काठमाडौं: एसीसी इमर्जिङ टिम्स एसिया कपमा नेपालले भारत ‘ए’ सँगको खेलमा टस जितेको छ । श्रीलङ्काको आर प्रेमदासा रङ्गशालामा टस जितेर नेपालका कप्तान रोहित पौडेलले पहिला ब्याटिङ गर्ने निर्णय लिएका छन् । प्रतियोगितामा नेपाल शुक्रवार भएको पहिलो खेलमा पाकिस्तान ‘ए’ सँग ४ विकेटले पराजित भएको थियो । अब नेपालले तेस्रो खेलमा पर्सि बुधवार यूएईको ए’ टोलीसँग खेल्नेछ । नेपाल समूह ‘बी’ मा छ । त्यस्तै समूह ‘ए’ मा श्रीलङ्का, बङ्लादेश, अफगानिस्तान र ओमानका ‘ए’ टोली छन् । दुई समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । प्रतियोगिताको फाइनल खेल साउन ७ गते हुनेछ ।
पोखरा: राष्ट्रिय मौलिक कौराहा संरक्षण समितिद्धारा स्थापित ‘राष्ट्रिय मौलिक कौराहा संरक्षण पत्रकारिता पुरस्कार २०८०’ बाट पत्रकार खेम सारुमगर पुरस्कृत भएका छन् । नेपाल मगर पत्रकार संघ कास्कीले सञ्चालन गर्दै आएको उक्त पुरस्कारबाट मौलिक कौराहा संरक्षणको पक्षमा पत्रकारिता मार्फत उजार गरेको भन्दै रेडियो नेपालमा कार्यरत पत्रकार खेम सारुमगरलाई आज (आइतबार) पुरस्कृत गरेको हो । रेडियो नेपाल गण्डकी प्रदेश प्रादेशिक कार्यालयमा कार्यरत पत्रकार सारु मगरलाई गण्डकी प्रदेशका उपसभामुख बिना कुमारी थापामगरले सम्मानपत्र, दोसल्ला तथा नगद १० हजार पुरस्कारस्वरुप प्रदान गरिन् । सो अवसरमा बोल्दै प्रमुख अतिथिसमेत रहेकी थापामगरले पहिचानको रुपमा रहेको कला संस्कृति, भाषा र भेषभुषाको संरक्षणको दायित्व सबैको रहेको बताइन् । ‘अहिले हाम्रा पहिचानको रुपमा रहेको कला संस्कृति, भाषा र भेषभुषाको संरक्षणमा सबैले चासो राख्नुपर्ने दायित्व रहेको छ’, उपसभामुख थापामगरले भनिन्, ‘विभिन्न समुदायमा बसोबास गर्ने विभिन्न जातजातिको संरक्षण र संस्कृतिको संरक्षणमा पत्रकारिताले थप सहयोग पुगेको छ ।’ उनले पत्रकारितामा इमान्दारिता र कर्तव्यमा रहेर यो पेशालाई थप जागरुक बनाउन आवश्यक रहेको धारणा राखिन् । यस्तै पुरस्कृत पत्रकार खेम सारुमगरले मगरहरुको कला संस्कृति र भेषभुषा संरक्षणमा थप जिम्मेवारी थपिएको बताउदै उत्प्रेरणा मिलेको बताए । ‘रेडियो नेपालमा मगर भाषामा समाचार पढ्दै मगर समुदायको कला संस्कृति संरक्षणमा कलम चलाउँदै आएको छु’, पत्रकार सारुमगरले भने, ‘मौलिक कौराहा पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएपछि म माथि अझै थप जिम्मेवारी थपिएको छ र उत्प्रेरणा पनि मिलेको छ ।’ नेपाल मगर पत्रकार संघका केन्द्रिय उपाध्यक्ष एमबी आस्था मगरको संयोजकत्वमा गठन गरिएको समितिले पत्रकार सारुमगरलाई पुरस्कृत गर्ने निर्णय गरेको थियो । श्र व्यदृश्य माध्यमबाट मौलिक कौराहा संरक्षणमा योगदान पुर्याउँदै आएका पत्रकारहरुलाई पुरस्कार प्रदान गर्दै आएको राष्ट्रिय मौलिक कौराहा संरक्षण समितिका केन्द्रिय अध्यक्ष हर्क आलेमगरले बताए । उनका अनुसार मौलिक कौराहा पत्रकारिता पुरस्कार स्थापना २०७५ मा गरिएको हो । यस अघि उक्त पुरस्कारबाट मौलिक कौराहा संरक्षणमा कलम चलाउँदै आएका पत्रकारहरु कमला राना मगर (नवलपुर), तिलक पुन पुर्जा (कास्की), प्रताप राना मगर (तनहुँ), मान बहादुर घर्ति (एमबी आस्था) मगर (कास्की), मनोज घर्ति मगर (कास्की ) पुरस्कृत भइरसकेका छन् ।
