पोखरा: जेठ ३१ र ३२ गते पोखराको प्रदर्शनी केन्द्रमा विज्ञान प्रविधि महोत्सव हुँदैछ । हिमालयन साईन्स फाउण्डेशन र विज्ञान शिक्षक समाजको सह—आयोजनामा गण्डकी प्रदेश स्तरीय विज्ञान प्रविधि महोत्सवको आयोजना गरिएको हो । विद्यालयस्तरदेखि नै विद्यार्थीलाई खोज तथा अनुसन्धानमा अभिप्रेरित गर्ने उद्देश्यले विज्ञान प्रविधि महोत्सवको आयोजना गरिएको हिमालय साईन्स फाउण्डेशनका अध्यक्ष आतंक बस्नेतले जानकारी गराए । उनका अनुसार महोत्सवको सम्पूर्ण तयारी पुरा भएको छ। । गण्डकी प्रदेशका विभिन्न जिल्लाका विद्यालयबाट आएका विद्यार्र्थीले मानव जीवनका विभिन्न समस्याहरुलाई कसरी वैज्ञानिक प्रविधिद्वारा समाधान गर्न सकिन्छ भन्ने समाधानका साथ महोत्सवमा प्रस्तुत हुने उनले बताएका छन् । गण्डकी प्रदेशको राजधानी पोखरामा यस्तो महोत्सवको आयोजना पहिलो पटक गरिएको दाबी उनको छ । उसो त उनले पोखरा मात्रै नभई देशका अन्य प्रदेशमा समेत उक्त कार्यक्रमको आयोजना गरिसकेका छन् । यस अघि लुम्बिनी प्रदेशमा विज्ञान प्रविधि महोत्सवको आयोजना गरिएको थियो । २०७६ बाट उक्त महोत्सवको आयोजना गरिएता पनि कोरोना महामारीले निरन्तरतामा समस्या आएको बस्नेतले बताए । आतंक भन्छन्, “विज्ञानका विषयमा हाम्रो शैक्षिक प्रणाली नै फितलो छ । विद्यालयदेखि नै विज्ञानमा हामीले प्रयोगात्मकलाई विशेष जोड दिनुपर्ने तर घोकन्ते विद्यामा नै हाम्रो साईन्स अड्किएको छ ।” नेपालका वैज्ञानिकहरुलाई संरक्षण गर्न नसक्दा देशले दक्ष वैज्ञानिकहरु गुमाइरहेको भनाई उनको छ । विज्ञान विषयलाई पढाउने तौरतरिकामा फेरबदल गर्नुपर्ने आवश्यकतालाई उनले औंल्याएका छन् । थेउरिकल भन्दा प्राक्टिल विषयलाई प्राथामिकता दिनुपर्ने भनाई उनको छ । कार्यक्रमलाई सफल पार्न विभिन्न संघसंस्थाहरुले सहयोग गरेका छन् । जसमा मुख्य प्रायोजनमा वालाविज एजुकेशन सर्भिसेजले साथ दिएको छ । गण्डकी प्रोभिन्स एकेडेमी अफ साइन्स एण्ड टेक्नोलोजीको सह—प्रायोजनमा आयोजना भएको उक्त महोत्सवलाई अनलाईन एजुकेशन पार्टनरको रुपमा एम्बिसन गुरुले साथ दिएको छ भने इन्टरनेट पार्टनरको रुपमा भायानेटले साथ दिएको छ । स्वास्थ्य सेवा पार्टनरको रुपमा टेककेएर र स्टिम एजुकेशन पार्टनरका रुपमा कारखानाले साथ दिएको बस्नेतले जानकारी गराएका छन् ।
तनहुँ: तनहुँका किसानले क्षति पुगेको बीमा रकम नपाएपछि आन्दोलनमा उत्रिएका छन् । उनीहरूले सदरमुकाम दमौलीमा विरोध प्रदर्शन गर्दै बीमा क्षतिको रकम उपलब्ध गराउने व्यवस्था मिलाइ दिन माग राखेका छन् । नेपाल व्यावसायिक बाख्रा पालक महासङ्घ तनहुँमा आबद्ध किसानले आइतबार प्रदर्शन गरेका हुन् । विदेशी खसी बोका र खाद्यान्न आयात बन्द गर, कृषि र पशुपक्षीजन्य