पोखरा ।   नेपाल चेम्बर अफ कमर्सको हीरक जयन्तीको अवसरमा पोखरामा अन्तर्राष्ट्रिय व्यवसाय अनुभव सम्बन्धी अन्तरक्रिया सम्पन्न भएको छ ।    चेम्बर अफ कमर्सका सदस्य व्यवसायीहरूलाई अन्तर्राष्ट्रिय बजार...

गण्डकी:   ठूला दरका भारतीय नोटलाई वैधानिकता दिन पोखराका पर्यटन व्यवसायीले माग गरेका छन् । पोखरा उद्योग वाणिज्य सङ्घद्वारा आइतबार आयोजित वैदेशिक मुद्राको प्रयोग र समस्या विषयक अन्तक्र्रियामा व्यवसायीले ठूला दरका भारतीय नोट नचल्दा पर्यटक मर्कामा परेको बताए ।  बजारमा सय रुपैयाँभन्दा बढीका भारतीय नोट प्रचलित विनिमय दरभन्दा घटीमा कारोबार भइरहेको, ठूला भारतीय नोट नचल्दा पर्यटक मर्कामा परेको गुनासो आएसँगै पोखरा उद्योग वाणिज्य सङ्घले कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रममा पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष पवन प्रजापतिले भारतीय ठूला नोटको प्रचलनको व्यवस्था गरिनुपर्ने बताउनुभयो । अन्तरदेशीय विद्युतीय भुक्तानी प्रणाली तत्काल कार्यान्वयनमा आउनुपर्ने बताउँदै उहाँले व्यवसायीसँग भएका भारतीय ठूला नोटको व्यवस्थापन हुनुपर्ने माग गर्नुभयो । ठूला नोट नचल्दा नेपाल आउने भारतीय पर्यटकले दुःख पाएको उल्लेख गर्दै उहाँले पर्यटकले चाहे जति खर्च गर्ने व्यवस्था गरिनुपर्नेमा जोड दिनुभयो । “नेपालमा सय रुपैयाँभन्दा ठूला भारतीय नोट चल्दैनन्, यहाँ भारतीयको एटीम, भिसा र मास्टरकार्ड पनि मुस्किलले चल्छ”, उहाँले भन्नुभयो, “एउटा मान्छे पैसाको भारी बोकेर घुम्न निस्कँदैन ।अब डिजिटल भुक्तानी प्रणाली कार्यान्वयनमा नगइ सुख छैन ।” पोखरा उद्योग वाणिज्य सङ्घका निवर्तमान अध्यक्ष नारायण कोइरालाले घरघरमा थन्किएका भारतीय रुपैयाँ व्यवस्थापन गर्न राष्ट्र बैंकले नै पहल गर्नुपर्ने बताउनुभयो । वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्कीले ठूला दरका भारती नोट सकेसम्म प्रयोगमा नल्याउन व्यवसायीसँग आग्रह गर्नुभयो ।  टान गण्डकीका उपाध्यक्ष कृष्ण आचार्यले नेपालका केही निषेधित क्षेत्रमा जान पर्यटकले डलरमा शुल्क बुझाउनुपर्ने तर सजिलै डलर नपाउँदा समस्या भएको बताउँदै डिजिटल भुक्तानीलाई छिटो व्यवस्थित गर्नुपर्ने माग राख्नुभयो । नेपाल राष्ट्र बैंक पोखराका निर्देशक आर्या जोशीले भारतकै चाहनाका कारण नेपालमा ठूला भारतीय नोट प्रचलनमा नआएको जिकिर गर्नुभयो । ठूला नोट प्रचलनमा ल्याउनको लागि भारतसँग कूटनीतिक पहल गरिनुपर्ने उहाँको भनाइ छ । अन्तरदेशीय विद्युतीय भुक्तानी प्रणाली कार्यान्वयनमा आउँदा भारतीय नोटको समस्या कम हुने उहाँले बताउनुभयो । नेपाल बैंकर्स एसोसिएसन गण्डकीका अध्यक्ष सूर्य रोकाले भारतकै कारण ठूला दरका भारतीय नोटको प्रयोग हुन नसकेको बताउनुभयो । नेपाल हुँदै नक्कली  नोटहरु भारत भित्रने आशङ्कासँगै भारतले त्यो नीति लिएको उहाँको भनाइ छ ।

