काठमाडौं: सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदैछ । आज बस्ने सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुन लागेको हो। दिउँसो चार बजे सङ्घीय संसद्को बैठक बोलाइएको छ । बैठकलाई राष्ट्रपति रामचन्द्र पौडेलले सम्बोधन गर्नुहुनेछ र सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुनेछ । सरकारले हरेक वर्ष जेठ १५ गते वार्षिक बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ । त्यसअघि राष्ट्राध्यक्षमार्फत् नीति तथा कार्यक्रम सार्वजनिक हुने गरेको छ । सरकारले आज पेस गर्ने नीति तथा कार्यक्रममाथि प्रतिनिधि सभा र राष्ट्रिय सभामा पर्सि आइतवारदेखि लगातार केही दिन छलफल हुनेछ । यो छलफल सकिएपछि जेठ १५ गते वार्षिक बजेट प्रस्तुत हुनेछ ।
पोखरा: पोखरा पुम्दीभुम्दीमा नगरबस र स्कुटर ठोक्किदा एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । पोखरा महानगरपालिका २२ पुम्दिभुम्दिको भित्री सडकखण्डमा ग १ ख ३२२७ नम्बरको बस र ग २३ प ३६५६ नम्बरको स्कुटर ठोक्किदा स्कुटरमा सवार हेम्जाका ४६ वर्षीय तुल्सीप्रसाद त्रिपाठीको मृत्यु भएको हो । दुर्घटनास्थलबाट त्रिपाठीलाई उद्धार गरि उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएपनि डाक्टरले मृत घोषणा गरेको कास्की प्रहरीले जनाएको छ । यस्तै सोही स्कुटरमा सवार पोखरा मालेपाटनका २२ वर्षीय शिशिर त्रिपाठी घाइते भएका छन् । घाइते शिशिर त्रिपाठीको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको कास्की प्रहरीले जनाएको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
काठमाडौं: पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट चीनका विभिन्न सहरमा चार्टर्ड उडान हुनेभएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले आगामी असारको पहिलो सातादेखि चीनका विभिन्न सहरमा चार्टर्ड उडान सुरु हुने बताउनुभयो । नेपाल एशोसिएशन अफ टूर एन्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) को २४औँ राष्ट्रिय सम्मेलन तथा वार्षिक साधारणसभाका अवसरमा पर्यटनमन्त्री किरातीले यस्तो जानकारी दिनुभएको हो । “जुन २३ तारिखदेखि पोखराबाट चीनका विभिन्न सहरमा चार्टर्ड उडान गर्दैछौँ, हिजो मात्रै अन्तिम कुराकानी गरेका छौँ”, उहाँले भन्नुभयो । विसं २०७९ पुस १७ गतेदेखि व्यावसायिक रुपमा सञ्चालनमा आएको नेपालको तेस्रो अन्तर्राष्ट्रिय विमानस्थलले सञ्चालनको पाँच महिनासम्म अन्तर्राष्ट्रिय उडान गर्न सकेको छैन । यो विमानस्थल भएर आन्तरिक उडान भइरहे पनि अन्तर्राष्ट्रियतर्फ अहिलेसम्म कुनैपनि उडान भएका छैनन् । विमानस्थल उद्घाटनका दिन नेपालबाट अन्तर्राष्ट्रिय उडान भरिरहेको हिमालय एयरलाइन्सले परीक्षण उडान गरे पनि अहिलेसम्म कुनै अन्तर्राष्ट्रिय उडान नभएको विमानस्थल कार्यालयले जनाएको छ । पर्यटनमन्त्री किरातीले पोखराबाट चीनका विभिन्न सहरमा चार्टर्ड उडान गर्ने