पोखरा ।   नेपाल चेम्बर अफ कमर्सको हीरक जयन्तीको अवसरमा पोखरामा अन्तर्राष्ट्रिय व्यवसाय अनुभव सम्बन्धी अन्तरक्रिया सम्पन्न भएको छ ।    चेम्बर अफ कमर्सका सदस्य व्यवसायीहरूलाई अन्तर्राष्ट्रिय बजार...

काठमाण्डाै: बाढी पहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको उच्चस्तरीय टोली पूर्वी नेपाल प्रस्थान गरेको छ ।    प्रधानमन्त्री प्रचण्ड नेपाली सेनाको हेलिकप्टरमार्फत पूर्वी पहाडी जिल्लाको बाढी पहिरो प्रभावित क्षेत्रको निरीक्षणमा निस्कनुभएको उहाँका स्वकीय सचिव रमेश मल्लले जानकारी दिनुभयो ।    उहाँका साथमा उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला र सहरी विकासमन्त्री सीता गुरुङ हुनुहुन्छ । प्रभावित क्षेत्रका जनप्रतिनिधि योगेश भट्टराई, वसन्त नेम्वाङ, दीपक खड्का र कोशी प्रदेश सभा सदस्य राजेन्द्र कार्की सहभागी हुनुहुन्छ ।    साथमा नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा, गृह मन्त्रालयका विपद् हेर्ने प्राविधिक इन्जिनियर र प्रधानमन्त्री कार्यालयका विपद् हेर्ने अधिकृत पनि साथमा हुनुहुन्छ । प्रधानमन्त्री प्रचण्डको निर्देशनमा प्रभावित क्षेत्रमा नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धारको काम भइरहेकाे छ । बाढी र पहिरोमा फसेकालाई उद्धार गरिएको छ ।    आजैमात्र भौतिक पूर्वाधार मन्त्रालयले केन्द्रीय सडक सञ्जालबाट विच्छेद भएको पाँचथर र ताप्लेजुङलाई जोड्न बेलिब्रिजको सामान प्रभावित क्षेत्रमा पठाइसकेको उहाँले जानकारी दिनुभयो ।

पाँचथर:      पाँचथरमा अविरल वर्षापछि आएको बाढी पहिरोका कारण फसेका १२ जनाको नेपाली सेनाको टोलीले उद्धार गरेको छ । पाँचथरको याङ्वरक गाउँपालिका–१ फेदी गाउँमा पहिरोमा फसेका तीन घरका १२ जनालाई आज बिहान नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको हो । पाँचथर याङवारक गाउँपालिका १ फेदीस्थित पहिरोमा परि फसेकालाई उद्धार गरी च्याङथापुस्थित विष्णु माविमा राखिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । प्रहरीका अनुसार पाँचथर याङवारक गाउँपालिका १ बस्ने वर्ष ६० का  नरमाया गुरूङ, उनको नाती वर्ष १६ का सन्दिप गुरूङ र नातिनी हिमा गुरूङको उद्धार गरिएको छ । त्यस्तै ८० वर्षीय कृष्णबहादुर गुरूङ, उनकी श्रीमती ६० वर्षीया डिकमाया गुरूङ, उनका छोरा  ३५ वर्षीय काजुहाङ गुरूङ र बुहारी ३० वर्षीय सुनिता गुरूङको पनि उद्धार भएको छ । त्यस्तै ४३ वर्षीय मनबहादुर गुरूङ, उनकी श्रीमती ४४ वर्षीया मन कुमारी गुरूङ, छोरी१६ वर्षकी सुस्मा गुरूङ, सोही स्थानका ७० वर्षीय पदम बहादुर खालिङ र उनकी श्रीमती  ६८ वर्षीया मनमाया खालिङको उद्धार गरिएको प्रहरीले जनाएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कार्यालय सर्ने भएको छ। आगामी असार ७ गते पार्टी स्थापनाको दिन पारेर कार्यालय सार्न लागिएको महामन्त्री एवम् प्रवक्ता डा। मुकुल ढकालले जानकारी दिएका छन्।   हाल रास्वपाको केन्द्रीय कार्यालय बसुन्धारामा छ र बालाजुमा रहेको डा। भरतमणी देवकोटाको घरमा कार्यायल सार्न लागिएको हो। उक्त घरको मासिक ३ लाख ५० हजार भाडा तिर्ने सम्झौता भएको छ।   प्रवक्ता ढकालले अहिले भइरहेको कार्यालय सानो भएको भन्दै पार्टीका बैठकसमेत गर्नका लागि पर्याप्त नभएकोले सर्न लागिएको बताएका छन्।    उनका अनुसार अब सर्न लागिएको ५ तले भवनमा केन्द्रिय समितिको सबै बैठक गर्न पर्याप्त स्थान हुनेछ। रास्वपाले पार्टी स्थापनाको एक वर्ष पुगेका अवसरमा सप्ताहव्यापी कार्यक्रमको आयोजना गर्न लागेको छ। 

