पोखरा ।   नेपाल चेम्बर अफ कमर्सको हीरक जयन्तीको अवसरमा पोखरामा अन्तर्राष्ट्रिय व्यवसाय अनुभव सम्बन्धी अन्तरक्रिया सम्पन्न भएको छ ।    चेम्बर अफ कमर्सका सदस्य व्यवसायीहरूलाई अन्तर्राष्ट्रिय बजार...

पोखरा:  पोखरा महानगरपालिकाको चाउँथे नजिकै नहरमा एक पुरुष मृत भेटिएका छन् ।   कास्की प्रहरीका अनुसार हिजो (सोमबार) दुइ कुलाकाे मुहानमा मृत भेटिएका पुरुष पोखरा महानगरपालिका ११ फुलबारीका ५० वर्षीय ऋषिराम शर्मा रहेको पुष्टि भएको हो ।   शर्मा सोमबार बिहानदेखि परिवारको सम्पर्कबाट बाहिर रहेका थिए ।    मृत भेटिएका शर्माको आत्महत्या वा हत्या हो भन्ने विषयमा कास्की प्रहरीले अनुसन्धान गरिरहेको प्रवक्ता तथा डिएसपी श्रवण कुमार विकले जानकारी दिए ।   शर्मा विगत २७ वर्षदेखि पद्म नर्सिङ होम प्रालिमा कार्यरत थिए । 

पोखरा:  पोखरा महानरपालिका भित्रका विभिन्न १६ विद्यालयले बहाल कर नतिरेको पाइएको छ ।   महालेखापरिक्षकको ६० औं प्रतिवेदन अनुसार पोखरा महानगरपालिका भित्रका १६ विद्यालयले बहाल करस्वरुप ५२ लाख ५२ हजार ६ सय ८६ रुपैयाँ नतिरेका हुन् ।   ति १६ विद्यालयले विभिन्न भौतिक संरचना बहालमा दिएर कुल ६ करोड ५४ लाख ३५ हजार ५ सय ४६ रुपैयाँ आम्दानी गर्दै आएका छन् ।    कानूनी व्यवस्था अनुसार आम्दानी रकमको ८ प्रतिशत बहाल कर सम्बन्धित स्थानीय सरकारलाई तिर्नुपर्ने प्रावधान रहन्छ । सोही अनुसार पोखरा महानगरपालिका भित्रका १६ वटा विद्यालयले महानगरलाई बहाल करबापत तिर्नुपर्ने ५२ लाख ५२ हजार ६ सय ८६ रुपैयाँ बक्यौता रकम देखिएको छ ।   ‘यो महानगरपालिका भित्रको १७ वटा विद्यालयले बहाल करबापत तिर्नुपर्ने रकम नतिरेपछि बेरुजुमा राखेको थियो, पोखरा महानगरपालिका राजस्व शाखाका अधिकृत दीपेन्द्र पण्डितले सुनगाभा न्यूजसँग भने, ‘त्यसमध्ये पार्दी माविले बक्यौता कर तिरिसकेको छ । बाँकी अन्य विद्यालयहरुलाई पनि हामीले पत्र काटिसकेका छौ ।’   पण्डितले बाँकी रहेका १६ विद्यायलले छिटै जगेडा गरेर बक्यौता बहाल कर चुक्ता गर्ने बताए । ‘सबै विद्यालयलाई पत्र पठाइसकेका छौ । रकम जगेडा गरेर छिटै चुक्ता गर्नुहोला नत्र उहाँहरुकै नाममा बेरुजु रहिरहन्छ त्यसैले जसरी पनि तिर्नेपर्ने हुन्छ,’ उनले भने । छोरेपाटन माविको सबैभन्दा बढी बक्यौता   महालेखापरिक्षकको प्रतिवेदन अनुसार १६ वटा विद्यालयमध्ये पोखरा महानगरपालिका १७ स्थित रहेको छोरेपाटन माविको सबैभन्दा बढी बक्यौता देखिएको छ ।   छोरेपाटन माविले बहाल करबापत ३७ लाख ९१ हजार ४ सय ४५ रुपैयाँ तिर्न बाँकी देखिएको हो । छोरेपाटन माविले सटरभाडाको ५ लाख ८४ हजार ८ सय ७२ रुपैयाँ, गुप्तेश्वर गुफाको आम्दानीबापत २४ लाख १२ हजार १ सय ५५ र पातले छाँगो प्रवेश शुल्कको करबापत ७ लाख ९४ हजार ४ सय २५ रुपैयाँ गरी कुल ३७ लाख ९१ हजार ४ सय ४५ रुपैयाँ तिर्न बाँकी रहेको प्रतिवेदनमा उल्लेख छ ।    