काठमाडौं: बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा थप तीन जना पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले आइतबार थप तीन जनालाई पक्राउ गरेको एसएसपी दिनेश आचार्यले जानकारी दिए। पक्राउ पर्नेमा काठमाडौं महानगर वडा नम्बर ५ का तत्कालीन वडासचिव शिवजी भट्टराई, नक्कली मोही बाबुराजा महर्जन र तत्कालीन नापी कार्यालयमा रहेका घमानकुमार कार्की पक्राउ परेका हुन्। यसअघि सिआइबीले चार जनालाई पक्राउ गरिसकेको थियो। भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरूङ, निर्वाचन आयोगका पूर्वआयुक्त सुधीरकुमार शाह, मालपोत कार्यालय डिल्लीबजारका पूर्वप्रमुख धर्मप्रसाद गौतम र पूर्वकर्मचारी गोपाल कार्की अहिले प्रहरी हिरासतमा छन्। उनीहरूलाई प्रहरीले गत मंगलबार पक्राउ गरेको थियो। उनीहरूसँगै प्रहरीले मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख कलाधर देउजा, कर्मचारीहरू सुरेन्द्रमान कपाली र हुपेन्द्रमणि केसीलाई पनि पक्राउ गरेको थियो। उनीहरूले पहिल्यै स्टे अर्डर लिइसकेकाले सिआइबीले त्यही दिन छाड्न परेको हो।
उदयपुर: ६ वर्षीया नाबालिगलाई जबरजस्ती करणी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ताप्ली गाउँपालिका–३ दगले बस्ने ३५ वर्षीय मकर बहादुर तामाङ रहेका छन् । उनलाई शनिबार दिउँसो प्रहरी चौकी रामपुर झिल्केबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । मकरले नाबालिगलाई आफ्नै घरमा गत बुधबार बिहान जबरजस्ती करणी गरेको उजुरी परेको थियो । पक्राउ परेका तामाङमाथि थप अनुसन्धान गरिरहेको जनाएको छ ।
बर्दिया: जिल्ला प्रहरी कार्यालय बर्दियाले हिरासतबाट २ जना थुनुवा भागेपछि ३ जना प्रहरीलाई कारबाही गरेको छ। इलाका प्रहरी कार्यालय ढोढरीको हिरासतबाट २ जना थुनुवा भागेपछि आइतबार ३ जनालाई कारबाही गरेको एसपी सुधीरराज शाहीले जानकारी दिए। शुक्रबार बिहान सवा ६ बजे ढोढरीको हिरासतबाट दुई जना थुनुवा फरार भएका थिए। त्यस घटनामा प्रहरीको कमजोरी देखिएपछि २ जवानलाई कारबाहीस्वरूप निलम्बन गरेको उनले बताए। यस्तै ड्युटी अफिसरको रूपमा रहेका प्रहरी सहायक निरीक्षकलाई पनि निलम्बन गर्न लुम्बिनी प्रदेश प्रहरी कार्यालयमा सिफारिस गरेको उनले बताए। ‘दुई जवानलाई आजै निलम्बित गरेका छौं,’ एसपी शाहीले भने, ‘ड्युटी अफिसरलाई निलम्बन गर्न प्रदेश प्रहरी कार्यालय समक्ष सिफारिस गरेका छौं।’ प्रहरी जवानलाई जिल्ला प्रहरी कार्यालयले नै निलम्बन गर्ने अधिकार छ। असईको हकमा प्रदेश प्रहरी कार्यालयले गर्नुपर्ने भएकाले सिफारिस गरेको हो। ज्यान मार्ने उद्योग सम्बन्धी कसूरमा असार ८ गते पक्राउ परेका मधुवन–८ का १९ वर्षीय अजय नेपाली र २० वर्षीय राजा नेपाली भागेका थिए। एसपी शाहीले बिहीबार राति कार्यालयमा बत्ती गएपछि ड्युटीमा खटिएका प्रहरीले उनीहरूलाई उज्यालो ठाउँमा खाना खुवाउन बाहिर निकालेका थिए। हिरासत कक्ष खोलेर ती प्रहरीले चाबीको झुप्पा भने त्यहीँ भुलेका थिए। ड्युटीमा खटिएको प्रहरीले भुलेको चाबी अजय र राजाले चोरेका थिए। शुक्रबार बिहान प्रहरीको ड्युटी परिवर्तन भएको मौका पारेर उनीहरूले चाबीले ताला खोलेर हिरासतबाट भागेका थिए। प्रहरीले शुक्रबार बेलझुण्डी सामुदायिक वनबाट शुक्रबार मध्यान्ह १२ः५०मा अजयलाई पक्राउ गरेको थियो। यस्तै डाँडे सामुदायिक वनबाट शनिबार बिहान ८ः४० बजे राजालाई पक्राउ गरेको हो। उनीहरू दुबै जनालाई प्रहरी कार्यालयबाट अन्दाजी ६ किलोमिटर टाढा जंगलमा फेला पारी पक्राउ गरेको थियो।
चितवन: नारायणगढ–मुग्लिन सडक खण्ड सञ्चालनमा आएको छ । चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर ५ तीन नम्बर पुलमा गए राति खसेको पहिरो पन्छाएपछि सडक सञ्चालनमा आएको डिभिजन सडक कार्यालय चितवनले जनाएको छ । अहिले दुईतर्फी नै गाडी चलिरहेका छन् । पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याएको भए पनि जोखिम कायमै रहेकोले सावधानी पूर्वक गाडी चलाउन कार्यालयले अनुरोध गरेको छ । दैनिक औसतमा १० हजार गाडी आउजाउ गर्ने यो सडक खण्डमा गएको बिहीवारदेखि पटक पटक पहिरो खस्दा सडक अवरुद्ध हुँदै आएको छ ।
काठमाडौं: माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा शुक्रबारसम्ममा प्रकाशित हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार अहिले नतिजा प्रकाशनको अन्तिम काम भइरहेको छ । परीक्षा नियन्त्रण कार्यालय ९कक्षा १०० का परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठका अनुसार शुक्रबारसम्ममा नतिजा प्रकाशन गर्नेगरी काम भइरहेको छ । उहाँले भन्नुभयो, “अहिले परीक्षाफल प्रकाशित गर्नका लागि अन्तिम तयारी भइरहेको छ । शुक्रबार ९साउन २२० सम्म परीक्षाफल सार्वजनिक गर्छौँ ।” एसईईको नतिजा कुन लेटर ग्रेडिङ अनुसार प्रकाशित गर्ने भन्ने यकिन भएको छैन । गत वर्ष चैत १७ देखि २९ गतेसम्म एसईई परीक्षा भएको थियो । ७७ जिल्लाका दुई हजार ३६ परीक्षा केन्द्रमा सम्पन्न भएको परीक्षामा पाँच लाख विद्यार्थी सहभागी थिए ।
काठमाडौं: प्रतिनिधि सभाको आजको बैठकले आउँदो आर्थिक वर्षका लागि करका दरको प्रबन्ध गरिएको आर्थिक विधेयक, २०८० बहुमतले पारित गरेको छ । बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले यो विधेयक पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । विधेयकमाथि परेका संशोधन प्रस्तावहरु बहुमतले अस्वीकृत भएपछि विधेयक पारित भएको हो । विधेयकमाथि सांसदहरु प्रेम सुवाल, सुमना श्रेष्ठ, शिशिर खनालले संशोधन