बागलुङ: गृहमन्त्रालयले बागलुङको ढोरपाटन नगरपालिकाका मेयर तथा इमेज सहकारी संस्था संस्थापक अध्यक्ष देवकुमार नेपालीलाई यात्रा अनुमतिमा रोक लगाएको छ । गृहले अध्यागमन बिभागलाई पत्राचार गरेर नेपाली सहित तोकिएका ७ जनाको यात्रा अनुमति रद्द गर्न पत्राचार गरेको हो । गृहमन्त्रालयका शाखा अधिकृत परशुराम पोखरेलको हस्ताक्षरमा बिभागलाई पठाइएको उक्त पत्र सार्वजनिक भएको हो । केही दिनदेखि नेपाली सहित सहकारीका पदाधिकारी सम्पर्क बिहिन छन् । ढोरपाटन नगरपालिका-१ र बागलुङ नगरपालिका(२ मा कार्यालय रहेको सहकारीको अध्यक्ष समेत रहेका नेपाली भागेर बिदेश जान सक्ने भएकोले यात्रा अनुमति रद्द गराउन जिल्ला प्रशासन कार्यालयले गृहमा आग्रह गरेको थियो । त्रिभूवन अन्तराष्ट्रिय बिमानस्थल सहित अन्य नाकामा पनि नेपालीलाई रोक्न प्रहरी संयन्त्र समेत परिचालन भएको सहायक प्रजिअ चित्राङगत बरालले जानकारी दिए ।सहकारीले एक महिना अघिदेखि तरलता अभाव भन्दै कारोबार बन्द गराएको र दैनिक बचतकर्ताले धर्ना दिने गरिरहेका छन् । सहकारीले एक अर्ब भन्दा धेरै रकम भुक्तानी दिनुपर्ने छ । भुक्तानी खोज्ने बचतकर्ताले गत बैसाख पहिलो सातादेखिनै सहकारीको शाखामा धाइरहेका छन् । छिटफुट रुपमा प्रति व्यक्ति ५ हजार मात्रै रकम फिर्ता दिएको सहकारीले करोडौं रुपैया“ बचत संकलन गरेको छ । १८ प्रतिशत व्याज दिने भनेपछि कतिपयले बैंकबाट रकम लिएर सहकारीमा जम्मा गरेको खुलेको छ । आइतवार बेलुकी पनि बचतकर्ताले जिल्लाप्रशासनमा पुगेर आफ्नो रकम फिर्ता गरिदिन आग्रह गरेका थिए । संस्थापक अध्यक्षको रुपमा नेपाली सहित सहकारीको कार्यवहाक अध्यक्ष डोरबहादुर परियार, सचिव सुनिल नेपाली, कोषाध्यक्ष लक्ष्मी सेन, संचालक चित्रबहादुर भण्डारी, सदस्य रुपा बिक र अर्का सदस्य झगबहादुर शाहीको यात्राअनुमति रद्द भएको हो । बिक गलकोट नगरपालिका ११ र शाही निसीखोला गाउँपालिका ३ का बासिन्दा हुन् भने अरु सबै ढोरपाटन नगरपालिका १ का बासिन्दा हुन् ।
चितवन: भरतपुर २५ शुक्रनगरमा विद्युत् ट्रान्स मिटर परिवर्तन गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक विजयराज पण्डितका अनुसार आइतबार अपराह्न भरतपुर २५ शुक्रनगरमा विद्युत् ट्रान्स मिटर परिवर्तन गर्ने क्रममा विद्युत् कर्मचारीलाई सहयोग गर्ने एक जना कामदारको करेन्ट लागेर मृत्यु भएको हो । प्रहरीले दिएको जानकारी अनुसार मृत्यु हुनेमा प्रभात जल उपभोक्ता समिति, भरतपुर २५ शुक्रनगरमा काम गर्ने बाँके जानकी गाउँपालिका २ घर भएका वर्ष २० को देसराज कोरी रहेका छन् । करेन्ट लागि घाइते भएका कोरीको उपचारको लागि चितवन मेडिकल कलेज भरतपुर ल्याइएको र चिकित्सकीय परीक्षण पछि उनको मृत्यु भएको घोषणा गरिएको हो ।
