पोखरा ।   होटल संघ पोखरा नेपालले आयोजना गर्न लागेको २१ औँ फेवा नव वर्ष महोत्सवको तयारी तिब्र पारिएको छ ।   पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित यही चैत २९ गतेदेखि आगामी वैशाख १ गतेसम्म सञ्च...

नाटक ‘करेसा कन्सर्ट’ साउन ६ गते शनिबार पोखरामा मञ्चन हुने भएको छ । यस अगाडि ‘बुकिङ सो’ मार्फत पोखराका विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीलाई देखाइएको यो नाटक आम नाटकप्रेमी दर्शकलाई लक्षित गरेर ‘पब्लिक सो’ मार्फत मञ्चन गर्न लागिएको हो । नाटक पोखरा थिएटरको गन्धर्व नाटकघरमा शनिबार दिउँसो १ बजे मञ्चन हुनेछ ।   पोखरा थिएटरको प्रस्तुतीमा तयार भएको यस नाटकमा हाम्रो करेसावारीमा हुने फर्सी, प्याज, गोलभेडा, लसुन, साग, करेला,अदुवा, लौका, धनियाँ, कार्को, मुला, खुर्सानी, बेसारको स्वभाव र विशेषताको बारेमा रमाइलो शैलीमा बुझाउन खोजिएको छ । जुन बालबालिकाका लागि बढी रुचिकर हुनसक्छ ।   नाटकमा फर्सीबहादुर बनेर रमेशबाबु तिमल्सिना, प्याजीमायाको बनेर अञ्जु दाहाल, गोलभेडाको बनेर रोशनी रामदाम, लसुन बनेर दिपसना विश्वकर्मा, साग बनेर अनुसा परियार, करेली बनेर रञ्जु दाहाल, अदुवा बनेर समीर पुन, लौका बनेर नम्रता ढकाल, धनियाँ बनेर पूर्णिमा अर्याल, काकरी बनेर सोनिया कार्की खत्री, मुलाबाबु बनेर रायन गुरुङ, भाले बनेर रोहित पौडेल र चिल्ली बनेर धनकाजी श्रेष्ठले दर्शकको ध्यान खिच्ने छन् । जसको लागि गन्धर्व नाटक घरको स्टेजमा सुन्दर करेसावारी निर्माण गरिएको छ । स्टेज कलरफूल देखिदा थिएटर प्रवेश गर्ने वितिकै बालबालिकाको ध्यान आर्कषित गर्नेछ ।    केदार श्रेष्ठले लेखेको नाटक अञ्जु दाहालको  निर्देशनमा तयार भएको हो । नाटकका लेखक केदार श्रेष्ठले नाटक बालबालिकालाई लक्षित गरेर तयार भएको बताए ।  नाटकका निर्देशक दाहालले यो नाटक विद्यार्थीलाई करेसाबारीको बारेमा जान्नको लागि महत्वपूर्ण बन्ने बताइन् ।   पोखरा थिएटरका अध्यक्ष परिवर्तनले नाटक मन्टेश्वरी देखि कक्षा ५ सम्मका विद्यार्थीलाई लक्षित गरिएको भएपनि अभिभावक, शिक्षक र आम नाटकप्रेमीको लागि समेत उत्तिकै महत्वपूर्ण रहेकोले पब्लिक सो को रुपमा मञ्चन गर्न लागिएको खुलाए ।   १ घण्टा १० मिनेट अवधिको नाटकको अर्को महत्वपूर्ण पाटो संगीत पनि रहेको छ । संगीत संयोजक कमल केसीले गरेको मेहनत, मञ्च सजावटमा अमृत परियारले गरेको प्रयोग र प्रकाश परिचालनमा मिलन श्रेष्ठले गरेको कामले नाटकलाई थप सुन्दर बनाउन सघाएको छ । नाटकलाई धेरैं दर्शक माझ पु¥याउन बजार व्यवस्थापक प्रकाश पराजुलीले त्यसको हिसाबकिताब राख्न बक्स अफिसमा रहेर शुभेक्क्षा शर्माले सघाएकी छन् ।

गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री दिपेन्द्र वहादुर थापाले प्राकृतिक श्रोतलाई समृद्धिको आधार बनाउनु पर्नेमा जोड दिनु भएको छ । अमेरिकी सहयोग नियोग (युएसएआइडी) को आर्थिक सहयोगमा सञ्चालित जल जंङगल कार्यक्रमका वहु सरोकार योजना तर्जुमा कार्यशालाको आज पोखरामा उद्घाटन गर्दै उहाँले आयआर्जन र रोजगारीका लागि वन पैदावारको भरपुर उपयोग गरिने बताउनुभयो ।  “वन क्षेत्रको काठ कुहिएर खेर जाने र विदेशबाट खरवौ रुपैयाको काठ आयात हुने अवस्थाको अन्त्य गरिनु अपरिहार्य छ” मन्त्री थापाले भन्नुभयो, “वनको संरक्षण र उपयोग गर्ने खालको प्रदेश वन ऐन छिट्टै आउने तयारी भई रहेको छ ।” जलवायु परिवर्तनको प्रभावलाई न्यूनिकरण गर्दै अनुकुलनतर्प लाग्ने खालका योजना अघि बढाउदै समाजका विपन्न एवम् सिमाकृत वर्गको उत्थानका लागि सामाजिक संघसंस्थाको ध्यान जानुपर्नेमा उहाँको जोड थियो । जथाभावि निर्माण गरिने भौतिक पूर्वाधारको कारण पानीलाई असर पार्ने, तालतलैया एवम् सिमसार क्षेत्रसंगै वातावरणमा समेत प्रभाव परेको उल्लेख गर्देै मन्त्री थापाले भन्नुभयो, वातावरणको संरक्षण र लच्छित वर्गको जिविकोपार्जनमा सहयोग पुगेमात्र परियोजना सफल हुने विश्वास व्यक्त गनुभयो । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले ताल, हिमाल, जग्गल र जमिन प्राणवायु भएको वताउँदै यसको संरक्षणका लागि सवैको साथ र सहयोग रहने बताउनुभयो । पोखरा वनाउने सवैको दायित्व भएको उल्लेख गर्दै उहाँले अव्यवस्थितरुपमा हुने विकास निर्माणले जोखिम बढाउनुको साथै वातावणमा समेत प्रभाव पर्ने हुँदा त्यसका लागि समयमै सचेत हुनु पर्ने आवश्यकता औल्याउनुभयो । उद्योग,पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव विशाल घिमिरेले जनताको जनजिविकालाई सहज वनाउँदै वातावरण, तालतलैयाको संरक्षण एवम् अपराध गतिविधिको न्यूनिकरणमा परियोजनाले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । युएसएआइडी जल जंगल कार्यक्रमका प्रमुख क्यारि फार्लेले सन्ततिको भविष्य निर्माणका लागि वातावरणको संरक्षण अपरिहार्य रहेको उल्लेख गर्दै परियोजना अन्तर्गत चितवन अन्नपूर्ण, तराई आर्क, कर्णाली संरक्षण तथा कैलाश पवित्र भू—परिधिमा काम गर्ने जानकारी दिनुभयो ।  विस लाख हेक्टर जैविक दृष्टिले महत्वपूर्ण क्षेत्र सुधार गर्दै त्यस क्षेत्रका वासिन्दाको आयआर्जन, सुधारिएको जलश्रोतबाट लाभ, तालिम, जलवायु सम्वन्धि जानकारी र ३०० निजी क्षेत्रका उद्यमहरुले दिगो अभ्यास वा सुरक्षा उपायहरु एकीकृत गर्ने परियोजनाको मुख्य लक्ष्य रहेको उहाँले विश्वास व्यक्त गर्नुभयो । मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयका सचिव मनमाया पगेनी