प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले सभामुख पदमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद अर्याल निर्वाचित भएको घोषणा गर्नुभएको छ ।   आइतबार बिहान ११ बजे सिंहदरबारस्थित निर्मा...

पोखरा: फेवाफांटका स्थानियले पोखरा महानगरमा धर्ना दिएका छन । फेवाफांटका स्थानियहरुले फेवाफांट संघर्ष समिति बनाएर पोखरा महानगरले कोहीलाई काखा र कोहीलाई पाखा गरेको भन्दै फेवाफांटमा वर्षौदेखी खेती गर्दै आएका स्थानियहरुले महानगरमा नाराबाजी सहित धर्ना दिएका हुन ।    फेवाफांटको जग्गालाई पोखरा महानगरपालिकाले आबास र कृषि गरी छुट्याइरहदा आबासमा परेका ब्याक्तिहरुले प्लटिङ गरेकै कारण कृषियोग्य जग्गा डुवानमा परेको भन्दै महानगरमा ध्यानाकर्षण सहित धर्ना दिएका हुन ।   महानगरले आबास र कृषि गरी जग्गा छुट्याइएकै कारण आबासमा परेकाहरुले धमाधम माटो पुरेर प्लटिङ गरिरहेकाले आफुहरुको जग्गा होचो भागमा परी पानी जमेर खेतीपाती गर्न समेत गाह्रो परेकै कारण वर्षा अगावै महानगरमा ध्यानाकर्षण गराउन आएको स्थानिय देवीलाल लामिछानेले बताएका छन् ।   महानगरको दोहोरो नियमका कारण आफुहरु मर्कामा परेकै कारण महानगरमा धर्ना दिनुपरेको वताउदै लामिछानेले फेवाताल संरक्षणको नाममा धन्दा चलाउनेहरुले बास्तबिक पिडितहरु झनै पिडित बनेको बताए । लामिछाने आयोग र पुण्य पौडेलको प्रतिवेदन अनुसार आफुहरुको जग्गा फेवातालमा नपर्ने उनको भनाइ रहेको छ ।   चारकिला भित्रको जग्गालाई आवास बनाउनेहरुले आफुहरुलाई दिनानुदिन दुख दिने काम भइरहेको र सिमसार भनेर केही काम गर्न नदिएको बताए । चार किल्ला भित्रको जग्गालाई संरक्षण गर्न नसक्नेहरुले केही ब्याक्तिहरुको लहडमा लागेर सिमसार भनी कोहीलाई पाखा र कोहीलाई काखा बनाउने तयारी समेत भइरहेको र त्यसो गरिए आफुहरुले आन्दोलनलाई कडा रुपमा अगाडि बढाउने समेत चेतावनी दिए ।     लामिछाने जस्तै धर्नामा सहभागी कुलप्रसाद तिमिल्सिनाले महानगरले आबासका नाममा घडेरी बनाउनेलाई काखा र घडेरी बनाउदा पुरेको माटोका कारण डुबानमा परेका जग्गाधनीहरुलाई पाखा लगाउने काम गरेको वताए । फेवाफांटका जग्गाधनीको लालपुर्जा एउटै भएपनि पछिल्लो समय महानगरले जग्गाको वर्गीकरण गर्दा कसैलाई आबास र कसैको कृषिमा पारेकै कारण आफुहरुको जग्गा होचो भागमा परी वर्षायाममा पोखरी बनेर खेती गर्न सकस परेको छ ।   त्यसो त आफुहरुले आफ्नो जग्गालाई कृषि प्रयोजनको लागी माटोले पुरेर प्लटिङकै बरावर बनाइ खेती गर्न पाउनुपर्ने स्थानियको माग छ । स्थानियहरुले युवा ब्यवशायी युवराज खतिवडालाई माटो पुर्नका लागी नियमअनुसार काम लगाउदा उनको डोजर र ट्रिपर नियन्त्रणमा लिनु दुखद भएको स्थानिय निर्मला तिमिल्सिनाले वताइन । तिमिल्सिनाका अनुसार कृषि प्रयोजनका लागी माटो पुर्दा ब्यवशायीको सवारी साधन नियन्त्रणमा लिनुभन्दापनि आफुहरुलाई नियन्त्रणमा लिएर कारबाही गर्न चुनौती समेत दिए ।    धर्ना कार्यक्रममा पुगेका युवा ब्यवशायी युवराज खतिवडाले आफुले स्थानियहरुको माग अनुसार नै महानगरले कृषि भनेर तोकेको क्षेत्रमानै माटो पुरेको बताए । स्थानियले आफुलाई माटो पुरिदिन आग्रह गरेको र आफुले नियम अनुसारनै माटो पुरेको तर पछिल्लो समय अन्य प्रयोजनको लागी बाटोमा हिडिरहेको आफ्नो सवारीलाई महानगरले नियन्त्रणमा लिएर अनाहकमा स्टन्टबाजी गरेको खतिवडाको भनाइ रहेको थियो ।     स्थानियले भने आफुहरुको सुनुवाई नभएसम्म आन्दोलनका कार्यक्रमलाई शसक्त ढंगले अगाडी बढाउने र त्यसको सम्पूर्ण जिम्मा महानगरले लिनुपर्ने अडान राखेका छन ।