उत्पादनको बजार सुनिश्चित गर, बिमाको भुक्तानी समयमै दे, किसानमैत्री बिमा नीति लागू गर, किसानको समस्या समाधान गर, सबै उमेर र अवस्थाका पशुपक्षीको बिमा गर लगायतका माग राखेर किसानले पर्दशन गरेका हुन् । पटक पटक माग गर्दा पनि बिमा रकम नपाउने र बीमा गर्न पनि नमान्ने भएकोले बाध्य भएर आन्दोलनमा उत्रिनुपरेको बाख्रा पालक किसानको दुखेसो छ । उनीहरूले माग नभए सडक आन्दोलन गर्ने चेतावनीसमेत दिएका छन् । सरकारले बीमा कम्पनीलाई दिनु पर्ने भुक्तानी समयमा नदिएको भन्दै बिमा कम्पनीले क्षतिपूर्ति प्रदान नगरेकोले आन्दोलनमा उत्रिनु परेको नेपाल व्यावसायिक बाख्रा पालक महासङ्घ तनहुँका अध्यक्ष कुशल चन्द्र अधिकारीले बताए । अधिकारी भने, ‘‘तनहुँका बाख्रा पालक कृषकले करिब ८४ लाख रुपियाँ भुक्तानी पाएका छैनन् जेठ महिना दिनभित्रमा रकम प्राप्त नभए थप सशक्त रूपमा चरणबद्ध आन्दोलन गर्छौँ ।’’ नेपाल सरकारबाट पाउनु पर्ने बिमाको प्रिमियम शुल्क बापतको रकम नपाएको भन्दै बिमा बिमा कम्पनीहरूले पशुपक्षी तथा कृषि बालीको बीमा गर्ने र बिमाको दाबी भुक्तानी दिने दुवै कार्य बन्द गरेकोले कृषक मर्कामा परेको अधिकारीले बताए । बीमा कम्पनीको यस्तो कार्यबाट पशुधन तथा कृषि बालीको बिमा हुन नसकी समग्र कृषि तथा पशु कृषि तथा पशुपालन व्यवसाय आर्थिक रूपमा असुरक्षित हुनु परेकोले आन्दोलनमा उत्रिनु परेको महासङ्घका सदस्य चेतबहादुर थापाले बताए । ज्ञापन पत्रमा बिमा कम्पनीहरूले बिमा गर्ने र दाबी भुक्तानी दिने कार्य बन्द गर्नु पूर्व नै विभिन्न माध्यमबाट सरकारी निकायहरूमा अनुरोध गरेको तथा सचेत गराएको भए पनि सोको सुनुवाइ नभएकोले आन्दोलनमा उत्रिनु परेको महासङ्घले जनाएको छ । किसानको बीमा रकम तत्काल उपलब्ध गराउन माग राख्दै प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र प्रदान गरेका छन् । ज्ञापन पत्रमा नेपाल सरकारले बीमा कम्पनीहरूलाई दिनु पर्ने प्रिमियम शुल्क बापतको रकम अविलम्ब भुक्तानी दिई पशुपक्षी तथा कृषि बाली बिमा गर्ने र बीमा दाबी भुक्तानी दिने कार्य सुचारु गर्ने वातावरण निर्माण गर्नको लागि माग ज्ञापन पत्रमा गरिएको छ । ज्ञापन पत्रमा यस्तो विषम परिस्थितिलाई गाभिरता पूर्वक लिई सङ्कटमा रहेको कृषि तथा पशुपालन पेसा व्यवसायमा थप क्षति हुन नदिन आग्रह गरिएको छ । यस्तै किसान बचाउनका लागि यो समस्याको निराकरण गर्न प्रधानमन्त्रीबाट आवश्यक सहजीकरण र मागर्दशन हुनमा आशा एवम् विश्वास व्यक्त गर्दछौ भनी ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।
