काठमाडौं: थप दुई आरोही सगरमाथाको चुचुरोमा पुगेका छन् । आज बिहान ८ः०२ बजे नेपाली र पाकिस्तानी आरोही सगरमाथाको चुचुरोमा पुगेका हुन् । सन् २०२३ को सगरमाथा आरोहणमा पहिलो अन्तर्राष्ट्रिय पर्वतारोही पाकिस्तानकी नैला कैनीले सफल आरोहण गर्नुभएको हो । त्यस्तै नेपाली आरोही पासाङतेम्बा शेर्पाले सगरमाथा आरोहण गर्नुभएको छ । दुवै आरोही इमेजिन नेपाल ट्रेक्स एण्ड एक्सपिडिसन कम्पनीबाट आरोहणमा गएका थिए । कम्पनीका कार्यकारी निर्देशक दावाग्याल्जे शेर्पाले यो यामको सगरमाथा आरोहणमा पहिलो आरोहण महिला अन्तर्राष्ट्रि पर्वतारोहीबाट भएको बताउनुभयो । उहाँका अनुसार अहिले कतिपय आरोही सगरमाथाको हिलारी स्टेप पुगिसकेका छन् भने धेरै आरोही साउथकोल र आसपास छन् । आज साँझसम्म धेरै आरोही सगरमाथाको चुचुरोमा पुग्ने कार्यकारी निर्देशक शेर्पाले जानकारी दिनुभयो । वसन्त ऋतुको यो यामको सगरमाथा आरोहण शनिबारबाट सुरु भएको थियो । सगरमाथा आरोहणका लागि दक्ष कामदार (आइसफल डाक्टर)ले सगरमाथाको चुचुरोसम्म रोप फिक्सिङ (डोरी टाँग्ने) गरेपछि आरोहणको ढोका खुलेको हो । रोप फिक्सिङपछि पहिलो औपचारिक आरोहण सुरु भएको सगरमाथाको दोस्रो शिविरमाथिको बाटो बनाउने जिम्मा पाएको इमेजिन नेपाल ट्रेक एण्ड एक्सपिडिसन कम्पनीले जनाएको छ । यतिबेला सगरमाथाको आधार शिविर र दोस्रो शिविर आसपास आरोहणका लागि सयौँ सङ्ख्यामा आरोही प्रतिक्षारत छन् । पर्यटन विभागका अनुसार वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि ४४ आरोही समूहका चार सय ६७ जनाले अनुमति लिएका छन् । RSS
पोखरा: गण्डकी प्रदेशका नवनियुक्त भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जाली मगर(सुविन) ले भेटघाट र शुभकामना दिन आउनेहरुलाई खादा र माला नल्याउन आग्रह गरेका छन् । यसअघि उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्रीसमेत रहेका मगरले शुभकामना दिन आउनेहरुलाई माला र खादाको प्रयोग नगर्न आग्रह गरेका हुन् । खादाको प्रयोगले वातावरण प्रदुषित हुने र अनावश्यक वस्तुमा फजुल खर्च हुने भएकाले यस्तो निर्णय गरिएको मन्त्री जुग्जालीका स्वकीय सचिव सुदिन पौडेलले जानकारी दिए । उनका अनुसार आज विहान सचिवालयबाटै सूचना नै जारी गरी सम्पूर्णमा जानकारी गराइएको पौडेलले बताए । शुक्रबार पद तथा गोपनीयताको सपथ र कार्यभार सम्हालेका जुग्जाली मगरले प्रादेशिक सडकहरुको गुरुयोजना तयार पार्ने निर्णय गरेका थिए । आगामी आर्थिक वर्षको योजना तथा कार्यक्रम र बजेट निर्माणमा जुटेको मन्त्री जुग्जालीले बताउनुभयो । यसअघि एमालेका खगराज अधिकारी नेतृत्वको सरकारमा करिब दुई महिना उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाएका जुग्जाली मगरले काँग्रेसका सुरेन्द्रराज पाण्डे नेतृत्वका प्रदेश सरकारमा भौतिक मन्त्रालयको जिम्मेवारी पाएका हुन् । जुग्जाली मगर म्याग्दी प्रदेशसभा क्षेत्र (ख) बाट निर्वाचित नेकपा (माओवादी केन्द्र)का जिल्ला संयोजकसमेत हुन् ।
काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच बालुवाटारमा छलफल जारी छ। उनीहरूबीच छलफल भइरहेको प्रधानमन्त्रीका सञ्चार विज्ञ मनहरि तिमिल्सिनाले जानकारी दिएका हुन् । छलफल संसद्मा विधाराधीन संवैधानिक परिषद्लगायत विधेयकहरू, सरकारको नीति कार्यक्रम र बजेटका विषयमा छलफल केन्द्रित रहेको बताइएको छ। सरकार नीति तथा कार्यक्रमको तयारीमा जुटेको छ।
मुस्ताङ: अमेरिका समाचार संस्था सिएनएनले जारी गरेको रिर्पोट अनुसार घुम्नै पर्ने उत्कृष्ट स्थानमा नेपालको मुस्ताङ पनि परेको छ । अमेरिका समाचार संस्था सिएनएनले जारी गरेको रिर्पोट अनुसार सन २०२३ मा घुम्नै पर्ने स्थानको सुचीमा नेपालको मुस्ताङ उपत्यका पनि परेको हो । मुस्ताङ दक्षिण एसियामा घुम्नै पर्ने ठाउँ मध्ये एक मात्र ठाउँको रूपमा उल्लेख गरिएको छ। नेपालको मुस्ताङ उपत्यका तिब्बतको ढोकामा अवस्थित छ। हिमालय र भारतबीचको व्यापारलाई सहज बनाउने पुरानो ट्रेलहरू मध्ये एउटा मुस्ताङसमेत रहेको जनाउँदै सिएनएनले हिमाली पदयात्राका लागि प्रसिद्ध स्थानको रूपमा उल्लेख गरेको छ । तल्लो मुस्ताङको जोमसोमको सानो सहरको माथि रहेको छ , यहाँ सबैखाले उपलब्ध रिसोर्टहरु रहेका छन् । लक्जरी खोज्नेहरू देखी परम्परागत तिब्बती घरहरूबाट प्रेरित २९ सुइटहरूसमेत रहेका रिर्सोटहरु रहेका छन् । पदयात्राका अतिरिक्त, मुस्ताङमा पर्यटकहरूले पुरातन गाउँहरू र बौद्ध गुम्बाहरू हेर्न सक्छन्। साथै छुटाउन नहुने अर्को कुरा भनेको मानव निर्मित गुफाहरू रहेका छन्, जहाँ २,००० वर्ष पुरानो बौद्ध मूर्तिकला र चित्रहरू देखिन पाइनेछ । मुस्ताङ उपत्यका पुग्नु आफैमा साहसिक कार्यको एक हिस्सा पनि हो। यात्रुहरूले राजधानी काठमाडौँबाट पोखराको लागि २५ मिनेटको उडान र त्यसपछि अर्को विमानमा चढेर २० मिनेटको जोमसोमको यात्रा गर्नुपर्नेछ। काठमाडौँबाट १२ घण्टाको ड्राइभ गरेर पुग्न सकिन्छ । हवाई यात्रा भन्दा पनि वैकल्पिक यात्राको क्रममा देखिने दृश्यहरूले थप मनमोहक बनाउन सक्छ। तस्बिर: अर्जुन गाहा (सुशान्त) /सुनगाभा न्यूज