पोखरा: पोखराबाट लमजुङका लागि छुटेको बसले कास्कीको रुपा गाउँपालिका पोल्याङमा मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भिर घाईते भएका छन् । पोखराबाट लमजुङको बेशीँशहर जाँदै गरेको ग १ प ८६७६ नम्बरको बसले विपरित दिशाबाट आउँदै गरेको ग१५ प ८४८३ नम्बरको मोटरसाइकललाई रुपा गाउँपालिका ३ पोल्याङमा ठक्कर दिँदा मोटरसाइकल चालक २३ वर्षीय विवेक विकको मृत्यु भएको हो । लमजुङको मध्यनेपाल गाउँपालिका ६ भोर्लेटार घर भएका विकको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय कास्कीका सूचना अधिकारी शिव पाठकले जानकारी दिए । यस्तै मोटरसाइकलमा सवार जितेन्द्र विक गम्भिर घाईते भएका छन् । उनको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भईरहेको छ । बसको ठक्करबाट मृत्यु भएका विवेक दाजु र घाईते भएका जितेन्द्र भाई हुन् । दुर्घटना पछि प्रहरीले बस चालक विशाल गुरुङलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।
काठमाडौं: मिटरब्याजसम्बन्धी विधेयक पारित भएको छ । विधेयक पारित भएसँगै मिटरब्याजबाट पीडित भएकालाई न्याय दिने कानुन कार्यान्वयनको बाटो खुलेको छ । प्रतिनिधि सभाको हिजो बसेको बैठकले मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० लाई सर्वसम्मतिले पारित गरेको हो । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले प्रस्तुत गरेको मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० सर्वसम्मतिले पारित भएको घोषणा गर्नुभयो । यो विधेयकमा मिटरब्याजसँग सम्बन्धित कानुनी व्यवस्था गरिएको छ । यो विधेयकले अनुचित लेनदेनसँग सम्बन्धित कार्यलाई कसुर मानेको छ । मिटरब्याजपीडितको पक्षमा ल्याइएको यो विधेयकमा कसैले लेनदेन नभएको वा नगरेको रकम दिएको भनी लिखत तयार गर्ने, लेनदेन गरेको वास्तविक रकमभन्दा बढीको लिखत तयार गर्ने, ब्याज रकमसमेत साँवामा जोडी लिखत तयार गर्ने, ऋणीले तिरेको रकमको भर्पाइ नदिने वा लिखत नबनाउने कार्यलाई कसुर ठहर गरेको छ । त्यस्तै, साँवाभन्दा बढी ब्याज लिने, ऋण असुलीका लागि कुनै प्रकारको धम्की दिने, शोषण गर्ने, ऋणीको अचल सम्पत्तिको हक हस्तान्तरण गरी लिने जस्ता काम गर्न, गराउन वा अनुचित लेनदेनको रकम असुलउपर गर्न ऋणीलाई हैरानी पुर्याएमा पनि कसुर गरेको ठहरिने व्यवस्था छ । सरकारले मिटरब्याज पीडतसँगको सहमतिअनुसार गएको वैशाख २० मा अध्यादेश ल्याएको थियो । यो अध्यादेशलाई प्रतिस्थापन गर्नका लागि असार ५ मा विधेयक दर्ता गरिएको थियो । राष्ट्रिय सभाबाट असार १० मा विधेयक पारित भएको थियो । असार १७ मा विधेयक प्रतिनिधि सभामा पेस भएको थियो । असार २० मा संसद् अवरुद्ध हुँदा पारित हुन सकेको थिएन । हिजो विधेयक पारित भएसँगै मिटरब्याजबाट पीडित भएकाहरुले न्याय पाउने प्रक्रिया सहज हुने भएको छ ।
