पोखरा ।   नेपाल चेम्बर अफ कमर्सको हीरक जयन्तीको अवसरमा पोखरामा अन्तर्राष्ट्रिय व्यवसाय अनुभव सम्बन्धी अन्तरक्रिया सम्पन्न भएको छ ।    चेम्बर अफ कमर्सका सदस्य व्यवसायीहरूलाई अन्तर्राष्ट्रिय बजार...

प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की अनुमोदित भएका छन्।   शुक्रबार संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा कार्कीको नाम सर्वसम्मतले अनुमोदन गरेको हो। कार्की वैशाख २५ गते प्रधानन्यायाधीश सिफारिस भएका थिए।   त्यतिबेला संसदीय समिति गठन नै नभएका कारण बिहीबारदेखि मात्रै उनको सुनुवाइ सुरू भएको थियो। बिहीबार उनले आफ्नो वार्षिक कार्ययोजना र योग्यता प्रस्तुत गरेका थिए।   उनले न्यायिक क्षेत्रको विचलन ६० प्रतिशत रोक्न सफल भएको बताएका थिए। आफूले गोला प्रथा लागू गरेपछि  न्यायिक विचलन कम हुँदै गएको र  स्वच्छता  गर्ने दिशामा अगाडि बढेको दाबी गरेका थिए।    सुनुवाइको दोस्रो दिन आज उनीविरूद्ध दर्ता भएका २९ वटा उजुरीबारे समितिका सदस्यहरूले प्रश्न गरेका थिए। जवाफमा कार्कीले आफूमाथि परेका उजुरी प्रमाणीत भए ठाउँको ठाउँ राजीनामा दिने बताए।   प्रश्नोत्तरपछि उनलाई सर्वसम्मतीले प्रधानन्यायाधीशमा अनुमोदन गरेको हो। प्रधान्यायाधीशमा कार्कीको नाम संसदीय सुनवाइ समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले नियुक्त गर्ने व्यवस्था छ।

ताप्लेजुङ:  बाढी पहिरोले ताप्लेजुङका सिदिङवा र सिरिजंगा गाउँपालिकामा क्षति पुर्‍याएको प्रहरीले जनाएको छ ।   प्रहरी प्रवक्ता कुशराम कार्कीले काबेली खोलाले सिदिङवा र सिरिजंगा गाउँपालिका क्षति पुर्‍याएको अपुष्ट सूचना आएको जानकारी दिए । ‘स्थानीयले बाढीले क्षति पुर्‍यायो भनेर भनेका छन्, हामी स्थानीय प्रहरीबाट पुष्टि गर्न खोजिरहेका छौं,’ कार्कीले भने ।   स्थानीयका अनुसार बुधबार बेलुकादेखि नै ताप्लेजुङमा वर्षा भएको थियो ।  वर्षा र बाढीले सुरुमखिम–खेवाङ–याम्फुदिन जोड्ने मोटरेबल पुलको एकातर्फको भाग भत्काएको छ । यो पुल गत जेठमा मात्रै उदघाटन गरिएको थियो ।   बाढीले काबेली हाइड्रो पावरको गोदाममा राखिएका सामानसमेत बगाएको छ । ठाउँ–ठाउँमा पहिरो र बाढीले बाटो अवरुद्ध भएकाले सवारी साधन पनि सञ्चालन हुन सकेका छैनन् ।​कञ्चनजंघा मावि, याम्फुदिन प्रहरी चौकी र केही स्थानीयका घर जोखिममा छन् । जोखिम महसुस भएपछि स्थानीयवासी आफ्ना सामान बोकेर सुरक्षित स्थानमा गइरहेका छन् ।   जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार ताप्लेजुङमा गत २४ घण्टामा ३१।६ मिलिमिटर वर्षा भएको छ । यो समाचार तयार पार्दासम्म गएरातिजस्तो धेरै पानी भने परेको छैन । तर दिउँसोतिर पुनः वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।   मौसमविद सन्जिव अधिकारीका अनुसार अहिले कोशी प्रदेशमा मनसुनी प्रणाली एक्टिभ भएकाले ताप्लेजुङ लगायतका पहाडी जिल्लामा वर्षा हुँदै आएको छ ।

