पोखरा ।   होटल संघ पोखरा नेपालले आयोजना गर्न लागेको २१ औँ फेवा नव वर्ष महोत्सवको तयारी तिब्र पारिएको छ ।   पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित यही चैत २९ गतेदेखि आगामी वैशाख १ गतेसम्म सञ्च...

काठमाडौं:    समाजवादी मोर्चा, नेपालको पहिलो बैठक आज (शनिबार) बस्दैछ । नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालय, अलोकनगरमा आज अपराह्न ४ बजे बस्ने बैठकले मुलुकमा विकासित राजनीतिक घटनाक्रममा मोर्चाले निर्वाह गर्नुपर्ने भूमिका, सरकारले जनजीविका लागि गर्नुपर्ने कार्ययोजना र मोर्चालाई थप सशक्त बनाउने विषयमा छलफल हुनेछ । नेकपा एसका नेता जगन्नाथ खतिवडाले मोर्चामा आबद्ध चार दलका अध्यक्ष सहभागी हुने सो बैठकमा मोर्चाको आलोपालो नेतृत्व एवम् आगामी दिनमा गर्ने कार्ययोजनाबारे छलफल हुने जानकारी दिनुभयो । नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी) र विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका शीर्ष नेताको अगुवाईमा यही असार ४ गते मोर्चा घोषणा गरिएको थियो ।

काठमाडौं:    नुवाकोटमा पर्ने ककनीको पानी हङकङ र मकाउ निर्यात गर्न शुरु गरिएको छ । डेढ दशकदेखि ‘बोतलबन्द पानी’को व्यापारमा संलग्न चार व्यवसायी मिलेर हङकङ र मकाउमा नेपालबाट पानी निर्यात शुरु गर्नुभएको हो ।  गुणस्तर परीक्षणका लागि हवाईमार्गबाट पठाइएको पानीको नमूना स्वीकृति भएपछि कम्पनीले गएको जेठदेखि निर्यात शुरु गरेको वेभ नेपाल प्रालिका सञ्चालक विकास खत्रीले बताउनुभयो । हङकङको नियमअनुसार पानीको मापदण्ड पूरा गरी हङकङको एसएल ट्रेडिङ कम्पनीमार्फत कम्पनीले पानी हङकङ निर्यात शुरु गरिएको उहाँले जानकारी दिनुभयो ।  “हाल हङकङमा पानीको औसतमा मूल्य प्रतिबोतल रु ९० देखि रु एक सय पर्छ । नेपालबाट निर्यात हुने तुलनात्मकरुपमा पानी सस्तो पर्ने भएकाले हङकङमा नेपाली कम्पनीले प्रतिस्पर्धा गर्नसक्ने विश्वास छ”, उहाँले भन्नुभयो । यद्यपि पानीको प्रोसेसिङदेखि निर्यातसम्मको खर्च जोडेपछि मात्रै पानीको बिक्री मूल्य कति राख्ने भन्ने निर्णय हुने कम्पनीको भनाइ छ ।  “कम्पनी हङकङ र मकाउमा पानी निर्यातका लागि स्वीकृत पाइसकेको छ”, उहाँले भन्नुभयो, “पहिलो चरणमा एक कन्टेनरमा ११ सय कार्टुन पानी हङकङ निर्यात भइसकेको छ ।” उहाँका अनुसार तत्कालका लागि हङकङ र मकाउमा मात्रै मासिक १० कन्टेनर बराबरको पानी निर्यात गर्न सकिने सम्भावना छ ।  