पोखरा ।   होटल संघ पोखरा नेपालले आयोजना गर्न लागेको २१ औँ फेवा नव वर्ष महोत्सवको तयारी तिब्र पारिएको छ ।   पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित यही चैत २९ गतेदेखि आगामी वैशाख १ गतेसम्म सञ्च...

काठमाडौं:    बाढी-पहिरोका कारण ३ वटा राजमार्ग बन्द छन् । १५ वटा सडक एकतर्फी मात्रै सञ्चालन भइरहेका सडक विभागले जनाएको छ । सडक विभागका अनुसार मेची राजमार्गको केचना-चन्द्रगढी–चारआली–इलाम–फिदिम गणेशचोक–ताप्लेजुङ-ओलाङचुङ्गगोला सडक खण्ड  अवरूद्ध छ । यो राजमार्ग असारको पहिलो हप्तादेखि नै बन्द छ । त्यस्तै तमोर करिडोरअन्तर्गतको चतरा-मूलघाट-माझीटार-अमरापुरडाँडा-गणेशचोक जोड्ने सडक र तानसेन-रिडी-कोरला सडक बन्द छ । विभागले अहिलेसम्म ९४ वटा सडक अवरूद्ध भएका र त्यसमध्ये ७६ वटा दुवैतर्फ सञ्चालनमा रहेको पनि जानकारी दिएको छ । काठमाण्डौसँग मुख्य नाका जोडिएको नागढुङ्गा–नौबिसे तथा मुग्लिन नारागणगढ सडकमा केही दिनयता सामान्य रुपमा गाडी चलिरहेका छन् । पहिरोको जोखिम रहेकाले मुग्लिन नारागणगढ सडकको यात्रा गर्नु अघि सडकको अवस्था बुझ्न प्रहरीले आग्रह गर्दै आएको छ।

काठमाडौं:   नयाँ आर्थिक वर्ष शुरु भइसक्दासमेत एक सय ५४ पालिकाले अझै वार्षिक बजेट ल्याएको विवरण बुझाउन सकेका छैनन् । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयार पार्ने ‘पालिकाको आर्थिक वर्ष २०८०/८१ को बजेट अपडेट’ विवरणअनुसार २० दशमलव ४५ प्रतिशत पालिका बजेटविहीन रहेको देखिएको हो । यस अवधिसम्ममा बजेट पेस भइसकेका पालिकाको सङ्ख्या पाँच सय ९९ छ । मन्त्रालयको विवरणअनुसार सबैभन्दा धेरै मधेस प्रदेशमा ६३ वटा पालिकाले बजेट ल्याएका छैनन् । सबैभन्दा कम कर्णाली प्रदेशका चार पालिकाले मात्रै बजेट ल्याउन बाँकी रहेको देखिएको हो । कोशी प्रदेशका २९, बाग्मतीका २४, गण्डकीका सात, लुम्बिनीका १४ र सुदूरपश्चिमका १३ पालिकाले आफ्नो वार्षिक बजेट पारित भएको विवरण पेस गरेको देखिँदैन । सङ्घीय मामिला मन्त्रालयका सहायक प्रवक्ता अश्विनकुमार पोखरेलका अनुसार बजेट पारित गरिसकेका पालिकाले पनि मन्त्रालयको प्रणालीमा प्रविष्टि (इन्ट्री) नगर्दा यस्तो सङ्ख्या धेरै देखिएको हो । ‘धेरै पालिकाले बजेट पारित गरिसकेका भए पनि पोर्टलमा हालिसकेका छैनन् । अहिलेसम्म बजेट पेस नै नगरेका २० वटाभन्दा बढी पालिका छैनन् भन्ने हाम्रो अनुमान छ’, उहाँले भन्नुभयो । मन्त्रालयको प्रणालीमा बजेट प्रविष्ट नगरेका पालिकालाई त्यस्तो विवरण चाँडो बुझाउन परिपत्र गरिएको उहाँले बताउनुभयो । सङ्घीय मामिला मन्त्रालयले आइतवार अस्ति सबै पालिका तथा जिल्ला समन्वय समितिलाई पत्र पठाउँदै चालु आर्थिक वर्ष २०८०र८१ को बजेट पेस भई सम्बन्धित नगरसभा तथा गाउँसभाबाट स्वीकृत भएको विवरण अद्यावधिक गर्न भनेको हो । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ बमोजिम गाउँसभा तथा नगरसभामा पेस भएको बजेट असार मसान्तसभित्रमा पारित गरिसक्नुपर्ने व्यवस्था छ । गाउँसभा तथा नगरसभामा पेस भइ पारित भएको विवरण सङ्घीय मामिला मन्त्रालयको पोर्टलमा अद्यावधिक गराउनुपर्ने व्यवस्था छ । बजेट पेस गरेका तर गाउँसभा तथा नगरसभाबाट पारित हुन बाँकी रहेका पालिकालाई पनि बजेट पेस भएको विवरण जानकारी गराउन मन्त्रालयले निर्देशन दिएको छ । जिल्ला समन्वय समितिलाई पठाएको पत्रअनुसार सम्बन्धित पालिकाले बजेट पेस गरेरनगरेको विवरण मन्त्रालयलाई जानकारी गराउन भनिएको छ । असार १० गतेभित्र बजेट पेस गर्ने पालिकाको सङ्ख्या, तोकिएको समयपछि बजेट पेस गर्ने पालिकाको नाम र सङ्ख्या, असार मसान्तसम्म पनि बजेट पेस नगर्ने पालिकाको नाम, असार मसान्तभित्र बजेट पारित गर्ने पालिकाको सङ्ख्या र त्यस अवधिमा बजेट पारित गर्ने पालिकाको नाम माग गरिएको छ ।

