काठमाडौँ– नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा आज सिंगापुर जाने भएका छन् । नियमित स्वास्थ्य परीक्षणका लागि उनी आज त्यसतर्फ जान लागेका हुन् । पेटसम्बन्धी समस्या कारण स्वास्थ्य जटिलता भोगिरहेका देउवाले लामो समयदेखि सिंगापुरमा उपचार गर्दै आइरहेका छन् । सभापति देउवाको साथमा उनकी पत्नी आरजू राणा देउवा पनि रहने छिन् । यसपटकको भ्रमण उनको स्वास्थ्य फलोअपका लागि भएको उनको सचिवालयले जनाएको छ ।
काठमाडौं: सुन चाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ३ सय र चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेको छ । आज छापावाल सुनको मूल्य १ लाख १२ हजार ७ सय, तेजावी सुनको मूल्य एक लाख १२ हजार १५० र चाँदीको मूल्य १४ सय ५० रुपैयाँ तोकिएको छ । सोमबार छापावल सुन एक लाख १२ हजार ४ सय, तेजावी सुनको मूल्य एक लाख ११ हजार ८५० र चाँदी १४ सय ४५ रुपैयाँमा कारोबार भएको थियो ।
काठमाडौँ: संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतमा प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको संसदीय सुनुवाइ जेठ ३२ गते गर्ने भएको छ। समितिको सोमबारको बैठकले प्राप्त उजुरी सार्वजनिक गर्दै सुनुवाइ तालिका बनाएको हो। समितिले जेठ ३१ गते उजुरीकर्तासँग छलफल गर्ने छ। कार्कीविरुद्ध सुनुवाइ समितिमा २९ उजुरी परेका छन्। जसमा बहालवाला न्यायाधीश तथा कानुन व्यवसायीका समेत उजुरी छन्। साउन १९ गतेसम्म कार्यकाल रहेको कार्कीको कार्यकालको डेढ महिनाअघि मात्र सुनुवाइ हुन लागेको हो। राजनीतिक विवादका कारण लामो समय प्रधानन्यायाधीश सिफारिस हुन सकेको थिएन। दलीय सहमतिपछि वैशाख २५ मा प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस भएको थियो। वैशाख २७ मा सुनुवाइका लागि पत्राचार गरेको थियो। न्याय परिषद् सचिवालयले अनिवार्य उमेरहदका कारण साउन २० देखि अवकाश हुने व्यहोराको जानकारी कायममुकायम प्रधानन्यायाधीश कार्कीलाई गराइसकेको छ। प्रस्तावित प्रधानन्यायाधीश कार्कीविरुद्ध अर्घाखाँची जिल्लामा कार्यरत न्यायाधीश डा. श्रीकृष्ण भट्टराईले समेत उजुरी दिनुभएको छ। सुनुवाइ समितिमा बहालवाला न्यायाधीशले प्रस्तावित प्रधानन्यायाधीशमाथि उजुरी दिएको यो पहिलो पटक हो। भट्टराईले कार्कीमा नेतृत्व क्षमता अभाव रहेको, कानुनको शून्यताको अवस्थामा सिफारिस भएको मुख्य जिकिर निवेदनमा गर्नुभएको छ। संवैधानिक परिषद् ऐनसम्बन्धी विधेयक विचाराधीन रहेको अवस्थामा कार्यविधि कानुन पारित नहुँदै कार्कीको सिफारिस हुनु त्रुटिपूर्ण रहेको भट्टराईको उजुरीमा उल्लेख छ। भट्टराईले उजुरीकर्तासँगको छलफलमा आफूलाई