गुल्मी: गुल्मीमा घाँस काट्ने क्रममा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । जिल्लाको मुसिकोट नगरपालिका–४ डाँडाथोककी ३६ वर्षकी फुलकुमारी नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक ९डीएसपी० डिल्लीनारायण पाण्डेले बताए । फुलकुमारी बिहीबार बिहान ढुंगेठाटी हर्लेखानी सामुदायिक वनमा घाँस काट्न गएकी थिइन् । भिरबाट लडेर करिब २ सय मिटर तल खसेको प्रहरीले जनाएको छ । भिरबाट लडेर मृत्यु भएकी नेपालीलाई सँगै घाँस काट्न गएका आफन्तहरुले घरमा ल्याएको डीएसपी पाण्डेले बताए । घटनाबारे थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी निरीक्षक रवीन्द्रकुमार श्रेष्ठको कमाण्डमा ५ जनाको टोली खटिएको प्रहरीले जनाएको छ ।
तनहुँ: तनहुँ जिल्ला अदालतले विष खुवाएर छोरीको हत्या गरेको अभियोगमा तनहुँ जिल्ला अदालतले अभियुक्तलाई तीन वर्ष कैद फैसला सुनाएको छ । छोरीलाई विष खुवाएर आफूले समेत सेवन गरेकी पोखरा –२४ कास्कीकोटकी २९ वर्षीया सुष्मा विकलाई अदालतले तीन वर्ष कैद र ३० हजार रुपैंया जरिवाना सजायको फैसला सुनाएको हो । तनहुँको आँबुखैरेनी स्थित एक लजमा २०७७ को माघ १९ गते विष सेवन गरेको अवस्थामा आमाछोरी फेला परेका थिए । होटल सञ्चालकले देखेर उनीहरुलाई उपचारका लागि अस्पताल लगेकोमा छोरी कुसुम विकको सोही दिन मृत्यु भएको थियो । उपचारपश्चात् आमा सुष्मा भने निको भएकी थिइन । घटना हुँदा वैदेशिक रोजगारीको क्रममा मलेसियामा रहेका आरोपितका श्रीमान् मनोज विकले घटना लगत्तै सुष्माविरुद्ध जाहेरी दिएका थिए । मनोज कै जाहेरीका आधारमा सुष्मालाई प्रहरीले झन्डै ६ महिनापछि २०७८ साउन ३० गते पक्राउ गरेको थियो । उनी विरुद्ध २०७८ भदौ १६ गते जिल्ला अदालतमा कर्तव्य ज्यानसम्बन्धी मुद्दा दर्ता भएको थियो । तनहुँ जिल्ला कारागारमा पुर्पक्षका लागि थुनामा रहेकी सुष्मामाथिको मुद्दामा जिल्ला न्यायाधीश हरिश्चन्द्र ढुङ्गानाको बुधबारको इजलासले कैदसहित जरिवाना सजायको फैसला सुनाएको हो ।
पोखरा: राष्ट्रिय स्वतन्त्र पार्टीको कास्कीका निर्वाचन क्षेत्र समितिको संयुक्त आयोजनामा पोखरामा फुटसल प्रतियोगिता हुने भएको छ । प्ले फर फेलोसिप अन्तर क्षेत्र हुन लागेको फुटसल प्रतियोगिता आगामी (साउन) २० गते शनिबार मुस्ताङचोक फुटसल जोनमा हुनेछ । हालसम्म प्रतियोगितामा ६ टिमको दर्ता भइसकोको प्रतियोगिताका मिडिया संयोजक श्रीकृष्ण न्यौपानेले जानकारी दिए । उनका अनुसार प्रतियोगितमा सहभागी हुने टिमले कास्की क्षेत्र नम्बर १ मा सुजन बस्ताकोटी, क्षेत्र नम्बर २ मा संयोजक पोखरेल र क्षेत्र नम्बर ३ मा सहसंयोजक अधिकारीसँग समन्वय गर्नुपर्ने छ । यस्तै, महानगरबाट प्रतिनिधित्व गर्ने टिमले नारायण आचार्य र प्रदेशको टिमले नवीन त्रिपाठीसँग समन्वय गर्नुपर्ने गरी जिम्मेवारी तोकिएको प्रतियोगिताका मिडिया संयोजक न्यौपानले बताए । प्रतियोगितमा सहभागी हुनका दर्ता शुल्क २ हजार निर्धारण गरिएको आयोजकले जनाएको छ ।