काठमाडौं:     नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक एक वर्षपछि आज (मङ्गलबार) बस्दै छ। कांग्रेसको विधान अनुसार प्रत्येक दुई महिनामा बस्नुपर्ने केन्द्रीय कार्यसमितिको बैठक एक वर्षपछि बस्न लागेको हो। यसअघि २०७९ साउन २ गते बैठक बसेको थियो। कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले बैठकमा मुख्यत: १० वटा मुद्दामा छलफल हुने बताउनुभयो। सभापति शेरबहादुर देउवाको धुम्बाराहीस्थित निवासमा बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले केन्द्रीय कार्यसमिति बैठकका एजेन्डा तय गरेको हो।  महामन्त्री शर्माले सभापति देउवा र महामन्त्रीहरूबिचको परामर्शमा तय भएका एजेन्डाबारे पदाधिकारी र पूर्वपदाधिकारीहरूसँग छलफल गरिएको बताउनुभयो। उहाँका अनुसार बैठक प्रतिवेदन र प्रस्तावसहित १० बुँदे एजेन्डामा केन्द्रित रहन्छ। समसामयिक राजनीतिक, आर्थिक, सामाजिक, परराष्ट्र, शासन र सुशासनका सन्दर्भमा बैठक केन्द्रित रहने छ।  उहाँले साङ्गठनिक कार्ययोजना र कार्यतालिका बैठकमा प्रस्तावित हुने बताउँदै पार्टीको निर्वाचन समितिमार्फत गर्नुपर्ने कतिपय काम पनि बैठकमा प्रस्ताव गरिने जानकारी दिनुभयो।  त्यसै गरी केन्द्रीय कार्यसम्पादन समितिको बैठकका निर्णय अनुमोदनको प्रस्ताव पनि बैठकमा प्रस्तुत हुनेछ। उहाँले निर्वाचन परिचालन समिति २०७९ का संयोजक गोपालमान श्रेष्ठले तयार पारेको प्रतिवेदन बैठकमा प्रस्तुत हुने बताउनुभयो। महामन्त्री शर्माले नीति अधिवेशनको मिति तय गर्ने प्रस्ताव पनि बैठकमा प्रस्तुत हुने जानकारी दिनुभयो। उहाँले भन्नुभयो, “१४ औँ महाधिवेशनमा नेतृत्व चयनको अधिवेशन र नीति निर्माणको अधिवेशनलाई छुट्याउने निर्णय भयो।  यो बैठकमा नीति अधिवेशनको केही खाका प्रस्तुत हुन्छ। मिति, ढाँचा र प्रक्रिया तय गर्नेछ।” उहाँका अनुसार विभाग गठनका सन्दर्भको प्रस्तावमा केही विभाग थप्नुपर्ने र विभागको कामको व्याख्यासम्बन्धी प्रस्ताव पनि बैठकमा प्रस्तुत हुनेछ। उहाँले देश र विदेशका नेता–कार्यकर्ता र शुभचिन्तकको माग अनुरूप कांग्रेसको राष्ट्रव्यापी अभियानको नाम, उद्देश्य र खाका पनि बैठकमा प्रस्तुत हुने बताउनुभयो। त्यसै गरी अनुशासन समितिका संयोजक आनन्दप्रसाद ढुङ्गानाले पार्टी अनुशासनसम्बन्धी प्रतिवेदन बैठकमा प्रस्तुत गर्नुहुने छ।  महामन्त्री शर्माका अनुसार निर्वाचनपछि सबैभन्दा ठुलो दलका रूपमा कांग्रेसले संसद्मा गरेका काम, भूमिका, विधेयक र प्रस्तुतिका सन्दर्भमा संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले प्रतिवेदन प्रस्तुत गर्नुहुने छ। उपप्रधानमन्त्री एवं रक्षामन्त्रीसमेत रहनुभएका कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले सङ्घीय सरकारसँगै चार प्रदेशमा कांग्रेसले गरिरहेको नेतृत्व र सातै प्रदेशका सरकारमा सहभागिताबारे विवरण राख्नुहुने छ।  प्रत्यक्ष प्रसारणको बहस कांग्रेस केन्द्रीय कार्यसमिति बैठक प्रत्यक्ष प्रसारण गर्ने विषयमा पनि बैठकमा छलफल भएको छ। महामन्त्री शर्मा र पूर्वमहामन्त्री डा। शशाङ्क कोइरालाले बैठकको प्रत्यक्ष प्रसारण गर्ने विषयमा छलफल भए पनि निष्कर्षमा नपुगेको बताउनुभयो। उहाँहरूका अनुसार बैठकको प्रत्यक्ष प्रसारणबारे फेरि छलफल गरेर निष्कर्षमा पुग्ने समझदारी भएको छ। डा। कोइरालाले भन्नुभयो, “पहिलो दिन प्रत्यक्ष प्रसारण गर्ने र त्यसको प्रतिक्रिया कस्तो आउँछ, त्यसलाई हेरेर निर्णयमा पुग्ने छौँ।”    