विराटनगर: कोशी प्रदेशसभाको दोस्रो तथा बजेट अधिवेशन यही जेठ ३१ गते बुधबार दिउँसो १ बजे बस्ने भएको छ ।    जेठ २३ गते सभाको सम्पन्न बैठक पछि अर्को सूचना जारी नभएसम्म सभामुख बाबुराम गौतमले बैठक स्थगित गर्नुभएको हो।    कोशी प्रदेशसभा नियमावली, २०७४ को नियम ६ बमोजिम प्रदेशसभाका सबै सदस्यलाई जानकारीको लागि यो सूचना जारी गरेको प्रदेशसभा सचिवालयका सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिनुभयो छ।

काठमाडौं:   हाल देशमा पश्चिमी वायुको साथै भारतको विहारमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।  यसका कारण कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी र बागमती प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । दिउँसो कोशी, मधेस, बागमती प्रदेशलगाय देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा र मधेस प्रदेशलगायत बाँकी देशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । आज काठमाडौँको न्यूनतम तापक्रम २१ दशमलव ५ र ३२ दशमलव २ डिग्री सेल्सियस रहेको छ । 

पर्सा:    वीरगंज महानगरपालिका–१० मा विभिन्न हतियरामा प्रयोग हुने १ सय २ राउण्ड गोली फेला परेको छ ।   प्रहरीका अनुसार हर्नेटमा प्रयोग हुने १७ राउण्ड, एसएलआरमा प्रयोग हुने ४ राउण्ड, ९ एमएमको ३२ राउण्ड, ३८ बोरको २४ राउण्ड, ४५ एमएमको ४ राउण्ड, फेडेरल म्यागनममा प्रयोग हुने ८ राउण्ड, विनचेस्टरमा प्रयोग हुने ५ राउण्ड, ५४ एमएमको ३ राउण्ड, ७ एमएमको १ राउण्ड र बिग्रेको खोका ४ राउण्डगरी कुल १ सय २ राउण्ड गोली आज (आइतबार) बिहान बरामद गरेको हो ।    वीरगंज महानगरपालिकाको जेसीबीको सहयोगमा बाटोको नाला सफा गर्ने क्रममा शंकास्पद रुपमा प्लास्टिकको झोला भेटिएको भन्ने सूचनाको आधारमा प्रहरी चौकी आदर्शनगरबाट खटिएको प्रहरीले झोला जाँच गर्ने क्रममा उक्त परिमाणको गोली फेला पारेको थियो ।   सो विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ  ।  

