ढोरपाटन: बागलुङ तीन मुख्य राजमार्गले जोडिएको छ । पूर्व–पश्चिम जोड्ने मध्यपहाडी लोकमार्ग, चीन–भारत जोड्ने कालीगण्डकी करिडोर र तराई–पहाड जोड्ने सालझण्डी–ढोरपाटन सडकले जिल्लाका अधिकांश पालिका जोडिन्छन् । बरेङ , ताराखोला र तमानखोलाबाहेक सात गाउँपालिकामा यी मुख्य सडक पुगेका छन् । तर मध्यपहाडी लोकमार्गबाहेक अन्य सडकमा गाडी कम गुड्छन् । अर्बौँ लगानीमा निर्माण भएका कालीगण्डकी करिडोर र सालझण्डी–ढोरपाटन सडक अहिलेसम्म पनि पूर्णरूपमा स्तरोन्नति हुनसकेका छैनन् । स्तरोन्नति नभएका सडकमा जोखिम मोलेर कसैले पनि यात्रा गर्दैन । मध्यपहाडी लोकमार्गले बागलुङको पूर्वी सिमाना मालढुङ्गाबाट पश्चिम सिमाना पातीहाल्नेसम्म जोडिएको छ । यस सडकमा बाह्रै महिना देशको राजधानी काठमाडौँलगायतका ठूला सहरबाट यातायात सञ्चालन हुन्छ । यस सडकले जिल्लाको बागलुङ नगरपालिका, ढोरपाटन, गलकोट नपा, काठेखोला, बडिगाड र निसीखोला गाउँपालिका गरी छवटा पालिका जोडिएको छ । उत्तर–दक्षिण जोड्ने कालीगण्डकी करिडोरले जैमिनी नपा र बागलुङ नपा जोडिएको छ । यो सडकमा स्थानीय गाडीमात्रै चल्छन् । ठूला सहरबाट गाडी आउँदैनन् । सालझण्डी–ढोरपाटन सडकले निसीखोला गाउँपालिका र ढोरपाटन नगरपालिका जोडिन्छ । यस सडकमा पनि ठूला सहरबाट गाडी सञ्चालन भएका छैनन् । मध्यपहाडी लोकमार्गको अब करिब १२–१४ किलोमिटर सडक कालोपत्र हुन बाँकी छ भने सालझण्डी–ढोरपाटन स्तरोन्नतिका लागि सरकारले रु ६२ करोड विनियोजन गरे पनि अहिलेसम्म निर्माण कम्पनीले काम गरेको छैन । नेपालको एकमात्रै सिकार आरक्षण ढोरपाटन जोड्ने सडकको दुरावस्था छ । कालीगण्डकी करिडोरको बागलुङ खण्डअन्तर्गत करिब ३२ किलोमिटर पर्छ । अहिले यस खण्डमा काम भइरहेको जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले बताउनुभयो । उहाँले राष्ट्रको गौरवको आयोजनाका काम तीव्रगतिमा नहुँदा हजारौँ नागरिकले समस्या भोग्नुपरेको बताउनुभयो । विसं २०७३ मा खुलेको करिडोरको ट्रयाक अहिले बल्ल स्तरोन्नति हुन थालेको छ । समयमा योजनाको काम नसकिँदा व्यापारिक केन्द्रबाट चल्नुपर्ने गाडी चल्न नसकेको उहाँको भनाइ छ । कालीगण्डाकी करिडोर कालोपत्र भएर निरन्तर सञ्चालनमा आए बागलुङबाट बुटवल पुग्न झन्डै दुई घन्टाको दूरी छोटिने उहाँले बताउनुभयो । “करिडोर दुई–तीन देशमात्रै जोड्ने सडक नभएर व्यापारिक सडक पनि हो, यो सडक सञ्चालनमा आए भारतबाट सिधै बागलुङमा सामान ढवानी गर्न सकिन्थ्यो, बुटवल, भैरवहालगायत तराईका व्यापारिक केन्द्रमा पुग्न पोखरा पुग्नुपर्ने थिएन”, उपप्रमुख शर्माले भन्नुभयो, “करिडोर हुँदै बुटवल पुग्न पोखराबाट भन्दा यताबाट झन्डै दुई घन्टा छोटो हुन्छ, अहिले काम भइरहेको छ, निरन्तर यातायात सञ्चालन हुन थाल्यो भने यो सडकले बागलुङको