पोखरा:    पोखरा महानगरपालिकाले पनि आजदेखि भारतीय चलचित्र प्रदर्शनमा रोक लगाएको छ।  भारतीय चलचित्र ‘आदिपुरुष’ मा समावेश भएको ‘जानकी भारतीय छोरी हुन्’ भन्ने आपत्तिजनक सन्देश नहटाएसम्म भारतीय चलचित्रको प्रदर्शनमा रोक लगाएको महानगरपालिकाले जनाएको छ ।  पोखरा महानगरका मेय धनराज आचार्यले महानगर भित्रका हललाई भारतीय चलचित्र प्रदर्शनमा रोक लगाउन पत्राचार गरेका छन् । यसअघि काठमाडौं महानगरपालिकाले आजदेखि भारतीय चलचित्र प्रदर्शनमा रोक लगाएको थियो। 

हुम्ला:     सिमकोटबाट हिल्सातर्फ जाँदै गरेको बोलेरो जीप कर्णाली नदीमा खस्दा चालकको मृत्यु भएको छ । चट्टानी भीरको उकालो सडकमा जीप अगाडी बढ्न नसकेर ब्याक भएपछि नदीमा खसेको हो ।  प्रहरी नायव उपरीक्षक भिमलाल भट्टराईले सोमबार बिहान साढे सात बजे च्याछरामा बोलेरो जीप दुर्घटना हुँदा शान्तिपुर–२ धनुसा जनकपुरका चालक ३० वर्षका चालक राजेश हेन्जन तामाङ घटना स्थलमै मृत्यु भएको बताए। कर्णाली प्रदेश ३०१०२२ च ५१२६ नम्बरको जिप खसेको हो ।  नदीमा खस्दै गरेको जिपबाट चालकले हाम फालेको भए पनि जीपले लछारेर लगेपछि सख्त घाइते भएको अवस्थामा प्रहरीले भेटाएको भए पनि पछि मृत्यु भएको उनले बताए । चालकलाई प्रहरी उपचारका लागि जिल्ला अस्पतालतर्फ ल्याउने तयारी गरी रहेको अवस्थामा मृत्यु भएको हो ।  नदीमा खसेको जीपको पाङ्ग्रा मात्र नदी बाहिर देखिएको छ । उकालो भीरमा गाडी चढ्न नसक्ने भन्दा चालक तामाङले बाह्र जना यात्रुलाई झारेर आफुले गाडी चलाउनु भएको थियो । यसबाट मृतक चालकले ठुलो मानवीय क्षती हुनबाट भने जोगाएको उनले बताए । 

दाङ:  दाङमा बोक्सीको आरोप लगाउने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।   पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका(२ निमुरियाका ४५ वर्षीय यमबहादुर सार्की र घोराही(३ का ३३ वर्षीय सरस्वती गुरुङ रहेका जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजन गौतमले जानकारी दिए । उनका अनुसार गत जेठ ३१ गते सरस्वतीले आफ्नो छोरा बिरामी भएको जनाउँदै यमबहादुरलाई बोलाएर झाक्री बसाएको र सोही क्रममा देउरानी जेठानी नाता पर्ने गाउँका दुई महिलालाई तिमीहरु बोक्सी लागेर मेरो छोरा खान लाउन भनेको भन्दै उजुरी परेपछि उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।   पक्राउ परेका दुवैजनालाई बोक्सीको आरोप कसुर र सजाय ऐन २०७२ को दफा ३ को ९च० अन्तर्गत धामी झाक्रीको माध्यमद्वारा बोक्सीको आरोप लगाउन नहुने कसुरमा आइतबार दाङ देउखुरी जिल्ला अदालतबाट अनुमति लिएर अनुसन्धान भइरहेको दाङ प्रहरीका प्रवक्ता गौतमले बताएका छन् ।  

