काठमाडौं: काठमाडौंमा जारी सातौं प्रधानमन्त्री कप एनभिए राष्ट्रिय भलिबल क्लब लिगमा पुरुषतर्फ नेपाल पुलिस क्लब फाइनलमा प्रवेश गरेको छ । आज भएको खेलमा नेपाल एपिएफ क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको खेलमा पुलिसले एपिएफलाई २५–२२, २५–१३ र २५–१५ को सहज जीत निकाल्यो । हेल्प नेपाल ५ खेलमा अपराजित रहँदै १३ अंकका साथ दोस्रो स्थानमा छ । त्रिभुवन आर्मी क्लब ५ खेलमा ४ मा जित र १ मा हारसहित ११ अंकका साथ तेस्रो स्थानमा छ । आर्मी र हेल्प नेपालबीच ५ बजे खेल हुनेछ । उक्त खेलमा हेल्प नेपाल विजयी भएमा स्वत फाइनलमा पुग्नेछ । आर्मी फाइनलमा पुग्न ३–१ को सेटको जित हात पार्नुपर्ने हुन्छ । महिलातर्फ पुलिस शीर्ष र एपिएफ दोस्रो स्थानमा हुँदै फाइनलमा पुगेका छन् । महिला र पुरुष दुबैतर्फको फाइनल शनिबार हुनेछ ।
बुढानिलकण्ठमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ। बुढानिलकण्ठ नगरपालिका -९ मण्डिखाटार बस्ने सिन्धुपाल्चोक बलेफी-३ का २३ वर्षीय सुजन श्रेष्ठको शुक्रबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार मण्डिखाटारस्थित ग्रिल पसलमा वेल्डिङ गर्ने क्रममा करेन्ट लागेर उनी घाइते भएका थिए। उपचारको क्रममा शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको हो।
भक्तपुरमा १५ दिनदेखि हराएकी महिला मृत भेटिएकी छन्। सुर्यविनायक नगरपालिका(७ गुन्डुबस्ने ३८ वर्षीया माया नगरकोटी बिहीबार साँझ मृत भेटिएकी हुन्। असार १३ गतेदेखि हराइरहेकी महिला गुन्डुकै जंगलमा मृत भेटिएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक (डिएसपी) बसन्त पाठकले जानकारी दिए। ‘शव काठमाडौं मेडिकल कलेज ( केएमसी) लगिएको छ, बाहिरी चोटपटक देखिएको छैन,ʼ डिएसपी पाठकले भने। उनलाई प्रहरीले १६ गतेदेखि खोजीरहेको थियो तर भेटिएकी थिइनन्। उनका श्रीमान् रामकुमार नगरकोटीको आग्रहमा बिहिबार पुन जंगलको बाहिरी भागमा खोज्दा माया मृत भेटिएको डिएसपी पाठकले जानकारी दिए।
पर्वत: गण्डकी प्रदेश सरकारको समृद्धि तथा विकासका लागि कृषि र पर्यटनलाई जोडेर लैजानुपर्ने आवाज अभ्यासमा बदलिन थालेका छन् । पर्वतको विहादी गाउँपालिकामा अवस्थित पैयूँकोट दरबार र महाशिलाको मध्य भागमा अवस्थित वडा नं ५ उरामपोखराको मगर बस्ती गेप्ताङ गाउँको घरबास पर्यटन नमूना कृषि पर्यटनको गन्तव्य बनाउन प्रदेश सरकार लागिपरेको हो । पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण मानिएको गेप्ताङ र आसापासका क्षेत्रको विकासमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले प्रयास थालेको छ । प्याराग्लाइडिङको परीक्षण सफल भएको बस्ती माथिको लुपे्रङडाँडा, हातेमालो चोकदेखि गोल्र्याङधाम पुग्ने पैदल मार्ग छेवैको गेप्ताङको मगर बस्ती अहिले पाहुना बिसाउने थलोका रूपमा स्थापित हुँदै गएको छ । पाहुँना