चितवन:    किसानले अण्डाको मूल्य पाउन थालेका छन् । कोभिडपछि खस्किएको बजार क्रमशः उकालो लाग्न थालेको छ । लागत मूल्यभन्दा निकै कममा बिक्री भइरहेको अण्डाको मूल्य बढ्न थालेको हो । बजारमा माग बढ्दै गएपछि अहिले चितवनलाई आधार मानेर बजार मूल्य ठूलो अण्डा ३० गोटा (एक क्रेट) को रु चार सय, मिडियम अण्डा रु तीन सय ८० र एक्सट्रा लार्ज (अझ ठूलो)को रु चार सय १० कायम गरिएको छ । अण्डाको मूल्य घट्दै गएर किसान बिस्थापित हुन थालेपछि देशभरका ठूला व्यवसायी सङ्गठित भएर नेपाल लेयर्स कुखुरापालक सङ्घ गठन गरी बजारीकरणमा जुटेका छन् । सङ्घका अध्यक्ष विनोद पोख्रेलका अनुसार अहिलेको लागत मूल्य प्रतिक्रेट रु चार सय ३५ पर्न आउँछ । अण्डाको मूल्य घट्दै गएर रु दुई सय ४० सम्म झरेको थियो । उहाँले भन्नुभयो, “पाँच वर्षअघि दानाको मूल्य प्रतिकिलो रु ३० हुँदा अण्डा प्रतिक्रेट रु तीन सयमा बिक्री हुन्थ्यो । अहिले दाना प्रतिकिलो रु ६५ पर्दा अण्डाको मूल्य लागत मूल्यको तुलनामा बढ्न सकेको छैन ।” औषधिलगायत अन्यमा पनि मूल्य दोब्बर भएको उहाँको भनाइ छ । दुई वर्षअघि अण्डाको मूल्य प्रतिक्रेट रु चार सय पाँच पुगेर एकोहोरो ओरालो लागेको थियो । त्यतिबेला खुद्रा मूल्य प्रतिगोटा रु १६ रहेको थियो । अण्डा उत्पादन गर्ने कृषक एवं व्यवसायी सङ्गठित भएर व्यवसाय बचाउन बजारी करणमा जुटेकै कारण मूल्य पाउन थालिएको उहाँको भनाइ छ । विगतको तुलनामा उत्पादन घटेको छ । लागत मूल्य नपाए पछि धेरै कृषक विस्थापित भएका छन् । ऋण थप्न सक्ने कृषकमात्र टिकेका हुन । यससँगै गर्मीका कारण पनि अण्डा उत्पादन घटेको छ । विगतको तुलनामा अण्डा २५ प्रतिशतभन्दा बढी उत्पादन घटेको छ । बढेको समयमा दैनिक ५० लाखसम्म अण्डा पुगेको अनुमान गरिएको थियो । सङ्घका सचिब मदन पोख्रेलले लागत मूल्य नपाएकै कारण धेरै किसान विस्थापित भएको बताउनुभयो । अण्डाको महत्व बुझाउन सकेमा अण्डाको माग दोब्बर हुने उहाँ बताउनुहुन्छ । बजारमा अहिले पाइने खाद्यान्नमा पोषणको हिसाबले सबैभन्दा सस्तो अण्डा भएको पोख्रेल बताउनुहुन्छ । सरकारले ध्यान नदिए आत्मनिर्भर पोल्ट्री व्यवसाय धरासायी हुने व्यवसायी बताउँछन् । निजी क्षेत्रको अण्डा उत्पादनका लागि मात्र पोल्ट्री व्यवसायमा रु एक खर्बभन्दा बढी लगानी रहेको छ । यसको आधाभन्दा बढी बैंकको ऋण रहेको छ । अण्डा उत्पादक कृषक र व्यवसायीले काठमाडौँमा आउटलेटसमेत खोलेर बजारीकरण गरिरहेका छन् । सङ्घका अध्यक्ष पोख्रेलले विगत छ महिनामा देशका अधिकांश जिल्ला पुगेर अण्डाको महत्व र बजारीकरणमा लागेकै कारण मूल्यमा सुधार भएको बताउनुभयो । किसानको लागतअनुसारको मूल्य पाउन अझै नसकिएको उहाँ बताउनुहुन्छ । 

