पोखरा ।   होटल संघ पोखरा नेपालले आयोजना गर्न लागेको २१ औँ फेवा नव वर्ष महोत्सवको तयारी तिब्र पारिएको छ ।   पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित यही चैत २९ गतेदेखि आगामी वैशाख १ गतेसम्म सञ्च...

काठमाडौं:    नेपाली सेनाको त्रिभुवन आर्मी क्लबको टोली फुटबल खेल्न भारत प्रस्थान गरेको छ । त्रिभुवन आर्मी क्लबको ४२ सदस्सीय टोली भारतको असम राज्यको गुवाहाटीमा आयोजित दुरान्द कप फुटबल प्रतियोगितामा भाग लिन त्यसतर्फ गएको हो ।            फुटबलका पूर्वराष्ट्रिय खेलाडी एवं नेपाली सेनाका अवकाश प्राप्त प्रमुख सेनानी वसन्तराज गुरुङ नेतृत्वको टोली भारतीय वायु सेनाको विमानमार्फत आज त्यसतर्फ प्रस्थान गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । भारतीय सेनाले आयोजना गरेको उक्त प्रतियोगिता यही साउन १७ गतेसम्म चल्ने छ । उक्त प्रतियोगितामा सहभागी हुने टोलीलाई नेपाली सेनाका बलाधिकृत रथी सरोजप्रताप राणाले शुक्रबार बिदाइ गर्नुभएको थियो ।       प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले भारतका दिल्ली एफसी, चेन्नाई एफसी र हैदरवाद एफसीजस्ता ए बरियताका फुटबल टोलीसँग प्रतिस्पर्धा गर्नेछ । त्रिभुवन आर्मी क्लब मुलुकको खेलकुद क्षेत्रको च्याम्पियन टोली हो । प्रतिभाशाली खेलाडी पहिचान गरी देशको खेलकुद क्षेत्रको विकासका लागि क्लबले महत्वपूर्ण योगदान पु¥याउँदै आएको छ ।      प्रतियोगितामा भाग लिने टोलीलाई सेनाले उच्च अनुशासन कायम गरी उत्कृष्ट खेल प्रदर्शन गर्न निर्देशन दिएको छ । प्रतियोगितामा प्राप्त अनुभवबाट आगामी दिनमा सञ्चालन हुने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताको तयारीका लागि मद्दत पुग्नेछ । यस्ता प्रतियोगिताले दुई देशबीचको सम्बन्ध प्रगाढ तुल्याउन तथा दुवै सङ्गठनबीच मित्रता र सहकार्यलाई नयाँ उचाइमा पु¥याउन योगदान पुग्ने सेनाले विश्वास लिएको छ ।

ढोरपाटन:    बागलुङमा सडेको अवस्थामा एक व्यक्तिको शव फेला परेको छ । बागलुङको निसीखोला गाउँपालिका–६ पातीहाल्ने नजिकैको जङ्गलमा बेवारिसे शव फेला परेको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक राजेश शर्मा अधिकारीले जानकारी दिए ।   शव कुहिएको अवस्थामा फेला परेको हुँदा पहिचान गर्न समस्या परेको उनको भनाइ छ । पातीहाल्ने जङ्गलमा पुगेका स्थानीयले शव फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए । खबर पाएलगत्तै घटनास्थलमा पुगेको प्रहरी टोलीले शवलाई बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याएको थियो । ‘शव कङ्काल बनिसकेको छ, धेरै दिन अगाडि मृत्यु भएको हुनसक्छ, शरीर कुहिएको अवस्थामा हड्डी मात्रै बाँकी रहेको हुँदा को व्यक्ति हो रु पहिचान गर्न सकिएको छैन’, प्रहरी निरीक्षक शर्माले भने, ‘जिल्ला मातहतका प्रहरीचौकीमा खबर गरेका छौँ, छिमेकी जिल्ला रोल्पा र रुकुममा पनि जानकारी गराएका छौँ तर अहिलेसम्म कुनै मानिस हराएको निवेदन नपरेको छैन ।’ शर्माले कुनै व्यक्ति हराएको भए प्रहरीमा खबर गर्नसमेत आग्रह गरे । मृतकले लगाएका कपडा सहजरुप चिन्न सकिने हुँदा त्यसबाट पनि पहिचान गर्न सकिने उनको भनाइ छ ।

स्याङ्जा:    गुरुकुलीय शिक्षा प्रणाली हराउँदै गएको बेला यहाँको रामनदीधाम संस्कृत गुरुकुलमा भने विद्यार्थीको चाप बढेको छ । मागभन्दा धेरै भर्ना हुन आउँदा गल्याङ नगरपालिका–१, रामनदीधामको बिद्यार्थीको चाप बढेको हो ।  गुरुकुलमा संस्कृत, बेद, व्याकरण, कर्मकाण्ड मात्र नभएर आधुनिक विषय विज्ञान, अग्रेदी, गणित, कम्प्युटरको पठनपाठन हुने गरेको छ । गुरुकुलका आचार्य कृष्णप्रसाद बस्यालले माध्यमिक तह ६–१० कक्षासम्म आवासीय रुपमा पढाइ हुने गुरुकुलमा संस्कार संस्कृतिसहित आधुनिक विषयवस्तुलाई पाठ्यक्रममा समावेश गरिएकाले विद्यार्थीको आकर्षण बढेको बताउनुभयो ।  २०४२ सालमा स्वर्गीय योगी नरहरिनाथले एक महिना १०८ बाह्मणद्वारा गायत्री कोटी हवन गरेर करिब ६ महिना परम्परागत रुपमा गुरुकुल सञ्चालन गरिएको थियो । गुरुकुलीय पद्धतिमा सरकारको पूर्ण दायित्व नहुने भएकाले समुदायको सहयोगमा सञ्चालन हुदै आएको छ ।  गुरुकुल व्यवस्थापन समितिका अध्यक्ष विष्णु देवानन्द सरस्वतीले  गुरुकुलमा हाल ८८ बटुक अध्ययनरत रहेको र चार सरकारी दरबन्दीका र चार निजी स्रोतका शिक्षकले शिक्षण सिकाइ क्रियाकलाप गराउँदै आएको बताउनुभयो ।     गुरुकुलमा गुरुकुल पाठशाला, कार्यालय, आवास गृह, शौचालय रहेको छन् भने गुरुकुललाई गल्याङ नगरपालिकाले र विभिन्न दाताको सययोगमा संचालन हुदै आएको छ । 

पाल्पा:    तानसेनको एक होटलमा जबर्जस्ती करणी गर्ने युवकलाई प्रहरीले पक्राउ गरेको छ । रुपन्देहीकी २५ वर्षीया महिलालाई डरधम्की देखाएर जबर्जस्ती करणी गर्ने पुरुषलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा रुपन्देही जिल्ला बुटवल उपमहानगरपालिका–९ बस्ने २४ वर्षका आशिष सुनार रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । गत साउन ५ गते तानसेनस्थित एक होटलमा ल्याएर ती पुरुषले आफूलाई जबर्जस्ती करणी गरेको र अश्लिल भिडियोसमेत बनाएको पीडितको भनाई छ ।  उक्त भिडियो सार्वजनिक गर्ने र भाइरल बनाउने डरधम्की दिएर पुनः बुटवल उपमहानगरपालिका–११, माझगाउँको एक होटलमा ती पुरुषले जबर्जस्ती प्रहरीले जनाएको छ । युवकले जबर्जस्ती गरेको अश्लिल भिडियो भाइरल गर्ने धम्की दिएर पटक–पटक करणी गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो । आरोपी पुरुषलाई पक्राउ गरी थप अनुसन्धान प्रक्रिया अगाडि बढाएको थापाले बताउनुभयो ।   