सामान्यतयाः यहाँबाट ४० दिनमा हङकङमा पानी निर्यात गर्न सकिन्छ । अन्य देशमा पनि माग भएमा मासिक आठदेखि १० कन्टेनर अर्थात् करिब एक लाख लिटर पानी निर्यात गर्न सकिने क्षमता कम्पनीसँग रहेको उहाँले जानकारी दिनुभयो । यद्यपि माग बढेको अवस्थामा क्षमता विस्तार गर्नेसमेत योजना रहेको उहाँले सुनाउनुभयो । सञ्चालक खत्रीका अनुसार कम्पनीसँग हाल दैनिक औसतमा एक लाख लिटर पानी फिल्टरिङ र प्याकिङ गर्न सक्ने क्षमता छ ।  “हङकङ र मकाउपछि बङ्गलादेशमा पानी निर्यातका लागि प्रक्रिया निकै अगाडि बढेको छ”, उहाँले भन्नुभयो, “त्यसबाहेक कतार, साउदी अरब र अष्ट्रेलियमा पनि पानी निर्यातका लागि काम भइरहेको छ ।” कम्पनीले काठमाडौँको तारकेश्वर नगरपालिका–३ मा करिब १२ करोड रुपैयाँको लगानीमा चार रोपनी क्षेत्रफलमा उद्योग स्थापना गरेको छ । कम्पनी सञ्चालकमा विकास खत्री, शालिग्राम ढुङ्गाना पुनकाजी महर्जन र राजु रिमाल हुनुहुन्छ । चार जना मिलेर सन् २०१७ देखि वेभ नेपाल प्रालि सञ्चालन गर्नुभएको थियो । यसअघि उहाँहरु छुट्टाछुट्टै प्रोसेस पानीको व्यापार गर्दै आउनुभएको थियो । कम्पनीले पानी शुद्धीकरणका लागि अमेरिकन प्रविधि ‘अल्ट्रा फिल्टरेसन’ प्रयोग गरेको छ । पानी शुद्धीकरणमा ‘ह्युमन ह्याण्ड’ कतै पनि प्रयोग नहुने र प्रोसेस सकिएपछि प्रत्येक बोतल र जारमा भरिने पानीको ल्याबमा परीक्षणसमेत गरिने उहाँको भनाइ छ । “एक कन्टेनर पानी हङकङ निर्यातका लागि प्रतिकन्टेनर २८ सयदेखि तीन हजार डलर पर्ने अनुमान छ । बीस फिटको कन्टेनरमा ११ सय कार्टुन पानी अट्ने गर्छ । विदेशमा पानी निर्यात गर्दा तीन सय, पाँच सय र एक लिटरको बोतलमा हाल निर्यात भइरहेको छ”, उहाँले भननुभयो ।  कम्पनीको प्रयोग गर्ने पानीको स्रोत छ हजार छ सय ७० फिट उचाइमा रहेको ककनीमा पर्छ । स्प्रिङ वाटरको महत्व बुझाउन सक्ने हो भने भारतमा मात्रै पनि ठूलो परिमाणमा पानी निर्यात गर्न सकिने सम्भावना रहेको कम्पनीको बुझाइ छ । कम्पनीले हाल निर्यात गरिरहेको पानी ट्राउट जातको माछापालनका लागि पनि योग्य मानिन्छ । उहाँका अनुसार नेपालमा बिक्री गर्ने पानीको तुलनामा हङकङमा निर्यात गर्ने पानीको मूल्य बढी पर्छ । “हङकङ निर्यातका लागि सोहीअनुसारको बोतल आवश्यक पर्छ, जसले पानीको मूल्य बढी पर्छ”, उहाँले भन्नुभयो । कम्पनीमा अहिलेसम्म प्रत्यक्ष रुपमा ३३ जनाले रोजगारी पाइरहेको उहाँको भनाइ छ ।

मकवानपुर:     पूर्व पश्चिम राजमार्गअन्तर्गत मकवानपुर मनहरी गाउँपालिका ६ स्थित नय बस्ती डिपाट सडक खण्डमा सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ । हेटौँडाबाट चितवनतर्फ जाँदै गरेको ना ६ ख ६६६७ नं.को ट्रक र विपरीत दिशातर्फबाट आउँदै गरेको ना ६ ख ६३१ नं.को ट्रक शनिवार बिहान एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा दुवै ट्रकमा आगलागी भएको हो ।  