बताउनुभए पनि कुन–कुन एयरलाइन्सका जहाजबाट उडान हुने भन्ने खुलाउनु भएन । जेठ २९ देखि गौतमबुद्ध विमानस्थलबाट नियमित उडान पर्यटनमन्त्री किरातीले राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम ९नेपाल एयरलाइन्स० ले यही जेठ २९ गतेदेखि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान गर्ने पनि जानकारी दिनुभयो । उहाँका अनुसार काठमाडौँ–क्लालम्पुर–भैरहवा–काठमाडौँ सेक्टरमा उडान हुने छन् । उक्त प्रयोजनका लागि टिकट बुकिङ खुलिसकेको निगमले जनाएको छ । पर्यटनमन्त्री किरातीले सञ्चालनमा नरहेका १८ विमानस्थलको व्यावसायिक सम्भावना हेरेर यथाशीघ्र सञ्चालन गरिने जानकारी गराउनुभयो । नेपाल वायुसेवा निगमलाई व्यावसायिक रुपमा प्रतिस्पर्धी बनाउने उद्देश्यले आन्तरिक उडानमा बजार विस्तारका लागि थप जहाज खरिद गर्न लागेको र ‘हब’ विमानस्थलमा उडान भर्नेगरी तीन थान जहाज खरिद प्रक्रिया अघि बढाइएको उहाँको भनाइ छ । पर्यटनमन्त्री किरातीले भ्रष्टाचारलाई निर्मूल पार्नका निम्ति नागरिक तवरबाट खबरदारी हुन जरुरी भएको उल्लेख गर्नुभयो । नेपालको पर्यटन क्षेत्रको विकास प्रवद्र्धनमा निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहेकामा जोड दिँदै उहाँले सरकार र निजी क्षेत्रको साझेदारीलाई बढाएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । उहाँले समय सापेक्षा पर्यटन क्षेत्रलाई अघि बढाउन नीतिगत सुधार गरेर अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो । बजेटपछि ऐन निर्माणको दिशामा मन्त्रालय लाग्ने र त्यस प्रक्रियामा व्यवसायीको रायसुझाव लिइने उहाँले जानकारी दिनुभयो । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले कोरोना महामारीपछि पर्यटन क्षेत्र पुरानै लयमा फर्केको सङ्केतले यो क्षेत्रमा उत्साह थपेको बताउनुभयो । उहाँले पर्यटन क्षेत्रको दिगो विकासका लागि निजी क्षेत्र र सरकारको साझेदारी फराकिलो बनाएर पर्यटकीय पूर्वाधार विकासमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो । नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा धनन्जय रेग्मीले पर्यटन क्षेत्रको सम्भावनालाई व्यवहारमा परिणत गर्न सबै क्षेत्रको सक्रियताको खाँचो औँल्याउनुभयो । वरिष्ठ पर्यटन व्यवसायी कर्ण शाक्यले पर्यटन पूर्वाधार विकास र प्रवद्र्धनका कामसँगै अघि बढाइनुपर्ने धारणा राख्नुभयो । नाट्टाका अध्यक्ष रमेश थापाले कोरोनापछिको पर्यटनलाई पुरानै लयमा फर्काउन अझै केही मेहनत जरुरी रहेको बताउनुभयो । सो अवसरमा संस्थाले पर्यटन क्षेत्रमा योगदान पु¥याउने व्यवसायी शाक्यलगायत विभिन्न व्यक्तिलाई कदरपत्रद्धारा सम्मान गरेको थियो । पर्यटनमन्त्री किरातीले ती पुरस्कार प्रदान गर्नुभयो ।
