काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चार दिने भारत भ्रमणका लागि प्रस्थान गर्नुभएको छ । बुधबार अपराह्न प्रधानमन्त्री प्रचण्ड भारतको राजधानी नयाँदिल्ली प्रस्थान गर्नुभएको हो । त्रिभुवन विमानस्थलमा प्रधानमन्त्री प्रचण्डलाई सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायत मन्त्रीहरूले बिदाइ गर्नुभएको छ । प्रधानमन्त्री प्रचण्डले बिहीबार भारतीय समकक्षी नरेन्द्र मोदीसँग हैदरावाद हाउसमा दुई पक्षीय वार्ता गर्नुहुने छ ।
तमु धिंमा मेजर जयबहादुर–रुपकुमारी गुरुङको सालिक अनावरण १ करोड १५१ रुपैयाको स्वास्थ्योपचारकोष स्थापना
पोखरा: पोखरा ९ नयाँबजारस्थित तमु धिं नेपालमा तमु धिंका परमआदरणीय, समाजसेवी स्वर्गीय मेजर जयबहादुर गुरुङ र श्रीमती रुपकुमारी गुरुङको सालिक अनावरण गरिएको छ। मेजर गुरुङ दम्पत्तिले २०६७ सालमा १७ लाख ५ हजार रुपैयामा निर्माण गरिदिनुभएको तमु धिं नेपालको मुल घर, साँस्कृतिक भवन एवम हालै गुरुङ संग्रहालयको रुपमा विकास गरिएको भवनमा सदा स्मरण र सम्मानका लागि प्रतिस्थापित सालिकको समाजसेवी रुपकुमारी गुरुङले अनावरण गर्नुभएको थियो। उक्त अवसरमा तमु धिं नेपालका धार्मिक संयोजक लामा गोपाल गुरुङले पुजा एवम् मन्त्रवाचन गर्नुभएको थियो। करिब साढे ६ लाखमा निर्माण एवम प्रतिस्थापित सालिक निर्माणमा समाजसेवी रुपकुमारी गुरुङ र तमु धिं नेपालको सहभागिता रहेको छ । यसै बिच समाजसेवी रुपकुमारी गुरुङले आर्थिक अभावमा स्वास्थ्योपचार समस्याले अकालमा कसैले जीवन गुमाउनु नपरुन भन्दै तमु धिं नेपालमा १ करोड १५१ रुपैयाको स्व.मेजर जय–रुपकुमारी–स्व.उदयचन्द्र गुरुङ स्वाथ्योपचार कोष स्थापना गरिदिनुभएको छ। तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङको आग्रहमा तीन महिना अघि नै उक्त कोष स्थापित गरी मंगलवारको शुभदिनमा मंगलवार कोषको सार्वजनिक गरिएको हो । सामाजिक, साँस्कृतिक, धार्मिक, शैक्षिक, भौतिक निर्माण, दैविप्रकोप, स्वास्थ्योपचार एवम् समस्या रहेकाहरुलाई मानवीय तथा सामाजिक भावले विगतमा धेरै दान, सहयोग गर्दै आएको स्वर्गीय मेजर जयबहादुर गुरुङ, छोरा स्वर्गीय उदयचन्द्र गुरुङको सधै स्मरण र समाजसेवी रुपकुमारी गुरुङ सहयोगको अमरत्वका लागि कोष स्थापना गरिएको तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङले जानकारी दिनुभयो। कोष स्थापना गरिसकिएको छ, नियमावलीमा उल्लेख भए बमोजिम विधिगत ढंगबाट उपचार आवाश्यक तर आर्थिक विपन्नताले उपचार गर्न नसकिरहेकाहरुलाई सक्दो सहयोग गर्ने उहाँले बताउनुभयो। कार्यक्रममा समाजसेवी रुपकुमारी गुरुङ र छोरी पवित्रा गुरुङलाई तमु धिं नेपालको तर्फबाट मायाको चिनोसहित सम्मान गरिएको थियो। तमु धिं नेपालको अध्यक्ष हुमबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न बैठकमा स्वागत वरिष्ठ उपाध्यक्ष सुमे श्रीप्रसाद गुरुङ, सञ्चालन सचिव जुमकाजी गुरुङले गनुभएको थियो।