दुर्घटनामा परी मृत्यु हुनेमा ना ६ ख ६६६७ नं।को ट्रक चालक चितवन जिल्ला राप्ती नगरपालिका ८ का वर्ष २८ को रिहान रुम्बा तामाङ, सोही ट्रकका सहचालक गोरखा जिल्ला गण्डकी गाउँपालिका २ गोर्दीटारका वर्ष २१ को सुमन चेपाङ र ना ६ ख ६३१ नं।को ट्रक सहचालक मकवानपुर जिल्ला मनहरी गाउँपालिका ३ का वर्ष २० को अमृत प्रजा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । मकवानपुरमा प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले घाइतेहरू तीन जना सवारी साधनमा च्यापिएको अवस्थामा रहेको बताउनुभयो । साथै दुर्घटनामा परी ना ६ ख ६६६७ नं.को ट्रकमा सवार जिल्ला राप्ती नगरपालिका ३ का वर्ष ३५ को विवेक तामाङ र ना ६ ख ६३१ नं.को ट्रक चालक मनहरी गाउँपालिका ३ का वर्ष ३२ को अर्जुनकुमार प्रजा घाइते भएको र उनीहरूको अवस्था मध्यम रहेको छ । घाइतेहरूको उपचारको लागि भरतपुर पठाइएको जनाइएको छ । ट्रकमा लागेको आगो नियन्त्रणमा लिएर दुवैतर्फ बाटो  सुचारु गरिएको छ ।

पोखरा:   वन रक्षकको परीक्षामा सहभागी भएका कालीकोटका तीन जना नक्कली परीक्षार्थीलाई कास्की प्रहरीले प्रकाउ गरेको छ ।  पोखरा महानगरपालिका १५ फुलवारी स्थित गण्डकी प्रदेश तालिम केन्द्रमा सञ्चालन भईरहेको वन रक्षकको परीक्षामा सहभागी भएका कालीकोटका तीन जना नक्कली परीक्षार्थीलाई जिल्ला प्रहरी कार्यालय कास्कीले प्रकाउ गरेको हो ।  लोक सेवा आयोगको विज्ञापन नं.१४५–१५३/०७९/०८० (खुल्ला तथा समावेशी) वन रक्षक पदको शारीरिक तन्दुरुस्ती परीक्षामा परीक्षार्थीहरुको कागजात चेकजाँचको क्रममा अर्काको नागरिकतामा आफ्नो फोटो टाँसेर परीक्षामा सहभागी भएका कालीकोटका तीनजना नक्कली परीक्षार्थी प्रकाउ परेका हुन् ।    प्रकाउ पर्नेमा कालिकोट रास्कोट नगरपालिका २ सिपखानाका १९ वर्षीय प्रेम भण्डारी, ४ सिपखानाका २० वर्षीय गौरी संञ्जाल र एक जना १८ वर्षीय युवकलाई प्रकाउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।    प्रकाउ परेका तीनै जनालाई जिल्ला अदालत कास्कीबाट शिक्षा ऐन सम्बन्धि मुद्धामा ८ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ ।

पोखरा:   एउटा युवा जमात । जसले कोरोना भाइरस महामारीको बेला पोषिलो सम्बन्धि बजारको अध्ययन गर्यो । एक वर्षको अध्ययनपछि पोषिलो फुड्स प्रोडक्सन कम्पनीको दर्ता भयो ।  अहिले विगत डेढ वर्षदेखि आफ्नो उत्पादन बजारमा विक्री वितरण गर्दै आएको छ । विशेषगरी नेपाली रैथाने बालीलाई प्रयोग गर्दै ०७८ पुसबाट कम्पनीले नेपाली रैथाने बालीबाट सातुको उत्पादन सुरु गरेको हो ।  अहिले बजारमा चार प्रकारको नेपाली सातु उपलब्ध रहेको  पोषिलो फुड्स प्रोडक्सनका प्रवन्धक निर्देशक पृथ्वी कल्याण पराजुलीले बताए ।  