पोखरा: कास्कीको अन्नपूर्ण गाउँपालिका १०–११ घान्द्रुकमा अन्नपूर्ण आरोहण दिवसको अवसरमा तेस्रो अन्नपूर्ण म्याराथन तथा सेन्चुरी पर्यटन महोत्सवको आयोजना हुने भएको छ । पर्यटकीय गाउँ घान्द्रुकमा अन्नपूर्ण आरोहण दिवसको अवसरमा अन्नपूर्ण सेन्चुरी पर्यटन समिति र घान्द्रुक पर्यटन व्यवस्थापन समितिको अयोजनामा जेठ १७ देखि २० गतेसम्म सेन्चुरी महोत्सव आयोजना हुन लागेको हो । महोत्सवको अवसरमा म्याराथन, पुरुष भलिबल, बास्केटबलसँगै अन्य सांस्कृतिक कार्यक्रम हुने पर्यटन व्यवस्थापन समितिका अध्यक्ष विक्रम गुरुङले पोखरामा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिए । उनका अनुसार पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित महोत्सवको आयोजना गर्न लागिएको बताए । महोत्सवलाई भव्य बनाउनका लागि तयारी तिब्र पारिएको समेत जानकारी दिए । सन् १९५० जुन ३ तारिखमा फ्रान्सेली मौसिर हर्जोगको टोलीले अन्नपूर्ण हिमालको चुचुरोमा पाइला टेकेको दिनलाई अन्नपूर्ण आरोहण दिवसका रुपमा मनाउँदै आएको अन्नपूर्ण सेन्चुरी पर्यटन समितिका अध्यक्ष ललित गुरुङले बताए । ‘दुईपटकसम्म अन्नपूर्ण आरोहण दिवसको अवसरमा म्याराथन सम्पन्न गरिसकेका छौं, केहीवर्ष कोरोना भाइरसका कारण रोकिएको हो, अब निरन्तरता दिन्छौं, गुरुङले भने, ‘दिवसको अवसरमा पर्यटन महोत्सवमा म्याराथन, भलिबल, बास्केटबलसँगै अन्य सास्कृति कार्यक्रम आयोजना गरेका छौं ।’ उनका अनुसार म्याराथन प्रतियोगितामा पुरुषतर्फ प्रथम हुने धावकले १ लाख ५० हजार, दोस्रो हुनेले १ लाख र तेस्रो हुनेले ७५ हजार पुरस्कार पाउनेछन् । यस्तै महिलातर्फ प्रथम हुने धावकले ७५ हजार, दोस्रो हुनेले ५० हजार र तेस्रो हुनेले २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । म्याराथनमा सहभागि हुन पुरुषतर्फ ७ र महिलातर्फ ५ हजार रुपैयाँ दर्ता शुल्क निर्धारण गरेको छ । म्याराथन जेठ २० गते अन्नपूर्ण हिमालको आधार शिविरबाट सुरु भएर म्याराथन माछापुच्छ«े आधार शिविर, बगर, देउराली, किम्रोङखोला, उरी हुँदै घान्द्रुकमा आएर सम्पन्न हुनेछ । म्याराथन प्रतियोगितामा सहभागि हुन धावकहरुले जेठ १५ गतेसम्म नाम दर्ता गर्न सक्नेछन् । भलिबल र बास्केटबलकाे उपाधि राशी ८० हजार अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सवमा खुल्ला वडास्तरीय पुरुष भलिबल प्रतियोगितासमेत आयोजना गरिएको छ । खुल्ला गाउँस्तरीय पुरुषभलिबल प्रतियोगिताको विजेताले ८० हजार र उपविजेताले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन् । एकजना गाउँभन्दा बाहिरको खेलाडी समावेश गर्न पाइने खुल्ला वडास्तरीय पुरुषभलिबल प्रतियोगितामा ६ हजार रुपैयाँ दर्ता शुल्क कायम गरेको अमृत गुरुङले बताए । उनका अनुसार सो महोत्सवमा खुल्ला पुरुष बास्केटबल प्रतियोगितासमेत समावेश गरिएको छ । बास्केटबल प्रतियोगिताको विजेताले ८० हजार र उपविजेताले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ । प्रतियोगितामा सहभागिता जनाउन एक समूहलाई ६ हजार रुपैयाँ दर्ता शुल्क निर्धारण गरिएको छ । महोत्सव अवधिभर पर्यटकहरुलाई घान्द्रुकमा २० प्रतिशत छुट दिएको छ भने भलिबल र बास्केटबलतर्फ ८ सय रुपैयाँको प्याकेजमा खाने बस्ने व्यवस्था गरेको आयोजकले जनाएको छ । तेस्रो अन्नपूर्ण म्याराथन तथा अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सवमा अन्धानिशान, छेलो,चम्चा दौड, बोरा दौड र म्यूजिकल चियर प्रतियोगितासमेत आयोजना गरेको छ । महोत्सवमा करिव ८० लाख खर्च हुने आयोजकले जनाएको छ ।
