काठमाण्डौ: आज पनि देशका धेरै ठाउँमा पानी पर्ने मौसमविद्ले बताएका छन् । मधेस प्रदेश, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँ र बाँकी प्रदेशका एक र दुई ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद् सञ्जीव अधिकारीले जानकारी दिएका छन् । विगत २४ घण्टामा देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको थियो भने गण्डकी प्रदेशका एकरदुई ठाउँमा ठूलो पानी परेको थियो । गण्डकी प्रदेशका एकरदुई ठाउँमा अहिले पनि पानी परिरहेको छ । तर, दिउँसोको समयमा मौसम बदली भइ पानी पर्ने सम्भावना रहेको मौसमविद् अधिकारीले बताउछन् । उनका अनुसार काठमाडौं उपत्यकामा पनि पानी पर्ने सम्भावना छ र स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभाव कायमै रहेकाले दिउँसो पानी पर्ने मौसमविद्ले बताएका हुन् ।
पोखरा: काठमाडौंको टोखा नगरपालिका ८ का २८ वर्षीय विश्वास अर्याल पोखराबाट बैशाख २९ गतेबाट हराएको सूचना कास्की प्रहरीकहाँ पुग्यो । तर उनी काठमाडौंबाट २८ गते नै हिडेका थिए । प्रहरीलाई प्राप्त सूचनापछि उनी पोखरा महानगरपालिका ८ बास्तोलाथरस्थित पोखरा पार्टी प्यालेसमा भएको विवाहमा सहभागि हुन आएको खुल्यो । विवाहमा सहभागि भएपछि आफन्त र परिवारको सम्पर्क बाहिर पुगे । उनी बेपत्ता भए । कास्की प्रहरीले पाएको सूचनाका आधारमा प्रहरीले खोजीकार्य तिब्र पार्याे तर अहिलेसम्म अर्यालको अवस्था अज्ञात छ । उनी साथीको विवाहमा आएको खबर बाहिरिएपनि कस्को विवाहमा आएका थिए भन्ने ऐकिन थिएन । सुनगाभा न्यूजलाई प्राप्त जानकारी अनुसार अर्याल आफ्नो केटी साथीको दाईको विवाहका लागि पोखरा आएका थिए । ‘उनी पोखरासँग त्यती परिचित थिएनन् । पोखरा उनी २/३ पटकमात्र आएका रहेछन् । उनलाई विरौटा कहाँ भन्ने पनि थाहा रहेनछ । उनका आफन्त विरौटामा छन् । स्रोतले भन्यो, ‘उनको आफन्तले भने अनुसार खासमा उनी आफ्नो केटी साथीको दाईको विवाहमा आएका रहेछन् ।’ अर्याल बेपत्ता भएको आज दुई हप्ता भइसकेको छ । यसबारे कास्की प्रहरीसँग बुझ्दा खोजीकार्य तिब्र पारेको बताएको छ । प्रहरीले संभावित स्थानको सिसिटिभी फुटेज संकलन गरिरहेको छ । साथै अर्यालको केटी साथी भनिएकी युवती लगायत सम्पर्कमा रहेका व्यक्तिहरुलाई निगरानीमै राख्दै आएको छ । यद्यपी अर्यालयको अवस्था अज्ञात रहेको कास्की प्रहरीका प्रवक्ता तथा डिएसपी श्रवण कुमार विकले बताए । ‘साथीको बिहेमा आएका अर्याल पोखरामा हराएको भन्ने उजुरीपछि पोखराको विभिन्न ठाउँमा विभिन्न कोणबाट खोजी गरिरहेका छौं,’ डिएसपी विकले भने । प्रहरीले संकलन गरेको सिसिटिभी फुटेजमा अर्याललाई पोखरा महानगरपालिका ३ नदिपुरस्थित (पब्जि) पुलमा केही व्यक्तिले मोवाइल लुटपाट गरेको देखिएको थियो । लुटपाटपछि सेतीमा धकले वा हाम फाले भन्ने कुरा अपुष्ट छ । अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतका अनुसार अर्यालको मोवाइल लुटेको आरोपमा दुई व्यक्तिलाई नियन्त्रणमा डाँकाचोरी कसुरमा मुद्धा दर्ता गरेर थप अनुसन्धान भइरहेको छ । अर्याल लुटिइएको भोलिपल्ट कास्की प्रहरीले सशत्र प्रहरी बलको सहायतामा सेती खोँच र आसपासमा खोजी गरेको थियो । यद्यपी अर्याल भेटिएनन् ।
