काठमाण्डौ: निर्यात व्यवसायी महासङ्घ नेपालले कटन र उनीको धागोमा लगाइएको कर हटाउन सरकारसँग माग गरेको छ । सोमवार आज अर्थ मन्त्रालयमा अर्थमन्त्री डा।प्रकाशशरण महतलाई ध्यानाकर्षण गराउँदै महासङ्घले निर्यातजन्य वस्तुको कच्चा पदार्थमा लगाएको कर खारेज गर्न माग गरेको हो । व्यवसायीहरुले अर्थमन्त्रीलाई घरेलु तथा साना उद्योगमा दर्ता हुने भएकाले भ्याटमा दर्ता हुन नपर्ने व्यवस्था कायम रहनुपर्ने माग राखेको छ । महासङ्घका अध्यक्ष शंकरप्रसाद पाण्डेले कच्चा पदार्थको पहिले रहेको भ्यालुमा १५ प्रतिशतसम्म कर थप गरेको भन्दै १५ प्रतिशत कर घटाउनुपर्ने बताउनु भयो । उहाँले सरकारले कच्चा पदार्थमा कर बढाउनु भनेको आयातलाई प्रोत्साहन गर्नु भएको बताउनु भयो। उहाँले सरकारले विगतमा निर्यातजन्य उद्योगमा ५० प्रतिशतसम्म आयकरमा छुट दिएपछि १२ प्रतिशत कर तिर्नु पर्नेमा आउँदो आर्थिक वर्षदेखि कर वृद्धि हुँदा २० प्रतिशत पुगेको बताउनु भयो। उहाँले सरकारले विद्यमान करको व्यवस्थालाई कायम राख्न अर्थमन्त्रीसँग माग गरिएको बताउनु भयो।
काठमाडौं: नेपालको भौगोलिक अवस्था (हिमाल, पहाड र तराई) अनुसार आ-आफ्नै विशेषतायुक्त हावापानी छ । फरक हावापानीका कारण विपद्जन्य घटनाको प्रकृति पनि फरक-फरक देखिँदै आएको छ । पहाडी भेगमा पहिरो, तराईमा बाढी र हिमाली क्षेत्रमा हिमपहिरोका घटना भइरहेका छन् । मनसुनको समयमा अन्य बेलाभन्दा बढी बाढीपहिरोले जनजीवन प्रभावित बनाउने गर्दछ । पछिल्लो समय जलवायु परिवर्तनको असरका कारण एकै ठाउँमा धेरै पानी पर्ने र ठुलो भेल पहिरोसहित बाढी आउने गरेको छ । दुई वर्ष अघि सिन्धुपाल्चोकको मेलम्चीकामा आएको बाढीपहिरोले यसलाई पुष्टि गर्दछ । नेपालका कतिपय जिल्ला बढीबाट बढी प्रभावित छन् भने कतिपय जिल्ला पहिरोबाट बढी प्रभावित छन् । यस्तै केही जिल्ला बढी र पहिरो दुवैको जोखिममा छन् । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यस वर्ष मनसुनको समयमा कुन जिल्लामा कस्तो जोखिम पर्न सक्छ भनी अध्ययन गरेर विभिन्न आङ्कलन सार्वजनिक गरेको छ । यस वर्ष विभिन्न जिल्ला उच्च जोखिम, जोखिम र बारम्बार भइरहेको जोखिमको सूचिमा राखेर विवरण सार्वजनिक गरिएको प्राधिकरणले जनाएको छ । विगतको तथ्याङ्क, मौसम प्रणाली, यस वर्षको मनसुन पूर्वानुमानलगायत विभिन्न सूचकको विश्लेषणका आधारमा आउँदो मनसुनका समयमा नेपालका २० जिल्ला पहिरोको उच्च जोखिममा छन् भने अन्य ३३ जिल्ला पहिरोको मध्यम जोखिममा छन् । प्राधिकरणका अनुसार २२ जिल्ला भने बारम्बार बाढीबाट प्रभावित भएका पाइएको छ । यस्तै सात जिल्ला बाढीपहिरो दुवैबाट प्रभावित हुँदै आएको प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले जानकारी दिनुभयो । आउँदो मनसुनको पूर्व तयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजनाले यस वर्ष १२ लाख ५० हजार मानिस विपद्बाट प्रभावित हुने आङ्कलन गरेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार जल तथा मौसम विज्ञान विभागले यस वर्ष देशभर नै मनसुनका समयमा औषतभन्दा कम पानी पर्ने अनुमान सार्वजनिक गरिसकेको छ । “औसतभन्दा कम पानी पर्ने भन्दैमा पानी नै नपर्ने र बाढीपहिरो नआउने भन्ने होइन”, विभागका महानिर्देशक कमलराम जोशीले भन्नुभयो, “उत्तिकै सावधानी अपनाउनु जरुरी छ ।” अध्ययनपश्चात् गरिएको आङ्कलनका आधारमा गतवर्ष २० लाख मानिस प्रभावित हुने भनिएकामा यस वर्ष त्यो सङ्ख्या केही घट्ने देखिएको भन्दै यस वर्ष १२ लाख ५० हजार मानिस प्रभावित हुने आङ्कलन गरिएको उहाँले जानकारी दिनुभयो । महानिर्देशक जोशीका अनुसार नेपालमा मनसुनजन्य विपद्का कारण भारी वर्षा हुनुका साथै बाढीपहिरोको जोखिम हुन्छ । मनसुनको अवधिमा झाडापखाला, हैजा जस्ता पानीजन्य रोगको सङ्क्रमण बढ्नुका साथै सर्पदंश, डेंगु, मलेरियाजस्ता किटजन्य रोगको जोखिम बढ्ने भएकाले स्वास्थ्य क्षेत्रमा आबद्ध व्यक्तिलाई पनि तयारी अवस्थामा राख्नुपर्ने विपद् व्यवस्थापन विज्ञको भनाइ छ । उच्च जोखिममा रहेका जिल्ला विगतको तथ्याङ्क, बारम्बार मनसुनको समयमा पहिरो गइरहेका र यस वर्षको मनसुनसम्बन्धी पूर्वानुमानका आधारमा बाढीबाट उच्च जोखिममा पर्ने जिल्लाको सूची सार्वजनिक गरिएको छ । उच्च जोखिममा परेका जिल्लामा इलाम, पाँचथर, धनकुटा, तेह्रथुम, ओखलढुङ्गा, ललितपुर, नुवाकोट, धादिङ, तनहुँ, स्याङ्जा, पाल्पा, गुल्मी, अर्घाखाँची, बागलुङ, प्युठान, रोल्पा, रुकुम पश्चिम, दैलेख, अछाम र बैतडी रहेका छन् । मध्यम जोखिममा रहेका जिल्ला यस्तै प्राधिकरणले पहिरोको मध्यम जोखिममा रहेका जिल्लाको सूचि पनि सार्वजनिक गरेको छ । जसअनुसार ताप्लेजुङ, सङ्खुवासभा, भोजपुर, खोटाङ, उदयपुर, सोलुखुम्बु, सिन्धुली, रामेछाप, दोलखा, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, मकवानपुर, रसुवा, गोरखा, लमजुङ, कास्की, पर्वत, मनाङ, मुस्ताङ, म्याग्दी, रुकुम पूर्व, डोल्पा, जुम्ला, मुगु, कालीकोट, हुम्ला, सल्यान, जाजरकोट, डोटी, डडेलधुरा, बाजुरा, बझाङ, र दार्चुला रहेका छन् । बारम्बार बाढी गइरहेका जिल्ला बारम्बार बाढीबाट प्रभावित हुने जिल्लामा झापा, मोरङ, सुनसरी, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, चितवन, नवलपुर, परासी, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, सुर्खेत, कैलाली र कञ्चनपुर छन् । तराईका केही जिल्लामा भने पछिल्ला समयमा बाढीको प्रभाव कम हुँदै गएको प्राधिकरणले जनाएको छ । बाढीपहिरो दुवैबाट प्रभावित जिल्लामा सिन्धुली, काठमाडौं, सिन्धुपाल्चोक, कास्की, बझाङ, बाजुरा, र