पोखरा: विश्व हिन्दू युवा संघले गुरुकुल तथा गौशाला निर्माणका लागि बजेट विनियोजन गरिदिन अनुरोध सहित ज्ञापनपत्र बुझाएका छन् । गुरुकुल तथा गौशाला निर्माणका लागि बजेट बिनियोजन सम्बन्धमा आज विश्व हिन्दु युवा संघले ५ बुँदे ज्ञापन पत्र बुझाँएको हो । विश्व हिन्दू युवा संघका अध्यक्ष ऋषिकेश जंग शाहको नेतृत्वको टोलीले नेपालको सभ्यता, संस्कृति र सनातन धर्म तथा सम्पदा संरक्षण गरी विश्व शान्तिको नेतृत्वदायी भूमिका निर्वाह गर्ने राष्ट्रको रुपमा नेपाललाई अगाडी बढाउन आगामी आर्थिक वर्ष ०८०र०८१ को बजेटमा हिन्दु धर्म सम्बन्धि परियोजनामा बजेट विनियोजन गरिदिनु हुन अनुरोध गरेका छन् । शाहले गण्डकी प्रदेशको राजधानी पोखरा नेपालको अन्तराष्ट्रिय स्तरको अब्बल सम्बन्ध भएको शहर भएको र पोखरा धर्मक्षेत्र कोशी गण्डकी सभ्यताको केन्द्रस्थल भएकोले धार्मिक पर्यटन बढाउन पहल गर्न अनुरोध गर्दै पोखरासँग रहेको नेपालको अन्तराष्ट्रिय सम्बन्धलाई भरपुर सदुपयोग गरी नेपालको समृद्धि हासिल गर्न नेपालका मौलिक ज्ञानहरुको अध्ययन अध्यापन गराउन पोखरामा एक सुविधा सम्पन्न अत्याधुनिक योगी नरहरिनाथ कर्मयोग गुरुकुल स्थापना गर्नु अति आवश्यक रहेको बताउनुभयो । शाहले गण्डकी प्रदेशका विभिन्न जिल्लामा ठूलाठूला गौशाला निर्माण गरी नेपालको शिक्षालाई उत्पादनसँग जोड्नुपर्ने बताउनुभयो । विश्व हिन्दू युवा संघका केन्द्रिय सदस्य विश्व कला यात्री प्राज्ञ नगेन सिंहले मगर गुरुङ्ग भाषा संस्कृति इतिहास अध्ययन अनुसन्धान प्रबद्र्धन र गण्डकी सभ्यता खोज अनुसन्धानको लागि पनि आवश्यक बजेट विनियोजन गर्नुपर्ने बताउदै धार्मिक पर्यटन प्रबद्र्धनका लागि आवश्यक बजेट विनियोजन गर्नुपर्नेमा जोड दिनुभयो । संघले गाँजा अध्ययन अनुसन्धानको लागि अनुमति दिन समेत निवेदन गरेको छ ।
पोखरा: डी.पी.एल युथ टिम र डी.पी.एल टिन्स बोर्डको संयुक्त आयोजनामा पोखरामा नेतृत्व विकास तालिम सम्पन्न भएको छ । गणतन्त्र दिवसको अवसर पारेर डी.पी.एल युथ टिम र डी.पी.एल टिन्सले ६५ जना भन्दा बढी सहभागीहरुलाई नेतृत्व विकास सम्बन्धि तालिम दिएको हो । प्रमुख अतिथि विश्व कला यात्री प्राज्ञ नगेन सिंह ठकुरीको उपस्थितिमा भएको उक्त कार्यक्रममा तालिममा सहभागि हुने सहभागिहरुलाई एउटा सफल नेतृत्वमा हुनुपर्ने असल गुणहरुको बारेमा साथै नेतृत्व तहमा हुनको लागि कुनैपनि राजनैतिक समुह हुनैपर्छ भन्ने नभई आफ्नै साथीभाईहरुको समुहमा, परिवार ,समुदाय र आफु पढ्दै गरेको कक्षामा समेत नेतृत्व गरी आफ्नो विकास गर्न सक्ने महत्वपूर्ण विषयमा तालिम दिइएको थियो । कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थित प्राज्ञ सिंहले नेतृत्व गर्ने जुनसुकै व्यक्ति भएपनि उहाँहरुमा शालिनता, सबैलाई समेट्न सक्ने, जस्तोसुकै परिस्थितिलाई सम्हाल्न सक्ने र क्षमतावान हुन जरुरी भएको बताएका थिए । उनले विशेषगरी युवाहरुलाई लक्षित गरी डी.पी.एल युथ टिम र डी.