पोखरा: पोखरेली युवा सांस्कृतिक परिवारले स्थापना गरेको ‘अम्बर गुरुङ राष्ट्रिय संगीत पुरस्कार’ पुरस्कार अक्षयकोष वृद्धिका लागि बेल्जियमबाट रु ८८ हजार २ सय ७८ सहयोग प्रदान गरिएको छ । बेल्जियम निवासी मिन गुरुङको संयोजकत्वमा संकलित सो रकम बेल्जियम नेपाली समाजले पोखरेली युवा सांस्कृतिक परिवारका संस्थापक सदस्य सङ्गीतकार,गीतकार तथा गायक विक्रम गुरुङलाई हस्तान्तरण गरे । पोयुसाँपका सदस्यसमेत रहेका मिन गुरुङको पहलमा बेल्जियम निवासी ओमराज गुरूङ,अनिता घले, अस्मिता घले , मन्दरा गुरूङ, बबिता गुरूङ, नन्दराज घले दुर्गा गुरूङ, चन्द्रा गुरूङ, उमा गुरूङ , ज्योती गुरूङ, अर्जुन शाही, भगवान गुरूङ,, राम गुरूङ, कमल गुरूङ, चन्द्रकुमार गुरूङ, पुष्पा गुरुङ, धनकाशी गुरूङ, अमृता, पुना कटवाल, कविता साउदेन, बलराम पुन, गडुलध्वज गुरूङ, भरत तामाङ, अमर राना, देवी गर्वुजा पुन, मिन पुन, शान्ती पुन लगायतले सहयोग गरेका थिए । देश विदेशमा रहेर नेपाली गीत,संगीत,गायन र वाद्यवादनमा योगदान पुर्याउने व्यक्ति वा संस्थालाई प्रत्येक दुई वर्षमा प्रदान गर्नका लागि “अम्बर गुरुङ राष्ट्रिय संगीत पुरस्कार” स्थापना भई सञ्चालनमा आएको छ । नेपाली संगीत क्षेत्रमा सबैभन्दा ठूलो धनराशिको ‘अम्बर गुरुङ संगीत पुरस्कार संस्थाद्धारा पहिलो पटक नेपाली गीतलेखनको क्षेत्रमा छ दशक भन्दा बढी समय देखि अनवरत रुपले साधनारत् गीतकार किरण खरेललाई प्रदान गरिएको छ । कोषमा २५ लाख पुर्याउने लक्ष्य राखिएको छ भने हालसम्म १९ लाख संकलन भइसकेको साँस्कृतिक परिवारले जनाएको छ ।
काठमाडौं: नेकपा (माओवादी केन्द्र) का सल्लाहकार सीता दाहालको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालका पत्नी दाहालको बुधबार दिउँसो पशुपति आर्यघाटमा अन्त्यष्टि गरिएको हो । उहाँको पार्थिव शरीरमा नेपाल सरकारको तर्फबाट उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले राष्ट्रिय झण्डा ओडाएर सम्मान प्रकट गर्नुभयो । त्यस लगत्तै नेपाली सेनाको एक टुकडीले शोक सलामी अर्पण गर्दै स्वर्गीय दाहालप्रति सम्मान प्रकट गरेको छ । आर्यघाटमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, उहाँका छोरीहरु रेणु र गंगा दाहाल, नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्व प्रधानमन्त्री माधवकुमार नेपाललगायत विभिन्न दलका शीर्ष नेताको उपस्थिति थियो । पत्नी शोकमा रहनुभएका आर्यघाटमा श्रद्धाञ्जली अर्पण गर्न विभिन्न राजनीतिक दलका शीर्ष नेता, मन्त्री, सांसद, कर्मचारी, सर्वसाधारणको भीड बढ्दै गएको छ । दाहालको बुधबार बिहान काठमाडौंको नर्भिक अस्पतालमा निधन भएको हो ।
काठमाडौं: प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का धर्मपत्नी सीता दाहालको पार्थिव शरीर अन्त्येष्टिका लागि पशुपति पु¥याइएको छ । आर्यघाटमा उहाँप्रति अन्तिम श्रद्धाञ्जली अर्पणका लागि ठूलो जनसमूह ओइरिएको छ । केहीबेरमा उहाँको अन्त्येष्टि गर्ने तयारी भइरहेको छ । नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले उहाँको अन्त्येष्टि राजकीय सम्मानका साथ गर्ने निर्णय यसअघि नै गरिसकेको छ । आर्यघाटमा श्रद्धाञ्जली अर्पण गर्न विभिन्न राजनीतिक दलका शीर्ष नेता, मन्त्री, सांसद, कर्मचारी, सर्वसाधारणको भीड बढ्दै गएको छ । दाहालको आज बिहान काठमाडौंको नर्भिक अस्पतालमा निधन भएको हो ।
