सोलुखुम्बु: मनाङ एयरको हेलिकप्टर सोलुखुम्बुको लाम्जुरा डाँडामा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । दुर्घटनास्थलमा पुगेका प्रहरी सहायक निरीक्षक निराजन बस्नेतका अनुसार अहिले पाँच जनाको शव भेटिएको छ भने एक जनाको खोजी कार्य जारी छ । उनीहरुको पहिचान भने हुन नसकेको बस्नेतले बताए । सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको हेलिकप्टर सोलुखुम्बुको लाम्जुरा डाँडामा दुर्घटनाग्रस्त भएको सम्पर्कविहीन भएको थियो । सो हेलिकप्टरमा क्याप्टेन सिबी गुरुङ र पाँच मेक्सिकन नागरिक सवार थिए ।
पाेखरा: बिहान ८ बजे नै यातायात व्यवस्था कार्यालय खुलेको थियो । सेवाग्राहीको चहलपहल देखिन्थ्यो । कोही सवारी चालक अनुमतिपत्र (लाइसेन्स)का लागि राजस्व बुझाउँदै थिए, कोही स्वास्थ्य परीक्षणको प्रमाणीकरणपत्र लिँदै । ‘बायोमेट्रिक’देखि ‘लाइसेन्स’को लिखित र प्रयोगात्मक परीक्षा दिन गएका पनि उत्तिकै भेटिए । कार्यालयमा अघिपछि जस्तो भीडभाड थिएन । कर्मचारीले सहज र छरितो ढङ्गले सेवा दिइरहेका थिए । यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र कास्कीमा सोमबार बिहान पुग्दा देखिएको दृश्य हो यो । दिउँसोमा सेवाग्राहीको चाप थेगिनसक्नु भएपछि कार्यालयले गत महिनादेखि बिहानी सेवा सुरु गरेको थियो । अहिले करिब ३० प्रतिशत सेवाग्राहीले १० बजेअघि नै सेवा लिइसक्छन् । घन्टौँ लाममा बस्नुपर्ने स्थिति हटेको छ । ‘लाइसेन्स’को राजस्व तिर्न पुग्नुभएका पोखरा–१० अमरसिंहका विकल क्षेत्रीले १५ मिनेटजति लाममा उभिनुपरेको सुनाए । 'पहिले यही काममा लागि बिहान १० देखि ३ बजेसम्म कुर्नुपरेको थियो', उनले भने, 'अहिले धेरै सहज भएको छ, लाममा धेरै उभिनुपर्दैन ।' पोखरा–२७ लेखनाथका सुरज चापागाईँ पनि बिहानै कार्यालयलको सेवा पाउँदा मख्ख देखिए । गाडीको ‘लाइसेन्स’का लागि स्वास्थ्य परीक्षणको प्रमाणीकरण लिने झ्यालमा उनी एक्लै थिए । 'बिहान यताको काम सकेर दिउँसो आफ्नो काममा जान पाइयो, यातायात कार्यालयको सेवा अहिले धेरै सहज बनेको छ', उनले भने, 'लाइन्सेन्सको राजस्व अनलाइनबाटै तिर्न मिल्ने भएपछि अब झन् छिटोछरितो हुन्छ ।' कार्यालयका सूचना अधिकारी भेषराज अधिकारीले राजस्व बुझाउनेदेखि लाइसेन्सको प्रयोगात्मक परीक्षा ‘ट्रायल’सम्मका सेवा बिहानैदेखि सुरु हुने बताए । '८ बजे नै कर्मचारी सेवामा जुटिसक्छौँ, कार्यालय खुल्दा बाहिर सेवाग्राहीको चहलपहल बढिसक्छ', उनले भने, 'पहिले १० बजे कार्यालय खुल्दा १२ बजेसम्म सेवाग्राहीको धेरै चाप हुन्थ्यो, अहिले १० बजे नै त्यो कम भइसक्छ ।' दश बजे एकैसाथ सेवाग्राही आउँदा कार्यालयलाई लाम व्यवस्थापन गर्नै कठिन हुने अवस्था थियो । यसै पनि यातायात कार्यालय सेवाग्राहीको बढी चाप हुने ठाउँ हो । कार्यालय प्रमुख जीतेन्द्रजङ्ग केसीले बिहानी सेवासँगै हालै सुरु भएको अनलाइन भुक्तानीले सेवा प्रवाहलाई थप चुस्त र प्रभावकारी बनाउने उल्लेख गरे । