प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले सभामुख पदमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद अर्याल निर्वाचित भएको घोषणा गर्नुभएको छ ।   आइतबार बिहान ११ बजे सिंहदरबारस्थित निर्मा...

काठमाडौं:   वैदेशिक रोजगारको लागी स्वीजरल्याण्ड पठाइदिन्छु भन्दै रकम लिएर फरार भएको एक जना प्रहरीले पक्राउ गरेको छ ।   काभ्रेको बनेपा नगरपालिका ४ की पार्वती थापाले तुलाराम तारम मगरलाई वैदेशिक रोजगारीको लागि स्वीजरल्याण्ड पठाइदिने भन्दै पटक पटक गरी ७ लाख २० हजार लिएर ठगी गरेको आरोपमा पक्राउ गरेको हो ।    उनले स्वीजरल्याण्ड जान ७ लाख २० हजार रुपैयाँ लाग्छ  र उता पुगेपछि सुपरमार्केटको काममा महिनाको एक लाख रुपैयाँ तलब हुन्छ भनी प्रलोभन देखाएकी थिइन तर रकम लिएर फरार भएपछि तुलारामले वैदेशिक रोजगार विभाग काठमाडौंमा  दिनुभएको थियो ।    उजुरीपछि पार्वतीको खोजी गरी पक्राउ गरिदिन भन्दै प्रहरीलाई पत्राचार गरेको र विभागको पत्र अनुसार नै पक्राउ गरी थप अनुसन्धान र कारबाहीका लागि विभागमा बुझाएको काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

काठमाडौं:    काठमाडौं महानगरले महानगर भित्र रहेका सबै संस्थागत विद्यालयलाई छात्रवृत्ति वितरणको विवरण पठाउन परिपत्र गरेको छ ।   महानगरको शिक्षा विभागले आज सूचना निकालेर संस्थागत विद्यालयले शैक्षिक सत्र २०८० का लागि कक्षा १० सम्मका विद्यार्थीलाई उपलब्ध गराउने छात्रवृत्ति जेठ १५ गतेसम्म वितरण गरी १६ गते कार्यालय समयभित्र विवरण पठाउन भनेको छ ।    महानगरको शिक्षा ऐन २०७५ को दफा ५० को उपदफा ३ अनुसार छात्रवृत्ति छनोट समितिबाट निर्णय गराइ छात्रवृत्ति वितरण गर्न, विद्यालय शिक्षा व्यवस्थापन नियमावली २०७४ को नियम ५८ अनुसार छात्रवृत्तिको प्रावधानका आधारमा कम्तीमा १० प्रतिशत विद्यार्थीलाई वितरण गर्न र नियमावलीको नियम ५९ अनुसार छात्रवृत्ति पाउनेको नामावली विद्यालयको वेबसाइटमा प्रकाशन गर्न सूचित गराएको छ ।   महानगरले कुनै पनि अभिभावक, विद्यार्थी तथा सरोकारवालाको गुनासो भएमा त्यसको सुनुवाइका लागि अवसर प्रदान गर्न पनि भनेको छ ।   महानगरले वडाअध्यक्ष तथा जनप्रतिनिधिलाई छात्रवृत्ति वितरण तथा विवरणको काममा सहयोग र अनुगमन गर्न पनि आग्रह गरेको छ ।

काठमाडौं:  इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटको ईलिमिनेटर खेलमा आज मुम्बई इन्डियन्स र लखनउ सुपर जायन्ट्स खेल्ने भएको छ । यो खेल चेन्नईमा बेलुका पौने ८ बजे सुरु हुनेछ ।   आजको विजेताले फाइनलमा पुग्न हिजो भएको पहिलो क्वालिफायरमा पराजित टोली गुजरात टाईटन्ससँग शुक्रवार खेल्नेछ र दोस्रो क्वालिफायरमा विजयी हुने टोली फाइनलमा पुग्नेछ ।    फाइनल खेल चाँही आइतवार हुनेछ ।

काठमाडौं: सरकारले सङ्घीय संसदमा पेस गरेको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम राष्ट्रिय सभाबाट पारित भएको छ ।    राष्ट्रिय सभाको आज मङ्गलवारको बैठकले सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो । बैठकले सांसद तुलसाकुमारी दाहाल, विमला घिमिरे र डा विमला राई पौड्यालले राख्नुभएको संशोधन प्रस्ताव बहुमतले अस्वीकृत गरेको थियो ।    त्यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नीति कार्यक्रममाथि सांसदले राख्नुभएको जिज्ञासाको जवाफ दिनुभएको थियो भने, राष्ट्रिय सभाको अर्को बैठक यही जेठ १४ गते दिउँसो १ बजेर १ मिनेटमा बस्ने भएको छ ।

