काठमाडौं: त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेले अनशन स्थगित गरेका छन् । उनी पाँच दिनदेखि त्रिभुवन विश्वविद्यालयको उपकुलपति कार्यालय अगाडि अनशन बस्दै आएका थिए । अनशन स्थगितबारे जानकारी दिन उनले दिउँसो एक बजे पत्रकार सम्मेलन गर्न लागेका छन् । चलाउनेलाई आक्रमण गर्ने नेविसंघका कार्यकर्ताहरु विरुद्धको मुद्दा फिर्ता लिने निर्णय मन्त्रिपरिषद बैठकले गरेपछि चलाउने त्यसको विरोधमा अनशन बसेका थिए । सर्वोच्च अदालतले बिहीबार चलाउनेमाथि आक्रमण गर्नेहरु विरुद्धको मुद्दा फिर्ता लिने निर्णय कार्यान्वयन नगरी यथास्थितिमा राख्नू भनी आदेश दिएको थियो ।
गोरखा: गोरखामा गाडी दुर्घटनामा परेर मृत्यु भएका पाँच जनाको परिचय खुलेको छ । गए राति प्रदेश ३ ०१–०२३ च २४ २७ नम्बरको गाडी गोरखाको शहीद लखन गाउँपालिका–३ मा पल्टिँदा शहीद लखन–५ का १९ वर्षीय प्रविण थापा, २८ वर्षीय वीरबहादुर थापा, १९ वर्षीय निरज थापा, १९ वर्षीया नविना थापा र ६४ वर्षीय धनबहादुर थापाको ज्यान गएको गोरखाका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले जानकारी दिए । दुर्घटनामा अन्य १२ जना घाइते भएका छन् । प्रमुख जिल्ला अधिकारी भुसालका अनुसार शहीद लखन–५ ताक्लुङबाट चिलिङकोट–३ मा रहेको केटीको घरमा टिकाटालो गरेर फर्किएकाहरू दुर्घटनामा परेका हुन् । दुलहा र दुलही अर्कै गाडीमा चढेकाले उनीहरू सुरक्षित छन् । गाउँलेहरूका अनुसार उनीहरूले यसअघि आफूखुसी बिहे गरेका थिए र हिजो बिहीवार टिकाटालोका लागि केटा पक्ष जन्तीसहित केटीको घर गएको थियो । अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी र विपद् व्यवस्थापन समितिको टोली उद्धारमा खटिएका छन् । घाइते भएका १२ मध्ये ११ जनाको तनहुँको आँबुखैरेनीमा उपचार भइरहेको छ । एक जनालाई भने थप उपचारका लागि चितवन रिफर गरिएको प्रहरीले जनाएको छ ।
ओखलढुङ्गा: ओखलढुंगाको चम्पादेवी गाउँपालिका–८ मा गएराति वर्षासँगै झरेको पहिरोले ३ घर बगाउँदा ३ को मृत्यु र १ बेपत्ता भएका छन् । पहिरोमा परी एकै घरका ३ जनाको मृत्यु भएको छ भने १ जना बेपत्ता भएका हुन् । जिल्ला प्रहरी कार्यालयका डीएसपी दीपबहादुर केसीका अनुसार स्थानीय ३६ वर्षीय रणबहादुर गुरुङ र उनकी १८ महिनाकी छोरी कृतिका गुरुङको शव पुरिएको अवस्थामा फेला पारेर बाहिर निकालिसकिएको छ । रणबहादुरकै श्रीमती २९ वर्षीय शिवमाया गुरुङको शव पहिरोले पुरिएको अवस्थामा फेला पारेपछि अहिले निकाल्ने कार्य भइरहेको प्रहरीको भनाई छ । रणबहादुरका १० वर्षीय छोरा दिनेश गुरुङ भने हालसम्म वेपत्ता रहेको र उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । पहिरोबाट स्थानीय रणबहादुर गुरुङ, बलबहादुर गुरुङ र जरसिंह गुरुङको घर बगाएको हो । अन्य दर्जनौँ घरमा क्षति पुगेको छ । पहिरोले रणबहादुरको परिवारमा मानवीय क्षति भए पनि अन्य घरका परिवार भागेर बच्न सफल भएको प्रहरीले जनाएको छ । घटनास्थलमा नेपाल प्रहरी र शसस्त्र प्रहरी पुगेको छ ।
