ढोरपाटन: रातोमाटो र सेतो कमिरोले पोतिएका घर । कतै ढुङ्गाले बान्की मिलाएर छाएको छानो त कतै सलक्क खरले छाइएका घर । ढुङ्गाकै गारो र काठले टमक्क मिलाइका घरले गाउँको पहिचान दिलाउँथ्यो । अहिले त्यस्ता मौलिकता बोकेका घर बजारमा त छैनन् नै गाउँमा पनि कम भेटिन्छन् । अझ घरका झ्यालढोकामा कलात्मक शैलीमा बनाइएका आकृति तथा मूर्ति त भेटिनै छाडिसके । पछिल्लो समय प्रविधिको विकासका कारण मौलिक घर लोप हुँदै गए भने आधुनिक घर धमाधम बनिरहेका छन् । बागलुङका अधिकांश गाउँमा ढुङ्गा, काठ र माटोका घर छन् । एक दशक अगाडिसम्म गाउँका धेरै घर खरका थिए । अहिले खरका घर भेट्टाउनै मुस्किल पर्छ । जिल्लाका स्थानीय पालिकाले पनि खरका घर विस्थापित गरी जस्तापाताका छानो हाल्ने नीति ल्याएपछि गाउँका मौलिक घर ओझेलमा परेका छन् । ढोरपाटन नगरपालिका–९ बोबाङमा दुई दशक अगाडिसम्म ढुङ्गाको पर्खाल र काठका फल्याकले छाएका घर मात्रै थिए । ती घर एउटा पनि अहिले भेट्टाउन सकिन्न । काठ र ढुङ्गाबाट बनेका घर विस्थापित बनेपछि बिस्तारै ढुङ्गा र खरका घर बने । अहिले ती ढुङ्गा र काठका घर पनि विस्थापित हुँदै गएका छन् । अहिले बोबाङ गाउँमा जस्तापातले छाएका घरले गाउँ नै ढाकिन थालेका छन् । जस्तापाताका घर बनाउन स्थानीयवासीलाई सहज भए पनि गाउँको सुन्दरतामा भने धेरै प्रभाव पारिरहेको छ । बोबाङ गाउँसँगै निसीखोलाको निसी गाउँ, तमानखोलाको तमान गाउँ, बोङ्गादोभान तथा जिल्लाका अधिकांश गाउँमा अहिले धमाधम जस्तापातले छाइएका घर निर्माण भएका छन् । पहिले टाढैबाट चिटिक्क देखिने खर र ढुङ्गाले छाएका घर अहिले जस्तापाता तथा कङ्क्रिटबाट बनेका घरमा परिणत भइरहेका छन् । मौलिक ढुङ्गे तथा खरका घर बनाउन बढी झण्झटिलो र खर्चिलो हुने हुँदा पछिल्लो समय स्थानीयले जस्तापाताका घर बनाउन थालेको ढोरपाटन–८ बोबाङका कुशल विश्वकर्माले बताउनुभयो । उहाँले १५र२० वर्ष अगाडिको तुलनामा अहिले घरको बनावट तथा निर्माण गर्ने शैलीमा निकै परिवर्तन आएको बताउनुभयो । “अहिले गाउँ र बजारका घरमा धेरै फकर पाइँदैन, गाउँमा पनि बजारकै शैलीमा घर बन्न थाले, सबै आधुनिकतासँग जोडिएका छन्, मौलिकता बोकेका घर बिस्तारै हराउँदै गए, मान्छे विदेश तथा सहर बजार जान थाले, विदेश र सहर बजारमा बनेका जस्तै घर गाउँमा बनाउन थाले”, विश्वकर्माले भन्नुभयो, “पहिले त यहाँ काठैकाठका घर थिए, पछि ढुङ्गा, घर र काठका घर बने, अहिले धेरैले टिन (जस्तापाता) ले छाउन थाले, अलि हुने खानेले ठूला सिमेन्टकै घर बनाउन थाले, यसले गाउँ नै आधुनिकीकण भयो, मौलिक संस्कृति र परम्परा हराउन थाले, अब पालिकाहरुले गाउँका सबै घर मौलिकतासँग जोडेर बनाउनुपर्ने नीति ल्याउनुपर्छ ।” निसीखोलाका ७९ वर्षीय तीर्थबहादुर पुनले अहिले बन्ने घरले गाउँको स्वरुप नै बदलिदिएको बताउनुभयो । पहिले गाउँमा बन्ने घर सबै एउटै खाले हुने गरेको जनाउँदै अहिले बन्ने घरका रङ्ग तथा आकार फरक–फरक हुँदा गाउँको सुन्दरतामा ह्रास आएको गुनासो गर्नुभयो । मौलिक कला संस्कृतिमा बजारभन्दा गाउँ निकै अब्बल रहेको सुनाउँदै मान्छेहरुले बजारको नक्कल गरी घर पनि त्यस्तै बनाउन थालेको उहाँ बताउनुहुन्छ । संस्कृति संरक्षणका लागि घर नयाँ बनाए पनि पुरानै शैलीमा नवीन प्रविधि अपनाउनुपर्ने उहाँको भनाइ छ । उहाँ भन्नुहुन्छ, “अहिले यहाँ बनेका घर स्वास्थ्यका लागि फाइदाजनक छैनन्, सिमेन्ट बालुवाले बनेका छन्, टिनले छाएका छन्, हिउँदमा चिसोले मान्छेलाई रोगी बनाउँछ, पहिले–पहिलेका घर सबै मौसमका लागि उपयुक्त हुन्थे, हिउँदमा न्यानो हुने, गर्मीमा शीतल हुने खालका हुन्थे, अहिले गाउँ हेर्नु हुन्छ भने खरका घर कतै भेटाउनु हुन्न, घुमाउने घर पनि पहिले गाउँमा बाक्लै थिए, अहिले कतै देख्नुहुन्छ रु, किन हराए रु, यो सब अरूको देखासिकीले गर्दा हो, गाउँमा कसैले टिनले छाएको घर बनाउँछ भने भोलि अर्कोले त्यस्तै घर बनाउँछ, पुरानो घरलाई पहिलेकै जस्तो बनाउनुपर्छ भन्ने कसैलाई लाग्दैन ।” गाउँका पुराना घरलाई संरक्षण गरिराख्न सके केही वर्ष पनि पर्यटकका लागि आकर्षणको केन्द्र बन्न सक्ने पुन बताउनुहुन्छ । उहाँले खास गरी खरको घर विस्थापित हुनाका कारण यो बनाउन धेरै समय लाग्ने, आगलागीको जोखिम हुने र अहिले कसैले पनि वनमा गएर खर काटेर ल्याउन झण्झट मान्ने हुँदा जस्तापाताले छाएका घर बढ्दै गएको बताउनुभयो । बागलुङका धेरै पालिकाले खरको छानोमुक्त गाउँ अभियानलाई तीव्रता दिएका छन् । तमानखोला गाउँपालिकाले भने मौलिक घर संरक्षण गर्न थालेको छ । सो गाउँपालिकाले पुराना मौलिक घरको संरक्षण गरी नयाँ बन्ने घर पनि पुरानै शैलीमा निर्माण गर्ने नीति बनाएको छ । गाउँपालिकाले सबै घरलाई एउटै रङ्ग, एउटै शैली र एउटै आकार प्रकारको बनाउने अध्यक्ष जोकलाल बुढा मगरले बताउनुभयो । गाउँमा अब कसैले पनि कङ्क्रिटका भवन बनाउन नपाउने उहाँको भनाइ छ । आधुनिक प्रविधिको बढ्दो विकास र प्रयोगले ग्रामीण जीवनशैली, यहाँको संस्कार संस्कृति, सौन्दर्य र गाउँको वास्तविक महत्व हराउँदै गएपछि गाउँपालिकाले घरलाई पुरानै स्वरुपमा संरक्षण गर्न थालेको उहाँले बताउनुभयो । “गाउँमा बन्ने घर गाउँकै स्रोत र साधनको प्रयोग गरी बनाउनु पर्छ, यहाँ यति धेरै स्रोत साधन छन्, तर हामीहरुले आयातित सामानको प्रयोग गरेर घर, भवन बनाइरहेका छौँ, गाउँमा पनि सिमेन्टका ठूला–ठूला घर, भवन बन्न थाले, यसलाई रोक्नका लागि गाउँपालिकाले स्थानीय स्तरमा भएका स्रोत साधनलाई प्रयोग गरेर गाउँका घरलाई मौलिक घर बनाउने योजना बनाएका छौँ”, अध्यक्ष बुढा मगरले भन्नुभयो, “अहिले संस्कृति संरक्षण गर्न लागिएन भने पछिको पुस्ताले गर्दैनन्, संस्कृति नै मासिँदै जाने खतरा बढेको हुँदा यसलाई रोक्न हामी लागेका छौँ ।”
काठमाडौं: नेपाली कांग्रेसको कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति एवम् केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख पूर्णबहादुर खड्कालाई तोकिएको छ । पार्टी सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा नियमित स्वास्थ्योपचार (फ्लोअप)का लागि सिङ्गापुर प्रस्थान गर्नुभएकाले कांग्रेसको विधानबमोजिम स्वदेश नफर्कुञ्जेलसम्मका लागि उहाँलाई पार्टीको कार्यवाहक सभापति तोक्नुभएको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
