प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले सभामुख पदमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद अर्याल निर्वाचित भएको घोषणा गर्नुभएको छ ।   आइतबार बिहान ११ बजे सिंहदरबारस्थित निर्मा...

पोखरा:    बगान चलचित्रका निर्देशक सरोज खनालले यसपटक चलचित्रमा पुरुषको दबदबा भएको देशमा एकल आमा नारी र शिक्षालाई लिएर चलचित्र तयार गरेको बताएका छन् ।  चितवन, बुटवल हुँदै पोखरा आइपुगेको बगान टिमले पत्रकारहरुसँग कुराकानीको क्रममा चलचित्रका निर्देशक खनालले यस्तो बताएका हुन् । उनका अनुसार ‘बगान’ चलचित्र यही असार २९ गतेदेखि देशभर प्रदर्शन हुँदैछ । ‘हामी अझै पनि पुरुषको दबदबा भएको समाजमा छौं, बिबाह भएको कुनै व्यक्तिको श्रीमतिको मृत्यु भयो भने, अर्को बिहे गर्न सोच्न तर्फ हतार गर्ने समाजमा छौं हामी’, खनालले भने, ‘त्यही समाजमा श्रीमानको मृत्यु भएको भयो भने ति विधुवा श्रीमतिको बारेमा सोच्ने कोही हुँदैन त्यस्तो समाजमा हामी छौं ।’ समाजमा एक विधुवा महिलाले कसरी संघर्ष गरेकी छिन् । समाजमा कस्तो शिक्षा हामीले सिकाउनुपर्छ भनेर चलचित्रमा जोड दिएको निर्देशक खनालले बताए ।  नेपाली हलमा नेपाली कथा नै दर्शकहरुले खोजेकाले नेपाली समाजको कथा नै चलचित्रमा जाडेको खनाले सुनाए । ‘तीन हप्तापछि म जारी चलचित्र हेर्न गए, दर्शकको नजरमा जारी चलचित्रको पर्नुको मुख्य आर्कषण समाजको कथा थियो’, उनले भने, ‘समाजको सानो सानो कथाले दर्शकलाई छोएको छ, त्यसैले दर्शकहरुले नेपाली समाजमा नै निर्माण भएको चलचित्र खोजको छन् ।’ यस्तै अभिनेत्री तथा बगान चलचित्रका नायिका करिश्मा मानन्धरले चलचित्रमा लगानी मात्र नभएर सबै क्षेत्रलाई समेत्न सके मात्र सफल हुने बताईन् ।  ‘चलचित्रमा लगानी गरेर मात्र हुँदैन, सबै क्षेत्रलाई जोड्न सके मात्र हामी सफल हुने हो’, उनले भनिन्, ‘चलचित्रमा हिरोजम मात्र चल्छ भन्ने हुदैन कथालाई सबैसँग जोड्न सफल हुन सकिन्छ ।’ नेपाली वेबसाइट डटकमको प्रस्तुती रहेको ‘बगान’का निर्माता सुरेश वाग्ले, निर्देशक सरोज खनाल, नायिका करिश्मा मानन्धर, प्रमिला कार्की आइतबार पोखरा आएका हुन् ।

काठमाडौं:     प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरूबीच संसद् बैठक सञ्चालन गर्न भएको सहमति दुई घण्टा नबित्दै तोडिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई सिंहदरबारमा बोलाएर छलफल गरेपछि संसद् चलाउनेबारे सहमति भएको थियो । प्रधानमन्त्री प्रचण्डले भारतीय व्यापारी प्रितम सिंहबारे लेखिएको पुस्तक विमोचनका क्रममा बोलेको कुरा फिर्ता लिने र एमालेले संसद् चल्न दिने नेताहरूले सहमति गरेका थिए । दिउँसो १ बजे सहमति भएपछि ३ बजेका लागि निर्धारित प्रतिनिधिसभा बैठक सञ्चालनको तयारी थियो । तर नेकपा एमालेले केही सर्त थपेपछि आजको प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । बैठक भोलि सोमवारका लागि आह्वान भएको छ । सिंहदरबारबाट बाहिरिएपछि संसद् भवन पुग्नुभएका एमाले अध्यक्ष ओलीले यसअघि माओवादीका नेताहरू र प्रधानमन्त्री प्रचण्डले एमालेमाथि लगाएका आरोप फिर्ता हुनुपर्ने, प्रचण्डको सचिवालयले निकालेको विज्ञप्ति खारेज हुनुपर्ने लगायतका माग थपेपछि सहमति तोडिएको माओवादीका नेताहरूले बताएका छन् । प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन प्रितम सिंह पटक–पटक दिल्ली गएको अभिव्यक्ति दिएपछि गएको बुधवारदेखि नै राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठकमा नेकपा एमालेले अवरोध गरिरहेको छ । आज पनि एमालेका सांसदले राष्ट्रियसभाको बैठक चल्न नदिएपछि भोलिसम्मका लागि स्थगित भएको छ ।