काठमाडौं:   लगातार छैटौँ दिन आज मङ्गलबार पनि शेयर बजार बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ५१ दशमलव ३२ अङ्कले बढेर एक हजार नौ सय ४२ दशमलव ६३ विन्दुमा पुगेको छ । आज सबै समूहको शेयर उकालो लागेकोमा बीमा, माइक्रोफाइनान्स, विकास बैंक र जलविद्युत् समूहको शेयर उच्च अङ्कले बढेको छ । बजारसँगै कारोबार रकममा पनि निकै सुधार आएको छ । दुई सय ७१ वटा कम्पनीका ६० लाख ६७ हजार कित्ता शेयर दुई अर्ब २० करोड रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै शिवम् सिमेन्टको १० करोड रुपैयाँको शेयर किनबेच भयो । आज खप्तड लघुवित्त, कालिका लघुवित्त, आत्मनिर्भर लघुवित्त र सामुदायिक लघुवित्तको शेयर १० प्रतिशतले बढेको छ । आज जम्मा दुई वटा कम्पनीको शेयरमात्रै सामान्य घटेको छ ।

पोखरा: अघिल्लो आर्थिक वर्षदेखि हालसम्म १३ जना कास्कीवासीले नेपाली नागरिकता त्यागेका छन् ।    उनीहरुले नागरिकता त्यागेसँगै देश छाडेर बाहिरिइसकेका छन् । जिल्ला प्रशासन कार्यालय कास्कीका अनुसार देश त्यागेर उनीहरुमध्ये केही यूरोपियन देश त केही एशियाली मुलुक पसेका छन् ।      तथ्यांकअनुसार घान्द्रुक, र पोखराका ८ जना बेलायत पुगेका छन् । त्यस्तै, २ जनाले अष्ट्रेलियाको नागरिकता लिएका छन् ।    दुई जनाले यूरोपको फिनल्याण्ड र लाट्भीयाको नागरिकता लिएका छन् । त्यस्तै एकजना हंगकंग पुगेको प्रशासकीय अधिकृत राजेन्द्र शर्माले जनाएका छन् ।    नागरिकता त्यागेकामध्ये बेलायत र हंगकंगमा सपरिवार गएका छने भने अन्य एकल छन् । अधिकृत शर्माका अनुसार केही वर्ष पहिल्यैदेखि यूरोपको नागरिकता लिन चाहनेहरुले नागरिकता त्याग्न दिएको निवेदन प्रक्रियामा थियो ।    बेलायत र हंगकंग जानेहरु त्यहाँको सेनामा रहेको पृष्ठभूमि छ । नागरिकता त्याग्ने अन्यको बसोबास विदेशमै लामो समय रहेको र उनीहरु त्यहीको नागरिक हुन योग्य भएको प्रमाण पेश गरेपछि प्रक्रिया अघि बढेको शर्माले जनाए ।     नेपाली नागरिकता त्याग्नेमा पोखरा वडा नम्बर १, ५, ८ र १६ का रहेका छन् ।    ‘आगामी दिनमा देशको नागरिकता त्यागेर विदेश बसाई हिँड्नेको ताँती बढ्ने सम्भावना अधिक छ’ शर्मा भन्छन् ‘अमेरिकन डिभी र अन्य देशमा लामो समय बसेपछि प्रायः नेपाल फर्कन नचाहने देखिएको छ ।’   त्यस्तै, ५ जनाको नेपाली नागरिकता रद्द गरिएको छ । कुनैपनि व्यक्तिको दोहोरो नागरिकता भएको हकमा प्रयोजनअनुसार पहिलो वा दोस्रो नागरिकता त्याग गर्न सकिने कानूनी प्रावधान रहेको छ । 