काठमाडौं:    आज  विश्व बाघ दिवस । दिवसका अवसरमा यसवर्ष पनि विश्वमा झैं नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । यसवर्षको यो दिवसको नारा ‘मानव–बाघ सहअस्तित्व’ रहेको छ ।      वन तथा वातावरण मन्त्रालयले दिवसको मुख्य कार्यक्रम अन्तर्गत ललितपुरको जावलाखेलस्थित चिडियाखानामा विशेष कार्यक्रम मनाउँदैछ । यसैगरी नेपाल टेलिकमका टेलिफोन सेवामा दिवसका दिन बाघ संरक्षणका लागि सचेतनासम्बन्धी ‘रिङटोन’ बज्ने व्यवस्था गरिएको मन्त्रालयअन्तर्गतको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ ।      दिवसकै अवसरमा बाघसम्बन्धी दश वर्षे (सन् २०२३–३२) कार्ययोजना सार्वजनिक गर्न लागिएको विभागका उपमहानिर्देशक अजय कार्कीले जानकारी दिनुभयो । कार्ययोजनामा बाघको सङ्ख्या वृद्धि भएसँगै थपिएको व्यवस्थापनको चुनौती र बढ्दो मानव–बाघ द्वन्द्वलाई व्यवस्थापन गर्नेसम्बन्धी मुख्य विषय रहेको उहाँले बताउनुभयो ।      पाटे बाघ संरक्षणको महत्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष जुलाई २९ मा ‘विश्व बाघ दिवस’ मनाइन्छ । सन् २०१० मा रुसको सेन्ट पिटर्सवर्गमा आयोजित अन्तर्राष्ट्रिय बाघ मञ्चले यस्तो घोषणा गरेको हो । उक्त मञ्चमा पहिलो विश्व बाघ सम्मेलन भएको थियो ।       पाटे बाघ विश्वका १३ देशमा पाइन्छन् । ती मुलुकका सरकार तथा राष्ट्र प्रमुखको सन् २०१० मा सेन्टपिटर्सवर्गमा भएको सम्मेलनले बाघको सङ्ख्यालाई सन् २०२२ सम्ममा दोब्बर बनाउने प्रतिबद्धता व्यक्त गरेको थियो । सङ्कल्प दोब्बर, वृद्धि झण्डै तेब्बर      उक्त सम्मेलनमा नेपालले सन् २००९ को गणनाअनुसार नेपालमा रहेका तत्कालीन बाघको सङ्ख्या एक सय २१ लाई बढाएर दोब्बर पुर्‍याउने प्रतिबद्धता जनाएको थियो । सन् २०२२ मा गरिएको राष्ट्रिय बाघ गणनाअनुसार नेपालमा हाल बाघको सङ्ख्या तीन सय ५५ पुगेको छ । नेपालले उक्त सम्मेलनमा बाघको सङ्ख्या दोब्बर बनाउन गरेको प्रतिबद्धताभन्दा बढी सङ्ख्याले बाघ बढाउन सफल भएको छ ।       उक्त गणनाअनुसार सबैभन्दा धेरै बाघ चितवन राष्ट्रिय निकुञ्जमा एक सय २८ वटा र बर्दिया राष्ट्रिय निकुञ्जमा एक सय २५ बाघ थिए । । साथै बाँकेमा २५, पर्सामा ४१ र शुक्लाफाँटामा ३६ वटा बाघ पाइएको विभागको तथ्याङ्क छ ।      