भट्टराईले जलवायु परिवर्तनको कारण तराईमा अत्याधिक गर्मी, पहाडमा पहिरोजाने, हिमालमा हिउ नहुने अवस्था सिर्जना भएको बताउनुभयो । कार्यक्रममा मन्त्रालयका उपसचिव धनेन्द्र बहादुर खनाल, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षणकोषका उपनिर्देशक अजय कार्की,परियोजना उपप्रमुख दिवेश ज्योति,डा. बाबुराम लामिछाने, लगायतले जलवायु परिवर्तनले पारेका असर र न्यूनिकरणका उपाएका बारेमा चर्चा गर्नुभएको थियो ।    

काठमाडौं:  व्यवसायी दीपम मल्होत्राले त्रिभुवन विमानस्थलमा समातिएको सुनमा आफ्नो कुनै सारोकार नभएको भन्दै नियोजित रुपमा मेरो र व्यवसायिक प्रतिष्ठामा आंच पुर्याउने दुरासय भएको बताएका छन्।   त्रिभुवन विमानस्थल भन्सारबाट छिराएर बुधबार बरामद भएको एक क्विन्टल सुन प्रकरणमा आफ्नो नाम जोडिएपछि बिहीबार पत्रकार सम्मेलन गरी उनले आफ्नो भनाइ राखेका हुन्।   उनले विमानस्थल भन्सार जाँचपास भएर बाहिरिएको सुनमा आफ्नो कुनै संलन्नता नरहेको बताएका छन्। मिडियामा फोटोसहित उक्त सुनमा आफ्नो हात रहेको भन्दै समाचार आएकोमा त्यसमा कुनै सत्यता नभएको बताए। कानुनी प्रक्रियामा जाने जानकारी उनले दिए।   ‘म र मेरो परिवार सहितको व्यापार व्यवसाय नेपालको कानुन बमोजिम काम भैरहेको छ,’ उनले पत्रकार सम्मेलन गर्दै भने,‘आफ्नो सम्पूर्ण व्यापार व्यवसायको आम्दानीको विवरण सरकारी निकायमा बुझाएको छु।’   उनले दोस्रो व्यक्तिलाई प्रयोग गरी व्यापार व्यवसाय नगरेको बताए। सञ्चार माध्यममा उल्लेख गरिएका कुनैपनि व्यक्तिसँग सम्बन्ध र चिनजान समेत नभएको मल्होत्राले दाबी गरेका छन्।   व्यवसायिक जीवनलाई क्षति पुग्नेगरी आफूविरुद्ध समाचार आएकोमा उनले आपत्ति जनाए।   उनले सुन ल्याउने गिरोहलाई उम्काउनका लागि आफ्नो नाम जोडिएको आशंका व्यक्त गरिएका छन् । तर, सुन आयात गर्ने व्यक्तिसँग आफ्नो कुनै चिनजान नरहेको मल्होत्राले बताए ।   उनले भने, ‘मेरो सबै व्यवसायिक कारोबारहरू कानूनी निकायमा दर्ता छन् र वैध छन् । म र मेरो परिवारले प्रत्यक्ष वा परोक्षरूपमा गैरकानूनी कारोबा गरेको छैन । सुन आयात गर्न मसम्बद्ध कुनै माध्यमबाट भुक्तानी भएको छैन ।’   समाचारमा नाम उल्लेख गरिएका व्यक्तिसँग व्यक्तिगत आफ्नो चिनजानसमेत नरहेको भन्दै आफैं कल्पना गरेर नाम मुछिएको उनको भनाइ छ । आफ्नो तस्बिरसमेत प्रकाशित गरेर सार्वजनिक जीवनमा प्रहार गरिएको उनले बताए । ‘अनुमान र आशंकाका आधारमा समाचार लेख्दा कसैले मसित जानकारी लिन चाहेन,’ उनले भने ।