काठमाडौं: प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री र सांसदबीच प्रश्न सोध्ने र जवाफ दिनेक्रम सुरु भएको छ। बिहीबारको प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले २० जना सांसदले सोध्नुभएका प्रश्नको जवाफ दिनुभएको छ। बैठकमा ईश्वरीदेवी न्यौपाने, पदम गिरी, पूर्णबहादुर घर्ती, शिशिर खनाल, ज्ञानबहादुर शाही, दीपक कार्की, शेरबहादुर कुँवर, अनिता देवी, सर्वेन्द्रनाथ शुक्ल, गंगाराम चौधरी, प्रेम सुवाल, चित्रबहादुर केसी, प्रभू साह, डा अमरेशकुमार सिंह, योगेन्द्र मण्डल, दीपक गिरी, रघुजी पन्त, दिलेन्द्रप्रसाद बडू, विद्या भट्टराई, रामहरि खतिवडाले प्रश्न सोधेका छन् । बैठकमा जसपाका सांसद दीपक कार्कीले बाबुले वंशजको नागरिकता पाउँदा छोराछोरीले जन्मसिद्ध नागरिकता पाएका छन्, छिटो नागरिकता दिनेगरी व्यवस्था गर्न सकिन्छ कि सकिन्न भनी गर्नुभएको प्रश्नको जवाफमा प्रधानमन्त्री दाहालले राष्ट्रपति रामचन्द्र पौडेलले यस विषयमा छलफल गरिरहनुभएकाले समस्या समाधान हुने आशा गरिएको बताएका छन्। नागरिकतासम्बन्धी उक्त विधेयक मृत भन्ने तर्कलाई लिने अवस्थामा पनि पुनः शून्यबाट सदनमा प्रक्रिया सुरु गरी एक महिनाभित्र समाधान गरिने उनको प्रतिबद्धता थियोे। प्रम नियुक्त हुँदा छ महिनाभित्र नागरिकता समस्या समाधान गर्ने भनी दाहालले बोलेको विषय पनि सांसदहरुले स्मरण गराएका थिए। भुटानी शरणार्थी प्रकरणमा संलग्न सबैलाई कारबाही प्रधानमन्त्री दाहालले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न सबैलाई कारबाही गरिने प्रतिबद्धता व्यक्त गरेका छने र दोषी कोही उम्कन नपाओस्, निर्दोष कोही नपरोस् भन्ने भावनाले सरकारले काम गरिरहेको उनले बताए। “स्वतन्त्र र निष्पक्षरुपमा सरकारले छानबिन गरिरहेको छ, अपराधीलाई कानुनको दायरामा ल्याउने काम भएको छ, यस विषयमा दृढतापूर्वक छानबिन गर्न गृहमन्त्रीलाई निर्देशन दिएको छु, शरणार्थी प्रकरण देशकै निम्ति गम्भीर र संवेदनशील विषय बनेकाले यसमा संलग्न कसैलाई पनि माफी दिइने छैन”, प्रधानमन्त्री प्रचण्डले भने। प्रधानमन्त्री प्रचण्डले मौसमी प्रणालीमा आधारित कृषि रहेकाले समयमै मल, बीउ उपलब्ध गराउन कृषि मन्त्रालयलाई निर्देशन दिएको बताएका छन् र यस वर्षको नीति कार्यक्रम र बजेटमा पनि कृषिलाई प्राथमिकता दिइने उनको प्रतिबद्धता छ। जनमत पार्टीका तर्फबाट निर्वाचित सांसद अनिता देवीले धानको बीउ छर्ने बेला भइसक्यो, मल र बीउ एकैपटक पाइन्छ कि पाइन्न ? भन्ने