पोखरा:  मुआथाई खेलको अन्तर्राष्ट्रिय छाता संस्था वर्ल्ड मुआथाईको नेपाल प्रतिनिधिमा खगेन्द्र क्षेत्री मनोनयन भएका छन् ।   वर्ल्ड मुआथाईले क्षेत्रीलाई नेपालमा मुआथाई खेलको विकास एवं प्रवर्द्धन गर्न जिम्मेवारी दिंदै नेपालको प्रतिनिधि समेत तोकेको हो । प्रदेश खेलकुद परिषद गण्डकीका वोर्ड सदस्यसमेत रहेका क्षेत्री लामो समय देखि मुआथाई खेलको विकासमा कार्यरत छन् ।   खेलाडी हुँदै प्रशिक्षकसमेत बन्न सफल रहेका क्षेत्री वर्ल्ड मुआथाईले नेपालमा आयोजना हुने मुआथाई खेलका गतिविधि बारे जानकारी राख्न र अवलोकन गर्न समेत अनुमती प्रदान गरेको छ । नेपाली खेलाडीहरु अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागि हुन जाँदासमेत अब क्षेत्रीले प्रमाणिकरणसमेत गर्नुपर्ने गरी वर्ल्ड मुआथाई तोकेको छ ।   आफूलाई दिएको जिम्मेवारीका लागि आभार व्यक्त गर्दै क्षेत्रीले नेपालमा प्रोफेशनल मार्शल आर्ट खेललाई विकास तथा विस्तारका लागि योजनावद्ध रुपमा अघि बढ्ने बताए । उनले भने–“मलाई जुन जिम्मेवारी दिएको छ त्यसलाई सतप्रतिशत रुपमा अघि बढाउने छु भने विद्यालयस्तरबाटै खेलाडी उत्पादन गर्ने मेरो मुख्य ध्येय हुनेछ ।”   स्मरणिय के छ भने क्षेत्रीले आफ्नै पहल तथा निजि खर्चमा हालै पोखरामा विद्यार्थी लक्षित ४५ दिने मुआथाई समर क्याम्प सञ्चालन गरेका थिए । जसमा १ सय भन्दा वढि विभिन्न उमेर समुहका विद्यार्थीहरुको सहभागिता रहेको थियो ।   हिन्दु र बौद्ध धर्मको समिश्रण रहेको मार्शल आर्ट खेल मुआथाई विश्वमा नै सर्वाधिक लोकप्रिय र धेरै राष्ट्रमा खेलिने खेलको रुपमा रहेको छ । तर नेपालमा भने आपसी विबाद र खेलकुदमा गरिने राजनितिक प्रभावले यो खेल समेत त्यही भूमरीमा गाँजिन पुगेको छ ।   विश्वमा मुआथाईको एउटै खेल महासंघ भए पनि नेपालमा कुर्सीको लुछाचुँडीले ‘मुआथाई’ ‘मोआथाई’ र ‘मोवाथाई’ नाममा छुट्टा छुट्टै संघहरु गठन छन् । तर उनीहरुको खेलको प्रकिति, नियम, उद्गमस्थल भने एउटै हो ।

काठमाडौं: उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजनीतिलाई सफा नगरी देश परिवर्तन गर्न नसकिने बताउनुभएको छ । आइतबार काठमाडौंमा भएको एक कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।    लोकतन्त्र नभएका कारण देश पछि रह्यो भनेर आन्दोलन गरी लोकतन्त्र स्थापित गरे पनि नागरिकले चाहेको आवश्यकता पूर्ति गर्न नसकिएको उहाँको भनाइ छ । उहाँले राजनीतिक व्यवस्था र परिवर्तनको नेतृत्वको कार्यान्वयन गर्ने जिम्मा लिएका नेतृत्वको कमजोरीका कारण यस्तो समस्या भोग्नुपरेको बताउनुभयो ।    राजनीतिबाट भागेर लोकतन्त्रको रक्षा गर्न र उपलब्धि बचाउन नसकिने भन्दै राजनीतिमै रहेर देश परिवर्तन गर्न सकिने स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, ‘लोकतन्त्र नभएका कारण देश पछि रह्यो भनेर हामीले लडेर लोकतन्त्र ल्यायौँ । यति धेरै लोकतन्त्रका निम्ति सङ्घर्ष भएको देश पनि कमै छन् ।’   मुलुकमा लोकतन्त्र आए पनि जनतालाई दिनुपर्ने सेवा चाहेजति दिन नसकिएको उहाँले स्वीकार गर्नुभयो । यो राजनीतिक व्यवस्था र परिवर्तनको नेतृत्वको कार्यान्वयन गर्ने नेतृत्वको कमजोरी भएको उहाँले बताउनुभयो ।    “राजनीतिलाई सफा नगरीकन यो देशमा परिवर्तन गर्न सकिँदैन । त्यो जिम्मा हामीमा छ, साथै सबै नागरिकमा छ” गृहमन्त्री श्रेष्ठले भन्नुभयो, “राजनीतिबाट भागेर होइन, राजनीतिमै रहेर हामीले बनाउने कि बर्बाद गर्ने यसमै निहित छ ।”   मन्त्री श्रेष्ठले १२ कक्षा पास गरिसकेपछि विदेश जानेक्रम नेपालका लागि संस्कृतिजस्तो बन्न थालेकोमा चिन्ता व्यक्त गर्नुभयो । विकास र विज्ञानलाई मिसाएर नेपालको संस्कृतिको रक्षा गर्नुपर्ने अहिलेको आवश्यकता रहेको उहाँको भनाइ छ । 

