प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले सभामुख पदमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद अर्याल निर्वाचित भएको घोषणा गर्नुभएको छ ।   आइतबार बिहान ११ बजे सिंहदरबारस्थित निर्मा...

बुद्धशान्ति गाउँपालिका–३ चर्चाबारीस्थित आदर्श सामुदायिक वन क्षेत्रभित्र पोथी हात्ती मृत फेला परेको छ।   आज बिहान स्थानीयवासीले हात्ती मृतावस्थामा देखेपछि प्रहरीलाई जानकारी दिएका थिए।    घटनास्थलमा अहिले डिभिजन वन कार्यालय झापा, जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय, सशस्त्र प्रहरीलगायतको टोली पुगिसकेको छ।    हात्तीको पोस्टमर्टमका लागि कोशी टप्पु वन्यजन्तु आरक्षबाट पशु चिकित्सकहरुको टोली समेत झापा आएका छन्।

काठमाडौं:   नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला अदालत काठमाडौंले पक्राउ पर्नेहरूलाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।    आइतबार नक्कली भुटानी शरणार्थी प्रकरणमा विभिन्न मितिमा पक्राउ परेका १६ जनालाई प्रहरीले म्याद थपका लागि आइतबार अदालतमा उपस्थित गराएको थियो ।   त्यस क्रममा अदालतले थप तीन दिन हिरासतमा राख्न अनुमति दिएको न्यायधीवक्ता महेशकुमार खत्रीले जानकारी दिए ।   उनले प्रहरीले अनुसन्धान टुङ्ग्याएर अनुसन्धान प्रतिवेदन तयार पार्नुपर्ने विषयमा सोमबार १० बजे सम्ममा अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा पेस गर्नुपर्ने बताए ।   प्रहरीले अनुसन्धान प्रतिवेदन बुझाए पश्चात् अभियोजनको काम गर्ने बताउनुभयो। उहाँले थप अनुसन्धान प्रतिवेदन आएपछि अभियोजन पत्र कसरी तयार गर्ने कागज प्रमाण र तथ्य के छन् भन्ने अध्ययन गरेर अभियोजन तयार पारिने सुनाए ।

काठमाडौं:   सरकारले वर्षायाममा मासिक ५० युनिट र हिउँदमा मासिक ३० युनिटसम्म विद्युत खपत गर्ने उपभोक्तालाई निःशुल्क विद्युत उपलब्ध घोषणा गरेको छ ।   राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा पेश गरेको आगामी आर्थिक वर्ष २०८० र ०८१ को नीति तथा कार्यक्रममा विद्युत खपत बढाउने योजनासहित यस्तो घोषणा भएको हो ।   नीति तथा कार्यक्रममा २ वर्षभित्र सबै नागरिकको घरमा विद्युत सेवा पुर्‍याउने घोषणा गरेको छ ।   विपन्न नागरिकको घरमा निःशुल्क बिजुली मिटर जोड्ने घोषणा पनि भएको छ ।   खाना पकाउने ग्यसलाई विद्युतबाट प्रतिस्थापन गर्ने, हाइड्रोजन इनधनको उत्पादन सम्भाव्यताको अध्ययन गर्ने लगायतका घोषणा भएको छ ।

काठमाडौं:  आज पहाडी क्षेत्रका केही ठाउँमा हल्का वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।   मौसमविद् संजिव अधिकारीका अनुसार आज कोशी, बाग्मती र गण्डकी प्रदेशका केही पहाडी क्षेत्रमा दिउँसोपछि हल्का वर्षाको सम्भावना छ । काठमाण्डौमा दिउँसो फाट्टफुट्ट पानी पर्ने अनुमान छ ।    यस्तै तराईका जिल्लामा भने आज हावाहुरीमात्रै चल्ने छ । तर भोलि मङ्गलवार र पर्सि बिहीवार भने पहाडी जिल्लासहित तराईका एक र दुई ठाउँमा पनि पानी पर्ने मौसमविद् अधिकारीले जानकारी दिएका छन् । उनका अनुसार प्रि–मनसुन सक्रिय हुँदैछ । भोलि पश्चिमी वायुको प्रभाव पनि थप पर्ने देखिएको छ । तराईका जिल्लामा लामो समयदेखि पानी परेको छैन ।    भोलि र पर्सि भने मौसम बदली भई एक र दुई ठाउँमा पानी पर्ने सम्भावना रहेकाले गर्मी कम हुने अनुमान छ ।