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गत बिहीबार देशमै पहिलोपटक यसै कार्यालयबाट उक्त सेवाको शुभारम्भ गरेको थियो । 'अनलाइन भुक्तानी सेवा सुरु भइसकेको छ, नयाँ प्रणाली भएकाले हामी अभ्यस्त हुन केही समय लाग्ला, तर यसले सेवाग्राहीलाई ठूलो टेवा मिल्छ, कार्यालयमा हुने भीड घटाउन पनि मद्दत पुग्छ', प्रमुख केसीले भने, 'लाइसेन्स बनाउन, नवीकरण गर्न कार्यालय धाइरहनुपर्ने अवस्थाको अन्त्य हुँदैछ, छिट्टै सवारी दर्ता र नवीकरणमा पनि विद्युतीय भुक्तानी सेवा सुरु गर्ने तयारी छ ।' कार्यालयले लाइसेन्स परीक्षाका लागि गाडी र मोटरसाइकलको गरेर दैनिक पाँच सय १९ कोटा तोकेको छ । लाइसेन्सको परीक्षाबाहेक दैनिक सयौँ सेवाग्राहीले बायोमेट्रिक, लाइसेन्स नवीकरण, वर्ग थप, स्वास्थ्य परीक्षणको प्रमाणीकरण, राजस्व भुक्तानीलगायत सेवा लिन्छन् । गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयका प्रवक्ता टीकाराम पौडेलले यातायात कार्यालयको अनलाइन सेवालाई थप व्यवस्थित गर्दै लगिने बताए । उनले कार्यालयमा हुने सेवाग्राहीको चाप व्यवस्थापन गर्न र छिटोछरितो सेवा दिन सबैखाले उपाय अपनाइने उल्लेख गरे । कास्कीसहित बागलुङ, तनहुँ र नवलपुरमा यातायात व्यवस्था कार्यालय छन् । मुख्यगरी प्रदेश राजधानीमा रहेको कास्की कार्यालयमा सेवाग्राहीको बढी चाप हुने गर्छ । यातायात कार्यालयबाट हुने सेवा प्रवाहलाई लिएर जनस्तरबाट पनि बेलाबेला आलोचना हुने गरेको थियो । बिचौलियाको चलखेलदेखि सेवा प्रवाहमा हुने ढिलासुस्तीले उक्त कार्यालयको छविमाथि पनि प्रश्न उठाउने गरिन्थ्यो । मन्त्रालयका प्रवक्ता पौडेलले यातायात कार्यालयको छवि सुधार्ने गरी व्यवस्थापकीय सुधारदेखि सेवामा स्तरीकरणको पहल थालिएको बताए । उनका अनुसार बागलुङ कार्यालयबाट पनि छिट्टै चार पाङ्ग्रे सवारी चालक अनुमतिपत्रको परीक्षा सञ्चालन हुँदैछ । 'लाइसेन्स परीक्षाको नयाँ मापदण्ड लागू भएपछि बागलुङमा ठाउँ अभावका कारणले ११ वर्षदेखि चार पाङ्ग्रेको ट्रायल हुन सकिरहेको थिएन, अब त्यो छिट्टै सुरु हुन्छ, मन्त्रालयले पनि यसमा विशेष चासो र पहल लिइरहेको छ', उनले भने, 'बागलुङमा परीक्षा सञ्चालन हुँदा कास्की कार्यालयमा देखिएको चाप पनि केही घट्छ ।' बागलुङ कार्यालयले धवलागिरि क्षेत्रका बागलुङसहित पर्वत, म्याग्दी र मुस्ताङलाई सेवा दिँदै आएको छ । लाइसेन्सको अनलाइन भुक्तानी सेवा पनि कास्कीसहित चारै जिल्लाका कार्यालयमा विस्तार गर्ने मन्त्रालयको योजना छ । प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीलेले विद्युतीय सेवामा कास्की कार्यालय देशमै अगाडि रहेको बताए । 'कार्यालयका सबै ढड्डालाई अनलाइनमा राख्नेदेखि अनलाइन राजस्व भुक्तानीसम्मको सुरु यहीँबाट भएको छ', उनले भने, 'अनलाइन सेवा प्रभावकारी बनाउन सकियो भने यातायात कार्यालयप्रति लाग्ने गरेको आरोपको पनि आफैँ अन्त्य हुन्छ ।' मन्त्री जुग्जालीले यातायातसम्बन्धी सेवाका लागि कार्यालय धाइरहन नपर्ने स्थितिको सिर्जनाका लागि आफूहरू लागिपरेको बताए । 'बिहानैदेखि कार्यालयको सेवा दिँदा पनि भीडभाड कम भएको छ, सेवामा सहजता थपिएको छ, सेवाग्राही सन्तुष्ट नै रहेको हामीले पाएका छौँ', उनले भने, 'हाम्रो जोड अनलाइन सेवामै छ, यसले बिचौलियाको पनि अन्त्य गर्छ ।'