उदयपुर छन् । यसपटक भित्रिन लागेको मनसुनका समय हुने विपद् जोखिमको प्रभावकारी प्रतिकार्यका लागि सबै सुरक्षा निकायअन्तर्गत खोज र उद्धार जनशक्ति तयारी अवस्थामा राखिएको प्राधिकरणले जनाएको छ । विभिन्न निकायअन्तर्गत रहेका विपद्का समयमा उद्धार तथा राहतसँग सम्बन्धित स्रोतसाधन तथा आवश्यक यन्त्र, उपकरण सातवटै प्रदेशमा तयारी अवस्थामा राखिएको छ । बहुप्रकोपीय जोखिम आङ्कलन विधि तथा कार्ययोजना तयार गर्न प्राधिकरणका सहसचिवको नेतृत्वमा गृह मन्त्रालय, सहरी विकास मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, कृषि तथा पशुपक्षी मन्त्रालय, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, केन्द्रीय तथ्याङ्क कार्यालय, जल तथा मौसम विज्ञान विभाग, खानी तथा भू–गर्भ विभाग एक कार्यदल पनि गठन भएको छ । तातो हावाको लहरबाट उत्पन्न परिस्थितिका सम्बन्धमा प्रभावितलाई सहयोग पुर्याउन तत्काल राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट सङ्घीय निकाय, प्रदेश सरकार, स्थानीय तह तथा सङ्घ संस्थासँग आवश्यक समन्वय गर्ने जिम्मेवारी पनि तोकेको छ ।
नवलपुर: नवलपुरको कावासोती नागरपालिकामा कक्षा ५ सम्म निःशुल्क शिक्षा प्रदान गर्ने सहमतिपछि नगरपालिकामा लगाइएको ताला खुलेको छ । विभिन्न शैक्षिक माग राख्दै नेपाल विद्यार्थी सङ्घ कावासोतीले कावासोती नगरपालिकामा १० दिनदेखि ताला लगाइएको थियो । नेपाल विद्यार्थी सङ्घ र कावासोती नगरपालिकाको वार्ता टोलिबीच भएको वार्तामा आगामी आर्थिक वर्ष २०८०/८१ मा नगरभित्रका सामुदायिक विद्यालयमा कक्षा ५ सम्म कुनै प्रकारको शुल्क नलिने गरी कार्यक्रम र बजेट व्यवस्था गरिने तथा शैक्षिकसत्र २०८१ देखि लागू गर्नेगरी सहमति बनेको छ । सहमतिपछि ताला खोलिएको नेविसंघ नवलपुरका अध्यक्ष हरि सुवेदीले बताए । त्यसैगरी माध्यमिक तहसम्म अध्ययनरत गरिब तथा विपन्नजस्ता लक्षित वर्गलाई निःशुल्क शिक्षा प्रदान गर्न कार्यविधि बनाई यही शैक्षिक वर्षबाट कार्यान्वयन गरिने सहमति भएका नेविसंघ कावासोतीका नगर संयोजक कुमार क्षेत्रीले जानकारी दिए । नेविसंघ सङ्घ कावासोती नगरसमितिले १५ दिनदेखि माध्यमिक तहसम्मको शिक्षा निःशुल्क हुनुपर्ने माग गर्दै आन्दोलन गर्दैआएको थियो ।
काठमाडौं: सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निजामती कर्मचारीले कार्यालय समयमा टिकटक बनाए कारबाही गर्ने भएको छ । मन्त्रालयले एक सूचना प्रकाशित गरी कार्यालय समयमा टिकटक नबनाउन निर्देशन दिएको हो । कार्यालय समयमा कार्यालयको पोसाक लगाएर, कार्यालयको गाडी प्रयोग गरेर र कार्यालय हाताभित्र टिकटक बनाउन रोक लगाइएको मन्त्रालयका सहसचिव एवं प्रवक्ता कमलप्रसाद भट्टराईले बताउनुभयो । उहाँले भन्नुभयो,‘कार्यालयसँग सम्बन्धित कामबारे पनि टिकटक नबनाउन हामीले निर्देशन दिएका छौँ, यदि निजामती कर्मचारीले यस्ता नियम उल्लङ्घन गरेको पाइएमा अनुशासन नियमअन्तर्गत कारबाही हुनेछ ।’ पछिल्लो समय टिकटकमा निजामती कर्मचारी उच्छृङ्खल भएको भन्दै गुनासो आएकाले यो कदम चालिएको मन्त्रालयले जनाएको छ ।
