पोखरा ।   होटल संघ पोखरा नेपालले आयोजना गर्न लागेको २१ औँ फेवा नव वर्ष महोत्सवको तयारी तिब्र पारिएको छ ।   पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित यही चैत २९ गतेदेखि आगामी वैशाख १ गतेसम्म सञ्च...

कालीखोलामा लेदोसहितको पहिरो खसेपछि मुग्लिन: नारायणगढ सडक खण्ड फेरि अवरुद्ध भएको छ ।   चितवनको इच्छाकामना गाउँपालिकामा रहेको कालीखोला पुल नजिक अविरल वर्षापछि माथिबाट आएको लेदोका कारण सडक अवरुद्ध भएको हो।   बाटोमा लेदो थुप्रिएका कारण सडक खण्ड भएर चल्ने गाडी रोकिएका सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।    पहिरोका कारण नारायणगढ–मुग्लिन सडक पटक पटक बन्द हुँदै आएको छ । सङ्घीय राजधानी काठमाण्डौको लाइफ लाइन मानिएको यो सडकमा दैनिक औसतमा १० हजार गाडी आउजाउ गर्ने गर्छन् ।

खोटाङ: खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–५ सछितापोखरीको खुदुर्केमा जीप दुर्घटना हुँदा पाँच जना घाइते छन् ।   इटहरीबाट साकेला गाउँपालिकाको मानेभञ्ज्याङका लागि छुटेको ००१ ज ३३८७ नम्बरको जीप हिजो बेलुका दिप्रुङ चुइचुम्मा गाउँपालिका–५ सछितापोखरीको खुदुर्केमा पल्टिँदा घाइते भएकामध्ये चार जनाको जिल्ला अस्पताल दिक्तेलमा उपचार भैरहेको छ ।   दुर्घटनामा जीपका चालक दिप्रुङ चुइचुम्मा गाउँपालिका–२ डाँडागाउँका सरोज थापा, साकेला गाउँपालिका–२ रतन्छाका मनकुमार राई, रोजी राई, दिप्रुङ चुइचुम्मा गाउँपालिका–७ टेम्माका सरिस्मा राई र डाँडागाउँका सुमन थापा घाइते भएका हुन् । घाइतेमध्ये सुमन प्राथमिक उपचारपछि घर फर्किएका दिप्रुङ चुइचुम्मा गाउँपालिका अध्यक्ष लोकेन्द्र राईले बताउनुभयो ।   जीपमा चालकसहित १४ जना थिए । पञ्चमी–याङसोलाटार सडक खण्डमा ठूलो ढुङ्गा खसेको र फुटाउने काम भैरहेका कारण वैकल्पिक बाटो तृतीय–खुदुर्के–मानेडाँडा सडकबाट यात्रा गर्नेक्रममा जीप पल्टिएको प्रहरीले जनाएको छ ।

पोखरा:   पोखरामा चार दिन यता फोहोर उठ्न सकेको छैन् । पोखराको मुख्यसडक वरपर फोहोर थुप्रिएको छ ।  पोखरा महानगरपालिकाले पोखरा ३२ लामेआहालमा अस्थायी ल्याण्डफिल्ड साइड बनाउँदा गरेको सम्झौता कार्यान्वयन नगरेको भन्दै स्थानीयहरुले ४ दिन यता फोहोर फाल्न रोक लगाएका छन् ।  स्थानीयहरुले अस्थायी ल्याण्डफिल्ड साइटमा फोहोर फाल्न रोक लगाएपछि सडकमा थुप्रिएको फोहोर गएराति परेको अविरल वर्षाका कारण फोहोर मुख्यसडकमै छ्यालब्याल भएको छ ।  पोखरा महानगरपालिकाले ६ महिनाका लागि भन्दै विभिन्न सम्झौता गरेर अस्थायी ल्याण्डफिल्ड साइड बनाएपनि त्यो सम्झौता कार्यान्वयन नभएपछि फोहोर फाल्न रोक लगाएको स्थानीयले बताएका छन् । 