दाङ: दाङको तुलसीपुर उपमहानगरपालिकाले घरको नक्सा पास नगर्नेको सेवा कटौती गर्ने भएको छ । उपमहानगरपालिकाको ११ औँ कार्यपालिका बैठकले भूकम्प प्रतिरोधी घर निर्माण गरेर नक्सा पास नगर्नेलाई पानी, विद्युत्, टेलिफोनलगायतका लागि सिफारिस नदिने निर्णय गरेको हो । उपमहानगरपालिकाले नक्सा पास नगरि निर्माण गरिएका कच्ची वा पक्की घर असार मसान्तभित्र सूचीकृत गर्न आग्रह गरेको छ । गाउँमा झण्डै ९० प्रतिशत घर नक्सापास नगरि निर्माण गरिएको तुलसीपुर उपमहानगरपालिकाका राजस्व शाखा प्रमुख ललित घर्तीले जानकारी दिएका छन् । उपमहानगरले पक्की घरको एक हजार, कच्ची घरको पाँच सय, अव्यवस्थित बसोबासीका लागि एक सय, भूमिहीन दलितका लागि ५० र भूमिहीन सुकुम्बासीका लागि ५० रुपैयाँ वार्षिक कर निर्धारण गरेको छ । असार मसान्तसम्म करको दायरामा आउनेलाई ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ । घरको नक्सापास गर्ने प्रक्रियाका लागि विभिन्न कन्सल्टेन्सीले सेवा शुल्क फरक -फरक लिने गरेको गुनासो आएपछि उपमहानगरपालिकाले छानबिन गर्ने भएको छ । उपमहानगरका प्रवक्ता माधव वलीको संयोजकत्वमा समिति गठन समेत गरियो।
पोखरा: पोखरामा लागूऔषधसहित तीन युवा प्रकाउ परेका छन् । वडा प्रहरी कार्यालय रामबजार र लागू औषध ब्यूरोले पोखरा महानगरपालिका १० बुद्धचोकबाट तीन युवाहरुलाई लागूसहित प्रकाउ गरेको कास्की प्रहरीले जनाएको छ । स्याङजाको भिरकोट नगरपालिका घर भइ पोखरा १० बस्ने ३२ वर्षीय अनिल खत्री, स्याङ्जाको वालिङ नगरपालिकाका घर भई पोखरा ८ सिर्जनाचोक बस्ने सुवास काफ्ले र पोखरा १० अमरसिँहचोक बस्ने ३२ वर्षीय सुदिप गुरुङलाई २९ एम्पुल डाईजापाम, २७ एम्पुल नुर्फिन र २८ एम्पुल फेनेरागन गरी ८३ एम्पुल लागूऔषधसहित प्रकाउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । लागूऔषधसहित प्रकाउ परेका तीन जनालाई जिल्ला अदालत कास्कीबाट १० दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढेको कास्की प्रहरीले जनाएको छ ।
गण्डकी: रुग्ण गोरखकाली रबर उद्योगलाई पुरानै स्थितिमा फर्काउने सरकारको घोषणा कार्यान्वयन होला त भन्ने प्रश्न फेरि सतहमा आएको छ । सरकारले हालै सार्वजनिक गरेको आउँदो आव २०८०/८१ को नीति तथा कार्यक्रममा बन्द अवस्थामा रहेको सो उद्योग पुनःसञ्चालनमा ल्याउने उल्लेख गरेको छ । सरकारको उक्त निर्णयले आशा जगाएको भए पनि घोषणा कार्यान्वयन हुनेमा भने जनस्तरमा संशय छ । यसअघि पनि पटकपटक