काठमाडौं: आज साउने संक्रान्ति पर्व, परम्पराअनुसार स्नान, दान र आफन्तहरु जमघट भई रमाइलो गरी मनाइँदै छ । सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन आज देशभर साउने संक्रान्तिको रुपमा मनाउने परम्परा छ । साउनदेखि नै सूर्य दक्षिण हुँदै हिँड्ने भएकाले आजैदेखि दक्षिणायन सुरु हुन्छ । माघ १ गते सुुरु हुने उत्तरायण र साउन १ गते सुरु हुने दक्षिणायनका दिनलाई विशेष रुपमा मनाइन्छ । अधिकांश नेपालीहरु असार महिनाभर रोपाइँमा व्यस्त हुने भएकाले हिलो मैलोबाट लाग्ने छालासम्बन्धी रोग ठीक पार्न भन्दै साउने संक्रान्तिको दिन लुतो फाल्ने चलन पनि चलिआएको छ । परम्पराअनुसार कागभलायो, कुकरडाइनो, लुतेझार, पानीअमला, कागती, अम्बा, नासपाती आदि औषधिका रुपमा समेत प्रयोग हुने वनस्पति राखेर कण्डारक नाम गरेका राक्षसको पूजा गरी अगुल्टो फालिन्छ । लुतो फाल्दा आआफ्नो कूल परम्पराअनुसार नाङ्लो ठटाउने, शंख फुक्ने, घण्ट बजाउने, ढोका बन्द गर्ने चलन नेपाली समाजमा छ । साउन महिनालाई विशेष रुपमा भगवान् शिवको पूजा गरेर मनाइन्छ । महिलाले हरियो चुरालगायत कपडा लगाएर प्रकृतिसँग नजिक भएको देखाउने गरिन्छ । साउन महिनाभर काठमाडौंको पशुपतिनाथ लगायत देशभरका शिवालयहरुमा भक्तजनको विशेष भीड लाग्छ । साउन महिना शिवजीको र सोमबारलाई शिवको बार भनिन्छ । त्यसैले साउन महिना एवं सोमबारको दिन शिवालयमा भक्तजनको विशेष भीड लाग्छ । कर्णाली प्रदेशमा साउने संक्रान्तिको दिन आज सार्वजनिक बिदा दिइएको छ । आजको दिनलाई कर्णालीमा देउडा पर्वको रुपमा समेत मनाउने गरिन्छ ।
काठमाडौं: एसीसी इमर्जिङ टिम्स एसिया कपमा नेपालले आज भारतको ‘ए’ टोलीसँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो सवा दुई बजे श्रीलङ्काको आर प्रेमदासा रङ्गशालामा हुनेछ । नेपालको रोहित पौडेल र भारतको यश धुलले कप्तानी गर्नेछन् । नेपाल शुक्रवार भएको पहिलो खेलमा पाकिस्तान ‘ए’ सँग ४ विकेटले पराजित भएको थियो । त्यस्तै, भारतले यूएई ‘ए’ लाई ८ विकेटले हराएको थियो । तेस्रो खेलमा नेपालले पर्सि यूएईको ‘ए’ टोलीसँग खेल्नेछ । नेपाल समूह ‘बी’ मा छ । नेपालको समूहमा यूएई, पाकिस्तान र भारतको ‘ए’ टोली छन् । त्यस्तै, समूह ‘ए’ मा श्रीलङ्का, बङ्लादेश, अफगानिस्तान र ओमानका ‘ए’ टोली छन् । दुई समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । प्रतियोगिताको फाइनल खेल साउन ७ गते हुनेछ ।
काठमाडौंः वैकल्पिक गोलरक्षक अन्जना राना मगरले दुई पेनाल्टी जोगाएपछि नेपालले बंगलादेशमा जारी मैत्रीपूर्ण फुटबल सिरिजको दोस्रो खेलमा जित हासिल गर्दै सिरिज पनि जितेको छ । ढाकाको कमलपुरस्थित विरश्रेष्ठ शहिद सिपाही मोहम्मद मुस्तफा कमल स्टेडियममा भएको दोस्रो मैत्रीपुर्ण खेल गोलरहित बराबरीमा सकिएपछि खेलको निर्णय सिधै टाइब्रेकरबाट लिइएको हो । टाइब्रेकरमा नेपाल ४(२ ले विजयी भयो । यसअघि पहिलो खेल १(१ को बराबरीमा सकिएको थियो । दोस्रो मैत्रीपुर्ण खेलको निर्धारित ९० मिनेट समय गोलरहित बराबरीमा सकिएपछि खेलको निर्णय सिधै टाइब्रेकरबाट लिइएको थियो । टाइब्रेकरमा अन्जनाले दुई पेनाल्टी प्रहार बचाएकी थिइन् । उनी ९० औं मिनेटमा कप्तान एन्जिला तुम्बापो सुब्बाको स्थानमा मैदान प्रवेश गरेकी थिइन् । नेपालका लागि टाइब्रेकरमा सावित्रा भण्डारी र हिरा भुजेलले सुरुवाती दुई प्रहारमा गोल गरिन् ।