पर्वत, जलजला गाउँपालिका वडा नं ५ लेखफाँटको सिङ्गो गाउँ पहिराको जोखिममा परेको छ । बस्तीभन्दा माथि रहेको लोप्रेको सिङ्गो डाँडै चर्किएर लेदो बग्न थालेपछि गाउँ जोखिममा परेको हो ।   निरन्तरको वर्षासँगै पहाडबाट झरेको कमेरो माटो, ढुङ्गासहितको लेदोले खेतबारीसमेत पुरिन थालेको छ । वडा नं ५ लेखफाँटका साविकका दुई वडामा रहेका तीन सयभन्दा बढी परिवार विस्थापित हुने अवस्थामा पुगेको गाउँपालिकाका अध्यक्ष राजु आचार्यले जानकारी दिए ।   उनका अनुसार पहाडको सबै भाग चर्किएकाले जोखिम न्यूनीकरणका लागि तत्काल कुनै कदम चाल्नुपर्छ । डाँडामुनि रहेका मूलघडेरी, गैरीगाउँ, पूर्णगाउँ र माझफाँटसम्म जोखिम रहेको उनले बताए । पर्वतको वारी बेनीसमेत उक्त पहिराको जोखिममा पर्ने देखिएको छ ।   वर्षायाम सुरु भएसँगै खेतबारीमा रोपेको धान, कोदो पहाडबाट झरेको लेदोले पुरिन थालेपछि गाउँलेहरुले स्थानीय सरकारलाई गुहारेका छन् । गाउँपालिकाका जनप्रतिनिधिसहित जिल्ला विपद व्यवस्थापन समितिको टोलीले जोखिमपूर्ण स्थलको अवलोकन गरेको छ ।   स्थानीय पदम कार्कीले पहाड नै चर्किएपछि बस्ती नै स्थानान्तरण गर्नुपर्ने अवस्था आएको बताए । ‘लगाएको खेतीबालीसमेत पूरै पुरिएको छ, कमेरे माटोमा खेती नहुने भएकाले हिउँदमा समेत खेतीबाली लगाउन नमिल्ने भइसक्यो, हामी निकै समस्यामा परेका छौँ, बस्ती छाड्ने कि संरक्षण गर्ने भन्ने अन्योल रहेको छ’, उनले भने ।   गाउँपालिकाले भने बस्तीमा ढुङ्गामाटो आउन नदिनका लागि तत्कालका लागि ड्याम बनाएर व्यस्थापन गर्ने योजना बनाएको छ । यो योजना दिर्घकालीन नहुने स्थानीयको भनाइ छ । पहाड खस्नबाट जोगाउनुभन्दा पनि मानव बस्तीलाई जोगाउनतर्फ लाग्नुपर्ने स्थानीयले अनुरोध गरेका छन् ।   भू तथा जलाधार व्यवस्थापन कार्यालयका प्रमुख दिवाकर पौडेलले उक्त क्षेत्रको अवस्था भयावह रहेको बताए । प्राकृतिक प्रकोपलाई कसैले रोकेर रोक्न नसकिने जनाउँदै उनले कुनै पनि बेला ठूलो दुर्घटना निम्तिने अवस्था रहेको बताए । उनले पहिला मानव तथा गाईबस्तुको संरक्षणमा ध्यान दिनुपर्ने बताए ।   विसं २०७२ को भूकम्पपछि उक्त क्षेत्रमा पहिराको जोखिम बढ्दै गएको हो । तत्कालीन अवस्थामा त्यहाँका पाँच परिवार विस्थापित भएका थिए । भूकम्पपछि हरेक वर्षायाममा यहाँका बासिन्दा त्रासपूर्ण अवस्थामा बस्दै आएका छन् ।   उक्त क्षेत्रको जोखिम न्यूनीकरणका लागि जिल्ला विपद् व्यवस्थापन समितिको बैठक बोलाएर आवश्यक निर्णय गरिने गाउँपालिकाका अध्यक्ष आचार्यले जानकारी दिए । 

