चितवन: मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजनाअन्तर्गत पश्चिम खण्डको मुग्लिन–मलेखु सडक खण्डको स्तरोन्नतिको काम थालिएको हो । ३९ किलोमिटर लामो सडक निर्माणको जिम्मा पाएको शर्मा जेडआईसीजी जेभीले सडक विस्तार र स्तरोन्नति गर्न थालेको नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड का प्रमुख किरण कार्कीले जानकारी दिनुभयो । पहिलो चरणमा पाँच किलोमिटरमा काम भइरहेको छ । चितवनतर्फ १७ किलोमिटर र धादिङतर्फ २२ किलोमिटर सडक स्तरोन्नति हुनेछ । सडक विस्तार र स्तरोन्नतिपछि न्यूनतम नौ मिटर कालोपत्र हुनेछ । बजार क्षेत्रमा भने चारदेखि छ लेनको सडक निर्माण हुने कार्कीले जानकारी दिनुभयो । बजार क्षेत्रमा फुटपाथ, डिभाइडर र बत्तीको पोलसमेत निर्माण गरिने छ । यो खण्डमा पुल निर्माणका लागि त्यही कम्पनीसँग सम्झौता भएको छ । काम पनि सँगै सुरु भइसकेको छ । मलेखुसम्म छ पुल निर्माण हुनेछन् । गोमती, चरौदी, खटौटी, हुग्दी, मौवा र बारबाङ खोलामा नयाँ पुल बन्नेछन् । खटौटीमा पुल निर्माण अघि बढेको छ । यो खण्डमा १० ठाउँमा आकाशे पुल निर्माण गरिनेछन् । आयोजनाको यो खण्ड चार अर्ब ८० करोड रुपैयाँको लागतमा विस्तार र स्तरोन्नति गर्न लागिएको हो । केही ठाउँमा रुख काट्न बाँकी छ । यो खण्डमा करिब तीन सय ५० रुख काटिने छन् । ुयो सडक खण्ड निर्माण गर्दा पहाड काट्नेभन्दा पनि नदी किनारमा पर्खाल उठाउने कुरालाई प्राथमिकता दिएका छौँु, उहाँले भन्नुभयो, ुपहाड काट्दा सधैँ पहिराले दुःख दिने सम्भावना हुन्छ ।ु सडक विस्तार र स्तरोन्नतिपछि कम्तीमा सडक २० वर्ष टिक्ने गरी डिजाइन भएको आयोजनाले जनाएको छ । काठमाण्डौ प्रवेश गर्ने र बाहिरिने मुख्य मार्ग भएका कारण पनि यसलाई निर्धारित समयमै सम्पन्न गर्नका लागि आयोजनाले तीव्रगतिमा काम अघि बढाएको छ । विश्व बैंकको आर्थिक सहयोगमा यो राजमार्ग विस्तारको काम थालिएको हो । यसका लागि सरकार र विश्व बैंकबीच सन् २०२० मा सम्झौता भएको थियो । नागढुङ्गा–नौबिसे खण्ड र नौबिसे–मलेखु खण्डमा पनि सडक विस्तारको काम भइरहेको छ ।
काठमाण्डौ: लगातार बढ्दै गएको सुनको भाउले दिनहुँ नयाँ रेकर्ड राख्न थालेको छ । अस्तिभन्दा हिजो र हिजो भन्दा आज भाउ बढेर सुन अहिलेसम्मकै महँगो भएको छ । सुन आज तोलाको एक लाख १३ हजार ३ सय रुपैयाँमा पुगेको छ । यो हिजोको भाउभन्दा तोलामा आठ सय रुपैयाँले धेरै हो । हिजो पनि तोलामा ५ सय रुपैयाँले बढेर एक लाख १२ हजार ५ सय रुपैयाँमा पुगेको थियो । अस्ति, तोलामा एक लाख १२ हजार रुपैयाँ पुगेको थियो । आज फेरि भाउले नयाँ रेकर्ड बनाएको हो । