धनगढी: कैलाली कारागारका एक जना कैदीको मृत्यु भएको छ । चोरी मुद्दामा कैद भुक्तान गरिरहेका बैतडीको दोगदाकेदार गाउँपालिका–५ का २८ वर्षीय सरोज विष्टको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कुलदिप चन्दले विष्टको सोमबार बिहान उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको बताए । चन्दकाअनुसार उनी लामो समयवेखि क्षयरोगबाट पीडित थिए ।
पाेखरा: त्रिभुवन विश्वविद्यालयअन्तरगत आज बिए तेस्रो वर्षका विद्यार्थीलाई ‘टुरिज्म डेभलपमेन्ट’को प्रश्नपत्र बाँडिएपनि सोधिएका प्रश्नहरु सबै भारतीय इतिहासको परेको छ । त्रिवि अन्तरगत इलेक्टिभ पेपरको परीक्षामा विद्यार्थीहरुलाई पर्यटन विकासकै प्रश्न भनेर उल्लेख गरिएपनि समूह ‘क’ र ‘ख’ दुबैमा भारतीय राजनीति र इतिहासबारे सोधिएका १२ प्रश्न छन् । पृथ्वीनारायण क्याम्पसमा परीक्षा केन्द्र रहेका विद्यार्थीले पाएको प्रश्नपत्रको माथिल्लो भागमा ‘इतिहास’ लेखिएको छ भने त्यसपछि ‘पर्यटन विकासको परिचय’ उल्लेख छ । प्रश्नपत्र हात परेपछि पढ्दै जाँदा विद्यालय रनभुल्ल भएका छन् । उनीहरुले परीक्षा हलमा आधा घण्टा बिताएर निस्केका छन् । बाहिरिएर यसबारे जानकारी गराएपछि विषगत प्रश्नपत्र आउने र पुनः परीक्षामा बस्ने सहभागी विद्यार्थीले जनाएका छन् ।
बैतडीमा पहिरोमा घर पुरिँदा आमाछोराको मृत्यु भएको छ। पुर्चौडी नगरपालिका–२, भैरुवामा मंगलवार बिहान करिब २ बजेतिर सडक भासिएर आएको पहिरोले स्थानीय महेश जागरीको घर पुरिँदा उनकी २५ वर्षीया श्रीमती अञ्जु जागरी र ५ वर्षीय छोराको रिजन जाग्रीको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय बैतडीका डीएसपी प्रेमबहादुर शाहीका अनुसार पहिरोले पुरिएर १८ वर्षीय गोब्बर जागरी घाइते भएका छन्। उनलाई राति ३ बजे उद्धार गरिएको पुर्चौडी(२ का वडाध्यक्ष चक्रबहादुर बमले जानकारी दिए। अञ्जु र रिजनलाई भने मृत अवस्थामा बिहान ८ बजेतिर निकालिएको उनले बताए। वडाध्यक्ष बमका अनुसार महेश जागरी रोजगारका लागि भारतको चिथौरागढमा छन्। घटनाबारे उनलाई खबर गरिएको र भोलिसम्म आइपुग्ने उनले बताए। हिजो महेश जागरीकी आमा ४५ वर्षीय रायमति जागरी, श्रीमती रञ्जु, छोरा रिजन, भाइ गोब्बर र एकजना पाहुना सो घरमा सुतेका थिए। उनको घरमाथीको सडक केही महिनाअघि मात्रै बनाइएको हो। सडक खनिएको माटो किनारमै रहेको र वर्षाले त्यहाँ थुपरिएको माटोसहित सडक नै भासिएर पहिरो आएपछि घर पुरिएको वडाध्यक्ष बमले बताए। रायमति र पाहुना पहिरो जाँदाजाँदै घरबाट बाहिर निस्कन सफल भएका थिए भने तीन जना पुरिएका थिए। पहिरोमा परी दुईवटा गाई, दुईवटा भैँसी, दुइवटा गोरू र एउटा बाख्रा पनि मरेका छन्। नजिकै रहेको गौरी भण्डारीको घर पनि जोखिममा रहेकाले त्यहाँ रहेका सबैलाई सुरक्षित स्थानमा सारिएको वडाध्यक्ष बमले बताए।
