काठमाडौं: राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजा सार्वजनिक गरेको छ। प्रकाशित नतिजा अनुसार ९० देखि १०० प्रतिशत ल्याउने अर्थात् ए प्लस जिपिए ल्याउने विद्यार्थीको सङ्ख्या २२ हजार ४७५ छ। परीक्षा नियन्त्रण कार्यालयले नतिजा प्रकाशनका लागि १९ संस्थालाई अनुमति दिएको छ । जसमा १४ वटामा वेबसाइट, पाँच वटाबाट एसएमएस र आईभीआरबाट एसईईको नतिजा हेर्न सकिनेछ । नेपाल टेलिकमको १६००, जानकी टेक्नोलोजी प्रालिको ३५००१, इजी सर्भिस प्रालिको ३४९४९, आकाश टेक प्रालिको ३१००३ र क्रियसन सफ्ट नेपाल प्रालिको ३१०६४ एसएमएस गरी एसईईको नतिजा हेर्न सकिन्छ । यसैगरी , www.see.gov.np www.neb.gov.np www.see.ntc.net.np https://see.nicasiabank.com www.see.edusanjal.com www.ekantipur.com www.theconnectplus.com https://khalti.com/app www.neemaacademy.com https://mypay.com.np www.nepleeducationpoetal.com www.ayoresult.com www.results.matraeducation.com www.tuteeline.com मा एसईईको नतिजा हेर्न सकिने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।
काठमाडौं: राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशित गरेको छ । विद्यार्थी अध्ययन गरेकै विद्यालयले गरेको मूल्यांकन देशभरबाट संकलन गरी बोर्डले प्रमाणित गरेर नतिजा प्रकशन गरेको हो । विद्यालयबाट आएको मूल्यांकनलाई प्रमाणीकरण गरी सार्वजनिक गरिएको परीक्षा नियन्त्रक रुद्रप्रसाद अधिकारीले जानकारी दिए । विद्यालयको आन्तरिक मूल्यांकनलाई नै प्रमाणीकरण गरेकोले यो वर्ष पनि बोर्डले नतिजा विश्लेषण नगरेको उनले जानकारी दिए । उनले भने, ‘हामीले विद्यालयले पठाएको मूल्यांकनलाई नै प्रमाणीकरण गरेकोले जीपीए छुट्याएर विश्लेषण गर्न बोर्डले आवश्यक ठानेन ।’ परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले एसईई परीक्षा २०७७ को नतिजा बोर्डको वेबसाइट, एसएमएस र आईभीआर मार्फ प्राप्त गर्न सकिने बताएको छ । बोर्डले २०७७ सालको नियमित तथा ग्रेडवृद्धि परीक्षाको नतिजा इजी सर्भिस प्रालिबाट ३४९४९ आकाश टेक प्रालिबाट ३१००३ र जानकी टेक्नोलोजी प्रालि मार्फत् ३५००१ मा एसएमएस गरेर हेर्न सक्ने र नेपाल टेलिकममार्फत १६०० एनसेलबाट १६०० मा एसएमएस गरेर थाहा पाउन सक्ने बताएको छ । त्यसैगरी बोर्डले २०७७ को एसईईको नतिजा विभिन्न फर्म र संस्थाबाट समेत सार्वजनिक गर्ने जनाएको छ । बोर्डले बोर्डको अफिसियल बेवसाइटबाट, नेपाल टेलिकम, द कन्सेपट प्लस, एडुसञ्जाल, नेपाल टेलिकम, ईकान्तिपुर र एनसेलको वेबसाइटबाट सार्वजनिक गरेको छ ।
पोखरा: पोखरा महानगरपालिका १४ पृथ्वीराजमार्गस्थित चाउथेमा बोलेरो जीपले स्कुटरलाई ठक्करलाई दिँदा एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । औद्योगिक क्षेत्रबाट विजयपुरतर्फ आउँदै गरेको ग ८ प ५८३८ नम्बरको स्कुटरलाई सोही दिशाबाट नै आउँदै गरेको ग २ च ३१७९ नम्बरको बोलेरो जीपले ठक्कर दिदा स्कुटर चालक प्रञ्वल गुरुङको उपचारको क्रममा मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय कास्कीले जनाएको छ । स्कुटरको पछाडि सवार विमल गिरीको अहिले उपचार भइरहेको ट्राफिक कार्यालय कास्कीले जनाएको छ । आज बिहान ४ः४५ को समयमा पृथ्वीराजमार्गस्थित