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका पूर्व अध्यक्ष तेजरत्न शाक्यका अनुसार सुनको भाउ अझै बढ्ने सम्भावना छ । उहाँका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढिरहेको र सुनको आयातमा लाग्ने भन्सार दर समेत सरकारले बढाएकाले भाउ अझै बढ्ने सम्भावना छ । गएको १५ गते सार्वजनिक भएको बजेटमा सरकारले सुनचाँदीको आयातमा लाग्ने भन्सार दर बढाएको थियो । बजेट अघि नेपालमा प्रतिकिलो सुनमा ८ लाख ५० हजार रुपैयाँ र प्रतिकिलो चाँदीमा ८ हजार ५ सय भन्सार लाग्दै आएको छ। यसैबीच, आज चाँदीको पनि भाउ बढेको छ । तोलामा २५ रुपैयाँले बढेर चाँदी आज एक हजार चार सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ ।
भारतको चारदिने औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज विशेष विमानमार्फत् मध्य प्रदेशकाे इन्दाेर प्रस्थान गर्नुभएको छ । प्रधानमन्त्री प्रचण्डले इन्दाेरमा रहेकाे महाकालेश्वर मन्दिरमा रहेको वास्तुकलाको अवलोकन गर्ने कार्यक्रम छ । भ्रमणका क्रममा उहाँले मध्य प्रदेशका राज्यपाल मङ्गुभाइ छगनभाइ पटेलसँग भेटवार्ता गर्ने कार्यक्रम छ । स्वच्छ भारत अभियानअन्तर्गत इन्दाेर म्युनिसिपल कर्पोरेशनले सम्पादन गरेको कामको बारेमा उहाँले जानकारी लिने कार्यसूची छ । फोहर व्यवस्थापनमा सकारात्मक परिणाम देखिएको इन्दाेरको असल र सफल अभ्यासको अवलोकनपछि प्रधानमन्त्री प्रचण्डको सम्मानमा मध्यप्रदेशका मुख्यमन्त्री शिवराजसिंह चौहानले रात्रिभोजको आयोजना गर्नुहुनेछ । शनिवार प्रधानमन्त्री प्रचण्ड नेतृत्वको प्रतिनिधिमण्डलले ‘टीसीएस इन्फोसिस’ विशेष आर्थिक क्षेत्रको भ्रमण गर्ने कार्यक्रम छ । बिहीवार हिजाे प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ताका अलावा दुई देशबीच महत्त्वपूर्ण विषयमा सहमति तथा समझदारी भएको थियो । प्रधानमन्त्री प्रचण्ड शनिवार भाेलि स्वदेश फर्कने कार्यक्रम छ । रासस
गलकोट: बागलुङको पुरानो सदरमुकाम रहेको गलकोटको हरिचौर बजारमा तत्कालीन मल्ल राजाले राज्य गरेको गलकोट दरबार पर्यटकीय हब बनेको छ । हरिचौरको मुख्य आकर्षक भनेको गलकोट राज्य सञ्चालन भएको गलकोट दरबार नै हो । पुरानो सदरमुकाम, गलकोट दरबार र अहिलेमात्रै पर्यटकीय गन्तव्यका रूपमा थपिएको टेउवाको खुला मूर्तिकला सङ्ग्रहालयका कारण अहिले हरिचौर चर्चामा रहेको छ । हरिचौर बजारको इतिहास बोकेको मल्ल राजाले राज्य गरेको गलकोट दरबार पर्यटक बोलाउने प्रमुख माध्यम बनेको छ । अहिले गलकोट दरबारमा आउने पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ । दरबार अवलोकन गर्ने पर्यटकको सङ्ख्यामा वृद्धि भएसँगै दरबार संरक्षण गर्न थालिएको तत्कालीन राजा भरत बम मल्लका नाति मञ्जेशबम मल्लले बताउनुभयो । जीर्ण बन्दै गएको बागलुङको गलकोट दरबारका यस वर्ष पाँच झ्याल पुरानै शैलीमा फेरिएको मल्लको भनाइ छ । दरबारको वरपर फैलिएको बगैँचामा अहिले सुन्तलाका बोटसमेत