महोत्तरी: महोत्तरी गाउँपालिका–२ मा रहेको एनएमबी बैंकमा भएको लुटपाटको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक भारतीय युवकलाई पक्राउ गरेको छ। गएको जेठ १६ गते एनएमबी बैंकबाट १६ लाख रुपैयाँ लुटपाट भएको घटनामा संलग्न रहेको आरोपमा भारत विहार मधुबनीका २० वर्षीय अजयकुमार साफी पक्राउ परेका हुन् । चाररपाँच जनाको समूहले बैंकका कर्मचारी तथा सेवाग्राहीसमेतलाई कब्जामा लिएर रकम लुटपाट गरेको थियो । साफीलाई बुधवार हिजो बेलुका मटिहानी नगरपालिका–८ नेपाल भारत सीमा नजिकबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले बताउनु भयो । लुटपाटमा संलग्न अन्यको पहिचान भइसकेको प्रहरीले जनाएको छ । चाँडै नै उनीहरुलाई पक्राउ गरी सार्वजनिक गरिने प्रहरी उपरीक्षक प्रकाश मल्लले जानकारी दिनुभयो ।
काठमाण्डौ: वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले पछिल्लो एक वर्षमा अनुचित व्यापारिक क्रियाकलाप गर्ने झण्डै ८ सय फर्मलाई कारबाही गरेको छ । विभागले गएको आर्थिक वर्ष २०७९र८० मा सात सय ९९ वटा व्यापारिक फर्म र कम्पनी तथा उद्योगलाई कारबाही गरी आर्थिक जरिबाना गरेको हो । एक वर्षको बजार अनुगमनबाट अनुचित व्यापारिक कारोबारमा संलग्नलाई कारबाही स्वरुप जरिबाना गर्दा एक करोड ९८ लाख चार हजार रुपैयाँ राजस्व सङ्कलन भएको विभागका निर्देशक होमनाथ भट्टराईले जानकारी दिनुभयो । उहाँले सामान्य गल्ती गर्ने फर्मलाई एक पटक सुधारको मौकासमेत दिने गरेको बताउनुभयो । एक वर्षमा विभागले तीन हजार छ सय ९५ व्यावसायिक फर्मको अनुगमन गर्दा दुई हजार तीन सय ३८ वटा व्यावसायिक फर्ममा कैफियत भेट्टाएको थियो । दुई सय ९३ फर्ममा कैफियत देखिएपछि तत्काल सुधार गर्न निर्देशन दिइएको, एक हजार एक सय ५५ फर्मलाई आवश्यक कागजात वा स्पष्टीकरण पेस गर्न निर्देशन दिइएको, सात सय ९९ वटा फर्मलाई कारबाहीस्वरुप जरिबाना गरिएको र ९१ वटा फर्ममा अखाद्य वस्तु भेटिएपछि नष्ट गरिएको थियो । यस्तै, यो अवधिमा विभागले खान अयोग्य वा म्याद सकिएका एक करोड ६४ लाख ३२ हजार मूल्य बराबरको वस्तु नष्ट गर्न लगाइएको थियो । विभागले दैनिक उपभोग्य वस्तुको गुणस्तर र मूल्यमा केन्द्रित भएर बजार अनुगमन गर्दै आएको छ । तर अनुगमन प्रभावकारी हुन नसकेको उपभोक्ताको गुनासो छ । विभागले अनुगमनका क्रममा उपभोक्तासँग बढी मूल्य लिने, कृत्रिम अभाव सिर्जना तथा कालोबजारी गर्ने, म्याद सकिएका खानेकुरा बेच्ने तथा खरिद बिक्री बिल नराख्ने फर्मलाई पाँच हजारदेखि तीन लाख रुपैयाँसम्म जरिबाना गरिएको विभागले जनाएको छ ।