बंगलादेशका सम्सुन्नाहारले पहिलो प्रहार गोल गर्दा गोलरक्षक अन्जना राना मगरले शेउली अजीमको दोस्रो प्रहार विफल पारिन् । नेपालका लागि अन्जना रानामगरको तेस्रो प्रहार पोस्टमा लागेर गोल नहुँदा उनले मारिया मान्डाको प्रहार विफल पारिन् । दिपा शाहीले नेपालको लागि चौथो प्रहार गोल भएको थियो । बंगलादेशका लागि मोनिका चक्माले चौथो प्रहारमा गोल गरिन् । अनिता केसीले पाँचौ प्रहारमा गोल गर्दै नेपालको जित पक्का गरिन् । खेलमा बंगलादेशसँग केही दबाबमा रहेको नेपालले गोलका लागि उत्कृष्ट अवसर सृजना गर्न सकेन । खेलको चौथो मिनेटमा नै बंगलादेशकी मिडफिल्डर मोनिका चक्माको फ्रिकीकमा कप्तान सविना खातुनको प्रहार क्रसबारमा लाग्दै गोललाईनबाट गोलरक्षक एञ्जिला तुम्बाप्पो सुब्बाले रोक्दा बंगलादेशका खेलाडीबीच तालमेल नमिल्दा डिफेन्डरले क्लीयर गरिन् । खेलको ४३ औं मिनेटमा सावित्रा भण्डारीको फितलो प्रहार बंगलादेशकी गोलरक्षक रुप्ना चक्माले सहजै बचाईन् । खेलको ४४ औं मिनेटमा साम्बाको प्रहर गोलरक्षकले बचाइन् । खेलको ८२ औं मिनेटमा सवित्रा भण्डारीको फ्रिकीक गोलरक्षक रुप्ना चक्माको हातमा पुग्यो । नेपाल र बंगलादेशले पहिलो मैत्रीपुर्ण खेलमा १–१ को बराबरी गरेका थिए । गत भदौमा दशरथ रंगशालामा भएको साफ च्याम्पियनसिपको फाइनलमा नेपाल बंगालदेशसँग ३–१ ले पराजित भएको थियो।
काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले विधेयक पेश गर्ने प्रक्रिया नमिलेको भन्दै नियमापत्ति गरेपछि प्रतिनिधिसभाको बैठकमा केहीबेर अवरोध सिर्जना भएको छ । कानूनमन्त्री धनराज गुरुङले केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक पेश गर्ने क्रममा निर्णयार्थ पेश नभएको भन्दै रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले नियमापत्ति गरेका थिए । त्यसबीचमा कांग्रेसका प्रमुख सचेतक रमेश लेखकलाई आफ्नो धारणा राख्न सभामुख देवराज घिमिरले समय दिए पनि रास्वपा र राप्रपाका सांसदहरू उठेर आपत्ति जनाएपछि अवरोध भएको हो । सभामुखले पटकपटक आग्रह गर्दा पनि सांसदहरू नबसेपछि सभामुखले विधेयक पेश गर्ने प्रक्रियाबारे नियमावलीको व्यवस्था सुनाउँदै सभामुखको घोषणा नै अन्तिम हुने जानकारी गराएका छन् । रास्वपा सांसदहरु सिटबाट उठेर वेल घेर्न आएका थिए, सभामुखले १५ मिनेटका लागि बैठक स्थगित गरेका छन् ।
रोल्पा: रोल्पामा जङ्गली च्याउ खाँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा लुङ्ग्री गाउँपालिका–५ काला पोखराका ३३ वर्षीया भीमा गुरुङ र उनका छोराहरू ११ वर्षीय सुशील र छ वर्षीय प्रेम रहेका जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ । जङ्गली च्याउ खाई बिरामी परेपछि उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौरमा भर्ना गरिएका उनीहरूलाई थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल लगिएको थियो । उनीहरूको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारका क्रममा आज आइतवार ज्यान गएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता प्रकाश भुसालले जानकारी दिनुभयो ।