काठमाडौं:   नेपालले आगमी महिना जिम्बावेमा हुने आइसिसी विश्वकप एकदिवसीय विश्वकप छनोटमा पहिलो खेल घरेलु टोली जिम्बावेसँग खेल्ने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले विश्वकप छनोटको समूह विभाजन र खेल तालिका मंगलबार सार्वजनिक गरेको छ । समूह ए मा नेपाल, वेस्टइन्डिज, जिम्बावे, अमेरिका र नेदरल्यान्ड्स छन् । समूह बी मा आयरल्यान्ड, श्रीलंका, युएई, स्कटल्यान्ड र नेदरल्यान्ड्स छन् । प्रतियोगिता असार ३ देखि २४ (जुन १८ देखि जुलाई ९) सम्म जिम्बावेमा हुनेछ । नेपालले पहिलो खेल असार ३ मा (जुन १८) मा जिम्बावेसँग खेल्नेछ । नेपालले त्यसको एक दिनपछि असार ५ (जुन २०) मा अमेरिकासँग खेल्नेछ । नेपालले असार ७ (जुन २२) मा वेस्टइन्डिजसँग खेल्नेछ । नेपालले समूह चरणको अन्तिम खेल असार ९ (जुन २४) मा नेदरल्यान्ड्ससँग खेल्नेछ । यदी समूह चरणमा शीर्ष तीनमा पर्न सके नेपालले सुपर सिक्समा स्थान बनाउनेछ । सुपर सिक्समा हरेक समूहबाट शीर्ष तीन टोली आउनेछन् । सुपर सिक्समा सबै टोलीले एक अर्कासँग खेलेपछि शीर्ष दुई टोलीले आगमी अक्टोबर नोभेम्बरमा भारतमा हुने एकदिवसीय विश्वकपमा स्थान बनाउनेछन् । भारत, अष्ट्रेलिया, इंग्ल्यान्ड, पाकिस्तान, न्युजिल्यान्ड, अफगानिस्तान, बंगलादेश र दक्षिण अफ्रिकाले भने सिधैं विश्वकपमा स्थान बनाएका छन् । यदि नेपाल सुपर सिक्समा स्थान बनाउन नसके प्लेअप खेल्नेछ । फाइनल भने असार २४ (जुलाई ९) मा हरारे स्पोर्ट्स क्लबमा हुनेछ । नेपालले भने प्रतियोगिताको लागि २२ सदस्य प्रारम्भिक टोली घोषणा गरेको छ । नेपाल एक सातापछि अन्तिम टोली घोषणा गर्दै दक्षिण अफ्रिका जानेछ । दक्षिण अफ्रिकामा नेपालले नेदरल्यान्ड्स र स्कटल्यान्डसँग अभ्यास खेल खेल्नेछ । हालसम्म वेस्टइन्डिज र स्कटल्यान्डले प्रतियोगिताको लागि अन्तिम टोली घोषणा गरेका छन् ।

काठमाडौं:    घुँडासम्म दुवै खुट्टा गुमाएका सगरमाथा आरोही हरिबहादुर बुढालाई आज त्रिभुवन विमानस्थलमा स्वागत गरिएको छ । लुक्लाबाट काठमाडौं आइपुग्नुभएका आरोही बुढालाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती, पर्यटन व्यवसायीका साथै  मगर समुदायले झाँकीसहित स्वागत गर्नुभएको हो । भूतपूर्व गोर्खा सैनिक समेत रहनुभएका बुढा यही जेठ ५ गते दिउँसो सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पुग्नुभएको थियो । योसँगै उहाँले घुँडामाथिसम्म खुट्टा गुमाएर सगरमाथा आरोहण गर्ने पहिलो आरोही समेत बन्नुभएको छ । उहाँले कृत्रिम खुट्टाको सहायतामा सगरमाथाको सफल आरोहण गर्नुभएको हो । स्वागत गर्दै पर्यटन मन्त्री किरातीले आरोही हरिबहादुर बुढाले आफ्नो जीवनमा अदम्य साहस पटक–पटक देखाउनुभएको भन्दै हार्दिक बधाई दिनुभयो । “हरिबहादुर बुढाले सर्वोच्च शिखर सगरमाथाको चुचुरोबाट नयाँ सन्देश दिनुभएको छ”, मन्त्री किरातीले भन्नुभयो, “उहाँले विश्व समुदायलाई अथक मेहनत र इच्छाशक्ति भए असम्भव केही छैन भन्ने सन्देश दिनुभएको छ ।”  सो अवसरमा आरोही बुढाले आफ्नो सफलतामा सहयोग गर्ने टिमलाई विशेष धन्यवाद दिनुभयो । “आफ्नो व्यस्त समयका बाबजुद पनि तपाईँहरू मलाई स्वागत गर्न आउनुभएको छ । यसका लागि म धेरै–धेरै धन्यवाद दिन चाहन्छु”, उहाँले भन्नुभयो, “आफ्नो ज्यानको बाजी राखेर मलाई सगरमाथाको चुचुरोमा पुर्‍याउने टिम बिना मेरो प्रयास सफल हुने थिएन ।” उहाँले सो अवसरमा नेपाल सरकार र संसारका विभिन्न कुनाबाट आफूलाई सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभयो ।

पोखरा:  गण्डकी प्रदेश सरकारको आयोजनामा भोलि (बुधबार) हुने भनिएको मुख्यमन्त्री सम्मेलन स्थगित भएको छ ।   मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेका प्रेस संयोजक नरहरी सापकोटाले सूचना जारी गर्दै कार्यक्रम स्थगित भएको जानकारी दिए ।   प्रकाशित सूचनामा भनिएको छ, ‘गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालायको आयोजनामा प्रदेश सरकारको अनुभव आदानप्रदान गर्ने उद्देश्यले २०८० जेठ १० गते पोखरामा हुने भनिएको अन्तर प्रदेश मुख्यमन्त्री बैठक तत्कालका लागि स्थगित भएको व्यहोरा जानकारीका लागि अुनरोध छ ।’   पूर्वघोषित कार्यक्रममा सातै प्रदेशका मुख्यमन्त्रीसहित प्रमुख सचिवहरुको सहभागिता र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गर्ने बताइएको थियो ।