काठमाण्डौ: राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले चार देशका अरु युवा राजनीतिज्ञसँगै ‘योङ वर्ल्ड पोलिटिसियन अफ द इयर’ अवार्ड जित्नुभएको छ । नेपालकी युवा सांसद गौतमसँगै क्यानडाकी एरिइल्ले कायाबागा, अस्ट्रेलियाकी अयोर मकुर चुओट र न्युजिल्यान्डका मोको तेपानिया र बेल्जियमका स्यामुअल कोगोलातीले अवार्ड जितेका आयोजक वन योङ वर्ल्डले जनाएको छ । वन योङ वर्ल्ड युवा नेतृत्व सशक्तीकरण र विकासका लागि स्थापित बेलायती संस्था हो । अवार्डका लागि सोवितासँगै विभिन्न देशका १५ सांसद, मेयरलगायत सर्टलिस्टमा समेटिएका थिए । संस्थाले सर्टलिस्टमा समावेशमध्ये पाँच जनालाई अवार्ड दिँदै आएको छ । सोविता गौतम नेपालकी सबैभन्दा कान्छी सांसद र रास्वपाको संस्थापक सदस्यको रूपमा सर्ट लिस्टमा छनोट हुनुभएको थियो । संस्थाले नेतृ गौतमलाई आफ्नो भाषण सामाजिक सञ्जालमा अत्यधिक रुचाइएसँगै राजनीतिमा उदाएकी पात्रको रूपमा चिनाएको छ । संस्थाले हरेक वर्ष १८ देखि ३५ वर्ष उमेर समूहका प्रभावशाली राजनीतिज्ञलाई यस्तो अवार्ड दिने गरेको छ ।
राेल्पा: रोल्पाको त्रिवेणी गाउँपालिकाले छोरी जन्मने बित्तिकै बैंक खातामा पाँच हजार रुपैयाँ जम्मा गरिदिने भएको छ । आर्थिक वर्ष २०८०/८१ को गाउँसभाले याे कार्यक्रम सञ्चालनका लागि नीति, कार्यक्रम र बजेट पारित गरेको हाे । याे कार्यक्रम साउन १ गतेदेखि नै लागू भएकाे गाउँपालिकाका उपाध्यक्ष लेखमणि डाँगीले जानकारी दिनुभयो । बैंकमा खाता खोली जम्मा गरिने याे रकम २० वर्षसम्म झिक्न पाइने छैन । 'छोरी जन्मिँदा परिवारमा खुशियाली ल्याउन तथा छोरीमा लगानी बढाउन यस्तो कार्यक्रम अघि सारेका हौँ', उपाध्यक्ष डाँगीले भन्नुभयो । छोरीलाई आर्थिक, सामाजिक, सांस्कृतिक र राजनीतिक हिसाबले सक्षम बनाउका लागि याे कार्यक्रम अघि बढाएको उहाँको भनाइ छ । कार्यक्रमबाट बालविवाह रोक्नसमेत मद्दत पुग्ने डाँगीको विश्वास छ । याे कार्यक्रमका लागि गाउँपालिकाले चालु आर्थिक वर्ष २०८०/८१ मा १० लाख रुपैयाँ विनियोजन गरेको छ । गाउँपालिकाले लुम्बिनी प्रदेश सरकारसँगको साझेदारीमा याे कार्यक्रम ल्याएकाे हाे ।
काठमाडौं: अहिलेसम्मकै सबैभन्दा ठूलो फिफा महिला विश्वकप फुटबल आजदेखि सुरु हुँदैछ । अस्ट्रेलिया र न्युजिल्याण्डले संयुक्त रुपमा आयोजना गरेको यस विश्वककमा अहिलेसम्मकै सबैभन्दा धेरै ३२ राष्ट्रले प्रतिस्पर्धा गर्दैछन् । महिला विश्वकपको यो नवौँ संस्करण हो । पहिलो पटक ३२ टिम सहभागी यस विश्वकप पहिलो पटक दुई देशले आयोजना गर्दैछन् । साविक विजेता समेत रहेको अमेरिका प्रतियोगिताको उपाधि दाबेदारको रुपमा छ र लगातार तीन पटक उपाधि जित्दै उपाधि संख्या ५ पुर्याउने योजनामा छ । अमेरिकाले सर्वाधिक चार पटक उपाधि जित्दा जर्मनीले दुई तथा नर्वे र जापानले समान एक पटक उपाधि जितेका छन् । पछिल्लो पटक २०११ मा एसियन राष्ट्र जापान च्याम्पियन बनेको थियो त्यसपछि २०१५ र २०२१ मा अमेरिकाले विश्वकप उपाधि जितेको थियो । पहिलो दिन दुई खेल महिला विश्वकपको पहिलो दिन दुई खेल हुँदैछन् । जसमा समुअ ए मा रहेको न्युजिल्याण्ड र नर्वेबीच उद्घाटन खेल हुनेछ । यस खेल अकल्याण्डस्थित एडेन पार्कमा नेपाली समयअ नुसार दिउँसो सवा १२ बजे सुरु हुनेछ । यस्तै अर्को खेल समूह बी मा आयोजक अस्ट्रेलिया र रिपब्लिक अफ आयरल्याण्डबीच हुनेछ । यो खेल सिड्नीस्थति स्टेडियम अस्ट्रेलियामा नेपाली समय अनुसार दिउँसो पौने ४ बजे सुरु हुनेछ । महिला विश्वकप अस्ट्रेलियाको ६ र न्युजिल्याण्डको ४ गरी कूल १० स्टेडियममा खेलाइनेछ । फाइनल खेल आगामी अगष्ट २० मा सिड्नीमा हुनेछ ।