उनका अनुसार उमेर समुहलाई लक्षित गरी ४ सय ग्राम, ८ सय ग्राम र २ किलोको सातु बजारमा उपलब्ध छन् । सातुको मूल्य १ सय ६० रुपैयाँ देखि बढीमा १ हजार ८ सय रुपैयाँसम्म निर्धारण गरिएको पराजुलीले जानकारी दिए ।  उनले नेपालमा नै उत्पादन हुने गहुँ, भट्ट, चना आलस र छोक्राको प्रयोगबाट परम्परागत खाजाको रुपमा प्रयोग हुँदै आएको सातुलाई आधुनिकरणबाट उत्पादन सुरु गरेको बताए । ‘जब विश्वभर कोरोनाको असर प¥यो सबैलाई पोषिलो तत्वको आवश्यकता प¥यो’, पराजुलीले भने, ‘कुनै रोगको असरमा मात्र होइन, सबैका लागि सधैको लागि पोषिलो तत्व सबैलाई आवश्यकता पर्ने भएकाले परम्परागत खाजालाई आधुनिकरण गर्दै सातु उत्पादन बजारमा ल्याएका छौं ।’ उनले नेपालमा नै उत्पादन हुने बाली गहुँ, भट्ट, आलस र छोक्रा प्रयोग हुन्छ भने चना विदेशबाट आयात हुने बताए ।  ‘सातु र नेपालीको सम्बन्ध निकै लामो भएको छ, गाउँमा रैथाने बाली उत्पादन हुन्छ त्यसलाई खाजाको रुपमा मात्र प्रयोग हुँदै आएको छ’, उनले भने, ‘नेपाली बालीको उत्पादन बढाउन र बजारीकरणका लागि सातु उत्पादनलाई प्राथमिकता दिएका हौ ।’ कम्पनीले अहिले पोषिलोको मल्ट्रीग्रेन सातु, नट्टी डिलाइट सातु, प्रोटिन सातु र न्यट्री सातु उत्पादन गर्दै आएको छ । कम्पनीले अहिले पोखरासहित विराटनगर, काठमाडौं, चितवन बिर्तामोड र इटहरी लगायतका शहरमा बजारीकरण सुरु गरिसकेको छ । कम्पनीले छिमेकी राष्ट्र भारत र चीनमासमेत बजार विस्तारका लागि छिटै यात्रा गर्ने जनाएको छ ।  सो कम्पनीले ब्राण्ड एम्बेस्टरको रुपमा सुकदेव कार्कीसँग सहमति गरेको छ ।  कार्कीले कम्पनीको प्रवद्र्धनमा सघाउ पुर्याउनेछन् ।  

काठमाडौं:    कोशी प्रदेशमा असंवैधानिक तरिकाले नयाँ सरकार गठन भएको भन्दै नेकपा एमालेले सर्वोच्च अदालतमा रिट दायर गरेको छ । एमाले कोशी प्रदेश संसदीय दलका नेता एवम् निवर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्कीका तर्फबाट एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारीसहितको टोलीले दायर गरेको रिट दर्ता भएको सर्वोच्च अदालतका प्रवक्ता विमलकुमार पौडेलले जानकारी दिनुभयो । रिटमाथि पर्सि आइतवार सुनुवाइ हुने भएको छ । एमालेले सर्वोच्चमा दिएको रिटमा सभामुखसमेतलाई जोडेर गठबन्धनले दाबी पेस गर्दा मुख्यमन्त्री नियुक्त गर्ने प्रदेश प्रमुखको निर्णय खारेज गर्न माग गरिएको छ । प्रक्रिया मिचेर सरकार बनाइएकोले असंवैधानिक कदमविरुद्ध सर्वोच्च पुग्नुपर्ने अवस्था आएको प्रमुख सचेतक भण्डारीले बताउनुभयो । कोशीको ९३ सदस्यीय प्रदेशसभामा बहुमत पुर्‍याउन ४७ जना प्रदेशसभा सदस्यको समर्थन चाहिन्छ । गठबन्धन दलहरूका तर्फबाट ४६ मात्रै पुगेपछि सभामुखलाई समेत जोडर बहुमत पुर्‍याउँदै कांग्रेस संसदीय दलका नेता उद्धव थापा मुख्यमन्त्री बन्नुभएको छ । मुख्यमन्त्री थापाले आजै पद तथा गोपनियताको शपथ लिइसक्नुभएको छ ।