मुहार फेर्ने छ ।” मध्यपहाडी लोकमार्ग बागलुङ खण्डमा एक सय ४२ किलोमिटर पर्छ । त्यसमध्ये अधिकांश क्षेत्रमा कालोपत्र भए पनि काठेखोला खण्डमा काम हुनसकेको छैन । ट्रयाक खुलेको साढे दुई दशक बढी हुँदा पनि सडक स्तरोन्नति हुन नसक्दा लोकमार्गमा यात्रा गर्ने हजारौँ यात्रुले सास्ती खेप्नुपरेको काठेखोलाका अध्यक्ष राजु थापाले बताउनुभयो । यो सडकमा हरेक दिन दर्जनौँ साना–ठूला गाडी गुड्ने गरेको भन्दै सडक साँघुरो र अप्ठ्यारो हुँदा दुर्घटना जोखिम पनि उत्तिकै बढेको उहाँको भनाइ थियो । सालझण्डी–ढोरपाटन सडक बागलुङ खण्डमा गङ्गरेबाट ढोरपाटनसम्म ६१ किलोमिटर पर्छ । गुल्मी खण्डमा कालोपत्र गर्ने ठेक्का लगाइएको छ भने अर्घाखाँची खण्डमा १३ किलोटिर कालोपत्र भएको छ । यस सडकलाई यस वर्ष रु ४० करोड विनियोजन भएको थियो । ढोरपाटन नपाका उपप्रमुख धनबहादुर कायत (कल्याण)ले घरै अगाडि सडक भए पनि स्थानीयले सहजरूपमा प्रयोग गर्न नपाएको बताउनुभयो । ढोरपाटन प्राकृतिकरूपले सम्पन्न भए पनि सडकका कारण पर्यटकले सास्ती खेप्नुपरेको उहाँले बताउनुभयो । उहाँले निर्माण कम्पनी र आयोजना कार्यालयलाई काम तीव्रगतिमा अगाडि बढाउन आग्रह गरे पनि सुनुवाइ नभएको बताउनुभयो । केन्द्रीय आयोजना हुँदा नगरपालिकाले काम गर्न नसकेको भन्दै सडकलाई सहज नबनाएसम्म नागरिकले दुःख पाइराख्ने उहाँको भनाइ छ । हिउँदमा धुलो र बर्खामा हिलोले आजित हुनुका साथै साँघुरो सडक हुँदा यात्रा जोखिमपूर्ण हुने गरेको उहाँले बताउनुभयो । “दिनदिनै ढोरपाटनमा पर्यटक आउने गर्छन्, सडकको अवस्था देखेर निरास भएर फर्किन्छन्, निर्माण कम्पनीले समयमै काम नगर्दा यसको असर स्थानीय र पर्यटकलाई परेको छ”, उहाँले भन्नभयो, “हामीहरू भन्दाभन्दा हैरान भयौँ, जनताले नगरपालिकाले सडक बनाएन भन्छन्, यो सडक बनाउने अधिकार हामीलाई छैन, पर्यटकीय गन्तव्यका रूपमा उत्कृष्ट रहेको ढोरपाटन सडकका कारण पछाडि परेको छ ।”
पोखरा: जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक युवालाई प्रकाउ गरेको हो । लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय पोखरा र वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले पोखरा महानगरपालिका ८ ईन्द्रुरी टोल बस्ने ३७ वर्षीय दिक्षित तुलाचनलाई लागूऔषधसहित प्रकाउ गरेको हो । प्रहरीले तुलाचनको कोठामा खानतलासी गर्दा ब्राउस सुगर जस्तो देखिने पदार्थ ८ ग्राम, ब्रुफिनुर्फिन ३७ एम्पुल, डाईजापाम ७० एम्पुल, फेनेरागन ६७ एम्पुल गरी २ सय ४ एम्पुल र ४ सय ७० ग्राम लागूऔषध गाँजा, नाईट्रोभ्याट ३सय ५ ट्याब्लेट, डिजिटल तराजु २ थान र मोबाईल १ थान सहित प्रकाउ गरेको हो । प्रकाउ परेका युवालाई जिल्ला अदालत कास्कीबाट लागूऔषध मुद्धामा ५ दिनको म्याद थपगरी अनुसन्धान भइरहेको जनाएको छ ।