प्रस्ताव पेस गर्नुभएको थियो । प्रतिनिधि सभाको आजको बैठकमा आर्थिक विधेयक, २०८० माथि संशोधनको प्रस्ताव गर्दै सांसद सुवालले एनसेललाई पुँजीगत लाभकरमा छुट दिएकोबारे प्रश्न उठाउनुभयो । सरकारले विभिन्न निजी कम्पनीबाट वर्षौँसम्म कर उठाउन नसकेको उहाँको आरोप छ । सांसद सुवालले हेलो नेपाल मुक्तिश्री’ र ‘सिनर्जी नेपाल’बाट वर्षौँसम्म कर उठाउन नसकेको भन्दैसरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद सुमना श्रेष्ठले आर्थिक विधेयक, २०८० माथि संशोधन प्रस्तुत गर्दै भन्सारमा लाग्ने करमाथि प्रश्न उठाउनुभयो । उहाँले विद्युतीय धुम्रपानका वस्तुमा भन्सार शुल्क लगाउनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘इलेक्ट्रोनिक चुरोट, व्यक्तिगत विद्युतीय धुम्रपानका वस्तुमा भन्सार कर लगाइएको छैन । जबकि बालबालिकाले प्रयोग गर्ने पेन्सिल, सार्पनरमा १० प्रतिशत भन्सार कर लगाइएको छ ।’ उहाँले दैनिक खाद्यान्नमा भ्याट लगाउन नहुने धारणा राख्नुभयो । यस्तै, स्वदेशी उद्योग र उत्पादनका लागि कच्चापदार्थ आयातमा सहज हुनेगरी भन्सार शुल्क निर्धारण हुनुपर्नेमा ध्यानाकर्षण गराउनुभयो । उहाँले किसानको उत्पादनलाई उचित मूल्य उपलब्ध गराउनेतर्फ समेत ध्यानाकर्षण गराउनुभयो । सांसद शिशिर खनालले संशोधनको प्रस्ताव राख्दै आन्तरिक उत्पादनमा वृद्धि र पर्यटक भित्र्याउने सरकारको नीति विपरीत हवाई टिकटमा भ्याट लगाइएको बताउनुभयो ।
पोखरा: नेपाल स्क्वास एन्ड र्याकेट्स संघको नेतृत्व ध्रुबबहादुर गुरुङले पाएका छन् संघको पाँचौ अधिवेशनमा मनोजबहादुर श्रेष्ठलाई हराउदै गुरुङ अध्यक्षमा निर्वाचित भएका हुन् । अब गुरुङले आगामी ४ वर्षे कार्यकालका लागि नेतृत्व सम्हाल्ने छन् । गुरुङ नेतृत्व समितिको उपाध्यक्षमा प्रेम सिंह, सुदीपबहादुर सिंह, दिलिप नरसिंह अधिकारी, जगतसुन्दर सैंजु र रुपकदास ताम्राकार चयन भए । यस्तै महासचिवमा लोकेन्द्रमान सिं भण्डारी, सहसचिवमा महेन्द्र महर्जन र कोषाध्यक्षामा शैलेश अमात्य चुनिए । कार्यसमिति सदस्यमा राजेन्द्र शाक्य, लालबहादुर गुरुङ, अनिल वज्राचार्य, विदुर धमला, रत्न महर्जन, राकेशकुमार गुप्ता, गिन्दिरा श्रेष्ठ र भावना सुनुवार रहेका छन् । सो समारोहमाबीच होङजोउ एसियाडमा नेपालको प्रतिनिधित्व गर्ने स्क्वासका ६ खेलाडी अरहान्त केशर सिंह, अमृत थापामगर, अमिर ब्लोन तामाङ, कृष्णा थापामगर, विपना ब्लोन तामाङ र स्वस्थानी श्रेष्ठलाई सम्मान अर्पण गरेको थियो ।