पोखरा: पोखरा महानगरपालिकाले हङकङ बजार व्यवसायीहरुले कृषि सामाग्री कम्पनी लिमिटेडलाई सिधा भाडा बुझाउने व्यवस्था मिलाउने प्रतिवद्धता गरेको छ । पोखरा महानगरपालिका, हङकङ बजार व्यवसायी, पोखरामा क्रियाशिल राजनैतिक दल, पोखरा उद्योग वाणिज्य संघ र व्यवसायीहरुको सर्वपक्षिय बैठकले उक्त निर्णय गरेको हङकङ बजार व्यवस्थापन समितिका एक सदस्यले जानकारी दिए । तिनका अनुसार पोखरा महागनरपालिका ९ स्थित रहेको कृषि सामाग्री कम्पनी लिमिटेडको जग्गामा व्यापार गर्दै आएका व्यवसायीहरुले अहिलेको बहाल रकम भन्दा अत्यधिक वृद्धि गरेर टेण्डर आह्वान गर्दा ठेकेदारले मनोमानी रुपमा भाडा उठाउने भन्दै सर्वपक्षिय बैठकले उक्त निर्णय गरेको छ । सर्वपक्षीय बैठकमा कम्पनीले आह्वान गरेको टेण्डर भन्दा बढी कबुल गरी बोलपत्र दाताबाट पस्ताव पेश भएको र सो बमोजित ठेक्का स्वीकृत भए उक्त स्थानबाट ठेकेदारले मनोमानी रुपमा भाडा उठाउँदा व्यवासायी विस्थापित हुने भएकाले ठेक्का प्रक्रिया स्थगन गर्न र कृषि सामाग्री कम्पनीलाई न्यूनतम बहाल रकम व्यवसायी संस्थाले सिधा बुझाउने व्यवस्था मिलाउन अनुरोध गर्ने निर्णय गरेको हो । पोखरा महागनरपालिका ९ स्थित रहेको कृषि सामाग्री कम्पनी लिमिटेडको जग्गामा एक दशकदेखि व्यापार गर्दै आएका व्यवसायीहरुले कम्पनीले तिर्दै आएको भाडा भन्दा बढी शुल्क राखेर टेण्डर आह्वान भएपछि विगत केही महिना यता आन्दोलन गर्दै आएका थिए । सर्वपक्षिय निर्णय कार्यान्वयन गर्न व्यवसायीहरुको पुन: आन्दोलन पोखरा हङकङ बजार व्यवस्थापन समितिले एक महिना अगाडि सर्वपक्षिय बैठकले गरेको निर्णय कार्यान्वयन गर्न माग गर्दै महानगरपालिकाका अगाडि प्रदर्शन गरेका छन् । पोखरा हङकङ बजार व्यवस्थापन समितिले सर्वपक्षिय बैठकले गरेको निर्णय कार्यान्वयन गर, स्थानीय सरकार कहाँ छौं न्याय माग्दै आएका छौं, ठेकेदारी प्रथा मान्दैनौ लगायतका प्ले कार्ड सहित पोखरा महानगरपालिकाको कार्यालय अगाडि प्रदर्शन गरेका हुन् । पोखरा हङकङ बजारका व्यवसायी नविन पौडेलले प्रदर्शन पछि कोण सभालाई सम्बोधन गर्दै ठेकेदारी प्रथाका कारण हजारौै युवाहरु रोजगारीका लागि विदेश भासिनु परेको बताए । ‘राज्यले फाइदा मात्र खोजेको छ, फाइदाका लागि साना किसान र व्यापारलाई नहेरी सबै पक्षमा ठेकेदारको मनोमानी छ’, पौडेलले भने, ‘जुनसुकै क्षेत्रमा ठेकेदारीको मनोमानी हुँदा हजारौं युवाहरु विदेश जान बाध्य छन् ।’ उनले कृषि सामाग्री लिमिटेडले टेण्डर प्रक्रिया खारेज गरेर हङकङ बजार व्यवस्थापन समितिले सिधा रुपमा भाडा तिर्ने व्यवस्था मिलाउन समेत आग्रह गरे । व्यवसायीहरुले पोखरा हङकङ बजारमा ठेकेदार आए भाडा नतिर्ने अडान राख्दै आएका छन् ।
काठमाण्डौ: ‘इनफ इज इनफ’ ले काठमाण्डौ महानगर अगाडि ठेलागाडालगायत साना व्यापारीहरूको उचित व्यवस्थापन गर्न माग गर्दै विरोध प्रदर्शन गरेको छ । ‘इनफ इज इनफ’ले मेयर बालेनले महानगरभित्र व्यापार गर्ने साना व्यापारीहरूको व्यवस्थापन गर्नुपर्ने माग राख्दै प्रदर्शन गरेको हो । महानगरमा जीविकोपार्जन गर्न थोरै आय स्रोतका लागि साना व्यापार गर्नेहरु माथि भएको ज्यादतीविरुद्ध प्रदर्शन गरिएको सयल श्रेष्ठले बताउनु भयो । उहाँले गरिबीको चमेली बोलिदिने कोही छैन भन्ने मेयर आफ्नै गीतले उहाँलाई नै गिज्याएकाले गरिबको पक्षमा बोल्न आएको बताउनु भयो । अर्को प्रदर्शनमा सहभागी सौरभ न्यौपानेले फुटपाथ व्यवस्थापनका बारे मेयर शाहले निर्वाचनको बेला दिएको आश्वासन पूरा गर्न नसकेको बताउनु भयो ।
काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलले पत्नी शोकमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई समवेदना दिएका छन् । सीता दाहालको निधनको खबरले आफूलाई अत्यन्त दुःख लागेको बताउँदै उनले टेलिफोन गरेर समवेदना प्रकट गरेका हुन् । सीताको आज बिहान ८ स् ३३ बजे उपचारका क्रममा नर्भिक अस्पतालमा निधन भएको हो । उनको पार्थिव शरीर अहिले श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय पेरिसडाँडामा राखिएको छ ।
काठमाण्डौ: मानवीय सेवामा क्रियाशील अन्तर्राष्ट्रिय संस्था लायन्स क्लबको इन्टरनेशनल डाइरेक्टरमा बालकृष्ण बुर्लाकोटी विजयी हुनुभएको छ । लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि १ नेपालका पूर्व गभर्नर बुर्लाकोटी जेठ २१ र २२ गते भएको मल्टिपल कन्भेन्सनबाट इन्टरनेशनल डाइरेक्टरमा विजयी हुनुभएको हो । भर्चुअल माध्यमबाट भएको निर्वाचनमा बुर्लाकोटीले खगेन्द्र सिटौलालाई हराउनु भएको थियो । अन्तर्राष्ट्रिय सामाजिक संस्था लायन्स क्लब अन्तर्गत रहेर बुर्लाकोटीले आफ्नो कार्यकालमा सय वटा क्लब खोलेर विश्व रेकर्ड बताउनु भएको थियो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहास्थित सडक डिभिजन कार्यालय लहानका लेखा अधिकृत पदम विनोद पोखरेललाई एक लाख रूपैयाँ घुस रकमसहित पक्राउ गरेको छ। अख्तियारको बर्दिबास कार्यालयबाट खटिएको टोलीले मङ्गलबार साँझ कार्यालयमा छापा मारी पोखरेललाई घुस लिइरहेको अवस्थामा नियन्त्रणमा लिएको आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिए। सडक निर्माणको अन्तिम बिल भुक्तानी दिने प्रयोजनका लागि उनले घुस मागेको पाइएको छ। पोखरेल भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सडक विभाग सङ्घीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय दमकअन्तर्गत सडक डिभिजन लहानका लेखा अधिकृत हुन्।
काठमाण्डौ: नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आजदेखि शुरु हुँदैछ । पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बैठक बस्न लागेको हो । बैठकअघि एजेण्डाबारे छलफल गर्न सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा शीर्ष नेताहरुको बैठक बिहान ९ बजे बस्दैछ । शीर्ष नेताहरुको बैठकले केन्द्रीय समितिको बैठकका एजेण्डा तय गरेर केन्द्रीय समिति बैठकमा पेस गर्ने छन् । कांग्रेसको विधान अनुसार केन्द्रीय समिति बैठक हरेक दुईरदुई महिनामा बस्नुपर्ने भए पनि एक वर्षपछि बल्ल बैठक बस्न लागेको हो । बैठकमा संगठनको कार्ययोजना, कार्यतालिका र समसामयिक राजनीतिक घटनाक्रमबारे पनि छलफल हुनेछ । प्रदेश र केन्द्र सरकारका काम कारबाही पनि छलफलको एजेण्डा रहेको छ । केही दिनअघि जिल्ला सभापतिहरूले सरकार र पार्टीबीच समन्वय नहुँदा समस्या भइरहेको गुनासो गरेका थिए । प्रदेश र केन्द्रका सांसदहरूले पनि बजेट विनियोजनमा गुनासो गर्दै आएका छन् । केन्द्रीय कार्यसमिति बैठक बस्न नसक्दा कार्यसम्पादन समितिले निर्णय गर्नसक्ने विधानको व्यवस्था छ । कांग्रेसले गएको वर्ष असार २७ गतेदेखि साउन २ गतेसम्म केन्द्रीय समिति बैठक गरेको थियो । त्यसपछि भने केन्द्रीय समिति बैठक बस्न सकेको थिएन । यसैबीच, कांग्रेसले दशैँअघि नीति अधिवेशन गर्ने तयारी पनि गरेको छ ।