पोखरा:  पोखरामा एक युवती बेपत्ता भएकी छिन् ।   कास्की प्रहरीका अनुसार बेपत्ता हुनेमा पोखरा महानगपालिका २७ डाँडाकोनाकका १३ वर्षीया निरुता थापा रहेकी छिन् ।   उनी गत महिनाको २२ गतेदेखि बेपत्ता रहेको कास्की प्रहरीले बताएको छ ।   प्रहरीका अनुसार घरमा कसैलाई नसोधी हिडेकी थिइन् । दुईहप्ता हुदाँ बितिसक्दासमेत सम्पर्कमा नआएपछि कास्की प्रहरीलाई खोजिदिन भन्दै निरुताको परिवारले गुहारेको छ ।   कास्की प्रहरीले पनि सामाजिक सञ्जालमा सूचना जारी गर्दै आम नागरिकलाई खोजतलासमा सघाउ पुर्याउन आग्रह गरेको छ ।     

काठमाडौं:  बिहीबार नेपाली बजारमा सुनको मूल्यले रेकर्ड ब्रेक गरेको छ ।   बिहीबार प्रतितोला १ लाख १३ हजार ६ सय रुपैयाँमा सुनको कारोबार भइरहेको छ । यो अहिलेसम्मकै उच्च मूल्य भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।   यसअघि १८ जेठमा सुनले नयाँ रेकर्ड राख्दै १ लाख १३ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । बुधबार सुनको कारोबार १ लाख १३ हजार १ सय रुपैयाँमा भएको थियो ।   आज प्रतितोला ५ सय रुपैयाँले मूल्य बढेको हो । आज तेजाबी सुनको मूल्य १ लाख १३ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ ।   चाँदीको कारोबार आज १४ सय ९५ रुपैयाँ प्रतितोलामा भइरहेको छ । बुधबार १४ सय ९० रुपैयाँ प्रतितोलामा चाँदीको कारोबार भएको थियो ।

काठमाडौं:    स्कुटी अनि मोटरसाइकलमा प्रयोग हुने ब्रेकको सामानभित्र लुकाएर भन्सार कटाएको ८० किलो बढी सुन राजश्व अनुसन्धान विभागले बरामद गर्यो।   सहजै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कटाएको सामान ट्याक्सीमा लोड गर्दागर्दै प्रहरीसहित गएको विभागको टोलीले नियन्त्रणमा लियो।सुनको परिणाम मध्यरातसम्म यकिन भएको छैन।   विभाग प्रमुख नवराज ढुङ्गानाका अनुसार सुन ८० किलो भन्दा बढी हुनसक्ने अनुमान छ। विभागले सुन तस्करीमा संलग्न रहेको आशङ्कामा तीन जनालाई नियन्त्रणमा लिएको छ। एक जना ट्याक्सी चालक, अर्का एक भन्सार एजेन्ट हुन्छ। तेस्रो व्यक्तिको परिचय खुलाइएको छैन।   भन्सार जाँचपास भएर सामानको रूपमा सुन बाहिरिएको विशेष सूचनाको आधारमा विभागले अप्रेशन गरेको बताइएको छ।सुन तस्करीमा विभागले गरेको यो अहिलेसम्मकै ठुलो अप्रेशन हो। यस अगाडि भन्सारको मिलेमतोमा भित्रिने सुन प्रहरीले नियन्त्रणमा लिँदै आएको थियो। यो अप्रेसनमा भने प्रहरी समेत पछि परेको देखियो।   बरामद भएको सुनको परिणाम अनि शैलीले सङ्गठित तस्करी समूह नै यसमा संलग्न देखिन्छन्। करिब एक अर्ब बराबरको सुन हो बरामद भएको। सहजै भन्सार पास भएकाले तस्करीमा सङ्गठित समूहको संलग्नता देखिन्छ।यसमा प्रधानमन्त्री मातहत रहेको राजश्व अनुसन्धान विभाग खटिएकाले समेत गृह मन्त्रालय मातहतको सुरक्षा निकाय समेत शंकामा परेको छ।   