काठमाण्डौ:  काठमाण्डौमा महिलाहरूको सुनको सिक्री लुट्ने गिरोह पक्राउ परेको छ ।   ुमर्निङ वाकु मा निस्किने महिलाहरूलाई सुनियोजित ढङ्गले पछ्याएर सिक्री लुट्ने पाँच जनाको गिरोहलाई काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो । उनीहरूले २० दिनमा आठ जना महिलाको सिक्री लुटेका कार्यालयका प्रमुख एवम् प्रहरी वरिष्ठ उपरीक्षक मनोजकुमार केसीले जानकारी दिनुभयो ।   पक्राउ पर्नेमा लुटपाटका मुख्य योजनाकार काभ्रेको पाँचखाल नगरपालिका–७ घर भएका उमेश क्षेत्री, चोरी गर्ने रामेछापको लिखु गाउँपालिका–१ का रवीन दमाई, सुनसरीको धरानका रवि विक, धनकुटाका राहुल माझी र चोरीको सुन खरिद गर्ने भारतको पश्चिम बङ्गालका श्रीकान्त मैती रहेका छन् । उनीहरूले चोरीको मोटरसाइकल प्रयोग गरेर मर्निङ वाकु मा हिँडिरहेका महिलाहरूको सिक्री लुट्दै आएका थिए ।

नयाँ दिल्ली:     भारतको जम्मु–कश्मिरमा बाढीमा बगेर दुई सैनिकको मृत्यु भएको छ। बिबिसी हिन्दीका अनुसार शनिबार जम्मु–कश्मिरको पुन्च क्षेत्रमा गस्तीमा गएका सैनिकहरू एउटा नदी तर्ने क्रममा बगेका थिए। बाढीमा बगेका नायब सुबेदार कुलदीप सिंह र लान्स नायक तेलु रामको मृत्यु भएको भारतीय सेनाले पुष्टि गरेको छ। जम्मु(कश्मिरमा भारी वर्षाका कारण जनजीवन प्रभावित भएको छ। त्यहाँका धेरै सडक अवरूद्ध भएका छन् भने स्थानीय नदीको बहाव निकै बढेको छ। भारतको मौसम विभागले अझै केही दिन उत्तर पश्चिमी भारतमा भारी वर्षाको चेतावनी दिएको छ।

काठमाडौैं:  ट्यांकी निर्माण नै नगरी भुक्तानी दिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हुम्लाको चंखेली गाउँपालिकाका तत्कालिन प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुर शाहीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।   आर्थिक वर्ष २०७८/०७९ मा कर्णाली प्रदेशको मुख्यमन्त्री रोजगार कार्यक्रम अन्तर्गत चंखेली गाउँपालिका–२ मा खानेपानीको ट्यांकी निर्माण गर्ने योजना थियो । तर ट्यांकी निर्माण नै नगरी नापी किताब, कार्यसम्पन्न प्रतिवेदन र उपभोक्ताको बिलमा चढाई बढी मूल्यांकन गरी भुक्तानीदिएको अख्तियारको आरोप छ ।   प्रमुख प्रशासकीय अधिकृत शाहीले ६ लाख ४८ हजार ७८६ रुपैयाँ हानीनोक्शानी पुर्‍याएको अख्तियारका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले बताए ।   यो घटनामा अख्तियारले चंखेली गाउँपालिकाका इन्जिनियर मानबहादुर ऐडी, प्राविधिक सहायक गोभधन बोहरा, लेखापाल नवीन रेग्मी, चंखेली गाउँपालिका–२ का तत्कालिन वडाध्यक्ष हरिहर उपाध्याय, ट्यांकी निर्माण उपभोक्ता समितिका अध्यक्ष गोपाल विश्वकर्मा, सचिव प्रयोगलाल जैसी, कोषाध्यक्ष नन्दादेवी देवकोटा धितालविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