भारतको ओडिसामा यात्रुबस दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ र आठ यात्रु गम्भीर घाइते भएका छन् ।   सामाचार एजेन्सी एएनआईका अनुसार ओडिसाको गंजम जिल्लामा गएराति बस दुर्घटना भएको हो ।   ओडिसा राज्यको सडक परिवहन निगमको बस र एक निजी बस ठोक्किएर दुर्घटना भएको हो । मृतकहरु निजी बसमा सवारहरु रहेको बताइएको छ ।   ओडिसाका मुख्यमन्त्रीले दुर्घटनामा दुःख व्यक्त गर्दै मृतकका परिवारलाई ३/३ लाख रुपैयाँ राहत उपलब्ध गराउने घोषणा गरेका छन् ।

काठमाण्डौ:  लागुऔषध दुरुपयोग तथा ओसारपसारविरुद्ध सचेतना जगाउन काठमाण्डौमा प्रभातफेरी निकालिएको छ ।    भृकुटीमण्डपबाट सुरु भएको प्रभातफेरी भद्रकाली मन्दिर परिक्रमा गरी पुनः भृकुटीमण्डप हुँदै राष्ट्रिय सभागृहमा पुगेर कार्यक्रममा परिणत भएको छ । प्रभातफेरीमा सहभागीले लागुऔषधको दुर्व्यसन र ओसारपसारविरुद्ध विभिन्न जनचेतनामूलक ब्यानर, प्लेकार्ड प्रदर्शन गरेका छन् ।   हरेक वर्षको जुन २६ तारिखलाई अन्तर्राष्ट्रिय लागुपदार्थ तथा अवैध तस्करी विरुद्ध दिवसका रूपमा मनाउने गरिन्छ । विश्व समुदायलाई लागुऔषधको असर र कारोबारबाट मुक्त गराउने मुख्य उद्देश्यसहित मनाइँदै आएको दिवसको यस वर्षको नारा जीवन बचाउँ भन्ने रहेको छ ।   लागुऔषधको असन्तुलित प्रयोगले विश्वमा हरेक वर्ष एक लाख ९० हजार जनाभन्दा धेरै मानिसको ज्यान जाने गरेको संयुक्त राष्ट्रसङ्घको तथ्याङ्क छ । नेपालमा सन् १९६० पछि नै लागुऔषधको कारोबार तथा प्रयोग बढ्दै आएको छ । 

पोखरा:    कास्कीको मादी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०÷०८१ का लागि ८८ करोड ८२ लाख ४ हजार रुपैयाँको बजेट ल्याएको छ ।  मादी गाउँपालिकाकी उपाध्यक्ष कल्पना गुरुङले १३ औं गाउँ सभामा चालुतर्फ ६१ करोड ८७ लाख रुपैयाँ र पुँजीगतर्फ २६ करोड ९४ लाख रुपैयाँको बजेट सार्वजनिक गरेकी हुन् । गाउँपालिकाले पूर्वाधार विकासतर्फ १७ करोड ४१ लाख १५ हजार, आर्थिक विकासतर्फ ६ करोड ३० लाख ५८ हजार, सामाजिक विकासतर्फ ४९ करोड ९९ लाख १५ हजार,  वन, वातावरण तथा विपद् व्यवस्थापनतर्फ १ लाख २७ लाख ९५ हजार, सुशासन तथा संस्थागत विकासतर्फ १३ करोड ८३ लाख २१ हजार रुपैयाँ विनियोजन गरिएको छ ।   गाउँपालिकाले कृषि, पर्यटन, घरेलु, उद्योग, लघु उद्यम, सडक भवन तथा, अन्य संरचना निर्माणमा गुणस्तरीय भौतिक पूर्वाधारलाई प्राथमिकता दिएको छ ।    (पूर्णपाठ) 