पोखरा:   पोखरेली पत्रकार श्रीराम सिग्देल काठमाडौंमा सम्मानित भएका छन् ।    २१ औँ चलचित्र पत्रकारिता दिवस तथा चलचित्र पत्रकार संघ नेपालको २४ औ वार्षिक उत्सबका अवसरमा सिग्देल राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार – २०८० बाट सम्मानित भएका हुन् ।    फेवापोस्ट साप्ताहिकका सहायक सम्पादकसमेत रहेका सिग्देल सिग्देल समाजवादी प्रेस संगठनका उपाध्यक्ष हुन् । उनी पोखरामा रहेर सक्रिय पत्रकारिता गर्दै आएका छन् ।    सो कार्यक्रममा सिक्देलसँगै ‘राष्ट्रिय चलचित्र पत्रकारिता रजत सम्मान’ बाट शान्तिप्रिय, ‘राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान’बाट तुलसी गिरी , ‘राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार’बाट कुबेर डँगोल, दीपज्योती थापा, ‘चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार’बाट सृष्टि पोखरेल र ‘मोफसल चलचित्र पत्रकारिता पुरस्कार’ बाट रबि अधिकारी पुरस्कृत भएका थिए ।   

विराटनगर:  २०६४ सालमा धरानमा भएको सामूहिक बलात्कारपछि हत्यामा संलग्न भएको आरोपी दुई जना १६ वर्षपछि पक्राउ परेका छन् ।   इलाका प्रहरी कार्यालय धरानका डीएसपी नवराज मल्लका अनुसार २०६४ साल मंसिर २३ गते धर्मशालाको कोठामा विभत्स अवस्थामा मृत भेटिएकी महिलाको बलात्कारपछि हत्या गरेको आरोपमा धनकुटा शहीदभूमि गाउँपालिका १ धापका ५६ वर्षीय चन्द्रबहादुर राई र सोही स्थानका ४४ वर्षीय कल्पन राई पक्राउ परका हुन् ।   घटना हुँदा चन्द्रबहादुर ४० र कल्पन २८ वर्षका थिए । दुवैले घटनामा आफ्नो संलग्नता स्वीकार गरेको डीएसपी मल्लले बताए ।   २०६४ साल मंसिर २३ गते बेलुका तत्कालीन धरान नगरपालिका ५ (हाल धरान १२) मा रहेको बलभद्रेश्वर अरुणोदय धर्मशालाको कोठा नम्बर २१८ मा २५ वर्षीय ललिता राईको शव विभत्स अवस्थामा फेला परेको थियो ।  धरान १० बेलगाछी बस्ने उनको शव सडेको अवस्थामा फेला थियो ।   घटनापछि मुस्किलले मृतकको पहिचान गरेको प्रहरीले आरोपीलाई पक्राउ गर्न सकेको थिएन् । आरोपीको स्पष्ट ‘क्लु’ नभेटेको र किटानी जाहेरी पनि नपरेपछि घटनाको फाइल थन्किएको थियो ।   करिब दुई महिनाअघि फाइल खोलेर अनुसन्धान सुरु गरेको प्रहरीले बलात्कारपछि हत्यामा संलग्न भएको आरोपमा दुई जनालाई पक्राउ गरेको हो । ‘पेन्डिङ फाइल खोल्ने डीआइजी र एसपी सापको निर्देशन अनुसार यो फाइल खोलेका थियौं,’ तीन महिनाअघि धरान हाजिर भएका डीएसपी मल्लले भने,’ पुरानो फाइल खोलेर अनुसन्धान गर्दा आरोपीसम्म पुग्यौं ।’   प्रहरीका अनुसार पक्राउ परेका दुवै जना साथी हुन् । मिसिल अध्ययन गरी विगतमा रोकिएको स्थानबाट अनुसन्धान सुरु गरेको प्रहरी शंकास्पद व्यक्ति खोज्दै धनकुटा पुगेको थियो । सुरुमा चन्द्रबहादुरलाई पक्राउ गरेको प्रहरीले लगतै कल्पनलाई पनि पक्राउ गरेको हो ।   प्रहरीका अनुसार ललिता श्रीमानसँग सम्बन्ध बिग्रिएपछि माइतमा बस्दै आएकी थिइन् । उनको प्रेम सम्बन्ध चन्द्रबहादुरसँग थियो ।   महिलालाई चन्द्रबहादुरले २०६४ मंसिर १९ गते धर्मशालामा बोलाएका थिए । महिलालाई लगेपछि उनले आफ्ना साथी कल्पन राईलाई पनि बोलाएर करणी गरेको प्रहरीको भनाइ छ ।   प्रहरीका अनुसार धर्मशालामा दुई वटा कोठा बुक गरेर एउटामा चन्द्रबहादुर र ललिता र अर्कोमा कल्पन बसेका थिए । चन्द्रबहादुरले कल्पनलाई कोठामा बोलाएपछि दुवै जनाले पालैपालो करणी गरे ।  महिलाले प्रतिकार गरेपछि पोल खुल्ने डरले घाटी थिचेर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ ।   हत्यापछि कोठामा नै शव छाडेर उनीहरु फरार भएका थिए । डीएसपी मल्लका अनुसार त्यसबेला चन्द्रबहादुर शंकाको घेरामा थिए । तर पक्राउ परेका थिएनन् । उनी भागेर भारत गएर बसेको देखिएको डीएसपी मल्लले बताए । शंकास्पद नदेखिएका कारण कल्पन भने भागेको नदेखिएको उनले बताए ।  

