काठमाण्डौ: झापाको विर्तामोडमा रहेको विषादी जाँच्ने सरकारी प्रयोगशाला बन्द भएको छ । प्रयोगशाला यही साउन १२ गतेदेखि बन्द भएको हो । झापाको सबैभन्दा ठूलो कृषि बजारका रुपमा स्थापित विर्तामोड कृषि थोक बजार परिसरमा रहेको प्रयोगशालामा भारतबाट आयातित तथा स्थानीय किसानले उत्पादन गर्दै आएको तरकारी तथा फलफूलको विषादी परीक्षण हुँदै आएको थियो । कृषि मन्त्रालयअन्तर्गत सञ्चालित त्यस विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइका कर्मचारीले आर्थिक अभाव देखाउँदै चार दिनअघि सेवा बन्द भएको जानकारी गराएको कृषि बजार व्यवस्थापन समितिका अध्यक्ष कमल पौडेलले बताउनुभयो । प्रयोगशाला बन्द भएपछि त्यहाँबाट तरकारी तथा फलफूलको दिनहुँ हुँदै आएको विषादी परीक्षण कार्य ठप्प भएको छ । विषादी नजाँची बजारमा दैनिक उपभोग्य तरकारी तथा फलफूल बिक्रीवितरण भइरहेको छ। यसैबीच, उपभोक्ता जागरण अभियानको टोलीले मंगलवार विर्तामोड नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत तिलचन भण्डारीलाई भेटेर चार दिनदेखि बन्द रहेको विषादी जाँच्ने सरकारी प्रयोगशाला अविलम्ब सञ्चालनमा ल्याउन माग गरेको छ । उपभोक्ता जागरण अभियानका सचिव विशाल थापाले प्रयोगशाला अविलम्ब सञ्चालनमा ल्याउन माग गर्नुभयो । प्रयोगशाला सङ्घीय सरकारको कृषि मन्त्रालय मातहत रहेको र स्थानीय स्तरमा त्यसको सञ्चालनका लागि नगरपालिकाले एउटा मेसिन र दुई कर्मचारी खटाएको विर्तामोड नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत भण्डारीले बताउनुभयो ।
पोखरा: नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), गण्डकीद्वारा सञ्चालित ‘कञ्चन पत्रकारिता पुरस्कार–२०८०’ हुमबहादुर तमु (कास्की) र सुन्दरकुमार थकाली (मुस्ताङ) लाई प्रदान गरिने भएको छ । प्रतिभा छनोट समितिले गरेको सिफारिस अनुसार फोनिज गण्डकीको मंगलबारको बैठकले तमु र थकालीको नाम अनुमोदन गरेको अध्यक्ष रुद्र श्रीस मगरले जानकारी दिए । उनका अनुसार पुरस्कार राशी जनही २५ हजारसहित सम्मानपत्र र दोसल्ला रहेको छ । वरिष्ठ अधिवक्ता तथा फोनिज गण्डकीका प्रमुख सल्लाहकार सुरेन्द्र थापामगरको संयोजकत्वमा रहेको प्रतिभा छनोट समितिले नाम सिफारिस गरेको थियो । समितिको सदस्यमा फोनिज गण्डकीका इन्चार्ज पत्रकार एमबी आस्था मगर, सल्लाहकार शान्ति गुरुङ तथा रुद्र श्रीस मगर र धनबहादुर गुरुङ थिए । पुरस्कृत हुने तमु पोखराबाट प्रकाशित हुने कास्की आवाज दैनिकका प्रधानसम्पादक हुन् । थकाली अन्नपूर्ण पोष्ट राष्ट्रिय दैनिक र समाधान दैनिकका लागि मुस्ताङका संवाददाता हुन् । उनीहरुलाई साउन २७ गते पोखरामा सम्मान समारोह आयोजना गरी पुरस्कृत गरिनेछ । पोखराका प्रतिष्ठित व्यवसायी विमलमान गुभाजु र उनका परिवारले आफ्ना स्व. बावुआमा वेदमान गुभाजु र नेत्रकुमारी गुभाजुको स्मृतिमा यो पुरस्कार स्थापना गरेका हुन् । गण्डकी प्रदेशलाई कार्यक्षेत्र बनाई क्रियाशील २ पत्रकारलाई हरेक वर्ष यो पुरस्कार प्रदान गरिँदै आएको छ । यसअघि कास्कीका रुद्रबहादुर थापा, शान्ति गुरुङ, उदयबहादुर अमात्य, बागलुङका राजेशचन्द्र राजभण्डारी, नवलपुरका केबी राना र लमजुङका आश गुरुङलाई यो पुरस्कार अर्पण गरिसकेको छ ।
