पोखरा ।   नेपाल चेम्बर अफ कमर्सको हीरक जयन्तीको अवसरमा पोखरामा अन्तर्राष्ट्रिय व्यवसाय अनुभव सम्बन्धी अन्तरक्रिया सम्पन्न भएको छ ।    चेम्बर अफ कमर्सका सदस्य व्यवसायीहरूलाई अन्तर्राष्ट्रिय बजार...

काठमाण्डौ:  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बाढी पहिरो प्रभावित क्षेत्रमा तत्काल खोज, उद्धार र राहतमा जुट्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ ।    उहाँले बेपत्ताहरुको खोजी, उद्धार एवं प्रभावितलाई राहत वितरणको काममा सक्रियतापूर्वक लाग्न सुरक्षा निकाय र कर्मचारीलाई निर्देशन दिनुभएको हो ।   प्रधानमन्त्री प्रचण्डले देशका विभिन्न जिल्लामा बाढी पहिरोले पुर्याएको क्षतिप्रति दुःख व्यक्त गर्नुभएको छ । बाढी–पहिरोबाट सङ्खुवासभा, ताप्लेजुङ, पाँचथरलगायतका जिल्लामा क्षति पुगेको छ ।    पहिरोमा परेर ताप्लेजुङको सिदिङ्वा गाउँपालिका- ६ मेहेलेमा एकै घरका तीन जनासहित चार जना बेपत्ता भएका छन् । बाढीमा परेर सङ्खुवासभाको सुपर हेवाखोला हाइड्रोपावरमा काम गर्ने  १६ जना मजदुर बेपत्ता भएका छन् भने हेवा खोलामा आएको बाढीमा परेर पाँचथरमा ६ जना बेपत्ता भएका छन् । 

ताप्लेजुङ:      ताप्लेजुङको सिदिङ्वा गाउँपालिकास्थित मेहेलेमा पहिराले घर बगाउँदा एकै परिवारका तीन जना बेपत्ता छन् । स्थानीय कमल कडरियाका अनुसार पहिराले यादव बुढाथोकीको घर बगाउँदा यादवकी श्रीमती भगीमाया, बुहारी सन्ध्या र नाति प्रज्वल बेपत्ता छन् । यस्तै मेहेलेकै भरत तामाङसमेत बेपत्ता हुनुभएको छ । खोला छेउमा घर भएका तामाङले ठूलो वर्षा भएपछि बुवाआमालाई सुरक्षित क्षेत्रमा सारेर फर्किने क्रममा बेपत्ता भएका बताइएको छ । घटना क्षेत्रमा साब्लाखु प्रहरी चौकीबाट प्रहरीको टोली गइरहेको सिदिङ्वा गाउँपालिका उपप्रमुख बन्दना कडरियाले जानकारी दिनुभयो । मेहेलेका राजकुमार गौतमको एउटा घर बगेको छ भने अर्को घर जोखिममा छ । यस्तै देउकुमार लिङ्देन र गुमान राईको घर जोखिममा परेको छ भने मेहेले स्वास्थ्यचौकीको भवन पूर्णरूपमा पहिराले बगाएको छ ।  अहिले पनि निरन्तर वर्षा भइरहेकाले सिरीजङ्घा र सिदिङ्वा गाउँपालिकाका अधिकांश नागरिक त्रसित छन् । बाढी र पहिराले जिल्लाका धेरैजसो सडक सञ्जाल पूर्णरूपमा अवरुद्ध छन् भने याम्फुदिन, खेवाङ, मेहेले, सुरुम्खिम, आङ्खोपसहितका ठाउँमा विद्युत्समेत ठप्प छ । मेची राजमार्ग र तमोर करिडोर क्षेत्रका विभिन्न क्षेत्रमा बाढी पहिरो आएपछि तराई जोड्ने सडक पनि अवरुद्ध बनेका छन् । थप क्षतिसहित यकिन विवरण आउन बाँकी छ । ताप्लेजुङमा बाढीले तीन घर बगायो, दोभान बजार जोखिममा अबिरल वर्षासँगै आएको बाढीले ताप्लेजुङको सिदिङ्वा गाउँपालिकास्थित आङ्खोपमा तीन घर बगाएको छ । गए राति इङ्वाखोलामा