काठमाडौं: काठमाडौंमा आजोजना हुने दोस्रो संस्करणको किंग्स कप पुरुष भलिबल प्रतियोगिताको तयारी तिब्र पारिएको छ । किंग्स क्लब काठमाडौंले आगामी साउन २३ देखि २७ गतेसम्म ढोरपाटन भलिबल प्रशिक्षण केन्द्र नयाँ बसपार्कमा आयोजना हुने ‘दोस्रो किंग्स कप पुरुष भलिबल प्रतियोगिताको’ तयारी तिब्र पारिएको संस्थाका अध्यक्ष अञ्चल शाहीले जानकारी दिए । उनका अनुसार घान्द्रुक दुर्घटनामा ज्यान गुमाएका क्लबका सक्रिय सदस्य बिनय पन्तको स्मृतिमा सो प्रतियोगिता सञ्चालन हुदै आएको छ । उनले सो प्रतियोगिताको विजेता टिमलाई नगद रु २ लाख २ हजार शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिने बताए । उनका अनुसार उपविजेता टोलील १ लाख १ हजार तथा शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै सान्त्वना स्थान हाँसिल गर्ने समुहले ५० हजार ५ सय रुपैयाँ तथा शिल्ड, मेडल र प्रमाणपत्र हात पार्नेछ । यस्तै चौथो हुने समुहलाई पनि हौसला प्रदान गर्दै २० हजार २ सय रुपैयाँले पुरस्कृत गरिनेछ । अध्यक्ष शाहीले विधातर्फ सर्वोकृष्ट खेलाडीलाई ८ हजार, उत्कृष्ट सेटर, उत्कृष्ट सर्भर, उत्कृष्ट स्पाइकउत्कृष्ट डिफेन्डर, उत्कृष्ट ब्लकर, उदीयमान खेलाडी र उत्कृष्ट प्रशिक्षक जनही ३÷३ हजार प्रदान गरिने बताए । उनका अनुसार सो प्रतियोगितामा नेपाल पुलिस क्लब, एपिएफ क्लब, आर्मीको जगदल गण, गण्डकी प्रदेश, जिएम समाज नवलपुर, खोटाङ हलेसी पूर्व, किंग्स क्लब काठमाडौं, न्युटन स्कुल लगायतका टिमहरुले सहभागीता आयोजकले जनाएको छ ।
काठमाडौं: नेपाल मगर संघले अधिवक्ता भगवती पाण्डे (शितल) लाई पक्राउ नगरे आन्दोलन थाल्ने चेतावनी दिएको छ । संघले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै तामाङ, मगर, मुस्लिम लगायत विभिन्न समुदायविरोधी अभिव्यक्तिपछि मगर समुदायले जाहेरी दिइसकेको अवस्थामा पनि पक्राउ नगरिएको भन्दै आन्दोलन थाल्ने चेतावनी दिएको हो । पाण्डेलाई पक्राउ गर्न आनाकानी गरे दबाब दिन जिल्ला प्रहरी परिसर काठमाडौंमात्रै नभएर देशैभरका जिल्ला प्रशासन कार्यालय घेराउ गर्ने संघ अध्यक्ष ज्ञानेन्द्र पुनमगरले बताए । उनले नेपाल बहुभाषिक, बहुसांस्कृतिक मुलुक भएकाले देशको विविधता र संविधानअनुसार अभिव्यक्ति दिनुपर्ने उल्लेख गरे । पुनमगरले साउन ९ गते अधिवक्ता भगवती पाण्डेविरुद्ध जाहेरी दर्ता गरेर पक्राउ पुर्जी जारी गरे पनि उनलाई पक्राउ गर्न प्रहरीले आनाकानी गरिरहेको आरोप लगाए । यस्तै नेपाल तामाङ घेदुङले पनि पत्रकार सम्मेलनको आयोजना गरी तत्काल पाण्डेलाई पक्राउ गर्न आग्रह गरेको छ । यद्यपी तामाङ घेदुङले पनि देशव्यापी आन्दोलन गर्ने घोषणा गरिसकेको छ । अधिवक्ता पाण्डेले एक टेलिभिजनको टक शोमा जातिय सद्भाव भड्किने खालको अभिव्यक्ती दिएकी थिइन् । त्यसपछि उनी आलोचित हुदै आएकी थिइन् । चौतर्फी दबाबपछि पाण्डे विरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । तर अहिलेसम्म उनलाई पक्राउ गरिएको छैन ।