प्रश्नको जवाफमा प्रम दाहालले मल कारखाना खोल्नेलगायत कार्यक्रमलाई आगामी वर्ष प्राथमिकतामा राखिएको बताएका थिए। भ्रष्टाचारमा सरकारको शून्य सहनशीलता प्रम दाहालले भ्रष्टाचारविरुद्ध सरकारले शून्य सहनशीलताको नीति लिएको बताएका छन्। शरणार्थी प्रकरणमात्र होइन, सम्पत्ति शुद्धीकरणका ठूला घटनालगायत अन्य ठूला प्रकरणका बारेमा आवश्यक परेमा कानुन संशोधन गरेर पनि कारबाही हुने प्रतिबद्धता उनले जनाए । सांसद सर्वेन्द्रनाथ शुक्लले भ्रष्टाचारविरुद्धका काम कारबाही फलदायीरुपमा अघि बढ्न सकेको छैन रु यसमा सरकारको कार्यक्रम के छ ? भन्ने प्रश्नको जवाफमा “अहिलेको अवस्थालाई सच्याउने अवसरका रुपमा सबै दल लाग्नुपर्ने अवस्थामा हामी छौँ, देशमा सुशासनका लागि यो अवसरलाई गुम्न दिनुहुन्न”, प्रम प्रचण्डले भने। लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकार तयार छ प्रधानमन्त्री प्रचण्डले गिरीशचन्द्र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकार तयार रहेको बताउएका छन्। सांसद गङ्गाराम चौधरीले विसं २०७२ मा टीकापुरमा भएको आन्दोलनमा पहिचानसहितको अधिकार माग गर्दा घुसपैठ गरी हिंसा गराइएकाले न्याय भयो त , रेशम चौधरीलगायत अन्यायमा परेका विषयमा सरकारले के गर्छ , भनी गर्नुभएको प्रश्नमा उक्त जवाफ दिएका हुन। सर्वोच्च अदालतले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न दिएको आदेश किन कार्यान्वयन भएन , किन बाधा, अड्चन आयो ? भनी उहाँले प्रश्न राखेका थिए। टीकापुरलगायत पहिचानका लागि भएका अन्य आन्दोलनमा संलग्न बन्दीलाई रिहा गर्न विधेयक तयार भएको जवाफ प्रधानमन्त्री दाहालले दिए। रेशम चौधरीलाई रिहा गर्न कानुनी प्रक्रियाबाट नै सरकारले काम गरिरहेको उनको भनाइ छ । प्रधानमन्त्रीले नेपालका प्रधानमन्त्रीले पहिले भारतबाटै भ्रमण गर्नुपर्ने बाध्यता नभएको स्पष्ट गर्नुभएको छ। सांसद चित्रबहादुर केसीले नेपाली प्रधानमन्त्री नियुक्त भएपछि पहिलो भ्रमण भारतबाटै गर्नुपर्ने बाध्यता के छ ? भनी गर्नुभएको प्रश्नको जवाफमा उनले यस्तो उत्तर दिएका हुन। सांसद प्रभु साहले नेपाली नागरिकता त्यागेर विदेशी नागरिकता लिनेको सङ्ख्या कति छ , उनीहरुको सम्पत्ति के भएको छ , भन्ने प्रश्नको जवाफमा प्रम दाहालले नेपालबाट सम्पत्ति बेचेर विदेश लैजान नपाइने बताए। गौरलगायत विभत्स हत्याकाण्ड र दरबारबार हत्याकाण्डको पनि नयाँ शिराबाट छानविन हुनुपर्छ भनी सरकार लागेको प्रधानमन्त्री दाहालले बताए। गौर हत्याकाण्डको छानबिनमा के काम के भइरहेको छ ,भन्ने प्रश्नको जवाफमा प्रधानमन्त्री दाहालले सो कुरा बताएका हृन। मदनआश्रित हत्याकाण्डको पनि फेरि छानविन गरिनुपर्नेमा उनको जोड छ। सांसद अमरेशकुमार सिंहले विभिन्न भ्रष्टाचार काण्डको छानविन कहिलेदेखि सुरु हुन्छ , नेपालीले मल, बीउ समयमै कहिले पाउँछन् ? भन्ने प्रश्नमा उनले यस्तो जवाफ दिएका हुन। सांसद योगेन्द्र मण्डलले छ महिनाभित्र