पोखरा: तमु धि यूकेले आयोजना गरेको २१ औ गोर्खा कपमा सहभागिता जनाउन नेपालबाट पोखरा ११ बेलायत लागेको छ । बेलायतमा आगामी मे २८ तारिखदेखि सञ्चालन हुने प्रतियोगितामा सहभागिता जनाउनका लागि पूर्व राष्ट्रिय खेलाडीसमेत रहेका इश्वर गुरुङको नेतृत्वमा १५ सदस्यीय टोली आज (आइतबार) बेलायत प्रस्थान गरेको हो । सो टोलीमा इश्वर (चन्द्र) गुरुङ, अमित (जोन) गुरुङ, अबतार गुरुङ, एन्फा कास्की अध्यक्ष उज्वल रन्जित, राजेन्द्र तामाङ, कुमार गुरुङ, जमान सिंह दुरा, राजु हमाल, नरेन्द्र जङ्ग (मुखिया) गुरुङ, अभिषेक पिया, विजय गुरुङ, डिल्लिराम श्रेष्ठ, राज महर्जन, टेक बहादुर गुरुङ र सचिन श्रेष्ठ रहेका छन् । खेलाडीहरुलाई बेलायत जानका लागि बगर भाईखलक यूके र तमु धि यूकेले संयोजन गरेको थियो । बेलायत प्रस्थान गरेको टोलीलाई बगर भाइखलक पोखराले एक कार्यक्रमको आयोजना गरी विदाई गरेको थियो । सो टोली बेलायत करिब दुई साता बस्नेछ ।
पोखरा: पोखरामा आयोजना हुने तेस्रो देश्ना चन्द स्मृति तेस्रो सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगिता २०८० को तयारी तिब्र पारिएको छ । पोखरा महानगरपालिका १ स्थित नयाँ गल्ली युवा क्लबको आयोजनामा जेठ १३ देखि २० गतेसम्म हुने प्रतियोगिताको तयारी तिब्र पारिएको आर्थिक संयोजक हिटलर घलेले जानकारी दिए । उनले यसअघि जेठ २० गतेदेखि २७ गतेसम्म प्रतियोगिता सञ्चालनको मिति घोषणा गरेतापनि मैदान निर्माणका कारण एक हप्ता अघि सारेको बताए । ‘प्रतियोगितालाई हामीले घोषणा गरेको मितिभन्दा एक हप्ता अघि सारेका छौं, उनले भने, ‘टुडिखेलको मर्मत संभार तथा दुवो रोप्नका लागि बजेट विनियोजन भएका कारण काम सुरु गरिहाल्नुपर्ने भएकाले आउदौ १३ गतेदेखि प्रतियोगिता खेलाउने छौ ।’ घलेका अनुसार पोखरा पुरानो टुँडिखेल मैदानमा एक साता सञ्चालन हुने सेभेन ए साइड फुटबल प्रतियोगिताको विजेता टिमले १ लाख ५० हजार, उपविजेताले ८० हजारसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । सो प्रतियोगितामा उत्कृष्ट विधागततर्फ नगद राशीले पुरस्कृत गर्ने क्लबका अध्यक्ष शुशिल श्रेष्ठले बताए । श्रेष्ठका अनुसार उत्कृष्ट खेलाडीले १० हजार, सर्वाधिक गोलकर्ता, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट डिफेन्डर र उत्कृष्ट गोलरक्षकले जनही ५/५ हजार पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगितामा सहभागिता जनाउनका लागि दर्ता शुल्क ७ हजार निर्धारण गरिएको खेल संयोजक अञ्जन देवकोटाले जानकारी दिए । उनका अनुसार टिम दर्ता फोन (९८०६६०७२७८) बाटैपनि गर्न सकिनेछ ।