हुर्किरहेका छन् । “दरबार एक सय दुई वर्ष पुरानो हो, यहाँ सिमेन्टको प्रयोग गरिएको छैन, नितान्त स्थानीय कच्चा सामग्रीको प्रयोग गरेर बनाइएको छ, बगैँचालाई व्यवस्थित गराउन सुन्तलासमेत रोपिएको छ”, मल्लले भन्नुभयो, “दरबार संरक्षण गर्नका लागि यहाँ सिसौको काठ खोजिरहेको छु, पुरानै शैलीमा झ्याल तथा ढोका फेर्न आवश्यक छ, अहिले पाँचवटा मात्रै झ्याल फेर्न सके पुरानै शैलीमा निर्माण गर्दा झ्याल तथा ढोका निकै खर्चिलो रहेछ ।” मल्लका अनुसार दरबार हेर्न आउनेहरूले इतिहासको विषयमा खोजी गर्ने भएकाले दरबारको विषय समेटिएको सूचना पार्टी राख्ने, पुरानो पोखरी पुनः निर्माण गर्ने र दरबार क्षेत्रमा भएको फलफूलको बोटलाई व्यवस्थित गराने योजना रहेको सुनाउनुभयो । बिदाको समयमा दरबार घुम्न आउने पर्यटकको सङ्ख्या सबैभन्दा बढी भएको उहाँको भनाइ छ । हजुरबाले राज्य गरेको स्थानलाई पर्यटकीय केन्द्र बनाउने गरी आफूले माछापोखरी बनाएर विभिन्न प्रजातिका माछासमेत पालेको बताउनुभयो । “दरबार नजिकै माछापोखरी थियो रे, त्यसैले अहिले बाबुबाजेको सम्झनाका लागि माछापोखरी बनाएको हुँ, यहाँ रङ्गिन माछा छन्, जुन खानका लागि भन्दा पर्यटक आकर्षित गर्नका लागि हो”, मल्लले भन्नुभयो, “दरबारको रेखदेख गर्ने जिम्मा मेरै काँधमा छ, मैले दरबारलाई पुरानै अवस्थामा राख्न व्यक्तिगत खर्चमा काम गरिरहेको छु, दरबार पुनः निर्माणका लागि काठको खोजीसमेत भइरहेको छ ।” उक्त गलकोट दरबार र जग्गा मल्लकी आमा सरोजा मल्लको नाममा छ । वि।सं। २०३९ मा राजा भरत बमको निधन भएको थियो । राजा मल्लको निधनपछि दरबार संरक्षणको जिम्मा छोरा माधव बम मल्लको काँधमा आएको थियो । परिवारसहित दरबारमा बस्दै आएका मल्लको सशस्त्र द्वन्द्वका समयमा २०५९ वैशाखमा हत्या भएको थियो । त्यसपछि मल्ल परिवार त्यहाँबाट विस्थापित बनेर काठमाडौँ गए पनि संरक्षणका लागि राजाका नाति मञ्जेश बम मल्ल समय–समयमा दरबारमा आएर बस्ने गरेका थिए । कुनै बेला राजाले राज गरेको यो ठाउँ अहिले पर्यटकको आकर्षणको केन्द्र बन्दै गएकाले उक्त दरबार अध्ययन गर्ने थलोका रूपमा समेत विकसित भइरहेको छ । वि।सं। १९७९ मा ढुङ्गा, माटो, इँटा र काठ प्रयोग गरेर कलात्मक शैलीमा बनेको यो दरबार हेर्न, फोटो खिच्न र टिकटक बनाउनका लागि बागलुङ बजार, चितवन, काठमाडौँ र नेपालका विभिन्न क्षेत्रबाट घुम्न आउने गरेका छन् । तस्बिरमा देखिएको गलकोट दरबार प्रत्यक्ष अवलोकन गर्दा निकै फरक अनुभूति भएको बागलुङ बजारबाट गलकोट दरबार हेर्न पहिलोपटक पुगेका दिलीप प्रतेलले जानकारी दिनुभयो । “पछिल्लो समय टिकटक र सामाजिक सञ्जालमा देखिएको गलकोट दरबार प्रत्यक्ष अवलोकन गर्ने अवसर मिल्यो, भूगोल दरबार तथा बगैँचा देख्दा राजा बस्ने ठाउँजस्तै छ”, प्रतेलले भन्नुभयो, “यसको