काठमाडौं: अहिलेसम्मकै सबैभन्दा ठूलो फिफा महिला विश्वकपको उद्घाटन खेलको केही घण्टाअघि न्युजिल्याण्डमा गोली चलेको छ । अकल्याण्डमा गोली चल्दा दुई जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएको बीबीसीले उल्लेख गरेको छ । घटना बिहीबार न्युजिल्याण्डको सबैभन्दा ठूलो सहर अकल्याण्डमा भएको हो । फिफाले घटनाको बाबजुद पनि न्युजिल्याण्ड र नर्वेको खेल पूर्वनिर्धारित तालिका अनुसार नै हुने जनाएको छ ।
काठमाडौं: सय किलो सुन बरामद प्रकरणमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट जाँच पास कार्यमा संलग्न कर्मचारीहरूलाई निलम्बनको तयारी भएको छ । भन्सार विभागका निर्देशक पुण्यविक्रम खड्काले घटनाको अनुसन्धानका लागि सुन जाँच पासमा संलग्न सबैलाई निलम्बनको तयारी गरिएको जानकारी दिए । ‘जाँच पासमा संलग्न सबै कर्मचारीलाई निलम्बन गरेर छानबिन हुन्छ’, खड्काले भने । विभागले सुन बरामद प्रकरणमा हालसम्म छ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा एक जना एजेन्टसमेत रहेका छन् । विभागका महानिर्देशक नवराज ढुङ्गानाका अनुसार उक्त प्रकरणमा मुछिएका र पोलिएका व्यक्तिको खोजी जारी छ । पक्राउ परेकाहरूको आधिकारिक रूपमा पहिचान खुलाइएको छैन ।
काठमाडौं: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ठूलो परिमाणमा सुन बरामद भएको बताइएको छ । राजश्व अनुसन्धान विभागका अधिकारीहरुका अनुसार सय किलो भन्दा बढी सुन बरामद गरिएको हो । अहिले पनि अपरेसन चलिरहेकाले कति किलो सुन बरामद भयो भन्ने यकिन भइसकेको छैन । तर सय किलोभन्दा बढी रहेको उनीहरु बताउँछन् । स्कुटरको ब्रेक सुमा लुकाएर सुन ल्याएको सूचनाका आधारमा राजश्व अनुसन्धान विभागको टोलीले छापा हानेको हो । केही व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ ।
काठमाडौं: एसीसी इमर्जिङ टिम्स एसिया कपमा यूएई ए माथि नेपालले ३ विकेटको जित हात पारेको छ । यूएई ए ले दिएको १५८ रनको लक्ष्य पछ्याएको नेपालले २३ ओभरमा ७ विकेट गुमाउँदै भेट्टाएको हो । नेपालका लागि कुशल भुर्तेलले बलिङ तर्फ ६ विकेट र ब्याटिङ तर्फ ७१ रनको आक्रामक पारीसहित अलराउन्ड प्रदर्शन गरेका हुन् । ओपनर ब्याटर अर्जुन साउद डक आउट भएपछि तेस्रो क्रममा आएका देव खनालसँग कुशलले आक्रामक अर्धशतक सहित ९७ रनको साझेदारी बनाए । पावर प्लेमा १ विकेट गुमाएर ७३ रन बनाएको नेपाललाई कुशल भुर्तेलले ४३ बलमा ९ चौका र ४ छक्कासहित ७१ रन बनाए । उनी पहाद नवाजको बलमा १२.६ ओभरमा बाउन्ड्री लाइनमा मोहम्मद फराजुद्धिनको हातबाट क्याच आउट भएका हुन् । १३ ओभरमा ९–२ को अवस्थामा रहेको नेपालले १०३ मा देव खनाललाई तेस्रो विकेटको रुपमा गुमायो । देवले ३ बलमा ४ चौका सहित २४ रन बनाउँदै मोहम्मद फराजुद्धिनको बलमा एलबीडब्ल्यु भए । चौथो ब्याटरको रुपमा क्रिजमा आएका सन्दीप जोरा २४ रनमा क्याच आउट भए । पाँचौं विकेटको रुपमा गुल्सन झा ११ रन बनाएर मोहम्मद फराजुद्धिनको बलमा विकेटकिपर आर्यन्स शर्माबाट स्टम्पिङ भए । सिमसिम पानी पर्दै गरेको मौसममा ९ रन चाहिने अवस्थामा नेपालका कप्तान रोहित पौडेल ९ रनमा क्याच आउट भए । पवन सरार्फ मोहम्मद फराजुद्धिनको बलमा बोलड भए । कुशल मल्ल र प्रतिश जिशी क्रमशः २ र ८ रनमा अविजित रहे । यूएई एका लागि मोहम्मद फराजुद्धिनले ५ विकेट लिए । उनले ६ ओभरमा १ मेडन सहित ३६ रन खर्चेर ५ विकेट लिए । मोहम्मद जवादुल्लाहले २ विकेट लिए । यसअघि, श्रीलंकाको पी सारा ओभलमा मा टस जितेर पहिला ब्याटिङ गरेको यूएई ४४ ओभरमा १५७ रनमा अलआउट भएको हो । नेपालका लागि कुशल भुर्तेलले १० ओभरमा ४० रन खर्चेर ६ विकेट लिएका हुन् । ५२ वटा लिस्ट ए खेलेका कुशलले हालसम्म जम्मा ४ विकेट लिएका थिए । उनले करिअरको ५३ औं लिस्ट ए खेलमा एकै खेलमा ६ विकेट लिएका हुन् । खेलमा पहिलो विकेट कुशल मल्लले लिएका थिए । उनले १३ रन बनाएका आयन्स शर्मालाई पवन सराफको हातबाट क्याच आउट गराए ।दोस्रो विकेट भने सराफको नाममा रह्यो । उनले अन्स टन्डनलाई ३ रनमा एलबीडब्लुको धरापमा पारे । तेस्रोदेखि आठौं विकेट कुशल भुर्तेलले लिए । उनले एथन डिसुजालाई व्यक्तिगत १८ रनमा एलबीडब्लू आउट गरे । जुन उनको पहिलो तथा नेपालको तेस्रो विकेट थिए । त्यसपछि उनले ओपनर लवप्रित सिंह ५२ रन, फहत नवाज ४ रन, कप्तान अली नासिर १ रन तथा यशवन्त भल्थापा १६ रनमा आउट गरे । उनले ३५.२ ओभरमा ४ रन बनाएका मोहमद फराजुद्दिनलाई सन्दीप जोराको हातबाट क्याट आउट गराउँदै ६ विकेट पूरा गरेका थिए । ४४ औं ओभरका दोस्रो र अन्तिम बलमा मौसम ढकालले २ विकेट हात पारे ।
पाेखरा: कर्तव्य ज्यान मुद्दामा १४ वर्ष कैद सजाय तोकिएका पुरूष ८ वर्षपछि पक्राउ परेका छन्। पक्राउ पर्नेमा मुस्ताङको थासाङ गाउँपालिका -२ घर भई काठमाडौंको जोरपाटी बस्दै आएका ४६ वर्षीय सम्राट शेरचन छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उनलाई मंगलबार गोकर्णश्वर नगरपालिका-८ अत्तरखेलबाट पक्राउ गरेको हो। कर्तव्य ज्यान मुद्दामा सर्वोच्च अदालतले ०७२ भदौ १ गते उनलाई १४ वर्षको जेल सजाय सुनाएको थियो। त्यसयता उनी फरार रहेका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रविन्द्र रेग्मीले जानकारी दिए उनीविरूद्ध ०६६ मा राधा पुनले जाहेरी दिएका थिए। त्यतिबेला मुस्ताङ जिल्ला अदालतले शेरचनलाई एक वर्ष चार महिना कैद सुनाएको थियो। त्यसविरूद्ध पुनरावेदन दिएका उनीविरूद्ध बागलुङ अदालतले जन्मकैदको सजाय सुनाएको थियो। पुनरावदेनको आदेशविरुद्ध सर्वोच्चले उनलाई १४ वर्षको कैद सजाय सुनाएको हो। पक्राउ परेका सम्राटलाई फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालतमा पठाएको छ।
काभ्रे: काभ्रेपलाञ्चोक र भक्तपुर जिल्लाको सीमास्थित सूर्यविनायक नगरपालिका-९ स्थित साँगामा बस दुर्घटना भएको छ । काठमाडौंबाट बनेपातर्फ आउँदै गरेको बा ४ ख ९३९६ को बस बुधबार दिउँसो ३:१५ बजेतिर साँगाको पुलमुनि भिरबाट अन्दाजी २५ मिटर तल खसेको इलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ । दुर्घटनामा चालकसहित पाँच जना घाइते भएको इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख प्रहरी नायब उपरीक्षक रेशम बोहोराले जानकारी दिए । उनका अनुसार, घाइते पाँचै जनालाई उपचारका लागि भक्तपुरस्थित मध्यपुर अस्पताल पठाइएको छ । गाडीमा १५ जना यात्रु सवार थिए ।