विराटनगर: मोरङका मिटरब्याज पीडित एक पुरुषको मृत्यु भएको छ । जिल्ला प्रशासन कार्यालय मोरङमा पीडित र पीडक पक्षको छलफलपछि विष सेवन गरेका मिटरब्याज पीडित विनित सोनारको मृत्यु भएको हो । यही साउन ७ गते जिल्ला प्रशासन कार्यालय मोरङमा छलफल सकेर बाहिरिने क्रममा प्रहरीले पक्राउ गरेपछि कार्यालय परिसरमै विष सेवन गरेका कटहरी गाउँपालिका-३ का अन्दाजी ३२ वषर्ीय विनित सोनारको बुधबार बिहान मृत्यु भएको हो । डा. नितेष तिवारी विरुद्ध सोनारकी पत्नी रीताले मिटरब्याजबाट पीडित भएको उजुरी दिएकी थिइन् । उजुरी परेपछि जिल्ला प्रशासन कार्यालय मोरङले दुवै पक्षलाई साउन ७ गते छलफलका लागि बोलाएको थियो । जिल्ला प्रशासन कार्यालयमा छलफल पछि बाहिरिने क्रममा प्रहरीले पक्राउ गरेपछि सुनारले विष सेवन गरेका थिए । विष सेवनबाट गम्भीर बिरामी भएका उनलाई कोशी अस्पताल हुँदै नोबेल मेडिकल कलेज लगिएको थियो । नोबेलमा उपचारका क्रममा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी छेदीलाल कामतीले जानकारी दिए ।
पोखरा: पोखरा बजारभित्र १३ वर्ष बढी सवारी चलाएका दलबहादुर विश्वकर्मा उमेरले दुई बिसे ४ पुगे । १० वर्ष आफ्नै ट्यासी चलाएका विश्वकर्माले पछिल्लो तीनवर्षयता मालिलको नगर माइक्रो हाँक्छन् । पोखराको विभिन्न रुटमा सवारी चलाएका दलबहादुर अहिले हरिचोक–छोरेपाटन, हरिचोक गण्डकी अस्पताल ओहोरदोहोर गर्छन् । उनी कति किलोमिटर कुदे भन्ने आफैलाई हेक्का छैन । यो उनको रुटिङ नै हो । उनी गुड्ने रुट भूपी शेरचन राजमार्गको हरिचोक–जिरो किमी सडकखण्ड हो । सवारी साधनको गति तिब्र नभएपनि कहिलेकाँही माइक्रोबसहरुको बीचमा कडा प्रतिस्पर्धा हुन्छ । त्यसैले कहिले सवारी हुइकाउनै पर्ने बाध्यता रहने दलबहादुर बताउछन् । दिनहुँ गुड्ने सडकमै पर्ने पोखरा महानगरपालिका ४ र ५ जोड्ने फिर्केपुल देखेर आजित छन् । अन्यत्र ४ लेनको भएपनि उक्त पुल २ लेनको भएकाले अत्याधिक दुर्घटना हुदै आएको उनको बुझाई छ । उनलाई फिर्के पुल कहिले बन्ला भन्ने पिरलो छ । ‘अचेल त यात्रुपनि आजित भइसकेछन्, दलबहादुर सुनगाभा न्यूजसँग गफिन्छन्, ‘जब फिर्के पुल आइपुग्छ त्यसपछि मलाई पो सोध्छन् गुरुजी यो फिर्केपुल कहिले बन्छ ह ?’ यो प्रश्नको जवाफ दलबहादुरले विगत केही वर्षदेखि खोजिरहेका छन्, तर उनीसँग थ्याक्कै जवाफ छैन । ‘म पनि तपाइहरु जस्तै त होनी । तपाइहरुलाई देशको स्थिती थाहा छदैछनी ।’ आफु जवाफिएको सुनाउछन् । आफ्नो साधनमा प्राय यात्रुहरु दोहोरीने उनले सुनाए । ‘एउटै रुट हिड्ने भएपछि प्राय जागिरेहरु दोहोरिनुहुन्छ । त्यही भएरपनि होला उहाँहरुको गुनासो पनि पुल अझै किन बनेन भन्ने हुन्छ, उनको प्रश्न छ, ‘होइन यो पुल नबनाउने कम्पनीलाई कारवाही नै हुदैन कि के हो ?’ पोखरा– बागलुङ सडक खण्डको जिरोदेखि हरिचोक खण्ड ६ लेनको बनेको वर्षौ भयो तर पोखरा ४ र ५ जोड्ने फिर्केपुल २ लेनमा सिमित हुँदा अत्याधिक जोखिम बढेको छ । एक्स्ट्राडोज्ड पुल बनाउने सम्झौता निर्माण कम्पन्नी (शान्ति आरोग्य जेभी सानेपा) ले सम्झौता अनुसार काम गरेको भएको फिर्केपुलमा एक्स्ट्राडोज्ड पुल २०७७/०७८ को चैत महिनामै सम्पन्न भइसक्थ्यो । तर विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस र मुआब्जाको कारण देखाउँदै निर्माण कम्पनीले महामारीको समयमा काम रोकेको थियो । सडक डिभिजन कार्यालय पोखराका सूचना अधिकारी उञ्जल शर्माले निर्माण कम्पनीले सम्झौताको केही वर्ष मुआब्जाको कारण काम रोके पनि गएको असोजमा मुआब्जाको समस्या समाधान भइसकेको बताए । सडक डिभिजन कार्यालय पोखराले २०७५ असोज ८ गते शान्ति जेभी सानेपा ललितपुरसँग २०७७/०७८ को चैत ३० सम्म एक्स्ट्राडोज्ड पुल निर्माण गर्ने गरी सम्झौता गरेपनि पुल निर्माण हुन सकेन । विश्वभर फैलिएको कोरोना भाइरसका कारण निर्माण कम्पनीले काम नगरेको भन्दै मन्त्रीपरिषद्को बैठकले पूर्वाधारका काम एक वर्ष म्याद थप गर्ने निर्णय गरेको थियो । जसमा पोखरा फिर्केपुल निर्माण गर्न गत आर्थिक वर्षको २०७९/०८० को असार मसान्तसम्म काम म्याद थप भयो तर प्रगति ३० प्रतिशत मात्र देखियो थियो । सडक डिभिजन कार्यालय पोखराका सूचना अधिकारी शर्माले अहिले बर्षाको समय भएकाले पुल निर्माणको काम रोकिएको बताए । ‘सम्झौता गरेको मितिमा मुआब्जा र कोरोना भाइरसका कारण काम रोकियो, मन्त्री परिषद्को बैठकले नै पूर्वाधारको क्षेत्रतर्फ एकवर्षको म्याद थप्यो’, शर्माले भने, ‘म्याद थप भएको वर्ष दिन भित्र पनि काम सकिएन, काम गरे एक वर्षमा सकिन्छ तर निर्माण कम्पनीले काम नै गरेन ।’ ठेक्का तोडेर जाँदा लागत बढ्ने र काममा अझै ढिलासुस्ती हुन सक्ने शर्माले संकेत गरे । ‘तेस्रो पटक म्याद थप हुन सक्छ, ठेक्का तोडेर नयाँ प्रक्रियामा जाँदा त्यसको लागत बढेर जान्छ, पुल निर्माणमा थप ढिलाइ हुन नदिन तेस्रो पटक म्याद थप हुन सक्छ’, सूचना अधिकारी शर्माले भने । सडक डिभिजन कार्यालय पोखराका सूचना अधिकारी शर्माका अनुसार नेपालमै पहिलोपटक (पाइलको सपोर्टमा केवल हालेर टावर टाइपको) स्पेसल एक्स्ट्राडोज्ड मोटरेबल पुल निर्माण हुन लागेको हो । ‘पुरानो पुललाई यथावत राखेर त्यसको दायाँ र बायाँ २/२ लेनको २ वटा पुल निर्माण गर्न लागिएको हो, उनले भने, कंक्रिट ग्रिडर र पाइल फाउण्डेसन गरेर स्पेसल एक्स्ट्राडोज्ड मोटरेबल पुल बन्नेछ ।’ उनका अनुसार शान्ति आरोग्य जेभी सानेपा, ललितपुरले १२ करोड ३२ लाख २६ हजार १७६ रुपैयाँमा जिम्मा लिएको छ । सडक डिभिजन कार्यालय पोखराका ईन्जिनियर सहनशिला कायस्थले निर्माण कम्पनीले ३० प्रतिशत काम गरेको जानकारी दिइन् । ‘निर्माण कम्पनीले पुलको फाउण्डेशनको एकतर्फ सकेको छ, भौतिक प्रगतितर्फ ३० प्रतिशत काम सम्पन्न भएको छ’, कायस्थले भनिन्, ‘निर्माण कम्पनीले कोभिडका कारण काम नभएकाले सरकारले थपेको एकवर्षमा काम सकेन म्याद थप गर्न पत्र पठाएको छ म्याद थप भएर काम हुन्छ होला ।’ अहिले सञ्चालनमा नै रहेको पुलको दायाँ र बायाँ तर्फ बन्ने पुलको चौडाई ३/३ मिटरको हुनेछ । पुलको दायाँतर्फ निर्माण कम्पनीले काम सुरु गरेको छ भने बायाँतर्फ भने खानेपानी र सुकुम्बासी बस्तीको पनि समस्यासमेत देखिएको छ ।