सिन्धुली:  लिचीको दाना घाँटीमा  अड्किएर एक बालकको मृत्यु भएको छ ।    घाँटीमा लिचीको दाना अड्किएर कमलामाई नगरपालिका–६ धुराबजारका तीन वर्षीय बालक क्रियान तामाङको ज्यान गएको हो । लिचीको दाना अड्किएपछि गए राति नै उनलाई उपचारका लागि सिन्धुली अस्पताल लगिएको थियो ।     जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालले बालकको उपचारका क्रममा अस्पतालमा ज्यान गएको जानकारी दिनुभएको हो । 

सिन्धुपाल्चोक:    विसं २०७८ असार १ गते सिन्धुपाल्चोकको मेलम्ची र इन्द्रावती नदीमा बाढी आएको आज दुई वर्ष पूरा भएको छ । असार १ र त्यसपछिका पटक पटकका बाढीका कारण ठूलो जनधनको क्षति भएको थियो । नदी तटीय क्षेत्रका सयौँ घर र खेतियोग्य जमिन बगर बने भने हजारौँ नागरिक विस्थापित भए ।  बाढीले क्षति पु¥याएको दुई वर्ष बिते पनि प्रभावित अस्थायी टहरामै बसिरहेका छन् । उनीहरु सुरक्षित बसोबासको पर्खाइमा छन् । मेलम्ची बाढीले घरखेत बगाएर बेसहारा बन्नुभएकी हेलम्बु–२ च्युरीखर्ककी जुकमाया थापामगरका आँखा अझै ओभाएका छैनन् । बाढीले उहाँको घरसहित भएको थोरै जमिनसमेत बगर बनेपछि सुुकुम्बासी बन्नुभएको छ । सरकारले घर बनाइदिने भनेको दुई वर्ष बितिसक्दासमेत अस्थायी टहरामै बस्न बाध्य उहाँलाई दैनिक गुजारा चलाउनसमेत धौधौ परेको छ ।  हेलम्बुकै डेलिङ थापा वृद्ध दम्पती दुई वर्षदेखि अस्थायी टहराको सकसपूर्ण जीवनले बाच्नै गाह्रो भएको बताउनुहुन्छ । बाढीका कारण विस्थापित हेलम्बु, मेलम्चीका स्थानीयवासी सुरक्षित ठाउँमा घर कहिले बनाउन पाइएला भन्ने आशामा छन् ।        नदी तटीय क्षेत्रका बासिन्दाको कथा पनि उस्तै छ । नदि नियन्त्रणको काम गुणस्तरीय नभएको मेलम्ची सिमखेतकी शान्ता चालिसेले गुनासो गर्नुभयो । उहाँले बाढी आउँदा बालबच्चा बोकेर माथितिर भाग्नुपरेको दुखेसो सुनाउनुभयो ।  बाढीका कारण हेलम्बु गाउँपालिकामा मात्रै तीन सय ९२ जना लाभग्राही कायम भएकामा हालसम्म दुई सय ७५ जनाले मात्र पहिलो किस्ता पाएका छन् । मेलम्ची नगरपालिकामा कायम भएका दुई सय ७१ लाभग्राहीमध्ये दुई सय ४५ जनाले पहिलो, २८ जनाले दोस्रो र एक जनाले मात्र अन्तिम किस्ता पाएका छन् ।  यस्तै पाँचपोखरी थाङपाल गाउँपालिकामा समेत एक सय ७९ जना लाभग्राहीमध्ये जम्मा २६ जनाले मात्र पहिलो किस्ता लिएका छन् । जिल्लामा बाढी पहिरोलगायतका प्राकृतिक प्रकोपबाट प्रभावित बनेका एक हजार पाँच सय ७९ लाभग्राहीमध्ये हालसम्म सात सय ७६ जनाले पहिलो, ६८ जनाले दोस्रो र मात्र सात जनाले अन्तिम किस्ताबापत्को रकम पाएको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।  बाढीका कारण विस्थापित भएका स्थानीयको स्थायी आवास पुनःनिर्माण प्रक्रियामा स्थानीय तह र जिल्ला प्रशासन कार्यालयबीच आपसी तालमेल नहुँदा निर्माण कार्य सुस्त बनेको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्यालजेन शेर्पा बताउनुहुन्छ । उहाँले गाउँपालिकाले हाल्नुपर्ने १० प्रतिशत रकम खातामा जम्मा गरिसकेको बताउनुभयो ।  घर बनाउन दिने रु पाँच लाख कम भएका कारण स्थानीयले घर बनाउन आँट गर्न नसकेको शेर्पाले बताउनुभयो । रु पाँच लाख घर बनाउन अपुग भएको छ ।  प्राकृतिक विपद्का हिसाबले देशकै उच्च जोखिममा रहेको यस जिल्लामा वर्षायाममा आउने बाढी, पहिरो तथा अन्य विपद्मा पूर्वसूचना प्रणाली, विपद् प्रतिकार्य योजना एवं सामग्रीको उचित व्यवस्थापनको कमजोरीले पनि बर्सेनि जनधनको क्षति हुने गरेको छ । यस्ता प्राकृतिक विपद्को पूर्वसूचनाले ठूलो क्षति हुनबाट रोक्न सकिने अनुभव मेलम्ची बाढीले सिकाएकाले सोको पूर्वतयारी अवस्थामा राखिएको मेलम्ची नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृतकुमार धितालको भनाइ छ । उहाँले पूर्वसूचना प्रणाली जडान, वडास्तरीय विपद् समितिलाई तालिम दिइएको तथा उद्धार अभ्यास पनि गरिएको, वर्षा मापन केन्द्र स्थापना गरिएकोे बताउनुभयो ।   विसं २०७८ असार १ गतेको बाढीले हेलम्बु गाउँपालिका, मेलम्ची नगरपालिका र पाँचपोखरी थाङपाल गाउँपालिकाको मात्रै पाँच सय ५१ घर बगाएको थियोे । पाँच हजार चार सय रोपनी खेतीयोग्य जमिन बगर बन्यो भने २६ जनाको ज्यान गएको थियो । राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनासँगै सात झोलुङ्गे पुल, नौ  पक्की पुललगायत ३३ संरचना ध्वस्त भएका थिए । हेलम्बुको चनौटेमा बेलीबृज जडान भइसकेको छ भने मेलम्ची नदीमा जडान गर्न थालिएको मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले जानकारी दिनुभयो ।