लुक्लाबाट उडेको मनाङ्ग एयरको हेलिकप्टर सोलुखुम्वुको लम्जुरामा दुर्घटना भएको छ । सोलुदुधकुण्ड नगरपालिका र लिखुपिके गाउँपालिकानजिकैको लम्जुरा डाँडामा हेलिकप्टर दुर्घटना भएको प्रारम्भिक सूचना आएको कोशी प्रदेशका प्रहरी प्रमुख राजेशनाथ बाँस्तोलाले बताए । उनका अनुसार घटनास्थलतर्फ प्रहरी परिचालन गरिएको छ । हेलिकप्टरमा क्याप्टेन र ५ मेक्सिकन नागरिक गरी ६ जना सवार थिए । दुर्घटनाको विस्तृत विवरण भने आउन बाँकी छ ।
सोलुखुम्बु: सोलुखुम्बुबाट काठमाण्डौका लागि उडेको मनाङ एअरको हेलिकप्टर सम्पर्कविहीन भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार सोलुखुम्बुको सुर्केबाट काठमाण्डौका लागि उडेको मनाङ एअरको एनए–एमभी कलसाइन भएको हेलिकप्टर १० बजेर १ मिनेटमा सम्पर्कविहीन भएको हो । हेलिकप्टरमा चालकसहित ६ जना रहेका सिटौलाले जानकारी दिनुभयो । मनाङ एअरको हेलिकप्टर सम्पर्कविहीन रहेको जानकारी आएको छ, टावरसँग सम्पर्क भएको छैन, लामजुरा पाससम्म आइपुग्दा हेलिकप्टरसँग भाइबरमा ‘हेल्लो’ मात्रै सन्देश आएको जानकारी आएको छ, खोजी जारी छु, उहाँले भन्नुभयो । नेपाल नागरिक उड्डयन प्राधिकरण लुक्लाका प्रमुख महेश श्रेष्ठका अनुसार लुक्लाबाट सामान्यतया ४५ मिनेटमा काठमाण्डौ पुग्नुपर्ने हेलिकप्टर अहिलेसम्म सम्पर्कमा आउन सकेको छैन ।
पोखरा उद्योग वाणिज्य सङ्घले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलभित्रको पार्किङ शुल्क घटाउन माग गरेको छ। सङ्घका अध्यक्ष पवनकुमार प्रजापति नेतृत्वको प्रतिनिधिमण्डलले नागरिक उड्डयन प्राधिकरण पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका निर्देशक विक्रम गौतमलाई सोमबार ध्यानाकर्षणपत्र बुझाउँदै पुरानो विमानस्थलभन्दा झन्डै २१ गुणा महँगो शुल्क कुनै पनि कोणबाट जायज नभएको बताएको हो। सङ्घले आवागमनलाई असर नपर्ने गरी यात्रुलाई पुर्याउन जाँदा बिदाइ र आगन्तुकरअथिति पाहुनालाई स्वागत गरी सवारीमा चढाउने व्यवस्था मिलाउन पनि आग्रह गरेको छ। ध्यानाकर्षणपत्रमा विमानस्थल निर्माणको सूत्रधार,अभियानकर्ता एवं उपभोक्ताको नाताले विमानस्थलसँग सङ्घको गहिरो चासो जोडिएको उल्लेख गर्दै राष्ट्रिय गौरवको परियोजनाका रूपमा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रवाह हुने सेवा–सुविधा अन्तर्राष्ट्रियस्तरकै हुनुपर्नेमा जोड दिइएको छ। सेवा प्रवाहबाटै विमानस्थलले उपभोक्ताको मन जित्नुपर्ने उल्लेख गर्दै सङ्घले ध्यानाकर्षणपत्रमा विमानस्थलजस्तो संवेदनशील क्षेत्रमा व्यवस्थित पार्किङ अपरिहार्य हुने र सेवा सस्तो, सुलभ एवं नागरिकमैत्री हुनुपर्ने भनेको छ। विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान प्रबन्धमा पनि सङ्घको उत्तिकै चासो हुने जनाएको छ। ध्यानाकर्षणपत्र बुझ्दै विमानस्थल प्रमुख गौतमले पार्किङ शुल्क महँगो भएको स्वीकारे। विमानस्थल प्रशासन यात्रु ल्याउने–लैजाने कार्यमा सहजीकरण गर्नुका साथै राजमार्गसम्म निःशुल्क वा सशुल्क बस सेवा सञ्चालन गर्ने तयारीमा रहेको उनले जानकारी गराए।