काठमाण्डौ: प्रधानन्यायाधीशमा प्रस्तावित हरिकृष्ण कार्कीको सुनुवाइ आउँदो बिहीवार जेठ ३२ गते हुने भएको छ । संसदीय सुनुवाइ समितिको आज सोमवार सिंहदरबारमा बसेको बैठकले प्रधानन्यायाधीशमा प्रस्तावित कार्कीको सुनुवाइ जेठ ३२ गते गर्ने र र त्यसै दिन त्यो प्रस्तावलाई अनुमोदन गर्नेलगायतको कार्यतालिका परिमार्जनसहित पारित गरेको हो । कार्यतालिकामा उजुरीकर्ताहरूसँग छलफलका लागि जेठ ३० गते बुधवार बिहान ११ बजेको समय तोकिएको छ । प्रस्तावित प्रधानन्यायाधीश कार्कीको सुनुवाइ गर्ने र त्यो प्रस्ताव अनुमोदन गर्नेलगायतका सचिवालयको प्रस्तावित कार्यतालिका परिमार्जनसहित पारित गरिएको समितिका ज्येष्ठ सदस्य पशुपतिशम्शेर राणाले जानकारी दिनुभयो । गएको वैशाख २५ गते बसेको संवैधानिक परिषद्को बैठकले सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश कार्कीलाई प्रधानन्यायाधीशमा प्रस्ताव गरेको थियो । समितिमा प्रस्तावित प्रधानन्यायाधीश कार्कीमाथि २९ वटा उजुरी परेको र त्यो उजुरी अध्ययनका लागि समितिका सदस्यहरूलाई दिइएको छ ।
पोखरा: कञ्चल क्यापिटल प्रालिले ‘रक्तदान जीवनदान’ भन्ने नारासहित रक्तदानको आयोजना गर्ने भएको छ । संस्थाको चौथो वार्षिकोत्सवको अवसरमा आगामी ४ गते सोमबार पोखरा २ अर्चलबोटस्थित कञ्चन डिपार्टमेन्टको प्रागंणमा आयोजना गर्ने कञ्चन क्यापिटलका अध्यक्ष विमल गुभाजुले जानकारी दिए । ‘हामीले संस्थाको वार्षिकोत्सवको अवसरमा रचनात्मक कार्यक्रम गरौ भन्ने थियो, उनले भने, ‘अहिले पोखरामा रगतको अभाव भएको बुझिएकाले रक्तदानको आयोजना गर्न लागेका हौं ।’ उनका अनुसार संस्थाले हरेक वर्ष वार्षिकोत्सवको अवसरमा रक्तदान आयोजना गर्दै आएको छ । सोमबार बिहान ८ बजेदेखि रक्तदान सुरु हुने छ भने रक्तसञ्चार केन्द्र रामघाटले प्राविधिक सहयोग गर्ने छ ।
पोखरा: पोखरा महानगरपालिका ९ न्यूरोडस्थित निलगिरी बोर्डिङ स्कुलको छतबाट हाम फालेर गम्भीर घाइते भएकी चाहात शाहको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरिक्षक श्रीराम तिमिल्सिनाका अनुसार मणिपाल अस्पतालमा उपचारको क्रममा हिजो (आइतबार) नै मृत्यु भएको हो । अहिले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शाहको पोष्टमार्टम भइरहेको प्रहरी निरिक्षक तिमिल्सिनाले बताए । ‘मृत्यु हिजो नै भएको हो, तिमिल्सिनाले सुनगाभा न्यूजसँग भने, ‘अहिले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोष्टमार्टन भइरहेको छ ।’ निलगिरी बोर्डिङमा अध्ययरत भारतको बिहार मोतिहारी घर भएकी १५ वर्षीय चाहात शाह ट्युसन पढ्न गएको बेला स्कुलको छतबाट हाम फालेकी थिइन् । शाहको मृत्युपश्चात स्कुलले आज (सोमबार) विदा दिएको छ । स्थायी घर भारतको बिहार मोतिहारी भएकी शाह पोखरा महानगरपालिका ८ स्थित बगालेटोल बस्दै आएकी थिइन् । उनी के कारणले हाम फालिन भन्ने विषयबारे थप अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ । यद्यपी विद्यालयले भने हाम फालेको नभई अचानक खसेको दाबी गरेको छ ।
पोखरा: कास्कीको माछापुच्छ्रे गाउँपालिका ६ स्थित कैलाश टेत्सुओ प्राथमिक विद्यालयका प्रधानाध्यापक नारायणप्रसाद पौडेलविरुद्ध मुदा दर्ता भएको छ । पौडेलले चर्पी निर्माण गर्दा भ्रष्ट्राचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्धा दायर गरेको हो । आर्थिक वर्ष २०६७/०६८ मा विद्यालयको चर्पी निर्माण गर्न रकम निकासा भएको रकम हिनामिना गरेको भन्दै तत्कालीन प्रधानाध्यापक पौडेलविरुद्ध आइतबार विशेष अदालत काठमाडौंमा मुद्दा विज्ञप्तीमा उल्लेख छ । ‘रकम बैंकबाट झिकेको तर शौचालय निर्माणका लागि कुनै पहल नगरेको, जिल्ला शिक्षा कार्यालयबाट कार्य सम्पन्न हुन नसकेको भए उक्त रकम बेरुजु खातामा दाखिला गर्न पटक पटक निर्देशन दिइएकोमा प्रधानाध्यापक नारायणप्रसाद पौडेलले रकम दाखिलासमेत नगरी शौचालय निर्माणको लागि आएको २ लाख र विद्यालयको नाममा रहेको अक्षय कोषको १ लाख १२ हजार गरी जम्मा ३ लाख १२ लाख हिनामिना गरी सार्वजनिक सम्पतिको हानिनोक्सानी गरेको कार्य भएको बिगो रकम निजबाट असुल उपर हुनसमेत मागदाबी लिई विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ,’ अख्तियारले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएकाे छ ।
काठमाडौं: राष्ट्रिय तथ्यांक कार्यालयले मगर थर ‘पुन’लाई छुट्टै जातको रूपमा राखेर तथ्यांक सार्वजनिक गरेपछि नेपाल मगर संघले आपत्ति जनाउदै विरोध प्रदर्शन गरेको छ । तथ्यांक कार्यालयले जारी गरेको २०७८ को जनगणना अनुसार पुन’ थरको ०.०३ प्रतिशत जनसँख्या छुट्टै सार्वजनिक गरेको थियो । नेपाल मगर संघले ‘पुन’ मगर जातिको थर रहेको बताउदै फेरि तथ्याङ्क सच्याएर सार्वजनिक गर्नुपर्ने माग राखेको छ । नेपालको जातजाति, भाषा तथा धर्मसम्बन्धी तथ्यांकमा ‘पुन’लाई छुट्टै जात नभई मगर जातिको थर रहेको मगर संघको स्पष्टोक्ति छ । मगर संघले ‘पुन’ थर ‘मगर’ जातभित्र पर्ने भन्दै संघले राष्ट्रिय तथ्यांक कार्यालय परिसर पुगेरै सच्याउन माग गरेको महासचिव टेक बहादुर नाम्जाली मगरले जानकारी दिए । सो विरोध कार्यक्रममा आदिवासी जनजनति घटकका विभिन्न संगठनहरुकोसमेत ऐक्यबद्धता रहेको थियो ।