विमानस्थलमा प्रहरीको विभिन्न युनिट खटिन्छन्। मानव बेचबिखन ब्युरो, लागू औषध ब्युरो, विशेष ब्युरो अनि उपत्यका प्रहरी कार्यालयका सादा पोसाकका प्रहरी समेत खटिन्छन् विमानस्थलमा। त्यसमा डिआइजीको नेतृत्वमै प्रहरीहरू समेत खटिएका छन्। तर कसैले सङ्केत नपाउनु सामान्य घटना देखिन्न।   यस्तो अप्रेसनमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको परिचालन हुने गरे पनि बुधवारको घटनामा ब्युरो देखिएन।   असार १२ मा विभागको प्रमुख भएर आएका ढुङ्गाना यस अगाडि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयमा थिए। उनकै नेतृत्वमा यति ठुलो परिमाणको तस्करीको सुन समातिएकाले यो अप्रेसनमा प्रधानमन्त्री कार्यालय समेत संलग्न देखिन्छ। अहिले राष्ट्रिय अनुसन्धान विभाग समेत प्रधानमन्त्री कार्यालय मातहतमै छ।   निरन्तर बदनाम भन्सार   हालसालै इलेक्ट्रिक चुरोट भेपमा लुकाएर ल्याएको नौ किलो सुन तस्करीमा विमानस्थल भन्सारका कर्मचारी समातिएर कारागार समेत पुगे।   चिनिया व्यापारीले भेपमा लुकाएर ल्याएको नौ किलो सुन भन्सारका कर्मचारी मिलेर साटेर बेचेका थिए।   यही घटनामा नासु रेवन्त खड्का, भन्सार एजेन्ट दिनेश बस्नेत, सेक्युरिटी गार्ड निर्मल कुमार बिक र व्यापारीहरू वेदप्रकाश अग्रवाल, साहेब राव पाण्डुरङ मरगले पुर्पक्षका लागि थुनामा गए।भेपमा सुन राखेर ल्याउने चिनिया व्यापारी फरार भए।   फरार भएका चिनिया व्यापारीसँग माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा र उनको छोराको निकट सम्बन्ध रहेको खुल्यो। तर प्रतिवादी भने बनाइएन।   ब्रेक शु मार्फत २ हजार किलोभन्दा बढी सुन तस्करी भएको अनुमान   प्रारम्भिक अनुसन्धानमा यसअघि पनि पटक(पटक रेडी ट्रेडले ब्रेक शु आयात गरेको खुलेको छ । त्रिभुवन विमानस्थल भन्सार र दुई महिनामा करिब २२ पटक यस्तै ‘ब्रेक शु’ आयातपछि सुरक्षा जाँच गरेर लगेको देखिएको स्रोतले बतायो ।   यसले यसअघि पनि अहिलेकै शैलीमा सुन तस्करी त भएको थिएन रु भन्ने आशंका जन्माएको अधिकारीहरुको भनाइ छ । अनुसन्धान अधिकृतहरुका अनुसार अब त्यो कोणबाट पनि अनुसन्धान हुनेछ । ‘यसअघि ब्रेक शु भनेर आयात हुँदा पनि आजजस्तै तरीका अपनाएको हुन सक्छ र हरेक पटकमा १०० किलोका दरले ब्रेक शु आएको हुन सक्छ,’ स्रोतले भन्यो ‘आज जुन अवस्थामा सुन भेटियो यसले २ हजार किलोभन्दा धेरै सुन पछिल्लो २ महिनामा भित्रिएको आशंका जन्माएको छ ।’   सुनदेखि जग्गा कारोबारीसम्म तस्करीमा   यस अगाडिका सुन तस्करीमा सुन व्यापारको आवरणमा रहेकादेखि जग्गा कारोबारीसम्म तानिएका थिए। प्रहरीसम्म सुन तस्करी गिरोहमा संलग्न रहेको आरोपमा पक्राउ परेर जागिर समेत गएको थियो।   सुन तस्करीमा प्रतिष्ठित व्यापारीहरू समेत जोडिँदै आएका छन्।