गोरखकाली रबर उद्योगलगायत बन्द तथा रुग्ण अवस्थामा रहेका स्वदेशी उद्योग चलाउने सरकारी प्रयासले सार्थकता पाउन सकेको थिएन । विसं २०४९ साउनदेखि व्यावसायिक उत्पादन थालेको सो उद्योग व्यवस्थापनको कमजोरीका कारण विसं २०७२ देखि पूर्णरुपमा बन्द छ । सरकारले उद्योगमा कार्यरत दुई सय ८० कर्मचारीलाई विसं २०७६ फागुनमा रु ९६ करोड दायित्वसहित अवकाश दिएको थियो । उद्योगका प्रशासन अधिकृत दिनेश कार्कीले सरकारले चाहेमा अहिले भएकै पूर्वाधारबाट उद्योग पुनःसञ्चालन गर्न सकिने बतौका छन् । “पचासर ६० वर्षलाई थेग्ने गरी उद्योगको भौतिक संरचना बनेको छ”, उनले भने, “बिग्रेका उपकरण र प्रविधि फेर्न थप लगानी भने गर्नुपर्छ ।” अधिकृत कार्कीका अनुसार उद्योगबाट ‘बायस’ प्रविधिको टायर र ट्युब उत्पादन हुँदै आएको थियो । अहिले भारतीय बजारबाट ‘रेडियल’ अर्थात् ‘ट्युबलेस’ प्रविधिको टायर नेपाल भित्रने गरेको छ र नेपालको भू–बनोट र सडकको स्तरअनुसार अझै केही दशक बायस प्रविधिकै टायर प्रयोगमा ल्याउन सकिने उनले बताएका छन् । “रेडियल प्रविधिमा जाने हो भने रु ५० करोडभन्दा बढी लगानी चाहिन्छ, यो प्रविधि महँगो छ”, अधिकृत कार्कीले भन्नुभयो । उद्योग बन्द हुनुपूर्व २५ वर्षसम्म उहाँले त्यहाँ कर्मचारीका रुपमा काम गरेका थिए । “सहसचिवको नेतृत्वमा बनेको अध्ययन कार्यदलले पनि यो उद्योगलाई पुनःसञ्चालन गर्न सकिने भनेर औँल्याएको छ”, अधिकृत कार्कीले भने , “सरकारको नीति तथा कार्यक्रममा पनि समावेश भएपछि उद्योग चल्नेमा आशा जागेको छ, मुख्यरुपमा उद्योग मन्त्रालयले नै यसमा पहल लिनुपर्छ ।” गोरखाको गोरखा नगरपालिका–१३ मजुवा देउरालीको छ सय ६५ रोपनी क्षेत्रफलमा फैलिएको उद्योगमा झण्डै रु १० अर्ब बराबरको सम्पत्ति छ भने, उद्योगको जग्गा, भवन, वन सम्पदा, उपकरण आदिको संरक्षण प्रयास भए पनि लामो समयसम्म सञ्चालनमा नआउँदा जीर्ण बन्दै गएका छन् । गोरखा नगरपालिकाका प्रमुख कृष्णबहादुर रानामगरले सार्वजनिक–निजी साझेदारी अवधारणाबाट उद्योग चलाउनुपर्ने धारणा राख्नुभयो । “सरकारको मात्रै बाटो हेरेर हुँदैन, यसलाई थ्री पी मोडलमा लैजानुपर्छ”, उनले भने, “उद्योग पुनःसञ्चालनबारे चीन र नेपालका विज्ञसँग छलफल भइरहेको छ, उद्योग चलाउन हामी लागिपरेका छौँ ।” गुणस्तरीय टायर स्वदेशमै उत्पादन गर्नसक्ने उद्योग लामो समयसम्म बन्द हुनु दुर्भाग्य भएको उनको को भनाइ छ । “बजारमा रहेको भारतीय टायरको वर्चश्व तोड्न र नेपाली टायरलाई प्रतिस्पर्धी बनाउन पनि यो उद्योग सञ्चालन गर्नैपर्छ”, प्रमुख रानामगरले भने, “स्वदेशी उत्पादनको प्रवद्र्धन र रोजगारी सिर्जनामा यसले ठूलो मद्दत पु¥याउँछ ।” गोरखा उद्योग वाणिज्य सङ्घका अध्यक्ष कृष्णकुमार श्रेष्ठले उद्योग चलाउने विषयमा गण्डकी प्रदेशका मुख्यमन्त्रीदेखि प्रधानमन्त्रीसम्मको ध्यानाकर्षण गराइएको जानकार दिए । “सरकारले नीति तथा कार्यक्रममार्फत उद्योग पुनःसञ्चालन गर्ने घोषणा गरेपछि गोरखाका उद्योगी व्यवसायी खुसी छौँ, हामीले पटकपटक यो माग राख्दै आएका थियौँ, अब निर्णय कार्यान्वयनमा ढिलाइ नहोस्”, उनले बताए । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गोरखाबाट चुनाव लड्दा गोरखकाली रबर उद्योग सञ्चालनमा ल्याइने प्रतिबद्धता जनाएका थिए । गृहमन्त्री, गण्डकीका मुख्यमन्त्री, सभामुखलगायत उच्च पदमा गोरखाकै राजनीतिक नेतृत्वमा रहेकाले उद्योग सञ्चालनमा उचित पहलकदमी हुनेमा गोरखाबासी आशावादी छन् । गण्डकी प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री दीपेन्द्रबहादुर थापाले गोरखकाली रबर उद्योग सञ्चालनका लागि सङ्घी सरकारसँग साझेदारी गर्न प्रदेश सरकार तयार रहेको बताए , “हाम्रै प्रदेशमा पर्ने भएकाले प्रदेश सरकारको पनि यसमा स्वाभाविक दायित्व रहन्छ”, उनले भने, “प्रदेशमा उद्योगधन्दाको विकास र स्थानीय उत्पादनको प्रवद्र्धन प्रदेश सरकारको प्राथमिकतामा छ ।” सरकारले गोरखकाली रबर उद्योगसँगै हेटौँडा कपडा उद्योग र बुटवल धागो कारखाना पुनःसञ्चालनको घोषणा गरेको हो । लामो समयदेखि बन्द तथा रुग्ण अवस्थामा रहेका उद्योग सञ्चालन, खारेजी, एकीकरण वा व्यवस्थापनका विषयमा अध्ययन गर्न उच्चस्तरीय अध्ययन समितिसमेत गठन गर्ने सरकारले तयारी गरेको छ । रासस
रौतहट: रौतहटमा गोली लागेर एक वृद्धको हत्या भएको छ । देवाही गोनाही नगरपालिका १ करुनियाका ७० बर्षीय शेख तैयब गोली लागेर मृत अवस्थामा आज (बिहीबार) फेला परेको हो । उनको टाउकोमा गोली लागेको बताइएको छ । शेख पारिवारिक श्रोतका अनुसार बुधबार राति १२ बजे सम्म घरमै रहेका तैयबको शव घर भन्दा १ किलोमिटर टाढा भेटिदा शंका उब्जिएको छ । टाउकोमा गोली लागेका शेखलाई कस्ले किन गोली चलायो भन्नेबारे प्रहरीले अहिलेसम्म केही पुष्टि गरेको छैन । रौतहट प्रहरीले थप अनुसन्धान भईरहेको जनाएको छ ।
पोखरा: कृषि सामग्री कम्पनी लिमिटेडले पोखराको हङकङ बजारलाई टेण्डर प्रक्रियामा लैजान खोजेपछि व्यवसायीहरु चरणबद्ध आन्दोलनमा छन् । उनीहरुले आफ्नो माग पूरा नभएको भन्दै निरन्तर विरोध जनाउदै आएका छन् । उनीहरुले विभिन्न नाराबाँजीसहित महानगर र वडा कार्यालय घेर्दै विरोध गरिरहेका छन् । चरणबद्ध आन्दोलनमा रहेका उनीहरुको आज १ सय १८ दिन पुगेको छ । एकदशक अगाडिबाट पोखरा महानगरपालिका ९ स्थित कृषि साम्रगी कम्पनीको स्वामित्वमा रहेको ७ रोपनी जग्गामा बसेर फुटपाथ व्यवसायीलाई व्यवस्थापन गर्दै एकिकृत बजारको मोडलमा हङकङ बजार निर्माण गरिएको थियो । हाल सोही बजारमा व्यवसाय गर्दै आएकामाथि कम्पनीले अस्वाभाविक भाडा बढाएको भन्दै आन्दोलनमा उत्रेका हुन् । कृषि सामाग्री कम्पनीको स्वामित्वमा रहेको जग्गा फुटपाथ व्यवसायीहरु भन्दा अगाडि नै नन्द