गोरखा: गोरखामा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य १२ जना घाइते भएका छन् । गए राति प्रदेश ३ ०१–०२३ स २४ २७ नम्बरको गाडी गोरखाको शहीद लखन गाउँपालिका–३ मा पल्टिँदा पाँच जनाको ज्यान गएको गोरखाका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले जानकारी दिए । उनका अनुसार शहीद लखन–५ ताक्लुङबाट चिलिङकोट–३ मा रहेको केटीको घरमा बिहेका लागि टिकाटालो गरेर फर्किएकाहरू दुर्घटनामा परेका हुन् । दुर्घटनामा ज्यान गुमाएकाहरूको परिचय खुलेको छैन । नेपाल प्रहरी, सशस्त्र प्रहरी र विपद् व्यवस्थापन समितिको टोली उद्धारमा खटिएका छन् । अहिले शव सङ्कलन गर्ने काम भइरहेको प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले बताए। यस्तै घाइते भएका १२ जनामध्ये ११ जनाको तनहुँको आँबुखैरेनीमा उपचार भइरहेको छ । एक जनालाई भने थप उपचारका लागि चितवन रिफर गरिएको उनले जानकारी दिए । उनका अनुसार गाडीमा १९ जना थिए । दुई जनाले भने दुर्घटना हुँदै गर्दा हाम फालेर ज्यान जोगाएका प्रहरीले जनाएको छ ।
लमजुङ: लमजुङको भलायखर्क आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार लमजुङको राइनास नगरपालिकामा रहेको भलायखर्क आसपास केन्द्रविन्दु भएर आज शुक्रवार बिहान ५ बजेर ५५ मिनेट जाँदा चार रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पको धक्का लमजुङ, तनहुँ र गोरखामा महसुस गरिएको थियो । यसअघि गएको असार ५ गते बिहान दार्चुलाको खाण्डेश्वरी आपसपास केन्द्रविन्दु भएर ४ रेक्टरस्केलको भूकम्प गएको थियो । पछिल्लो समय नेपालको पूर्वी तथा पश्चिमी हिमाली तथा पहाडी क्षेत्र केन्द्रविन्दु भएर भूकम्प जाने क्रम जारी छ । नेपालको हिमाली तथा पहाडी क्षेत्रलाई भूकम्पको जोखिम क्षेत्रको रूपमा लिने गरिन्छ ।
काठमाडौं: आईसीसी एकदिवसीय विश्व कप क्रिकेट छनोटमा नेपाल वेस्ट इन्डिजसँग १ सय १ रनले पराजित भएको छ । जिम्बावेले दिएको ३ सय ४० रनको लक्ष्य पछ्याएको नेपाल ४९ ओभर ४ बलमा नेपाल २ सय ३८ रनमा अलआउट भयो । नेपालका लागि आसिफ शेखले सर्वाधिक ६३ रन बनाए । यस्तै गुलसन झाले ४२, कप्तान रोहित पौडेलले ३०, आसिफ शेख र करण केसीले समान २८ रन बनाए । बलिङतर्फ वेस्ट इन्डिजका जेसन होल्डरले ३ विकेट लिए । यसअघि हरारेमा टस हारेर ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिजले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३ सय ३९ रन बनायो । वेस्ट इन्डिजका शाई होप र निकोलस पुरनले शतक बनाए । होप १ सय ३२ र पुरन १ सय १५ रनमा आउट भए । बलिङतर्फ नेपालका ललित राजवंशीले ३ विकेट लिँदा करण केसी, सन्दीप लामिछाने, गुलसन झा र दीपेन्द्रसिंह ऐरीले १र१ विकेट लिए । यो जितसँगै वेस्ट इन्डिज २ खेलमा ४ अङ्कसहित समूह ‘ए’ को शीर्ष स्थानमा पुगेको छ । नेपाल ३ खेलमा २ अङ्कसहित चौथो स्थानमा छ । नेपालले अब पर्सि शनिवार नेदरल्यान्ड्ससँग खेल्नेछ । विश्व कप छनोटमा नेपाल रहेको समूह ‘ए’ मा वेस्ट इन्डिजसँगै जिम्बाब्वे, अमेरिका र नेदरल्यान्ड्स छन् । समूह ‘बी’ मा आयरल्यान्ड, श्रीलङ्का, यूएई, स्कटल्यान्ड र ओमान छन् । दुवै समूहका शीर्ष तीन टोली ’सुपर सिक्स’ मा पुग्नेछन् । ‘सुपर सिक्स’ मा अर्को समूहबाट आउने तीन टोलीसँग प्रतिस्पर्धा हुनेछ । त्यसपछि शीर्ष दुई टोलीले आउँदो अक्टोबरमा हुने विश्व कपमा स्थान बनाउनेछन् । अन्तर्राष्ट्रिय एकदिवसीयमा नेपाल र वेस्ट इन्डिजको यो पहिलो खेल हो । वेस्ट इन्डिज दुई पटकको एकदिवसीय तथा टी–ट्वान्टी विश्व कप च्याम्पियन हो ।