सामेल गर्न पनि माग गर्नुभएको छ। कार्कीमाथि उजुरी गर्नेहरू अन्य पनि अधिकांश कानुन व्यवसायी छन्। अधिवक्ता उत्तम श्रेष्ठ, युवराज कोइराला, ओमप्रसाद रेग्मी, सुभाष ढकाल, ध्रुवलाल श्रेष्ठ, अमृत खरेललगायतका हुनुहुन्छ। अधिकांशको उजुरी कानुनी शून्यतामा सिफारिस भएको र केहीको हदमा मुद्दासम्बन्धी विवरण पनि उल्लेख छन्। मुद्दागत रूपमा पनि केही उजुरी दर्ता समितिमा भएका छन्। सुनुवाइ समितिको दुईतिहाइ बहुमतले अस्वीकृत नगरेमा प्रस्तावित पदाधिकारी अनुमोदन भएको मानिने सङ्घीय संसद्को संयुक्त बैठक र समिति सञ्चालनसम्बन्धी नियमावलीमा उल्लेख छ।
काठमाण्डौ: दर्ता नै नगरि सञ्चालनमा रहेका दुईवटा अस्पतालमा काठमाण्डौ महानगरपालिकाले ताला लगाएको छ । दर्ता नगरि सञ्चालनमा रहेको वडा ६ बौद्धको चाइनिज पिपुल्स अस्पताल र वडा ३२ कोटेश्वरमा रहेको सहयात्री अस्पतालमा हिजो कामपा जनस्वास्थ्य विभागले ताला लगाएर बन्द गरेको हो । स्वास्थ्यजस्तो संवेदनशील सेवा प्रदान गर्ने ठाउँ दर्ता नै नभएको पाइएपछि बन्द गराएका कामपा जनस्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौडेलले बताउनु भयो । उहाँ भन्नुहुन्छ, मानिसको बाँच्न पाउने अधिकारसँग जोडिएको क्षेत्र हो । यसमा हुने सानातिना त्रुटि र लापरबाहीले मानिसको ज्यान जान सक्छ । गलत औषधिको प्रयोगले जीवन अझ अस्वस्थ्य हुन्छ । बन्द गरिएका दुवै अस्पताल १५र१५ शय्यामा सञ्चालन भएका छन् । चाइनिज पिपुल्स अस्पतालमा अक्युपङ्चर र पाइल्सको उपचारका लागि मानिसहरु आउने गरेका थिए । त्यस्तै, सहयात्रीमा गर्भपतन सेवा दिने गरिएको आउने गरेका बताइएको थियो । विभागले लक्षित वर्गलाई उपलब्ध गराउनुपर्ने सेवा उपलब्ध गराएकोरनगराएको बारे नियमित निगरानी र अनुगमन गरिरहेको छ । यही जेठ पहिलो हप्ता नै काठमाण्डौ महानगरका मेयर बालेन्द्र शाहले उपचारका लागि आउने विपन्न, असहाय, बेवारिसे बिरामीका लागि कुल शय्याको १० प्रतिशत छुट्याइ निःशुल्क उपचार गर्न आफ्नो क्षेत्रभित्रका अस्पतालहरूलाई निर्देशन दिनुभएको थियो । शाहले स्वास्थ्य संस्था सञ्चालन मापदण्ड २०७७, परिच्छेद २४ दफा ७०, ९घ० मा भएको व्यवस्था स्मरण गराउँदै कामपाको अधिकार क्षेत्रमा केन्द्र, प्रादेशिक, स्थानीय सबै प्रकृतिका स्वास्थ्य संस्था छन् । विद्यमान स्वास्थ्यसम्बन्धी ऐन, कानुन र मापदण्ड पूर्ण कार्यान्वयन गराउन प्रभावकारी कदम चाल्न विभिन्न क्षेत्रबाट सुझाव प्रप्त भएको मेयर शाहको भनाइ छ । यो सुविधा दिनका लागि महानगर क्षेत्रभित्र रहेका अस्पतालहरूले प्रचलित कानुन र मापदण्डअनुसार लक्षित वर्गहरूलाई निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने, सेवाग्राहीमैत्री सेवा प्रवाह गर्ने, स्वास्थ्य संस्थाहरूमा कार्यरत स्वास्थ्यकर्मी र अन्य कर्मचारीहरूको प्रचलित कानुनले तोकेको न्यूनतम पारिश्रमिक उपलब्ध गराउने, अस्पतालभित्र रहेका क्यान्टिनमा खाद्य गुणस्तर कायम गर्ने, अनावश्यक प्रयोगशाला परीक्षणका लागि सिफारिस नगर्नेजस्ता कार्यहरू सुधार गरी स्वास्थ्य सेवालाई सबै वर्ग, समूहको पहुँचयोग्य बनाउन पनि सम्बन्ध भएका सबै निकायलाई कामपाले यसअघि नै निर्देशन दिएको छ ।
पाल्पा: नियन्त्रणमा लिइएको अवैध रासायनिक मल (युरियो) राजस्व अनुसन्धान कार्यालय बुटवल पठाइएको छ । गत शनिबार रामपुरको एक सटरमा भण्डारण गरी राखिएको भारतीय कम्पनीको छ सय ५० बोरा अवैध मल फेलापरेको थियो । सोमबार राजस्व अनुसन्धान अधिकृतसहित, करदाता सेवा कार्यालय पाल्पाका प्रमुख र जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब निरीक्षकसहितको टोलीले रामपुरमा ‘शिल’ गरेर राखेको मल अनुसन्धान कार्यालय बुटवल पठाइएको छ । रामपुर–५ बेझाडस्थित विजय श्रेष्ठको घरमा (सटर भाडामा) ‘प्रधानमन्त्री भारतीय जनउर्वरक परियोजना भारत युरिया’ नामक रासायनिक मल भण्डारण गरिएको अवस्थामा फेला परेको थियो । बिल तथा कागजपत्र र सम्बन्धित व्यक्ति फेला नपरेपछि रामपुर नगरपालिकाका उपप्रमुख बालकुमारी थापाको संयोजकत्वमा जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापासहितको सरोकारवालाको टोलीले मल ‘शिल’ गरेर राखेको हो । हालसम्म भण्डारण गरेका सम्बन्धित व्यक्ति पहिचान भएको छैन । प्रतिबोरा ४५ किलो बराबरको तौल छ । गत शनिबार बिहान रम्भा गाउँपालिका–१ हुँगीमा पनि अवैधरूपमा गाडीमा ल्याउँदै गरेको तीन सय ७२ बोरा युरिया मल प्रहरीले नियन्त्रणमा लिएर सोही दिन अनुसन्धानका लागि भन्सार कार्यालय पठाइसकिएको छ ।
काठमाडौं: त्रिभुवन विश्वविद्यालयले आपसमा गाभिइ समायोजन हुन चाहने क्याम्पसलाई असार मसान्तभित्र निवेदन पेस गर्न आह्वान गरेको छ । विश्वविद्यालयको उपकुलपति कार्यालय योजना निर्देशनालयले आज सूचना निकालेर असार मसान्तभित्र निवेदन दिन अनुरोध गरेको हो । त्रिविबाट सम्बन्धन प्राप्त दुई वा दुईभन्दा धेरै क्याम्पस मर्ज हुन चाहेमा आफ्नो क्याम्पस सभा वा सञ्चालक समितिबाट समायोजन हुने निर्णय गरी योजना निर्देशनालयमा निवेदन दिन सक्नेछन् । मर्ज हुन चाहेका क्याम्पसको बेग्लाबेग्दै निवेदन, सम्बन्धन र नवीकरण पत्रहरु, अक्षयकोषको रसिद र मर्ज गर्नुपर्ने औचित्य तथा समाहित हुने क्याम्पस खारेज गर्ने समितिको निर्णय पेस गर्नुपर्नेछ । साथै समायोजन बापत कुनै शुल्क नलाग्ने सूचनामा उल्लेख छ । त्रिभुवनसहितका विश्वविद्यालयको अनुमतिमा ७ सय ५३ निजी, ५ सय ३७ सामुदायिक र झण्डै डेढ सय आङ्गिक क्याम्पस सञ्चालनमा छन् । त्रिविबाट सम्बन्धन पाएका कतिपय आङ्गिक, सामुदायिक र निजी क्याम्पस विद्यार्थी अभावले सङ्कटमा परेका छन् । त्रिविका ५ सय २९ सामुदायिक क्याम्पस छन् । सबैधन्दा धेरै यी क्याम्पसमा विद्यार्थीको अभाव छ ।