प्रसाद तिवारीले भाडा लिएको र अहिले तिवारी र कम्पनीले गरेको सम्झौता अवधि सकिएको भन्दै कम्पनीले न्यूनतम १२ लाख १५ हजार भाडा दिन सिलबन्दी बोलपत्र आह्वान गरेपछि व्यवसायीले विरोध गर्नुको विकल्प नरहेको व्यवसायीहरुको भनाई छ । पोखरा हङकङ बजार व्यवस्थापन समितिका अध्यक्ष कृष्णमाया गुरुङले कृषि सामग्री कम्पनीले व्यवसायीको हित विपरित टेण्डर प्रक्रियाबाट बजारमा ठेकेदार भित्राए सडकमा आएर व्यवसाय सञ्चालन गर्ने चेतावनी दिइन् । उनले माग पूरा नभएर सडक तताउनेसमेत बताइन् । ‘कम्पनीले फुटपाथ व्यवसायीहरुको हित विपरित भाडादर बढाएर विचौलियालाई फाइदा पुग्ने गरी टेण्डर आह्वान गरेको छ, गुरुङ आक्रोशित हुदै भनिन्, ‘हामीलाई त्यहाँ व्यवस्थापन गर्दा झाडी नै झाडी थियो, अहिले बजार भइसकेपछि विचौलियाहरुलाई फाइदा पुग्ने गरी टेण्डर आह्वान भएको छ ।’ उनले फुटपाथ व्यवसायीहरुको हित विपरित टेण्डर प्रक्रियाबाट ठेकेदार प्रवेश गरे बजारको क्षतिपूर्ति माग गर्दै सडकमा नै आएर व्यवसाय सञ्चालन गर्ने सुनाइन् । यता कृषि सामग्री कम्पनीको स्वामित्वमा रहेको ७ रोपनी जग्गा कम्पनीले न्यूनतम १२ लाख १५ हजारमा नघट्ने गरी सिलबन्दी बोलपत्र आह्वान गरेपछि तीन जनाले टेण्डर प्रक्रियामा भाग लिएको कृषि सामग्री कम्पनी लिमिटेड पोखराले जनाएको छ ।
काठमाण्डौं: काठमाण्डौं उपत्यकासहित देशका विभिन्न ठाउँमा अहिले वर्षा भइरहेको छ । पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभावका कारण वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार अहिले कोशी प्रदेश, बाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा पनि वर्षा भइरहेको छ। मौसमी प्रणाली बिस्तारै देशको पूर्वी भेगतर्फ सरिरहेकाले काठमाण्डौंसहित पूर्वी उत्तरी क्षेत्रमा वर्षा हुने उनले बताएका छन् । दिउँसो पछि तराईका जिल्लामा तीव्र गतिमा हावाहुरी चल्ने सम्भावना रहेकाले सतर्कता अपनाउन मौसमविद्को सुझाव छ ।
भारत र अष्ट्रेलियाले आर्थिक सहयोगलाई बलियो बनाउने उद्देश्यले आप्रवासन सम्झौताको घोषणा गरेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सिड्नीमा समकक्षी एन्थोनी अल्बानीजसंग भेटका क्रममा सम्झौतामा सहमति भएको हो र सम्झौताको उद्देश्य विद्यार्थी, स्नातक, शैक्षिक अनुसन्धानकर्ता र व्यवसायी व्यक्तिको दुई–तर्फी गतिशीलतालाई बढावा दिनु रहेको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएको छ । भारत र अष्ट्रेलिया चार सदस्यीय क्वाड समूहको हिस्सा हुन्, जसमा जापान र अमेरिका पनि सामेल छन् । अमेरिकाका राष्ट्रपति जो बाइडेन ऋण सीमा वार्ताका लागि वाशिंगटन फर्किनु परेपछि सिड्नीमा समूहको निर्धारित बैठक गत हप्ता रद्द गरिएको थियो । मोदीको यो पहिलो अष्ट्रेलिया भ्रमण हो, अल्बानीजले मार्चमा भारत भ्रमण समेत गरेका हुन ।