पोखरा: लागू औषध नियन्त्रण ब्यूरोले पोखराबाट विदेशी नागरिकसहित २ जनालाई लागू औषधसहित प्रकाउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो काठमाडौं तथा पोखराबाट खटिएको प्रहरीको टोलीले पोखरा महानगरपालिका ६लेकसाइडबाट मोरङ बिराटनगरपालिका १२ घर भएका २६वर्षीय राज गौतम र विदेशी नागरिक ३२ वर्षीय मार्टिना क्रिनालाई लागू औषधसहित प्रकाउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । लेकसाइडमा शंकास्पद अवस्थामा फेला पारी खानतलासी गर्दा मोरङ घर भएका गौतम र विदेशी नागरिक मार्टिनाको साथबाट प्रहरीले लागूऔषध एलसिडी २६ पिस, एम्फेटामाईन (आईस जस्तो देखिने) ४ सय मिलिग्राम र मोबाईल २ थानसहित प्रकाउ गरेको हो । प्रकाउ परेका दुवै जनालाई जिल्ला अदालत कास्कीबाट लागू औषध सम्बन्धि मुद्धामा पाँच दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ ।
पोखरा: गण्डकी प्रदेश सरकारले पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप अभियानलाई प्राथमिकताका साथ अघि बढाउने प्रतिबद्धता जनाएको छ । क्यान्सर सचेतनाका लागि सद्भावना दूत समेत रहनुभएका वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा.अरुण शाहीले गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले यस्तो प्रतिबद्धता गर्नुभएको हो । उहाँले आफ्नो कार्यकालमा प्रदेशका सबै किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप ह्युमन प्यापिलोमा भाइरस (एचपीभी खोप) निःशुल्क उपलब्ध गराउने प्रतिबद्धता समेत जनाउनुभयो । गण्डकी प्रदेश सरकारले गत शुक्रबार प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा आर्थिक अवस्था कमजोर रहेको निमोनियाबाट ग्रस्त बालक तथा वृद्धलाई राहत पुग्ने र पाठेघरको मुखको क्यान्सरको उपचारबाट टेवा पुर्याउन भन्दै पाँच करोड विनियोजन गरेको छ । मुख्य मन्त्री पाण्डेले डा। शाहीसँग रोक्न सकिने नसर्ने रोगका लागि राज्यले हरसम्भव प्रयास गर्ने, महिला तथा किशोरीहरिलाई पाठेघरको मुखको क्यान्सर विरुद्ध खोप लगाउन सके भविष्यमा यो रोगको जोखिम कम हुने आफूले बुझेको भन्दै प्रदेश सरकार यी कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढेको बताउनुभएको थियो । सरकारले एचपीभी खोप ९ देखि १४ वर्ष उमेर समूहका किशोरीलाई निःशुल्क रूपमा लगाउने लक्ष लिएको छ ।
काठमाडौं: नागरिकता विधेयक कार्यान्वयन हुने भएको छ । बिहीबार सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेसँगै नागरिकता विधेयक कार्यान्वयनका लागि बाटो खुलेको हो । सर्वोच्चका न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र कुमार रेग्मीको संयुक्त इजलासले यसअघि न्यायाधीश डा। मनोजकुमार शर्माको एकल इजलासले दिएको अल्पकालीन अन्तरिम आदेशको निरन्तरता नहुने आदेश दिएको हो । योसँगै राष्ट्रपति रामचन्द्र पौडेलले जेठ १७ गते प्रमाणीकरण गर्नुभएको नागरिकता विधेयक कार्यान्वयनमा अघि बढ्ने भएको हो । राष्ट्रपति पौडेलले प्रमाणीकरण गर्नुभएको उक्त नागरिकता विधेयक संविधानको भावना र मर्म विपरीत भएको भन्दै वरिष्ठ अधिवक्ताद्वय सुरेन्द्र भण्डारी र बालकृष्ण न्यौपानेले सर्वोच्चमा रिट दर्ता गर्नुभएको थियो । उहाँहरूले दायर गरेको रिटमा जेठ २१ गते न्यायाधीश शर्माले विपक्षीको नाममा कारण देखाऊ र अल्पकालीन अन्तरिम आदेश जारी गर्ने आदेश दिनुभएको थियो ।