नेपालले विसं २०६७ देखि बाघ दिवस मनाउँदै राष्ट्रियस्तरमा बाघ गणनासमेत गर्दै आएको छ । नेपालमा बाघको सङ्ख्या सन् १९९५ मा ९८, सन् २००० मा एक सय नौ, सन् २००५ मा एक सय २६, सन् २००९ मा एक सय २१, सन् २०१३ मा एक सय ९८ रहेको विभागको तथ्याङ्क छ । सन् २०१८ मा गरिएको गणनाअनुसार बाघको सङ्ख्या बढेर दुई ३५ पुगेको थियो ।           नेपाल बाहेक भारत, चीन, भुटान, रुस, बङ्गलादेश, भियतनाम, म्यानमार, मलेसिया, इन्डोनेसिया, थाइल्यान्ड र लाओसमा पाटे बाघ पाइन्छन् । विश्वभर सन् १९०० सम्म एक लाखको हाराहारीमा बाघको सङ्ख्या रहेको अनुमान थियो । त्यो सङ्ख्या सन् २०१० मा घटेर तीन हजार दुई सयमा सीमित भएको थियो । त्यसपछिका विश्वभरबाट भएका संरक्षणका प्रयासले बाघको सङ्ख्या बढेर २०१६ मा तीन हजार नौ सय र सन् २०२२ मा चार हजार पाँच सय पुगेको विश्व वन्यजन्तु कोषको तथ्याङ्क छ ।        सन् २०१६ को तथ्याङ्कअनुसार विश्वमा सबैभन्दा बढी भारतमा दुई हजार दुई सय २६ र सबैभन्दा कम लाओसमा दुई वटा बाघ थिए ।  बाघको आक्रमणबाट नेपालमा पाँच वर्षमा ५८ को मृत्यु      नेपालमा बाघको सङ्ख्या बढेसँगै यिनको व्यवस्थापन, मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरण, बासस्थान सुधारलगायत अन्य विविध विषय चुनौती बनेका छन् । मध्यवर्ती क्षेत्रका मानिसहरु घाँस दाउरा, निहुरो टिप्न र गाइभैंसी चराउन जाने क्रममा सामुदायिक वनभित्रै बाघको आक्रमणमा पर्ने गरेका छन् ।       उनीहरुलाई जङ्गल नजाने वातावरण बनाउन सरकारले वैकल्पिक जीविकोपार्जनको उपायको व्यवस्था मिलाउने किसिमका कार्यक्रमहरू पनि गर्दै आएको छ ।      हात्ती, बाघ, गैँडा, चितुवा, भालु, जङ्गली कुकुरलगायतका वन्यजन्तुको आक्रमणबाट पछिल्लो पाँच वर्षमा दुई सय मानिसको मृत्यु भएको तथ्याङ्क छ । साथै क्षतिपूर्तिवापत सरकारले रु ६० करोडभन्दा बढी रकम बेहोरिसकेको छ । वन्यजन्तुले मानिसलाई घाइते बनाउने, बालीनाली, घर, गोठको क्षतिलगायत घट्ना बढ्दै गएका छन् ।      त्यसमध्ये पछिल्लो पाँच वर्षमा मुलुकभर बाघबाट मात्र ५८ जनाको मृत्यु भएको तथ्याङ्क छ । आर्थिक वर्ष २०७९/८० मा बाघको आक्रमणबाट १२, आव २०७८/७९ मा २१, आव २०७७/७८ मा १३, आव २०७६/७७ मा आठ र आव २०७५/७६ मा बाघको आक्रमणबाट चारको मृत्यु भएको थियो ।      विश्व जन्तुकोष नेपालका राष्ट्रिय प्रतिनिधि डा घनश्याम गुरुङले मानव–वन्यजन्तु द्वन्द्व रोकथामका लागि जङ्गल वरपरका समुदायलाई जङ्गल नपस्ने गरी जीविकोपार्जनको विकल्प दिनुपर्ने, स्थानीयको वन्यजन्तुप्रति गर्ने आनीबानीमा परिवर्तन गर्नुपर्ने बताउनुभयो ।       साथै उहाँले वन्यजन्तुको वासस्थानको राम्रो व्यवस्थापन गर्नसके वन्यजन्तु बाहिर ननिस्कने र स्थानीय बासिन्दालाई पनि वैकल्पिक आयको व्यवस्था गर्न सके जीविकोपार्जनका लागि जङ्गल जान बाध्य नहुने अवस्था बनाउन सरोकारवाला सबै लाग्नुपर्नेमा जोड दिनुभयो ।      