काठमाडौं: बुढानिलकण्ठ नगरपालिका–९ स्थित श्री एकता बुद्ध बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आर्थिक हिनामिना गरेको आरोपमा ६ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा बुढानिलकण्ठ नगरपालिका–९ बस्ने ७२ वर्षीय भानु कुमार शर्मा, ६७ वर्षीय प्रमोद कुमार न्यौपाने, ५० वर्षीय सोमलाल श्रेष्ठ, ५२ वर्षीय वीर बहादुर तामाङ, सोही नगरपालिका–८ बस्ने ३४ वर्षीय शम्भु कार्की र सोही नगरपालिका–९ बस्ने गोरखा पालुङटार नगरपालिका–७ घर भएका ५८ वर्षीय राम कुमार श्रेष्ठ रहेका छन् । पक्राउ परेका उनीहरुले ८ करोड १८ लाख ८९ हजार ७ सय ९५ रूपैयाँ हिनामिना गरेको उजुरीको आधारमा केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुमाथि जिल्ला अदालत काठमाडौंबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
पोखराः ०७२ भदौ ७ गतेको टीकापुर घटनाका योजनाकार मानिएका रेशम चौधरीलाई तीनै तहका अदालतले जन्मकैद सुनाएपनि हालैको आममाफीबाट उनी रिहा भएका छन् । रेशम जेलबाट छुटेपनि सोही घटनाका अर्का एक आरोपी पोखराको जेल (बाल सुधार गृह)मा सजाय काटिरहेका छन् । घटनाताका १५ वर्ष उमेरका सकलकुमार चौधरीलाई १७ दिनपछि पक्राउ गरी अदालत पेश गरिएको थियो । सकल नाबालक रहेको भन्दै उनलाई पोखराको बाल सुधार गृह पठाइएको हो । रेशम जेलबाट छुटेपछि सकलको अवस्था बुझ्न सुधार गृह पुग्दा उनी अध्ययनमा व्यस्त थिए । ‘अहिले स्नातकतह दोस्रो वर्षमा अध्ययनरत छु’ सकलले भने ‘यहाँ आएपछि पनि पढाईलाई निरन्तरता दिएको छु ।’ रेशमले आममाफी पाएर छुटेको खबर सुनाएपछि सकलले भने ‘उनी (रेशम) छुटेको मैलेपनि थाहा पाए, म यतै सजाय भोग्दैछु ।’ सुधार गृहका इन्चार्ज अजय थापा क्षेत्रीसँग अनुमति लिएपछि सकलले ८ वर्षअघिको घटनालाई संक्षेपमा सुनाए । ‘म १५ वर्षको थिए, साथीले त्यसदिन टीकापुर जाउँ, हेरौ भनेपछि त्यतै लाग्यौ ।’ उनका अनुसार थरुहट आन्दोलन र रेशम चौधरीबारे केही जानकारी थिएन । ‘मैले रेडियोमा रेशम चौधरी भन्ने नाम सुनेकोमात्रै थिए’ सकल भन्छन् ‘त्यहाँ हो–हल्ला हुन थालेपछि डराउँदै हामी फर्केर आयौं ।’ सकल र साथी त फर्किए तर १५ गते ‘प्रहरी मारेको’ भन्दै सकललाई खोज्न गाउँमा प्रहरी पुगिसकेको थियो । प्रहरीले गाउँ घेरेर धरपकड गर्न थालेपछि सकल भागेर भाउजुको घर लुकेर बसे । परिवार र पुरै गाउँलेलाई प्रहरीले सताउन थालेपछि सकलले २५ गते सरेन्डर गरेका रहेछन् । त्यसपछि सुरुभयो उनीमाथि एकोहोरो यातना । ‘मैले प्रहरीको सक्कली अनुहार त्यसपछि थाहा पाए’ सकलले प्रहरी कार्यालयमा बिताएको विगत सम्झँदै भन्छन् ‘डिएसपीको कमाण्डमा ४ प्रहरीले दिएको यातना झेल्न नसकेपछि उनीहरुले तयार पारेको बयानमा सही गर्न बाध्य भए ।’ प्रहरीले उनलाई पक्राउ गरेपछि यातना दिँदै आफुले तयार पारेको बयानमा सही नगरे बुवा आमालाई पक्रेर ठिक पार्ने चेतावनी बाराम्बार दिएपछि सकल गलेछन् । त्यसपछि प्रहरीले भिडियो खिचेर त्यही बोल्न लगाएछन् जुन प्रहरीले पहिल्यै लेखेका थिए । ‘बयानमा के लेखेको थियो, याद छ ?’ सकलको जवाफ छ ‘टीकापुर हत्याकाण्डको नाइके रेशम चौधरी हो । र, मैलेपनि ७ प्रहरीलाई लखेटी–लखेटी मारेको हो ।’ पछि सरकारी वकिलको कार्यालय र अदालतमा पनि सोही बयान घोकेर भन्न बाध्य पारिएको उनले सुनाए । ‘म ९ कक्षामा पढ्दै गरेको १५ वर्षको ठिटोले ७ जना प्रहरीलाई लखेट्दै मारेको भनेर अदालत, राज्यले पत्यायो, तर वास्तविकता बुझ्नेतिर कोही लागेन’ उनी दुखी देखिए । उनले आफुलाई त्यसबेला खास के भइरहेको छ र किन टीकापुरमा मान्छेको सागर ओइरियो भन्ने कुनै जानकारी नभएको सुनाए । ‘मलाई फसाइयो’ सकल भन्छन् ‘रेशमलाई मैले पोलेको हो तर प्रहरीले किन जबर्जस्ती उसको नाम लिन लगायो जवाफ खोजिरहेको छु ।’ प्रतिकुल परिस्थितिमा पनि अध्ययनलाई निरन्तरता दिइरहेका सकल स्नातकतहमा अंग्रेजी मुख्य विषय लिएर पढिरहेका छन् । तर किताब पन्छाउँदै उनले बाराम्बार सोधेको प्रश्न हो, ‘एउटै घटनामा दोषि रेशम चौधरी छुटे, म कहिल्यै छुट्छु ?’ सकलको प्रश्नको जवाफ खोज्न सुधार गृहका कानूनी सल्लाहकार एवं अधिवक्ता विशेश्वर ढकालसँग सम्पर्क गर्दा उनले टीकापुर घटनामा सकलको संलग्नता नभएको भन्दै छुटाउन पहल गरिरहेको बताए । ‘सकलकुमारको मुद्दा राजनीतिक हो, रिसइबीकाकारण उनलाई फसाइएको छ’ अधिवक्ता ढकालले भनेका छन् ‘कानूनी प्रक्रिया जारी छ, सर्वाेच्च जाँदैछौं, असोजसम्म उनी छुट्नेछन् ।’ रेशम छुटेपनि सकललाई भेट्न कोहीपनि पुगेका छैनन् । उनका अनुसार कसैले भेट्न आवश्यक पनि छैन । सकलकै शब्दमाः उनले राजनीति १५ वर्षे उमेरमा बुझेका थिएनन् र आजपनि खासै चासो छैन । ‘म निर्दोष हुँ, मलाई फसाइयो’ उनको भनाईको सार यही हो । आफ्नो थातथलोबाट कोसौ टाढा रहेको चारघेराबाट भदौ ७ लाई सम्झँदै उनले थुप्रै ‘रहस्य’ सुनाउन बाँकी रहेको बताएका छन् । टाढा भएकै कारण परिवार र आफन्त सँधै भेट्न आउन नसक्ने उनैले सुनाए । पीडाबीच पनि मुस्कुराउँदै सकलले दायाँ नाडीमा खोपेको ट्याटु देखाउँदै भने ‘मेरो बुवा आमा म सँगै हुनुहुन्छ ।’ उनी अध्ययनशील र आचरण पनि राम्रो भएकाले सुधार गृहमा सह–नाइके भएका रहेछन् । कुराकानीलाई बिट मारेपछि आत्मविश्वासी सकलले हात मिलाउँदे भने ‘म छुट्ने बेला फोन गर्छु, आउनोस् है ।’ कैलालीको टीकापुरमा भएको थरुहट आन्दोलनका दौरान नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित ७ सुरक्षाकर्मी र २ वर्षका बालक टेकेन्द्र साउदको पनि मृत्यु भएको थियो उक्त घटनाका अन्य ३ जना कैलाली कारागारमा सजाय काटिरहेका छन् । (दोषीको आग्रहमा नाम परिवर्तन गरिएको छ ।)
काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सीमा समस्यालाई वार्ता र संवादबाट टुङ्ग्याउने बताएका छन् । हैदराबाद हाउसमा भएको संयुुक्त पत्रकार सम्मेलनमा दुवै प्रधानमन्त्रीले सीमा समस्यालाई वार्ता र संवादका माध्यमबाट समाधान गर्ने बताएका हुन् । ‘नेपाल र भारतको सम्बन्धलाई हिमालयको जत्तिकै उचाइ दिने काम गरिरहेका छौँ, हामीबीच भएका बाउन्ड्रीका विषय समाधान गर्नेछौँ ’ मोदीले भन्नुभयो । यस्तै, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भन्नुभयो, ‘प्रधानमन्त्री मोदी र मैले सीमाका विषयमा कुराकानी गर्यौँ, मैले द्विपक्षीय कुटनीतिक माध्यमबाट समस्याका विषयहरुको नतिजा निस्कने गरी काम गर्न आग्रह गरेको छु ।’