गाउँमा पुग्दा स्थानीय मगर समुदायले मगर जातिको सालैजो र मारुनीमा नचाउँदै स्वागत गर्ने गरेका छन् । मगर संस्कृतिको पुरानो चलन जीवित रहेको यस बस्तीमा पछिल्ला दिनहरुमा घरबास पर्यटनले समेत महत्व पाएको छ । गेप्ताङ सामुदायिक घरबास ‘होमस्टे’मा गरिएको स्वागत र स्थानीय रुपमा उत्पादन हुने खाद्यान्न तथा आवास शैली सहरी होहल्लाबाट मुक्त हुँदै शान्त र मनोरम हावापानीमा रमाउन चाहनेका लागि गन्तव्य बनेको हो । स्थानीय जङ्गलमै पाइने सिस्नो, ढकायो र कोदो तथा फापरको ढिँडोका पारखीलाई गेप्ताङले लोभ्याउँदै आएको छ । मगर संस्कृतिको बटुक अर्को परिकार हो । स्थानीय होमस्टे सञ्चालक शेरबहादुर थापा मगरका अनुसार २०७० सालदेखि नै होमस्टेको अभ्यास गर्दै आएकामा २०७५ सालदेखि वैधानिक रुपमा होमस्टे सञ्चालन गरिएको छ । करिब ३५ घरधुरी रहेको गेप्ताङमा पर्यटक र कृषि मन्त्रालयको पाक शिक्षा तालिम पाएपछि स्थानीय परिकारले महत्व पाउन थालेको हो । अहिले दैनिक १० देखि १५ जनासम्म घुम्न र बस्न तथा प्याराग्लाइडिङ गर्न आउनेको दर बढेपछि घरबास सञ्चालकको व्यापार व्यवसाय फस्टाउँदै गएको छ । सामुदायिक होमस्टेका पदाधिकारीको सक्रियतामा घर बाँडेर पाहुनाको व्यवस्थापन गर्दै आएको थापाले बताए । स्थानीय जातजाति, संस्कृति अवलोकन गर्दै भाषा र संस्कृतिमा रमाउनेका लागि पनि होमस्टे अहिले गन्तव्य बनेको स्थानीयवासी ऋषिराम भुसालले बताए । मगर जातिको संस्कार सालैजो, मागी, कौडा, घाटु नाचबाट ख्याति पाएका कारण पनि अहिले अध्येताहरुको पनि आकर्षण बढेको उनको भनाइ छ । हालै मात्र गण्डकी प्रदेशको नियमित कार्यक्रम कृषकसँग कृषिमन्त्रीका लागि गन्तव्य र स्थानीय व्यवस्थापनको मौका पाएको गेप्ताङ कृषि र पर्यटनलाई जोड्ने अवसरसँगै रैथाने बाली अध्ययन पकेट क्षेत्रका रुपमा सहजीकरण गर्ने मन्त्रालयको योजना हात पार्न सफल भएको छ । गण्डकी प्रदेश सरकारको २० लाख पर्यटक भित्र्याउने लक्ष्य पूरा गर्न र स्थानीय संस्कृतिको जगेर्ना तथा उजागर गर्न पनि होमस्टे महत्वपूर्ण रहेको गण्डकी प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापाले बताए । स्थानीय रुपमा उत्पादन हुने खाद्यान्नको पाक शिक्षा पाएपछि आगन्तुकलाई परिकार खुवाउन सहज भएको वडाध्यक्ष खिमबहादुर थापा मगरले जानकारी दिए । कृषि र पर्यटनलाई जोडेर विहादी गाउँपालिकाले रैथाने खाद्यान्नको गन्तव्य बनाउन प्रयास गरिरहेको उनको भनाइ छ । स्थानीय बालीसँगै गाउँमै उत्पादित खाद्यान्नका परिकार बनाउने तालिम सञ्चालन गरेर घरबास प्रवद्र्धन गराउन लागिपरेको घरबास सञ्चालकहरुको भनाइ छ ।