पुनः निर्माण गर्न आवश्यक देखेँ, केही कामको थालनी भएको रहेछ, दरबार संरक्षण र प्रचार गर्न सके धेरै पर्यटक बोलाउन सकिने सम्भावना रहेछ ।” दरबारको पर्खाल, पोखरी, बगैँचा, धन्सार, शीतलपाटी, मन्दिर हुँदै दरबार घुम्दा आनन्दित भएको उहाँको भनाइ छ । बाबुको हत्यापछि विस्थापित परिवार नफर्कँदा दरबारको विभिन्न संरचना लथालिङ्ग भए पनि पछि नाति मन्जेशबम मल्ल आएर दरबारलाई संरक्षण गर्न थाल्नुभएको हो । वि।सं। २०१७ सम्म राज्य सञ्चालन गरिरहेको गलकोट राज्य सञ्चालनसमेत भएको स्थानमा पछि बागलुङको जिल्ला सदरमुकाम रहेको थियो । विसं २०१९ मा बागलुङ जिल्लाको सदरमुकाम हरिचौर बजारबाट बागलुङ बजार सारिएको हो । पर्यटकीयस्थल घुम्टेपहाडको काँधमा रहेको गलकोट दरबार, हरिचौर बजार, गाईघाट झरना र गलकोटकै सहस्राधारा झरनाले गलकोटमा पर्यटकलाई आकर्षित गरिरहेको गलकोट नगरपालिकाका प्रवक्ता हेमन्त भण्डारी जानकारी दिनुभयो ।
काठमाडौं: आज दरबार हत्याकाण्ड भएको २२ वर्ष पूरा भएको छ । २०५८ साल जेठ १९ गते दरबारभित्र भएको गोलीकाण्डमा तत्कालीन राजा वीरेन्द्र शाहको वंश नै नाश हुनेगरी राजपरिवारका सबै सदस्यको एकै ठाउँमा हत्या भएको थियो । हत्याकाण्डमा तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, अधिराजकुमार निराजन, राजकुमारी श्रुतीसहितको निधन भएको थियो । घटनापछि तत्कालीन सरकारद्वारा गठित समितिले छानबिनपछि तयार पारेको प्रतिवेदनले घटना तत्कालीन युवराज दीपेन्द्रबाटै भएको ठहर गरे पनि यसलाई धेरैले विश्वास गरेका छैनन् । २२ वर्ष बित्दासम्म पनि हत्याकाण्डको तथ्य अझै बाहिर आउन सकेको छैन । हत्याकाण्ड भएको नारायणहिटी दरबारलाई अहिले सङ्ग्रहालय बनाइएको छ ।
पोखरा: कास्कीको अन्नपूर्ण गाउँपालिका १०-११ घान्द्रुकमा अन्नपूर्ण आरोहण दिवसको अवसरमा आयोजित तेस्रो अन्नपूर्ण म्याराथन तथा सेन्चुरी पर्यटन महोत्सवमा गाउँस्तरीय पुरुष भलिबल र खुल्ला बास्केटबल प्रतियोगिता सञ्चालन भइरहेको छ । गाउँस्तरीय पुरुष भलिबल प्रतियोगितामा घान्द्रुक रातो र उरी बीच भएको खेलमा उरी विजयी भएको छ । उरीले घान्द्रुक रातोलाई २५–२० र २५–२२ ले पराजित गरेको छ । दोस्रो खेलमा किम्चे रातोले किम्चे निलोलाई सोझो सेटमा पराजित गरेको । किम्चे रातोले किम्चे निलोलाई २५–१८ र २५–२३ ले पराजित गरेको हो । तेस्रो खेलमा क्ल्युले घान्द्रुक निलोलाई सोझो सेटमा नै पराजित गरेको छ । क्ल्युले पहिलो सेट २५– र २५–१६ मा घान्द्रुक निलोलाई पराजित गरेको हो । चौथो खेलमा बाबियोडाँडाले भुका गाउँलाई सोझो सेटमा पराजित गरेको छ । बाबियोडाँडाले भुका गाउँलाई २५–२२ र २५–२२ ले पराजित गरेको हो । पाँचौ खेलमा ठाँटीले उरीलाई सोझो सेटमा नै पराजित गरेको छ । ठाँटीले उरालाई २५–१६ र २५–२१ ले