धरान: इटहरी उपमहानगरपालिका–२० सेउती पुलमा लुटपाटपछि गोली हानेर हत्या गरेको आरोपमा सुनसरी प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ लेटाङ नगरपालिका–१ का ३५ बर्षीय दिपक तिमिल्सिना र धरान उपमहानगरपालिका–१० का ३४ बर्षीय अनसन राई रहेका छन् । उनीहरुलाई कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर, नेपाल प्रहरी प्रदेश कार्यालय धरान, जिल्ला प्रहरी कार्यालय सुनसरी, ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको संयुक्त प्रहरीको टोलीले धरानको पुतली लाइनबाट पक्राउ गरेको हो । उनीहरुले विराटनगर महानगरपालिका–५ कोचाखाल बस्ने २८ बर्षीय रोहित चौधरीलाई गोली प्रहार गरी हत्या गरेका थिए । उनीहरुको साथबाट अटोमेटिक चाइनिज पेस्तोल १ थान, गोली ९ राउण्ड, म्यागजिन २ थान, खुकुरी २ थान, औठी १ थान र गोलीको खोका १ थान बरामद गरेको छ । यो पनि पढ्नुहोस विराटनगर फर्कने क्रममा प्रेमी जोडीमाथि गोली प्रहार, युवकको अवस्था गम्भीर गोली लागेका रोहितको मृत्यु उनीहरूले धरानबाट इटहरीतर्फ जाँदै गरेको को ३२ प १७९६ नम्बरको मोटरसाइकल चालक रोहित र मोटरसाइकलमा सवार विराटनगर महानगरपालिका–३ की सुमना खत्रीलाई साउन ५ गते साँझ पेस्तोल तथा खुकुरी देखाई जबरजस्ती लुटपाट गरेका थिए । सोही क्रममा प्रतिकार गर्दा चौधरीलाई गोली प्रहार गरी फरार भएका थिए । गम्भीर घाइते भएका चौधरीको विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा मृत्यु भएको थियो । सुमना खत्री भने सामान्य उपचारपछि घर फर्किएका थिए । प्रारम्भिक अनुसन्धानको क्रममा असार ८, २३ र ३१ गते धरानको छुट्टाछुट्टै स्थानमा भएका श्रृङखलाबद्ध लुटपाटमा समेत उनीहरूको संलग्नता रहेको खुल्न आएको छ । पक्राउ परेकामध्ये तिमिल्सिना जबरजस्ती करणी मुद्दामा १० वर्ष कैद भुक्तान गरी २ महिना अगाडि छुटेको र तामाङ लागूऔषध मुद्दामा ६ महिना कैद भुक्तान गरी २ वर्ष अगाडि छुटेको तथा दुवै जना लागूऔषध दुर्व्यसनी रहेको समेत अनुसन्धानको क्रममा खुल्न आएको छ । उनीहरू उपर १० दिन म्याद थप अनुमति लिई थप अनुसन्धान भईरहेको छ भने घटनामा संलग्न अन्य व्यक्तिहरूको प्रहरीले खोजी गरिरहेको छ ।
गलकोट: पाँच वर्षअघिसम्म वनमारा झारले ढाकिएको पाखो अहिले चिया बगानमा परिणत भइसकेको छ । काठेखोला गाउँपालिका–७ रेशस्थित जनकल्याण निम्न माध्यामिक विद्यालय तिङरिङको नाममा रहेको पाखोबारीमा व्यावसायिक चिया खेती सुरु गरिएको छ । वनमाराले ढाकेको पाखो चिया बगान बनेपछि आन्तरिक पर्यटक अवलोकनका लागि यहाँ पुग्न थालेका छन् । चिया बगान हेर्न, सामाजिक सञ्जाल फेसबुक र टिकटकमा दृश्य सार्वजनिक गर्न आन्तरिक पर्यटक इलाम नगई रेशको चिया बगानमा आउने गरेका वडाध्यक्ष प्रेम लामिछानेले जानकारी दिनुभयो । उहाँका अनुसार यहाँ विभिन्न शैक्षिक कार्यक्रमअन्तर्गत अध्ययन, अनुसन्धान गर्न पनि विद्यार्थी आउने गरेका छन् । “मुख्यमैत्री वातावरणमैत्री नमुना कृषि गाउँका रुपमा रेश छनोट भएपछि चिया परीक्षणका लागि लगाएका थियौँ, यहाँको एक विद्यालय र सार्वजनिक जग्गा गरी ७२ रोपनीमा लगाएको चिया टिप्ने बेला भएको छ”, उहाँले भन्नुभयो, “ यहाँ आउने पाहुनालाई कोसेलीका रूपमा सहकारीले चियाको ‘ब्रान्ड’ बनाएर प्रदान गर्न