काठमाडौं: काठमाडौंमा १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नागार्जुन नगरपालिका–२, पाँचधारा घर भई सोही नगरपालिका–६, फस्कु बस्ने ५१ वर्षीय मनोज महर्जन रहेका छन् । महर्जनले ती बालिकालाई सोही नगरपालिका–४, सीतापाइलास्थित पार्किङमा राखेको हाल नम्बर नखुलेको बसभित्र लगेर बलात्कार गरेको आरोप छ । बलात्कार गरेको भन्ने उजुरीको आधारमा प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनलाई मंगलबार पक्राउ गरेको हो ।
काठमाण्डौ: नेकपा एमालेका सांसदले नाराबाजी गरेपछि प्रतिनिधिसभा बैठक स्थगित भएको छ । आज बुधवारको बैठकमा सुन तस्करीमा संलग्नहरूको अनुसन्धानका लागि उच्चस्तरीय छानबिन समिति गठन गर्न माग गर्दै एमाले सांसदले नाराबाजी गरेपछि बैठक कार्यसूचीमै प्रवेश नगरि स्थगित भएको हो । एमालेले सुन तस्करीमा गृहमन्त्री नारायणकाजी श्रेष्ठको पनि संलग्नता रहेको भन्दै उहाँको राजीनामा पनि मागेको छ । अब अर्को बैठक साउन १० गते सोमवारका लागि बोलाइएको छ ।
काठमाडौं: सत्तारूढ दल नेपाली कांग्रेसक सचेतक सुशिला थिङले तामाङ समुदायको संस्कृतिमाथि धावा बोल्ने अधिवक्ता भगवती पाण्डेलाई कारबाहीको माग गरेकी छन् । एउटा टेलिभिजन कार्यक्रममा पाण्डेले तामाङ समुदायमाथि दिएको अभिव्यक्तिको विषयलाई लिएर उनले कार्यक्रम प्रस्तोता र अधिवक्ता पाण्डेलाई कारबाहीको माग गरेकी हुन् । 'अधिवक्ता भगवती पाण्डेले दिएको अन्तर्वार्तामा तामाङ मगरलगायत अन्य जाति समुदायको आत्मसम्मानमा चोट पर्ने गरी जुन अभिव्यक्ति दिनुभएको छ, त्यसको घोर आपत्तिजनक भएकाले घोर भत्र्संना गर्न चाहन्छु,' उनले भनिन्, 'हाड नाताभित्र हुने विवाहले अपराध बढाएको दाबी गर्दै तामाङ समुदायमा दाजु बहिनीबीचमै विवाह हुँदा विवाह गर्ने व्यक्ति एकोहोरो हुने र अपराधामा संलग्न हुने भन्ने अभिव्यक्तिले मेरो मनमा सुन काण्डभन्दा बढी पोलेको छ ।' उनले यस्तो अभिव्यक्तिले आफू कति आपराधिक समुदायको माननीय भएछु भन्ने चिन्ता लागेको बताइन् । उनले गलत उदाहरण दिएर जाति समुदायको संस्कार संस्कृतिमाथि धावा बोल्ने जातीय तथा अन्य सामाजिक छुवाछूत तथा भेदभाव कसुर र सजाय ऐन २०६८ र मुलुकी अपराध संहिता २०७४ मर्मविपरीत भएकाले हदै सम्मको कारबाही गर्न माग गरिन् ।
कास्की: होटलमा मृतावस्थामा फेला परेका प्रहरी वरिष्ठ नायब निरीक्षक उज्ज्वल पौडेलको शव परीक्षण गण्डकी अस्पताल पोखरामा गरिने भएको छ । प्रहरी प्रधान कार्यालय काठमाडौँको निर्देशनमा उनको शव परीक्षणको लागि पोखरा पठाइएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक योगेन्द्रकुमार खड्काले जानकारी दिए । बागलुङको बडिगाड गाउँपालिकास्थित इलाका प्रहरी कार्यालय भीमगिठेका इञ्चार्ज पौडेल मृत फेला परेपछि प्रहरीले अनुसन्धान थालेको थियो । सोमबार राति मृत फेला परेको खबर सार्वजनिक भए पनि प्रहरीले मङ्गलबार साँझ उनको शवपरीक्षणको लागि धौलागिरी अस्पताल बागलुङ ल्याएको थियो । प्रहरी प्रधान कार्यालयले पोखरा पठाउन निर्देशन दिएकाले