काठमाडौं: चिनियाँको नागरिकको ३ लाख नेपाली रुपैयाँ चोरी गरेको अभियोगमा प्रहरीले भारतिय नागरिकलाई प्रकाउ गरेको छ । काठमाडौं महानगरपालिका-२६ लैनचौरस्थित वाल्डो क्यासिनोमा चिनियाँ नागरिकको नगद ३ लाख नेपाली रुपैयाँ चोरी गरेको अभियोगमा भारत पटना घर भएका २८ वर्षीय सरिव खानलाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो । चोरी भएको खबरपछि प्रहरी वृत्त दरबारमार्गबाट खटिएको प्रहरीले सिसिटिभि लगायतका प्रविधिको सहयोगमा अनुसन्धान गर्ने क्रममा उक्त नगद चोरीमा खानको संलग्नता खुल्न आएपछि दरबारमार्गस्थित प्यालेस क्यासिनोमा जुवा खेलिरहेको अवस्थामा खानलाई प्रकाउ गरेको हो । प्रकाउ परेका खानमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
हेटौंडा: मकवानपुरमा एक महिलाले दुई छोरासहित आफूले पनि विष सेवन गरेर आत्महत्या प्रयास गरेकी छन् । विषका कारण एक नाबालकको ज्यान गएको छ । हेटौंडा उपमहानगरपालिका-१५ जाँतेकी ३६ वर्षीया सोनी पाख्रिनले बुधबार साँझ करिब ६ बजे ७ वर्षीय छोरा अस्किन र १८ महिने छोरा जेनिस वाइबालाई विष खुवाएर आफूले पनि विष सेवन गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार पाख्रिनले प्यारा क्वाइट डाइक्लोराइड नामक झार मार्ने विषादी आफूसहित बच्चालाई खुवाएको खुलेको छ । विष सेवन गरेकी उनीसहित बालकहरूलाई उपचारका लागि बुधबार नै हेटौडा अस्पताल पुर्याइएको थियो । त्यहाँबाट उनीहरूलाई राति साढे ८ बजे चितवनको भरतपुर रिफर गरिएको थियो । गम्भीर रहेका नाबालक छोरा जेनिसको बिहीबार बिहान ७ः५० मा उपचारका क्रममा चितवन मेडिकल कलेज (सीएमसी)मा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका एसपी वामदेव गौतमले जानकारी दिए । एसपी गौतमका अनुसार आमा र अर्का छोरा अस्किनको अवस्था पनि गम्भीर छ । उनीहरू दुवै जनाको आईसीयू कक्षमा उपचार भइरहेको छ । प्रारम्भिक घटना विवरण अनुसार आमाले नै बच्चालाई विषादी खुवाएर आफूले पनि खाएको पाइएको एसपी गौतमको भनाइ छ । तर, यो अवस्था किन आयो भन्ने नखुलेको उनले बताए ।
काठमाडौं: सुनको मूल्यमा बिहीबार पनि नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज सुनको मूल्य हालसम्मकै उच्च एक लाख १२ हजार ५ सय रुपैयाँ पुगेको छ । बुधबार हालसम्मकै उच्च मूल्य एक लाख १२ हजार रुपैयाँ प्रतितोलामा सुनको खरिद बिक्री भएको थियो । आज तेजावी सुनको मूल्य एक लाख ११ हजार ९५० र चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेर एक हजार ४ सय १० रुपैयाँ कायम भएको छ । बिहीबार तेजावी सुन एक लाख ११ हजार ४५० र चाँदी १३ सय ९५ रुपैयाँमा कारोबार भएको थियो ।