काठमाडौं: अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्र सकारात्मकतातर्फ अगाडि बढेको बताउनुभएको छ । शुक्रबार राष्ट्रिय सभा बैठकमा बोल्नुहुँदै अर्थमन्त्री महतले अर्थतन्त्र चलायमान भइरहेको र सकारात्मकतातर्फ अगाडि बढेको बताउनुभएको हो । उहाँले मूल्यवृद्धि पनि विगतको भन्दा घटेको बताउनुभयो । अर्थमन्त्री महतले सरकारले करको दायरा फराकिलो पारेको भन्दै राजस्व बढ्नेमा विश्वास व्यक्त गर्नुभयो । उहाँले राजस्व वृद्धि हुने प्रशस्त आधार देखिएको उल्लेख गर्नुभयो । ‘‘यसपालि करको दायरा फराकिलो पारेका छौँ । यसले गर्दा राजस्व बढ्छ भन्ने हामीलाई विश्वास छ । सबैतिरको यसमा सहयोग चाहिन्छ । अर्थतन्त्र बिस्तारै चलायमान हुँदैछ । मूल्यवृद्धि पनि घटेको छ । पछिल्लो समयभन्दा अहिले घटेको छ । सकारात्मकतातर्फ अर्थतन्त्र बढेको छ । ब्याजदर पनि अलिकता सहजता हुनेबित्तिकै थप चलायमान हुन्छ । यसले राजस्व वृद्धि हुने प्रशस्त आधार यसले दिन्छ ।,’’ अर्थमन्त्री महतले भन्नुभयो, ‘‘र हामी स्वास्थ्य क्षेत्रमा अझ ज्यादा स्वास्थ्य जोखिम शुल्क मात्रै होइन कि अरु धेरै विनियोजन गर्नुपर्ने आवश्यकता छ । त्यसतर्फ सरकार गम्भीरताका साथ लाग्छ । माननीयज्यूहरुले राखेको सुझावलाई हामी सहर्ष आत्मसात् गर्छौ । र आउने दिनमा स्वास्थ्य क्षेत्रमा अझ बढी कसरी विनियोजन गर्न सकिन्छ ? र गाउँ गाउँ दुर्गम क्षेत्रमा समेत न्यूनतम स्वास्थ्य उपचार र रोकथामको सुनिश्चिता गर्ने, बेसिक हेल्थ केयर सुनिश्चित गर्ने जुन राज्यको लक्ष्य छ, त्यो पूर्ति गर्नेतर्फ हामी क्रियाशील हुन्छौँ ।’’ अर्थमन्त्री महतले आगामी दिनमा स्वास्थ्य क्षेत्रमा अझै बढी बजेट विनियोजन गर्ने बताउनुभयो ।
काठमाडौँ: सशस्त्र प्रहरी बलले स्थायी पदपूर्तिका लागि आवेदन माग गरेको छ । भर्ना तथा छनोट शाखा, हलचोक, स्वयम्भूले आज एक सूचना जारी गर्दै आवेदन माग गरेको हो । रिक्त रहेको साधारण समूह, साधारण उपसमूहतर्फ सशस्त्र प्रहरी जवान पदमा खुला प्रतियोगिताद्वारा ९३२ पदमा पदपूर्तिका लागि दरखास्त माग गरिएको छ । आगामी साउन २८ गतेसम्म इच्छुकले आवेदन दिन सक्नेछन् । तोकिएको म्यादभित्र राजश्व नतिरेको र रित नपुर्याएको निवेदन पेस नहुने सूचनामा उल्लेख छ ।
पोखरा: नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) कास्कीले सञ्चालन गर्दै आएको ‘कर्म–कर्ण आदिवासी जनजाति पत्रकारिता पुरस्कार–२०८०’ बाट पत्रकार दीपेन्द्र श्रेष्ठ पुरस्कृत भएका छन् । तमु धिं नेपालकी संस्थापक अध्यक्ष कर्म तमुको बैवाहिक वर्ष गाँठको अवसरमा प्रदान गरिँदै आएको सो पुरस्कारबाट आज (शुक्रबार) नेपाल पत्रकार महासंघ कास्कीका निवर्तमान अध्यक्ष समेत रहेका पत्रकार श्रेष्ठ पुरस्कृत भएका हुन् । कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका प्रतिनिधि सभा सदस्य मनबहादुर गुरुड, पुरस्कार दाता कर्मकुमारी गुरुड, तमु धिं नेपालका अध्यक्ष हुमबहादुर तमु तथा नेवा खलः कास्कीका अध्यक्ष अशोक पालिखे लगायतले नगद राशी रु १० हजार, फेटा, भाङ्ग्रा र सम्मानपत्र अर्पण गरे । सो अवसरमा बोल्दै प्रमुख अतिथि मन बहादुर गुरुङले पुरस्कृत श्रेष्ठलाई बधाई ज्ञापनसहित स्वच्छ पत्रकारितामा अग्रसर हुनुपर्ने धारणा राखेका थिए । पुरस्कृत श्रेष्ठ एभरेस्ट आवाज डटकमका सम्पादक एवं एभरेस्ट एमएमका बरिष्ठ प्रस्तोताका रुपमा कार्यरत छन् । उनलाई पत्रकार हुमबहादुर गुरुङको संयोजकत्वमा एम.