काठमाडौं:     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणमा गएका बेला भारतीय गुप्तचर प्रमुखसँग भेटेर आएको दाबी गर्नुभएको छ ।  शुक्रवार काठमाण्डौमा आयोजित एक कार्यक्रममा अध्यक्ष ओलीले प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणका क्रममा भारतीय गुप्तचर प्रमुखकै घरमा गएर बसेको दाबी गर्नुभयो । उहाँले त्यो भेट पनि प्रधानमन्त्रीले लुकाएको आरोप लगाउनुभयो । भारतीय गुप्तचर प्रमुख नेपालमा आएका बेला आफूले भने सार्वजनिकरूपमै भेटेको र कुनै कुरा नलुकाएको ओलीको भनाइ छ । उहाँले भन्नुभयो, ‘जे कुरामा पनि नेकपा एमालेलाई दोषी देखाउने काममा लागेका छन् । भारतबाट अर्का प्रमुख नेपाल आए, मसँग भेट्छु भने, नेपालमा आएर भेटेँ, मैले सार्वजनिकरूपमा भेटेँ, कुरा गरेँ । यस पटक प्रचण्डजी दिल्ली जानुभयो, उनको निवासमा गएर लुकेर भेट्नुभयो । उहाँले मैले त्यस्तो गोप्य मन्त्रणा गरेको होइन, उहाँ गएर भेटेको होइन, मलाई भेट्न आएको ठाउँमा मैले भेट दिएको हो, नागरिकको हितको पक्षमा कुरा गरेँ, अहित केही कुरा गरिनँ भन्नुभयो । उहाँले देशको हितको पक्षमा कुन शब्द उच्चारण गर्नुभयो ? के भन्नुभयो ? भेटेको कुरा पनि स्वीकार्न सक्नु हुन्न उहाँ ।’ अध्यक्ष ओलीले नेपालमा बहुदलीय व्यवस्था भए पनि लोकतन्त्र र कानुनी राज नरहेको जिकिर गर्नुभयो । ओलीले प्रचण्डले नेपालको प्रधानमन्त्री नेपाली नागरिक र नेपाली संसदबाट नचुनिएको भन्ने अभिव्यक्ति दिएर छिमेकी देशलाई समेत विवादमा तान्ने प्रयास गरिएको बताउनुभयो । उहाँले नागरिकमा रहेको सार्वभौमसत्ताको मजाक गर्न नमिल्ने भन्दै प्रधानमन्त्रीले राजीनामा गर्नुपर्ने र सत्तापक्षसँग कुनै पनि ठाउँमा भेट्न आफू तयार रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘नेपालमा बहुदलीय व्यवस्था छ तर लोकतन्त्र र कानुनी राज छैन । संसदबाट छानिएको भन्ने सरकार छ तर संसदबाट छानिएको होइन रहेछ । अस्ति प्रधानमन्त्री आफैँले एउटा प्रमाण पेस गर्नुभएको छ, कति प्रमाण छन् छन् यस्ता । प्रितम सिंहलाई पनि उहाँले बेकारमा मुछ्नुभयो । प्रितम सिंह दिल्ली नै जानुभएको छैन, तर मलाई प्रधानमन्त्री बनाउन जानुभयो भनेर उहाँले झुट बोल्नुभयो । मित्रराष्ट्र भारतले नेपालमा सरकार बनाउँछु भनेर अहिलेसम्म भनेको छैन, त्यो भन्नु नेपालको सार्वभौमसत्ता विपरीत हुन्छ, त्यो भारतलाई पनि थाहा छ । भारत भन्दैन तर नेपालको प्रधानमन्त्री भनिरहेका छन् । राष्ट्रियतामाथि मजाक उडाइएको छ । सार्वभौमसत्तामाथि मजाक उडाइएको छ ।’  