नागरिकता दिने प्रधानमन्त्रीको भनाइमा कसरी विश्वास गर्ने , भन्ने प्रश्नको जवाफमा प्रधानमन्त्री प्रचण्डले एक महिनाभित्र नागरिकता समस्या समाधान गर्ने प्रतिबद्धता जनाएको छ । प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री प्रचण्डले बैठकमा प्रश्नोत्तर कार्यक्रममा नियम निलम्बन गर्नुपर्ने अवस्था नमिठो लागे पनि सर्वसम्मत भएकामा खुसी लागेको बताउछन्। संसद्मा प्रश्न–उत्तर प्रारम्भ गर्न सहमति जुटाउनका लागि झण्डै दुई घण्टा समय लागेको थियो। रासस
सुनसरी: नेपाल नेत्रज्योति सङ्घ पूर्वाञ्चल क्षेत्रीय आँखा उपचार कार्यक्रम विराटनगर आँखा अस्पताल र देवानगञ्ज गाउँपालिका सुनसरीको संयुक्त आयोजनामा देवानगञ्ज गाउँपालिकामा दुईदिने निःशुल्क आँखा जाँच तथा शल्यक्रिया शिविर सम्पन्न भएको छ । नुरदुबई फाउन्डेसनको आर्थिक सहयोगमा सम्पन्न आँखा शिविरमार्फत दुई हजार १९९ जनाको आँखा परीक्षण गर्दा २४२ जनामा मोतिबिन्दुको समस्या देखिएको छ । अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा. रक्षा पन्तले बुधबारसम्ममा १५४ बिरामीको मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिसकिएको र बाँकी बिरामी बिरामीको निःशुल्क शल्यक्रिया गरिने जानकारी दिए । यही जेठ १ र २ गते देवानगञ्जमा सञ्चालित उक्त शिविरमार्फत दृष्टिदोष भएका ९१९ बिरामीलाई निःशुल्क चस्मासमेत वितरण गरिएको थियो । विराटनगर आँखा अस्पतालका बाह्य कार्यक्रम संयोजक मोहम्मद रफिकले शिविरमा मोतिबिन्दु देखिएका बिरामीलाई विराटनगर आँखा अस्पतालमा ल्याई निःशुल्क शल्यक्रिया गरिएको जानकारी दिनुभयो । अस्पतालका प्रबन्धक कुमार पृथुले शिविरमार्फत सुनसरी जिल्लासहितका छिमेकी जिल्लाका र सीमा क्षेत्रका भारतका नागरिकसमेत लाभान्वित भएको बताए र विराटनगर आँखा अस्पतालका नेत्र रोग विशेषज्ञ डा. सुमित मिश्र र डा. प्रिति अग्रवालको नेतृत्वको टोलीले शिविरमा सेवा प्रवाह गरेकी थिइन् । नेपाल नेत्रज्योति सङ्घ पूर्वाञ्चल आँखा स्वास्थ्य कार्यक्रमअन्तर्गत हाल दुई आँखा अस्पताल र ३१ आँखा उपचार केन्द्र सञ्चालनमा छन् । सन् २०२२ मा पूर्वाञ्चल आँखा स्वास्थ्य कार्यक्रमअन्तर्गत सञ्चालित अस्पताल, आँखा उपचार केन्द्र तथा विभिन्न बाह्य कार्यक्रममार्फत १२ लाख १३ हजार ३२६ जनाको आँखा जाँच गरी एक लाख ३१ हजार ८४६ जनाको शल्यक्रिया गरिएको थियो । त्यस्तै, सन् २०२२ मा १५४ निःशुल्क आँखा शिविर सञ्चालन गरी छ हजार १३० जनाको निःशुल्क मोतिबिन्दुको शल्यक्रियासमेत गरिएको थियो । पूर्वाञ्चल आँखा उपचार कार्यक्रमका प्रमुख प्रशासक सुधीर ठाकुरले पहुँच र आर्थिक अभावमा कोही पनि नागरिक दृष्टिविहीन बस्नु नपरोस् र सन् २०३० सम्ममा नेपालबाट उपचारपछि निको हुने अन्धोपन निवारण गर्ने सरकारको योजनालाई सफल बनाउने गरी आफ्नो सेवालाई विस्तार गरिरहेको जानकारी दिए । नेत्रज्योति सङ्घका केन्द्रीय सदस्य एवम् विराटनगर आँखा अस्पताल व्यवस्थापन समिति अध्यक्ष पद्मनारायण चौधरीले नेपाल नेत्रज्योति सङ्घले सन् २०३० सम्ममा नेपालका हरेक स्थानीय तहसम्म आँखा स्वास्थ्य सेवालाई विस्तार गर्ने लक्ष्य लिएकाले सोहीअनुरुप अहिले काम अगाडि बढिरहेको बताएका छन् ।