बि आस्था मगर, शान्ति गुरूङ, उदय अमात्य र दिल प्रसाद गुरुङको छनौट समितिले सिफारिस गरेको थियो । यसअघि, सो पुरस्कारबाट रीता गुरुङ, हर्क आले, शान्ति गुरुङ, तिलक पुन, राजबहादुर गुरुङ, मानबहादुर घर्तिमगर (एमबी आस्था), हुमबहादुर गुरुङ, उदयबहादुर अमात्य र रुद्रबहादुर श्रीस पुरस्कृत भइसकेका छन् । सो पुरस्कार अर्पण कार्यक्रमकै अवसरमा नवगठित तमु संचारकर्मी संघ कास्की र तामाङ पत्रकार संघ कास्कीका कार्यसमिति सदस्यहरूलाई बधाई ज्ञापन गरिएको थियो ।
बैतडी: बैतडीमा आफ्नै २ वर्षीय नातीलाई हत्या गरेको आरोपका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा पुर्चौडी नगरपालिका–६ मुरेलीधार बस्ने ५० वर्षीय गणेश साउँद रहेका छन् । उनलाई हिजो (बिहीबार) दिउँसो ईलाका प्रहरी कार्यालय र अस्थाई प्रहरी पोष्ट टोल्यामोडबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । गणेशले २ वषीय नाती रेशम साउँद र अर्का ८ वर्षीय नाती रिजनलाई कुटपिट गरेका थिए । बाजेको कुटाइबाट गम्भीर घाइते भएका रेशमको डडेल्धुरा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । यस्तै घाइते भएका अर्का नाती रिजनलाई थप उपचारको लागि मायामेट्रो अस्पाताल धनगढी पठाइएको छ । उक्त घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले छ ।
पोखरा: त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन लिई सञ्चालनमा रहेका पोखरा नगरभित्रका ५ क्याम्पस खारेजीको प्रक्रियामा रहेका छन् । त्रिविले पटकपटक ताकेता गर्दा पनि नवीकरण नगरेपछि उल्लेखित क्याम्पसहरु खारेज गरिने जनाइएको छ । उपकुलपतिको कार्यालय, योजना निर्देशनालयले यसअघि २०७९ पुस २० र चैत २८ गते क्याम्पस तथा कलेजहरूलाई सम्बन्धन नवीकरण गर्न सूचना निकालेको थियो । दुईपटक सूचना जारी गर्दा पनि नवीकरण गर्न नआएकाले त्रिवि सम्बन्धन समितिको निर्णयअनुसार ती क्याम्पसहरूलाई सम्बन्धन खारेजीको कारबाही प्रक्रिया अघि बढाइएको हो । खारेजीमा पर्न लागेका क्याम्पसहरुमा पोखराको फलेपाटनस्थित सिद्ध पब्लिक कलेज, नदीपुरस्थित माउण्ट अन्नपूर्ण क्याम्पस, विन्ध्यवासिनी क्याम्पस रहेका छन् । त्यस्तै, हिमाल क्याम्पस र माउण्ट भ्याली कलेज पनि खारेजीको प्रक्रियामा रहेका छन् । कुनै क्याम्पस नवीकरण प्रक्रियामा भएको भए यथासक्य आधिकारिक निस्सा प्रमाणसहित सम्बन्धित डीनको कार्यालयमा सम्पर्क गर्न विश्वविद्यालयले सूचित गरेको छ । त्रिविअन्तर्गत ६२ आंगिक र १ हजार ४० सम्बन्धन प्राप्त क्याम्पस छन् ।

