काठमाडौं: विराटनगरका पाइलट समर्पण कार्की मिस्टर नेपाल-२०२३ बनेका छन्। शनिबार भएको एक कार्यक्रममा १८ प्रतिस्पर्धीलाई पछि पार्दै उनले मिस्टर नेपालको उपाधि जितेका हुन्। उनलाई मिस्टर नेपाल नुतन श्रेष्ठले ताज लगाइदिएका थिए। युवाको प्रेरणाको स्रोत बन्ने उद्देश्यसहित प्रतियोगीतामा सहभागी भएका कार्कीले मिस्टर इन्टल्लेक्चुअलको उपाधि समेत हासिल गरे। प्रतियोगीतामा उनले नगद ५ लाख बराबरको उपहारसहित 'मिस्टर वर्ल्ड २०२३' वा 'मिस्टर ग्लोबल २०२३' मा नेपालको प्रतिनिधित्व अवसर प्राप्त गरेका छन्। समर्पण पेशाले पाइलट हुन्। प्रतियोगीतामा काठमाडौंका निमेश कपाली फर्स्ट रनरअप, काभ्रेका क्रिशल श्रेष्ठ सेकेन्ड रनरअप, चितवनका डा. विजय दुवाडी थर्ड रनरअप र भक्तपुरका असिम लामिछाने फोर्थ रनरअप घोषित भए। अभिनेत्री आँचल शर्मा, माल्भिका सुब्बा, डा. आयुष्मान घिमिरे, विश्व किरण जैन, लु लिन, मनिषा डंगोल, राजभाई सुवाल, शैलजा अधिकारीलगायत निर्णायक रहेको प्रतियोगीतामा मोस्ट पपुलर रमननाथ गिरी, मिस्टर एक्टिभ र बेस्ट फिजिक प्रेम कुमार यादव, बेस्ट स्किन मिकाज कार्की, बेस्ट हेयर राजीव तिवारी र न्युलुक म्यान च्वाइस लोकेश प्रधानाङ्गाले हात पारे। यो प्रतियोगिता नेक्स्ट मोडल्स नेपालले आयोजना गरेको हो।
काठमाडौं : खोटाङका प्रमुख जिल्ला अधिकारी (सिडीओ) भोजराज खतिवडासहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। मुद्दा दायर भएसँगै खतिवडा निलम्बनमा परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली बिल बनाएर भ्रष्टाचार गरेको आरोपमा ओखलढुङ्गाको सिद्धिचरण नगरपालिकाका पूर्वप्रमुख प्रशासकीय अधिकृत, वडाध्यक्ष र प्राविधिकसहित १० जनाविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको हो। आयोगले आर्थिक वर्ष २०७५र७६ मा सिद्धिचरण नगरपालिका–१० मा विद्युत् पोल, तार र ट्रान्समिटर खरिद आयोजनामा मिलेमतो गरी भ्रष्टाचार गरेको भन्दै उनीहरुविरुद्ध आरोपपत्र दायर गरेको हो। सिडीओ खतिवडा तत्कालिन प्रमुख प्रशासकीय अधिकृत थिए। खतिवडा, वडा नं १० का तत्कालिन अध्यक्ष दामोदर धमला, तत्कालिन इन्जिनियर अमृतकुमार दाहाल र तत्कालिन खानेपानी तथा सरसफाइ प्राविधिक दीलकुमार बुढाथोकीलाई चार लाख ७७ हजार आठ सय ९९ रुपैयाँ बिगो असुलउपर गरी कैद र जरीवानाको माग दाबी गरिएको छ। उपभोक्ता समितिका अध्यक्ष डिककुमार धमला, सचिव दीपकप्रसाद धमला तथा कोषाध्यक्ष गोठीमाया मगरबाट पनि चार लाख ७७ हजार आठ सय ९९ रुपैयाँ बिगो असुलउपर गरी सजायको माग दाबी गरिएको छ। त्यस्तै नेपाल विद्युत प्राविधिकरणका ओखलढुङ्गा वितरण केन्द्रका तत्कालित कार्यालय प्रमुख सञ्जिव साह, भण्डार