारविरुद्ध फाइल मात्रै नभई ‘ फायर ’ खोल्नुपर्ने बताएका छन् । मंगलबार प्रतिनिधि सभा चलिरहेको विनियोजित बजेट २०८० को सिद्धान्त र प्राथमिकता माथिको छलफलमा भाग लिँदै महामन्त्री शर्माले यस्तो बताएका हुन्। उनले सरकारले नक्कली भुटानी शरणार्थी भ्रष्टाचारको फाइल खोलेर मात्रै नहुने भन्दै यसलाई निष्कर्षमा पुर्याउनुपर्ने बताए, र सरकारले भ्रष्टाचारविरुद्ध फाइल मात्रै नभएर फायर खोल्दै दोषीलाई उम्किन दिनु नहुने बताएका छन् । उनले भने् “भुटानी शरणार्थी सन्दर्भको जुन फाइल खोलिएको छ । यसलाई सरकारले निष्कर्षमा पुर्याउनुपर्छ। भ्रष्टाचारविरुद्ध फाइल मात्रै होइन । मलाई लाग्छ राज्यले फायर खोल्नुपर्छ ।’’ बितेको १० वर्षमा अर्बौँको बेरुजु र भ्रष्टाचार मुलुकको सामु रहेको उनको भनाइ छ। नेता शर्माले बितेका दशकमा निरन्तरको व्यापार घाटा र खान पुग्नेसम्मको उत्पादन नभएको स्थिति रहेको बताए । उनले मुलुकको व्यापार घाटा कम गर्न मुलुकमा उत्पादन र निर्यात बढाउन आवश्यक रहेको भन्दै सरकारले त्यही अनुसार नीति बनाउन आवश्यक रहेको बताएका छन् । उनले गत वर्ष मात्रै ४५ अर्बको चामल र २२ अर्बको तरकारी र फलफूल आयात भएको भन्दै हजारौँ युवा कृषि क्षेत्रमा लाग्न तयार रहेको बताए भने, उनले त्यसको लागि अर्थमन्त्रीले बैङ्किङ सहजता बनाइदिनु आग्रह गरएका छन् । अमुख उद्योगमा अमुक दलको झोली भर्ने खालको मनोविज्ञानबाट मुक्त हुनु आवश्यक रहेको उल्लेख गरेका छन् ।
काठमाडौं: राष्ट्रिय सभा सदस्य दीपा गुरुङले क्यान्टनमेण्ट काण्डबारे छानबिन गर्न माग गरेकी छिन् । उनले क्यान्टनमेण्टको काण्डलाई न्यायसङ्गत रूपमा छानबिन गर्न पनि आग्रहसमेत गरेकी छिन् । उनले भनिन् ‘‘धेरै लामो समयबाट भ्रष्टाचारको काण्डैकाण्ड देशमा छाएको छ, त्यसको छानबिन गर्न जरुरी छ । धेरै लामो समयदेखि उठेको काण्डअन्तर्गत क्यान्टनमेण्टको काण्ड पनि उठेको छ, यसलाई न्यायसङ्गत रूपमा कानुनी तवरबाट बाहिर ल्याउन जरुरी छ ।’’ त्यस्तै, राष्ट्रिय सभा सदस्य प्रकाश पन्थले हालसम्मका सबै प्रधानमन्त्री, मन्त्री र सांसद, कर्मचारीहरूको छानबिन गर्न माग गर्नुभएको छ, र भ्रष्टाचारविरुद्ध कडा प्रतिरोध सुरु गर्न पनि आग्रह गरे । उनले सदाचारको नीति प्रधानमन्त्री कार्यालयबाट नै प्रारम्भ गर्न र आर्थिक मन्दीको समयमा तलब बाहेकका सबै सुविधा कटौती गर्न समेत माग गरे । दिपा गुरुङले भनिन् , ‘‘हालसम्मका सबै प्रधानमन्त्री, मन्त्री र सांसद, कर्मचारीहरूको सम्पत्ति छानबिन गरियोस्, भ्रष्टाचारविरुद्ध कडा प्रतिरोध सुरु गरियोस्, सदाचारको नीति प्रधानमन्त्री कार्यालयबाट नै प्रारम्भ गरियोस् । आर्थिक मन्दीको समयमा तलब बाहेकका सबै कटौती गरियोस् ।’’
पोखराः: जिल्ला प्रहरी कार्यालय कास्कीले दुई केजी गाँजासहित बसन्त सुवेदीलाई प्रकाउ गरेको छ । पृथ्वीराजमार्ग अन्र्तगत पोखरा महानगरपालिका ३० पावरहाउसमा पोखरातर्फ आउँदै गरेको बस चेकजाँच गर्ने क्रममा सुवेदी गाँजासहित प्रकाउ परेका हुन् । पोखरा महानगरपालिका १८ शितलाबस्ती बस्ने २५ वर्षीय बसन्त सुवेदीलाई सवारी चेकजाँचको क्रममा २ केजी ७ सय ८२ ग्राम गाँजा र एक थान मोबाइलसहित प्रकाउ गरेको कास्की प्रहरीले जनाएको छ । प्रकाउ परेका सुवेदीलाई जिल्ला अदालत कास्कीबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
काठमाडौं: आज कानुन दिवस विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ । नेपालमा प्रधान न्यायालय स्थापना भएको दिनलाई कानुन दिवसका रूपमा मनाउने गरिन्छ । नेपालमा प्रधान न्यायालय ऐन, २००८ बने पनि त्यसको लागू भने विसं २००९ वैशाख २६ गतेदेखि भएको थियो । त्यही दिनको सम्झनामा हरेक वर्ष वैशाख २६ गतेको दिनलाई कानुन दिवसका रूपमा मनाउने गरिएको छ । सर्वोच्च अदालतले यो दिवस हरेक वर्ष मनाउने गरेको छ । न्यायपालिकाको स्वतन्त्रता, विधिको शासन तथा आधुनिक न्याय प्रणालीको स्थापनाका लागि यो ऐनले खडा गरेको जगलाई थप बलियो भन्दै दिवस मनाउने गरिन्छ । कानुन दिवसका अवसरमा सर्वोच्च अदालतले हरेक वर्ष शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम गर्ने गरेको छ । आज पनि दिउँसो २ बजे चियापान कार्यक्रम हुने सर्वोच्चले जनाएको छ ।
काठमाडौं: सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहका पदाधिकारी र कर्मचारीलाई अत्यावश्यकबाहेकको अवस्थामा विदेश भ्रमण नगर्न आग्रह गरेको छ । देशको आर्थिक संवेदनशीललाई ध्यानमा राख्दै अहिले तीनै तहका सरकारको बजेट निर्माणको प्रव्रिmया चलिरहेकाले औचित्य पुष्टि हुने अवस्था नभई विदेश भ्रमण नगर्न ७५३ स्थानीय तह र ७७ वटै जिल्ला समन्वय समितिलाई आइतबार परिपत्र गरेको हो । गत फागुन ३० गते बसेको मन्त्रीपरिषद्को बैठकले अत्यावश्यक अवस्थाबाहेक अन्य अवस्थामा विदेश भ्रमण नगर्न सबै स्थानीय तहलाई निर्देशन दिएको थियो । कतिपय भ्रमण तथा कार्यक्रमको आधिकारिता पुस्ट्याइँ हुन नसकेको भन्दै मन्त्रालयले आफूखुसी विदेश भ्रमण नगर्न मन्त्रालयले स्थानीय तहलाई गरेको परिपत्रमा उल्लेख गरिएको छ ।