काठमाडौं: सांसद गगनकुमार थापाले बजेटको प्रभावकारी  कार्यान्वयनमा ध्यान दिन सरकारको ध्यानाकर्षण गराउनुभएको छ।    प्रतिनिधि सभाको आजको बैठकमा आर्थिक वर्ष २०८०र८१ को राजस्व र व्यायको वार्षिक अनुमानमाथिको सामान्य छलफलका क्रममा उहाँले बजेटमा समेटिएका कार्यक्रमलाई परिणाममुखी बनाउन कार्यान्वयन प्रभावकारी बनाउन जरुरी रहेको उल्लेख गर्नुभयो।    नेपाली कांग्रेसका महामन्त्री समेत रहनुभएका सांसद थापाले बजेटको आकार ठूलो छ भन्ने वास्तविकतालाई स्वीकार गरी कार्यान्वयनमा गएको खण्डमा परिणाम निस्कनेमा विश्वास व्यक्त गर्नुभयो। “बजेटको आकार ठूलो छ, यो वास्तविक छैन यसलाई ख्याल गरे कार्यान्वयन गरेर परिणाम निकाल्न सक्नुपर्छ”, उहाँले भन्नुभयो, “बजेट कार्यान्वयन गरेर परिणाम ल्याउन अवास्तविक छ भन्ने कुरालाई स्वीकार गर्नुपर्छ।”   सांसद थापाले जनअपेक्षालाई सम्बोधन गर्ने र अर्थतन्त्रमा देखिएका अप्ठ्यारा हटाइ जनतामा देखिएका निराशालाई आशामा परिणत गर्नेगरी बजेटले लिएको लक्ष्यलाई परिणाममुखी बनाउन ध्यान दिनुपर्ने खाँचो औँल्याउनुभयो।    उहाँले भन्नुभयो, “अर्थमन्त्री आफै पनि यति ठूलो बजेटको आकार ल्याउन चाहनुहुन्नथ्यो। किनकी यो अवास्तविक छ भन्ने कुरा पक्कै पनि उहाँले बुझ्नुभएको छ। यहाँ प्रस्तुत भइसकेपछि बचाउ पनि गर्नुप¥यो। अवास्तविक छ भन्नेकुरालाई मनमा लागे पनि होइन भनेर भन्नुपर्ने स्थिति हुन्छ।”   अर्थमन्त्रीले बजेट भाषण टुङ्ग्याउने क्रममा बजेट कार्यान्वयनमा भएमा समग्रमा ६ प्रतिशत आर्थिक वृद्धि, मुद्रास्फिति ६ दशमलव ५ प्रतिशतमा सीमित हुन्छ भन्ने अनुमान गरेको स्मरण गर्दै सांसद थापाले बजेट कार्यान्वयनबाट लगानीको विस्तार, रोजगारीको अवसरमा वृद्धि, अर्गतन्त्र सुधारका साथै वित्तीय अनुशासन कायम भई राजस्वको लक्ष्य पूरा गर्नुपर्ने बताउनुभयो।    उहाँले बजेटमा साना व्यापारीका समस्या सम्बोधन हुन नसकेको बताउनुभयो। उहाँले भन्नुभयो, “लामो समयदेखि सञ्चालन भएका उद्योग कलकारखाना पनि समस्यामा देखिन्छन्। उनीहरु निराश छन्। उनीहरुले बजेटलाई कति अङ्क दिन्छन् भन्नेकुरा यसको कार्यान्वयनमा भर पर्छ ? साधरण खर्च बढेको र पुँजीगत खर्च कम भएको यथार्थतालाई ध्यान दिएर प्राथमिकतायुक्त क्षेत्रको सम्बोधन हुनेगरी बजेट कार्यान्वयन गरिनुपर्नेमा उहाँले जोड दिनुभयो। विभिन्न अन्तर्राष्ट्रिय कठिनाइका बाबजुद पनि भारत र चीनको आर्थिक गतिशिलताले नेपालको अर्थतन्त्रमा पनि सकारात्मक प्रभाव परेको उहाँको विश्लेषण छ।   बजेटमा कर प्रणाली सुधार, कार्यान्वयन क्षमता बढाएर साधरण खर्च घटाउने प्रस्तावित कार्यक्रमलाई प्रभावकारी कार्यान्वयन गरिनुपर्नेमा उहाँको जोड छ। वैदेशिक मुद्रा सन्तुलित रहेपनि राजस्व सङ्कलन घटिरहनुले अर्थतन्त्रलाई असर परेको भन्दै उहाँले बजेटको प्रभावकारी कार्यान्वयनका लागि पुँजीगत खर्च बढाउन सुझाव दिनुभयो।  रासस