पोखरा:     पोखरा अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा हवाई इन्धन डिपो निर्माण थालिएको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले उक्त डिपोको आज (सोमबार) शिलान्यास गर्नुभयो । पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै थप हवाई इन्धनको माग हुने भएकाले नयाँ हवाई डिपो निर्माण गर्न लागिएको हो । हवाई इन्धन डिपो पोखराका प्रमुख धिरजविक्रम खड्काका अनुसार यहाँ १२ लाख लिटर क्षमताका तीनवटा डिपो निर्माण गरिनेछन् । डिपो निर्माणका लागि रु ७७ करोड खर्च हुने नेपाल आयल निगमका नायव कार्यकारी निर्देशक नागेन्द्र साहले जानकारी दिनुभयो । उक्त आयोजनाको ठेक्का समानान्तर–रेलिगेयर–भारत ट्याङ्क्स जेभीले पाएको छ । “एक हजार दुई सय किलोलिटर क्षमताका तीन र एक हजार पाँच सय किलोलिटर क्षमताको एउटा पानी ट्याङ्की निर्माण गरिनेछन्”, उहाँले भन्नुभयो, “नेपाल नागरिक उड्डयन प्राधिकरणको जग्गा भाडामा लिएर डिपो निर्माण थालिएको हो ।” नायब कार्यकारी निर्देशक साहका अनुसार डिपो एक वर्षभित्र निर्माण गरिसक्ने लक्ष्य छ । 

काठमाडौं:   अर्थमन्त्री डा. प्रकाशशरण महतले अल्पविकसित मुलुकमा धेरै खालका चुनौती रहेको बताउनुभएको  छ ।  भारतको गुजरातस्थित गान्धीनगरमा सोमबारबाट सुरु भएको जी–२० मुलुकका अर्थमन्त्री तथा केन्द्रीय बैंकका गभर्नरस्तरीय तेस्रो बैठकमा बोल्नुहुँदै मन्त्री डा. महतले अल्पविकसित मुलुकका राजस्व स्रोतमा कमी र बढ्दो ऋणका बीचमा दीगो विकास लक्ष्य हासिल गर्न चुनौति थपेको बताउनुभयो । उहाँले स्रोत अभावले गर्दा स्वास्थ्य क्षेत्रमा प्रतिव्यक्ति लगानीसमेत बढाउन नसकिएको जिकिर गर्नुभयो । अन्तर्राष्ट्रिय समुदायले सहुलियत पूर्ण, सुविधाजनक, लचक खालका अनुदान र स्रोत उपलब्ध गराउन बैठकमा उहाँले आह्वान गर्नुभयो । सम्मेलनमा भारत, अमेरिका, चीन, जापान, फ्रान्स र रसियालगायतका सदस्य राष्ट्र र विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ), एसियाली विकास बैंक, एसियाली पूर्वाधार लगानी बैंक जस्ता संस्थाहरूको सहभागिता रहेको छ । बैठकमा मुख्य गरी विश्व अर्थतन्त्र र विश्व स्वास्थ्य, दिगो वित्त र पूर्वाधार विकास, अन्तर्राष्ट्रिय वित्तीय परिदृश्य, अन्तर्राष्ट्रिय कर प्रणाली, वित्तीय समावेशितालगायतका विषय सत्रमा छलफल भएको छ । सार्वजनिक ऋण व्यवस्थापनमा सहकार्य, क्रिप्टो कारोबारको नियमन एवम् सुपरीवेक्षण, सार्वजनिक पूर्वाधारमा प्रविधिको प्रयोगलगायतका विषय बैठकमा उठाइएको छ । सम्मेलन भोलि (मङ्गलबार) सम्म चल्ने छ ।

