काठमाडौं: नेपाल चलचित्र संघले आदिपुरुषबाहेक अन्य स्वदेशी तथा विदेशी चलचित्र नेपालभर प्रदर्शन गर्ने निर्णय गरेको छ । उच्च अदालत पाटनको असार ७ गते गरेको विपक्षीहरुको नाममा हिन्दी एवम् अन्य चलचित्र प्रदर्शन गर्न बाधन नगर्नू नगराउनू भनी अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो । उक्त आदेशको सम्मान गर्दै आज (शुक्रबार)बाटै नेपालभर फिल्म प्रदर्शन गर्ने निर्णय गरेको शुक्रबार संघका महासचिव नरेन्द्र महर्जनद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा भनिएको छ, ‘‘नेपालको कानुनको अधीनमा रही स्वतन्त्र रुपमा व्यवसाय गर्न पाउनु हाम्रो नैसर्गिक अधिकार हो । राष्ट्र र राष्ट्रियताभन्दा माथि कोही पनि छैन भन्ने नेपाल चलचित्र संघको सदैव मान्यता रहेको छ । अदालत, संविधान एवम् ऐन कानुनको पालना गर्नु हरेक नागरिकको कर्तव्य रहेको हुँदा हामी चलचित्र व्यवसायीहरु उक्त कर्तव्यमा दृढ सङ्कल्पित रहेका छौं ।’’ केही दिनअघि काठमाडौं महानगरपालकाका प्रमुख बालेन्द्र साहले हिन्दी फिल्म आदिपुरुषमा रहेको संवादका विषयलाई लिएर काठमाडौं महानगरभित्र हिन्दी फिल्म रोक लगाउने निर्णय गरेको थियो । बिहीबार उच्च अदालत पाटनले काठमाडौंका चलचित्र हलहरूमा हिन्दी फिल्मको प्रदर्शन नरोक्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो । उच्च अदालत पाटनका न्यायाधीश धीरबहादुर चन्दको एकल इजलासले हिन्दी फिल्मको प्रदर्शन नरोक्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।
पोखरा: फेवातालमा आज देखि नेपाल–चीन ड्रागन बोट रेस फेस्टिभल सुरु भएको छ । चिनियाँ राजदूतावास, पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा नेपाल–चीन ड्रागन बोट रेस फेस्टिभल सुरु भएको छ । २ सय र पाँच सय मिटरको दुरीमा हुने नेपाल–चीन ड्रागन बोट रेस फेस्टिभलमा चिनियाँ ४ समूह, नेपाली ४ समूहको सहभागिता रहेको छ । बंग्लादी घाटदेखि स्विमिङपुलघाटसम्म बोट रेस सञ्चालन भएको छ । ५ सय मिटरतर्फ विजेताले नगद ५ लाख, उपविजेताले नगद ३ लाख तथा तृतीय स्थान हाँसिल गर्नेले नगद २ लाख पुरस्कार प्राप्त गर्नेछन् । त्यसैगरि २ सय मिटर दौडतर्फ विजेताले नगद ३ लाख, उपविजेताले नगद २ लाख तथा तृतीय स्थान हाँसिल गर्नेले नगद १ लाख पुरस्कार प्राप्त गर्नेछन् । दक्षिण एसियामै पहिलोपटक आयोजना गरिएको बोट रेस फेस्टिभलमा सिचुवान डाइगन बोट टिम, युवान ड्रागन बोट टिम, एस.जी ड्रागन्स, सिंगापुर, चाइना–नेपाल फे्रण्डशिप ड्रागन बोट टिम पोखरा, नारा ड्रागन बोट टिम नेपाल, एनआरसिए बोट टिम नेपाल, फेवा लेक ड्रागन बोट टिम र पोखरा मेट्रोपोलिटिन ड्रागन बोट प्रतिस्पर्धा गरेका छन् ।