बाघलाई संसारभर प्रतीकात्मक प्राणीका रूपमा लिने गरिन्छ । प्राकृतिक सम्पदाका रूपमा रहेको बाघलाई सांस्कृतिक तथा ऐतिहासिक दृष्टिकोणले पनि महत्वपूर्ण मानिन्छ । जैविक प्रणालीलाई सन्तुलनमा राख्न पनि यसले योगदान पुर्‍याउँछ । खाद्य शृङ्खलामा बाघ मुख्य शिकारी वन्यजन्तु भएका कारणले अन्य जनावरलाई नियन्त्रणमा राखी वातावरण सन्तुलनमा यसको उल्लेखनीय योगदान हुन्छ ।

सुडानमा तैनाथ शान्ति सैनिक अमल्दार राम बहादुर बाँठाको  झुन्डिएको अवस्थामा मृत भेटिएका छन।   शेर गण (शान्ति सेना) बाह्रौँ डफ्फामा कार्यरत उनी रुम्बेकस्थित गण हेर्डक्वार्टमा झुण्डिएको अवस्थामा भेटिएका हुन।   उनी जाजरकोटको खलंगा गाउँपालिका ६ का बासिन्दा हुन।   सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार शव पोष्टमार्टमपछि नेपाल ल्याउनेछ ।

पोखरा:   प्रेस चौतारी गण्डकी प्रदेश समितिले नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश कार्यालयमा तालाबन्दी गरेको छ । पत्रकार महासंघ गण्डकी प्रदेशले साउन १० गते गरेको शुद्धीकरणको निर्णयमा असहमति जनाउँदै प्रेस चौतारी गण्डकी प्रदेश समितिले शुक्रबार विज्ञप्ती बुझाउँदै महासंघको कार्यालयमा तालाबन्दी गरेको हो । शुद्धीकरणको मापदण्ड विपरीत गण्डकी प्रदेश समितिले सिफारिस गरेको नामावलीप्रति गम्भिर असहमति जनाउँदै प्रदेश कार्यालयमा तालाबन्दी गरिएको प्रेस चौतारी गण्डकी प्रदेशका अध्यक्ष इन्द्र पौडेलले बताए । ‘प्रदेश समितिले पत्रकारिता गरिरहेकालाई विभिन्न बाहना बनाएर हटाउने र राजनीतिक कार्यकर्तालाई अनेक तरिकाबाट सिफारिस गरेको छ,’ उनले भने, ‘राजनीतिक पुर्वाग्रहीका साथ अघि बढेको प्रदेश समितिलाई गल्ती सच्याउन पटकपटक आग्रह गर्दा एकपक्षीय रुपमा अगाडी बढेकाले प्रेस चौतारी महासंघको गण्डकी प्रदेश कार्यालयमा अनिश्चितकालिन तालाबन्दी गर्न बाध्य भएका छौं ।’ प्रदेश समितिले नविकरणको राजनीति गरेर स्वच्छ पत्रकारितालाई धमिलो बनाउने काम गरेको प्रेस चौतारी कास्कीका अध्यक्ष अर्जुन गिरीले आरोप लगाए । शुद्धीकरणका १५ बुँदै मापदण्ड नगरी मनपरी रुपमा चौतारीका सदस्यलाई बाइपास गर्न खोजेको उनको आरोप छ ।‘जिल्लाले पठाएको शुद्धीकरणमा प्रदेशबाट न्याय होला भनेको त जिल्लाबाटपठाएको नामहरुबाट मनपरी रुपमा काटे छ । चौतारीका सदस्यलाई पाखा लगाउने काम गरेको छ,’ उनले भने, ‘प्रदेशको त्यो निर्णयबाट कुनै पनि संगठन खुसी छैनन् ।’ पत्रकार महासंघ कास्कीले शुद्धीकरणको मापदण्डभित्र पर्ने भन्दै २ सय १६ जनाको नाम सिफारिस गरेको थियो । प्रदेश समितिले जिल्लाको सिफारिसमा परेका नामलाई थपघट गर्दै १ सय ८४ जनाको नाम केन्द्रमा सिफारिस गरेको थियो ।

