काठमाण्डौ: सत्तारूढ नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध सङ्घर्ष गर्ने चेतावनी दिएका छन्। महामन्त्री थापाले पार्टी सभापति देउवाको एकल सहमतिमा सरकारले पार्टीको आधारभूत मान्यता विपरीत रेशम चौधरीलाई आममाफी दिने, नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणीकरण गर्नेलगायतका काम गरेको आरोप लगाउँदै त्यस्ता गतिविधिविरुद्ध सङ्घर्ष गर्ने बताएका छन् । प्रेस युनियन नेपालले शुक्रवार काठमाण्डौमा आयोजना गरेको एक कार्यक्रममा उनले पार्टीलाई उठ्नै नदिने गरी सभापति देउवाले सरकारलाई दिएका ती सहमतिहरू आफूलाई सह्य नहुने बताए। उनले अब पार्टी सभापति देउवाले गर्दै आएका यस्ता गलत निर्णयको सङ्घर्ष गरेर पनि रोक्नुपर्ने भन्दै साथ दिन पार्टीको नेता, कार्यकर्तालाई आह्वानसमेत गरेका छन् । महामन्त्री थापाले पार्टी सभापति देउवाका एकल निर्णयहरू आफूले विगतमा मान्दै आएर गल्ती गरेको उल्लेख गर्दै अब त्यस्तो गल्ती गर्ने पक्षमा आफू नरहेको पनि पटक–पटक दोहोर्याए । कांग्रेस बदल्नुपर्ने भएकाले आफूले आफैँलाई बदल्न चाहेको उनको भनाइ थियो । उहाँले भन्नुभयो, ‘केही दिन बीचमा नेपाली कांग्रेस संलग्न भएको सरकारले केही गम्भीर, महत्त्वपूर्ण दीर्घकालीन महत्त्वको र जनचासोको निर्णयहरू गर्यो । पहिलो निर्णय आममाफीको विषयमा । दोस्रो निर्णय नागरिकता विधेयकको विषयमा । तेस्रो निर्णय प्रदेश सरकारमा कांग्रेसको सहभागिता, सहभागिताका लागि भएको मन्त्रालय पनि तोडफोड गर्ने विषयको सन्दर्भमा । त्यस्तै अर्को निर्णय सांसद विकास कोषको सन्दर्भमा । यस्ता कैयन् विषयहरू छन् । यी सबै विषयहरूका सन्दर्भमा नेपाली कांग्रेसको पार्टी सभापतिले, मुख्य नेतृत्वले एक्लै गर्नुभएको निर्णयहरू हो । अब म सहन्नँ, मैले आफूलाई बदल्ने हो । ती निर्णयहरूको भारी प्रकारान्तरले पार्टीका तमाम सदस्यहरूले बोक्नुपर्ने स्थिति बनेको छ । यो गर्ने क्रमलाई रोक्ने हो । एकपछि अर्को गलत निर्णय गर्दै गयो भने यो भारीले पार्टी यसरी थिचिन्छ, चाहेर पनि यसलाई कसैले उठाउन सक्दैन । महामन्त्री थापाले पार्टीलाई ‘दाइ’ हरूको पार्टीको रूपमा नभई तल्लो तहका कार्यकर्ताको पार्टीमा रूपान्तरण गर्न आफूले देशव्यापी अभियान चलाउने घोषणासमेत गरेका छन् ।
पोखरा: पोखराको सडकलाई फुटपाथरहित बनाउने भन्दै पोखराको विभिन्न स्थानका फुटपाथ व्यवसायीहरुलाई पोखरा ९ पृथ्वीचोकस्थित कृषि सामग्री लिमिटेडको जग्गामा व्यवस्थापन गर्यो । महानगरपालिकाले तत्कालिन समयमा २०६९/११/१०-१५ गते पोखरा महानगरपालिका ९ स्थित कृषि सामाग्री कम्पनीको स्वामित्वमा रहेको ७ रोपनी जग्गा र उक्त जग्गासँगै जोडिएको नगर विकास समिति पोखराको ३ रोपनीमा जग्गामा फुटपाथ व्यवसायीहरुलाई स्थानान्तरण गरेको थियो । फुटपाथ व्यवसायीहरुलाई कषि समाग्रीको जग्गामा व्यवसायको लागि स्थानान्तरण गर्दा उक्त जग्गा नन्द प्रसाद तिवारीले भाडामा लिएका थिए । २०६९ सालमा पनि कृषि सामग्री लिमिटेडले सरकारी नीतिमा नै रहेर तिवारीलाई जग्गा भाडामा दिएको कृषि सामग्री लिमिटेडका पोखरा प्रमुख विष्णु पोखरेलले बताए । ‘०६९ सालमा नन्द प्रसाद तिवारीले भाडामा लिँदा पनि सरकारी नीति अनुसार नै भाडामा लिएका हुन्, पोखरेलले भने, ‘कृषि सामग्रीले तिवारीसँगको सम्झौता सकिएपछि पुनः सरकारी नीति अनुसार टेण्डर आह्वान ग¥यौ, २२ जना मध्ये ३ जनाको प्रक्रिया अगाडि बढेको छ ।’ कृषि सामग्री लिमिटेडले चैत २१ गते न्यूनतम १२ लाख १५ हजार सिलबन्दी बोलपत्र आह्वान गरेको थियो । यता हङकङ बजारमा स्थापनाकालदेखि नै व्यापार गर्दै आएका व्यवसायीहरुले भने व्यवसायीहरुको हित विपरित गएर कम्पनीले टेण्डर आह्वान गरेको र ठेकेदार प्रथाको अन्त्य गर्ने भन्दै दुईमहिना यता निरन्तर आन्दोलन गर्दै आएका छन् । हङकङ बजारका व्यवसायी राजकुमार सुवेदीले स्थानीय सरकार, राजनीतिक दलहरु र प्रशासनले नै फुटपाथ व्यवसायीहरुलाई त्यहाँ स्थानान्तरण गरेकाले सबैले समन्वय गरेर समस्याको समाधान गर्न सर्वदलीय बैठक राख्न माग गरे । ‘कोरोनाले केही वर्ष व्यापार राम्रोसँग हुन सकेन, अहिले आर्थिक मन्दीको असर परिरहेको छ, यस्तो समयमा भाडा बढाउनु व्यापारीको हित विपरित छ, सुवेदीले भने, ‘हिजो फुटपाथमा व्यवसाय गर्दैगर्दा महानगर, प्रशासन र राजनीतिक दलहरुको सक्रियतामा नै कृषि सामग्रीको जग्गामा व्यवस्थापन गरेको थियो ।’ उनले सबैसँग सर्वदलीय बैठक आह्वान गरेको समस्याको समाधान खोज्न स्थानीय सरकार पोखरा महानगरपालिकालाई पटकपटक अनुरोध गर्दै आएका बताए । कृषि सामाग्री लिमिटेड कम्पनीले ठेकेदार र बिचौलियाहरुलाई फाइदा पुग्ने गरी टेण्डर आह्वान गरेको भन्दै टेण्डर प्रक्रिया खारेज गर्न माग गर्दै आएका छन् । पोखरा महानगरपालिकाका सूचना अधिकारी किरण प्रसाद तिवारीले भने अहिले व्यवसायीहरुले तिर्दै आएको भाडादर भन्दा बढी नभएको बताए । ‘कम्पनीको नियम अनुसार नै टेण्डर आह्वान भएको छ, अहिले व्यवसायीहरुले तिर्दै आएको भाडादर भन्दा बढी नै हो, तिवारले भने, ‘व्यवसायीहरु लिखित र मौखिक रुपमा नगरप्रमुख समक्ष आउनुभएको छ, हामीले यसमा समन्वय गर्न प्रधानमन्त्री कार्यालय र कृषि सामग्रीको कार्यालयमा पत्र काटेका छौं ।’ यो विषय केन्द्रिय सरकार मातहतमा रहेकाले हङकङ बजारको समस्याको समाधान केन्द्रिय सरकारले नै गर्नुपर्ने उनले धारणा राखे । ‘यो केन्द्र सरकारको मातहतमा रहेको जग्गा हो, व्यवसायीको अवस्था हेरेर हामीले संघ सरकारलाई सिफारिस पत्र लेखेका छौं यो समस्या केन्द्र सरकारले समस्या गर्नुपर्छ ।’ उनले भने । टेण्डर आह्वानको विरोध गर्दै हङकङ बजार व्यवस्थापन समितिले आज (शुक्रबार) ११ बजेदेखि हङकङ बजारदेखि विरोध र्याली गर्दै पोखरा पृथ्वीचोक, सभागृह हुदै पोखरा महानगरपालिकाको कार्यालय अगाडिसम्म नाराबाजी गरेका थिए ।