काठमाडौँ: स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नियमित खोप लगाउन छुटेका बालबालिकालाई आज एकैसाथ खोप लगाउँदै छ । परिवार कल्याण महाशाखाका बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले नियमित खोप लगाउन छुटेका बालबालिकालाई आज खोप लगाउन थालिएको जानकारी दिएका छन् । उनको अनुसार १५ महिनामा लगाउनुपर्ने नियमित खोप लगाउन छुटेका पाँच वर्षदेखि मुनिका बालबालिकालाई १३ प्रकारका खोप लगाइने छ । मन्त्रालयले कोही पनि बालबालिका नियमित खोप लगाउनबाट नछुटुन् भन्नका लागि यही वैशाख १५ गते र आज दुईदिने बृहत् खोज र खोप अभियान सञ्चालन गरी खोप लगाउन थालेको हो । केही जिल्लामा खोप छुट बच्चाको सङ्ख्या बढ्दै गई दादुरा रुवेलाको महामारीसमेत देखापरेकाले मन्त्रालयले बालबालिका छुटेको खोप दिन थालेको हो । नेपालमा अहिले पनि ८० प्रतिशत बालबालिकाले पूर्ण मात्रा र २० प्रतिशत बालबालिकाले सबै खोप नलगाएको र चार प्रतिशत बालबालिकाले कुनै पनि खोप लगाएका छैनन् । नजिकैको स्वास्थ्य कार्यालयमा गई आफ्ना बालबालिकालाई छुटेको खोप लगाउन मन्त्रालयले आग्रह गरेको छ । रासस
काठमाडौं: काठमाडौं महानगरपालिका–३१ बानेश्वर कात्यानीचोकबाट ११ जना जुवाखालबाट पक्राउ परेका छन् । सगोल कोइरालाको घरमा जुवातास खेलिरहेको अवस्थामा सिन्धुली सुनकोशी गाउँपालिका–३ घर भई हाल काठमाडौं गौशाला बस्ने २९ वर्षीय मुकेश राज गिरीसहित ११ जनालाई प्रहरीले पक्राउ गरेको हो । विशेष सूचनाको आधारमा प्रहरी वृत्त बानेश्वरबाट खटिएको प्रहरी टोली उनीहरूलाई पक्राउ गरिएको थियो । पक्राउ परेका जुवाडेहरुको साथबाट नगद ८ लाख १० हजार ४ सय रूपैयाँ र १२ बुक तास बरामद गरेको प्रहरीले जनाएको छ । साे सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
म्याग्दी: रोजगारीका खोजीमा दिनानुदिन नेपाली युवा विदेशिएका अवस्थामा अन्नपूर्ण गाउँपालिका वडा नं ६ म्याग्दीका नारायण बरुवाल भने यतिखेर वैदेशिक रोजगारी छोडेर बाख्रापालनमा लाग्नुभएको छ । विगतमा वर्षौँदेखि परम्परागत शैलीमा सामान्य बाख्रा तथा भेडापालनमा लागेको बरुवाल परिवार अहिले भने नविनतम शैलि र प्रविधिलाई पछ्याउँदै आधुनिक बाख्रापालनमा लागेको हो । उमेरले ३० वर्ष पुगेका बरुवाल पाँच वर्षभन्दा बढी समय कतार एयरपोर्टमा काम गर्नुभयो । त्यहाँ उहाँको राम्रै आम्दानी थियो भने जागिरलाई निरन्तरता दिन पनि समस्या थिएन । यता घरमा परम्परागत खेती किसानी गर्दै आउनुभएका उहाँका बुवा धनबहादुर बरुवाल आधुनिक शैलीमा बाख्रापालन गर्न चाहानुहुन्थ्यो । उहाँको चाहनामा नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजना (एनएलएसआपी) सहयोगी बन्न पुग्यो । नेपालको पशुपालनको क्षेत्रको आधुनिकीकरण र सुदृढीकरण गर्न कृषि तथा पशुपक्षी मन्त्रालयले विश्व बैंकको सहयोगमा सञ्चालित उक्त आयोजनाअन्तर्गत उहाँको होलिडे कृषि तथा पशुपक्षी फर्ममा आधुनिक बाखा्रपालनका लागि विभिन्न पूर्वाधार विकासका काम भइसकेका छन् । आयोजनासँगको सम्झौताअनुसार उहाँले व्यवस्थित खोर निर्माण, उन्नत जातको (भुइँ र डाले घाँस) लगाउने, उन्नत नश्लको पाठपाठी उत्पादनका साथै व्यवस्थित बाख्रापलनका लागि पूर्वाधार तयार गर्ने काम गरिसक्नुभएको छ । लक्षित कामका लागि निर्धारित कुल रु ३८ लाख ७२ हजार तीन सय तीन लागतमध्ये आयोजनाबाट ५० प्रतिशत अनुदानबापत रु १९ लाख २८ हजार छ सय ५२, प्रभु बैंकको ऋण लगानी रु ११ लाख ७० हजार र स्वलगानी रु सात लाख ७३ हजार छ सय ५२ रहेको धनबहादुर बरुवालले जानकारी दिनुभयो । सम्झौताअनुसार अनुदानवापत पहिलो किस्ताको रकम प्राप्त भइसकेको र दोस्रो तथा अन्तिम किस्ताका लागि प्रक्रिया बढाइएको उहाँले बताउनुभयो । आफूले आधुनिक शैलीमा बाख्रापालन गर्न थालेसँगै विदेशमा बसेको छोरासमेत फर्केर सहयोग गर्न थालेपछि धनबहादुरको उत्साह अझै थपिएको छ । आधुनिक बाख्रापालनका लागि एनएलएसआइपीको अनुदान थप प्रेरक बनेको उहाँको भनाइ छ । “भौगोलिक अवस्थितिलगायतका कारण खोर निर्माण आदिमा सम्झौताभन्दा पनि बढी व्यक्तिरूपमा खर्च भइसकेको त छ नै तर यो लगानीका लागि एनएलएसआइपी नै मुख्य प्रेरणाको स्रोत हो”, उहाँले भन्नुभयो । खोरमा मात्रै रु २९ लाख खर्च भइसकेको र करिब रु १८/१९ लाख बाख्रा खरिद एवं सोलार जडान आदिमा खर्च भएको उहाँले जानकारी दिनुभयो । बरुवाललाई छोरा नारायण, श्रीमती सोमित्राले नियमित सहयोग गर्दै आउनुभएको छ भने एक जनाले नियमितरूपमा प्रत्यक्ष रोजगारी पाएका छन् । बरुवालका खोरमा हाल सानो र ठूलो गरी एक सय २० बाख्रा छन् । वरपर जङ्गल भएका कारण चितुवाबाट बाख्रा जोगाउन एक सय ५० मिटर तारबारले खोरलाई घेरेर सुरक्षित बनाइएको छ । घाँसको दिगो व्यवस्थापनका लागि २५ रोपनी क्षेत्रफलको जग्गामा विभिन्न जातका घाँस लगाइएको छ । सुरुमा पाँचवटा बाख्राबाट परम्परागत शैलीले बाख्रापालन सुरु गरिएको बरुवालको फार्ममा हाल बोयर क्रस, शुद्ध बोयर, सिनाल, जमुनापारी आदि जातका बाख्रा छन् । विदेशबाट फर्किएर बाख्रापालनमा लाग्दा नारायणका अघि विभिन्न प्रश्न पनि तेर्सिने गरेका छन् । दैनिक न्यूनतम एक जनाले किन विदेशको राम्रो जागिर छाडेर यस्तोमा लागेको भनेर प्रश्न गर्ने गरेको उहाँले जानकारी दिनुभयो । स्वदेशमा नै केही गर्न सकिन्छ कि भनेर विदेशको जागिर छाडेर फर्किएको अनुभव सुनाउँदै उहाँले जागिरको खोजीमा विदेशिएका युवाका लागि यहाँ नै केही गर्न सकिन्छ भन्ने उदाहरण बन्न चाहेको बताउनुभयो । नारायणका बुवा धनबहादुरका पनि जीवनका विभिन्न भोगाइ र अनुभव छन् । हाल ५२ वर्ष उमेर पुगेका धनबहादुर २०४६ सालदेखि व्यापार व्यवसायमा लाग्नुभयो । किराना पसलसँगै होटल व्यवसायसमेत सञ्चालन गरेका उहाँले झण्डै १५/१६ वर्ष सामान ढुवानीका लागि खच्चडसमेत पाल्नुभयो । बाह्र–तेह्र वर्षअघिसम्म खच्चड पालेको