पराजित गरेको हो । खुल्ला गाउँस्तरीय पुरुष भलिबल प्रतियोगितामा १३ समूहको सहभागिता रहेको प्रतियोगिताको विजेताले ८० हजार र उपविजेताले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन् । बास्केटबलतर्फ क्वाटरफाइलनको खेल जारी अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सवमा आयोजित खुल्ला बास्केटबल प्रतियोगिता क्वाटरफाइनलको खेल सुरु भएको छ । पहिलो क्वाटरफाइनल खेलमा स्याउलीबजारले भेन्ट्रास घान्द्रुकलाई पराजित गर्दै सेमिफाइलनमा प्रवेश गरेको छ । स्याउली बजारले ४६–२२ को अङ्कमा भेन्ट्रास घान्द्रुकलाई पराजित गर्दै सेमिफाइलनमा स्थान पक्का बनाएको हो । दोस्रो क्वाटरफाइनल खेलमा मार्दी खोला (सुन्तला)ले घान्द्रुक रातोलाई पराजित गर्दै सेमिफाइलनमा प्रवेश गरेको छ । मार्दी खोलाले घान्द्रुक रातोलाई ५५–३० अङ्कले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । बास्केटबल प्रतियोगिताको क्वाटरफाइनलको तेस्रो खेल चितवन र सेन्चुरी युवा क्लब र चौथो क्वाटरफाइनल खेल घान्द्रुक सेतो र मार्दी खोला निलोबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । ११ समूहको सहभागिता रहेको बास्केटबल प्रतियोगिताको विजेताले ८० हजार र उपविजेताले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ । महोत्सव अवधिभर पर्यटकहरुलाई घान्द्रुकमा २० प्रतिशत छुट दिएको छ भने भलिबल र बास्केटबलतर्फ ८ सय रुपैयाँको प्याकेजमा खाने बस्ने व्यवस्था गरेको आयोजकले जनाएको छ । सन् १९५० जुन ३ तारिखमा फ्रान्सेली मौसिर हर्जोगको टोलीले अन्नपूर्ण हिमालको चुचुरोमा पाइला टेकेको दिनलाई अन्नपूर्ण आरोहण दिवसको अवसरमा अन्नपूर्ण सेन्चुरी पर्यटन समितिले म्याराथनको समेत आयोजना गर्दै आएको छ । दुईवर्ष कोरोना भाइरसका कारण रोकिएको म्याराथन तेस्रो संस्करणको म्याराथन महोत्सवको अन्तिम दिन जेठ २० गते सञ्चालन हुने आयोजकले जनाएको छ । जेठ २० गते म्याराथन प्रतियोगितामा सञ्चालन हुनेछ । म्याराथन पुरुषतर्फ प्रथम हुने धावकले १ लाख ५० हजार, दोस्रो हुनेले १ लाख र तेस्रो हुनेले ७५ हजार पुरस्कार पाउनेछन् । यस्तै महिलातर्फ प्रथम हुने धावकले ७५ हजार, दोस्रो हुनेले ५० हजार र तेस्रो हुनेले २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । म्याराथन जेठ २० गते अन्नपूर्ण हिमालको आधार शिविरबाट सुरु भएर म्याराथन माछापुच्छ«े आधार शिविर, बगर, देउराली, किम्रोङखोला, उरी हुँदै घान्द्रुकमा आएर सम्पन्न हुनेछ ।