काठमाडौं: नेपालको अग्रणी अनलाइन फुड डेलिभरी कम्पनी पठाओ नेपालले ‘पठाओ फुड फेस्ट २०२३’ आयोजना गरेको छ । अविस्वसनीय अफर रहेकोले फुड फेस्टको नारा अब भान्सामा ताल्चा लगाउँदा हुन्छ राखिएको कम्पनीले बताएको छ । अफर अन्तर्गत फ्राइज किन्दा बर्गर फ्री, चिउरा किन्दा छोइला फ्री लगायत अन्य सोच्नै नसकिने अफरहरू समेत समावेश गरिएको पठाओ नेपालका प्रवक्ता शशांक शमशेर थापाले जानकारी दिए । जेठ २७ देखि सुरु भएको फुड फेस्ट अहिलेसम्मकै सर्वाधिक ठुलो अनलाइन फुड डेलिभरी फेस्ट हुने कम्पनीले जनाएको छ । फुड फेस्ट असार १५ गतेसम्म सञ्चालन हुने छ । यसबाहेक हरेक दिन फ्ल्यास सेल्स हुन्छ, जसमा सेवाग्राहीले सोच्दै नसोचेको छुट पाइने प्रवक्ता थापा बताउँछन् । अर्डरहरूमा ८० प्रतिशतसम्मको छुट उपलब्ध छ । थापाका अनुसार, यस फुड फेस्टमा केही रेष्टरेन्टहरूबाट ९९९ रुपैयाँभन्दा माथिको अर्डर गर्दा बाह्रसिंगे बियर सित्तैमा पाइनेछ । जसले बियरका पारखीहरूलाई थप रोमाञ्चक बनाउने थापाले बताए । यस्तै ग्राहकले हरेक अर्डरमा ‘स्योरशट प्राइज’को स्क्र्याच कार्ड पाउनेछन्, जसमा हरेकले केही न केही पुरस्कार जित्ने निश्चित हुने कम्पनीले बताएको छ । पुरस्कारमा धुलिखेल जिपलाइनको एक हजार रुपैयाँको भौचर, सीजी नेटको तीन महिनाको फ्री इन्टरनेट सब्सक्रिप्सन, डिशहोम टिभीमा तीन महिना फ्री रिचार्ज, डिशहोम गो एपमा तीन महिनाका लागि फ्री सब्सक्रिप्सन जित्न सकिने छ । यस्तै, क्युएफएक्स मुभी बुकिङमा तथा यति एयरलायन्सको टिकट बुकिङमा पनि छुट पाउन सकिनेछ भने गितार शपको पनि सपिङ भौचर पाउन सकिनेछ । अफर अविधिभर फुड अर्डर गर्ने मध्येबाट भाग्यशाली १०० जनाले एक वर्षका लागि पठाओ फुडबाट निःशुल्क डेलिभरी जित्ने मौका समेत दिने जनाएको छ । हरेक हप्ता लक्की ड्रमा एक जनाले वानप्लस एन २० एसई र गितार शपबाट गितार जित्ने मौका समेत रहेको छ । बम्पर प्राइजमा एक जनाले आईफोन १४ प्रो जित्ने अवसर पाउने थापाले जानकारी दिए । पठाओले साप्ताहिक तथा बम्पर लक्की ड्रका विजेताको घोषणा सामाजिक सञ्जालमार्फत कम्पनीले गर्नेछ ।
पोखरा: फेवाफांटका स्थानियले पोखरा महानगरमा धर्ना दिएका छन । फेवाफांटका स्थानियहरुले फेवाफांट संघर्ष समिति बनाएर पोखरा महानगरले कोहीलाई काखा र कोहीलाई पाखा गरेको भन्दै फेवाफांटमा वर्षौदेखी खेती गर्दै आएका स्थानियहरुले महानगरमा नाराबाजी सहित धर्ना दिएका हुन । फेवाफांटको जग्गालाई पोखरा महानगरपालिकाले आबास र कृषि गरी छुट्याइरहदा आबासमा परेका ब्याक्तिहरुले प्लटिङ गरेकै कारण कृषियोग्य जग्गा डुवानमा परेको भन्दै महानगरमा ध्यानाकर्षण सहित धर्ना दिएका हुन । महानगरले आबास र कृषि गरी जग्गा छुट्याइएकै कारण आबासमा परेकाहरुले धमाधम माटो पुरेर प्लटिङ गरिरहेकाले आफुहरुको जग्गा होचो भागमा परी पानी जमेर खेतीपाती गर्न समेत गाह्रो परेकै कारण वर्षा