आएको बाढीले प्रेम सेलिङ, महेश्वर सेलिङ र गणेश सेलिङको घर बगाएको स्थानीय शिक्षक चैतन्य बुढाथोकीले जानकारी दिनुभयो । उहाँका अनुसार सोही क्षेत्रका डिल्ली सेलिङ, रामबहादुर सेलिङ र मीन बुढाथोकीको घर जोखिममा छन् । वर्षासँगै आएको बाढी बस्तीतर्फ पसेपछि घर छाडेर सुरक्षित क्षेत्रमा सरेकाले मानवीय क्षति भएको छैन । बाढीले इङ्वाखोला जलविद्युत् आयोजनामा समेत क्षति पुगेको छ । खोला किनारको खेतीयोग्य जमिनसमेत बगाएको छ भने केही पशुचौपायासमेत बगाएको जनाइएको छ । यसैगरी मैवाखोलामा आएको बाढीले दोभानबजार जोखिममा परेको छ । बाढीले बजार क्षेत्र कटान गरेपछि दुई घर उच्च जोखिममा रहेको स्थानीय प्रदीप पोखरेलले बताउनुभयो । उहाँका अनुसार दीपक धिताल र सुकबहादुर लिम्बूको घर उच्च जोखिममा छन् । बाढी सामान्यतया घटे पनि पानीको बहाव घटेको छैन । मध्यरातमा बाढी आएपछि बजारका आधाजसो घरपरिवार अन्तै सरेका छन् । बाढीले मेरिङ्देन गाउँपालिकातर्फ जाने खोला किनारको सडकसमेत बगाएपछि बाटो पूर्णरूपमा अवरुद्ध बनेको बताइएको छ । मैवाखोला–२ र ५ नं वडा जोड्ने खार्तेखोलाको झोलुङ्गे पुल बगाएको स्थानीयले बताए । रातभर अत्यधिक वर्षासँगै ठाउँ–ठाउँमा बाढी र पहिरो झरेपछि जिल्लाका अधिकांश गाउँघरका मानिस रातभर नै जाग्राम बस्नुपरेको छ । जिल्लाका सबै ठाउँमा वर्षा भएको थियो । बिहीबार रातिमात्र सिरीजङ्घा गाउँपालिकाको याम्फुदिनमा बाढीले क्षति पुगेको थियो । यहाँका पाँचवटा सरकारी कार्यालय स्थानान्तरण गरिएको छ भने १५ घरपरिवार अन्तै सरेर बसेका छन् ।  यसैबीच मेची राजमार्गअन्तर्गत हिलिहाङ र फिदिम नगरपालिका जोड्ने हेवाखोलामा आएको बाढीले पुल बगाएपछि मेची राजमार्गसमेत पूर्णरूपमा अवरुद्ध भएको जनाइएको छ ।

काठमाडौं:    आईसीसी एक दिवसीय विश्व कप क्रिकेटको छनोटमा नेपालले आज घरेलु टोली जिम्बाब्वेसँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो पौने १ बजे हरारेमा सुरु हुनेछ । नेपालले आफ्नो क्रिकेट इतिहासमा पहिलो पटक टेष्ट मान्यताप्राप्त देशसँग अन्तर्राष्ट्रिय एकदिवसीय खेल खेल्न लागेको हो । जिम्बाब्वेसँग नेपालले अहिलेसम्म एउटा मात्रै एकदिवसीय खेल खेलेकोमा १ सय १६ रनले पराजित भएको छ । नेपालले जिम्बाब्वेसँग सन् २०१८ मा खेलेको थियो । विश्व कप छनोटअघिका खेलमा नेपालले अन्तर्राष्ट्रिय क्रिकेटमा निकै राम्रो नतिजा निकालेको छ । नेपालले विश्व कप छनोटमा स्थान बनाउन आईसीसी विश्व कप लिग–२ मा पछिल्ला १२ मध्य ११ खेल जितेको थियो । नेपालले पछिल्ला १७ मध्य १६ वटा अन्तर्राष्ट्रिय प्रतियोगितामा जित निकालेको छ । यस्तै, एसीसी प्रिमियर कपको उपाधि जित्दै एसिया कपमा भारत र पाकिस्तानसँग खेल्ने पक्का पनि गरिसकेको छ । सन् २०१८ मा