यस अगाडिको ३३ किलो सुन तस्करीको अनुसन्धानले त हाउजिङ व्यवसायीदेखि नेतासम्मको धन्दा खुलायो। धेरैको पोल खुल्ने भएपछि प्रतिवेदनै गोप्य राखियो।   ३३ किलो सुन तस्करीमै विमल पोद्दार, महावीर गोल्यान, राजकुमार दारुका, सञ्जय खेतान,प्रभात अग्रवाल लगायतमा पक्राउ परेका थिए। ३८ क्विन्टलसम्म सुन तस्करी भएको खुलेको यो समूहमा भुजुङ गुरुङ समेत देखिए। तस्करी भरियाका नाइके चूडामणि उप्रेती देखिएका थिए।   पोद्दार सुन तस्करीमा पटक पटक जोडिने गरेका छन्। उनी २०६९ असोज १९ गते सवा १ करोड विदेशी मुद्रासहित समातिएका भारतीय नागरिक विनोदकुमार सोनीको केसमा समेत जोडिएका थिए। सोनी पक्राउ परेपछि उनले बोकेको रकम सुन तस्करीको भएको खुलेको थियो।   यो घटनाको अनुसन्धानमा सिल्भर सिटीका पोद्दार, दरबारमार्गमा रहेको तत्कालीन इविसु ज्वेलर्सको मुरारीलाल जमालिया समेत जोडिएका थिए।   राजकुमार दारुका, आरके ज्वेलर्सका राजेन्द्र शाक्य समेत तस्करीमा जोडिए।   ३३ किलो सुन तस्करीको अनुसन्धान अगाडि बढ्दै जाँदा जब पोद्दार पक्राउ परे हतार हतार समितिको अनुसन्धान टुङ्गाइयो र प्रतिवेदन बुझाउन लगाइएको थियो।

काठमाडौं:   प्रहरीले त्रिभुवन विमानस्थल काठमाडौंबाट दुबई जान लागेका ४ जनालाई सवा करोड नेपाली रुपैयाँ बराबरका विदेशी मुद्रासहित पक्राउ गरेको छ ।   बुधबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै हिमालय एयरलाइन्सको जहाजबाट दुबई जान लागेका सन्तोष पन्थी, दिपेश राना, सूर्यमणि भण्डारी र अनिश थापालाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुको साथबाट विभिन्न देशका १ लाख ६२ हजार भन्दा बढी विदेशी मुद्रा बरामद भएको छ ।   बरामद मुद्रा करिब सवा करोड रुपैयाँ बराबर रहेको विमानस्थल प्रहरी स्रोतले जनाएको छ । प्रहरी स्रोतका अनुसार करिब ४१ हजार ४०० अमेरिकी डलर, १ लाख १९ हजार ५०० साउदी रियाल, १३ सय ओमानी रियाल र बहरानी दिनारका ४८८ विदेशी मुद्रा बरामद गरिएको हो ।   यो मुद्रा सुन तस्करीसँग जोडिएको गिरोह र अवैध तस्करीको मुद्राको साँठगाँठ भएको हुन सक्ने प्रहरीको आशंका छ । पक्राउ परेका ४ नेपालीलाई गिरोहले भरियाको रुपमा प्रयोग गरेको हुनसक्ने प्रहरी स्रोतले जनायो । त्यसकै लागि उनीहरुमार्फत नै गैरकानुनी रुपमा विदेशी मुद्रा ओसारपोसार गराएको प्रहरीको आशंका छ ।   राजश्व अनुसन्धान विभागले मंगलबार र बुधबार मात्रै दुई दिन लगाएर हङकङबाट भित्रिएको करिब एक क्वीन्टल सुन बरामद गरेको थियो । विमानस्थलको कमजोर सुरक्षा प्रणाली र कर्मचारीहरुको मिलोमतोका कारण सुन, विदेशी मुद्रा तस्करी लगायतका अपराध मौलाउँदै गएको छ ।   