ओलीले कोही प्रदेशमा सरकार गठनको नाममा लगातार संविधान मिचिएको पनि बताउनुभयो । उहाँले कोशी प्रदेशमा सभामुखसहितको हस्ताक्षर बुझाएर सरकार गठन गर्ने कुरा उचित नरहेको बताउनुभयो । अहिलेको कोशी प्रदेश सरकार सङ्घबाट दिएको निर्देशनअनुसार चलेको र संविधानको बर्खिलापमा गएको उहाँले आरोप लगाउनुभयो । अध्यक्ष ओलीले बालुवाटारको ललिता निवासलगायतका अनियमतताका घटनाहरूको सत्यरतथ्य छानबिन गर्न एमाले तयार रहेको बताउनुभयो ।

काठमाडौं:    जिम्बावेमा भएको आइसिसी विश्वकप छनोट खेलेर नेपाली राष्ट्रिय क्रिकेट टिम शुक्रबार स्वदेश फर्किएको छ। प्रतियोगितामा नेपाल समूह चरणमा जिम्बावे, वेस्टइन्डिज र नेदरल्यान्डसँग पराजित भएको थियो भने नेपालले अमेरिकालाई पराजित गरेको थियो । प्लेअफ खेलमा नेपालले युएईलाई हराएको थियो।नेपाल आयरल्यान्डसँग पराजित हुँदै आठौँ स्थानमा प्रतियोगिता टुङ्ग्याएको थियो। विश्वकप छनोटमा विभिन्न १० टोली सहभागी थिए।नेपाली टोलीलाई नेपाल क्रिकेट सङ्घ (क्यान) का पदाधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए।

काठमाडौं:     प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले सत्ता पक्ष र प्रमुख प्रतिपक्षी दलका सांसदलाई घनीभूत छलफल गरेर सहमति गर्न अनुरोध गर्नुभएको छ। शुक्रबारको कार्यव्यवस्था परामर्श समिति बैठकमा धारणा राख्नुहुँदै सभामुख घिमिरेले यस्तो अनुरोध गर्नुभएको हो।  प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले प्रतिनिधि सभाको बैठकमा अवरोध गर्दा मिटरब्याज पीडि सम्बन्धी विधेयक निष्क्रिय हुनु राम्रो नभएको उहाँले बताउनुभयो। सत्ता पक्ष र प्रतिपक्षी दलको छलफलका लागि सहजीकरण गर्न आफू तयार रहेको उहाँले प्रष्ट पार्नुभएको छ। सभामुखको भनाइ उद्धृत गर्दै सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले भन्नुभयो, ‘सत्तापक्ष र प्रमुख विपक्षीबीच घनीभूत छलफल गरेर भोलिसम्ममा सहमति गर्नुहोला। संसद अवरुद्ध हुँदा विधेयक (खासगरी मिटरब्याजसम्बन्धी) निष्क्रिय हुनु राम्रो होइन। तपाईंहरु एउटा निष्कर्षमा पुग्नैपर्छ। त्यसका लागि सहजीकरण गर्न म तयार छु।’’ सभामुख घिमिरेले आइतबारसम्ममा सहमति गर्न आग्रह गर्दै शुक्रबारको बैठक सूचना टाँसेर स्थगित गर्नुपर्ने बताउनुभएको छ।  कार्यव्यवस्था समिति बैठक लगत्तै सङ्घीय संसद्का महासचिव डा. भरतराज गौतमले सूचना सार्वजनिक गर्नुहुँदै शुक्रबारका लागि तोकिएको बैठक आइतबार दिउँसो १ बजे बस्ने निधारण गरिएको जानकारी गराउनुभएको छ ।