एकदिवसीय मान्यता प्राप्त गरेदेखि नेपालले ५१ वटा एकदिवसीय खेल खेलेकोमा २८ वटा खेलहरू जितेको छ, २१ वटामा हार बेहोरेको छ, एक बराबरी भएको छ र एक खेल वर्षाको कारण रद्द भएको छ । आजदेखि सुरु हुने विश्व कप छनोटमा नेपाल रहेको समूहमा जिम्बाब्वेसँगै वेस्ट इन्डिज, अमेरिका र नेदरल्याण्ड्स रहेका छन् । नेपालभन्दा निकै बलिया देश भएकाले नेपाललाई पछिल्लो समयको उत्कृष्ट लय कायमै राख्न मुख्य चुनौती छ । समूह ‘बी’ मा आयरल्यान्ड, श्रीलङ्का, यूएई, स्कटल्यान्ड र ओमान छन् । दुवै समूहका शीर्ष तीन टोली ’सुपर सिक्स’ मा पुग्नेछन् । ‘सुपर सिक्स’ मा अर्को समूहबाट आउने तीन टोलीसँग प्रतिस्पर्धा हुनेछ । त्यसपछि शीर्ष दुई टोलीले आउँदो अक्टोबरमा हुने विश्व कपमा स्थान बनाउनेछन् ।

दाङ:      सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले साइबर सुरक्षा अहिलेको मुख्य चुनौती भएको बताउनुभएको छ। दाङको घोराहीमा भएको सञ्चार, साइबर सुरक्षा नीति र कानुन विषयक राष्ट्रिय सम्मेलनलाई उद्घाटन गर्दै मन्त्री शर्माले सूचना तथा प्रविधिको बढ्दो प्रयोगसँगै यसको सुरक्षा अहिलेको मुख्य चुनौतीका रुपमा देखा परेको बताउनुभएको हो।  मन्त्री शर्माले भन्नुभयो,‘‘सूचना प्रविधि नेपालमा सबैभन्दा तीव्र गतिमा विकास भइरहेको छ। तर यसलाई नियमन गर्ने गतिलो कानुन नहुँदा गलत प्रयोग हुने गरेको छ। यसलाई रोक्नुपर्ने चुनौती छ।’’ साइबर सुरक्षा सम्बन्धी कमजोर कानुनका कारण आम नागरिकदेखि सरकारकै सूचनाको गोपनीयता भंग हुँदै गएको भन्दै मन्त्री शर्माले सरकार साइबर सुरक्षा सम्बन्धी कानुन निमार्ण लागेको बताउनुभएको थियो।  मन्त्री शर्माले भन्नुभयो,‘‘साइबर सुरक्षा सम्बन्धी कमजोर कानुनका कारण नागरिकदेखि सरकारकै सूचनाको गोपनीयता भंग हुने डर छ। त्यसलाई नियन्त्रणका लागि सरकार साइबर सुरक्षा सम्बन्धी कानुन निर्माणमा लागेको छ।’’ सूचना तथा प्रविधिको दुरुपयोग गर्दै विभिन्न खालका अपराध बढेको  भन्दै मन्त्री शर्माले यसलाई रोक्नका लागि सबैको पहल आवश्यक रहेको बताउनुभयो।  गलत प्रयोगका कारण बालबालिका, किशोर किशोरीदेखि आम नागरिक विभिन्न खालको फन्दामा पर्ने गरेको भन्दै मन्त्री शर्माले कानुन निमार्णसँगै सामाजिक सञ्जालको प्रयोग सम्बन्धी सर्वसाधारण नागरिकलाई चेतना प्रवाह गर्नु आवश्यक रहेको बताउनुभयो।  मन्त्री शर्माले भन्नुभयो,‘‘अहिले गाउँगाउँमा इन्टरनेट र हातहातमा मोबाइल पुगेको छ। तर यसको कसरी प्रयोग गर्ने भन्ने कमै मानिसलाई मात्रै थाहा छ। जसले गर्दा धेरै मानिसले अनाहकमा दुःख पाइरहनुभएको छ। त्यो दुःखबाट मानिसलाई रोक्नका लागि सामाजिक सञ्जालको प्रयोग सम्बन्धी सचेतना आवश्यक छ।’’ मन्त्री शर्माले सामाजिक सञ्जालको गलत प्रयोगको सिकार महिला हुनुपरेको भन्दै  सूचना प्रविधि तथा सामाजिक सञ्जालका बारेमा महिला सचेत हुनुपर्ने बताउनुभएको थियो।  मन्त्री शर्माले नेपालमा सूचना प्रविधिको प्रयोगलाई बढाउँदै आयआर्जनका माध्यमबाट समृद्ध राष्ट्र निर्माण गर्न सकिने बताउनुभयो। त्यसका लागि सूचना र प्रविधिसँगै सामाजिक सञ्जालको सही प्रयोग सम्बन्धी आम नागरिकलाई ज्ञान हुनुपर्ने बताउनुभयो।  सञ्चार, साइबर सुरक्षा नीति र कानुन विषय सम्बन्धी राष्ट्रिय सम्मेलनलमा सञ्चार, साबर सुरक्षा नीति, कानुनलगायतका विषयमा छलफल भइरहेको छ। 

काठमाडौं:    नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले फरक उद्देश्य भएकाहरु एक ठाउँमा जम्मा भएर राष्ट्रिय शक्ति निर्माण हुन नसक्ने टिप्पणी गरेका छन् ।  शनिबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेका नेता, कार्यकर्तालाई पार्टी प्रवेश गराउँदै उनले सो टिप्पणी गरेका हुन् ।  समाजवादी मोर्चा बनाउने नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) लगायतका पार्टीहरुको निर्णयप्रति लक्षित गर्दै उनले फरक उद्देश्य भएका तत्वहरु एक ठाउँमा आउँदा त्रसिन आवश्यक नरहेको बताए । समाजवादी मोर्चा बनाउने कुरा एमालेसँग मुकाबिला गर्न र काँग्रेसलाई तर्साउन गठजोड भइरहेको उनले चर्चा गरे । अध्यक्ष ओलीले सँगै काम गरेका नेतालाई आफूले राम्रोसँग चिनेकाले कुनै नयाँ कुरा नरहेको बताए । आफ्नो ५८ वर्षे राजनीतिक जीवनमा कुनै र कसैप्रति पनि झुटो आरोप नलगाएको र तथ्यमा आधारित आरोपमात्रै आफूले लगाउने गरेको उनले दावी गरे ।   “हामी एउटा यस्तो राष्ट्रिय शक्ति निर्माण गर्नुपर्छ जो देश, जनता, विकासप्रति समर्पित हुन्छ” ओलीले भने, “चारतिर फर्किएका चार तिरका फरक उद्देश्यका तत्वहरु एक ठाउँमा जम्मा भएर राष्ट्रिय शक्ति बन्दैन ।” एमालेलाई अब कसैले पनि राष्ट्रिय शक्ति बन्नबाट रोक्न नसक्ने उनले दावी गरे ।  अध्यक्ष ओलीले एमाले मिसन २०८४ को तयारीमा जुटेको र २०८४ मा एमालेलाई राष्ट्रिय शक्ति बन्ने विश्वास दिलाए । एमाले राष्ट्रिय शक्ति बनेमात्र देशको समृद्धि कायम हुने उनले चर्चा गरे । 

सिन्धुपाल्चोक:     प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मेलम्ची खानेपानी आयोजनालाई थप व्यवस्थित बनाउन सरकारका तर्फबाट पूर्ण सहयोग रहने बताउनुभएको छ ।  मेलम्ची खानेपानी आयोजनाको स्थलगत अवलोकनका लागि सिन्धुपाल्चोकको हेलम्बु–१ अम्बाथान आइपुग्नुभएका प्रधानमन्त्री प्रचण्डले याङ्ग्री र लार्के खोलाको पानी ल्याउन सरकारका तर्फबाट तत्काल पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।  ुआयोजना उद्घाटनका क्रममा आउने इच्छा थियो, त्यतिबेला म प्रधानमन्त्री थिइनँ, खानेपानी मन्त्रालय माओवादी पार्टीकै भागमा थियो, आयोजनालाई व्यवस्थित बनाउन म पहल गर्छुु, उहाँले भन्नुभयो ।   