काठमाण्डाै: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सीमाको सुरक्षाका लागि सरकार संवेदनशील रहेको बताउनुभएको छ । शुक्रवार आजको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री प्रचण्डले देशको सिमानाको सुरक्षाप्रति सरकार संवेदनशील रहेको बताउनुभएको हो । उहाँले देशको सार्वभौमसत्ता, राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता लगायत राष्ट्रियहितको रक्षाको लागि पनि सरकार संवेदनशील र प्रयत्नशील रहेको बताउनु भयो । उहाँले अन्तर्राष्ट्रिय सीमा सुरक्षालाई थप सबल, सदृढ र प्रभावकारी बनाउन सीमा स्तम्भहरुको नियमित मर्मत, सम्भार गर्दै जाने विषय सरकारको प्राथमिकतामा रहेको बताउनु भयो । त्यस्तै, बोर्डर आउटपोष्टहरुको सुदृढीकरण र थप ठाउँमा आउटपोष्ट निर्माण गर्दै जाने विषय सरकारको प्राथमिकतामा रहेकाे बताउनु भयाे । उहाँले भन्नुभयो – ‘नेपालको सार्वभौमसत्ता, राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता, सिमानाको सुरक्षा, राष्ट्रिय एकता लगायत राष्ट्रियहितको रक्षाको लागि सरकार संवेदनशील र निरन्तर प्रयत्नशील रहेको छ । अहिलेसम्म स्थापना भएका २ सय ५० बोर्डर आउटपोष्टहरुमध्ये १ सय २८ वटाको भौतिक संरचना निर्माण भएको र चालु आर्थिक वर्ष २०७९/८० सम्ममा थप १० बोर्डर आउटपोष्टहरु निर्माण सम्पन्न हुनेछन् र यो विषयमा सरकार गम्भीर रहेको छ ।'
पोखरा: संस्कृति पर्यटन तथा नागरिक उड्डयमन्त्री सुदन किराँतीले नेपाल र चीनबीचको सम्बन्ध ऐतिहासिक रहेको बताएका छन् । फेस्टिभलले दुई देशबीचको सम्बन्धमा थप इट्टा थपेको उनले बताए । नेपाल पर्यटन बोर्ड, नेपालस्थित चिनियाँ दूतावास र पोखरा महानगरको आयोजनामा पोखरामा आजदेखि सुरु भएको नेपाल-चीन फ्रेण्डसीप ‘ड्रागन बोट रेस फेस्टिभल’को उद्घाटन गर्दै उनले दशकौँदेखिको सम्बन्ध हालसम्म सुमधुर रहँदै आएको बताए । पर्यटकीय नगरी पोखरामा आयोजित मैत्रीपूर्ण यस महोत्सवले दुई देशबीचको सांस्कृतिक र जनस्तरको सम्बन्धलाई समेत थप प्रगाढ बनाउने उनले विश्वास व्यक्त गरे । उनले चीनसँग सम्बन्ध बलियो बनाउन फेस्टिभलले नयाँ सूत्रपात निर्माण गरेको भन्दै चिनियाँ नागरिकलाई नेपाल घुम्न आउन आग्रहसमेत गरे । “आदरणीय चिनियाँ नागरिकलाई म नेपाल घुम्न आउन निम्तो गर्न चाहन्छु, नेपालमा तपाईँहरूलाई स्वागत र सम्मान गर्न हामी आतुर छौँ”, मन्त्री किरातीले भने, “तपाईँहरू नेपाल घुम्न आइदिनुहोस् ।” मन्त्री किरातीले नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको समेत स्पष्ट पारे । इतिहासमा चीन र भारतको व्यापारिक नाका रूपमा स्थापित पोखरामा भव्यरुपमा महोत्सवमा ड्रागन बोट फेस्टिभल सम्पन्न हुन लागेको उनको भनाइ छ । नेपालका लागि चिनियाँ राजदूत छन् सोङले नेपाल र चीनबीच लामो समयदेखि आर्थिक सामाजिक तथा सांस्कृतिक सम्बन्ध रहेको बताउँदै ‘ड्रागन बोट रेस फेस्टिभल’ दुईदेशबीचको आपसी सम्बन्ध एवं जनस्तरको सम्बन्ध अझै बलियो बन्ने विश्वास व्यक्त गरे । पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले ‘ड्रागन बोट रेस फेस्टिभल’ पोखरामा हुनुलाई आफूहरूले महत्त्वपूर्ण रूपमा लिएको बताउँदै यसले आगामी दिनमा पोखरामा चिनियाँ पर्यटकको आगमन बढ्ने विश्वास व्यक्त गरे । उनले आगामी दिनमा समेत महोत्सवलाई निरन्तरता दिने जानकारी दिए । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मीले फेस्टिभलले पोखरा मात्र नभई समग्र नेपालकै पर्यटनमा टेवा पुग्ने बताए । पोखरा पर्यटन परिषद्का अध्यक्ष प्रेमनारायण श्रेष्ठले नेपालमा पहिलोपटक आयोजना गरिएको यस प्रकारको कार्यक्रमले समग्रमा पर्यटनमा नयाँ आयाम थप्ने तथा पोखराको पर्यटनलाई थप चलायमान बनाउन सहयोग पुग्ने बताए । दक्षिण एसियामा पहिलो पटक आयोजना गरिएको यो महोत्सवले नेपालको विश्वभर प्रवर्द्धन एवं यसबाट भविष्यमा अझै बढी चिनियाँ पाहुना ल्याउन सहयोग पुग्ने उनको भनाइ छ । नेपाल र छिमेकी मित्रराष्ट्र चीनबीचको सांस्कृतिक तथा जनस्तरसम्मको सम्बन्ध सुमधुर बनाउने र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आज र भोलि दुई दिन बोट रेस तथा फेस्टिभलको आयोजना गरिएको हो । RSS
काठमाण्डौ: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशको विकासको मोडालिटी भौगोलिक अवस्थितिको अध्ययन गरेरमात्रै बनाउनु जरुरी देखिएको बताउनुभएको छ । शुक्रबार प्रतिनिधि सभामा प्रश्नोत्तर कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले यस्तो बताउनुभएको हो । उहाँले बर्खायाम सुरु भएसँगै देशका विभिन्न जिल्लामा बाढी पहिरोको कारण जनधनको क्षति भएको भन्दै बाढी पहिरो रोक्नका लागि देशको विकासको मोडालिटी भौगोलिक अवस्थितिको अध्ययन गरेरमात्रै बनाउनुपर्ने आवश्यकता देखिएको बताउनुभयो । प्रधानमन्त्रीले सरकार र पालिकाले देशको भौगोलिक अवस्थितिको बारेमा अध्ययन नगरि विकास मोडालिटी बनाउँदा बाढी पहिरोका घटना दोहोरिरहने अवस्था देखिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘नेपालको विकासको मोडालिटीको बारेमा भौगोलिक अवस्थितिको बारेमा अध्ययन गरेर गम्भीररूपमा नसोच्ने हो भने यस्ता घटनाको पुनारावृति हुन्छ । यसमा सरकारको गम्भीर ध्यानाकर्षण भएको छ ।’ प्रधानमन्त्री प्रचण्डले बाढी पहिरो रोकथाममा सांसदहरूले समेत भौगोलिक अवस्थाको अध्ययन गरेरमात्रै दीर्घकालीन विकासमा जोड दिन आवश्यक रहेको बताउनुभयो ।
पोखरा: कास्कीको मादी गाउँपालिकाले कृषि एम्बुलेन्स सञ्चालन देखि भूमि बैङ्क स्थापना गर्ने नीति लिएको छ । आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै अध्यक्ष देवीजंग गुरुङले पालिकामा कृषि एम्बुलेन्सदेखि सञ्चालन देखि, भूमि बैङ्क स्थापना गर्ने बताएका छन् । ‘पालिका भित्र उत्पादन भएको कृषि उत्पादनलाई खेर जान नदिन तथा नजिकको बजार क्षेत्रमा विक्री वितरणको व्यवस्था मिलाउन कृषि एम्बुलेन्स खरिद तथा सञ्चालनको आवश्यक व्यवस्था मिलाइने छ’ अध्यक्ष गुरुङले भने । पालिकाले भूमि बैङ्क स्थापना गरी बाझो जग्गा गाउँपालिकाले लिजमा लिई वास्तविक किसानलाई जग्गा लिजमा दिई उत्पादनशिल क्षेत्रमा लगानी केन्द्रित गर्ने नीति लिइएको छ । यस्तै पालिकाले जग्गा चक्ला बन्दी गरी उत्पादन वृद्धि गर्न आवश्यक कार्यक्रम सञ्चालन गर्ने जनाएको छ । मादी गाउँपालिकाको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रमको (पूर्णपाठ)