चाउथेमा बोलेरो जीपले स्कुटरलाई ठक्कर दिदा गम्भिर घाइते भएको स्कुटर चालक ३४ वर्षीय गुरुङको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा बिहान (५ः११)को समयमा मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय कास्कीका सूचना अधिकारी शिव पाठकले जानकारी दिए । उनका अनुसार स्कुटरमा सवार २७ वर्षीय गिरीको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । वडा प्रहरी कार्यालय रामबजारले दुर्घटनापछि जीपसहित चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको छ ।
काठमाण्डौ: प्रधानमन्त्री एवम् पोखरा विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल प्रचण्डले उच्च शिक्षाका लागि बर्सेनि लाखौँको सङ्ख्यामा विद्यार्थी बाहिरिने परिस्थिति रोकेरमात्र विश्वविद्यालयहरूले आफ्नो औचित्य पुष्टि गर्नसक्ने बताउनुभएको छ । बिहीवार दिउँसो पोखरा विश्वविद्यालयको सिनेट बैठकमा प्रधानमन्त्री प्रचण्डले विदेशमा अध्यययन गर्न जाने विद्यार्थीको अस्वाभाविक आकर्षण बढेको विषयलाई नेपालका विश्वविद्यालयहरूले गम्भीर समीक्षा गर्न जरुरी रहेको बताउनुभएको हो । विश्वविद्यालयको २३ औँ सिनेट बैठकलाई सम्बोधन गर्दै उहाँले, ‘पछिल्लो समय नेपाली विद्यार्थीहरूमा विदेशमा अध्यययन गर्न जाने अस्वाभाविक आकर्षण बढेको छ । यस विषयलाई नेपालका विश्वविद्यालयहरूले गम्भीर समीक्षा गर्न जरुरी छ ।’ सङ्घीय शिक्षा ऐन छिटो पारित गर्न सरकारले उच्च प्राथमिकता दिएकोसमेत प्रधानमन्त्रीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘सङ्घीय शिक्षा ऐन सङ्घीय संसदमा प्रस्तुत भइसकेको छ । शिक्षा क्षेत्रसम्बन्धी जति पनि समस्याहरू छन्, त्यसको समाधानका निम्ति ऐन निकै महत्त्वपूर्ण हुने हामीले विश्वास लिएका छौँ ।’ प्रधानमन्त्रीले ‘विश्वविद्यालयको रणनीतिक योजनामा रहेका विषयवस्तु र कार्ययोजना राम्रो रहे पनि रणनीतिक योजनामा यसअघिको रणनीतिक योजनामा लक्ष्य निर्धारण भएका क्रियाकलापहरू कति परिणाममुखी भए, कति कार्यान्वयन हुन सके वा सकेनन्, के कस्ता जोखिमहरू आए’ जस्ता विषयहरूमा गम्भीर बहस हुनुपर्ने बताउनुभयो । सबै विश्वविद्यालयहरूले एकेडेमिक क्यालेन्डर बनाई दृढतापूर्वक लागू गर्नुपर्ने उहाँको भनाइ छ । प्रधानमन्त्रीले भन्नुभयो, ‘अध्ययनका लागि विद्यार्थी विदेशिने परिस्थिति रोक्न विश्वविद्यालयहरूले एकेडेमिक क्यालेन्डर बनाई विद्यार्थी भर्ना, पठनपाठन र परीक्षा सञ्चालन समयमै हुने एवम् तोकिएको शैक्षिक अवधिमा विद्यार्थीहरूको अध्ययन पूरा हुने व्यवस्था गरिनुपर्दछ । विश्वविद्यालयले देशको आवश्यकता र विद्यार्थीहरूको मागअनुसारको समय सान्दर्भिक पाठ्यक्रमहरू निर्माण र कार्यान्वयनमा जोड दिनुपर्ने देखिन्छ ।
काठमाडौं: प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर नेकपा एमालेले बिहीबार पनि राष्ट्रियसभाको बैठक अवरुद्ध गरेको छ । बैठकमा एमाले सांसद भैरवसुन्दर श्रेष्ठले प्रधानमन्त्रीले मुलुकको सार्वभौमिकता र स्वाधीनताविरुद्ध अभिव्यक्ति दिएकाले राजीनामा नदिएसम्म सदन चल्न नदिने बताए । गत सोमबार प्रधानमन्त्री प्रचण्डले भारतीय नागरिक प्रितम सिंहको पुस्तक विमोचनका क्रममा प्रितम सिंह आफूलाई प्रधानमन्त्री बनाउन पटक पटक