पोखरा: परम्परागत तारा खेल मुस्ताङ र ठेलो खेल म्याग्दीमा हुने भएको छ । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा दुई छुटटा–छुट्टै प्रतियोगिता आयोजना हुने भएकाले , प्रदेश खेलकुद परिषदले स्थानिय परम्परागत खेलहरुको संरक्षण गर्न वार्षिक कार्यक्रममा ति प्रतियोगिताका लागि बजेट विनियोजन गर्दै आएको छ । परम्परागत तारा खेल यहि जेठ १७ र १८ गते मुस्ताङको थासाङ गाउँपालिका वडा नं ३ लेतेमा हुने छ भने ठेलो खेल जेठ २० गते म्याग्दीको सदरमुकाम बेनीमा हुने प्रतियोगिताका संयोजक योगेन्द्र शेरचनले जानकारी दिएका छन् । परिषदका सदस्य समेत रहेका शेरचनले तारा र ठेलो खेलका लागि ११ वटै जिल्ला खेलकुद विकास समितिहरुलाई पत्रचार गरिएको बताए । परम्परागत तारा खेलमा ६ जिल्लाको सहभागिता हुने शेरचनले जानकारी दिंदै अन्य जिल्लामा खेलाडी भए समेत सहभागिताका लागि अनुरोध गरिएको उल्लेख गर्दै प्रतियोगितामा मुस्ताङ, म्याग्दी, बागलुङ, पर्वत, कास्की र मनाङ जिल्लाबाट सहभागि हुनेभएको छ । प्रत्येक जिल्लाबाट एक टिममा ६ जना सहभागि हुन पाउने उनले जनाएका छन् । तारा खेलतर्फ प्रथम, द्वितिय र तृतिय हुने टिमले क्रमश नगद रु ७५ हजार, ५० हजार र ३० हजारका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन्, र त्यसै गरी सर्वश्रेष्ठ धर्नुधरले नगद रु ५ हजार र विशिष्ट धर्नुधरले नगद रु ३ हजारका साथमा मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । जेठ २० गते म्याग्दीको सदरमुकाम बेनीमा हुने ठेलो खेलमा प्रथम, द्वितिय र तृतिय हुने खेलाडीले क्रमश नगद रु २५ हजार, १५ हजार र १० हजारका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । खेलमा सहभागिताका लागि ३ जनाको नाम परिषदमा पठाउन पत्रचार गरिएको छ ।
पोखरा: प्राध्यापक रुद्रप्रसाद तिमिल्सिनाले लेखेको पुस्तक ‘म्याड लभर्स’ (प्रेमको शास्त्रिय सल्यक्रिया) को परिचर्चा कार्यक्रम पोखरामा सम्पन्न भएको छ । पृथ्वीनारायण क्याम्पस पोखराका क्याम्पस प्रमुख प्रा.डा.सरोज कोइरालाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै कोइरालाले श्रष्टाद्धारा सृजित सृजनाहरुले हाम्रो समाजको यर्थाथ बोल्न सक्नु पर्ने बताए । ‘पुस्तक समाजको ऐना हो, श्रष्टाद्धारा सृजित सृजनाहरुले हाम्रो समाजको यर्थाथ बोल्न सक्नु पर्छ, म्याड लर्भस त्यही पाटोमा केन्द्रित बनोस्, आगामी दिनमा अझै शसक्त्त सृजनाको शुभकामना’ उनले भने । गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठले कृति आफैमा शसक्त्त विषय भएको बताए । ‘कृति आफैमा शसक्त्त विषय हो, यसले यर्थाथताको धरातल टेक्नै पर्छ, म्याड लर्भसले सृजनाको धर्म निभाएको छ’ उनले भने । यो पुस्तक पाठकको गहना बन्ने सदस्य सचिव श्रेष्ठको विश्वास थियो । पुस्तक माथि परिचर्चा प्राध्यापक सुन्दर मानन्धरले गरें । श्रष्टा रुद्र प्रसाद तिमिल्सिनाले पुस्तक लेख्दाका अनुभव सुनाए । आफू उत्तर आधुनिक जोगी भएको उनको भनाई थियो । आंशिक प्राध्यापक संघ पृथ्वीनारायण क्याम्पसका अध्यक्ष सुनिल गौतमको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत वरिष्ठ उपाध्यक्ष प्रकाश चन्द्र रेग्मीले गरेका थिए । आंशिक प्राध्यापक संघ पृथ्वीनारायण क्याम्पसको आयोजनामा गण्डकी प्रज्ञा प्रतिष्ठानको सभाहलमा भएको कार्यक्रममा श्रष्टालाई सम्मान समेत गरिएको छ ।
पोखराः ‘मिलाएर दिन्छु’ भनेपछि चिनजानका व्यक्तिबाट सापट लिएकी पोखरा ११ निवासी उमा घले १६ महिनापछि रिन तिर्न जाँदा थमाएको हिसाबले अत्तालिएकी छिन् । स्याङ्जा स्थायी ठेगाना भएकी उमाले यसअघि श्रीमान्को पेन्सनपट्टा राखेर सोही व्यक्तिसँग ८ लाख रुपैयाँ लिएकी थिइन् । ब्याज मिलाएरै दिएजस्तो लागेपछि उनी दोस्रो पटक हात फैलाउन पुगेकी थिइन् । पुरानो १ लाख ७० हजार रुपैयाँसहित उनले ५ लाख ४० हजार लिएकी हुन् । वर्ष दिनमा तिर्ने भनेर लिएको रकम ४ महिना भाका कटेको थियो । १६ महिनामा हिसाब बुझ्दा ११ लाख ९० हजार पुगेको छ । श्रीमान् बिरामी भएपछि उमाले छोरालाई अरुसँग रिन मागेर भर्खरै कुवेत पठाएकी छिन् । यस्तो ६ उमालाई बुझाइएको हिसाबकिताबः रिन लिने–दिने बेलामा कुनै कागज गरिएको छैन । तर ५ लाख ४० हजार रुपैयाँ लिएको र आफु तिर्न पनि तयार रहेको भएपनि साहुले बाराम्बार तनाव दिएपछि उनी ११ लाख रुपैयाँ कसैगरी तिर्न नसक्ने बताउँछिन् । ‘मैले रिन खाएकै हो तर १६ महिनामा सावाँभन्दा ब्याज धेरै भएपछि म ठगिए भन्ने लागेको छ’ उमा भन्छिन् ‘साह्रै आपत परेको थियो, विश्वास लागेर कारोबार गर्दा म पीडित भए ।’ यसबीच साहुले प्रहरी ल्याएर श्रीमान्लाई पक्राउ गरिएको र अहिले जिल्ला प्रहरी कार्यालयमा राखिएको बताइन् । ‘उसले प्रहरी ल्याएर घरमै कुट्यो र लगेर थुनाएको छ’ उनले भनिन् । गृृह मन्त्रालयले देशैभरका जिल्ला प्रशासन कार्यालयलाई मिटरब्याज पीडितको निवेदन लिन र कारबाही अघि बढाउन परिपत्र जारी गरेपछि कास्कीमा पनि पीडितको संख्या बढ्दै गएको छ । पहिलो सूचनामा जेठ २ गतेसम्म पीडितले सप्रमाण निवेदन दिने समय तोकिएको भएपनि अहिले वैशाख १४ गतेसम्म थप गरिएको छ । प्रशासनले मिटरब्याज पीडितलाई सम्बोधन गर्न सहायताकक्ष नै सञ्चालन गरेको छ । कक्षमा निवेदन बुझाएर राहत पाउने आशामा उमाले सम्वाददातासँग कुरा गर्दै भनिन् ‘सरकारले न्याय दिन्छ भन्ने आश छ ।’ कक्षमा हालसम्म ४० जनाले पीडितका नामबाट उजुरी दिएका छन् । वैशाख १५ गतेपछि कारवाहीको प्रक्रिया अघि बढाउने कार्यालयले जनाएको छ । त्यहाँ परेको एक उजुरीमा वडा कार्यालयले नै मिटरब्याजीलाई सहयोग पु¥याउने कागजसमेत बनाइदिएको पाइएको छ । ‘सकेसम्म दुबै पक्षलाई लेनदेन र ब्याजको न्यूनतम प्रतिशतबार छलफल गरी मिलाउने प्रयास गर्नेछौं, अन्यथा कानूनी प्रक्रियामा जानेछौं’ कक्षका नायब सुब्बा रमेश प्रकाश बरालले जनाए । (नोटः हामीसँग मिटरब्याजमा रिन लिने र दिने दुबैको नाम, ठेगाना सुरक्षित भएपनि निवेदकको आग्रहमा गोप्य राखिएको छ ।)
काठमाण्डौं: सरकारी अनुमति र प्रकृयाबिना पोल्याण्ड लैजाने तथा त्यहाँको रोजगारीका बारेमा अभिमुखीकरण सेमिनार गर्न खोज्ने दुई जना विदेशी नागरिक काठमाण्डौंमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा बेलारुसका ३० वर्षीया रीता फियाडोसिक र ओलिग फियाडोसिक रहेका जिल्ला प्रहरी परिसर काठमाण्डौका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी दानबहादुर कार्कीले जानकारी दिएका छन्। उनका अनुसार पक्राउ परेकाहरूले सामाजिक सञ्जाल टिकटकमार्फत् विज्ञापनबारे जानकारी गराइ पोल्याण्डमा रोजगारीका बारेमा हिजो शनिवार र आज आइतवार सेमिनार गर्ने बताएका थिए । पक्राउ परेका उनीहरुको बारेमा वैदेशिक रोजगार विभागलाई जानकारी गराइएको जिल्ला प्रहरी परिसर काठमाण्डौले जनाएको छ ।
काठमाडौं: नेपालको उत्तरी सीमा नाका तातोपानीबाट यस वर्ष पनि रासायनिक मल भित्रिन सुरु भएको छ । तातोपानी नाकाबाट पछिल्लो सातादेखि करिब ३५ हजार टन रासायनिक मल भित्रिएको हो । साल्ट ट्रेडिङ र कृषि सामग्री कम्पनी लिमिटेडका लागि सिल्क ट्रान्सपोर्ट कम्पनीले चीनबाट रासायनिक मल ल्याएको छ । सिल्क ट्रान्सपोर्ट कम्पनीका प्रमुख सञ्चालन अधिकारी दामोदर सत्यालले ७ हजार १ सय टन रासायनिक मल ल्याउने तयारी रहेको बताउनुभयो । उहाँले यसअघि नै ट्रान्सपोर्टले ३५ सय टन कृषि सामग्री र ४ हजार टन साल्ट टे«निङलाई तातोपानी नाकाबाट रासायनिक मल ल्याएर बुझाई सकिएको बताउनुभयो । उहाँले केही समय अघि नै आउनुपर्ने मल कोभिडको कारणले रोकिएकाले अहिले आएको बताउनुभयो । उहाँले तातोपानी भन्सारको मल राख्ने क्षमता सात हजार एक सय टन रहेकाले अहिलेको लागि त्यति बराबरको मल ल्याउने तयारी गरेको बताउनुभयो । सत्यालले बाँकी मल चीनको सिगात्सेमा ल्याएर राखिएको बताउनु भयो। उहाँले