बागलुङमा शवपरीक्षण नगरी पोखरा पठाइएको प्रहरी उपरीक्षक खड्काले बताए । इञ्चार्ज पौडेल मृत फेला परेको होटलका सञ्चालक आशा कुँवर र उनका छोरा विनोदलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको छ । आजै उनीहरुलाई जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान सुरु गरिने प्रहरी उपरीक्षक खड्काले जानकारी दिए । ‘इञ्चार्ज पौडेलको हत्या अभियोगमा दुई जनालाई पक्राउ गरेका हौं’ उनले भने, ‘पौडेलले लगाएको सुनको सिक्र्री होटलको भन्छा कोठामा फेला परेको छ ।’ घटना शङ्कास्पद देखिएको जनाउँदै प्रहरी उपरीक्षकको नेतृत्वमा घटनास्थल बडिगाड गाउँपालिका–६ खार बजार पुगेको प्रहरीले आमाछोरालाई पक्राउ गरेको थियो । आशा होटल एण्ड खाजा घरमा प्रहरी इञ्चार्ज पौडेल मृत फेला परेका थिए । प्रहरीले घटनाका विषयमा अनुसन्धानपछि मात्रै वास्तविकता बताउने जनाएको छ । प्रहरी उपरीक्षक खड्काले भने, ‘अनुसन्धान भइरहेकाले थप शङ्का गरिएका विषयमा अहिले नै केही भन्न मिल्दैन ।’
काठमाडौँ : तामाङ, मगर, मुस्लिम लगायत समुदायको विवाह संस्कारबारे विवादास्पद अभिव्यक्ति दिने अधिवक्ताविरुद्ध नेपाल तामाङ घेदुङले प्रहरीमा जाहेरी दिएको छ । जातीय भेदभाव तथा छुवाछूत (कसुर र सजाय) ऐन २०६८, मुलुकी अपराध संहिता २०७४ विपरीत कसुर गरेको भन्दै गुल्मीकी अधिवक्ता भगवती पाण्डेविरुद्ध घेदुङका कार्यवहाक अध्यक्ष कुमारसिंह घिसिङले काठमाडौं जिल्ला प्रहरी कार्यालयमा मंगलबार जाहेरी दर्ता गरेका हुन् । अधिवक्ता पाण्डेले एक टेलिभिजन कार्यक्रममा हाडनाताभित्र हुने विवाहले अपराध बढाएको दाबी गर्दै तामाङ समुदायमा दाजुबहिनीबीच हुने विवाहबारे घृणा फैलाउने अभिव्यक्ति दिएकी थिइन् । जाहेरीमा अभिवक्ता पाण्डेसहित कार्यक्रम प्रस्तोता दिक्पाल कार्की र कार्यक्रम प्रसारण गर्ने टेलिभिजनलाई विपक्ष बनाइएको छ । उक्त जाहेरी जिल्ला प्रहरी परिसर काठमाडौंमा दर्तासमेत भइसकेको तामाङ घेदुङका कार्यवहाक महासचिव जगतमान लामाले जानकारी दिए । भगवती पाण्डे संघले टेलिभिजनलाई पनि विपक्षी बनाएको छ । कुनै समुदायको सामाजिक मान्यता, सांस्कृतिक मुल्य माथि चोट पुग्ने गरी र जातिय घृणा उत्पन्न हुने कुनै सामग्री प्रशारण पत्रकार आचार संहिता विपरित भएको कारण टेलिभिजनलाई विपक्षी बनाइएको हो । प्रेस काउन्सिल नेपालद्धारा जारी पत्रकार आचारसंहिता, २०७३ मा पत्रकार र सञ्चारमाध्यमले गर्न नहुने कामको दोस्रो बुँदामा भनिएको छ, ‘पत्रकार तथा सञ्चारमाध्यमले जातीय, लैङ्गिक, धार्मिक, क्षेत्रीय, भाषिक, राजनीतिक आस्था, वर्ण वा शारीरिक, मानसिक र स्वास्थ्य अवस्थाजस्ता कुनै पनि आधारमा कसैमाथि पनि भेदभाव हुने वा घृणा उत्पन्न गर्ने गरी समाचार सामग्री उत्पादन, प्रकाशन, प्रसारण र वितरण गर्नुहुँदैन ।’