काठमाडौं:   स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भ्रूणको लिङ्ग पहिचानसम्बन्धी कुनै पनि कार्य नगर्न स्वास्थ्य संस्थालाई निर्देशन दिएको छ । मन्त्रालयका उपसचिव एकदेव खनालले सरकारी, निजी तथा सामुदायिक स्वास्थ्य संस्थालाई पत्राचार गर्दै भ्रूणको लिङ्ग पहिचानसम्बन्धी कुनै पनि कार्य नगर्नरनगराउन निर्देशन दिनुभएको हो ।  मन्त्रालयले कसैले गर्भमा रहेको भ्रूणको लिङ्ग पहिचान गरी कुनै कार्य गर्न/गराउन नहुने, यदि यस्तो कार्य गरे वा गराएमा तीन महिनादेखि एक वर्षसम्म कैद सजाय हुने परिपत्रमा उल्लेख गर्दै त्यो कुरा स्वास्थ्य संस्था एवं प्रयोशागाला परिसरमा टाँस्न पनि भनिएको छ ।  मन्त्रालयले राष्ट्रिय जनगणना, २०७८ को नतिजामा लैङ्गिक अनुपातमा असमानता देखापरेको र विभेदपूर्ण लिङ्ग छनोटको अन्त्यका लागि राष्ट्रिय रणनीतिमा विभेदपूर्ण लिङ्ग छनोट अन्त्य गर्न लिङ्ग पहिचान गर्न नपाइने उल्लेख गरिएको छ ।   मुलुकी संहिता, २०७५ को दफा १८८ को उपदफा ७ र ८ मा एवं सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ को दफा १७ मा गर्भको लिङ्ग पहिचान गर्ने कार्यलाई कानुनत: दण्डनीय अपराध मानेको हुँदा स्वास्थ्य संस्थालाई भ्रूणको लिङ्ग पहिचान नगर्न भनिएको छ । 