पी.एल टिन्स बोर्डले संयुक्त रुपमा आयोजना गरेको यस कार्यक्रम उत्कृष्ट र अहिलेको समयमा निकै महत्वपूर्ण भएको समेत बताए । सो कार्यक्रममा प्रशिक्षक दिपक न्यौपानेले भाषण र भाषण कलाको बारेमा तालिम दिएका थिए । अर्का प्रशिक्षक रोशनी के.सी.र मनिषा तिमिल्सिनाले कुशल नेतृत्वको बारेमा तालिम दिनुभएको थियो भने प्रशिक्षक स्वस्तिका बरालले समय व्यवस्थापन र आयुष बटाजुले एउटा सफल समुहमा हुनुपर्ने गुणहरुको बारेमा तालिममा सहभागिहरुलाई तालिम दिए । यस कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्न अमेरिकन कर्नर पोखरा र पोखरा सार्वजनिक पुस्तकालयले सहयोग गरेको थियो ।
काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेका छन्। तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले रोकेको नागरिकतासम्बन्धी विधेयकलाई राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेका हुन् । राष्ट्रपतिका कानुनी सल्लाहकार बाबुराम कुँवरले राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गरेको बताए। यसअघि नेकपा एमाले नेतृत्व सरकारका पालामा राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरी फिर्ता गरेकी थिइन्।
पोखरा: लायन्स क्लब इन्टरनेशनल डिस्ट्रीक्ट ३२५ एम को आयोजना एवम् लायन्स क्लब अफ पोखरा लेकसाइडको आतिथ्यता एवम् संयोजनमा कास्कीको पर्यटकीय गाउँ घान्द्रुकमा यही जेठ २७ गते चौथो क्याविनेट बैठक हुने भएको छ । बैठकमा विभिन्न जिल्लाका १४० लायन्स क्लबका चार सय भन्दा बढी लायनहरू सहभागी हुने लायन्स क्लब अफ पोखरा लेकसाइडका अध्यक्ष लायन कृष्णकुमार श्रेष्ठले जानकारी दिए । सामाजिक सेवाका हरेक क्षेत्रमा कृयाशिल लायन्स क्लब इन्टरनेशनल डिस्ट्रीक्ट ३२५ एम अन्तर्गतका क्लबहरूले आआफ्नो स्थानमा विशिष्ट योगदान पु¥याउँदै आएको बताउँदै उनले यो बैठकबाट घान्द्रुकको पर्यटकीय विकासमा योगदान पुग्ने विश्वास लिइएको बताएका थिए । कार्यक्रम संयोजक लायन जगन्नाथ तिमल्सिना(जयराम) का अनुसार घान्द्रुकमा हुने बैठकको तयारी तीव्र पारिएको छ । गाउँ पर्यटनको समेत विकास गर्ने उद्देश्य अनुरुप शहरी क्षेत्र बाहिर कार्यक्रम आयोजना गरिएको उनले बताएका छन् । गुजुमुज्ज परेर पूर्वतर्फ फर्किएको ढुङ्गैढुङ्गाले छापिएको प्राचीन मौलिकतामा आधारित गुरुङ गाउँ हो घान्द्रुक । माछापुच्छ«े, अन्नपूर्ण लगायत हिमशृंखलाको एकसाथ दृश्यावलोकन गर्न पाइने यो गाउँ अन्नपूर्ण चक्रीय पदमार्ग, घोरेपानी, पुनहिल, अन्नपूर्ण आधार शिविर आदिको प्रवेशद्वार भएका कारण पनि चासो र चर्चा कमाएको छ । सन् १९५० मा मौरिस हर्जोगले अन्नपूर्ण हिमालको शिखर चुमेसँगै यो पर्यटकीय गन्तव्यका रुपमा स्थापित बनेको हो । कास्कीको अन्नपूर्ण गाउँपालिकामा पर्ने घान्द्रुक विशेषतः अन्नपूर्ण हिमाल तथा अन्नपूर्ण संरक्षण क्षेत्र घुम्न आउने स्वदेशी एवम् विदेशी पर्यटकको रोजाइमा पर्दछ । पदयात्रा पर्यटनको विशिष्ट गन्तव्य यस स्थलमा पर्यटकस्तरीय होटेल, होमस्टे आदि सञ्चालनमा आएका छन् । चार सय भन्दा बढी लायनहरूको उपस्थितिमा घान्द्रुकमा हुन लागेको बैठकले यस क्षेत्रको पर्यटनमा विशिष्ट योगदान पुग्ने विश्वास लिइएको छ ।
