पोखरा ।   नेपाल चेम्बर अफ कमर्सको हीरक जयन्तीको अवसरमा पोखरामा अन्तर्राष्ट्रिय व्यवसाय अनुभव सम्बन्धी अन्तरक्रिया सम्पन्न भएको छ ।    चेम्बर अफ कमर्सका सदस्य व्यवसायीहरूलाई अन्तर्राष्ट्रिय बजार...

काठमाडौं:     नेपाल प्राज्ञ-प्रतिष्ठानले यही आसार ९ गते आयोजना गर्न लागेको राष्ट्रिय कविता महोत्सवमा यस दशककै सर्वाधिक कविताहरू दर्ता हुन आएका छन् । महोत्सवमा इमेलबाट ८४८ र प्रत्यक्ष ४४ वटा गरी ८९२ वटा कविता प्रतिष्ठानमा दर्ता हुन आएका छन् । २०२२ सालदेखि सुरु गरिएको राष्ट्रिय कविता महोत्सवको इतिहासमा यो पछिल्लो दशक यता निरन्तर खस्किरहेको कविहरूको आकर्षण यसपल्ट एक्कासि उक्सिएको छ । ५८ वर्षे लामो राष्ट्रिय कविता महोत्सवको परम्परा र प्रतियोगितात्मक ढाँचालाई परिवर्तन गरेर यस पटकदेखि प्रज्ञा-प्रतिष्ठानले समावेशी सहभागितामूलक सिद्धान्तअनुसार सबै “नेपाली भाषा/मातृभाषा/कविताहरूलाई आह्वान गरेको थियोे । “सबै भाषा सबै ज्ञान, सबैको प्रज्ञा–प्रतिष्ठान’’ भन्ने नाराका साथ प्रज्ञा–प्रतिष्ठानलाई सारा  नेपालीको साझा थलो बनाउने योजनाको प्रमुख कडी भनिएको छ । यस राष्ट्रिय कविता महोत्सवको यही नारालाई आत्सात् गरेर यस पटक यो दशककै सर्वाधिक सङ्ख्यामा कविहरूले महोत्सवमा सहभागिता जनाउन लागेका हुन् । यसपटक राष्ट्रिय कविता महोत्सवमा नेपाली, संस्कृत, डोटेली, वाम्बुले राई, वान्तवा राई, लिम्बु, कुलुङ, अवधी, मगही, मगर(खाम), राजवंशी, उरावँ, मैथिली, ल्होमी, धिमाल, माझी, कठरिया(थारू), पुमा राई, गुरूङ, नाछिरिङ, वायुङरबाहिङ, सामपाङ, नेपालभाषा, चाम्लिङ राई, तामाङ, ताजपुरिया, शेर्पा, थुलुङ, दुङ्माली, खस हुम्ली, घले गुरुङ, भोजपुरी, मध्य पूर्वीय थारू, पूर्वी थारू, थारू र दमाई लगायतका ३६ वटा भाषामा रचिएका कविताहरू राष्ट्रिय कविता महोत्सवका लागि प्राप्त भएका छन् ।

काठमाडौं:     मुटुमा समस्या देखिएपछि उपचाररत राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था स्थिर रहेको अस्पतालले जनाएको छ । महाराजगञ्जस्थित मनमोहन कार्डियो थोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले विज्ञप्ति जारी गर्दै राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था स्थिर रहेको जानकारी दिएको हो । सेन्टरका कार्यकारी निर्देशक प्राध्यापक डाक्टर मणि गजुरेलले जारी गरेको विज्ञप्तिमा राष्ट्रपतिको मुटुको चाल मनिटरिङ गर्न आवश्यक देखिएकोले आज बिहान अस्पताल भर्ना गरिएको हो । राष्ट्रपतिको मुटुमा समस्या देखिएपछि शनिबार बिहानै ५ बजे उपचारका लागि भर्ना गरिएको राष्ट्रपतिका स्वकीय सचिव चिरञ्जीवी अधिकारीले जानकारी दिए । स्वकीय सचिव अधिकारीका अनुसार राष्ट्रपतिको स्वास्थ्य सामान्य छ । गत मंगलबार राष्ट्रपति पौडेल मुटुमा समस्या देखिएपछि शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा भर्ना भएका थिए । उपचार गराएर डिस्चार्ज भएको केही दिनमै उनलाई पुनः समस्या देखिएको हो । राष्ट्रपति पौडेलले वैशाखमा भारतको नयाँ दिल्लीमा उपचार गराएका थिए ।