पोखरा:   आयोजक अरण्यज्योति क्रिकेट क्लव र पेलिकेण्ट्स क्रिकेट क्लव, तनहुँ पोखरामा जारीलुम्बिनी विकास बैंक अरण्यज्योति कप–२०८० को फाइनलमा प्रवेश गरेका छन् ।    अरण्यज्योतीले साँग्रिला क्रिकेट क्लवलाई तथा तनहुँले बाग्लुङ्गलाई पराजित गर्दै फाइनलमा स्थान बनाएका हुन् ।   पोखरा रंगशालामा आइतबार भएको पहिलो सेमिफाइनलमा अरण्यज्योलीले साँग्रिला क्रिकेट क्लवलाई ३० रनले पराजित गरेको थियो । पहिला व्याटिङ गरेको अरण्यज्योतीले २० ओभरमा ६ विकेट गुमाएर १ सय ४ रन बनाएको छ । अरण्यज्योतीको व्याटिङमा अभिषेक बस्नेतले ३१ तथा विवेक नेपालीले १८ रन जोडे ।   जितका लागि १ सय ५ रनको लक्ष्य पाएको साँग्रिलाले १६.२ ओभरमा सम्पूर्ण विकेट गुमाएर ७४ रन बनायो । साँग्रिलाको तर्फबाट नारायण जोशीले २४ तथा सिब्रिन श्रेष्ठले १८ रन जोडे । अरण्यज्योतीका बलरहरु अब्दुल मियाले ४ र अमरसिंह राउटेलाले ३ विकेट लिए ।    अर्को सेमिफाइनलमा तनहुँले बाग्लुङलाई ७ रनले पराजित ग¥यो । पहिला व्याटिङ गरेको तनहुँले १५.२ ओभरमा सम्पूर्ण विकेट गुमाएर ८६ रन बनाएको थियो । बाग्लुङको तर्फबाट म्यान अफ द म्याच प्रतिक श्रेष्ठले ४० रन हाने । प्रत्युत्तरमा बाग्लुङले पुरा २० ओभर खेल्दै १० विकेटको क्षतिमा ७९ रन बनायो । बाग्लुङका लागि दीपेन्द्र रावतले २१ तथा विश्व कार्कीले १२ रन बनाए ।     प्रतियोगिताको फाइनल खेल सोमबार हुने आयोजकले जनाएको छ ।  