कैलाली: कैलालीको लम्की नगरपालिकाको चिसापानीमा रहेको कर्णाली नदीको पुलमा टिकटक बनाउनेहरूको भिडले दुर्घटनाको जोखिम बढेको छ । पुलमा सेल्फी खिच्नेदेखि टिकटक बनाउनेहरूको भिडका कारण दुर्घटनाको जोखिम बढेको हो । चिसापानीको सीमानासँगै जोडिएको बर्दिया राष्ट्रिय निकुञ्ज र कर्णाली पुलको अवलोकन गर्ने पर्यटकको सङ्ख्या बढ्नु सकारात्मक भए पनि बीच सडकमै टिकटक बनाउनेहरूका कारण जोखिम बढेको हो । चिसापानीलाई पश्चिम नेपालको एक प्रसिद्ध स्थलका रूपमा लिइन्छ । पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकहरू कर्णाली नदीको चिसो हावामा रमाउन पुग्दा स्थानीय बजारीकरणलाई फाइदा पुगेको भए पनि आवश्यक सतर्कता अपनाउन नसक्दा समस्या भएको हो । कर्णाली नदीको पुलमा जोखिमपूर्ण ढङ्गले टिकटक बनाई भाइरल बन्न चाहनेहरूको क्रियाकलापका कारण गाडी आउजाउमै समस्या पर्ने गरेको चालकहरू बताउँछन् । पर्यटक लिएर चिसापानी आएका चालक कृष बोहराले शनिवार पुलमा गाडी पास गर्नसमेत समस्या हुने गरी टिकटक बनाउनेहरूले भरिने बताएका छन् । ‘गाडी छेउमा राखेर राजमार्गको बीच सडकमा नै बसेर टिकटक बनाउने र सेल्फी खिच्ने गर्छन्' , उनी बताउँछन्। शनिवार र बिदाको दिन त यहाँ धेरै भिड हुन्छ । त्यस्तोमा गाडी पास हुनसमेत समस्या हुन्छ । कर्णाली नदी क्षेत्र र पुलमा चिसो हावा चल्ने भएकाले गर्मी छल्नका लागि पुग्ने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या दिनहुँ बढ्न थालेको छ । २०५० सालमा जापानी कम्पनीले निर्माण गरेको यो पुलको तत्कालीन प्रधानमन्त्री स्व। गिरिजाप्रसाद कोइरालाले उद्घाटन गर्नुभएको थियो । पुलको बीचमा रहेको ठूलो खम्बामा स्टिलका तारहरू बाँधेर अड्याइएको छ । तारलाई ट्रसमा आकर्षक ढङ्गले बाँधेर राखिएको छ । यो दृश्य हेर्नकै लागि पर्यटक पुलमा जाने गर्छन् । पुलको लम्बाइ ५ सय मिटर र १० मिटर चौडाइ रहेको छ । कर्णाली नदीमा र्याफ्टिङ गर्ने स्वदेशी तथा विदेशी पर्यटकको सङ्ख्यासमेत बढ्दो छ ।
काठमाडौं: नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपित पूर्वगृहमन्त्री बालकृष्ण खाणसहित आज (शुक्रबार) तीन जनाको बयान जिल्ला अदालत काठमाडौंमा सुरु भएको छ । बिहान ११ बजेदेखि पूर्वगृहमन्त्री खाण, भुटानी शरणार्थीका नेता टेकनाथ रिजाल तथा हरिभक्त महर्जनको बयान सुरु भएको जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी दीपक दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त प्रकरणमा मुछिएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वसांसद आङटावा शेर्पा र हज कमिटीका अध्यक्ष शमशेर मियाँको बिहीबार बयान सकिएको छ । आरोपितमध्ये बिहीबारसम्म १५ प्रतिवादीले बयान दिइसकेको सूचना अधिकारी दाहालले बताउनुभयो । उहाँले भन्नुभयो, “सो प्रकरणमा मुछिएकाहरूको बयान यही जेठ १२ गतेदेखि सुरु गरिएकोमा आज तीन जनाको बयान भइरहेको ।” नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपितमध्ये १८ जना पक्राउ परेका छन् भने १२ जना अझै फरार रहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