र छ वर्षसम्म इराकमा वैदेशिक रोजगारका लागि पनि गएको उहाँको अनुभव छ । नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजना ९एनएलएसआइपी०बाट दूध, खसी बोकाको मासु र पश्मिनाको उत्पादकत्व वृद्धि गर्ने, पशुजन्य उत्पादनहरूको मूल्य अभिवृद्धि गर्ने र नेपालको पशु सेवा क्षेत्रको सुदृढीकरण तथा आधुनिकीकरण गर्ने उद्देश्यका साथ कार्यक्रमहरू सञ्चालन भइरहेको आयोजनाका कृषि अर्थविज्ञ सुशील खड्काले जानकारी दिनुभयो ।
काठमाडौं: नेकपा (एमाले)ले पार्टी केन्द्रीय कमिटी बैठकमा संघीयताबारे छलफल नै नभएको स्पष्ट पारेको छ। शनिबार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा जारी पार्टीको केन्द्रीय कमिटी बैठक समापन गर्दै अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीले संघीयताबारे पुनर्विचार गर्ने कुरा सोच्न पनि नसकिने प्रष्टयाएका हुन् । बैठकमा संघीयताको विरोधमा छलफल गरिएको भन्ने बाहिर भ्रमपूर्ण हल्ला चलाइएको उल्लेख गर्दै अध्यक्ष ओलीले एमालेले त्यस्ता हल्लालाई सम्पूर्ण रुपमा खारेज गर्ने बताएको पार्टीका प्रचार तथा प्रकाशन विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए । ओलीले बैठकमा पार्टीको आधिकारिक निर्णय मात्रै बाहिर लैजान पार्टीका केन्द्रीय सदस्यलाई निर्देशनसमेत दिएका छन् । उपप्रमुख रिजालका अनुसार ओलीले बैठकमा आफ्नो पार्टी संविधान निर्माणको नेता पार्टी भएकाले यसका कुनै पनि पिल्लरलाई हल्लाउने वा चलाउने पक्षमा नरहेको बताए। ओलीको भनाइ उद्धृत गर्दै प्रचार उपप्रमुख रिजालले भने, ‘‘हिजोदेखि एउटा हल्ला चलाइएको छ( नेकपा (एमाले)को बैठकमा संघीयताका बारेमा बहस सुरु भयो। नेकपा (एमाले)ले संघीयतामा पुनर्विचार गर्ने भयो। अब नेकपा एमालेको संघीयता नमान्ने भयो भन्ने गलत हल्लाहरु चलेका छन्। यिनलाई अध्यक्ष कमरेडले सम्पूर्ण रुपमा खारेज गर्नुहुन्छ।’’ बैठकले मिसन ग्रासरुट अभियानबाट प्राप्त सुझावको आधारमा पार्टीको वार्षिक कार्ययोजना तय गरेको छ। जसमा कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय सम्मेलन गर्ने योजना समावेश गरिएको छ।
पोखरा: पोखरामा स्वतन्त्र नागरिकहरुले भ्रष्टाचारविरुद्ध आज युवाहरूले प्रदर्शन गरेका छन् । देशमा भ्रष्टाचारका घटना बढेको र नियन्त्रण गर्नुपर्ने माग गर्दै युवाहरूले दबाब सिर्जना गर्न प्रदर्शन गरेका हुन् । उनीहरुले ‘कुरा सिधै प्रष्ट छ, हाम्रो सिस्टम भ्रष्ट छ’, ‘भन्नेछौं हामी बारम्बार, भ्रष्टाचारीलाई कारागार’, ‘टोपबहादुर कि टापबहादुर’, सरकार ‘ठूलो माछा पकडी, लगा छिटो हत्कडी’, ‘करोडौं पर्ने महल तिमीलाई कसले किन्दियोरु’ लगायतका नाराहरू सहित उनीहरूले प्रदर्शन गरेका हुन्। तस्बिरहरु:-