पोखरा:   ग्रामीण पर्यटन प्रवद्र्धनका लागि गण्डकी प्रदेशका गाउँ गाउँमा होमस्टे सञ्चालनको लहर बढ्दो छ । गाउँ चिनाउने र गाउँमै स्वरोजगार बनाउने देशकै नमुना होमस्टे पनि यहीं छन् ।  हाल गण्डकीका ११ जिल्लामा २७५ बढी होमस्टेले अतिथि सत्कार टक्रयाईरहेका छन् । तिनै होमस्टेका सञ्चालक स्याङजाको फेदीखोला गाउँपालिका–४ गलेमस्थित राम्चेदेवी शिल्लो सामुदायिक होमस्टेमा भेला भएका छन् ।  गण्डकी प्रदेशभर भर्खर मात्र खुलेका होमस्टे सञ्चालक पाहुनाको स्वागत सत्कार, आवास व्यवस्थापन र रैथाने खानाका परिकार कसरी तयार पार्ने लगायत ज्ञान सिक्न गलेमको होमस्टेमा भेला भएका हुन् ।  होमस्टे (घरबास) महासंघ गण्डकी प्रदेशले नेपाल पर्यटन बोर्र्ड पोखरासँगको सहकार्यमा आधरभूत पर्यटन र घरबास तालिमको तारतम्य मिलाएको हो ।  तालिमको शनिबार राती फेदीखोला गाउँपालिका–४ का वडाध्यक्ष खेमनारायण पौडेलले शुभारम्भ गरे । पौडेलले होमस्टे सञ्चालकलाई यो तालिम कोशेढुंगा सावित हुने बताए ।  ‘होमस्टे सञ्चालकबीचको अनुभव आदनप्रदानले धेरै कुरा सिकाउनेछ’, उनले भने । आर्थिक समृद्धिका लागि होमस्टेको प्रबद्र्धन र विकास आवश्यक रहेको उनको भनाइ छ ।  फेदीखोला गाउँपालिकाकी कार्यपालिका सदस्य पुजा गुरुङले होमस्टेले उजाडिएका गाउँमा विकासको लहर ल्याउने बताइन् । ‘बसाइँसराइ झरेकालाई पनि होमस्टेले गाउँ फर्काएको छ’, उनले भनिन् ।  होमस्टे महासंघ गण्डकीका अध्यक्ष धनीराम गुुरौंले तालिममा व्यक्तित्वसँगै सामाजिक र आर्थिक विकासबारे सिकाउने बताए । ‘दुरदराजमा रहेका नयाँ होमस्टे सञ्चालक विशेष गरेर महिला दिदीबहिनी लक्षित तालिम हो’, उनले भने । उनका अनुसार तालिममा सहभागी प्रशिक्षार्थीले आफ्ना जिल्लाका होमस्टे सञ्चालकलाई प्रशिक्षण दिने बताए । कार्यक्रममा होमस्टे महासंघ गण्डकीका संस्थापक अध्यक्ष हरि पौडेल, होमस्टे महासंघका केन्द्रिय कोषाध्यक्ष सुरज बाँस्तोला, गण्डकीका उपाध्यक्ष मोहन खनाल, सचिव कृष्ण तिमिल्सिना, राम्चेदेवी शिल्लो सामुदायिक होमस्टेका कोषाध्यक्ष इन्द्रबहादुर गुरुङ लगायतले बोलेका थिए । १२ गतेसम्म चल्ने तालिममा गण्डकी प्रदेशभरका ३० जना बढी होमस्टे सञ्चालक सहभागी छन् । होमस्टे सञ्चालन गरेर खारिएका सुरज बाँस्तोला, राजकुमार लामिछाने र मनिषा श्रेष्ठले अतिथि सत्कार, वास व्यवस्थापन, पाक शिक्षा र सामाजिक विकासबारे सहजीकरण गर्नेछन् ।  