पोखरा: गण्डकी प्रदेश आर्थिक मामिला मन्त्री जीतप्रकाश आलेमगरले मुलुकको विकासका लागि तीनै वटै तहको सरकार एउटै बाटोमा हिड्नु पर्ने बताएका छन् । भिमाद नगरपालिकाको नीति, बजेट कार्यक्रमको सार्वजनिक गर्दै आज (सोमबार) मन्त्री आलेमगरले यस्तो अभिव्यक्ति दिएका हुन् । उनले मुलुकको दिगो विकासका लागि संघीय, प्रदेश र स्थानीय सरकार एक आपासमा समन्वय गरी अगाडी बढ्नुपर्नेमा जोड दिए । उनले तीन वटै तहको सरकार तीन तिर फर्केको प्रति गुनासो गरे । ‘मुलुकको दिगो विकासका लागि स्थानीय, प्रदेश र संघीय सरकार समन्वय गरेर संगै हिड्नु जुरूरी छ, उनले भने, त्यसका लागि आर्थिक मामिला मन्त्री हैसियतले समन्वय गर्ने प्रयास गरिरहेको छु ।’ उनले एक आपसको सहकार्यले मात्र देशको दिगो विकासको लक्ष्य हासिल गर्न सकिने बताउदै एउटै लयमा हिड्नेपर्ने बताए । ‘तीन वटै सरकार तीन तिर हिडेर मुलुकको हित कहिल्यै हुदैन । अब तीन तहकै सरकार एउटै बाटोमा हिड्नु विकल्प छैन,’ उनले भने । जनप्रतिनिधिहरू आर्थिक शुसानमा बस्नुपर्ने मन्त्री आले मगरले बताएका थिए । मन्त्री आलेमगरले घिरिङ १ पुट्टार उत्तर बाहिनी क्षेत्रमा संचालित पुरूषोत्तम महायज्ञको समापनसमेत गरेका थिए ।
पोखरा: गण्डकी प्रदेशका विभिन्न जिल्ला खेलकुद खेलकुद विकास समितिहरुले आफ्नो वार्षिक प्रतिवेदन प्रस्तुत गरेका छन् । प्रदेश खेलकुद परिषद गण्डकीद्वारा आयोजित एक कार्यक्रममा प्रगति विवरण प्रस्तुत गर्नुका साथै जिल्लाहरुमा भएका गतिविधिहरुका बारेमा समेत समिक्षा गरिएको हो । आर्थिक वर्ष २०७९÷०८० को प्रगति विवरण संगै चालु आर्थिक वर्षका लागि विनियोजित बजेट र कार्यक्रमका बारेमा छलफल भएको परिषदका सदस्य सचिव श्रीधर शर्माले जनाएका छन् । परिषदले जिल्लामा आयोजना हुने खेलकुदको संभावना, चुनौती र अवसर, खेलहरुको विवरण र पूर्वाधारको अवस्था, जिल्ला खेलकुदहरुको आम्दानीका श्रोत तथा सम्भावनाहरु, जिल्लामा दर्ता गरिएका विभिन्न खेल संघहरुको विवरणलगायतका विषयहरुलाई केन्द्रविन्दुमा राखेर छलफल गरिएको सदस्य सचिव शर्माले बताए । “हामी अहिले जिल्ला खेलकुद विकास समितिमार्फत जिल्लामा रहेका खेल पूर्वाधारहरुको संरक्षण, खेल संघहरुको नविकरण, चालु आर्थिक वर्षको बजेटलाई खर्च गर्ने विषयमा गम्भिर रुपमा छलफल गरेका छौं,” सदस्य सचिव शर्माले भने–“हामीले प्रशिक्षक र खेलका निर्णायकहरुको सूचिकरणको प्रक्रियालाई समेत समयमा नै सक्नु पर्ने भएकोले आजको छलफलले दिशा निर्देश गरेको छ भने हामी अव कार्यविधि नै बनाएर सबै कुरालाई