पोखरा: पोखरामा गण्डकी प्रदेशस्तरीइ तीन दिने खेल पत्रकारिता तालिम सम्पन्न भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले गत १७ देखि सुरु गरेको तालिम आज (शुक्रबार) सकिएको हो । सो अवसरमा बोल्दै प्रमुख अतिथिसमेत प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव श्रीधर शर्माले सत्य र तथ्यमा आधार रहेर समाचार संप्रेषण गर्नुपर्ने जोड दिए । उनले पत्रकारिता जिम्मेवार पेशा रहेको बताउदै नागरिकलाई भ्रम सिर्जना हुने खालको सूचना बाहिर ल्याउन नहुने धारणा राखेका थिए । यस्तै मुख्य प्रशिक्षक तथा नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदी (देवेन्द्र) तालिममा सिकेका सकरात्मक पक्षलाई व्यवहारमा उतार्नुपर्ने बताए । सुवेदीले फरक प्रसंगमा बोल्दै आयोजक संस्था र केन्द्रीय समिति नेपाल खेलकुद पत्रकार मञ्च बीचको सम्बन्ध छिटै जोडिने स्पष्ट पारे । तीन दिन सञ्चालन भएको खेल पत्रकारिता तालिममा टेनिस, भलिबल, क्रिकेट र फुटबलको विषयमा तालिम प्रदान गरिएको थियो । सो तालिममा गण्डकी प्रदेशको स्याङ्जा, तनहुँ, बागलुङ, पर्वत लगायतको जिल्लाका क्रियाशिल ८० पत्रकारको सहभागिता रहेको थियो ।
काठमाडौं: सर्वोच्च अदालतमा नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध रिट दर्ता भएको छ । बुधवार राष्ट्रपति रामचन्द्र पौडेलले गरेको नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध सर्वोच्चमा रिट दर्ता भएको हो । हिजो बिहीवार सर्वोच्चमा पेस भएको रिट आज शुक्रवार दर्ता भएको सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले जानकारी दिएका छन् । रिट निवेदनमाथिको प्रारम्भिक सुनुवाइ आइतवारका लागि तोकिएको छ । वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपाने र डा सुरेन्द्र भण्डारीले नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध रिट निवेदन दर्ता गराएका हुन।
लमजुङ कारागारको पर्खाल नाघेर फरार भएका दुईजना कैदीबन्दी पक्राउ परेका छन्। बिहीबार बिहान साढे १ बजेतिर बेँसीसहर नगरपालिका- ८ शेरास्थित कारागारको उत्तर–पश्चिमतर्फको कैदी कारागारको पर्खाल नाघेर दुईजना फरार भएका थिए। फरारमध्ये जबर्जस्ती करणी मुद्दाका मध्यनेपाल नगरपालिका- ४ का २७ वर्षीय विनोद विकलाई बिहीबार ९ घन्टाको अवधिमा प्रहरीले बेँसीसहर नगरपालिका– २ चिसापानीको जंगलबाट पक्राउ गरेको थियो । अर्का फरार रहेका गोरखा चुमनुब्री गापा– ३ का चन्द्रबहादुर गुरुङलाई बिहीबार राति साढे ११ बजे बेँसीसहर नगरपालिका– १ चिप्लेटीमा लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरिएको लमजुङका प्रहरी प्रमुख डिएसपी प्रकाश श्रीमलले बताए । गुरुङ ठगी मुद्दामाम पुर्पक्षका लागि कारागार चलान भएका थिए । क्षमताभन्दा तेब्बर कैदीबन्दी भएपछि जिल्ला कारागार लमजुङमा व्यवस्थापन चुनौतीपूर्ण बनेको छ । ३५ कैदीबन्दी राख्ने क्षमता रहेको कारागार भवनमा अहिले ८८ कैदीबन्दी छन् । कारागारमा कैदीबन्दीको संख्या बढेको मात्र छैन, कारागारका भवनसमेत जीर्ण बनेका छन् । त्यसमाथि ०७२ सालको भूकम्पले जीर्ण बनेको भवनमै अहिले पनि कैदीबन्दी राख्ने गरिएकाले जोखिम छ । कारागार प्रशासनले आधुनिक कारागार भवन निर्माणका लागि विभागमा पटक–पटक अनुरोध गरे पनि प्रक्रिया अगाडि बढेको छैन ।