प्रधानमन्त्री प्रचण्डले मेलम्ची खोलामा आएको बाढीले बगाएको सडकलाई थप व्यवस्थित गर्न सरकारले आवश्यक बजेट व्यवस्था गर्ने बताउनुभयो । ‘यसका बारेमा आवश्यक निर्णय सरकारका तर्फबाट लिइन्छ’, उहाँले भन्नुभयो, ‘थप बजेटको प्रबन्ध गर्छौँ, बजेटको व्यवस्था भयो भने भइपरी आउने काम गर्न सहज हुन्छ ।’ प्रधानमन्त्री प्रचण्डले स्थानीयवासीले उठाएका माग सम्बोधनका लागि आफू प्रतिबद्ध र चिन्तित रहेको बताउनुभयो । ‘मेलम्ची खानेपानी आयोजना सम्पन्न भयो भनेर विकास समिति खारेज गरिएको थियो, त्यसबाट आयोजनालाई व्यवस्थापन गर्न समस्या भएकातर्फ मेरो ध्यानाकर्षण भएको छ’, उहाँले भन्नुभयो । यो क्रममा मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक कमलराज श्रेष्ठले आयोजनाका बारेमा प्रधानमन्त्री प्रचण्डलाई जानकारी गराउनुभएको थियो । उहाँले आयोजनालाई नियमित र व्यवस्थितरुपमा सञ्चालन गर्नका लागि पूर्ण सहयोग हुनुपर्ने बताउनुभयो ।  गौरवको आयोजनाको प्रभावकारी सञ्चालन तथा निर्माणमा तीव्रता ल्याउन प्रधानमन्त्री प्रचण्डले स्थलगत अवलोकन गर्दै आउनुभएको छ ।  विसं २०७८ साल असार १ गते मेलम्ची खोलामा बाढी र पहिरो आउँदा खानेपानी आयोजनाको मुहानमा क्षति पुगेको थियो । बर्खा सकिएपछि मुहान क्षेत्र मर्मत गरेर आयोजना पुनःसञ्चालन गरिएको थियो । विसं २०७७ साल चैतमा पहिलोपटक मेलम्चीको पानी अस्थायीरुपमा काठमाण्डौ उपत्यकामा वितरण थालिएको थियो । विसं २०७८ असारमा मेलम्ची खोलामा आएको बाढी र पहिरोले मुख्य सुरुङबाहेकमा क्षति गरेपछि पानी वितरण रोकिएको थियो । मुहानमा मर्मत गरेर २०७८ साल चैतदेखि पुनःमेलम्चीको पानी वितरण थालिएको थियो ।  

पोखरा:   गण्डकी प्रदेश प्रमुखका सचिवालय सवारी चालकले मापसे गरेर चलाएको सवारी प्रहरीले नियन्त्रणमा लिएको छ ।  प्रदेश प्रमुख पृथ्वीमान गुरुङको सचिवालयको सवारी साधन ग १ झ २६३ नम्बरको सुमो गाडी र चालक प्रदीप बरालाई वडा प्रहरी कार्यालय बैदामले नियन्त्रणमा लिएका हुन् ।   शुक्रबार अपरान्ह ४ बजेको समयमा पोखराको पामेबाट पोखरा आउँदै गर्दा गाडी र चालक बराललाई नियन्त्रणमा लिएको हो ।  बरालले मापसे गरी सवारी चलाएको थाहा भएपछि विद्यार्थी नेता डिफान भुजेलको नेतृत्वले उक्त सवारी नियन्त्रणमा लिई वडा प्रहरी कार्यालय बैदाममा बुझाएको थियो ।    मापसे गरी सवारी चलाएका चालक बराललाई कारवाहीका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीमा बुझाइएको वडा प्रहरी कार्यालय बैदामका प्रमुख प्रहरी उपरीक्षक बेद जोशीले जानकारी दिए ।