काठमाण्डौ: भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाले शिक्षा क्षेत्रमा गरेको लगानीबाट देश र समाजले उपलब्धि हासिल गरिरहेको बताउनुभएको छ । भक्तपुर नगरपालिकाले सञ्चालन गरेको ख्वप माध्यमिक विद्यालयको २५औँ वार्षिकोत्सवको अवसरमा भएको कार्यक्रममा उहाँले नगरपालिकाको लगानीबाट नगरभित्रका विद्यार्थीको साथै अरु क्षेत्रका विद्यार्थीले पनि फाइदा लिइरहेका बताउनुभयो । कार्यक्रममा भक्तपुर नगरपालिकाका उपप्रमुख एवम् विद्यालय सञ्चालक समितिका उपाध्यक्ष रजनी जोशीले भक्तपुर नगरपालिकाबाट सञ्चालित आठ वटा कलेजले भक्तपुरको मात्र नभइ सिङ्गो देश विकासको लागि महत्वपूर्ण योगदान पुर्याइरहेको बताउनुभयो । ख्वप इन्जिनियरिङ कलेजका प्राचार्य सुजन माकले भक्तपुर नगरपालिकाले ‘एक घर, एक स्नातक’ को अवधारणाका साथ स्थापना गरेको कलेजको उद्देश्य पूरा गर्दै गएको बताउनुभयो । कार्यक्रममा ख्वप कलेजका प्राचार्य प्रकाशकुमार श्रेष्ठले यस वर्ष कक्षा ११ मा एक हजार नौ सय सय २० जना भन्दा बढी विद्यार्थी भर्ना भएको जानकारी दिनुभयो ।
काठमाण्डौ: डेङ्गी नियन्त्रणका लागि सुनसरीको धरान उपमहानगरपालिका भित्रका सबै शैक्षिक संस्थाको पठनपाठन बन्द गर्ने निर्णय गरेको छ । कार्यपालिका बैठकले मंगलवार यस्तो निर्णय गरेको हो । धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङले विद्यालयमा पठनपाठन बन्द गरी डेङ्गी नियन्त्रण अभियान चलाउने निर्णय गरेको जानकारी दिनुभयो । उपमहानगरले बिदाको बेला विद्यालयका शिक्षक, विद्यार्थीलाई डेङ्गी नियन्त्रणका लागि अभियानमा सहभागी गराउन आह्वान गरेको छ । बैठकले शिक्षक र विद्यार्थीसँगै सबै वडामा सामाजिक सङ्घसंस्था, टोल विकास समिति, स्थानीय समुदाय एकसाथ आ–आफ्नो वडाको टोलटोलमा खटिन पनि अनुरोध गरेको छ । डेङ्गी फैलाउने एडिज एजिप्टाई जातको लामखुट्टेको फुल पार्ने स्थान, लार्भा र प्युपा बन्ने स्थान पहिचान गरी नष्ट गर्ने अभियान चलाउन विद्यालय बन्द गरिएको धरान उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराईले बताउनुभयो । वडा समिति कार्यालयले आ–आफ्नो वडामा निःशुल्क जाँच र औषधि वितरणका लागि स्वास्थ्य शिविर सञ्चालन गरे पनि लामखुट्टेको फुल, लार्भा र प्युपा नै नष्ट नगरेसम्म डेङ्गु नियन्त्रण हुने नदेखिएकले व्यापक जनपरिचालन गर्ने निर्णय गरिएको धरान–१५ का वडाध्यक्ष नरेशकुमार इवारामले बताउनुभयो । धरानमा डेङ्गीबाट जेठ तेस्रो हप्तायता एक बालिकासहित आठ जनाको ज्यान गइसकेको छ । निजी क्लिनिक, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान आदिमा डेङ्गीका बिरामीले शय्या पाउन अहिले मुश्किल भएको छ ।
दमौली: तनहुँको व्यास नगरपालिकामा भरुवा बन्दुकले हानेर एकजनाले श्रीमतीको हत्या गरेका छन् । व्यास–५ मानुङका ५६ वर्षीय श्रीप्रसाद आलेले ४७ वर्षीया गीता आलेको हत्या गरेका हुन् । गए राति ११ बजे श्रीप्रसादले गीतालाई भरुवा बन्दुकले हानेर घाइते बनाएको र उनको दमौली अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिनुभयो । श्रीप्रसादलाई प्रहरीले गए राति नै नियन्त्रणमा लिएको छ । घरायसी विवादका कारण उक्त घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । घटनाबारे प्रहरीले अनुसन्धान थालेको छ ।