पोखरा:   पोखरा महानगरपालिका १८ मिरुवामा गएराति पहिरो जाँदा २ घरमा क्षति पुगेको छ ।  गएरातिदेखि परेको अविरल वर्षाका कारण पोखरा १८ मिरुवामा पहिरो जाँदा २ घरमा क्षति पुगेको छ भने २ जना सामान्य घाइते भएका छन्  ।  पोखरा महानगरपालिका १८ सराङकोट डाँडामा गएराति पहिरो जाँदा मिरुवाका दुई घरमा क्षति पु¥याएको वडा प्रहरी कार्यालय बैदामले जनाएको छ ।  बैदाम प्रहरीका अनुसार गएराति १२ बजेर ५ मिनेट पहिरो जाँदा ५० वर्षीय मइत्कुमारी हमाल र ४७ वर्षीय सुन्दरश्याम अधिकारीको घरमा क्षति पुगेको हो । पहिरोले अधिकारीको घर पूर्ण रुपमा क्षति पु¥याएको छ भने हमालको घरमा पनि पहिरोले क्षति पु¥याएको छ ।  प्रहरीका अनुसार घर भिरालो स्थानमा भएकाले पहिरोको जोखिम भएकाले दुवै घरमा बस्न नमिल्ने जनाएको छ । घरमा पहिरोले क्षति पु¥याउँदा हमाल र अधिकारी सामान्य घाइते भएका छन् । उनीहरुले अस्पतालमा उपचारपछि डिस्चार्ज भइसकेका छन् ।   

काठमाडौं:     साउन ७ गते काठमाडौंको सामाखुसी खोलामा आएको बाढीले बगाउँदा बेपत्ता भएका १३ वर्षीय बालक साजन मगर एक हप्ता बित्न लाग्दासमेत अझै फेला परेका छैनन् । खोलाले बगाउँदा बेपत्ता भएका बालकको खोजीकार्यका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरीको विपद् व्यवस्थापन टोली तथा गोताखोर टोली तालिमप्राप्त कुकुरको सहयोगमा खोजीकार्यमा खटिएको भए पनि अहिलेसम्म फेला पार्न नसकेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले बताउनुभयो । उहाँले भन्नुभयो, “विपद् व्यवस्थापनको टोलीले तालिमप्राप्त कुकुरको सहयोगमा सामुखुसी खोला पूरै खोजीकार्य गरेको र गोताखोरले हिलोमा समेत छिरेर खोजीकार्य गर्दा समेत फेला पार्न सकेको छैन, यहाँबाट बगेर जान सक्ने क्षेत्रमा रहेका प्रहरी युनिटमा समेत हामीले खबर गरेका छौँ, अहिलेसम्म फेला परेको खबर छैन ।”  बेपत्ता बालकको अहिले पनि खोजीकार्य जारी रहेको छ । काठमाडौँको पानीपोखरीको भानुभक्त मेमोरियल स्कुलमा कक्षा ६ मा अध्ययनरत निज बालक यही साउन ७ गते साँझ फुटसल खेल्न जाँदै गर्दा पर्खालबाट खसेर सामाखुसी खोलामा बगेर बेपत्ता भएका थिए । 

रोल्पा:    रोल्पामा विषालु च्याउ खाएर बिरामी भएकी एक महिलाको मृत्यु भएको छ ।  विषालु च्याउको तरकारी खाँदा बिरामी भएकी लुङ्ग्री गाउँपालिका–५ बुझिङकी २६ वर्षीया बिमला विकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको  छ। असार २६ गते विषालु च्याउ खाँदा बिमलासहित सात वर्षीया रोशनी विक, २४ वर्षीया दिलमाया विक, ६ वर्षीया आकृति विक र २३ वर्षीया ऋतु विक बिरामी परेका थिए । बिरामीपरेकामध्ये बिमलाको आज शनिवार बिहान उपचारका क्रममा मृत्यु भएको हो । च्याउ खाएर बिरामी परेका उनीहरुलाई प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौरमा उपचार सम्भव नभएपछि असार ३१ गते लुम्बिनी सिटी हस्पिटल बुटवल लगिएको थियो ।  त्यही परिवारकै ‍सात वर्षकी रोशनी विकको भने श्रावण २ गते उपचारका क्रममा मृत्यु भएको थियो । यस्तै, विषालु च्याउ खाएर बिरामी परेका त्यही ठाउँका ३५ वर्षीया भीमा गुरुङ, ११ वर्षीय सुशील गुरुङ र ६ वर्षीय प्रेम गुरुङको असार २५ गते मृत्यु भएको थियो । 