पोखरा: फेवातालको सिमसार क्षेत्र पुर्ने काम तत्कालका लागि रोक्न उच्च अदालत पोखराले अन्तरिम आदेश जारी गरेको छ। अधिवक्ता मनोज घर्ती मगरले दायर गरेको रिटमा उच्च अदालतका कायममुकायम मुख्य न्यायाधीश डिल्लीराम आचार्यको एकल इजलासले विभिन्न पाँचबुँदे अन्तरिम आदेश जारी गरेको हो। रिटमाथिको प्रारम्भिक सुनुवाइमा रिट निवेदक अधिवक्ता मगर, वरिष्ठ अधिवक्ता सुरेन्द्र थापा मगर, अधिवक्ता मिलन आले, अधिवक्ता रच्चु आलेले बहस गरेका थिए। उच्चले रिट निवेदनको अन्तिम टुंगो नलागुन्जेलसम्म टिपरबाट माटो बोकेर फेवातालको सिमसार र रामसार पुर्ने काम रोक्न अन्तरिम आदेश दिएको हो। “पोखरा महानगरपालिकाद्वारा देवेन्द्र केसीका नाउँमा मिति २०७९/११/२ मा कृषि प्रयोजनका लागि डोजर चलाउन च.नं। ५१२८ को पत्रद्वारा दिएको २ दिनको अख्तियारीको अवधि तत्काल नै समाप्त भइसकेको र सो अख्तियारी (स्वीकृत)का आधारमा डोजर चलाउने कार्यलाई निरन्तरता दिनु कानून विपरीत हुने हुँदा प्रस्तुत आदेशको प्रतिलिपि प्राप्त हुँदासाथ पुण्यप्रसाद पौडेलको संयोजकत्वमा गठित समितिले मिति २०७७/११/१८ मा दिएको प्रतिवेदनमा उल्लेखित फेवातालको चार किल्ला (सिमाना) भित्र कुनै प्रकारको व्यक्तिगत वा संस्थागत निर्माण कार्य गर्न नदिनु र कुनै पनि प्रकारले डोजर चलाउने कार्य हुन नदिई हाल जे जस्तो अवस्थामा छ सोही अवस्थामा कायम राख्नु,” आदेशमा भनिएको छ, “उल्लिखित क्षेत्रलाई तत्कालका लागि निर्माण निषेध क्षेत्र घोषणा गरी सो क्षेत्रमा अनधिकृत रूपमा प्रवेश गर्ने डोजर टिपरलाई नियन्त्रणमा लिई सम्बन्धित चालकहरूको सम्बन्धमा समेत प्रचलित कानून बमोजिम कारबाही गर्नु गराउनु भनी विपक्षी मध्येको पोखरा महानगरपालिकामा लेखी पठाउनु।” उच्चले जारी गरेको आदेशमा सिमसार क्षेत्र पुर्ने काम तत्काल रोक्नका लागि प्रहरी निरीक्षकको नेतृत्वमा आवश्यक सुरक्षा व्यवस्था मिलाउन भनिएको छ। साथै, प्रदेश वातावरण ऐन २०७६ को दफा ५ बमोजिम वातावरण संरक्षण तथा जलवायु प्रदूषण परिवर्तन परिषद् गठन गर्ने र सो परिषद्लाई प्रभावकारी बनाउन लिखित जवाफ पेश गर्नुअघि नै सोको प्रतिलिपि देखाउन मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई आदेश दिइएको छ। गण्डकी प्रदेश सरकार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयलाई तालको अवस्थाबारे जाँच गर्न समिति गठन गर्ने आदेश दिएको छ। त्यस्तै, विपक्षीका नाममा कारण देखाऊ आदेशसमेत जारी गरेको छ। साथै आदेशमा अग्राधिकार पाउने गरी पेशी व्यवस्थापन गर्न समेत भनिएको छ। रिटमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, मुख्यमन्त्री सुरेन्द्र पाण्डे, गण्डकी प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय पोखरा र मन्त्री दीपेन्द्रबहादुर थापा, ताल संरक्षण तथा विकास प्राधिकरण प्रमुख कल्पना देवकोटा, पोखरा महानगरपालिकाको कार्यालय र नगरप्रमुख धनराज आचार्यसमेतलाई विपक्षी बनाइएको छ। रिट निवेदक अधिवक्ता मगरले रिटमा फेवातालको सिसमार क्षेत्र प्रदेश सरकार र सरकारका निकाय तथा