तातोपानी नाकाबाट पछिल्लो पाँच दिनमा दैनिक ९ वटासम्म मलका कन्टनर ल्याएको बताउनुभयो । उहाँले तातोपानी नाका नेपालको चीनसँगको नजिकको नाका भए पनि नेपालतर्फको सडक मार्गमा समस्या रहेको बताउनु भयो। उहाँले सडक मार्ग राम्रो भएको खण्डमा नेपालमा आवश्यक पर्ने ५० प्रतिशत मल चीनबाट ल्याउन सकिने बताउनुभयो । उहाँले सिल्क ट्रान्सपोर्ट कम्पनीले सरकारलाई समयमा नै मल ल्याएर दिने गरी आयात गरिरहेको बताउनुभयो । उहाँले भन्सारमा आएको मलको परीक्षण र इन्फेक्सन प्रक्रिया तत्काल गरिदिए एक हप्तामा नै कृषि सामग्री कम्पनीलाई बुझाउन सकिने बताउनुभयो । रासायनिक मल चीनको सिगात्सेसम्म रेल र त्यहाँबाट तातापानी नाकासम्म कन्टेनरमार्फत मल ल्याइएको सिल्क कम्पनीले जानकारी दिएको छ । तातोपानी भन्सार कार्यालयका भन्सार अधिकृत उदयसिंह विष्टले खाद्यान्न, लत्ताकपडा, इलेकट्रोनिक तथा अन्य सामग्री आयात हुने गरेकामा पछिल्लो यो साता रासायनिक मल आयात भइरहेको बताउनुभयो । उहाँले चीनबाट तातोपानी नाका हुँदै आयात एकदमै कम रहेको बताउनु भयो । उहाँले पछिल्लो समय आयात भइरहेको अवस्था हेर्दा भन्सार कार्यालयले राजश्व सङ्कलन गर्ने लक्ष्य पूरा गर्न नसक्ने अवस्थामा रहेको बताउनुभयो । उहाँले तातोपानी नाकाबाट चालु आर्थिक वर्षमा ४ अर्ब ६२ करोड राजश्व सङ्कलन गर्ने लक्ष्य भएपनि अहिलेसम्म २ अर्ब ५४ करोड अर्थात् ४५ प्रतिशत मात्रै राजश्व सङ्कलन भएको बताउनु भयो । उहाँले तातोपानी नाकामा भइरहेको आयातको अवस्थालाई हेर्दा कम्तीमा ६२ प्रतिशतसम्म राजश्व सङ्कलन हुने अवस्था देखिएको बताउनुभयो। त्यस्तै, तातोपानी भन्सार व्यवस्थापनको जिम्मेवारी पाएको ट्रान्सिल ट्रमिनल्सका प्रबन्धक अनिरुद्ध थापाले पछिल्लो एक सातादेखि दैनिक ८ कन्टेनर रासायनिक मल आयात भइरहेको बताउनुभयो। उहाँले तातोपानी नाकामा पछिल्लो समय दैनिक ३ सय टन मल आयात भइरहेको बताउनु भयो। प्रबन्धक थापाले भन्सारमा रासायनिक मल ७ हजार १ सय टन मल राख्नसक्ने क्षमता रहेकाले त्यही अनुसार आयातकर्ता कम्पनीलाई आग्रह गरिएको बताउनुभयो। उत्तरी नाकाबाट पनि रासायनिक मल भित्र्याएकाले यो वर्ष कृषकहरूले समयमै प्रयोग गर्न पाउने देखिएको छ । चीनबाट मल ल्याउन साल्ट ट्रेडिङले आव्हान गरेको ग्लोबल टेन्डरमार्फत सिल्कले अनुमति पाएको थियो । भारत हुँदै ल्याउने विकल्पमा गत वर्षदेखि तातोपानी नाकाबाट मल ल्याउन थालिएको छ । भूकम्पपछि ठप्प भएको तातोपानी नाका गत वर्षदेखि सामान्य रूपमा एकतर्फ रूपमा सञ्चालनमा आइरहेको थियो । तर गत मे १ तारिकदेखि आयात निर्यातका लागि नाका सञ्चालनमा आएको छ ।