पोखरा: पोखरा महानगरपालिकाले नदीजन्य समाग्री (गिट्टी, बालुवा, दहत्तर –बहत्तर) विक्री वितरणका लागि बोलपत्र आह्वान गरेको छ । सेती नदीको महानरपालिका भित्र पर्ने विभिन्न घाटको नदीजन्य समाग्री उत्खननका लागि आज (सोमबार) बोलपत्र आह्वान गरेको हो । महानगरका प्रमुख प्रशासकीय अधिकृत विरेन्द्रदेव भारतीले न्यूनतम २२ करोड ६१ लाख २६ हजार ३ सय २० रुपैयाँ उठाउने लक्ष्यसहित टेण्डर खुला गरिएको बताए । ‘२१ वटा घाटको टेण्डर खुला भएको छ, भारतीले भने, न्यूनतम २२ लाख उठाउने महानरले लक्ष्य राखेको छ ।’ उनका अनुसार आवश्यक कागजातसहित प्रक्रिया पुर्याएर व्यवसायी टेण्डरमा सहभागि हुन पाउनेछन् । उनले २१ वटा घाटमध्ये सबैभन्दा कम रकम १२ लाख ३० हजार पुरुन्चौर नयाँ घाटको रहेको बताए । प्रशासकीय अधिकृतका भारतीका अनुसार सर्वाधिक रकम रामघाटको रहेको छ । जसको ६ करोड ७८ लाख ९६ हजार रुपैयाँ तोकिएको छ । टेण्डर खुला भएको अन्य घाटहरुमा दशखेत, तुलसीतारा, रुद्रमहादेव, ढाव घाट, गोस्ते लामाचौर तल्लो गोस्ते बायाँ गजरेघाट (रु.२ करोड २३ लाख ६७ हजार ९ सय ६०), याम्दी, लालटिन बजार, पुरुन्चौर ढोडेनी, नारायणस्थान, पशुपति घाट बायाँ, पशुपति घुमाउरोघाट (रु.१ करोड २० लाख ६८ हजार ८ सय) रहेका छन् । यस्तै द्वारा कस्यार गाउँखर्क ओखलढुंगाभेडिफारम (रु.२ करोड ९ लाख ५५ हजार १ सय), रातोपहिरो खोली बायाँ (रु.१ करोड, ८५ लाख ३ हजार ३ सय), तल्लो खेत बीच भाग, सिसौघारी, लामगादी (रु.१ करोड ३१ लाख २० हजार), सुइखेत खोला, काहुँखोला र विजयपुर खोलाको बोलपत्र आह्वान गरिएको छ । सूचना:-
अर्थमन्त्री डा. प्रकाशशरण महतले चालु आर्थिक वर्षका लागि राष्ट्र बैंकले ल्याएको नयाँ मौद्रिक नीतिले अर्थतन्त्र चलायमान हुने बताएका छन्। सोमबार बुटवलमा नेपाल प्रेस युनियन रूपन्देहीले गरेको पत्रकार सम्मेलनमा मन्त्री महतले नयाँ मौद्रिक नीतिले लगानीको वातावरण सहज हुने बताएका हुन्।आर्थिक वृद्धि सुनिश्चित गर्ने र मूल्यलाई एउटा तहमा राख्ने वित्त नीती र मौद्रिक नीतिको लक्ष्य रहेको मन्त्री महतले जानकारी दिएका छन्। ‘त्यसले निजी क्षेत्रमा लगानी पनि सहज हुन्छ । ब्याजदर पनि कम भएर जान्छ,’ उनले भने।समग्रमा हेर्दा मूल्यवृद्धि पनि कम भएको मन्त्री महतको दाबी छ। ‘कुनै वस्तुमा बढेको पनि होला तर समग्रमा घटेको छ,’ उनले भने। मन्त्री महतले विसंगतिहरुलाई चिरेर जाने, समस्याको हल गर्दै जाने बाटोमा सरकार अघि बढेको बताए।
पोखरा: कास्की प्रहरीले एक जनालाई महिलालाई कुटपिट गरेको आरापमा पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङ बेनीघाट रोराङ गाउँपालिका १० डुंगेका २५ वर्षीय दिपेन गुरुङ भनिने सन्त बहादुर मगर रहेका छन् । उनले गत जेठ ५ गते राती करिब १० बजे पोखरा महानगरपालिका १८ गुफाडाँडा स्थित झाँडीमा एक महिलालाई गम्भीर घाइते हुनेगरी कुटपिट गरी फरार थिए । फरार रहेका सन्तबहादुरलाई नेपाल प्रहरी प्रदेश कार्यालय पोखरा, जिल्ला प्रहरी कार्यालय कास्कीको सहकार्यमा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले आफ्नै घरबाट आइतबार पक्राउ गरेको हो । कास्की प्रहरीका प्रवक्ता तथा डिएसपी श्रवण कुमार बिकका अनुसार सन्तबहादुरले महिलाको ४ हजार मोवाइल लुटेर फलामको हथौडा तथा धारिलो हतियार चक्कुसमेत प्रहार गरेका थिए । त्यसपछि ति महिलालाई झाँडीमा फालेर फरार थिए । पक्राउ परेका सन्तबहादुरलाई कास्की जिल्ला अदालतबाट कुटपिट वा अंगभंग सम्बन्धी कसुर मुद्दामा ७ दिन म्याद थप गरी अनुसन्धान गरिरहेको छ ।