अगावै महानगरमा ध्यानाकर्षण गराउन आएको स्थानिय देवीलाल लामिछानेले बताएका छन् । महानगरको दोहोरो नियमका कारण आफुहरु मर्कामा परेकै कारण महानगरमा धर्ना दिनुपरेको वताउदै लामिछानेले फेवाताल संरक्षणको नाममा धन्दा चलाउनेहरुले बास्तबिक पिडितहरु झनै पिडित बनेको बताए । लामिछाने आयोग र पुण्य पौडेलको प्रतिवेदन अनुसार आफुहरुको जग्गा फेवातालमा नपर्ने उनको भनाइ रहेको छ । चारकिला भित्रको जग्गालाई आवास बनाउनेहरुले आफुहरुलाई दिनानुदिन दुख दिने काम भइरहेको र सिमसार भनेर केही काम गर्न नदिएको बताए । चार किल्ला भित्रको जग्गालाई संरक्षण गर्न नसक्नेहरुले केही ब्याक्तिहरुको लहडमा लागेर सिमसार भनी कोहीलाई पाखा र कोहीलाई काखा बनाउने तयारी समेत भइरहेको र त्यसो गरिए आफुहरुले आन्दोलनलाई कडा रुपमा अगाडि बढाउने समेत चेतावनी दिए । लामिछाने जस्तै धर्नामा सहभागी कुलप्रसाद तिमिल्सिनाले महानगरले आबासका नाममा घडेरी बनाउनेलाई काखा र घडेरी बनाउदा पुरेको माटोका कारण डुबानमा परेका जग्गाधनीहरुलाई पाखा लगाउने काम गरेको वताए । फेवाफांटका जग्गाधनीको लालपुर्जा एउटै भएपनि पछिल्लो समय महानगरले जग्गाको वर्गीकरण गर्दा कसैलाई आबास र कसैको कृषिमा पारेकै कारण आफुहरुको जग्गा होचो भागमा परी वर्षायाममा पोखरी बनेर खेती गर्न सकस परेको छ । त्यसो त आफुहरुले आफ्नो जग्गालाई कृषि प्रयोजनको लागी माटोले पुरेर प्लटिङकै बरावर बनाइ खेती गर्न पाउनुपर्ने स्थानियको माग छ । स्थानियहरुले युवा ब्यवशायी युवराज खतिवडालाई माटो पुर्नका लागी नियमअनुसार काम लगाउदा उनको डोजर र ट्रिपर नियन्त्रणमा लिनु दुखद भएको स्थानिय निर्मला तिमिल्सिनाले वताइन । तिमिल्सिनाका अनुसार कृषि प्रयोजनका लागी माटो पुर्दा ब्यवशायीको सवारी साधन नियन्त्रणमा लिनुभन्दापनि आफुहरुलाई नियन्त्रणमा लिएर कारबाही गर्न चुनौती समेत दिए । धर्ना कार्यक्रममा पुगेका युवा ब्यवशायी युवराज खतिवडाले आफुले स्थानियहरुको माग अनुसार नै महानगरले कृषि भनेर तोकेको क्षेत्रमानै माटो पुरेको बताए । स्थानियले आफुलाई माटो पुरिदिन आग्रह गरेको र आफुले नियम अनुसारनै माटो पुरेको तर पछिल्लो समय अन्य प्रयोजनको लागी बाटोमा हिडिरहेको आफ्नो सवारीलाई महानगरले नियन्त्रणमा लिएर अनाहकमा स्टन्टबाजी गरेको खतिवडाको भनाइ रहेको थियो । स्थानियले भने आफुहरुको सुनुवाई नभएसम्म आन्दोलनका कार्यक्रमलाई शसक्त ढंगले अगाडी बढाउने र त्यसको सम्पूर्ण जिम्मा महानगरले लिनुपर्ने अडान राखेका छन ।