पोखरा:     पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ को लागि ७ अर्ब १५ करोड १५ लाख १७ हजार रुपैयाँको बजेट ल्याएको छ । पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले १३ औं नगर सभामा उक्त बजेट प्रस्तुत गरेकी हुन् ।  बजेटको खर्च व्यहोर्ने स्रोतमा संघीय सरकार अनुदानबाट २ अर्ब ७६ करोड ३२ लाख, प्रदेश सरकार अनुदानवाट १० करोड २३ लाख ६२ हजार, आन्तरिक आयबाट २ अर्ब २७ करोड ८७ लाख, संघीय राजस्व बाडँफाँडबाट ३६ करोड ६२ लाख रुपैयाँ छछ । प्रदेश राजश्व बाँडफाड ८ करोड २५ लाख व्यहोर्ने लक्ष्य छ । स्थानिय राजस्व बाँडफाँटबाट १ अर्ब १ करोड ७५ लाख र संघीय सरकार शहरी विकास आयोजना अनुदानबाट ८ करोड ४० लाख ९१ हजार प्राप्त हुने अनुमान गरिएको छ । यसो गर्दा ४५ करोड ६८ लाख ६५ हजार न्यून हुने बजेटमा उल्लेख छ । चालु आर्थिक वर्षको अन्त्यमा बचत हुने मौज्दातबाट अपुग रकम व्यहोरिने उपप्रमुख गुरुङले बताइन् ।   पोखरा महानगरपालिकाले चालु आर्थिक वर्ष २०७९/०८० का लागि ८ अर्ब ९९ करोड २ लाख २९ हजार रुपैयाँको बजेट ल्याएको थियो । असार ८ गतेसम्म ३ अर्ब ८५ करोड ५५ लाख ८४ हजार रुपैयाँ (४३.०५ प्रतिशत) खर्च भएको छ । महानगरले चालुआर्थिक वर्षको भन्दा १ अर्ब ८४ करोड रुपैयाँ घटाएर बजेट ल्याएको हो ।    पूर्णपाठ ​

पोखरा:   पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ सम्म दुई लाख विरुवा वृक्षारोपण गर्ने नीति लिएको छ ।  पोखरा महानगरपालिका नगरप्रमुख धनराज आचार्यले १३ औं नगरसभामा आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रममा एक घर दुई विरुवा कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै वृक्षारोपण गर्ने अभियानका रुपमा सञ्चालन गर्ने बताएका हुन् ।  आर्थिक वर्ष २०८१/०८२ भित्र दुई लाख वृक्षारोपण गर्ने गरी हरित पोखरा निर्माण लागि ‘क्लिन पोखरा ग्रिन’ पोखरा परियोजना सञ्चालन गरिने नगरप्रमुख आचार्यले बताए ।  यस्तै महानगरपालिकाले पोखरालाई पर्यटनको राजधानी शहर घोषणा गर्न, ‘चलिए पोखरा, ओमेन झाओ वा पोखरा, जाउ है पोखरा’ जस्ता नारा सहित छिमेकी मुलुकका पर्यटन गन्तव्यका प्रमुख पर्यटन बजारमा नेपाली तथा पोखरेली पर्यटन प्रचार, प्रसार र प्रवर्धन गर्ने नीति लिएको छ ।  पोखरा -६स्थित लेकसाइड क्षेत्रमा सवारी व्यवस्थापन र रात्रिकालिन व्यवसाय नियमनका लागि उचित कार्यविधि तर्जुमा गरी कार्यान्वयन गर्दै, लेकसाइड क्षेत्रलाई २४ औं घण्टा खुल्ला गर्न पहल गर्ने जनाएको छ ।  पोखरा महानगरपालिकाको आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रमको (पूर्णपाठसहित)  

काठमाडौं:  वानएक्स बेटको प्रचार गरेको आरोपमा अर्का युट्युबरलाई पनि प्रहरीले पक्राउ गरेको छ।  काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले युट्युबर राजकुमार तामाङलाई पक्राउ गरेको हो। उनी युट्युबमा राजकुमार थापा मगरको नामबाट परिचित छन्। काभ्रे घर भई काठमाडौंको बुढानिलकण्ठ बस्ने २२ वर्षीय राजकुमारलाई प्रहरीले कपनबाट गत शुक्रबार पक्राउ गरेको हो। उनले पनि वान एक्स बेटिङको प्रचार प्रसार गरेको आरोप छ।  यसअघि प्रहरीले आठ जना कलाकार एवं युट्युबरलाई पक्राउ गरेको थियो।  उनीहरूले वान एक्स बेट खेलाउन उक्साउने गर्थे। युट्युबमार्फत प्रोमो कोड प्रयोग गरी भारी छुट पाइने भन्दै बेटिङ खेलाउने काम गरेको आरोप उनीहरूमाथि छ।