काठमाडौ: भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतका प्नधानमन्त्री नरेन्द्र मोदीबीच हैदरावाद हाउसमा भेटवार्ता सुरु भएको छ । सुरुमा प्रधानमन्त्रीस्तरमा छलफल हुने र त्यसपछि प्रतिनिधिमण्डलस्तरीय भेटवार्ता हुनेछ र त्यसलगत्तै विभिन्न सहमति तथा सम्झौतामा हस्ताक्षर हुने कार्यक्रम छ । दुई देशका प्रधानमन्त्रीले संयुक्तरुपमा पत्रकार सम्मेलन आयोजना गर्नुहुनेछ । प्रधानमन्त्री प्रचण्डको सम्मानमा भारतीय प्रधानमन्त्रीले हैदरावाद हाउसमै दिवा भोज आयोजना गर्नुहुनेछ । सुरुमा प्रधानमन्त्रीस्तरमा छलफल हुने र त्यसपछि प्रतिनिधिमण्डलस्तरीय भेटवार्ता हुनेछ । दुई देशका प्रधानमन्त्रीले संयुक्तरुपमा पत्रकार सम्मेलन आयोजना गर्नुहुनेछ । प्रधानमन्त्री दाहालको सम्मानमा भारतीय प्रधानमन्त्रीले हैदरावाद हाउसमै दिवा भोज आयोजना गर्नुहुनेछ ।
चितवन: चितवन राष्ट्रिय निकुञ्जको टोलीले चोरी सिकारीमा संलग्न हुने आधारमा हतियारसहित दुई जनालाई पक्राउ गरेको छ । निकुञ्जको अप्रेसन टोलीले पूर्वी चितवनको कालिका नगरपालिका घर भएका दुई जनालाई भरुवा बन्दुक सहित पक्राउ गरेको निकुञ्जका सूचना अधिकारी गाशेणप्रसाद तिवारीले जानकारी दिए । टोलीले अप्रेसनका क्रममा कालिका नगरपालिका वडा नं. ११ बस्ने २९ वर्षीय राज चेपाङ र सोही पालिका वडा नं. ११ सैपाङ बस्ने ३५ वर्षीय सुन्दर प्रजालाई पक्राउ गरिएको हो । प्रजाबाट दुई थान भरुवा बन्दुक, हातहतियार बरामद गरिएको छ । उनीहरू माथि वन्यजन्तु सम्बन्धी कसुरका विषयमा अनुसन्धान भइराखेको निकुञ्ज कार्यालयले जानकारी दिएको छ ।
काठमाडौं: चार दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज महत्वपूर्ण भेटवार्ता गर्दैछन् । बुधबार दिउँसो दिल्ली अवतरण भएका प्रधानमन्त्री प्रचण्डले सोही दिनदेखि भेटवार्ता सुरु गरेका थिए र सोही क्रममा आज प्रधानमन्त्री प्रचण्डले भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्दै छन् । आज बिहान ११ बजे हैदरावाद हाउसमा प्रधानमन्त्री प्रचण्ड र मोदीबीच भेटवार्ताको कार्यसूची तय भएको छ । कार्यसूची अनुसार दुई समकक्षीबीच आधा घण्टा भेटवार्ता हुनेछ । त्यसपछि प्रतिनिधिमण्डल स्तरको बैठकमा प्रचण्ड र मोदी सहभागी हुनेछन् । प्रतिनिधिमण्डल स्तरको बैठकपछि दुवै प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलन गर्नेछन् । आजै भारतीय प्रधानमन्त्री मोदीले आयोजना गरेको दिवाभोजमा प्रधानमन्त्री प्रचण्डसहितको नेपाली प्रतिनिधिमण्डल सहभागी हुनेछ । प्रधानमन्त्री प्रचण्डले भारतीय राष्ट्रपति द्रौपदी मुर्मू र उपराष्ट्रपति जगदीप धनखडसँग पनि आजै भेटवार्ता गर्ने कार्यसूची छ । उपराष्ट्रपतिसँग अपराह्न ४ बजे र राष्ट्रपतिसँग साढे ४ बजे भेट्ने समय निर्धारण गरिएको छ । त्यसपछि नेपाल उद्योग वाणिज्य महासंघ एफएनसीसीआई र भारतीय उद्योग परिसंघ सीआईआई ले संयुक्तरुपमा आयोजना गरेको नेपाल भारत व्यापार शिखर सम्मेलनलाई प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्नुका साथै दुवै देशका व्यापारीसँग अन्तरक्रिया गर्ने कार्यक्रम छ ।