प्रहरीका अनुसार हिमालयन एयरलाईन्सको उडान नम्बर एच ९-५४५ द्वारा काठमाण्डौंबाट दुबई प्रस्थान गर्न लागेका यात्रु जिल्ला रुपन्देही तिलोत्तमा नगरपालिका वडा नं. ९ तुलसिपुरका २४ वर्षिय अनिस थापालाई ब्यागेज चेकिङ एरियामा निजको शरीर खानतलासी एवं साथमा लिई आएको लगेजहरुलाई एक्सरे गर्ने क्रममा निजले लिई आएको खैरो रंगको ‘फेसन इटाली’ लेखिएको लगेज भित्र सेतो प्लाष्टिकले यापिङ गरेको अबस्थामा वरिपरि चाउचाउ राखिएको बीचमा अमेरिकन डलर १०० दरको थान ४१४ ले हुन आउने अमेरिकी डलर ४१ हजार ४ सय, रियल ५०० दरको थान- २१२, २०० दरको थान- ३२, १०० दरको थान- ७१ ले जम्मा साउदी रियल १ लाख १९ हजार ५ सय, ओमान रियाल ५० दरको थान-२६, २० दरको थान-१, १० दरको थान – २, ५ दरको थान – २, १ दरको थान- ७ ले जम्मा ओमानी रियाल १ हजार ३ सय ५७, बहराईनी डिनार २० दरको थान-१४, १० दरको थान – २, ५ दरको थान- १, १् दरको थान- ३ ले जम्मा बहराइनी डिनार ३ सय ८ बराबरको रकम लुकाई छिपाई बाह्य मुलुकतर्फ लैजान लागेको अवस्थामा प्रहरीले फेला पारेको हो ।   पक्राउ परेको रानालाई सोधपुछ गर्दा बरामद भएका विदेशि मुद्राहरु रानाका दाई तिलोत्तमा ९ का ३८ वर्षिय दिपेश रानाले सम्पर्क गरेका व्यक्तिहरु गुल्मी धुर्कोट ७ का २६ वर्षिय सन्तोष पन्थी, सत्यवती ६ का ३५ वर्षिय सुर्यमणी भण्डारीले दिएको बयान दिएको आधारमा उनीहरुलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।   प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय उडान तर्फको प्रस्थान पार्किङ एरियामा अनिसलाई छाड्न आएकाहरुले प्रयोग गरेको बाग्मती प्रदेश -०१-०२७ च ६२६६ नम्बरको गाडी समेत नियन्त्रणमा लिएको छ ।   प्रहरी समक्ष अनिसले आफुलाई छाड्न आएका पन्थीलगायतले आफूलाई दुबईमा भएको साथीलाई पठाएको चाउचाउ हो भनेर दिएकोबाहेक अन्य थाहा नभएको बयान दिएको प्रहरीको भनाई छ ।

काठमाडौं:  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारबाट जाँचपास भएको ठूलो परिणामको सुन ट्याक्सीबाट जफत भएपछि भन्सार विभागले छानबिन समिति बनाएको छ।   विभागको अनुसन्धान शाखाका निर्देशक मानबहादुर पौडेलको नेतृत्वमा छानबिन समित गठन भएको विभागका निर्देशक एवं सूचना अधिकारी पुण्यविक्रम खड्काले जानकारी दिए।   उक्त समितिले विमानस्थलको भन्सार जाँचपासमा क(कसको संलग्नता भएको भन्नेबारे छानबिन गर्ने सूचना अधिकारी खड्काले बताए।   समितिले भन्सार अधिकृतलगायत अन्य कर्मचारीहरूको संलग्नताबारे पनि छानबिन गर्न लागेको हो। विमानस्थलमा रहेका सिसिटिभी फुटेजमा पनि हेर्नेछ।   त्यस्तै अहिलेलाई भन्सार जाँचपासमा संलग्न कर्मचारीलाई निलम्बन गर्ने तयारीसमेत गरेको छ। अन्यको पनि संलग्नता खुले त्यसअनुसार कारबाही अघि बढाइने सूचना अधिकारी खड्काले जानकारी दिए।   