सङ्खुवासभा:  सङ्खुवासभाको बाढीमा परि बेपत्ता भएकाहरुको परिचय खुलेको छ । शनिवार राति वर्षासँगै आएको बाढीमा सुपर हेवाखोला हाइड्रोपावरमा काम गर्ने १७ जना मजदुर बेपत्ता भएका छन् ।     बेपत्ता हुनेमा सुपर हेवा हाइड्रोपावरका सुपरभाइजर सन्तोष ढकाल (सुनसरी), भुवनसिंह तामाङ (चैनपुर नगरपालिका), सुवास राई (सङ्खुवासभा), फैजबहादुर कार्की (झापा), गणेश गिरी (धनकुटा), राजकुमार मगर (इलाम), मीना श्रेष्ठ (झापा), रामजतन थारु (कैलाली), राहुल थारु (बर्दिया), रोहित थारु (बर्दिया), पुलसन थारु (बर्दिया), कालीराम थारु (बर्दिया), राजराम थारु (बर्दिया), सुगत थारु (कैलाली), अमर थारु (कैलाली), सीता थारु (कैलाली) र दीपक मगर (सङ्खुवासभा) रहेका छन् ।   सभापोखरी गाउँपालिका–३ सुनाम्लामा बाढीले गोठ बगाउँदा ६० वर्षीय गणेश राई र ६१ वर्षीया सञ्चमाया राई  बेपत्ता हुनुभएको छ । यस्तै, चैनपुर नगरपालिका–१ नुनढाकीमा बर्दिया नगरपालिकाका भीम चौधरी र अप्पर हेवाखोला हाइड्रोपावरका मजदुर चैनपुर नगरपालिका–४ का ५० वर्षीय ज्ञानबहादुर लिम्बू बेपत्ता भएका छन् । अहिलेसम्म बाढीमा परि बेपत्ता हुनेको सङ्ख्या २२ जना पुगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यस्तै, गएराति आएको बाढीले बगाउँदा पाँचखपन–९ का २६ वर्षीय सन्तोष राईको ज्यान गएको छ ।   बाढीले बगाउँदा सुपर हेवाखोला हाइड्रोपावरमा काम गर्ने दुई जना मजदुर घाइते भएका छन् ।   घाइते हुनेमा बर्दिया नगरपालिका –७ का २४ वर्षीय टीकाराम चौधरी र ३५ वर्षीय दीपकराज थारु रहेका छन् । गम्भीर घाइते दुवैको हेल्पिङ हेन्स सामुदायिक अस्पताल चैनपुरमा उपचार भइरहेको छ । चैनपुर नगरपालिका ४ र पाँचखपन नगरपालिका–९ मा गएको पहिरोले हेवा खोला थुनिएपछि आएको बाढीले बगाउँदा ठूलो परिमाणमा भौतिक संरचनामा क्षति पुगेको छ।