प्युठान: प्युठानमा जीप दुर्घटनामा परेका आठ जनाकै मृत्यु भएको छ । स्वर्गद्वारी दर्शन गरेर दाङको लमही फर्किँदै गरेका तीर्थयात्री चढेको लु १ च ६३४५ नम्बरको जीप भिङ्ग्रीको भ्यागुतेमा दुर्घटनामा परेको हो। दुर्घटनामा जीपमा रहेका दुई जना पुरुष, दुई जना महिला र चारजना बालबालिका गरी आठ जनाकै मृत्यु भएको हो । मृत्यु हुनेमा बालक शिशिर खनालसहित तुलसीपुर-१५ कोठरीकी ३४ वर्षीया सरिता शर्मा, उनका १४ वर्षीय छोरा विशाल र ९ वर्षे विकास, गढवा गाउँपालिका ७ का ४० वर्षीय गोविन्द शाह, उनकी ३० वर्षीया श्रीमती राधा नेपाली र छोरा ९ वर्षीय छोरा आदित्य शाह र जीप चालक लमही नगरपालिका-५ का ४९ वर्षीय तारा कुमाल छन्। घोराहीका शिशिर सरिताका साथीको छोरा भएको प्रहरीले जानकारी दिएको छ। मृतक सबैको शव जिल्ला अस्पताल प्युठानमा राखिएको थापाले जानकारी दिए ।
प्युठान: प्युठानको भिंगृमा जीप दुर्घटना हुँदा आठ जना घाइते भएका छन् । स्वर्गद्वारी दर्शन गरेर दाङको लमही फर्किँदै गरेका तीर्थयात्री चढेको लु १ च ६३४५ जीप भिंगृमा दुर्घटनामा परेको हो । जीपमा दुई जना पुरुष, दुई जना महिला र चारजना बालबालिका गरी आठ जना रहेका प्रमुख जिल्ला अधिकारी मदन कोइरालाले जानकारी दिनुभयो । जीप सडकबाट खसेको उहाँले बताउनु भयो । उहाँका अनुसार घाइते आठ जनालाई उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल बिजुवार लगिएको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको कोइरालाले बताउनु भयो ।
गलकोट: आठ वर्षीय एक बालकलाई अप्राकृतिक मैथुन गरेको अभियोगमा बागलुङको बडिगाड गाउँपालिका–७ का १९ वर्षीय इमानसिंह रानालाई १२ वर्ष छ महिना कैद भुक्तान गर्न जिल्ला अदालतले आदेश दिएको छ । अप्राकृतिक मैथुन गरेको पुष्टी गर्दै जिल्ला न्यायाधीश दिवाकर भट्टको इजलासले सो कैदसँगै रु ४० हजार जरिवानासमेत भराउन आदेश दिएको अदालत इजालाश अधिकृत गङ्गाधर सापकोटाले जानकारी दिनुभयो । निज रानाले २०७९ साउन २० गते अप्राकृतिक मैथुन गरेको अभियोगमा पीडित बालकका अभिभावकले साउन २२ गते जिल्ला प्रहरी कार्यालय बागलुङमा उजुरी दिएका थिए । प्रहरीले सोही दिन उनलाई आफ्नै घरबाट गिरफ्तार गरेर भदौ १३ गते उक्त अदालत बागलुङमा मुद्दा दर्ता गरेको थियो ।