यद्यपि उक्त बक्यौता रकमप्रति भने छोरेपाटन माविका प्रध्यानाध्यापक डिल्लीराम शर्माको आपत्ती छ ।   ‘हामीलाई महानगरको पत्र हिजो मात्रै प्राप्त भएको छ । त्यो पत्र अलि नमिल्दो छ । गुप्तेश्वर पत्रमा गुफाको पनि हाम्रै नाममा देखिएको छ, शर्माले भने, ‘गुफा स्वायत्त हो त्यसैले पहिला विद्यालय व्यवस्थापन समितिको छलफल हुन्छ कति तिर्ने ? कसरी तिर्ने ? त्यसपछि महानगरसँग विस्तृत समन्वय गर्छाै ।’   प्रतिवेदन अनुसार छोरेपाटन माविले कुल आम्दानी ४ करोड ७३ लाख ९३ हजार १ सय ६४ रुपैयाँ रहेको थियो ।     यस्तै पोखरा १६ लामाचौरस्थित इन्द्रराज्यलक्ष्मी माविले पनि ठुलो रकमको कर तिर्न बाँकी  छ । इन्द्रराज्यलक्ष्मी माविले सटरभाडाबापत आम्दानी गरेको ४२ लाख ४१ हजार १ सय ८४ रुपैयाँको बहाल करबापत ३ लाख ३९ हजार २ सय ९५ रुपैयाँ बक्यौता छ ।   यस्तै पोखरा १२ अमरसिंहस्थित अमरसिंह माविले २ लाख ८६ हजार  ५ सय २० रुपैयाँ तिर्न बाँकी देखिएको छ । पोखरा ६ स्थित तालबाराही माविले २  लाख ११ हजार २ सय ५७ रुपैयाँ बहाल कर तिर्न बाँकी छ  । पोखरा महानगरपालिका २ स्थित विन्ध्यवासिनी माविले १ लाख ३९ हजार १ सय ४ रुपैयाँ बक्यौता छ ।    यस्तै पोखरा २९ मा रहेको जनप्रकाश मालिे ८९ हजार ६ सय ११ रुपैयाँ, पोखरा –११ फुलबारीस्थित शिवशक्ति माविलेपनि जग्गा तथा चमेनागृह भाडामा लगाएबापत ७५ हजार ४ सय ५५, पोखरा ९ को नवप्रभात माविले सटर, कोठा र जग्गाभाडा बापत (आर्थिक वर्ष २०७६/०७७ को समेत गरी) १ लाख ३६ हजार ८ सय १७ रुपैयाँ, पोखरा ३३ स्थित सरस्वती माविले सटरभाडा बापत ३९ हजार ४ सय ९९ रुपैयाँ, पोखरा २७ को लक्ष्मी माविले ११ हजार ९ सय ८४ रुपैयाँ, पोखरा १३ स्थित भद्रकाली माविले क्यान्टिन तथा माछापसलको भाडाबापत १५ हजार २ सय रुपैयाँ, पोखरा ३३ को शान्ति उदय माविको नाममा टावर भाडाबापत १८ हजार ३ सय ५३ रुपैया बक्यौता छ ।   यसैगरी पोखरा महानगरपालिका २८ स्थित जनज्योती माविले ६ हजार ९ सय २२ रुपैयाँ, पोखरा ३ को ज्ञानभूमी मावि ५८ हजार ३ सय ६० रुपैयाँ, पोखरा २६ स्थित लक्ष्मी माविले सटरभाडा बापत २४ हजार १ सय ९ रुपैयाँ र पोखरा महानगरपालिका १४ को शुक्रराज बलभद्र माविले गाइगोठ भाडाबापत ९ हजार २ सय रुपैया तिर्न बाँकी रहेको पोखरा महानगरपालिकाले जनाएको छ ।   

काठमाडौं:     हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण सुदूरपश्चिम प्रदेश र लुम्बिनी  प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही तथा बाँकी प्रदेशका पहाडी भेगका थोरै स्थानमा मेघगर्जन चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ । रातिको समयमा कोशी र गण्डकी प्रदेशको पहाडी भूभागका एक दुई स्थानमा क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ । 