विराटनगर:    कोशी प्रदेश नामकरण खारेजीको माग राख्दै आन्दोलनमा सहभागी पहिचान पक्षधर समूह र कोशी प्रदेश सरकारबिच वार्ता सुरु भएको छ । आइतबार प्रदेश नं १ पुन: नामाङ्कन संयुक्त सङ्घर्ष समितिले कोशी प्रदेश सरकारसँग वार्ता गर्नका लागि समिति बनाएपछि वार्ता भएको हो । लामो समयदेखि प्रदेशको नाममा असहमति जनाउँदै आएका पहिचान पक्षधर समूहलाई प्रदेश सरकारले वार्ताबाट सहमति खोज्न आग्रह गरेसँगै अहिले विराटनगरमा आन्दोलनरत पक्ष र सरकारबिच वार्ता सुरु भएको छ । पहिचान पक्षधरबाट गोविन्द आङ्बुङ, युवराज राई, रामभक्त कुरुम्बाङ, लाक्पा शेर्पा, गेल्जे शेर्पा, कुमार लिङ्देन, रमेश राई, लगायत उपस्थित हुनुहुन्छ भने प्रदेश सरकार पक्षबाट सिँचाइ खानेपानी तथा स्वास्थ्य मन्त्री तिलकुमार मेयाङ्बोको संयोजकत्वमा उद्योग, कृषि तथा सहकारी तथा पूर्वाधार मन्त्री भक्तिप्रसाद सिटौला र सामाजिक विकास मन्त्री बुद्धिकुमार राज भण्डारी सहभागी रहनु भएको छ ।  गत फागुन १७ गते प्रदेशसभाले प्रदेशको नाम ‘कोशी’ राखेपछि पहिचानका आधारमा पुन नामाङ्कनको माग गर्दै पहिचान पक्षधरले आन्दोलन गरिरहेका छन् । आन्दोलनका क्रममा एक जनाको ज्यान मृत्यु समेत भएको थियो । 

काठमाडौं:    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विगत केही दिनयता आएको बाढीपहिरोका कारण देशका विभिन्न भूभागमा ठूलो धनजनको क्षति भएकोमा दुःख व्यक्त गर्दै बाढीपहिरोमा परी बेपत्ता भएका नागरिकको खोजी, उद्धार कार्य र राहतका निम्ति सम्पूर्ण राज्यसंयन्त्र परिचालन गरेको बताउनुभएको छ । आज बिहान ताप्लेजुङ र पाँचथरका राजनीतिक दल र जनप्रतिनिधिको टोलीसँग बालुवाटारमा भेट गर्दै प्रधानमन्त्रीले प्राकृतिक प्रकोपको खतरा अहिले पनि विद्यमान रहेकाले सरकारले राज्यका सम्पूर्ण संयन्त्र परिचालन गर्ने बताउनुभएको हो । भेटमा ताप्लेजुङ र पाँचथरका राजनीतिक दलका नेता र जनप्रतिनिधिले ताप्लेजुङ, पाँचथर र सङ्खुवासभामा बाढीपहिरोबाट ठूलो धनजनको क्षति भएको जानकारी गराउँदै तत्कालका लागि टेन्ट, खाद्यवस्तु, भाडाकुँडा र लत्ताकपडा उपलब्ध गराउन, सडक र पुल भत्किएका ठाउँमा तत्काल बैकल्पिक कनेक्टिभिटी जोड्न सरकारको ध्यानाकर्षण गराउनुभएको थियो । भेटमा प्रधानमन्त्रीले क्षतिको सम्पूर्ण विवरणबारे आफू जानकार रहेको र खोजी कार्य, उद्धार र राहतमा सम्पूर्ण राज्यसंयन्त्र परिचालन गर्न पहल लिइरहेको बताउँदै कनेक्टिभिटी टुटेको स्थानमा युद्धस्तरमा बेलिब्रिज निर्माण गर्न निर्देशन दिइसकेको बताउनुभयो । तत्काल पहलकदमी लिन गृह, रक्षा र भौतिक मन्त्रालयलाई निर्देशित गरेको बताउँदै प्रधानमन्त्रीले खाद्यान्न, आवास र स्वास्थ्य सम्बन्धी आवश्यक सामग्री तत्काल पठाउने पनि बताउनुभयो । भेटमा पूर्वमन्त्री एवं नेकपा (एमाले) का सचिव योगेशकुमार भट्टराई, पूर्वमन्त्री वसन्तकुमार नेम्वाङ, सांसद लिला बखिन, नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य तथा जिल्ला इञ्चार्ज खेलप्रसाद बुढाक्षेत्रीलगायतका नेता एवं जनप्रतिनिधि उपस्थित हुनुहुन्थ्यो ।