बागलुङ:    जिल्ला प्रहरी कार्यालय बागलुङले जबरजस्ती करणी उद्योग सम्बन्धि कसूर मुद्धामा फरार प्रतिवादी बमबहादुर रानालाई प्रकाउ गरेको छ ।  जिल्ला अदालत बागलुङले ०७६/२/२१ गते जबरजस्ती करणी उद्योग सम्बन्धि कसूर मुद्धामा बमबहादुरलाई १० महिना २० दिन कैद र १० हजार रुपैयाँ जरिवाना तोकिएपछि फरार भएका प्रतिवादीलाई आज प्रहरीले प्रकाउ गरेको हो ।  बागलुङको काठेखोला गाउँपालिका १ पाला घर भएका बमबहादुरलाई दोबिल्ला प्रहरी चौकीबाट खटिएको प्रहरीले प्रकाउ गरेको हो । 

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीद्वारा आयोजित ‘सातौं पोखरा स्पोर्टस् अवार्ड २०७९’ मा वर्ष उत्कृष्ट खेलाडी (महिला) हुन सफल सवित्रा भण्डारीलाई इलेक्ट्रिक स्कुटर हस्तान्तरण गरिएको छ ।    अवार्डमा उत्कृष्ट भएकी भण्डारीलाई पुरस्कार स्वरुप टेल्जी नेपालको टाइगर इलेक्ट्रिक स्कुटर आइतबार (आज) हस्तान्तरण गरिएको हो । अवार्ड घोषणाको दिन भण्डारी भारतमा लिग खेल्दै रहेकाले उनलाई आज हस्तान्तरण गरिएको मञ्चले जनाएको छ ।   वार्षिकरुपमा मञ्चले आयोजना गर्ने स्पोर्टस् अवार्डमा विभिन्न ७ वटा विधामा उत्कृष्ट अवार्ड वितरण गरेको थियो । जसमा लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष उत्कृष्ट खेलाडी (पुरुष), वर्ष उत्कृष्ट खेलाडी (महिला), वर्ष उत्कृष्ट उदीयमान खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उत्कृष्ट खेल संघ र खेल पत्रकारिता पुरस्कार रहेको छ ।   सोही अन्तरगत वर्ष उत्कृष्ट खेलाडी (महिला)को विधामा फुटबलकी भण्डारीले अवार्ड जित्न सफल भइन्  । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी स्ट्राइकर सावित्रा भण्डारी लमजुङकी हुन् । उनीसँगै आर्चरीकी रोजिना थापा मगर र आइटिएफ तेक्वान्दोकी सुस्मिता थापा मगर मनोनयनमा परेका थिए ।   स्कुटर हस्तान्तरण गर्दै मञ्चका कार्यवाहक अध्यक्ष सुरज श्रेष्ठले खेलाडीको मनोवल उच्च राख्न खेलप्रतिको आकर्षणलाई थप बलियो बनाउन अवार्डले महत्वपूर्ण भूमिका खेलेको बताएका छन् । हस्तान्तरण कार्यक्रममा मञ्चका कावा अध्यक्ष सुरज क्षेष्ठ, अवार्ड प्राप्त गर्ने खेलाडी सावित्रा भण्डारी, टेल्जी नेपालको पोखरा शाखा प्रमुख हिरा कोइराला, वरिष्ठ खेल पत्रकार सुदर्शन रञ्जित, मञ्चकी कोषाध्यक्ष कविता घर्ती मगर, मञ्चका कार्यवाहक सचिव राजु गिरीलगाएतको उपस्थिति रहेको थियो ।   मञ्च गण्डकी प्रदेशका सम्पूर्ण खेलकुद पत्रकारको साझा संस्था हो । यो २०५७ सालमा खेलकुद पत्रकार मञ्च कास्कीका रुपमा स्थापना भएको थियो । खेलाडीलाई उर्जा थप्न मञ्चले २०७२ सालदेखि हरेक वर्ष पोखरा स्पोर्ट्स अवार्ड गर्दै आएको छ  ।