तनहुँ:     तनहुँको सदरमुकाम दमौलीमा उपभोक्तालाई खसीको भन्दै बाख्रीका मासु बेच्ने दुई भारतीय व्यापारी पक्राउ परेका छन् । भारत बिहार प्रदेश मोतिहारी जिल्ला भेलादी मुराहवागाउँ घर भई हाल जिल्ला तनहुँ व्यास नगरपालिका–५ चापाघाट बस्ने वर्ष १९ को ईस्तखार आलम र सोही ठाउँ निवासी वर्ष ४० को सनोज देवानलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । व्यास नगरपालिका क्षेत्रका मासु पसलमा बाख्राको मासु मिसावट गरेर बिक्री हुँदै आएको गुनासोका आधारमा निगरानी बढाइएको थियो । सोही अनुरूप जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय तनहुँ, व्यास नगरपालिका, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र र गुणस्तर तथा नापतौल कार्यालय तनहुँको संयुक्त अनुगमन टोलीले पक्राउ गरेको हो ।  व्यास नगरपालिका–३ तरकारीलाईन स्थित व्यास नगरपालिकाको हाता भित्र रहेको तनहुँ मासु व्यवसायी  सङ्घमा दर्ता रही सञ्चालन रहेका विभिन्न मासु पसलहरूको गुणस्तर मापन गर्ने उद्देश्यले चेकजाँच गर्ने क्रममा फेला पारिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँडले जानकारी दिए ।  ईस्तखार आलमले सञ्चालन गर्दै आएको महम्मद फिरोज मासु पसल चेकजाँच गर्ने क्रममा खसीको मासु भनी बिक्री गर्नको लागी बाख्री (स्त्री) जातको मासु काट्दै गरेको अवस्थामा फेला परेको प्रनाउ खाँडले बताए। सोमबार जिल्ला प्रशासन कार्यालय तनहुँ उपस्थित गराई निजहरू उपर कालो बजार तथा केही अन्य सामाजिक अपराध सम्बन्धी कसुरमा दिन सात दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको उनले जानकारी दिए । दमौलीमा यस्तो घटना प्रमाण सहित फेला परेपछि स्थानीय उपभोक्ताहरू खुसी भएका छन् । पक्राउ परेका व्यक्तिलाई कडा कारबाहीको माग उपभोक्ताले गरेका छन् । प्रशासनले यस्ता पसलको पटक पटक अनुगमन गरिरहनु पर्ने धारणा स्थानीयको रहेको छ ।  

पोखरा:    प्रेस चौतारी कास्कीको २५ औं साधारणसभा ११ बुँदे पोखरा घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । प्रेस चौतारीले नेपाल पत्रकार महासंघले शुरुवात गरेको सदस्यता शुद्धिकरण अभियानमा पूर्ण समर्थन गर्दै यसलाई अक्षरसः पालना गर्न नेपाल पत्रकार महासंघसमक्ष जोडदार माग गरेको छ । यसैगरी, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने गरी प्रेसमाथि हुँदै आएको सबैखाले गलत क्रियाकलाप बन्द गर्न र प्रेसप्रति जिम्मेवार बन्न सरकारसहित सम्बद्ध सबैसंग आग्रह गरेको छ ।  