इटहरी उपमहानगरपालिकाले छात्रवृत्ति विवरण नबुझाउने दुइटा निजी स्कुलको अनुमति रद्द गरेको छ। इटहरी-१० मा रहेको इटहरी नमूना स्कुलु र ६ नम्बर वडामा रहेको इटहरी चिल्ड्रेन स्कुलु को अनुमति रद्द गरिएको मेयर हेमकर्ण पौडेलले जानकारी दिए। प्रचलित शिक्षा ऐन र नियमावलीमा भएको व्यवस्था बमोजिम छात्रवृत्ति वितरणको विवरण पेस गर्न लिखित पत्राचार गरे पनि अटेर गरेपछि अनुमति रद्द गरिएको उनले बताए। २०८० असार २९ को नगर शिक्षा समितिको बैठकले समयमा छात्रवृत्तिको विवरण नबुझाउने स्कुलको अनुमति रद्द गर्ने निर्णय गरेको थियो। त्यसअघि, असार २१ गतेको बैठकले तोकिएको समय सीमाभित्र विवरण नबुझाउने स्कुललाई एक लाख रूपैयाँ जरिवाना तोकेको थियो। जरिवाना पनि नबुझाएपछि उपमहानगरपालिकाले दुइटा स्कुलको अनुमति रद्द गरेको हो। इटहरी नमूना स्कुलले कक्षा ६ सम्मको अनुमति लिएको थियो भने इटहरी चिल्ड्रेन स्कुलले कक्षा १० सम्मको अनुमति लिएको थियो। उपमहानगरले अनुमति रद्द गरेको पत्र आइतबार सम्बन्धित स्कुलहरूलाई पठाएएको छ। अनिवार्य तथा निःशुल्क शिक्षासम्बन्धी ऐन(२०७५ अनुसार संस्थागत विद्यालयहरूले विद्यार्थी संख्याको अनुपातमा छात्रवृत्ति प्रदान गर्नुपर्ने व्यवस्था छ। नियमानुसार छात्रवृत्ति प्रदान गरेको विवरण स्थानीय सरकार समक्ष बुझाउनुपर्छ। नियमअनुसार पाँच सय जनासम्म विद्यार्थी हुने स्कुलले १० प्रतिशतलाई अनिवार्य छात्रवृत्ति दिनुपर्छ। त्यस्तै पाँच सयदेखि आठ सय जनासम्म विद्यार्थी हुनेले १२ प्रतिशत र आठ सयभन्दा माथि हुनेले १५ प्रतिशतलाई छात्रवृत्ति दिनुपर्ने कानुनी प्रावधान छ। बाल कक्षादेखि कक्षा १२ सम्मकै हकमा यो नियमअनुसार छात्रवृत्ति दिनुपर्ने हुन्छ।
काठमाडौंको सोह्रखुट्टेमा आइतबार मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। काठमाडौं महानगरपालिका–१६ सोह्रखुट्टे उकालोमा आइतबार बा ४ ख ७४११ नम्बरको बससँग बा ६४ प ४९३२ नम्बरको मोटरसाइकल ठोक्किएको हो। उक्त दुर्घटना परी मोटरसाइकल चालक २३ वर्षीय शिवसुन्दर गजुरेलको मृत्यु भएको प्रहरीले जनाएको छ। हाल बालुवाटार बस्ने शिवसुन्दरको स्थायी घर नुवाकोट बेलकोटगढी नगरपालिका–९ घर भएको प्रहरीले जानकारी दिएको छ। काठमाडौं उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले दुर्घटनामा गम्भीर घाइते भएका शिवसुन्दरको उपचारका क्रममा नयाँबजारस्थित पिपल्स अस्पतालमा मृत्यु भएको जानकारी दिए। प्रहरीले बस र बसका चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रवक्ता भट्टले बताए।

