लुक्लाबाट उडेको मनाङ्ग एयरको हेलिकप्टर सोलुखुम्वुको लम्जुरामा दुर्घटना भएको छ । सोलुदुधकुण्ड नगरपालिका र लिखुपिके गाउँपालिकानजिकैको लम्जुरा डाँडामा हेलिकप्टर दुर्घटना भएको प्रारम्भिक सूचना आएको कोशी प्रदेशका प्रहरी प्रमुख राजेशनाथ बाँस्तोलाले बताए । उनका अनुसार घटनास्थलतर्फ प्रहरी परिचालन गरिएको छ । हेलिकप्टरमा क्याप्टेन र ५ मेक्सिकन नागरिक गरी ६ जना सवार थिए । दुर्घटनाको विस्तृत विवरण भने आउन बाँकी छ ।
सोलुखुम्बु: सोलुखुम्बुबाट काठमाण्डौका लागि उडेको मनाङ एअरको हेलिकप्टर सम्पर्कविहीन भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार सोलुखुम्बुको सुर्केबाट काठमाण्डौका लागि उडेको मनाङ एअरको एनए–एमभी कलसाइन भएको हेलिकप्टर १० बजेर १ मिनेटमा सम्पर्कविहीन भएको हो । हेलिकप्टरमा चालकसहित ६ जना रहेका सिटौलाले जानकारी दिनुभयो । मनाङ एअरको हेलिकप्टर सम्पर्कविहीन रहेको जानकारी आएको छ, टावरसँग सम्पर्क भएको छैन, लामजुरा पाससम्म आइपुग्दा हेलिकप्टरसँग भाइबरमा ‘हेल्लो’ मात्रै सन्देश आएको जानकारी आएको छ, खोजी जारी छु, उहाँले भन्नुभयो । नेपाल नागरिक उड्डयन प्राधिकरण लुक्लाका प्रमुख महेश श्रेष्ठका अनुसार लुक्लाबाट सामान्यतया ४५ मिनेटमा काठमाण्डौ पुग्नुपर्ने हेलिकप्टर अहिलेसम्म सम्पर्कमा आउन सकेको छैन ।
पोखरा उद्योग वाणिज्य सङ्घले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलभित्रको पार्किङ शुल्क घटाउन माग गरेको छ। सङ्घका अध्यक्ष पवनकुमार प्रजापति नेतृत्वको प्रतिनिधिमण्डलले नागरिक उड्डयन प्राधिकरण पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका निर्देशक विक्रम गौतमलाई सोमबार ध्यानाकर्षणपत्र बुझाउँदै पुरानो विमानस्थलभन्दा झन्डै २१ गुणा महँगो शुल्क कुनै पनि कोणबाट जायज नभएको बताएको हो। सङ्घले आवागमनलाई असर नपर्ने गरी यात्रुलाई पुर्याउन जाँदा बिदाइ र आगन्तुकरअथिति पाहुनालाई स्वागत गरी सवारीमा चढाउने व्यवस्था मिलाउन पनि आग्रह गरेको छ। ध्यानाकर्षणपत्रमा विमानस्थल निर्माणको सूत्रधार,अभियानकर्ता एवं उपभोक्ताको नाताले विमानस्थलसँग सङ्घको गहिरो चासो जोडिएको उल्लेख गर्दै राष्ट्रिय गौरवको परियोजनाका रूपमा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रवाह हुने सेवा–सुविधा अन्तर्राष्ट्रियस्तरकै हुनुपर्नेमा जोड दिइएको छ। सेवा प्रवाहबाटै विमानस्थलले उपभोक्ताको मन जित्नुपर्ने उल्लेख गर्दै सङ्घले ध्यानाकर्षणपत्रमा विमानस्थलजस्तो संवेदनशील क्षेत्रमा व्यवस्थित पार्किङ अपरिहार्य हुने र सेवा सस्तो, सुलभ एवं नागरिकमैत्री हुनुपर्ने भनेको छ। विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान प्रबन्धमा पनि सङ्घको उत्तिकै चासो हुने जनाएको छ। ध्यानाकर्षणपत्र बुझ्दै विमानस्थल प्रमुख गौतमले पार्किङ शुल्क महँगो भएको स्वीकारे। विमानस्थल प्रशासन यात्रु ल्याउने–लैजाने कार्यमा सहजीकरण गर्नुका साथै राजमार्गसम्म निःशुल्क वा सशुल्क बस सेवा सञ्चालन गर्ने तयारीमा रहेको उनले जानकारी गराए।
बागलुङ जिल्लाको बडिगाडमा सडक खन्ने क्रममा स्काभेटरको ठक्करबाट बालकको मृत्यु भएको छ। बडिगाड गाउँपालिका–७ भत्रेनीबाट सोइरेनीसम्मको कच्ची सडक खन्ने क्रममा स्काभेटरको ठक्करबाट स्थानीय भानबहादुर घर्तीको १४ वर्षीय सुनिलको सोमबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिए। स्काभेटर चालकलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान थालेको जनाइएको छ।