सरकारले बजेटमार्फत आगामी आर्थिक वर्षदेखि बृद्धि हुने गरी ल्याएको श्रमजीवि पत्रकारको न्यूनतम पारिश्रमिक कडाइका साथ कार्यान्वयन गर्न पनि साधारणसभाले माग गरेको छ । विभिन्न सञ्चार माध्यममा कार्यरत श्रमजीवि पत्रकारहरुले नियमित रुपमा श्रमको उचित मूल्य नपाएको र विभिन्न बहानामा सञ्चार माध्यममा कार्यरत पत्रकार कर्मचारीहरु हटाउने योजनाहरु सार्वजनिक भइरहेको हुँदा प्रेस चौतारी नेपालको यस विषयमा गम्भीर ध्यानकर्षण भएको जनाएको छ । मौजुदा पत्रकार कर्मचारीलाई न्यूनतम नियमित र दीर्घकालीन रुपमा पारिश्रमिक उपलब्ध गराउन सबै सञ्चार माध्ययमसमक्ष माग पनि गरेको छ । अर्थ मन्त्रालयले बजेट नदिएका कारण जेठ १५ देखि विज्ञापन बोर्डले लोक कल्याणकारी विज्ञापनको भुक्तानी रोक्ने भनी सञ्चार माध्ययमलाई पत्राचार गरेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । अर्थ मन्त्रालयलाई तुरुन्त बजेट उपलब्ध गराउन र आवश्यक समन्वय गरिदिन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई आग्रह पनि गरेको छ । सरकारी सञ्चार माध्यममा कार्यरत पत्रकारहरुलाई आस्थाको आधारमा गरिएको विभेद र अन्यायप्रति गम्भीर ध्यानाकर्षण गराएको छ । आस्थाका आधारमा कामबाट हटाउने वा हट्न बाध्य पार्ने क्रियाकलाप बन्द गर्न र सरकारी सञ्चार माध्ययममा श्रमजीवि पत्रकारहरुको दीर्घकालीन रोजगारीको ग्यारेन्टी गर्न माग गरेको छ । संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना, कार्यान्वयन र नेपाली समाजको सर्वाङ्गीण विकास र रुपान्तरणमा महत्वपूर्ण योगदान गरेका श्रमजीवि पत्रकारहरुद्धारा मोफसलमा सञ्चालित साना लगानीका सञ्चार माध्यमहरु धराशायी बन्दै गएको अवस्थामा यसलाई जोगाउन संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारलाई विषेश योजना र बजेटको व्यवस्था गर्न माग पनि गरेको छ । आम सञ्चार क्षेत्रमा नयाँ प्रविधिको तीब्र विकास भइरहेको अवस्थामा प्रविधिको विकाससँगै नयाँ प्रतिभाहरुलाई प्रेस चौतारी नेपालमा संगठित गरी प्रेस चौतारी नेपाललाई श्रमजीवि पत्रकारहरुको अग्रणी संगठनको रुपमा लैजाने दृढ संकल्प र प्रण गरेको चौतारीले घोषणपत्रमार्फत् जनाएको छ । वर्तमान सरकार नागरिक र नागरिकका सवालप्रति अनुदार देखिएको, सत्ता स्वार्थका लागि विदेशमा गएर आफ्नो भूमि साट्नसमेत तयार रहेको अभिव्यक्ति आउनु अत्यन्त निन्दनीय रहेको चौतारीको ठहर छ । यसप्रकारका असंवैधानिक र राष्ट्रहितविरुद्धका अभिव्यक्ति तुरुन्त सच्याउन जोडदार आग्रह पनि गरेको छ । गहिरिँदै गएको आर्थिक संकटलाई समाधान गर्न सरकार गम्भीर नदेखिँदा पर्यटन क्षेत्रमा समेत नकरात्मक प्रभाव परेकाले पोखरासहित देशभरका पर्यटन क्षेत्रको पुनर्उत्थानका लागि विषेश प्याकेज ल्याउन प्रेस चौतारी नेपालले जोडदार माग गरेको छ । साथै, प्रेस चौतारी नेपाल कास्की