विराटनगर: कोशी प्रदेशको नयाँ मुख्यमन्त्रीमा नेपाली कांग्रेसका उद्धव थापाले नियुक्त भएका छन्। सभामुखको हस्ताक्षर प्रयोग गरी सरकार गठन गरेको कारण २२ दिनमै मुख्यमन्त्रीबाट बर्खास्त भएका थापालाई प्रदेश प्रमुख परशुराम खापुङले मंगलबार दोस्रो पटक मुख्यमन्त्री नियुक्त गरेका हुन्। यसअघि थापाले संविधानको १६८ को उपधारा २ अनुसार कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाको समर्थनमा मुख्यमन्त्री दाबी गरेका थिए। थापालाई मुख्यमन्त्री बनाउन कांग्रेसका २९, माओवादीका १३, एकीकृत समाजवादीका ४ र जसपाका १ सांसदले समर्थन गरेका छन्। यसअघि सभामुख बाबुराम गौतमले छुट्टै हस्ताक्षर गरेर थापाले मुख्यमन्त्रीको दाबी पेश गरेकोमा अहिले गौतमले सभामुखबाट राजीनामा दिइसकेकोले उनी माओवादी संसदीय दलका सदस्य कायम रहेकोले गठबन्धनसँग बहुमत अर्थात् ४७ सांसद छन्। गठबन्धनको सरकार बनाउन सभामुख गौतमले आजै पदबाट राजीनामा दिएका थिए ।
पोखरा: जिल्ला प्रहरी कार्यालयमा अनलाइनमार्फत ठगी गरेको भन्दै ४ सय २ वटा उजरी परेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले गत आर्थिक वर्ष २०७९/०८० मा भएको कार्यप्रगति सार्वजनिक गर्दै सामाजिक सञ्जालमार्फत विभिन्न चिठ्ठा परेको भन्दै ठगी गर्ने विरुद्ध ४ सय २ वटा उजरी परेको जानकारी दिइएको हो । जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी तथा डिएसपी श्रवण कुमार बिकले अनलाइनमार्फत ४ करोड ३५ लाख बराबरको ठगी गरेको भन्दै उजुरी परेको बताए । ‘सामाजिक सञ्जा मार्फत विभिन्न व्यक्तिहरुलाई उपहार परेको भन्दै म्यासेज पठाउने र उपहार पाउन केही रकम पठाउनुपर्ने सर्त गिरोहले ठगी गर्ने गरेको पाइएको छ’ सूचना अधिकारीले भने, ‘अनलाइनमार्फत कास्कीमा ४ सय २ वटा उजुरी पर्दा ४ करोड ३५ लाख बढी ठगी गरेको पाइएको छ ।’ उनका अनुसार पीडितलाई ५७ लाख ५२ हजार ७ सय ७० रुपैयाँ फिर्ता गरिएको छ । थप अनुसन्धानकै क्रममा रहेको सूचना अधिकारी बिकले बताए । यस्तै उनका अनुसार सामाजिक सञ्जालमार्फत आइडी फेक बनाएर गाली बेइज्जत, अश्लिल वा अर्यादित कुराकानी गरेको भन्दै ४ सय १९ जनाले उजुरी दिएका छन् । कास्की प्रहरीमा गत आर्थिक वर्ष २ सय २६ जना महिला, १ सय ६६ जना पुरुष, २३ जना बालिका र ४ जना बालकले आइडी फेक बनाएर सामाजिक सञ्जाल मार्फत अमर्यादित कुराकानी गरेको भन्दै उजुरी दिइएको तथ्याङ्का उल्लेख छ । यस्तै कास्की प्रहरीले गत आर्थिक वर्ष विभिन्न स्थानबाट २ हजार २ सय ८६ वटा मोवाइल हराएको भन्दै उजरी परेको जानकारी दिएको छ । प्रहरीले उजुरीको आधारमा २ सय ८६ वटा मोवाईल फेला पारेर सम्बन्धित व्यक्तिलाई फिर्ता गरेको र बाँकी अनुसन्धानमा रहेको जनाएको छ । यस्तै कास्की प्रहरीले गत आर्थिक वर्ष बर्दीको दुरुपयोग गर्दै टिकटक बनाउने ८ जनासहित ४९ जना प्रहरीलाई कारवाही गरेको जनाएको छ ।