विराटनगर: कोशी प्रदेशसभाको दोस्रो तथा बजेट अधिवेशन यही जेठ ३१ गते बुधबार दिउँसो १ बजे बस्ने भएको छ । जेठ २३ गते सभाको सम्पन्न बैठक पछि अर्को सूचना जारी नभएसम्म सभामुख बाबुराम गौतमले बैठक स्थगित गर्नुभएको हो। कोशी प्रदेशसभा नियमावली, २०७४ को नियम ६ बमोजिम प्रदेशसभाका सबै सदस्यलाई जानकारीको लागि यो सूचना जारी गरेको प्रदेशसभा सचिवालयका सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिनुभयो छ।
काठमाडौं: हाल देशमा पश्चिमी वायुको साथै भारतको विहारमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । यसका कारण कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी र बागमती प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । दिउँसो कोशी, मधेस, बागमती प्रदेशलगाय देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा र मधेस प्रदेशलगायत बाँकी देशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । आज काठमाडौँको न्यूनतम तापक्रम २१ दशमलव ५ र ३२ दशमलव २ डिग्री सेल्सियस रहेको छ ।
पर्सा: वीरगंज महानगरपालिका–१० मा विभिन्न हतियरामा प्रयोग हुने १ सय २ राउण्ड गोली फेला परेको छ । प्रहरीका अनुसार हर्नेटमा प्रयोग हुने १७ राउण्ड, एसएलआरमा प्रयोग हुने ४ राउण्ड, ९ एमएमको ३२ राउण्ड, ३८ बोरको २४ राउण्ड, ४५ एमएमको ४ राउण्ड, फेडेरल म्यागनममा प्रयोग हुने ८ राउण्ड, विनचेस्टरमा प्रयोग हुने ५ राउण्ड, ५४ एमएमको ३ राउण्ड, ७ एमएमको १ राउण्ड र बिग्रेको खोका ४ राउण्डगरी कुल १ सय २ राउण्ड गोली आज (आइतबार) बिहान बरामद गरेको हो । वीरगंज महानगरपालिकाको जेसीबीको सहयोगमा बाटोको नाला सफा गर्ने क्रममा शंकास्पद रुपमा प्लास्टिकको झोला भेटिएको भन्ने सूचनाको आधारमा प्रहरी चौकी आदर्शनगरबाट खटिएको प्रहरीले झोला जाँच गर्ने क्रममा उक्त परिमाणको गोली फेला पारेको थियो । सो विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
पोखरा: मुआथाई खेलको अन्तर्राष्ट्रिय छाता संस्था वर्ल्ड मुआथाईको नेपाल प्रतिनिधिमा खगेन्द्र क्षेत्री मनोनयन भएका छन् । वर्ल्ड मुआथाईले क्षेत्रीलाई नेपालमा मुआथाई खेलको विकास एवं प्रवर्द्धन गर्न जिम्मेवारी दिंदै नेपालको प्रतिनिधि समेत तोकेको हो । प्रदेश खेलकुद परिषद गण्डकीका वोर्ड सदस्यसमेत रहेका क्षेत्री लामो समय देखि मुआथाई खेलको विकासमा कार्यरत छन् । खेलाडी हुँदै प्रशिक्षकसमेत बन्न सफल रहेका क्षेत्री वर्ल्ड मुआथाईले नेपालमा आयोजना हुने मुआथाई खेलका गतिविधि बारे जानकारी राख्न र अवलोकन गर्न समेत अनुमती प्रदान गरेको छ । नेपाली खेलाडीहरु अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागि हुन जाँदासमेत अब क्षेत्रीले प्रमाणिकरणसमेत गर्नुपर्ने गरी वर्ल्ड मुआथाई तोकेको छ । आफूलाई दिएको जिम्मेवारीका लागि आभार व्यक्त गर्दै क्षेत्रीले नेपालमा प्रोफेशनल मार्शल आर्ट खेललाई विकास तथा विस्तारका लागि