संघीय संसदको राष्ट्रिय सरोकार तथा समन्वय समितिले जिल्ला निर्वाचन कार्यालयलाई खारेज नगर्न सरकारलाई निर्देशन दिएको छ । समितिको बुधबार बसेको बैठकले आवधिक निर्वाचन स्वतन्त्र, स्वच्छ र निश्पक्ष रुपमा सम्पन्न गराउन निर्वाचन आयोगसँग परामर्श गरी जिल्ला निर्वाचन कार्यालयलाई खारेज गर्ने प्रस्ताव पुनरावलोकन गर्न निर्देशन दिएको हो । १५ जेठमा बजेट वक्तव्य प्रस्तुत गर्दै अर्थमन्त्री डा प्रकाशशरण महतले चालु खर्च कटौती गर्न २० भन्दा बढी निकाय खारेज गर्ने बताएका थिए। जसमा जिल्ला निर्वाचन कार्यालयहरु खारेज गरी जिल्ला प्रशासन कार्यालयको इकाइको रुपमा राख्ने र निर्वाचन कार्यालयहरु प्रदेशमा मात्र रहने बजेट वक्तव्यको अनुसूचीमा उल्लेख गरिएको थियो। निर्वाचन आयोगले जिल्लास्थित आफ्ना संरचना खारेज गर्ने सरकारको निर्णयप्रति असन्तुष्टि जनाएको थियो ।
दाङ: प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समाजवादी मोर्चा हुँदै नयाँ नेकपा बनाउने बताएका छन् । नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति दाङले बुधबार आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा बोल्दै प्रचण्डले समाजवादी क्रान्तिको तयारीका लागि समाजवादी संयुक्त मोर्चाको तयारी भइरहेको बताए । मोर्चाको दस्तावेजसमेत टुंगो लगाइसकेको जानकारी दिँदै प्रचण्डले भने, ‘हाम्रो पार्टी, माधव नेपाल, बाबुराम भट्टराई, विप्लव, वामदेव गौतम, उपेन्द्र यादवहरूले नेतृत्व गरेका शक्तिबीच केही दिनमा समाजवादी मोर्चा घोषणा हुन्छ । तल्लो तहसम्म समाजवादी मोर्चा बन्छ ।’
काठमाडौं: बुधबार सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा ९ सय र चाँदीको मूल्य तोलामा २५ रुपैयाँले घटेको छ । आज छापावाल सुनको मूल्य एक लाख ११ हजार ८ सय, तेजावी सुनको मूल्य एक लाख ११ हजार २५० र चाँदीको मूल्य १४ सय २५ रुपैयाँ तोकिएको छ । मंगलबार छापावाल सुन एक लाख १२ हजार ७ सय, तेजावी सुन एक लाख १२ हजार १५० र चाँदीको मूल्य १४ सय ५० रुपैयाँ तोकिएको थियो ।
काठमाण्डौ: अर्काको नाममा लोकसेवाको परीक्षा दिएको आरोपमा रुपन्देहीबाट दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सप्तरीको राजबिराज–११ घर भई कोष तथा लेखा नियन्त्रण कार्यालय कपिलवस्तुको सह लेखापाल पदमा कार्यरत ३३ वर्षीय मनोजकुमार शर्मा सुतिहार र त्यहि ठाउँ घर भई जिल्ला हुलाक कार्यालय सप्तरीमा नायब सुब्बा पदमा कार्यरत ३० वर्षीय नारायण यादव रहेका छन् । लोकसेवा आयोगले बुटवल केन्द्रमा खरिदार मधेसी पदका लागि २०७७ साल फागुन २९ गते प्रथम र २०७८ साउन ४ गते लिएको परीक्षामा मनोजकुमार शर्मा सुतिहारको नाममा नारायण यादवले परीक्षा दिएको पाइएपछि लिखित सम्बन्धी कसूर मुद्दामा दुवै जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता श्यामु अर्यालले जानकारी दिएका हुन् । अर्काको नामबाट परीक्षा दिएर र दिन लगाएर बेइमानी गरेकाले अनुसन्धानका लागि उनीहरुलाई पक्राउ गरिएको प्रहरीको भनाई छ ।
काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालबाट डिस्चार्ज भएका छन् । शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रका कार्यकारी निर्देशक डा। चन्द्रमणि अधिकारीले विज्ञप्ति निकालेर राष्ट्रपति पौडेले नियमित स्वास्थ्य परीक्षण तथा उपचार गरी २४ घन्टाको अवलोकनमा रहेर डिस्चार्ज भएको जनकारी दिएका छन् । उनले राष्ट्रपति पौडेलेको स्वास्थ्य अवस्था सामान्य रहेको समेत जानकारी पनि गराएका छन् ।
म्याग्दी: बाढीले कल्भर्ट बगाएपछि म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङ जिल्लालाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । सडकअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ्ग तातोपानीमा रहेको कल्भर्ट पुल मङ्गलबार रातिको बाढीले बगाएको हो । पुल बगाएपछि बेनी–जोमसोम सडकमा सिधा सवारी आवतजावत बन्द भएको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले जानकारी दिनुभयो । बेनीबाट मुस्ताङ जाने र मुस्ताङबाट बेनीतर्फ आउने सवारीसाधन बीच बाटोमै रोकिएका छन् । जेठ ६ गते रातिको बाढीले भुरुङ्ग–तातोपानीमा रहेको तीन मिटर लामो कल्भर्ट पुल भत्काएको थियो । पुल भत्काएपछि ह्युमपाइप राखेर अस्थायीरूपमा खोला वारपार गर्ने संरचना बनाइएको थियो । पुनः बाढी आएर ह्युमपाइप र वरपरको सडक कटान गरेर बगाएको हो । छयात्तरु किलोमिटर दूरीको बेनी–जोमसोम सडक कालीगण्डकी करिडोर सडक आयोजनामार्फत स्तरोन्नतिको क्रममा छ । आयोजनाका सुुपरभाइजर इन्द्रसिंह शेरचनले आज बिहानैदेखि डोजर र मजदुर परिचालन गरेर सडक खुलाउने प्रयास भइरहेको बताउनुभयो ।
तनहुँ: तनहुँको व्यास नगरपालिका–४ स्थित चिहानडाँडा नजिकको नालामा बोराभित्र मृत फेला परेकी महिलाको सनाखत भएको छ । मङ्गलबार बिहान चिहानडाँडास्थित सुवर्ण कच्ची सडकको कुनामा रहेको ढलको पानीका लागि बिछ्याइएको ह्युमपाइपमा बोराभित्र फेलापरेकी अन्दाजी २५–३० वर्षीया महिलाको सनाखत भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाणले मृतक महिला व्यास नगरपालिका–१४ छाब्दी निवासी रहेको जानकारी दिनुभयो । उक्त घटनामा प्रहरीले एक जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । उहाँले भन्नुभयो, “लगभग सनाखत भएको छ, एक जनालाई अनुसन्धान गरिरहेका छौँ । पूरा विवरण आज दिउँसोसम्ममा सार्वजनिक गर्छौँ ।” अनुसन्धान प्रक्रियाका कारण मृतक महिलाको नाम र पक्राउ परेका व्यक्तिको नाम अहिले सार्वजनिक नगरिएको प्रनाउ खाणले बताउनुभयो । बोराभित्र हात बाँधिएको अवस्थामा ती महिला मृतावस्थामा फेला परेकी थिइन् । उक्त बाटो हिडडुल गर्ने स्थानीयवासीले गन्ध आएपछि प्रहरीलाई खबर गरेका थिए ।