बागलुङ: जिल्ला प्रहरी कार्यालय बागलुङले प्रहरी वरिष्ठ नायब निरीक्षक उज्ज्वल पौडेलको हत्या भएको प्रारम्भिक निष्कर्ष निकालेको छ । आज (बुधबार) प्रेस विज्ञप्ती जारी गर्दै प्रारम्भिक अनुसन्धानबाट पौडेलको हत्या भएको पुष्टि गर्दै हत्या आरोपमा दुई जनालाई नियन्त्रणमा लिएको जनाएको हो । जारी विज्ञप्तीमा भनिएको छ, ‘इलाका प्रहरी कार्यालय भिमगिठ्ठे बागलुङमा कार्यालय प्रमुखको रुपमा कार्यरत प्रहरी वरिष्ठ नायव निरीक्षक उज्जल पौडेल मिति २०८० साउन ८ गते ८ बजेको समयमा जिल्ला बागलुङ बडिगाड गाउँपालिका ६ खालबजार स्थित आशा होटल एण्ड खाजा घरमा गएकोमा सोही होटलका सञ्चालिका आशा कुँवर र निजतको छोरा विनोद कुँवरसँग विवाद हुँदा उज्जल पौडेलको टाउकोमा मुक्काले मरणासन्न हुने गरी कुटपिट गरी छातीमा लात्तिले प्रहरी गरी बेहोस भई भुँईमा ढलेपछि पर्दाको कपडाले घाँटीमा कसी साढे ११ बजेको समयमा हत्या गरेको र मृतकले घाँटीमा लगाएको सुनको सिक्रीसमेत निकाली किचन र्याकमा लुकाई राखेको अवस्थामा फेला परेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको हुँदा घटनामा संलग्न निम्न दुई जनालाई नियन्त्रणमा लिई ज्यान सम्बन्धि कसुरमा थप अनुसन्धान कार्य गरिरहेको छ ।’ पौडेलको हत्या आरोपमा आशा होटलका सञ्चालिका ५१ वर्षीया आशा कुँवर र आशाकी छोरा २० वर्षीय बिनोद कुँवर पक्राउ हिजो (मंगलबार) नै पक्राउ परेका थिए । प्रहरी प्रधान कार्यालयको निर्देशनमा मृतक पौडेलको पोष्टमार्टम भने गण्डकी अस्पताल पोखरामा गरिने बताइएको छ ।
नवलपुर: नवलपरासी (बर्दघाट सुस्तापूर्व)को बौदिकाली गाउँपालिका–६ मा जंगली च्याउ खाँदा दुईजनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले बौदिकाली–६ माझडाँडाका ९९ वर्षीय लिला आले र ६६ वर्षीय उमाकुमारी आलेको जंगली च्याउ खाँदा मृत्यु भएको बताए। उनीहरुले गत शुक्रबार स्थानीय जङ्गलमा पाइने च्याउ पकाएर खाएका जनाइएको छ। जंगली च्याउ खाएकामध्ये ललिता आले मगर, तारा आले र खगिरसार सिञ्जाली पनि बिरामी भएकामा उनीहरुको उपचारपछि निको भएका छन्। बिरामी भएका लिला र उमाकुमारीलाई स्थानीय स्वास्थ्य चौकीमा उपचार हुन नसकेपछि चितवन मेडिकल कलेज भरतपुर लगिएको थियो। स्थानीय नेत्रबहादुर सारुले भने, ‘उपचारका क्रममा मंगलबार राति उमाकुमारीको अस्पतालमा नै मृत्यु भएको हो,’ उनले भने, ‘लिलालाई उपचार सम्भव नहुने भन्दै अस्पतालले फिर्ता गरेपछि मङ्गलबार राति घरमा मृत्यु भएको हो।’ बिरामी भएका अन्य तीनजना स्थानीय स्वास्थ्य चौकीमा उपचारपछि निको भएर घर फर्किएको स्थानीय सारुले बताए। गत वर्ष पनि जङ्गलमा पाइने विषालु च्याउ खाएर स्थानीयको मृत्यु भएको र जङ्गलमा पाइने विषालु च्याउ खाने चलन नरोकिएकाले बर्सेनि बिरामी हुने समस्या यथावत् रहेको स्थानीयवासी तारा पुलामीले बताए।