भरतपुर:   राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकारले संसद्लाई पर्याप्त ‘बिजनेस’ दिन नसकेको बताउनुभएको छ । चितवनको भरतपुर विमानस्थलमा सञ्चारकर्मीसित कुरा गर्दै उहाँले धेरै कानुन निर्माण गर्नुपर्ने संसद्ले पर्याप्त बिजनेस नपाएको गुनासो गर्नुभयो ।       सभापति लामिछानेले भन्नुभयो, “भ्रष्टाचारका मामलामा सरकारले केही गर्न खोजेको हो कि जस्तो देखिएको छ । केही राम्रा सङ्केत पनि देखिएका छन् । तर ति पर्याप्त छैनन् ।” सरकारको मूल्याङ्कन गर्ने धेरै आधार हुने उल्लेख गर्दै उहाँले सुशासनका लागि चाल्न खोजेका कदम सकारात्मक भएको बताउनुभयो ।       सुनकाण्डमा सरकारले चित्तबुझ्दो काम गर्न नसकेको उल्लेख गर्दै सभापति लामिछानेले भरिया समाउने र मालिक उम्काउने खेल हुनसक्ने भन्दै सबैलाई सचेत हुन आग्रह गर्नुभयो । “गलत कुरालाई पार्टीभित्र प्रवेश गर्न दिँदैनौँ”, उहाँले भन्नुभयो । पार्टीमा धेरै थरीका व्यक्तिको प्रवेश भएको जिकिर गर्दै सभापति लामिछानेले गलत गर्ने जो कोहीलाई पनि कारबाही गरिने बताउनुभयो ।  