काठमाडौं:     प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरुको बैठक सकिएको छ । शीर्ष नेताहरुको बैठकपछि बुधबारदेखि जारी प्रतिनिधिसभाको अवरोध आजदेखि हट्ने भएको छ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को पहलमा सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज बसेको बैठकमा सङ्घीय संसद्को अवरोध खुलाउन सहमति भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । गत बुधबारदेखि प्रमुख प्रतिपक्षी नेकपा (एमाले) लगायतका दलले सङ्घीय संसद्का दुवै सदनको बैठक अवरोध गर्दै आएका छन् । सदनको अवरोध खुलाउने विषयमा प्रधानमन्त्रीले प्रमुख दलका शीर्ष नेतासँग संवाद गर्न आज बिहान सत्ता गठबन्धनमा आबद्ध दलका शीर्ष नेताहरुले आग्रह गर्नुभएको थियो ।  सिंहदरबारमा बसेको बैठकमा प्रधानमन्त्री प्रचण्ड, प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा हुनुहुन्थ्यो ।  यसअघि प्रधानमन्त्री प्रचण्डको आग्रहमा सभामुख देवराज घिमिरेले आज दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक अपराह्न ३ बजेका लागि सार्नुभएको छ ।

काठमाडौं:    नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रतिवादी सन्देश शर्माले आरजु राणाको नाम लिएर सार्वजनिक भएको अडियो उनकै भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।  नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवम् सांसद डा। आरजु राणा देउवाको नाम लिइएको अडियो सन्देश शर्माको नै भएको प्रहरीले जनाएको छ । यसअघि आरजुले वैशाख २ गते आफ्नो नाम जोडिएपछि साइबर ब्युरोमा उजुरी दिएकी थिइन् । सन्देश शर्माको आवाज भएको निर्क्योल लागेपनि त्यो अडियो कहाँबाट र कसरी तयार भयो भन्ने सन्दर्भमा टिकटक सिंगापुरलाई पत्राचार भएको प्रहरीले जनाएको छ । सन्देश शर्माको आवाज रहेको त्यस भिडियोमा आरजुलाई पनि पैसा दिइएको व्यहोरा थियो । आरजुले भने त्यसको खन्डन गरेकी थिइन् । सन्देश हाल उक्त मुद्दामा पुर्पक्षका लागि थुनामा छन् ।

पोखराः     जिल्ला प्रशासन कार्यालय कास्कीले नागरिकताको प्रमाणपत्र, राहदानी र राष्ट्रिय परिचय पत्र बनाउन विचौलियाले सेवाग्राहीबाट शुल्क लिएको गुनासो आएको भन्दै विचौलियालाई रोक लगाएको छ ।  जिल्ला प्रशासन कार्यालय कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले प्रशासनमा सेवाग्राहीको चाप फाईदा उठाउँदै सेवाग्राहीबाट विभिन्न बाहनामा शुल्क लिएको भन्दै गुनासो आएकाले प्रशासनले सूचना प्रकाशित गरेको जानकारी दिए ।  ‘प्रशासनमा केहीदिन यता नागरिकताको प्रमाणपत्र, राहदानी र राष्ट्रिय परिचय पत्र बनाउने सेवाग्राहीको चाप बढेको छ’, ढकालले भने, ‘प्रशासनान सेवाग्राहीको चापको फाईदा उठाउँदै विचौलियाले विभिन्न बाहानामा सेवाग्राहीबाट शुल्क लिएको गुनासो आएकाले विचौलियालाई प्रशासनमा रोक्न सूचना प्रकाशित गरेका हौं ।’ प्रशासनले कार्यालयमा सेवा लिन आउँदा सेवाग्राहीलाई गलत ढंगले काममा सहजीकरण गरिदिने भन्दै शुल्क मागमा प्रमुख जिल्ला अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारीको सम्पर्क मोबाइल नम्बरमा खवर गर्न आग्रह समेत गरेको छ ।