काठमाडौं: आइसिसी विश्वकप छनोटको प्लेअफ खेलमा युएईले नेपाललाई १ सय ८२ रनको मध्यम लक्ष्य दिएको छ । जिम्बावेको ताकाशिंगा स्पोर्ट्स क्लबमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको युएई ४६.५ ओभरमा १ सय ८१ रनमा अल आउट भयो । युएईका कार्यवाहक कप्तान वृत्य अरविन्दले ७५ बलमा ४ चौकासहित सर्वाधिक ४४ रन बनाए । आयरल्यान्डविरुद्ध घाइते भएका कप्तान मोहम्मद वासिम नहुँदा युएईले आसिफ खानलाई ओपनिङ पठाएको थियो । मध्यक्रमका ब्याटर आसिफ नेपालविरुद्ध पहिलो ओभरको दोस्रो बलमै शून्यमा आउट भए । उनी तीव्र गतिका बलर करण केसीको बलमा एज लागेर विकेटकिपर अर्जुन साउदबाट क्याच हुन पुगेका थिए । ओपनरलाई दोस्रो बलमै गुमाएपनि युएईका दुई युवा ब्याटर अर्यांश शर्मा र वृत्यले दोस्रो विकेटका लागि ६४ रनको साझेदारी गर्दै खेलमा फर्काएका थिए । स्पिनर सन्दीप लामिछानेले आफ्नो पहिलो ओभरमै उक्त साझेदारी तोडेका थिए । सन्दीपको १५ औं ओभरको अन्तिम बलमा अर्यांश शर्मा एज लागेर फस्ट स्लिपमा आरिफ शेखबाट २८ रनमा क्याच आउट भए । उनले ४३ बलमा ३ चौका प्रहार गरे । सन्दीपले मध्यक्रमका ब्याटर रमिज शाहजादलाई १० रनमा एलबीडब्लू आउट गर्दै दबाब बढाएका थिए । तीव्र गतिका बलर गुलशन झाले कार्यवाहक कप्तान वृत्य अरविन्दलाई बोल्ड आउट गर्दै नेपाललाई खेलमा फर्काएका थिए । पाँचौं विकेटका लागि रोहन मुस्तफा र बासिल हामिदले ५८ रनको साझेदारी गरेका थिए । एक समय युएई ३९.२ ओभरमा १५५-४ को अवस्थामा थियो । करण केसीको बाउन्सर बलमा रोहन मुस्तफा एज लागेर अर्जुनबाट समातिन पुगे । मुस्तफाले ५६ बलमा ३ चौकासहित ३५ रन बनाए । बासिल हामिद दीपेन्द्रको बलमा करणबाट २९ रनमा समातिन पुगे । हामिदले ३५ बलमा २ चौका प्रहार गरे । रोहित पौडेलले मिडअफबाट युएईका फिनिसर अली नासिरलाई ४ रनमा अल आउट गरेपछि नेपाल खेलमा पुरै हाबी बनेका थिए । सन्दीपले सन्चित शर्मालाई १२ रनमा क्याच गराए । युवा बायाँ हाते तीव्र गतिका बलर प्रतिश जि।सीले जुनैद सिद्दिकलाई शून्यमा बोल्ड आउट गरे । नेपालका सन्दीप लामिछानेले १० ओभरमा ३ मेडनसहित २३ रन खर्चेर ३ विकेट लिए । करण केसीले ८.५ ओभरमा ३६ रन खर्चेर ३ विकेट लिए । प्रतिश जि।सी, गुलशन झा र दीपेन्द्रसिंह ऐरीले समान एक विकेट लिए । नेपाल यस खेलमा विजयी भएमा सातौं स्थानको लागि आयरल्यान्ड्सँग खेल्नेछ । यदि पराजित भएमा नेपालले नवौं स्थानको लागि अमेरिकासँग खेल्नेछ ।
पोखरा: पोखरामा शुक्रबार एक पुरुष मृत भेटिएका छन् । मृत भेटिएका पुरुषकाे दुइदिनसम्म पनि पहिचान हुन सकेको नसकेकाे कास्की प्रहरीले बताएकाे छ । कास्की प्रहरीका अनुसार पोखरा महानगरपालिका १५ मजुवा स्थित सेती नदिको किनारामा भिरबाट लडेर मृत अवस्थामा फेला परेकाे थियाे । कास्की प्रहरीका अनुसार अन्दाजी ५५ वर्षीय पुरुषको शव सेती नदीको किनारामा शुक्रबार फेला परेको हो । सेती नदीमा मृत भेटिएका ति पुरुषको शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको शव गृहमा राखिएको छ ।