काठमाडौं:   एक युवक पेस्तोलसहित पक्राउ परेका छन् ।   प्रहरीका अनुसार पक्राउ पर्नेमा सिन्धुपाल्चोकको ईन्द्रावती गाउँपालिका–३ का ३२ वर्षीय रमेश बाँनिया रहेका छन् ।   पक्राउ परेका बाँनियाको साथबाट १ थान पेस्तोल र , पेस्तोलमा लाग्ने २ वटा म्याग्जिन र ११ वटा गोली बरामत गरेको हो ।   बैंकिङ कसूर मुद्दामा फरार रहेका बाँनिया काठमाडौं महानगरपालिका–८ जयबागेश्वरीस्थित जेनिस अटो रिकन्डिसन नजिक रहेको सूचनाको आधारमा प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरी टोलीलाई देख्नासाथ रमेश बाँनियाले बोकेको झोला सडकमा फाली फरार थिए ।   त्यसपश्चात उक्त झोलामा पेस्तोल फेला परेको थियो ।   त्यसपछि उनलाई भक्तपुर नयाँ ठिमीस्थित नयाँ बाटोबाट पक्राउ गरेको थियो ।  

काठमाडौं:     नेपाल चिकित्सक सङ्घले चिकित्सक तथा स्वास्थ्यकर्मीको सुरक्षाका लागि देशभरका स्वास्थ्य संस्था तथा अस्पतालमा सुरक्षाको व्यवस्था गर्न माग गरेको छ । चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि गालीगलौज, हातपात तथा अस्पताल भवन नै तोडफोड जस्ता घटना बढेको उल्लेख गर्दै सङ्घले उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई सुरक्षाको प्रत्याभूति गर्न माग गर्दै ज्ञापनपत्र बुझाएको हो ।  “स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संशोधन) ऐन २०७९ का सम्बन्धमा देशभरका सुरक्षा निकाय तथा न्यायिक एव अर्धन्यायिक निकाय अनविज्ञ हुनु अत्यन्तै चिन्ताको विषय बनेको छ । राज्यको तर्फबाट तर्जुमा गरिएका ऐन, कानुनबमोजिम चिकित्सक तथा स्वास्थ्यकर्मी सुरक्षित तवरले स्वास्थ्य सेवा प्रवाहमा समर्पित हुने उचित वातावरण सिर्जना गरिदिन अनुरोध गर्दछौं”, ज्ञापनपत्रमा उल्लेख छ । ज्ञापनपत्रमा नेपाल मेडिकल कलेज अत्तरखेल जोरपाटीमा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि अभद्र व्यवहार भएको उल्लेख गर्दै सङ्घले आपत्ति जनाएको छ । गत मङ्गलबार उपचारका क्रममा भएको घटनालाई लिएर बिरामीका आफन्तले अस्पतालमा तोडफोड तथा चिकित्सक र स्वास्थ्यकर्मीलाई गालीगलौज गरी अभद्र व्यवहार गरिएको घटनाका सम्बन्धमा गृहमन्त्री श्रेष्ठको ध्यानाकर्षण गराएको छ । यस्तै अन्य अस्पतालमा भएका घटनाप्रतिसमेत सङ्घले ध्यानाकर्षण गराएको छ । सङ्घका अध्यक्ष डा अनिल विक्रम कार्कीले भन्नुभयो, “नारायणी अस्पताल वीरगञ्ज, सिन्धुली अस्पताल, सिरहा अस्पताललगायत देशका विभिन्न ठाउँमा चिकित्सक तथा स्वास्थ्यकर्मीलाई लक्षित गरी गालीगलौज, हातपात तथा अस्पताल भवन नै तोडफोड भएका घटनाक्रमले देशभरका चिकित्सक तथा स्वास्थ्यकर्मीले असुरक्षित महसुस गरेको अवस्था छ ।” उपचार प्रक्रियामा चित्त नबुझेका अवस्थामा कानुनी बाटो अवलम्ब गर्नुभन्दा अस्पताल तोडफोड र अभद्र व्यवहार गर्नेक्रम बढेको उल्लेख गर्दै सङ्घले आपत्ति जनाएको छ ।