काठमाडौं:    राष्ट्रपति चुरे-तराई मधेस संरक्षण विकास समितिले आज स्थापनाको अवसरमा नवौँ चुरे संरक्षण दिवस मनाउँदै छ । समिति र सम्बन्धित निकायले चुरे आसपासका क्षेत्रमा वृक्षरोपण तथा जनचेतनाका विभिन्न कार्यक्रम गरी यो दिवस मनाउँदैछन् । सरकारले २०७१ साल असार २ गते सो समितिको गठन गरेको थियो । राष्ट्रपति चुरे संरक्षण कार्यक्रम  सरकारको प्रकृति संरक्षण र सम्वद्र्धन गर्ने  उद्देश्य लिएको एकमात्र राष्ट्रिय गौरवको आयोजना हो । समितिका अध्यक्ष डा किरण पौडेलले स्थापनाको दिवसका अवसरमा ‘चुरेको माटो चुरेलाई, सफापानी सबैलाई’ भन्ने साझा लक्ष्यमा अघि बढ्न सबैलाई आह्वान गर्नुभएको छ । उहाँले चुरे संरक्षणको गहन अभिभारा पूरा गर्ने काममा सहयोग पुर्याउने वन तथा वातावरण मन्त्रालय, अन्य पूर्वाधार विकास गर्ने मन्त्रालय, प्रदेश सरकार तथा स्थानीय तह, सुरक्षा निकाय, सामुदायिक वन उपभोक्तालगायत स्थानीय समुदाय, विकास साझेदार एवं सबैलाई धन्यवाद दिनुभएको छ । नेपालमा पूर्व इलामदेखि पश्चिम कञ्चनपुरसम्म ३७ वटा जिल्लामा कूल भू-भागको १२ दशमवलव ७८ प्रतिशत क्षेत्रमा फैलिएर रहेको अत्यन्त संवेदनशील र कमजोर अवस्थाको चुरे पहाड तराई मधेसको अस्तित्वसँग अन्योन्याश्रित सम्बन्ध राख्दछ । चुरे क्षेत्र भौगर्भिकरूपमा कमजोर, धेरै पानी पर्ने, भूकम्पीय कारणबाट अति जोखिमयुक्त, जैविक विविधतामा धनी रहेको, दुर्लभ वन्यजन्तुको वासस्थान र जैविक मार्ग हो । बलौटे ढुङ्गा एवं माटो ढुङ्गा सङ्गुरीकाले बनेका कारण चुरे भूभाग निकै कमजोर छ । अव्यवस्थित बसोबास, वन अतिक्रमण, वन डढेलो, खुला चरिचरण र नदीजन्य पदार्थको दोहन, अनियन्त्रित भौतिक पूर्वाधार निर्माण, भू–क्षयजस्ता कारणले यो क्षेत्र झनै संवेदनशील बन्दै गएको छ । यस्तै गतिविधिका कारण तराई मधेस मरुभूमिकरण हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै चुरे–तराई मधेस क्षेत्रका ३७ जिल्लाका तीन सय २५ स्थानीय तहका