शाखाको २५ औं साधारणसभा भव्यताको साथ सम्पन्न गर्नका लागि सहयोग गर्ने सबैप्रति धन्यवाद ज्ञापन गरेको छ । साधारणसभाले प्रेस चौतारी कास्कीका ईञ्चार्जसमेत रहेका केन्द्रीय सदस्य रुद्र श्रीषमगरको संयोजकत्वमा घोषणापत्र तयारी समिति गठन गरेको थियो । केन्द्रीय अध्यक्ष गणेश बस्नेतको प्रमुख आतिथ्यता एवं कास्की अध्यक्ष अर्जुन गिरीको अध्यक्षतामा भएको साभारणसभामा सचिव रञ्जन अधिकारीद्वारा प्रस्तुत सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष गिरीधारी पोखरेलको आर्थिक प्रतिवेदन सुझावसहित पारित गरिएको थियो ।  

पोखरा:   नेपाल पत्रकार महासंघ यतिबेला सदस्य शुद्धिकरण अभियानमा छ । राजनीतिमा लागेकाहरु, सरकारी जागिरेहरु, मूख्य पेशा अर्कै भएकाहरुलाई सदस्यता नविकरण नगर्ने मापदण्ड बनाएपछि यसको पक्ष र विपक्षमा बहस चलिरहेको छ । हालै प्रेस युनियनका अध्यक्ष शिव लम्सालले राजनीतिक आस्थाका आधारमा सदस्यता खारेज नगर भनिरहँदा प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेतले भने दायाँबायाँ नगरी १५ बुँदे मापदण्ड अक्षरशः पालना गर्न खबरदारी गरेका छन् । मुख्यतः प्रेस चौतारीकै प्रस्तावमा लुम्बिनी मिडिया सम्मेलनले १५ बुँदे मापदण्ड जारी गरेको बताउँदै अध्यक्ष बस्नेतले यसको कार्यान्वयनका लागि चौतारीले जिल्ला जिल्लाबाट दबाब दिने बताए । उनले बिना हिच्किचावट मापदण्ड अनुसार सदस्यता नविकरण गर्न पनि शाखाहरुलाई आग्रह गरे । प्रेस चौतारी कास्कीको २५ औं वार्षिक साधारणसभामा बस्नेतले अब पत्रकारिता पेशामा अरु हाबी भए, पत्रकारको संस्थामा पत्रकार नै हुनुपर्छ भनेर पत्रकार शुद्धिकरणका लागि प्रस्ताव गरेको बताए ।    ‘चौतारीको तर्फबाट मेरो प्रस्तावमा यूनियनका अध्यक्ष शिव लम्साल र प्रेस सेन्टरका अध्यक्ष विष्णु सापकोटा जुगलसहित हामी छलफल गरी पत्रकार शुद्धिकरण गर्ने निर्णय गरी पत्रकार महासंघको सुर्खेतमा सम्पन्न साधारणसभामा प्रस्ताव लिएर गयौँ । साधारणसभाले महासचिवको नेतृत्वमा एक समिति बनायो र लुम्बिनीको मिडिया सम्मेलनले १५ बुँदे मापदण्ड बनाई जारी ग¥यो ।’ बस्नेतले भने– ‘पत्रकार महासंघका साथीहरु अब तपाईहरु ब्याक हुनुहुन्छ कि अघि बढ्नुहुन्छ रु अगाडि बढे भात नै खानुभएछ भनौंला, ब्याक भए घाँस खाने हुनुहुँदो रहेछ भनौंला भनेर पब्लिक फोरममा बोल्न बाध्य हुनेछु भनेको थिएँ । अगाडि बढ्नुभयो । १५ बुँदे मापदण्लाई दृढताका साथ कार्यान्वयन गर्नुहोला । ब्याक हट्ने अवस्था छैन । व्यक्ति हेरेर होइन, मापदण्ड हेरेर कार्यान्वयन गर्नुस्, हामी चौतारीका कति सदस्य जान्छन् भनेर हिसाब गरेका छैनौँ ।’ प्रेस चौतारीका महासचिव हिरामान लामाले कास्की जिल्ला संगठन देशभरकै शाखामध्ये सर्वोत्कृष्ट रहेको बताउँदै पत्रकारको हकहितमा अग्रणी संस्थाको रुपमा लागिरहन आग्रह गरे । प्रेस चौतारी कास्कीका संस्थापक अध्यक्ष प्रेस स्वतन्त्रता सेनानि पुण्य पौडेलले अग्रजको आत्मसम्मान र नयाँ पुस्तालाई प्रोत्साहन गर्दै पेशाको शुद्धिकरणमा प्रेस चौतारीले भूमिका खेल्नुपर्ने सुझाव दिए । नेकपा एमाले कास्कीका उपाध्यक्ष तेजनारायण अधिकारीले नेकपा एमालेको जनसंगठनमध्ये प्रेस चौतारी कास्की गर्वलायक संगठन रहेको उल्लेख गर्दै सत्यतथ्य, निष्पक्ष पत्रकारिता र क्रियाशीलताको हिसामा चौतारीमा आस्थावान पत्रकार नै अगाडि रहेको उल्लेख गरे । प्रेस चौतारी नेपालका केन्द्रीय सचिव एवं गण्डकी प्रदेश ईञ्चार्ज सुष्मा पौडेलले श्रमजीवि पत्रकारको एकमात्र संगठन प्रेस चौतारी रहेकाले वास्तविक पत्रकारको हकहितको पक्षमा सधैं लडिरहने बताइन् । केन्द्रीय सदस्य एवं कास्की जिल्ला ईञ्चार्ज रुद्र श्रीष मगरले अत्यन्त सक्रिय शाखाका रुपमा रहेको कास्कीलाई पाएको बताउँदै पत्रकारको हकहितमा सधैं यस्तै पर्फमेन्सको अपेक्षा गरे । प्रेस चौतारी गण्डकीका अध्यक्ष ईन्द्रप्रसाद पौडेलले कास्की शाखाको सक्रिय गतिविधिको प्रशंसा गरे । नेपाल पत्रकार महासंघ, कास्कीकी अध्यक्ष बिमला भण्डारीले पत्रकार शुद्धिकरणको मापदण्ड पूर्णतः लागु गर्ने विश्वास दिलाउँदै यो, त्यो, मेरो, तिम्रो नभनी कास्की शाखा अघि बढ्ने उल्लेख गरिन् । प्रेस युनियन कास्कीका अध्यक्ष बासुदेव मिश्र, प्रेस सेन्टर कास्कीका अध्यक्ष कृष्ण दवाडी लगायतले पत्रकार महासंघ शुद्धिकरणको सवालमा कहिँकतै चुक्न नहुने बताए । प्रेस चौतारी कास्कीका अध्यक्ष अर्जुन गिरीको अध्यक्षतामा भएको साधारणसभाको बन्द सत्रमा सचिव रञ्जन अधिकारीद्वारा प्रस्तुत सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष गिरीधारी पोखरेलको आर्थिक प्रतिवेदन सुझावसहित पारित गरिएको थियो । साधारणसभाले ११ बुँदे पोखरा घोषणापत्र पनि जारी गरेको छ । घोषणापत्रमा पत्रकार शुद्धिकरणको मापदण्ड अक्षरशः लागु गर्नुपर्ने विषयलाई नै प्रमुख जोड दिइएको छ ।

पोखरा:  गायिका तथा नायिका पार्वती थापा र दिपेश लामाको आवाजमा ‘जुग जाने मायाँ’ बोलको गीत सार्वजनिक भएको छ ।   कमल बहादुर गुरुङको निर्देशनमा निर्मित उक्त म्युजिक भिडियो दिपेश लामाको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।   उक्त भिडियोमा हिरा बहादुर गुरुङ र मोनीका गुरुङ लगायतका कलाकारहरुको अभिनय रहेको छ ।    गायिका पार्वती थापाको शब्द र दिपेश लामाको संगीत रहेको उक्त गीतलाई दिक्षित पौडेलले संगीत संयोजन गरेका छन् ।   कास्कीको पर्यटकीय माछापुच्छ्रे गाउँपालिका –२ चौरागाउँमा दिपेश केसीको छायांकन गरेको भिडियोको सम्पादन नेत्र गुरुङले गरेका हुन् । भिडियो:  