प्रमुख वीरबहादुर राई र नमामी सप्लायर्सका प्रोप्राइटर सञ्जीवकुमार यादवविरुद्ध मुख्य प्रतिवादीहरूलाई हुने सजाय बराबर सजाय गरी बिगोसमेत असुल उपर गर्न मागदावी गरी आइतबार विशेष अदालतमा आरोपपत्र दायर गरिएको छ। वडा १० मा विद्युत् पोल तार र ट्रान्समिटर खरिद योजनामा भ्रष्टाचार गरेको भनी परेको उजुरी निवेदनमाथि आयोगले अनुसन्धान गरेको थियो। अनुसन्धानबाट वडा १० मा विद्युतीकरणको कार्यका लागि तार, पोल ट्रान्सफर्मर खरिद एवं निर्माण आयोजनामा निःशुल्क प्राप्त तथा खरिद नै नगरिएको सामग्रीको उनीहरूले नक्कली बिल बनाएको आयोगले बताएको छ।
काठमाडौंको बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा गरेको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी०ले आइतबार थप एक जनालाई पक्राउ गरेको एसएसपी दिनेश आचार्यले जानकारी दिए। पक्राउ पर्नेमा तत्कालीन नापीका कर्मचारी अरूणकुमार श्रेष्ठ छन्। उनलाई प्रहरीले जोरपाटीस्थित घरबाट पक्राउ गरेको हो।एसएसपी आचार्यका अनुसार सरकारी जग्गा व्यक्तिको नाममा गर्नमा उनले पनि भूमिका खेलेका थिए। योसँगै यस प्रकरणमा पक्राउ परेका १९ जना सिआइबीको हिरासतमा छन्। यसअघि शुक्रबार सर्वोच्च अदालतले सञ्चार, सूचना तथा प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउतलाई छाड्न आदेश दिएको थियो। अहिले उनलाई हिरासतमा नराखी नै अनुसन्धान भइरहेको हो। राउतले सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेका थिए। भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरूङ, निर्वाचन आयोगका पूर्वआयुक्त सुधीरकुमार शाह र धर्मप्रसाद गौतमले पनि उक्त रिट दायर गरेका थिए। तर उनीहरूलाई सर्वोच्चले थुनामुक्त गरेको थिएन। प्रहरीले समरजंग कम्पनीका तत्कालीन प्रमुख लोकहरि घिमिरे, समरजंग कम्पनीका तत्कालीन प्रमुख रमेशकुमार पोखरेल, नक्कली मोही देवनारायण महर्जन, तत्कालीन नापी अधिकृत ध्रुव अर्याल र गोपाल कार्कीलाई पक्राउ गरेको छ। काठमाडौं महानगर वडा नम्बर ५ का तत्कालीन वडा सचिव शिवजी भट्टराई, नक्कली मोही बाबुराजा महर्जन र तत्कालीन नापी कार्यालयमा रहेका घमानकुमार कार्की पनि पक्राउ परेका छन्।समरजंग कम्पनीका तत्कालीन सहायक लेखापाल विनोद पौडेल, भौतिक योजना मन्त्रालयका तत्कालीन सिनियर डिभिजन इन्जिनियर बालकृष्ण श्रेष्ठ, भूमि व्यवस्था विभागका तत्कालीन महानिर्देशक रूद्रप्रसाद श्रेष्ठ, तत्कालीन मालपोत कार्यालयका नायब सुब्बा योगराज पौडेल र खरिदार नारायणदास मिश्र प्रहरी हिरासतमा छन्। यस्तै प्रहरीले केशव तुलाधरलाई पनि पक्राउ गरेको थियो। नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका उनलाई काठमाडौं जिल्ला अदालतले धरौटीमा छाडेलगत्तै सिआइबीले ललिता निवास जग्गा प्रकरणमा पक्राउ गरेको हो। मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख कलाधर देउजा कलाधर देउजालाई पनि प्रहरीले पक्राउ गरेको हो। उनीसहित १७ जनाले आफूहरूलाई पक्राउ नगर्न सर्वोच्च अदालतबाट स्टे अर्डर लिएका थिए। उनलाई सिआइबीले असार १२ गते नै पक्राउ गरेको थियो। तर स्टे अर्डर लिएकाले प्रहरीले उनलाई छाडेको थियो। स्टे अर्डरविरूद्ध सिआइबीले भ्याकेट निवेदन दिएको थियो। त्यसपछि सर्वोच्चले आदेश दिएलगत्तै देउजालाई पक्राउ गरेको हो।ललिता निवासको १४३ रोपनी जग्गा विभिन्न चरणमा व्यक्तिको नाममा गएको देखिएको छ। सरकारी जग्गा हडपेको पाइएपछि प्रहरीले पुनस् अनुसन्धान गरी उनीहरूलाई पक्राउ गरेको हो।
काठमाडौँ: वन तथा वातावरण मन्त्रालयका सहायक सहायक संरक्षण अधिकृत राम एकवाल दासले लेखेको लोकसेवा तयारीसम्बन्धी एउटा पुस्तकमा आपत्तिजनक प्रश्नोत्तर भेटिएको छ। विद्या विकास पब्लिकेसन्स कलंकीले प्रकाशित गरेको ‘गेमस्काउट, वन रक्षक, सफलताको साथी’उक्त पुस्तकको पेज नम्बर १४३ मा केटी ९महिला०हरुबारे आपत्तिजनक शब्दसहित प्रश्नोत्तर राखिएको छ। पुस्तकको १४३ पेजको १८ नम्बर प्रश्नमा चारवटा अप्सनसहित महिलाबारे आपत्तिजनक कुरा सोधिएको हो। त्यसपछि जवाफको अप्सनमा राखिएको छ। उक्त प्रश्नलाई लिएर अहिले सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेको छ। उक्त कितावको विवादित प्रश्नोत्तर सार्वजनिक भएपछि विद्या विकास पब्लिकेसन्सका सञ्चालक बाबुराम आचार्य तनावमा छन्। कलंकीमा रहेको आफ्नो प्रेसबाट पुस्तक छापेपछि उनले कार्यालयको फोन नम्बर पनि राखेका थिए। उक्त प्रश्नलाई लिएर आचार्यले अहिले जवाफ दिएर भ्याइ नभ्याइ भएको छ। ‘लेखकले लेखेर ल्याएपछि हामीले किताब छापिदिएको हो। हामीलाई भित्रको कन्टेन्ट के हुन्छ थाहा हुँदैन’, उनले भने, ‘लोकसेवाका लागि पुस्तक लेखिरहने सरले ल्याएपछि सबै हेरिरहने कुरा पनि भएन। सरले ल्याएपछि हामीले प्रकाशित गरिदिएका हौँ।’ उनले उक्त पुस्तकमा भएको विवादित कन्टेन्टलाई लिएर फोन आइरहेको बताए। ‘हामीलाई फोन आएको आयै छ। उता हामीले सरसँग सम्पर्क गरिरहेका छौँ। उहाँले अहिले बैठकमा व्यस्त छु भन्नु भएको छ’, उनले भने, ‘उहाँसँग कुरा भएपछि बजार पठाइएका सबै पुस्तक फिर्ता गर्ने वा कन्टेन्ट सच्याएर फेरि छाप्ने कुराबारे निर्णय लिन्छौँ।’
पोखरा: मादी गाउँपालिका वडा ६ को कार्यालयले संस्कृतिको संरक्षणमा सघाउ पुर्याउने उद्देश्यसहित वाद्यवादनका समाग्री सहयोग गरेको छ । वडाध्यक्ष दिल बहादुर क्षेत्रीको अगुवाईमा गण्डकी प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम केन्द्रको सहयोगमा मादी–६ बाजा समूहलाई एक सेट नौमती बाजा सहयोग गरेको हो । यस्तै दुई भजन समूहलाई पनि वडाको तर्फबाट २ सेट वाद्यवादन समाग्री हस्तान्तरण गरिएको वडाध्यक्ष क्षेत्रीले जानकारी दिए । उनले सो समूह बाहेक आमासमुहलाई लक्षित गरी एक टोल एक मादल वितरण गरिएको बताए । ‘हामीले हाम्रो वडामा रहेको मौलिक कला संस्कृतिको संरक्षण र उजागर गर्ने हेतुले वाद्यवादनको समाग्री सहयोग गरेका हौं,’ वडाध्यक्ष क्षेत्रीले भने ।
अब भारतबाहेक अन्य मुलुक जानेले २५ सय डलरसम्म रकम लैजान पाउने भएका छन्। राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८० र ८१ को लागि मौदिक नीति सार्वजनिक गर्दै यस्तो व्यवस्था गरेको हो। नीतिमा उल्लेख छ, भारतबाहेक अन्य मुलुकहरूको भ्रमणमा जाने नेपाली नागरिकहरूलाई राहदानी सुविधाबापत एक वर्षमा दुई पटकसम्म २५ सयसम्म उपलब्ध गराइने व्यवस्था गरिनेछ। हाल अमेरिकी डलर १५ सयसम्म सटही सुविधा उपलब्ध थियो।
पोखरा: पोखरा ७ बुलौदीस्थित (शनिबार) बुलेट मोटरसाइकल बिजुलीको पोलमा ठोक्किदा गम्भीर घाइते भएका दुईजनाको स्वास्थ्य अवस्थामा सुधार आएको छ । ग १९ प ६०६८ नम्बरको बुलेट मोटरसाइकल बिजुलीको पोलमा ठोक्किदा दुवैजना गम्भीर घाइते भएका थिए । उपचारको क्रममा मेट्रोसिटी लगिएको उनीहरुको मेडिकल रिपोर्टले मादक पदार्थ सेवन गरेको पुष्टि गरेको वडा प्रहरी कार्यालय बैदामका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक बेद जोशीले बताए । डिएसपी जोशीका अनुसार दुवैजना खतरामुक्त छन् । ‘चालक कुलदेव र संगम थापा दुइटै मापसे देखिएको छ, सुनगाभा न्यूजँग उनले भने, ‘कुलदेवलाई ८ वटा टाँका लगाएर वार्डमा सारिसकेको छ भने संगम थापाको नाकबाट रगत बगेको कारण आइसियुमै राखेर उपचार भइरहेको छ । तर दुवैजना खतरामुक्त छन् ।’ शनिबार बिहान करिब ५ः४५ बजे बुलौदीस्थित सडक किनारमा रहेको बिजुलीको पोलमा बुलेट मोटरसाइकल ठोक्किएर दुर्घटना भएको थियो । सोही स्थानमा जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले सवारी सचेतनासम्बन्धि बोर्ड राखेपनि दुर्घटना भइरहन्छ ।
पोखरा: पोखरामा गण्डकी प्रदेशस्तरिय यू–१६ फुटबल छनौट प्रतियोगिता सुरु भएको छ । गण्डकी प्रदेश फुटबल संघको आयोजनामा पोखरा रंगशाला आज (आइतबार) बाट सुरु भएको हो । एन्फा गण्डकीका महासचिव विनोद गुरुङका अनुसार प्रतियोगिताबाट अन्तिम नामावली भोलि (सोमबार) सार्वजनिक हुनेछ । ‘यति जना भन्ने छैन जे होस् राम्रो खेलाडीहरु छानिएर माथि जान्छन्,’ गुरुङले भने । एन्फा गण्डकीका वरिष्ठ उपाध्यक्ष एवं छनौट प्रतियोगिताका संयोजक मिलन गुरुङले छनौट प्रतियोगितामा मनाङ, पर्वत, तनहुँ, स्याङजा, म्याग्दी, गोरखा, नवलपुर, बाग्लुङ र लम्जुङका गरी करिब २ सय खेलाडीहरुको सहभागिता रहेको बताए । ‘लगभग सबै जिल्लाको खेलाडीहरुको सहभागिता छ, भोलि पनि गेम हुन्छ त्यसपछि अन्तिम नामावली सार्वजनिक गर्छाै, उनले भने, ‘फाइनल सेलेक्सन काठमाडौंमै हुन्छ ।’ उनका अनुसार छनौट प्रतियोगितामा नेपाली राष्ट्रिय टिमका सहायक प्रशिक्षक किरण श्रेष्ठको नेतृत्वमा प्रशिक्षकहरु प्रल्हाद हिराचन, बेद बहादुर थापा, सुविन श्रेष्ठ, दिलिप थापा र ओम गुरुङको सिफारिसमा खेलाडी छनौट हुनेछन् । प्रदेशबाट छनौट भएका खेलाडी काठमाडौंमा साउन १६ देखि २० गतेसम्म हुने अन्तिम छनौटमा सहभागि हुनेछन् ।
पाेखरा: वडा प्रहरी कार्यालय बैदामले शनिबार राती लेकसाइडबाट एक चिनियाँ र एक नेपाली नागरिकलाई पक्राउ गरेको छ । उनीहरुले नेपाली युवतीलाई टिकटकमा लाइभ बसेर नाच्न लगाएको आरोपमा पक्राउ गरेको बैदाम प्रहरीले बताएको छ । मुख्यत: चिनियाँ नागरिकले युवतीहरुलाई टिकटक लाइभमा राख्ने र नाच्न लगाउने गर्दै आएका थिए । लाइभमा नाच्नेक्रममा चिनियाँले युवतीहरुलाई बिस्तारै नाँगिन लगाउथे । स्रोतका अनुसार करिब ८ जना युवती लाइभमा बस्ने र उनीहरुलाई चिनियाँहहरुले नै हेर्ने गर्दथे । त्यस्तै, चिनियाँले उसकै भाषामासमेत लाइभबारे बेलिबिस्तार लगाउँथे । यस विषयमा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं डिएसपी श्रवणकुमार बिकले ‘जानकारी नभएको’ बताएका छन् । यद्यपि, बैदाम प्रहरी प्रमुख वेद जोशीले भने यसको पुष्टि गरे । ‘हामीले २ जनालाई पक्राउ गरेका छौं’ डिएसपी जोशीले भने ‘जसमध्ये एक चिनियाँ र अर्का नेपाली छन् ।’ टिकटक लाइभमा बस्ने ७ युवतीलाई भने आज प्रहरी कार्यालय बोलाइएको उनले जनाए । युवतिहरु माध्यममात्र भएको र उनीहरु टिकटक लाइभमा बस्दा के, कसरी कार्वाही प्रक्रिया अघि बढाउने भन्ने विषयमा छलफल गरिरहेको जोशी बताउँछन् । ‘युवतिहरुले सांस्कृतिक नृत्य देखाउने र भ्युअर्सकाआधारमा चिनियाँले पैसा दिने गरेको पाइएको छ’ जोशीले भने । यता, हाम्रो स्रोतका अनुसार युवतिहरुले नेपाली नृत्य नभई नग्न नृत्य देखाउने गरेका थिए । युवतीहरुले टिकटकमा पाएको गिफ्ट अनुसार चिनियाँले पैसा दिन्थे । त्यस्तै, प्रहरीले पैसा बरामद गरे/नगरेको प्रष्ट नपारेपनि करिब ९ लाख रुपैयाँसहित २ लाई पक्राउ गरिएको स्रोत बताउँछ । पक्राउ परेका नेपाली लेकसाइडमै होटल सञ्चालन गर्छन्, जहाँबाट टिकटक लाइभ हुने गरेको थियो । जानकारका अनुसार पोखरामा चिनियाँले नेपाली युवतीलाई टिकटकमा लाइभ बस्न लगाएर नाँच्न लगाउने गिरोह नै सक्रिय छ । यस्ता टिकटक लाइभका भ्युअर्स चिनियाँ नागरिक नै छन् ।