काठमाडौं:    सत्तारुढ दल नेपाली कांग्रेसको पदाधिकारी र पूर्व पदाधिकारीको बैठक सुरु भएको छ । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले मङ्गलबार बस्ने केन्द्रीय कार्य समिति बैठकको विषय तय गर्नका लागि पदाधिकारी बैठक सुरु भएको जानकारी दिए ।  पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा सुरु भएको बैठकमा पार्टी सभापति, उपसभापति, महामन्त्रीसहित कार्य समितिका पदाधिकारी र पूर्व पदाधिकारी उपस्थित छन् । आजको बैठकले भोलि (मङ्गलबार)बाट बस्ने पार्टी केन्द्रीय समितिको बैठकका विषय तय गर्ने प्रयोजनका लागि बैठक बसेको हो । केन्द्रीय कार्यसमितिको बैठक भोलिदेखि सुरु हुँदैछ ।

बुटवल:      प्रधानमन्त्री पुष्पकमल दाहालको तस्बिरलाई सम्पादन गरी भारतीय आधार कार्ड, आयकर कार्ड लगायत नक्कली विवरणसहितको तस्बिर सामाजिक सञ्जालमा राखेको आरोपमा केन्द्रीय साइबर ब्युरोले आइतबार बुटवलका एक युवकलाई पक्राउ गरेको छ । बुटवल देवीनगरबाट टाइगर रानामगर भनिने शेरबहादुर राना मगरलाई पक्राउ गरेको हो । उनले प्रधानमन्त्री पत्नी सीता दाहालको निधनका बेला समेत लिएर असंवेदनशील पोस्ट गरेका थिए ।   ब्युरोको टोलीले काठमाडौंबाट लोकेसन पत्ता लगाइ इलाका प्रहरी कार्यालय बुटवलबाट दुई जना प्रहरीसहितको सहयोगमा रानालाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक दानबहादुर थापाले बताए । आइतबार साँझ पक्राउ परेका रानालाई सोमबार टोलीले काठमाडौं लगेको छ । उनलाई काठमाडौंमै साइबर क्राइम सम्बन्धी मुद्दा चलाइने प्रहरीले जनाएको छ ।

सुनसरी:     सुनसरीको बराहक्षेत्रस्थित सप्तकोसी नदी किनारमा तीन जना युवतीमाथि भएको निर्घात कुटपिटमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।   सप्तकोसी किनारमा युवतीहरुको एक समूहले अर्को समूहमाथि निर्घात कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमार्फत बाहिरिएपछि घटनामा संलग्न एक जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।       जिल्ला प्रहरी कार्यलय सुनसरीका प्रवत्ता प्रहरी नायब उपरीक्षक राजकुमार राईकाअनुसार उक्त घटनामा संलग्न अरु चार जनाको खोजी भइरहेको छ । उनीहरु फरार छन् । गत शुक्रबार सप्तकोसी नदीस्थित बराहक्षेत्रको राजाबासमा पाँच युवतीको समूहले तीन युवतीमाथि निर्घात कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ । कुटपिटमा संलग्नहरुले आफ्नो पोल अरु कसैलाई खोलिदिएको भन्दै मुक्का र लात्ती वर्षाएको देखिन्छ । 

काठमाडौं:    सरकारले सार्वजनिक गाडीको भाडा घटाएको छ । पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागू भएसँगै यातायात व्यवस्था विभागले सार्वजनिक गाडीको भाडा घटाएको हो ।   स्वचालित प्रणालीअनुसार डिजलमा चार र पेट्रोलमा प्रतिलिटर छ रुपैयाँ घटेको थियो । यसैलाई आधार बनाएर विभागले यात्रुवाहक गाडीमा २ दशमलव १३ प्रतिशत भाडा घटाएको छ । यसैगरी मालवाहक गाडीमा पहाडमा २ दशमलव ७८ र तराईमा ३ दशमलव ०९ प्रतिशतले भाडा घटेको विभागले जनाएको छ । घटेको भाडा आज सोमवारदेखि नै लागू हुने छ । घटेको यो भाडा दुई वा दुईभन्दा धेरै प्रदेश भएर चल्ने गाडीमा लागू हुनेछ । छोटो दुरीको गाडी भाडा भने प्रदेश सरकारले समायोजन गर्नेछ ।   हेर्नुहोस कहाँ कति भाडा