काठमाडौं: प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)का कर्मचारीहरू सवार गाडी सुनकोशी नदीमा खस्दा तीन जना बेपत्ता भएका छन् । शुक्रबार बिहान सिटिइभिटीका कर्मचारी सवार बा १ झ ७४६७ नम्बरको जिप भक्तपुरबाट खोटाङतर्फ जाँदै गर्दा सिन्धुलीको गोलन्जोर गाउँपालिका वडा नम्बर ७ लौकुनको ओरालोमा दुर्घटना हुँदा नदीमा खसेको हो । उद्धारका लागि जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट टोली खटाइएको नेपाल प्रहरीका एसपी राजकुमार सिलवालले जानकारी दिए । जिपमा चार जना सवार रहेका र एक जना जीवितै सुनकोशी नदीबाट निस्कन सफल भए पनि बाँकी तीन जनाको अवस्था अज्ञात रहेको उनले बताए । बेपत्ता हुने कर्मचारीमा कृष्णबहादुर केसी, यमप्रसाद भुतेल र भानु पौडेल छन् । उनीहरु सबै अधिकृत स्तरको कर्मचारी रहेको प्रहरीको भनाइ छ । बेपत्ता सबै जनाको खोजीका लागि जिल्लाबाट प्रहरी टोली पठाइएको उनले बताए ।
काठमाडौं: भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड मध्यप्रदेशको इन्दोर पुगेका छन् । उनी नयाँदिल्लीबाट विशेष विमानमार्फत् इन्दोर पुगेका हुन् । इन्दोरमा उनलाई मध्यप्रदेशका मुख्यमन्त्री शिवराजसिंह चौहान लगायतका उच्च अधिकारीहरुले स्वागत गरेका थिए । प्रधानमन्त्री प्रचण्डको स्वागतमा सहभागीहरु नेपाल–भारतका झण्डासहित उपस्थित भएका थिए । साँस्कृतिक टोलीले परम्परागत पोशाकसहित नृत्य प्रस्तुत गरेका थिए । इन्दोरका सडक किनार, मुख्य चोक र विद्युतका पोलहरुमा प्रचण्डको स्वागतमा उनको तस्वीरसहित ब्यानर र बोर्डहरु राखिएका छन् । अहिले इन्दोरबाट प्रधानमन्त्री प्रचण्ड उज्जैनतर्फ प्रस्थान गरेका छन् । उनले इन्दोरमा रहेको फोहोर व्यवस्थापन प्लान्टको भ्रमण गर्ने कार्यक्रम छ । इन्दोरको फोहोर व्यवस्थापन नमूनायोग्य मानिन्छ । इन्दोर भारतको सबैभन्दा सफा र फोहोर व्यवस्थापनमा उत्कृष्ट सहरको रुपमा चिनिन्छ । बेलुका उनी मध्यप्रदेशका मुख्यमन्त्री शिवराजसिंह चौहानले आयोजना गर्ने रात्रिभोजमा सहभागी हुनेछन् । प्रधानमन्त्री प्रचण्डले इन्दोरमा भाजपाका नेताहरूसँग भेटघाट गर्ने सम्भावनासमेत छ । प्रधानमन्त्री प्रचण्डले शनिबार जेठ २० गते इन्दोरमा रहेको विशेष आर्थिक क्षेत्रको भ्रमण गर्ने कार्यक्रम छ । सोही दिन दिउँसो १ बजे प्रधानमन्त्री प्रचण्ड नयाँदिल्ली फर्किने र अपराह्न ४ः२० बजेको नेपाल एयरलाइन्सको उडानबाट काठमाडौं फर्किने छन् । भारतको चारदिने भ्रमणका लागि प्रधानमन्त्री प्रचण्ड नेतृत्वको प्रतिनिधि मण्डल जेठ १७ गते नयाँदिल्ली गएको थियो । प्रधानमन्त्री प्रचण्डले जेठ १९ गते प्रधानमन्त्री नरेन्द्र मोदी, राष्ट्रपति द्रौपदी मुर्मु लगायतसँग भेटवार्ता गरेका थिए । प्रधानमन्त्री मोदीसँगको भेटका क्रममा नेपाल र भारतबीच विभिन्न सात सहमतिमा हस्ताक्षर भएको थियो । ऊर्जा, पारवहन लगायतका क्षेत्रमा भएको सहमति ‘ऐतिहासिक’ भएको प्रधानमन्त्री प्रचण्डले बताएका छन् ।