तनहुँ:   आँबुखैरेनी गाउँपालिका–२ एक्लेफाँटकी ४६ वर्षीया चिजा गुरुङ प्रायः दिनमै सुत्ने र रातमा जागा बस्दै आउनुभएको छ । स्थानीय मर्स्याङ्दी जलविद्युत् आयोजनाको बाँधको पानीको सतह बढ्दा केही वर्ष पहिले ससुरा ७२ वर्षीय मनिराज गुरुङको बगाएर मृत्यु भएपछि त्रासले आफू राति सुत्नै नसकेको चिजाले बताउनुभयो । “पानी परेका बेला मर्स्याङ्दीको भेल बढेर घरभित्रै पसौँला झैँ गर्छ”, उहाँले भन्नुभयो, “त्यसैको डरले गर्दा राति सुत्नै सकिँदैन । दिनमा सुत्ने र राति जागा बस्नु हाम्रो दैनिकी जस्तै बनेको छ ।” केही वर्ष पहिले घर पछाडि करिब ५० हात जति पर मात्र मर्स्याङ्दीको पानीको सतह भए पनि २०७८ सालमा आएको बाढीले आफूसहित स्थानीय १४ घर बगाएर लैजाने अवस्थामा रहेको उहाँले जानकारी दिनुभयो । मर्स्याङ्दीको बाँधको सतह बढ्दा स्थानीय बद्री घिमिरे, मिलन गुरुङ, दलबहादुर माकिम मगर, तारा राना, उद्धव पौडेल, विष्णु पराजुली र सुन्दर बानियाँलगायतको घर बगाउने जोखिममा छ । पानी परेपछि आफूसहित स्थानीयहरु घर अघि पृथ्वी राजमार्ग किनारामा रहेको चौतारामा बसेर रात काट्ने गरेको स्थानीय ५८ वर्षीय मिलन गुरुङले बताउनुभयो । आफूहरुले मुआब्जाको लागि मर्स्याङ्दी जलविद्युत् आयोजनालाई पटकपटक भने पनि कुनै वास्ता नगरिँदा आफूहरु जोखिममा रहेको मिलनको भनाइ छ । “मर्स्याङ्दीको बाँधले बस्ती नै डुबाउला जस्तो भइसक्यो”, मिलनले भन्नुभयो, “मुआब्जाका लागि पटकपटक पहल गरे पनि कसैले वास्ता नगर्दा कुनबेला मर्स्याङ्दीमा परिन्छौँ भन्ने चिन्तामा छौँ ।” घर पछाडि मर्स्याङ्दीको बाँधबाट बचाउन जालीमा ढुङ्गा भरेर लगाइए पनि त्यो संरचना कमजोर हुँदा  पानी ठेलिएर घर बगाउने अवस्थामा पुगेको मिलनले बताउनुभयो । आफूहरुले मर्स्याङ्दी जलविद्युत् परियोजनाका कर्मचारीलाई सिमेन्टको बलियो पर्खाल बनाउन भने पनि बेवास्ता गरिएको उहाँको भनाइ छ । “मर्स्याङ्दीको बाँधबाट बस्ती बचाउन सिमेन्टको बलियो पर्खाल लगाउन भनेका थियौँ”, मिलनले भन्नुभयो, “तर हाम्रो मागलाई वास्तै नगरी सतहमाथिबाट तारजालीमा ढुङ्गा भरेर झारा टार्ने काम गरी छाडिएको छ ।” आफूले करिब साढे तीन करोड रुपियाँ लगानी गरी पार्कसहित करिब साढे दुई रोपनी क्षेत्रफलमा धौलागिरि हाइवे रेष्टुरेन्ट सञ्चालन गरे पनि मस्र्याङ्दीको बाँधको बहाव बढेर खोतल्दै गएपछि रेष्टुरेन्ट नै बन्द गरी अन्यत्र विस्थापित हुनु परेको स्थानीय सुन्दर बानियाँले बताउनुभयो । पृथ्वी राजमार्गका यात्रुलाई लक्षित गरी रेष्टुरेन्ट सञ्चालन