करिब ५८ प्रतिशत मानिसको जीवन पद्धतिसँग सम्बन्धित यो क्षेत्रका एक सय ६४ नदी प्रणाली र तिनका जलाधार क्षेत्रलाई संवेदनशील एवं जोखिमपूर्ण भौगोलिक क्षेत्र घोषणा गर्दै वातावरण संरक्षण क्षेत्र कायम गरी नेपाल सरकारले समितिको गठन गरेको थियो । चुरे क्षेत्र भौगोलिक हिसाबले कमलो र कान्छो भए तापनि जैविक र सांस्कृतिक सम्पदामा धेरै धनी छ । चुरे क्षेत्र बाघ, भालु, गैँडा, हात्ती, अर्ना र अन्य वन्यजन्तुको वासस्थान रहनुका साथै विविध किसिमका जडीबुटीजन्य वनस्पतिको खानी पनि हो । तराई र मधेस क्षेत्रमा सिँचाइको लागि आवश्यक पर्ने पानीको प्रमुख स्रोत भनेको चुरे र मध्य पहाडी शृङ्खलाबाट बग्ने नदी प्रणाली र यिनले पुनर्भरण गरेका भूमिगत जलस्रोत हो । तराई र मधेसका जनतालाई प्राकृतिक विपद्बाट बचाउने हो भने चुरे क्षेत्रमा रहेका वन, वनस्पति, वन्यजन्तु र पारिस्थितिकीय प्रणालीलाई उनीहरूको प्राकृतिक प्रक्रियाअनुसार स्वच्छ र स्वतन्त्ररूपमा बाँच्न दिनुपर्ने हुन्छ । अध्यक्ष पौडेलले ‘प्रकृति स्वच्छ भए मात्र हाम्रो जीवन सुरक्षित हुन्छ र प्रकृतिलाई हामीले संरक्षण गर्यौं भने मात्र प्रकृतिले हामीलाई संरक्षण गर्दछ’ भन्ने तथ्यलाई कसैले पनि बिर्सनु नहुने बताउनुभएको छ । चुरे क्षेत्रमा जनसङ्ख्या वृद्धि, बसाइँसराइ र भौतिक पूर्वाधार विकासका कारण सहरीकरण दिन प्रतिदिन बढ्दो छ । “बढ्दो भौतिक विकासले चुरे क्षेत्रको पारिस्थितिकीय प्रणालीलाई पारेको असरलाई कसरी कम गर्न सकिन्छ र हिजो नष्ट भएका पारिस्थितिकीय प्रणालीलाई आज कसरी पुनःस्थापना गर्न सकिन्छ भनेर सबैले गम्भीर भएर सोच्नुपर्ने बेला आएको छ”, अध्यक्ष पौडलले भन्नुभयो । चुरे क्षेत्रमा भावी पुस्ताको बाँच्न पाउने अधिकारसमेतलाई ख्याल गरेर यस क्षेत्रको व्यवस्थित भौतिक विकास गर्न र वातावरणीय अध्ययन गरेर मात्र ढुङ्गा, गिट्टी र बालुवाजस्ता प्राकृतिक स्रोतको सङ्कलन तथा उत्खनन गर्न उहाँले आह्वान गर्नुभएको छ ।