पोखरा: इन्टरनेट सेवा प्रदायक कम्पनी पोखरा इन्टरनेट प्रा.लिले फाइवर क्लिन अप कार्यक्रम सोमबारबाट शुरु गरेको छ ।   विश्व वातावरण दिवसको अवसर पारेर कम्पनीले पोखरा महानगरपालिका वडा ४ सगँको सहकार्यमा कार्यक्रम आयोजना गरेको  मार्केटिङ अफिसर आशुतोष सुनारले जानकारी दिए ।   फाइवर क्लिन अप कार्यक्रम वडा ४ को  कार्यलबाट पालिखे चोकसम्म गरिएको हो । पोलमा झुण्डिएका तथा लत्रिएका अव्यबस्थीत देखिएका तारहरुलाई ब्यवस्थीत गर्नको लागि  फाइवर क्लिन अप कार्यक्रम शुरु गरिएको पोखरा इन्टनेटका प्रा.लिका प्रमुख कार्यकारी अधिकृत बिजेश पालिखेले बताए ।   वडा ४ का वडा अध्यक्ष देवकृष्ण पराजुलीले अब्यवस्थीत तारहरु ब्यवस्थीत गर्न चुनौति रहेको बताए । उनले २ संस्थाबीच समन्वय र सहकार्य गर्दे अगाडि बढ्ने बताए ।   प्रा.लिका जनरल म्यानेजर बरदान लामाले कार्यक्रम प्रभावकारी भएको हुनाले आगामि दिनहरुमा निरन्तरता दिइने बताए । कार्यक्रममा फाइवर क्लिन अफ बिभागका १५ जना कर्मचारीको सहभागिता रहेको थियो । 

अन्तर्राष्ट्रिय संग्रहालयमा विश्व वातावरण दिवसपोखरा, २२ जेठ अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय पोखरा १७ रातोपहिरोमा सोमबार विश्व वातावरण दिवस मनाइएको छ ।    कास्कीका सिडिओ वासुदेव घिमिरेले विरुवा रोपेर कार्यक्रम सुरुआत गरे । कार्यक्रममा सिडियो घिमिरेले सय वर्षको परिवर्तन चाहने हो भने वृक्षरोपण गर्नुपर्ने विचार राखे । सजीवको स्वाशप्रश्वासदेखि जीवनयापनका धेरै पक्षमा वोटविरुवाको महत्व हुने उनको जनाए ।   उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव विशाल घिमिरेले विद्यालय तहबाटै प्रकृति संरक्षण अध्यापन गराउनुपर्नेमा जोड दिए । उनले समाज, देश र विश्वकै वातावरण स्वच्छ बनाउन सकेमात्र मानव अस्तित्व र विश्वको आयु लामो हुने उल्लेख गरेका छन् ।   वर्ड सोसाइटी पोखराका अध्यक्ष मनशान्त घिमिरेले बर्सेनी धेरै चरा लोप हँुदै गएको उल्लेख गर्दै मानव र जीवजन्तुको सहकार्यले मात्र सुन्दर संसार बन्ने बताए । पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले रुखविरुवा बृक्षारोपणसंगै संरक्षणमा पनि ध्यान दिनुपर्ने बताएका थिए । संग्रहालयका कार्यकारी निर्देशक निर्मला न्यौपानेले वातावरण बचाउन कुनै दिवसको आवश्यकता नपर्ने बताइन् ।   ‘वातावरणको महत्व हामी सवैले बुझेका छौ’ उनले भनिन, ‘बेलाबेलामा यसको महत्वबारे सम्झाउन यस्ता दिवसको पनि आवश्यकता पर्दछ ।’ उनले संग्रहालय परिसरमा विभिन्न जातका विरुवा रोपेर वातावरण दिवस मनाइएको बताइन् ।   वातावरण दिवसको अवसरमा प्रजिअ घिमिरे लगायत सम्पूर्ण सहभागीले बृक्षारोपण गरेका थिए ।    सोही कार्यक्रममा रसियन नागरिक डायना सार्किजानवा पनि विरुवा रोपेकी थिइन् ।