पोखरा महानगरपालिकाले संरक्षण नगर्दा अहिलेको अवस्था आएको जिकिर गरेका छन्। वातावरणमा प्रतिकूल असर पर्ने, प्रदूषण बढ्ने, वर्षादीको कमी हुँदा राज्यले विश्वसमुदायसँग गरेको प्रतिबद्धता पूरा नहुने, वातावरणीय सन्तुलनमा समेत असर पर्ने भएकोले अन्तर्राष्ट्रिय रूपमा सूचिकृत सिमसार क्षेत्र फेवातालको अहित हुने र वातावरण एवं जैविक विविधतामा असर पार्ने काम भइरको रिटमा उल्लेख छ। उकालो
पोखरा: पोखरामा पार्किङ गरेर राखेको मोटरसाईकल चोरी गरेको आरोपमा तीन जनालाई कास्की प्रहरीले प्रकाउ गरेको छ । पोखरा महानगरपालिका ३३ को बागमारा–कालिका भित्री सडकमा चोरीको सुपर स्पिलिण्डर मोटरसाईकल चलाइरहेको अवस्थामा ग १ प ७४२५, ग ९ प २६३० र ग १६प १००६नम्बरको मोटरसाईलकसहित तीनजनालाई कास्की प्रहरीले प्रकाउ गरेको हो । प्रकाउ परेका तीनजनालाई चोरी तथा डाँका सम्बन्धी मुद्धामा जिल्ला अदालत कास्कीबाट ५ दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
पाखेरा: पोखराको ‘शुन्दरफिड–अमरदीप’सडकखण्डको निर्माण गर्न जिम्मा पाएको ठेकेदार कम्पनी काममा फर्किएको छ । सम्झौता मिति सकिएको १ वर्षपछि ठेक्का पाएको शिवशक्ति इन्फ्रा हेटौडाले आज (बुधबार) देखि काम पुन: सुरु गरेको हो । पोखरा महानगरपालिका अन्तरगत ६ वटा सडक मर्मत तथा निर्माण गर्ने जिम्मा लिएको शिवशक्ति इन्फ्रा हेटौडाको सम्झौता एकवर्ष अगाडि नै सकिएको थियो । यद्यपी सडक डिभिजनले सम्भौता भने रद्द गरेको थिएन । सडक डिभिजन कार्यालय पोखराका इन्जिनियर सुभद्रा महर्जनका अनुसार शिवशक्तिले पोखराको दीप–लामाचौर, अमरसिँह चोक– न्यूएयरपोर्ट, विरेन्द्रचोक–पेन्सन क्याप, नदिपुर–भैरवटोल, महेन्द्रपुल–पृथ्वीचोक, पालिखे चोक–पोखरा महानगरपालिका ४ वडा कार्यालय जोड्ने सडक कालपत्रे (ओभर ले) गर्र्ने जिम्मा लिएको थियो । शिवशत्तिले ०७८ असार १३ गते टेण्डरमार्फत पोखराको विभिन्न स्थानमा कालोपत्रे गर्ने योजनासहित ७ करोड ४० लाख ८९ हजार ९ रुपैयाँ ४२ पैसामा ठेक्कासम्झौता पाएपनि काम अलपत्र छाडेको थियो । निर्माण सम्झौता अनुसार कम्पनीले ०७९ असार १५ भित्र नै उक्त सडक खण्ड निर्माण गर्नुपर्ने थियो यद्यपी विभिन्न कारण देखाएर कम्पनीले चालु आर्थिक वर्षको अन्तिम समयमा ‘शुन्दरफिड–अमरदीप’ सडकखण्ड पिच गर्ने काम सुरु गरेको छ । निर्माण कम्पनीका पोखरा प्रतिनिधि सागर पन्तले ‘शुन्दरफिड–अमरदीप’ सडकखण्डको करिब ३ सय मिटर एक हप्तामै अस्फाल्ट पिच गरिसक्ने बताए । ‘आजबाट काम सुरु भएको छ । बेसहरु बिछ्याउने काम भइरहेको छ । मौसमले साथ दियो भने एक हप्तामै सकिन्छ,’ उनले भने । यता समयमै काम सम्पन्न नगरेको भन्दै सडक डिभिजन कार्यालय कास्कीले पेश्कीस्वरुप दिएको दुई किस्ताको ६५ लाख १२ हजार रुपैयाँसमेत फिर्ता लिएको थियो ।