पोखरा:    पोखरा महानगरपालिका खेलकुद विकास समितिले आयोजना गरेको दोस्रो कास्की जिल्ला अन्तर पालिका पुरूष भलिबल प्रतियोगिताको उपाधि अन्नपूर्ण गाउँपालिकाले जितेको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा बिहीबार भएको फाइनलमा माछापुच्छ«े गाउँपालिकालाई ३–१ को सेटमा हराउँदै अन्नपूर्ण ‘ए’ च्याम्पियन बनेको हो ।  उपाधिसँगै अन्नपूर्ण गाउँपालिकाको टिमले ६० हजार रूपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ । उपविजेता माछापुच्छ«ेले ५० हजार रूपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । रूपा गाउँपालिका ‘बी’लाई ३-० को सोझो सेटमा हराउँदै आयोजक पोखरा महानगरपालिकाको (रातो जर्सी) टिम तृतीय भयो । महानगरको टिमले ४० हजार रूपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ ।  पोखरा महानगरपालिका भलिबल संघको व्यवस्थापन र कास्की जिल्ला भलिबल संघको विशेष सहयोगमा भएको प्रतियोगितामा अन्नपूर्ण गाउँपालिकाका सचिन नेपाली सर्वोत्कृष्ट खेलाडी घोषित भए ।  अन्नपूर्णकै मन्दीप परियार उत्कृष्ट सेटर र आकाश धमाल उत्कृष्ट ब्लकर बनेको महानगर भलिबल संघका अध्यक्ष रामबहादुर लामिछानेले जानकारी दिए । माछापुच्छ«ेका समीर गुरूङ उत्कृष्ट डिफेन्डर र पोखरा महानगरपालिकाका विजय परियार उत्कृष्ट स्पाइकर बने । अन्नपूर्णका हरिचन्द्र सुनार उत्कृष्ट प्रशिक्षक घोषित भए । विधागततर्फ उत्कृष्ट हुनेले नगद ५÷५ हजार रूपैयाँसहित प्रमाणपत्र पुरस्कार दिइएको महानगर खेलकुद विकास समितिका सदस्य सचिव सुवास खड्काले जानकारी दिए ।   प्रतियोगितामा पोखरा महानगरपालिका, अन्नपूर्ण, मादी र रूपा गाउँपालिकाका २-२ र माछापुच्छ्रे गाउँपालिकाको एक टिम गरी ९ टिम सहभागी थिए ।     

काठमाडौं:   सरकारले वर्षयामा देखिने स्वास्थ्य समस्याबाट बच्न पानी उमालेर मात्र पिउन आग्रह गरेको छ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सूचना निकाल्दै नेपालमा मनसुन भित्रिएसँगै विभिन्न स्थानमा दिनहुँ जसो वर्ष भइरहेको र वर्षासँगै झाडापखाला, हैजा, डेंगुको जोखिम रहने हुँदा यस्तो स्वास्थ्य समस्याबाट बच्न आग्रह गरेको हो।  झाडापखाला, हैजाबाट बच्न मन्त्रालयले सधैँ पानी उमाले वा क्लोरिन झोल प्रयोग गरेर मात्र पिउने र व्यक्तिगत सरसफाइमा ध्यान दिन आग्रह गरेको छ। त्यस्तै बासी सडेगलेका खानेकुरा नखाने, खानालाई छोपेर राख्ने, काँचै खान मिल्ने फलफूल र तरकारीको सरसफाइलाई विशेष ध्यान पुर्‍याउन मन्त्रालयले अनुरोध गरेको छ।  मन्त्रालयले खुला रूपमा दिसा पिसाब नगर्ने, चर्पी अनिवार्य प्रयोग गर्ने र दिसा पिसाब गइसिकेपछि साबुन पानीले मिचामिची हात धोएर सुरक्षित रहन आग्रह गरेको छ।  साथै एडीज जातका लामखुट्टेको (कालो सेतो छिर्केमिर्के देखिने) टोकाइबाट सर्ने डेंगु रोगबाट बच्न आफ्नो घर वरपर तथा कार्यस्थलमा सफा पानी जमेको ठाउँमा लामखुट्टेले फूल पार्ने भएको हुँदा पानी जम्न नदिन सुझाव दिएको छ।  घरको झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली हालौँ, जुनसुकै बेला सुत्दा झुलको प्रयोग गर्ने। पुरै शरीर ढाक्ने लुगा लगाउन मन्त्रालयले अनुरोध गरेको छ।  मन्त्रालयले खाद्यान्न तथा खानेपानी वितरण सम्पूर्ण सरोकारवाला निकाय तथा व्यवसायीलाई सचेत रहन आग्रह गरेको छ।  