योजनावद्ध रुपमा अघि बढ्ने बताए । उनले भने–“मलाई जुन जिम्मेवारी दिएको छ त्यसलाई सतप्रतिशत रुपमा अघि बढाउने छु भने विद्यालयस्तरबाटै खेलाडी उत्पादन गर्ने मेरो मुख्य ध्येय हुनेछ ।” स्मरणिय के छ भने क्षेत्रीले आफ्नै पहल तथा निजि खर्चमा हालै पोखरामा विद्यार्थी लक्षित ४५ दिने मुआथाई समर क्याम्प सञ्चालन गरेका थिए । जसमा १ सय भन्दा वढि विभिन्न उमेर समुहका विद्यार्थीहरुको सहभागिता रहेको थियो । हिन्दु र बौद्ध धर्मको समिश्रण रहेको मार्शल आर्ट खेल मुआथाई विश्वमा नै सर्वाधिक लोकप्रिय र धेरै राष्ट्रमा खेलिने खेलको रुपमा रहेको छ । तर नेपालमा भने आपसी विबाद र खेलकुदमा गरिने राजनितिक प्रभावले यो खेल समेत त्यही भूमरीमा गाँजिन पुगेको छ । विश्वमा मुआथाईको एउटै खेल महासंघ भए पनि नेपालमा कुर्सीको लुछाचुँडीले ‘मुआथाई’ ‘मोआथाई’ र ‘मोवाथाई’ नाममा छुट्टा छुट्टै संघहरु गठन छन् । तर उनीहरुको खेलको प्रकिति, नियम, उद्गमस्थल भने एउटै हो ।
काठमाडौं: उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजनीतिलाई सफा नगरी देश परिवर्तन गर्न नसकिने बताउनुभएको छ । आइतबार काठमाडौंमा भएको एक कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । लोकतन्त्र नभएका कारण देश पछि रह्यो भनेर आन्दोलन गरी लोकतन्त्र स्थापित गरे पनि नागरिकले चाहेको आवश्यकता पूर्ति गर्न नसकिएको उहाँको भनाइ छ । उहाँले राजनीतिक व्यवस्था र परिवर्तनको नेतृत्वको कार्यान्वयन गर्ने जिम्मा लिएका नेतृत्वको कमजोरीका कारण यस्तो समस्या भोग्नुपरेको बताउनुभयो । राजनीतिबाट भागेर लोकतन्त्रको रक्षा गर्न र उपलब्धि बचाउन नसकिने भन्दै राजनीतिमै रहेर देश परिवर्तन गर्न सकिने स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, ‘लोकतन्त्र नभएका कारण देश पछि रह्यो भनेर हामीले लडेर लोकतन्त्र ल्यायौँ । यति धेरै लोकतन्त्रका निम्ति सङ्घर्ष भएको देश पनि कमै छन् ।’ मुलुकमा लोकतन्त्र आए पनि जनतालाई दिनुपर्ने सेवा चाहेजति दिन नसकिएको उहाँले स्वीकार गर्नुभयो । यो राजनीतिक व्यवस्था र परिवर्तनको नेतृत्वको कार्यान्वयन गर्ने नेतृत्वको कमजोरी भएको उहाँले बताउनुभयो । “राजनीतिलाई सफा नगरीकन यो देशमा परिवर्तन गर्न सकिँदैन । त्यो जिम्मा हामीमा छ, साथै सबै नागरिकमा छ” गृहमन्त्री श्रेष्ठले भन्नुभयो, “राजनीतिबाट भागेर होइन, राजनीतिमै रहेर हामीले बनाउने कि बर्बाद गर्ने यसमै निहित छ ।” मन्त्री श्रेष्ठले १२ कक्षा पास गरिसकेपछि विदेश जानेक्रम नेपालका लागि संस्कृतिजस्तो बन्न थालेकोमा चिन्ता व्यक्त गर्नुभयो । विकास र विज्ञानलाई मिसाएर नेपालको संस्कृतिको रक्षा गर्नुपर्ने अहिलेको आवश्यकता रहेको उहाँको भनाइ छ ।