थालेको छ ।” वडाध्यक्ष लामिछानेले चिया बगानमा रमाउन अब इलाम जानु नपर्ने भन्दै अहिले बागलुङ बजारबाट विद्यार्थी शैक्षिक अध्ययन तथा अवलोकनका लागि आउने गरेका बताउनुभयो । उहाँका अनुसार आन्तरिक पर्यटकलाई लक्षित गरी चिया बगानसम्म पुग्ने सडक, खानेपानीलगायत पूर्वाधार वडा कार्यालयले निर्माण गरिरहेको छ । रेशमा सञ्चालित चार सामुदायिक घरबास र चिया पर्यटनलाई जोडेर आगमी दिनमा बजेट तथा कार्यक्रम ल्याउने गरी योजना तयार गरिने वडाध्यक्ष लामिछानेले जानकारी दिनुभयो । वडा कार्यालयको सहकार्यमा चिया सुकाउने औजार खरिद गरिएको बताउँदै उहाँले पछिल्लो समय ठूलो परिणाममा चिया उत्पादन हुन थालेपछि उद्योग सञ्चालनका लागि सरोकारवाला निकायसँग समन्यव भइरहेको जानकारी दिनुभयो । बागलुङको रेश पर्यटनको हिसाबले अत्यन्तै सम्भावना बोकेको ठाउँ रहेको बताउँदै धवलागिरि बहुमुखी क्याम्पसका प्राध्यापक डा. दिनबहादुर थापाले स्थानीय सरकार, जनप्रतिनिधि, सर्वसाधारणका साथै नागरिका समाज मिलेर यस क्षेत्रको विकास गर्न आवश्यक रहेको बताउनुभयो । “क्याम्पसका विद्यार्थीलाई चिया बगानमा अध्ययन र अवलोकन गराउन रेशको चिया बगान पुर्याउने गरेका छौँ । विद्यार्थीलाई अब बगान देखाउन इलाम वा अन्यत्र लैजानुपर्दैन”, उहाँले भन्नुभयो, “स्थानीयस्तरमा व्यावसायिक चियाखेती भइरहेको छ ।” डा। थापाले यहाँ आउने पर्यटकका लागि सुन्दर वातावरणसहित अग्र्यानिक खानाको परिकार, घरबासको आतिथ्यलगायत व्यवहारले लोभ्याउने बताउनुभयो । चिया उत्पादन धेरै हुन थालेपछि बजारीकरणको चिन्ता लाग्न थालेको चिया व्यवस्थापन समितिका मुक्तिराम थापाले बताउनुभयो । चियाका पातबाट प्रशोधित चिया निर्माण गर्न उपकरणको अभाव भएको भन्दै चिया उत्पादनले तीव्रता पाउँदा उद्योग स्थापना गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । “हरियाली चिया बगान हेर्न आन्तरिक पर्यटक आउन थालेका छन्, उत्पादन पनि विस्तारै बढ्दै गएको छ, क्रमशः चिया उत्पादन बढ्दै गएपछि प्रशोधनका लागि थप उपकरणको आवश्यकता देखिएको छ”, थापाले भन्नुभयो, “अहिले परम्परागत तरिकाले चिया उत्पादन गरेर पहुनालाई कोसेलीका रूपमा वितरण गर्न सुरुआत गरेका छौँ ।” पाँच वर्षअघि गण्डकी प्रदेशले अघि सारेको मुख्यमन्त्री वातावरणमैत्री नमूना कृषिगाउँको रूपमा काठेखोला गाउँपालिका–७ रेश छनोट भएपछि सोही परियोजनाअन्तर्गत साना किसान सहकारीले बौर र तिङरिङको ७२ रोपनी खाली जमिनमा ६० हजार चियाका बोट लगाएको थियो । यहाँ चियाखेती गर्दा स्थानीयले २५ प्रतिशत श्रमदान गरेका थिए । विद्यालयको खाली जमिनमा लगाइएको चियाबाट आयआर्जन हुन थालेकाले विद्यालयको शैक्षिक र भौतिक सुधारमा केही रकम खर्च गर्नुपर्ने विद्यालयका प्रधानाध्यापक थम्मन जिसीले बताउनुभयो । बौरको चिया बिक्रीबाट स्थानीय र तिङरिङको चियाखेतीबाट विद्यालयलाई प्रत्यक्ष लाभ पुगेको उहाँको भनाइ थियो । समुद्री सतहबाट १८ सय मिटरदेखि २३ सय मिटरसम्मको उचाइमा चियाखेती राम्रो मानिन्छ । यस विषयमा सम्भाव्यता अध्ययन पछि रेश चियाखेतीका लागि उपर्युक्त स्थानका रुपमा छनोट भएपछि व्यावसायिक चियाखेती सुरु गरिएको वडाध्यक्ष प्रेम लामिछानेले बताउनुभयो । यस कार्यले अहिले सफलता पाइरहेको उहाँको भनाइ थियो । बाँझो र वर्षौँदेखि प्रयोगविहीन अवस्थामा रहेको जमिनलाई उत्पादनमूलक कार्यसँगै पर्यटन प्रवर्द्धनमा जोडेपछि यहाँका स्थानीय खुसी भएका छन् ।