राजश्व अनुसन्धान विभागले भन्सार जाँच पास भएर निस्केको ८० देखि १०० किलो अनुमानित सुन मंगलबार बरामद गरेको थियो। यसको यकिन विवरण खुलिसकेको छैन।   हङकङको क्याथे प्यासिफिक एयरलाइन्सबाट आएको स्कुटरको ब्रेक शुमा राखेर उक्त सुन ल्याइएको हो।   विभागले अहिलेसम्म यसमा संलग्न ६ जनालाई पक्राउ गरिसकेको छ। जसमा एक जना एजेन्टसमेत छन्।   विभागका महानिर्देशक नवराज ढुङ्गानाका अनुसार उक्त प्रकरणमा मुछिएका र पोलिएका व्यक्तिको खोजी जारी छ।    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार जाँचपास भएर बाहिरीसकेपछि बरामद भएको सुन जोख्न राष्ट्र बैंक पठाइएको छ । 

चितवन:    चितवनमा डेङ्गुबाट दुई हजार ३०६ जना सङ्क्रमित भएका छन्।   आर्थिक वर्ष २०७९/८० मा जिल्लामा डेङ्गुबाट चार जनाको मृत्यु भएको छ।   जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी राम केसीका अनुसार गत आवमा जिल्लाका विभिन्न अस्पतालमा १४ हजार ७२८ जनाको परीक्षण गरिएकामा तीन हजार तीन सय २४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको थियो।   चितवन बाहिरका छ सय ९५ जना र ठेगाना नखुलेका तीन सय २३ जना डेङ्गुबाट सङ्क्रमित भएका थिए।   जिल्लामा सबैभन्दा धेरै भरतपुर महानगरपालिकामा डेङ्गुको सङ्क्रमण देखिएको केसीले बताए। भरतपुरमा एक हजार छ सय ४६ जना, रत्ननगर नगरपालिकाका दुई पाँच ६५ र खैरहनी नगरपालिकामा एक सय ८४ जना सङ्क्रमित भएका थिए।   यस्तै राप्ती नगरपालिकामा एक सय जना, कालिका नगरपालिकामा ५५, माडी नगरपालिकामा ४० र इच्छाकमना गाउँपालिकामा १६ जनामा डेङ्गुको सङ्क्रमण देखिएको केसीले बताए।   डेङ्गु एडिस एजेप्टाइ र एडिस एल्वौपेक्टस नामक लामखुट्टेले टोकेर हुने तीव्र भाइरल सङ्क्रमण हो। यो रोगको सङ्क्रमण देखिएका बिरामीमा टाउको दुख्ने, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने,  ढाड, जोर्नी तथा माँसपेशी दुख्ने, शरीरमा बिमिरा आउने, वाकवाकी लाग्ने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, रक्तश्राव हुने वा शरीरमा रगत जमेको दाग देखापर्ने, बेहोस हुने आदि लक्षण देखा पर्ने चिकित्सक बताउँछन्।   डेङ्गुबाट बच्ने मुख्य उपाय लामखुट्टेबाट बच्नु हो । लामखुट्टे पानीमा बस्ने भएकाले घरको वरपर वा पानी जम्ने ठाउँजस्तैः गमला, फूलदान, खाली बट्टा, अलकत्रा वा मट्टितेलका खाली ड्रम, गाडीका काम नलाग्ने टायर आदिमा पानी जम्न नदिनु, बाहिर वा लामखुट्टेले तोक्ने ठाउँमा निस्कदा शरीर ढाकिने लुगा लगाउनुपर्ने र सुत्दा अनिवार्य झुलको प्रयोग गर्नुपर्छ, साथै साना केटाकेटीलाई जुनसुकै समयमा पनि झुलभित्र सुताउनुपर्ने उनको भनाइ छ ।