काठमाण्डौ: आज देशका पहाडी क्षेत्रको मौसम आंशिक बदली रहेको छ । सुदूरपश्चिम, कर्णाली र लुम्बिनीका पहाडी क्षेत्रमा अहिलेको मौसम आंशिकदेखि सामान्य बदली छ ।सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी थोरै ठाउँमा अहिले हल्का पानी परिरहेको छ ,ती क्षेत्रमा दिउँसो पनि हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । आज कोशी र बागमती प्रदेशका एक–दुई ठाउँमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाकारी गराएको छ । अहिले पश्चिमी निम्न चापीय प्रणाली तथा स्थानीय वायूको प्रभाव छ । पहाडी क्षेत्रमा मौसम आंशिक बदली रहेपनि तत्काल ठूलो पानी पर्ने सम्भावना नरहेको मौसमविद् सजिना शाक्यले जानकारी दिएकी छिन्। काठमाण्डौमा अहिले घाम चर्किएको छ । काठमाण्डौमा आज पानी पर्ने सम्भावना नरहेको महाशाखाले सुचना प्रदान गरेको छ ।
काठमाडौं: काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले ६८ स्वास्थ्य संस्थालाई कारबाही गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतको ध्यानाकर्षण गराएका छन् । मन्त्रीले कारबाही सुरु नगरे आफूले नै ती स्वास्थ्य संस्थाको प्रशासन कक्ष बन्द गराइदिने चेतावनी उनले दिएका छन् । विपन्न एवम् लक्षित वर्गलाई कानुन बमोजिम उपचारमा दिएको छुट सुविधाको विवरण महानगरले माग्दा पनि उपलब्ध नगराएका ६८ वटा स्वास्थ्य संस्थालाई कारबाही गर्न मेयर शाहले मन्त्री बस्नेतलाई भेटेर ध्यानाकर्षण गराएका हुन् । स्वास्थ्य संस्था सञ्चालन मापदण्ड, २०७७ एवं प्रचलित स्वास्थ्य सम्बन्धी कानुनमा विपन्न एवं लक्षित वर्गहरुलाई कूल शैयाको १० प्रतिशत छुट्याई निःशुल्क उपचार गर्नुपर्ने लगायतका स्वास्थ्य सुविधाहरु उल्लेख गरिएको छ । मेयर शाहका अनुसार काठमाडौं महानगरपालिका क्षेत्र भित्र रहेका अस्पताल लगायत विभिन्न स्वास्थ्य संस्थाहरुसँग लक्षित वर्गलाई उपलब्ध गराइएको छुट सुविधाको विवरण माग गरिएको थियो । यही जेठ ६ गते सूचना जारी गरेर छुट सुविधा दिएको विवरण माग्दा समेत ६८ स्वास्थ्य संस्थाले उपलब्ध नगराएको समेत मेयर शाहको भनाइ छ ।
रुपन्देही: रुपन्देहीको देवदहमा यात्रुवाहक बस दुर्घटना हुँदा २२ जना घाइते भएका छन्। कैलालीको टिकारपुरबाट बुटवल हुँदै काठमाडौँ जाँदै गरेको ना ५ ख ४९०९ नम्बरको बस गए राती २ बजे देवदह नगरपालिका खैरेनीमा दुर्घटना भएको हो । बस अनियत्रित भई सडकबाट करिब ४ मिटर तल खसेको थियो । दुर्घटनामा परी घाइते भएकाको २२ जनाको देवदह मेडिकल कलेजमा उपचार भैरहेको र अवस्था सामान्य रहेको देवदह प्रहरी चौकीले जनाएको छ । घटना सम्बन्धि थप अनुसन्धान भैरहेकोे प्रहरीले जनाएको छ ।