बागलुङ जिल्लाको बडिगाडमा सडक खन्ने क्रममा स्काभेटरको ठक्करबाट बालकको मृत्यु भएको छ। बडिगाड गाउँपालिका–७ भत्रेनीबाट सोइरेनीसम्मको कच्ची सडक खन्ने क्रममा स्काभेटरको ठक्करबाट स्थानीय भानबहादुर घर्तीको १४ वर्षीय सुनिलको सोमबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिए। स्काभेटर चालकलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान थालेको जनाइएको छ।
भारतमा गएको पहिरोमा परेर एकै परिवारका तीन जना नेपालीको ज्यान गएको छ । सिमलाको ठेट क्यार भन्ने ठाउँमा गएको पहिरोमा परेर रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–९ टुनिबोटका ४८ वर्षीय दिपबहादुर ओली, उहाँकी श्रीमती भीमा र १७ वर्षीय छोरा मोहोनको ज्यान गएको त्रिवेणी गाउँपालिकाका अध्यक्ष गणेशकुमार केसीले जानकारी दिनुभयो । उहाँका अनुसार उनीहरु हिजो बिहान घर माथिबाट आएको पहिरोमा परेका हुन् । दिपबहादुर ऋण तिर्नका लागि भन्दै एक वर्षअघि मजदुरी गर्न भारत जानु भएको थियो । श्रीमती र दुई छोरा भने झण्डै एक महिना अघि मात्रै भारत गएका त्रिवेणी गाउँपालिकाका अध्यक्ष गणेशकुमार केसीले जानकारी दिनुभयो । पहिरो गएका बेला जेठो छोरो घरमा नभएकाले बाँचेका छन् । ज्यान गुमाएकाको शव नेपाल ल्याउने तयारी भइरहेको त्रिवेणी गाउँपालिकाले जनाएको छ ।
झापा: १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बुद्धशान्ति गाउँपालिका–३, बस्ने ३१ वर्षीय धनकुमार लिम्बु रहेका छन् । उनलाई गएराती ईलाका प्रहरी कार्यालय बुधबारेबाट अटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । प्रहरीका अनुसार लिम्बुले ती बालिकालाई २०७९ फागुन ७ गते निजकै घर पछाडी बासघारीमा लगि जबरजस्ती करणी गरेको उजुरी परको थियो । हाल पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
काठमाडौं: प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताको बैठक सकिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज (सोमबार) बसेको शीर्ष नेताको बैठकमा सङ्घीय संसद्को अवरोध खुलाउने विषयमा सहमति भएको छ । शीर्ष नेताको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय संसदमा देखिएको अवरोध खुलाउन आग्रह गर्नुभएको थियो । प्रधानमन्त्रीले सानातिना विषयलाई लिएर संसदमा अवरोध गर्नु राम्रो नभएको बताउनुभएको थियो । प्रतिनिधि सभाको बैठक आज ३ बजेका लागि बोलाइएको छ । आजको बैठकमा मिटरब्याज पीडितलाई न्याय दिनका लागि अगाडि बढाइएको विधेयक पेस गर्ने कार्यसूची छ । प्रधानमन्त्री प्रचण्डले आज प्रतिनिधि सभामा सम्बोधन गर्ने कार्यक्रम छ । शीर्ष नेताको बैठकमा प्रधानमन्त्री प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको उपस्थिति थियो । रासस