ढोरपाटन:    मध्यपहाडी लोकमार्ग हुँदै पूर्वी रुकुम जाने बाटोमा थुप्रै भेडाबाख्राको ठूलो बथान भेटिन्छन् । अघि÷अघि भेडाबाख्रा पछिपछि गोठाला हिँडिरहेका देखिन्छन् । गत मङ्सिरमा जाडो र हिमपात छल्न औल झरेका भेडीगोठ यही जेठ पहिलो सातदेखिनै लेकतिर उक्लिन थालेका छन् । औलमा गर्मी बढेसँगै भेडीगोठ माथिल्लो क्षेत्रतर्फ सार्न थालेका हुन् । छ महिना बेसी बस्ता भेडाबाख्राको घाँस र दाना सकिने हुँदा हरेक वर्ष गोठाला लेक(बेसी गरी राख्छन् । बागलुङ निसीखोला, ढोरपाटन, तमानखोला, ताराखोला र गलकोटको माथिल्लो क्षेत्रमा बढी भेडाबाख्रा पालन हुने हुँदा गोठाला हप्तौँको यात्रा गरेर बुकी पुग्ने गर्छन् । बुकीमा भेडाबाख्राका लागि पोषिलो घाँस पर्याप्त पाइने हुँदा जेठदेखिनै लेक चढ्न थाल्छन् । असारको दोस्रो सातासम्म तमानखोलाको सोलेडाँडा, बागलुङ, पूर्वी रुकुम र रोल्पाका सिमाना पातीहाल्ने क्षेत्रमा बिताउने र त्यसपछि बुकी चढ्ने गर्छ । मध्य असारसम्म बुकीमा प्रसस्तघाँस नपलाउने हुँदा त्यस बेलासम्म बस्तीभन्दा माथिल्लो जङ्गलमा डेढ महिना भेडाबाख्रा चराउने गरिन्छ । अहिले लेक चढ्न थालेका भेडीगोठाले दसैँ बेला मात्रै बेसी झर्ने गर्छन् । बेला(बेलामा चर्ख लिन झर्ने गोठाला चार महिना लेकमै बिताउने गर्छन् । यति बेला उनीहरुले करिब एक महिनालाई पुग्ने आटो, पिठो र नुन बोकेर जाने गर्छन् । बर्खामा लेक र हिउँदमा बेसी गर्ने भेडागोठाले कात्तिक लागेपछि भेडा बेच्न बजारसम्म पुग्ने गर्छन् । अहिले सडकको पहुँचले गर्दा व्यापारी गोठमै पनि भेडा खरिद गर्न पुग्छन् । पहिले दुई साता हिँडेर भेडा बेच्न बजार झर्ने गरेको भेडापालक कृष्णबहादुर घर्तीमगरले बताए । लेकमा घाँस पलाएर भेडाबाख्राले खाने हुन थालेपछि लेक लैजान थालेको उनको भनाइ छ । ‘यसपालि त बर्खा नलाग्दै ठूलो पानी पर्‍यो, त्यसले गर्दा लेकमा घाँस पलाएरका छन्, बेसीमा घाँस सकियो, यहाँ पाल्न सकिँदैन, त्यही भएर लेकतिर लागेका छौँ, पहिले(पहिले असार लाग्ने बेला जान्थ्यो, यो वर्ष दुई साता पहिलै लेक जाँदैछौं’, घर्तीमगरले भने, ‘अहिले लेक चडेपछि आउने त अब दसैँतिर मान्न हो, त्यस बेलासम्म परिवारसँग सँगै बस्न पाइँदैन, ज्यानलाई सञ्चो भएन भने, घरका केही पर्‍यो भने मात्रै झर्ने हो नत्र एकै पटक असोज, कात्तिकमा आउने हो ।’ तमानखोला गाउँपालिका-५ का भेडापालक देवबहादुर विकले अहिले आफूहरु तीन हजार दुईको उचाइमा रहेको जनाउँदै अब केही दिनमै चार हजार दुई सय मिटरको उचाइसम्म भेडा लिएर जाने बताए । गर्मी मौसममा भेडा औलमा बस्दा बिरामी पर्ने भएकाले गोठ माथिल्लो क्षेत्रतिर सार्न थालिएको उनको भनाइ छ । हिउँदमा माथिल्लो क्षेत्रमा अत्यधिक चिसो हुने र भेडाले चिसो सहन नसक्ने हुँद बेँसी झार्ने गरेको उनी बताउँछन् ।  भेडीगोठ यतिबेला तिलाचन, पाती हाल्ने शैलुङ, तल्लो फागुनेतिर लैजान सुरु भएको छ । उनी भन्छन्, ‘हामीहरु लेक बेँसी गर्न थालेको चालिसौँ वर्षभन्दा बढी भयो, भेडा नपाली खान लाउन पुग्दै, यही बेचेर परिवार चलाउँदै आएका छौँ, काम त गर्नै पर्‍यो जे गरे पनि, लाहुर जान सकिएन, पढ्न पाइएन, पढेको भए जागिर खाइन्थ्यो होला, हाम्रो पालामा पढ्ने लेख्ने चलन पनि थिएन, यसैगरी जिन्दगी बित्न थाल्यो, यहाँको वनपाखा सबै थाहा छ, म हरेक कुनामा पुगेको छु ।’ उनले नयाँ युवा पुस्ताले भेडापालनमा चासो नदिँदा पहिलेको जस्तो चहलपहल नभएको बताए । यसले गर्दा परम्परागत भेडीगोठ राख्ने प्रचलन लोप हुन थालेको गुनासो गरे । पहिले बुकीमा बीसौँ हजार भेडाबाख्रा हुने गरेको भन्दै अहिले निकै कम भएको विकको भनाइ छ । भेडाबाख्रा पाल्नेले पनि जङ्गलमा नलगी खोरमै बाँधेर पाल्ने गरेको उनले बताए । पश्चिम बागलुङका ग्रामीण क्षेत्रमा अहिले पनि भेडापालनमा स्थानीयको चासो उत्तिकै देखिन्छ । भेडापालक कृषकले रहेक वर्ष चार लाखदेखि १२ लाखसम्म आम्दानी गर्ने गरेको पाइन्छ ।

जनकपुरधाम:  सप्तरीमा एक युवकको हत्या भएको छ ।   सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका ४ मधवापुरस्थित खेतमा आज बिहान युवकको घाटी रेटिएको अवस्थामा शव फेला परेको छ ।   अन्दाजी २५ वर्षीय युवकको शव देखेपछि आज बिहान स्थानीयले  प्रहरीलाई जानकारी दिएका थिए।   प्रहरी टोली घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डीएसपी नरेशकुमार सिंहले बताएका छन् ।