काठमाडौं: राष्ट्रिय सभामा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम माथि ३ दिन छलफल हुने भएको छ । शुक्रबार बसेको राष्ट्रियसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकले नीति तथा कार्यक्रम माथि जेठ ७,८ र ९ गते छलफल गर्ने र ९ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिने कार्यतालिका निश्चित गरेको छ। सरकारले शुक्रबार संघीय संसद प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछ ।
तानसेन: पाल्पा जिल्ला फुटबल संघको आयोजनामा जेठको दोस्रो साता कर्णेल उजीर सिंह पाल्पा गोल्डकप राष्ट्रिय नकआउट फुटबल प्रतियोगिता हुने भएको छ । पर्यटकीय नगर तानसेनको टुंडीखेलमा आगामी १२ गतेदेखि प्रतियोगिता हुने खेल संयोजक कर्ण चित्रकारले जानकारी दिए । उनका अनुसार तयारी तिब्र पारिएको छ । सो प्रतियोगिताको विजेता टोलीले नगद रु ३ लाखसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टिमले नगद रु १ लाख ५० हजारसहित शिल्ड, मेडल तथा प्रमाणपत्र हात पार्ने छ । यस्तै सो प्रतियोगितामा व्यक्तिगत विधातर्फ उत्कृष्ट ५ विधामा खेलाडीहरुलाई पुरस्कृत गरिने पाल्पा जिल्ला फुटबल संघका अध्यक्ष प्रणय विरजंग राणाले बताए । उनले सो प्रतियोगितामा पाल्पासहित कास्की, नवलपरासी, रुपन्देहीका टिमहरुको सहभागिता रहने जानकारी दिए । सो प्रतियोगितालाई तानसेन नगरपालिका, पाल्पा उद्योग वाणिज्य संघ, तानसेन र प्रदेश खेलकुद परिषद्, लुम्बिनीको विशेष सहयोग रहेको आयोजकले जनाएको छ ।
पोखरा: नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले बिचौलियाहरुलाई राखेर करको दर हेरफेर गर्दा देशको अर्थतन्त्रमा असर परेको बताएका छन् । प्रेस चौतारी कास्कीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै ज्ञवालीले आज यस्तो धारणा राखेका हुन् । उनले सरकारले बिचौलियाहरुलाई राखेर करको दर हेरफेर गर्दा अर्थतन्त्रमा ठुलो असर देखिएको बताए ।‘मुलुकको अर्थतन्त्र संकटमो दिलमा छ, नेपालको इतिहासमा हिजो द्वन्दकाल, नाकाबन्दी, भुकम्पकाल र कोभिड महामारीमा पनि अर्थतन्त्रमा असर देखिएन, ज्ञवालीले भने, ‘राजस्व संकलनको लक्ष्य आधा मात्र उठेको छ, गठबन्धन सरकारले बिचौलियाहरुलाई राखेर करको दर हेरफेर गर्दा अहिले अर्थतन्त्रमा समस्या देखिएको छ ।’ उनले केही हदसम्म अहिले कोभिड र रुस युक्रेनको युद्धको असर देखिएपनि गठबन्धन सरकारले सत्ता मोह राजनीति र बिचौलियाहरुलाई प्रयोग गर्दा अर्थतन्त्रमा समस्या देखिएको दोहोर्याए । ‘ अहिले सरकारले गठबन्धनलाई सत्ताको साधनको टोकन मात्र बनायो, विकास निर्माणका काम ठप्प छन्, व्यवसायी हतोत्साहित भएका छन्,’ उनले भने, ।