म्याग्दी:    बेनी नगरपालिका र मङ्गला गाउँपालिकाको सिमानामा रहेको फापरखेतअन्तर्गतको बेनी–दरबाङ सडक खण्डमा सधैँ पहिरोको जोखिम हुने गरेको छ । उक्त सडक खण्ड म्याग्दीको ‘लाइफलाइन’ का रुपमा लिने गरिए पनि यहाँको प्रमुख समस्या पहिरो बनेको हो ।       करिब १८ वर्षअघि सडकको मार्ग खोल्नुपूर्व नै यहाँ पहिरोको जोखिम थियो । पहिरो रोकथामका लागि दीर्घकालिन योजना नहुँदा यस खण्डमा बर्खायाममा सिधा यातायात सेवा प्रभावित हुने गरेको स्थानीय बताउँछन् ।        धवलागिरि, मालिका र मङ्गला गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनी बजार जोड्ने उक्त सडक बर्खायाममा झनै जोखिमपूर्ण बन्दै गएको बेनी नगरपालिका–४ का वडा सदस्य प्रेम श्रीसले बताउनुभयो । सामान्य वर्षा हुनेबित्तिकै खस्ने पहिराले सडक पुरिएर सवारी आवतजावत बन्द हुने गरेको उहाँले बताउनुभयो ।       ढुङ्गा खसिरहने साँघुरो सडकमा जोखिम मोलेर पहिरो पार गर्दै यात्रा गर्नुपर्ने बाध्यता रहेको श्रीसको भनाइ थियो । “वर्षापछि पाखोबाट बगेर आउने गेगर सडकमा थुप्रिँदा आवतजावत बन्द हुन्छ”, उहाँले भन्नुभयो, “फापरखेतको पहिरो बेनी–दरबाङ सडकको क्यान्सर रोग जस्तो भएको छ ।” उहाँका अनुसार पहिरोबाट खसेको ढुङ्गाले चोट लागेर सवारीसाधनमा क्षति पुग्ने र यात्रु घाइते हुने गरेका छन् ।       करिब एक सय ५० मिटर सडक पहिरोग्रस्त छ । पाखो र भिरको बीचमा खनिएको सडक मुनि म्याग्दी नदी छ । “सडक माथिको भिरमा गेगरै गेगर छ । खोल्सामा पर्ने सडक माथितर्फ पर्खाल बनाएर पहिरो रोक्ने प्रयास सफल भएको छैन”, श्रीसले भन्नुभयो, “म्याग्दी नदीको किनारमा बनाइएको पक्कि पर्खालले कटान रोकिएको छ ।” उहाँका अनुसार सडकदेखि करिब दुई सय माथि र एक सय ५० मिटर फराकिलो क्षेत्रमा पहिरो फैलिएको छ ।       “पानी पर्दा गाडी चल्दैनन्, पैदलयात्रा गर्न पनि ढुङ्गा खसिरहने भएकाले जोखिम छ”, मङ्गला गाउँपालिका–१ पूर्णगाउँका बेलबहादुर पाण्डेले भन्नुभयो, “यही पहिरोका कारण कतिपय बिरामीलाई समयमा अस्पताल पु¥याउन सकिएको छैन ।”       उहाँका अनुसार जिल्लास्थित पूर्वाधार विकास कार्यालयले कालोपत्रसहित स्तरोन्नतिको आयोजना सञ्चालन गरेको २४ किलोमिटर दूरीको बेनी–दरबाङ सडकमा फापरखेतसहित तीन ठूलो पहिरो छन् । मङ्गला गाउँपालिका–२ को लाम्पाटाको पहिरो पछिल्लो पाँच वर्षयता रोकिएको छ । मालिका गाउँपालिकाको बाङ्गे पहिरोले पनि बेलाबेलामा दुःख दिने गरेको उहाँले बताउनुभयो ।       पहिरो प्रभावित क्षेत्रमा स्तरोन्नतिको काम रोकिएको र यातायात अवरुद्ध हुन नदिन डोजर तैनाथ राखेर पहिरो खस्दाबित्तिकै पन्छाउने गरिएको पूर्वाधार विकास कार्यालयका प्रमुख गुरुदत्त अधिकारीले बताउनुभयो । “फापरखेत, लाम्पाटा र बाङ्गेको पहिरो नियन्त्रणका लागि बायोइञ्जिनियरिङसहितको छुट्टै काम गर्नुपर्छ” उहाँले भन्नुभयो, “ठूलो पहिरो भएकाले लगानी पनि बढी आवश्यक पर्छ ।”       स्थानीय जीवन खत्रीले फापरखेतको पहिरो नियन्त्रण सम्भव नभएकाले वैकल्पिक मार्ग बनाउनुपर्ने बताउनुभयो । “फापरखेतदेखि पखेर जोड्ने सडकमा पुल हालै निर्माण सकिएको छ”, उहाँले भन्नुभयो, “पखेर र पहिरोभन्दा माथि म्याग्दी नदीमा बेलिब्रिज जडान गरेर वैकल्पिक मार्ग खोल्ने चर्चा सुनेपछि मैले जग्गा पनि दिएको थिए तर काम भएको छैन ।”      गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीले फापरखेतको पहिरोको समस्याका विषयमा मन्त्रालयको ध्यानाकर्षण भएको बताउनुभयो । भूगर्वविद् र प्राविधिकको टोलीमार्फत पहिरो नियन्त्रण गर्ने अथवा वैकल्पिक सडकको अध्ययन गरेर टोलिले दिने सुझावका आधारमा समस्या समाधानको पहल गर्ने उहाँले बताउनुभयो ।

दमौली:    जिल्ला प्रहरी कार्यालय तनहुँले ठगी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बर्दिया बासगढी नगरपालिका–५ झोडिया स्थायी घर भई हाल तनहुँको व्यास नगरपालिका–१ अम्रेनी बस्ने ५० वर्षीय महेश गिरी नामले चिनिने मेघनाद गिरी रहेको प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिनुभयो । हाम्रो हात नेपाल प्रालिमा शेयर लगानी गर्ने किसानलाई कृषि फार्ममा सहुलियत ऋणको प्रलोभन देखाइ २०७८ सालमा पुसमा व्यास नगरपालिका–१० अधेरीभञ्ज्याङका महिलाबाट रु सात लाख ५० हजार ठगी गरी फरार निजलाई पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक खाँणले जानकारी दिनुभयो ।  निजविरुद्ध महिलाले प्रहरी कार्यालयमा उजुरी दिएका थिए । पक्राउ परेका उनीविरुद्ध तनहुँ अदालतबाट शुक्रबार सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।