गरेको थिएँ”, बानियाँले भन्नुभयो, “तर अहिले मर्स्याङ्दीको बहाब बढेर लैजाने अवस्थामा पुगेपछि बन्द गर्नु परेको छ । कुन बेला बगाएर लैजाने हो भन्ने चिन्ताले सताएको छ ।” मर्स्याङ्दीको बाँधले सार्वजनिक र व्यक्तिको गरी सयौँ रोपनी क्षेत्रफल बगाएर बस्ती नै जोखिममा परेकाले उचित मुआब्जा वितरण छिटो गरी बस्ती खाली गरिनुपर्ने आफूहरुको माग भएपछि ढिलासुस्ती गरिएको बानियाँले बताउनुभयो । आफूहरुले छिटो मुआब्जा पाउनुपर्ने भन्दै प्रतिनिधिसभा सदस्य शङ्कर भण्डारीले साथ दिँदै आउनुभएको बानियाँले जानकारी दिनुभयो । गाउँपालिकाको विपद् र जिल्ला विपद् समितिले समेत उक्त क्षेत्रको १४ घर र १० रोपनी व्यक्तिगत जग्गासमेत अधिग्रहण गर्नुपर्ने निष्कर्ष निकालेर सम्बन्धित मन्त्रालयमा करिब डेढ वर्ष अघि नै सिफारिस गरिए पनि मुआब्जा वितरण ढिला हुँदा स्थानीय मस्र्याङ्दीको त्रासमा बस्न बाध्य हुनुपरेको आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले बताउनुभयो । “हामी उहाँहरुले छिटो मुआब्जा पाउनुपर्छ भनेर लागि रहेका छौँ”, आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष चुमानले भन्नुभयो, “मुआब्जा ढिला दिँदा थप क्षति हुनसक्ने खतरा छ । पटकपटक ताकेता लगाउँदा पनि प्रक्रिया ढिलो हुनु दुःखद्कुरा हो ।” आफूहरुले सम्पूर्ण प्रक्रिया पूरा गरी उक्त क्षेत्रको घरसहितका जग्गा अधिग्रहण गर्नुपर्ने ठहर गर्दै केन्द्रमा परिपत्र गरे पनि प्रक्रिया ढिला हुँदा स्थानीयमा बाढीको त्रास कायमै रहेको निमित्त प्रमुख जिल्ला अधिकारी काशीराम गैरेले बताउनुभयो । “अधिग्रहण गरिएका घर र जग्गाको मुआब्जा पाउन नसक्दा स्थानीय अन्यत्र जान सकेका छैनन्”, उहाँले भन्नुभयो, “वर्षायामको समयमा थप क्षति हुनसक्ने अवस्था भएकाले तत्कालै मुआब्जा वितरण गर्नेतर्फ केन्द्रमा ताकेता गरे पनि प्रक्रिया ढिलो भएको छ ।”

काठमाडौं:    थानकोटबाट चित्लाङ  जाँदै गरेको गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।  मृत्यु हुनेमा सिन्धुली घर भएका २० वर्षीय नवराज ठोकर तामाङ र काभ्रे  घर भएका ४५ वर्षका अनिल तामाङ रहेको प्रहरी वृत्त थानकोटका प्रहरी नायब उपरीक्षक (डिएसपी) नारायणप्रसाद अधिकारीले जानकारी दिए।  थानकोटबाट चित्लाङ जाँदै गरेको वा १० च ३५४६ नम्बरको मारूती भ्यान पानीघाटनजिक भीरबाट खसेको थियो। गाडीमा पाँच जना सवार रहेकोमा ३ जनालाई सकुशल उद्धार गरिरएको डिएसपी अधिकारीले बताए।  गाडी के कारणले दुर्घटना भएको हो भन्ने विषय खुलेको छैन। गाडी सडकबाट पाँच सय मिटर तल सडकमा खसेर क्षतविक्षत भएको छ। घटनास्थलमा पानीघाटमा रहेको सेनाको टोली समेत पुगेको छ।