विधिवत रुपमा स्थापित गर्दैछौं ।” जिल्ला खेलकुद संघहरु कमजोर हुँदा खेल विकासले गति लिन नसक्ने बताउँदै कार्यविधि निर्माण गरेर आर्थिक र प्रशासनिक सुशासन निर्माणका लागि परिषद अझै गम्भिर भएर अघि बढ्ने सदस्य सचिव शर्माले बताए । जिल्ला खेलकुद विकास समितिहरुमा कर्मचारीहरुको अभाव रहिरहेको बताउँदै कर्मचारीहरुको परिपुर्ती गर्न परिषदले आवश्यक निर्णय समेत गर्ने उनको भनाई थियो । जिल्ला खेलकुद विकास समिति कास्कीका अध्यक्ष तोरण बहादुर बानियाँ, तनहुँका अध्यक्ष अनिल पाण्डे, गोर्खाका अध्यक्ष शान्तसिंह बस्नते, नवलपुरका अध्यक्ष सेत पुन, पर्वतका अध्यक्ष हर्कमान गुरुङ र म्याग्दीका अध्यक्ष दिनेश केसीलगायत जिल्ला खेलकुदका कार्यालय प्रमुखहरुले समेत जिल्लाको वस्तुस्थितीका बारेमा जानकारी गराएका थिए । छलफल कार्यक्रममा परिषदका कार्यकारी सदस्य द्वय दिल बहादुर गुरुङ, ऋषीराम गौतम, कार्यालय प्रमुख टोपलाल भुसाल, लेखा प्रमुख निलकण्ठ ढकाल लगायतले प्रगती विवरणको समिक्षाले आगामी दिनमा जिल्लाहरुमा खेलकुद गतिविधिहरु बढाउन र नयाँ योजनाहरु कार्यान्वयन गर्न सहयोग पुग्ने बताए ।
फेदिखोला: लालीगुराँस युवा क्लब, फेदीखोला–२, खहरे स्याङ्जाले एक कार्यक्रमको आयोजना गरि फोक्सोको क्यान्सर रोगबाट पीडित भई विगत एक वर्षदेखि भारतको नयाँ दिल्लीमा उपचाररत ३१ वर्षीया पूजा अधिकारी कार्कीको परिवारलाई सहयोग रकम हस्तान्तरण गरेको छ। क्लबका पदाधिकारी, सदस्य एवम् स्वदेश तथा विदेशमा रहेका सहयोगी मनहरुबाट संकलित ३ लाख २९ हजार सात सय २९ रुपैया क्लबका अध्यक्ष शंकर कार्की, ज्येष्ठ नागरिक समाजसेवी मान बहादुर कार्की र कोषाध्यक्ष समीर कार्कीले संयुक्त रुपमा पूजा अधिकारी कार्कीका ससुराबुवा धर्मराज कार्कीलाई हस्तान्तरण गरेका हुन्। अध्यक्ष शंकर कार्कीले यो अभियानमा क्लबसँग जोडिएर सहयोग गर्नुहुने महानुभावप्रति आभार व्यक्त गरे । सो अवसरमा समाजसेवी नरेन्द्रजंग कार्की, केशव कार्की, विजय कार्की, लाल कार्की अन्जान, मोति बहादुर कार्की र डिल बहादुर कार्कीले लालीगुराँस युवा क्लबले विभिन्न दुखसुख एवम् सामाजिक कार्यहरुमा पुर्याएको योगदानको प्रशंसा गर्दै पूजाको शीघ्र स्वास्थ्यलाभको कामना गरेका थिए भने पूजा अधिकारी कार्कीका ससुराबुवा धर्मराज कार्कीले क्लबप्रति आभार व्यक्त गर्दै क्लबले संचालन गर्न लागेको आकस्मिक कोषमा आफ्नो तर्फबाट केही सहयोग रकम प्रदान गरेका थिए। सोही कोषमा नरेन्द्र जंग कार्की, केशव कार्की र लाल कार्की अन्जानले पनि रकम उपलब्ध गराएका थिए। क्लबका अध्यक्ष शंकर कार्कीको अध्यक्षतामा भएको उक्त कार्यक्रम सचिव सुजन पौडेलले संचालन गरेका थिए भने कोषाध्यक्ष समीर कार्कीले आर्थिक सहयोग उपलब्ध गराउने महानुभावहरुको नामावली पढेर सुनाएका थिए।