भारतमा गएको पहिरोमा परेर एकै परिवारका तीन जना नेपालीको ज्यान गएको छ । सिमलाको ठेट क्यार भन्ने ठाउँमा गएको पहिरोमा परेर रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–९ टुनिबोटका ४८ वर्षीय दिपबहादुर ओली, उहाँकी श्रीमती भीमा र १७ वर्षीय छोरा मोहोनको ज्यान गएको त्रिवेणी गाउँपालिकाका अध्यक्ष गणेशकुमार केसीले जानकारी दिनुभयो । उहाँका अनुसार उनीहरु हिजो बिहान घर माथिबाट आएको पहिरोमा परेका हुन् । दिपबहादुर ऋण तिर्नका लागि भन्दै एक वर्षअघि मजदुरी गर्न भारत जानु भएको थियो । श्रीमती र दुई छोरा भने झण्डै एक महिना अघि मात्रै भारत गएका त्रिवेणी गाउँपालिकाका अध्यक्ष गणेशकुमार केसीले जानकारी दिनुभयो । पहिरो गएका बेला जेठो छोरो घरमा नभएकाले बाँचेका छन् । ज्यान गुमाएकाको शव नेपाल ल्याउने तयारी भइरहेको त्रिवेणी गाउँपालिकाले जनाएको छ ।
झापा: १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बुद्धशान्ति गाउँपालिका–३, बस्ने ३१ वर्षीय धनकुमार लिम्बु रहेका छन् । उनलाई गएराती ईलाका प्रहरी कार्यालय बुधबारेबाट अटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । प्रहरीका अनुसार लिम्बुले ती बालिकालाई २०७९ फागुन ७ गते निजकै घर पछाडी बासघारीमा लगि जबरजस्ती करणी गरेको उजुरी परको थियो । हाल पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
काठमाडौं: प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताको बैठक सकिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज (सोमबार) बसेको शीर्ष नेताको बैठकमा सङ्घीय संसद्को अवरोध खुलाउने विषयमा सहमति भएको छ । शीर्ष नेताको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय संसदमा देखिएको अवरोध खुलाउन आग्रह गर्नुभएको थियो । प्रधानमन्त्रीले सानातिना विषयलाई लिएर संसदमा अवरोध गर्नु राम्रो नभएको बताउनुभएको थियो । प्रतिनिधि सभाको बैठक आज ३ बजेका लागि बोलाइएको छ । आजको बैठकमा मिटरब्याज पीडितलाई न्याय दिनका लागि अगाडि बढाइएको विधेयक पेस गर्ने कार्यसूची छ । प्रधानमन्त्री प्रचण्डले आज प्रतिनिधि सभामा सम्बोधन गर्ने कार्यक्रम छ । शीर्ष नेताको बैठकमा प्रधानमन्त्री प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको उपस्थिति थियो । रासस
दाङ: दाङको तुलसीपुरमा एक बालकलाई कोठामा थुनेर सुनको मुन्द्रा लुटेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूले तुलसीपुरको बसपार्कमा रहेको एउटा घरमा ती बालकलाई शनिवार दिनभरिभित्रै थुनेर डर देखाई कानमा लगाएको मुन्द्रा लुटेर फरार भएका प्रहरीले जनाएको छ । मुन्द्रा लुटेर फरार भएका दुवै जनालाई प्रहरीले हिजो आइतवार पक्राउ गरेको हो । पीडित पक्षले आज सोमवारमात्रै जाहेरी दिएकाले अदालतबाट म्याद लिएर अनुसन्धान प्रक्रिया अगाडि बढाउने तयारी रहेको प्रहरीले जनाएको छ ।
बैतडी: बैतडीको मेलौलीमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृतकको पहिचान खुलेको छैन । दुर्घटनामा ३९ जना घाइते रहेको जिल्ला प्रहरी कार्यालय, बैतडीका प्रमुख प्रहरी नायव उपरिक्षक प्रेम शाहीले बताए । पञ्चेश्वरको कुलाउदेखि महेन्द्रनगरका लागि छुटेको लु २ ख २०११ नम्बरको बस मेलौली– पञ्चेश्वर सडकखण्ड अन्तर्गत मेलौली नगरपालिका वडा नं ७ स्वाखानी भन्ने स्थानमा दुर्घटनामा परेको हो । सोमबार दिउँसो १ बजेतिर बस दुर्घटनामा परेको बताइएको छ । दुर्घटनाका बिषयमा थप जानकारी आउन बाँकी रहेको प्रहरीले जनाएको छ । घटनामा इलाका प्रहरी कार्यालय पाटनका निरीक्षक कमलप्रसाद चौधरीको कमाण्डमा टोली खटिएको छ । दुर्घटनामा परी घाइते भएका ३९ जनाको उद्धार गरी केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा पुर्याइसकिएको जिल्ला प्रहरी कार्यालयका शाहीले बताए । बस सडकबाट अन्दाजी डेढसय मिटर तल खसेर रुखमा अड्किएको छ ।