काठमाडौं:    नेपाल फिलिपिन्सँगको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा पराजित भएको छ । आज बिहीवार फिलिपिन्सको रिजल मेमोरियल मैदानमा भएको खेलमा नेपाल घरेलु टोलीसँग १–० गोलले पराजित भयो । फिलिपिन्सका लागि खेलको ४९ औँ मिनेटमा जाभिएर गायोसोले गोल गरे । खेलमा नेपालले केही राम्रा अवसरहरू सिर्जना गरे पनि गोल गर्न सकेन । भारतमा हुने १४ औँ संस्करणको साफ च्याम्पियनशिपको तयारीका लागि नेपालले फिलिपिन्ससँग खेलेको हो । फिफा वरीयतामा नेपाल फिलिपिन्सभन्दा निकै पछि छ । नेपाल १ सय ७४ औँ स्थानमा छ भने फिलिपिन्स १ सय ३६ औँ स्थानमा छ । साफ च्याम्पियनशिप भारतको बेङ्गलुरुमा असार ६ देखि १८ गतेसम्म हुनेछ । च्याम्पियनशिपमा नेपालसहित आयोजक भारत, बङ्लादेश, कुवेत, लेबनान, भुटान, पाकिस्तान र माल्दिभ्स सहभागी हुँदैछन् । कुवेत र लेबनानले आमन्त्रित टोलीको रूपमा साफ खेल्न लागेका हुन् । असार ६ गते हुने नेपाल र कुवेतबीचको उद्घाटन खेल नेपाली समयअनुसार पौने ४ बजे सुरु हुनेछ ।

तनहुँ:    बन्दीपुर गाउँपालिकाले बाँदरका कारण पीडित कृषकलाई बाँदर धपाउनका लागि ३० वटा बन्दुक निःशुल्क वितरण गरेको छ । गाउँपालिका मातहत रहेका छ वटै वडाका कृषकलाई पहिलो चरणमा बाँदर धपाउने बन्दुक वितरण गरिएको हो । ठुलो आवाज आउने भएकाले अन्य उपकरणको तुलनामा बाँदर धपाउनका लागि यो उपकरण निकै प्रभावकारी रहेको गाउँपालिकाका प्रवक्ता शिवकुमार श्रेष्ठले जानकारी दिनुभयो । पहिलो चरणमा अत्यधिकमात्रामा बाँदरले दुःख दिएर हैरान बनाएका क्षेत्रका किसानलाई प्राथमिकता दिँदै आएको गाउँपालिकाले जनाएको छ । बाँदरले क्षति नगर्ने किसिमका वैकल्पिक खेतीतर्फ अग्रसर बन्न गाउँपालिकाले प्रोत्साहन गर्दै आएको उहाँले बताउनुभयो ।  खेतबारीमा लगाइएको अन्नबाली र तरकारी बाली नष्ट गर्न थालेपछि किसानले गाउँपालिकासँग बाँदर धपाउने उपकरण माग गरेको गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले जानकारी दिनुभयो । कृषकका मागलाई सम्बोधन गर्न गाउँपालिका कार्यालयले रु एक लाख बजेट विनियोजन गरेको उहाँले बताउनुभयो । कृषि ज्ञान केन्द्रले बाँदरले हैरान दिएका क्षेत्रमा वैकल्पिक खेतीका रूपमा बेसार र अदुवालगायतका खेती लगाउन कृषकलाई आग्रह गरेको छ ।  बाँदरले हैरान बनाएपछि व्यास नगरपालिका-८ र १३ गरी दुई वडामा करिब दुई सय रोपनी क्षेत्रफलमा परीक्षणकारुपमा व्यावसायिक तरिकाले बेसारखेती गर्न थालिएको छ । कार्यालयले दुई वडाका लागि रु सात लाख अनुदान प्रदान गरिसकेको वरिष्ठ कृषि विकास अधिकृत कुलप्रसाद तिवारीले जानकारी दिनुभयो । “हामीले पैसा दिएका छौँ, कृषकले बीउबिजन र आवश्यक पर्ने औजार खरिद गरेका छन्”, उहाँले भन्नुभयो ।