काठमाण्डौ: काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले नागरिकलाई डर, धम्की दिइ उच्छृङ्खल गतिविधि गरेको आरोपमा पाँच जनालाई पक्राउ गरेको छ । प्रहरीले बौद्ध, जोरपाटीलगायतका ठाउँमा नागरिकलाई डरत्रास देखाएर गैरकानुनी रुपमा रकम सङ्कलन गर्नेजस्ता आपराधिक गतिविधिमा संलग्न रहेको आरोपमा उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा मेलम्ची–६, सिन्धुपाल्चोकका ३४ वर्षीय श्यामबहादुर लामा, गोकुलगङ्गा–६, रामेछाप घर भएका २८ वर्षीय विक्की लामा ९बाफ्ले०, मेलम्ची–१०, सिन्धुपाल्चोकका ३६ वर्षीय भीमबहादुर बस्नेत, मेलम्ची–१०, सिन्धुपाल्चोकका ३५ वर्षीय गोविन्द गजमेर तथा चौतारा साँघा चोकगढी–१, सिन्धुपाल्चोकका ३५ वर्षीय प्रवीण तामाङ रहेका काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालय प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिनुभयो । उनीहरुमाथि मुलुकी अपराधसंहिता २०७४ को दफा ११८ को अभद्र व्यवहार गर्न नहुने कसुरमा थप अनुसन्धानका लागि आज प्रहरी वृत्त बौद्ध, काठमाण्डौ पठाइएको काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
पोखरा: लेकसाइडस्थित साइनिङ स्टार बोर्डिङ्ग स्कुलले कक्षा ११ मा भर्ना भई आएका नवआगन्तुक विद्यार्थीलाई एक कार्यक्रमका विच स्वागत गरेको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथि गण्डकी युनिभर्सिटीका डिन डा.कपिल उपाध्यायले विद्यार्थीहरुका लागि पाठ्यक्रमको पढाई मात्र प्रयाप्त नहुने बताउनुभयो । उहाँले अबका विद्यार्थीहरुले देशमै सम्भावनाको खोजी गर्नुपर्नेम जोड दिंदै समाजले आफ्नों उपस्थितीको आवास गर्नसक्ने गरि काम गर्न पनि आग्रह गर्नुभयो । त्यस्तै, गण्डकी एकेडेमी अफ साइन्स एण्ड टेक्नोलोजीका डा.सन्तोष कोइरालाले जिवनपयोगी शिक्षाका बारेमा चर्चा गर्नुभएको थियो । विद्यालयका प्राचार्य अर्जुन प्रसाद पाण्डेले सुनिश्चित भविष्यका लागि विद्यार्थीहरुले दृढ संकल्प गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले विद्यालयले विद्यार्थीहरुलाई शिक्षासंगै सामाजिक, साँस्कतृतीक लगायत विविद्य पक्षमा अग्रसर बन्दै जिम्मेवार नागरिक बन्न आग्रह गर्नुभयो । एचएम कोर्डिनेटर विमल कुँवरले प्लस टु अध्यानका लागि यहि विद्यालय रोजेका विद्यार्थीहरुलाई धन्यवाद ज्ञापन गर्ने विद्यार्थीको चाहना विद्यालयले पुरा गर्ने प्रतिवद्धता जाहेर गर्नुभयो । कार्यक्रममा विद्यार्थीहरुले साँस्कृतीक कार्यक्रम प्रस्तुत गरेका थिए । विद्यार्थीहरु किस्मत सर्मा, चाहना शाह, सञ्जय, प्रविना लगायतले कार्यक्रममा सहजिकरण गरेका थिए । विद्यालयका संस्थापक बविता भण्डारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्य लालबहादुर कुँवर, फत्तबहादुर थापा, सल्लाहकार विष्णुहरी अधिकारी, नेपाली विषय शिक्षक मानबहादुर थापा लगायतले विद्यालयका गतिविधीबारे चर्चा गर्नुभएको थियो ।
नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवं पूर्वमन्त्री शंकर भण्डारीले संघियताका बारेमा सोच्नुपर्ने बेला आएको बताउनुभएको छ । पोखरामा बुधबार पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता भण्डारीले संघियताले धेरै विकृति जन्माएको हुँदा यसको विकल्प खोज्नुपर्ने बताउनुभयो । जनतालाई अधिकार प्रदान गर्न स्थानिय तहको सरकारलाई नै बलियो बनाउनुपर्ने उहाँको सुझाव थियो । संविधानमा लेखिए अनुरुप निर्वाचन पद्धतीले काम गर्न नसक्दा संघियता प्रति जनताको वितृष्णा बढ्दै गएको नेता भण्डारीले बताउनुभयो । निर्वाचन प्रणालीले एउटै पार्टीलाई बहुमत आउन कठिन भएकाले पनि विकृति बढ्दै गएको उहाँको भनाई थियो । उहाँले समानुपातिक प्रणालीमा एउटै व्यक्तिले तिन पटक अवसर लिएको बताउँदै पहिचान भनेको विविधता हो, यसलाई हरेक पार्टीले गलत व्याख्या गरी संविधानको मर्म विपरीत काम गरेको समेत आरोप लगाउनुभयो । संघीयताले राष्ट्रिय सुरक्षामा समेत कमजोर बनाएकाले संघीयताका बारेमा पुनर ब्याख्या गर्न जरुरी भएको उहाँले दोहोर्याउनु भयो । देश बचाउने कुरामा पार्टीहरु संविधान संशोधन गरेर भएपनि एक हुनै पर्छ, उहाँले भन्नुभयो– राष्ट्रिय स्वाधीनता प्रति दलहरु विचलित हुनु हुदैन् । नेता भण्डारीले संविधानमा राखिएको धर्म निरिपेक्षता सम्बन्धी प्रावधान हटाउन जरुरी रहेको उल्लेख गर्दै वैदिक सनातन हिन्दू धर्म राष्ट्र घोषणा हुनुपर्ने भनाई राख्नुभयो । धर्म निरिपेक्ष घोषणा गरी राष्ट्र कमजोर बनाउने राजनितिक रुपमै डिजाइन भएको भन्दै धर्म निरपेक्षता घोषण गर्न नेताहरु विदेशीको दवावमा परेको पनि उहाँको आरोप थियो । नेपाललाई बलियो बनाउन सबै राजनीतिक दलका नेताको साझा प्रयास आवश्यक हुने भनाई उहाँको छ । देश रहेमा मात्र पार्टी र सरकार रहन्छ भन्दै राष्ट्रियताको सवालमा गम्भीर रहन सबैलाई आग्रह गर्नुभयो । पूर्वमन्त्री समेत रहनुभएका नेता भण्डारीले देशको अर्थतन्त्र नाजुक अवस्थामा रहेको हुँदा कर्मचारीलाई तलब खुवाउन सरकारले ब्याजमा पैसा खोज्नु परेको यथार्थ प्रस्तुुत गर्नुभयो । उहाँले ठेकेदारहरुलाई ८० अर्ब रुपैयाँ दिन बाँकी रहनु मुलुकको लागि राम्रो संकेत नभएको समेत बताउनुभयो । भ्रष्टाचारको बारेमा बोल्दै नेता भण्डारीले राजनीतिक संकटका बेला दलहरुकै नेताबाट अपराधिक क्रियाकलाप र भ्रष्टाचारका घटना बाहिर आउँदा जनतामा झनैवढि राजनीतिक नैरास्यता छाएको बताउनुभयो । देश बनाउने कुरामा पार्टीहरु संविधान संशोधन गरेर भएपनि एक हुनु पर्ने भनाई राख्दै अब राजनीतिक दलहरु नयाँ ढंगबाट अगाडि वढ्नुको विकल्प नरहेको समेत उहाँको भनाई थियो ।
चितवन: नारायणी नदीमा हाम फालेकी एक महिलाको उपचारका क्रममा ज्यान गएको छ। आज बिहान नारायणी नदीको पुलबाट हाम फालेकी अन्दाजी ४५ वर्षीया महिलाको उद्धारपछि उपचारका क्रममा चितवन मेडिकल कलेजमा ज्यान गएको हो । नदीमा हाम फालेकी महिलाको नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले उद्धार गरेको थियो ।