मनसुनी गतिविधि बढेसँगै पर्सि आइतवारसम्म नै देशका केही ठाउँमा ठूलो र धेरैजसो ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मौसमविद्ले तीन दिनको मौसम पूर्वानुमान गर्ने गरेका छन् । आज (शुक्रबार), भोलि (शनिबार) र पर्सि (आइतबार) तीनै दिन पानी पर्ने मौसमविद् रोजन लामिछानेले बताउनुभयो । उहाँका अनुसार पश्चिमी क्षेत्रमा पनि मनसुन अनुकूल वातावरण बनेको छ । दिउँसोसम्ममा पश्चिमी क्षेत्रमा मनसुन प्रवेश गर्ने अनुमान छ । आज दिउँसो कोशी, मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकरदुई ठाउँमा ठूलो र अन्य ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । राति भने धेरै ठाउँमा पानी पर्ने अनुमान छ । राति कोशी, मधेस, बाग्मती, गण्डकी तथा सुदूरपश्चिम प्रदेशका थोरै तथा लुम्बिनी र कर्णाली प्रदेशका एकरदुई ठाउँमा ठूलो पानी पर्ने मौसमविद्ले बताएका छन् । यस्तै भोलि दिउँसो बाग्मती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकरदुई ठाउँ र राति कोशी, मधेस, बाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका थोरै तथा कर्णालीका एकरदुई ठाउँमा ठूलो वर्षाको अनुमान गरिएको छ । यस्तै पर्सि आइतवार दिउँसो मधेश, कर्णाली, गण्डकी र सुदूरपश्चिम प्रदेशका एकरदुई ठाउँ तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा ठूलो वर्षाको अनुमान छ ।मनसुनी गतिविधि सक्रिय भएकाले बाढी पहिरोको जोखिम बढेको भन्दै मौसमविद्ले सतर्कता अपनाउन आग्रह गरेका हुन् ।
काठमाडौं: राष्ट्रिय प्रजातन्त्र पार्टीका संस्थापक नेता तथा पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दलाई पत्नी शोक परेको छ । उनकी धर्मपत्नी दिव्येश्वरी चन्दको ८२ वर्षको उमेरमा आज शुक्रबार बिहान निधन भएको हो । उच्च रक्तचाप, पक्षघात लगायत रोगबाट पीडित चन्दको उपचारका क्रममा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा आज शुक्रबार बिहान निधन भएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिएका छन् । दिव्यवेश्वरकी पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिँदै छ । दिव्येश्वरीको निधनप्रति विभिन्न राजनीतिक दलका नेताहरुले शोक व्यक्त गरेका छन् ।
काठमाडौं: काठमाडौंबाट भारतको राजस्थान जाँदै गरेको यात्रु बस धादिङको गल्छीमा दुर्घटना भएको छ । एआर ०६ ई ७०३१ नम्बरको बस आज बिहान ८ः५५ बजे गल्छी गाउँपालिका–७ को गल्छी मोडमा अनियन्त्रित भएर दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय धादिङका डिएसपी सन्तु जयसवालका अनुसार बसमा ३० जना यात्रुहरु थिए । तीमध्ये केही घाइते भएका र उनीहरुलाई अस्पताल पठाइएको उनले जानकारी दिए । घाइतेहरुमध्ये १०–१२ वर्षको एकजना बच्चाको अवस्था गम्भीर रहेको डिएसपी जयसवालले जानकारी दिए । बस दुर्घटना हुँदा सडक अवरुद्ध भएको थियो । अहिले भने बसलाई उठाइसकेकाले बाटो खुलिसकेको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