स्याङ्जा:     अर्जुनचौपारी गाउँपालिका ६ सिउडबारीमा धारिलो हतियार प्रहार गरी १० वर्षीय बालकको हत्या भएको छ । स्थानीय हर्षित देवकोटाको धारिलो हतियार (हँसिया) प्रहार गरी शुक्रवार साँझ हत्या भएको हो । गर्धन र कन्चटमा प्रहार गरी हत्या गरेका बालक (देवकोटा)को शव घरदेखि टाढा खर बारीमा फेला परेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी रवीन्द्र खनालले बताए ।    हत्या भएका देबकोटाको बुवा रोजगारीको लागि वैदेशिक रोजगारमा रहेको बताइएको छ । हत्या भएका बालक परिवारको एक मात्र छोरा थिए । स्कुलबाट आएका हर्षित बेपत्ता भएपछि खोजी गर्ने क्रममा  हत्या भएको खुलेको थियो ।  प्रहरीले बालकको हत्याको आरोपमा सोही ठाउँ बस्ने २२ वर्षीय सुजन चुवाई (सुवेदी) लाई पक्राउ गरी अनुसन्धान सुरु गरेको जनाएको छ ।

स्याङजा:   स्याङजाको चापाकोट नगरपालिकाका पूर्वमेयर शिव गिरीको गाडी दुर्घटना परी मृत्यु भएको छ ।  शुक्रबार राति बा१५च १७०९ नम्बरको ‘स्कारपियो’ अनियन्त्रित भई दुर्घटना हुँदा  गिरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता रवीन्द्र खनालले जानकारी दिए । चापाकोट–४ दार्सिङ बस्ने ६० वर्षीय गिरीलाई जिल्ला अस्पताल स्याङ्जाले राति ११ः४० मा मृत घोषणा गरेको प्रहरीले जनाएको छ । राङखोलाबाट स्याङ्जातर्फ जाँदै गरेको स्कारपियो गाडी शुक्रबार राति ११ बजे पुतलीबजार(१० राङखोलास्थित सिद्धार्थ राजमार्गमा दुर्घटना भएको थियो । प्रहरीले पुतलीबजार-९ कोल्मा बस्ने ३२ वर्षीय सवारी चालक सुरज नेपाली तथा स्कारपियो नियन्त्रणमा लिएको प्रवक्ता खनालले बताए ।

काठमाडौं:    एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझी नक्कली भुटानी शरणार्थीका नाममा ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा गएसँगै उनको प्रतिनिधिसभा सदस्य पद निलम्बित भएको छ। फौजदारी अभियोगमा समातिएको सांसद थुनामा गएमा सांसद पद निलम्बित हुने व्यवस्था छ । प्रतिनिधिसभा नियमावलीको नियम १४८ उपनियम ३ मा यो व्यवस्था छ । फौजदारी अभियोगमा थुना या फरार रहेमा सांसदले पाउँदै आएको सेवा सुविधा समेत रोकिने प्रावधान छ। यद्यपि निलम्बित सांसदको चुनाव क्षेत्रमा अर्को चुनाव भने हुँदैन।

पोखरा:   नक्कली सुन देखाएर ठगी गरेको आरोपमा पोखरामा दुई युवा प्रकाउ परेका छन् ।  गएको जेठ ५ गते पोखरा महानगरपालिका १० स्थित अमरसिंहचोकबाट विभिन्न व्यक्तिहरुलाई नक्कली सुन देखाएर सक्कली सुन र नगद चोरी गरेको आरोपमा कास्की प्रहरीले दुई युवालाई आज प्रकाउ गरेको हो ।  नक्कली सुन देखाएर ठगी गरेर फरार भएका सिन्धुली घर भएका ४४ वर्षीय बिमल तामा र मकवानपुर हेटौडा उपमहानगरपालिका २ बस्ने ४१ वर्षीय सन्तोष मगरलाई पोखरा २६ अघौंचोकमा शंकास्पद अवस्थामा हिडिरहेको अवस्थामा प्रकाउ गरेको हो ।  प्रकाउ परेका दुई युवाको साथबाट सुन जस्तो देखिने ९९९९ १०० लेखिएको पहेंलो धातु ३ थान, विभिन्न कम्पनीका मोबाईल ३ थान र ५ हजार ४ सय ३५ रुपैयाँसहित प्रकाउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।  प्रकाउ परेका दुवैजनालाई ठगी,अपराधिक विश्वास घात तथा अपराधिक लाभ (एक्सटर्सन)सम्बन्धि मुद्धामा अनुसन्धान भईरहेको कास्की प्रहरीले जनाएको छ ।   

काठमाडौं:    जिल्ला अदालत, काठमाडौंले नक्कली शरणार्थी प्रकरणमा पूर्वमन्त्रीद्वय बालकृष्ण खाँण र टोपबहादुर रायमाझी र सचिव टेकनारायण पाण्डेसहित १६ जनालाई पूर्पक्षका लागि थुनामा राख्न आदेश गरेको छ । न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले दुई साता लामो थुनछेक बहसपछि लक्ष्मी महर्जनसहित दुई जनालाई भने धरौटीमा छाड्ने आदेश गरेको छ । मर्हजनलाई ५ लाख र टंक कुमार गुरुङलाई १० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।

काठमाडौं:   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । उहाँलाई आज विहान संसदीय सुनुवाई समितिले सो पदका लागि सफारिस गरेको थियो । प्रधानन्यायाधीश कार्कीलाई शपथ गराउनेक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को पनि उपस्थिति थियो । प्रन्या कार्की आगामी साउन १९ गतेदेखि उमेरहदका कारण अनिवार्य अवकाशमा जाँदैहुनुहुन्छ ।