पोखरा: एनआरएनए जापानको अध्यक्षमा नबिन निउरे निर्वाचित भएका छन् । गैरआवासीय नेपाली संघ जापान राष्ट्रिय समन्वय समितिको ११ औं अधिवेशनमा निउरे अध्यक्षमा निर्वाचित भएका छन् । एनआरएनए जापानको उपाध्यक्ष पदमा सिद्धार्थ श्रेष्ठ,कृष्ण गैरे,देबराज उप्रेती,सुभास लामिछाने र सचिन श्रेष्ठ निर्वाचित भए । यस्तै महिला उपाध्यक्षमा एलिजा केसी भण्डारी निर्वाचित भएकी छिन् । ११ अधिवेशनबाट महासचिवमा टिकाराम खरेल,सचिवहरुमा दिलिप कँडेल,दिपेश खत्री र अर्जुन थापा निर्वाचित भए । महिला सचिवमा भने चन्द्र कुमारी केसी निर्विरोध चयन भएकी थिइन । यस्तै कोषाध्यक्षमा भने दिपक सुनार निर्वाति भएका छन् । उनी कार्यसमितिको निवर्तमान सह–कोषाध्यक्ष हुन् । यस्तै सह–कोषाध्यक्षमा राम बहादुर थापा चयन भएका छन । महिला सह कोषाध्यक्षमा अन्जुभण्डारी यस अघिनै निर्विरोध चयन भएकी थिइन । यस्तै महिला संयोजकमा हेमा पाण्डे र युवा संयोजक पदमा मुक्तिराज रेग्मी निर्विरोध चयन भएका छन् । सदस्यमा दिनेश लोहनी,कृष्ण प्रसाद कँडेल,नेत्र प्रसाद पाण्डे, धुव्र गौतम,रामु कँडेल,बिनय गुरुङ,ज्योति केसी र दिलिप शर्मा चयन भएका छन् ।
पोखरा: रानीपौवास्थित ग्लोबल कलिजियट स्कुलले शनिबार एक कार्यक्रमको आयोजना गरी कक्षा ११ का नवआगन्तुक विद्यार्थीलाई स्वागत गरेको छ । उक्त स्वागत कार्यक्रममा विद्यार्थीहरूले नृत्यसहित विभिन्न रचनात्मक प्रस्तुति दिएका थिए । कक्षा १२ का विद्यार्थीले कक्षा ११ का विद्यार्थीलाई अबिर, माला, खादासहित स्वागत गरेका हुन् । विद्यालयका प्राचार्य बाबुराम पन्तले आफ्नो देश बनाउन नसकेर विदेश जाने नभई देश निर्माणका लागि जिम्मेवारी वहन गर्न सक्ने जनशक्ति आजको आवश्यकता रहेको बताए । विद्यालयका उपप्राचार्य वेदप्रसाद शर्माले स्वागत मन्तब्री राख्दै अहिलेसम्म विद्यालयले विभिन्न विषयमा अनुसन्धान तह पूरा गर्ने थुप्रै दक्ष जनशक्ति उत्पादन गरिसकेको जानकारी दिँदै नव आगन्तुक विद्यार्थीलाई तिनै दाइदिदीका पदचाप पछ्याएर अघि बढ्न अनुरोध गरेका थिए। सो अवसरमा विद्यालय निर्देशक नन्दलाल त्रिपाठी, उपप्राचार्य पद्मराज ढकाल, विद्यालयका पूर्व संयोजक सहप्राध्यापक डाक्टर नगेन्द्र भण्डारीले मन्तव्य दिएका थिए । कक्षा १ देखि १२ कक्षासम्म सञ्चालित विद्यालयमा व्यवस्थापन र विज्ञान समूहमा ४८० विद्यार्थी अध्ययनरत छन् । ‘सिक्न आउनुहोस्, सेवा गर्न जानुहोस्’ ९कम टु लर्न, गो टु सर्भ० को मूल नारामा अघि बढेको विद्यालयले क्रियाकलाप तथा परियोजनामा आधारित विधिमा शिक्षण सिकाइ क्रियाकलाप गराउँदै आएको छ । विद्यालयमा हाल करिब दुई हजार विद्यार्थी अध्ययनरत छन् । कक्षा ११ मा उत्कृष्ट नतिजा प्राप्त गर्ने विद्यार्थीलाई पुरस्कारसमेत वितरण गरिएको थियो ।