दिल्ली गएको भन्दै अभिव्यक्ति दिएका थिए । प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर एमालेले बुधबार पनि प्रतिनिधिसभा र राष्ट्रियसभा दुबै सदन अवरुद्ध गरेको थियो । एमाले नेता श्रेष्ठले प्रचण्डले प्रधानमन्त्री बन्न भारतको निर्देशन चाहिन्छ, भारतको सल्लाह सुझाव चाहिन्छ भन्ने आशयको अभिव्यक्ति दिएकाले उनी सो पदमा बस्न अयोग्य भएको दाबी गरे । ‘आज सामाजिक सञ्जालमा सदनले बनाउने भनेको प्रधानमन्त्री दिल्लीको आदेश र निर्देशनमा बन्दो रहेछ भन्ने चर्चा भएको छ । यसले हामी नेपालीको शीर निहुरेको छ’ उनले भने । बैठक अवरुद्धपछि राष्ट्रिय सभाका अध्यक्ष गणेश तिम्सिनाले शुक्रबार १२ बजेर २९ मिनेटमा बैठक बस्ने गरी राष्ट्रिय सभाको बैठक स्थगित गरेका छन् ।
काठमाडौं: लर्ड अफ ड्रिंक्स (एलओडी) क्लबका दुई सञ्चालकविरूद्ध प्रहरीले पक्राउ पुर्जी लिएर खोजी सुरु गरेको छ । १६ वर्षीया नाबालिगको ललितपुरमा बलात्कार भएको घटनामा प्रहरीले लर्ड अफ ड्रिंक्स (एलओडी) क्लबका दुई सञ्चालकविरूद्ध पक्राउ पुर्जी अनुमति लिएको हो । जिल्ला प्रहरी परिसर ललितपुरले ललितपुर जिल्ला अदालतबाट दुई जना कम्पनीका सञ्चालकविरूद्ध पक्राउ पुर्जी लिएर खोजी कार्य सुरु गरेको हो । सञ्चालकहरू रुदिलबल्लव श्रेष्ठ र राजुसिंह सुवालविरूद्ध पुर्जी जारी भएको हो। कम्पनी रजिस्ट्रार कार्यालयमा कम्पनी उनीहरूको नाममा छ। गत जेठ ३१ गते बुधबार राति ललितपुरको बागडोलमा १६ वर्षीया नाबालिगको बलात्कार भएको थियो। त्यसको भोलिपल्टै नाबालिगले प्रहरीलाई जानकारी दिएपछि आरोपी पोखराका ५० वर्षीय सुदन कोइराला पक्राउ परेका थिए। यसरी नाबालिगलाई क्लबमा प्रवेश दिँदा बलात्कार भएको भन्दै परिसरले सञ्चालकहरूविरूद्ध पनि पक्राउ पुर्जी जारी गरेको हो। प्रहरीले यस घटनामा अनुसन्धान गरिरहेको जनाएको छ।
अभिनेत्री तथा नागरिक उन्मुक्ति पार्टीकी नेता एलिजा गौतमले सक्रिय राजनीतिबाट बिदा लिएको घोषणा गरेकी छन्। बिहीबार फेसबुकमा स्टाटस लेखेर गौतमले आफू सक्रिय राजनीतिबाट बिदा लिएको जानकारी गराएकी हुन्। उनले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङसँग प्रभावित भएको र तत्काल सक्रिय राजनीतिबाट बाहिरिँदै समाज सेवामा लाग्ने बताएकी छन्। ‘यसपटक म सामाजिक कामको सिलसिलामा धरान आएकी हुँ। मेरा आगामी दिन समाज सेवामा नै सक्रिय रहनेछन्। अहिलेलाई सक्रिय राजनीतिबाट विश्राम लिएको पनि यसै पोष्टमार्फत् घोषणा गर्दछु उनले लेखेकी छन्। गौतम पाँच महिना अघिमात्र नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेकी थिइन्।
काठमाडौं: राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशनका लागि आज (बिहीबार) दिउँसो १ बजे बोर्ड बैठक बस्दैछ । हिजो (बुधबार)नै नतिजा प्रकाशनको तयारीका लागि बोर्ड बैठक बोलाइए पनि केही त्रुटि सुधार्न भन्दै आजका लागि बैठक सारिएको हो । राष्ट्रिय परीक्षा बोर्ड कक्षा १० तर्फका परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठका अनुसार एसईई नतिजा प्रकाशनको अन्तिम चरणमा पुगेको छ । उहाँले भन्नुभयो, ‘‘दिउँसो १ बजे एसईईको नतिजा प्रकाशनको सन्दर्भमा राष्ट्रिय परीक्षा बोर्डको बैठक बोलाइएको छ । सकेसम्म आज साँझ नै नतिजा प्रकाशित गर्छौ, नत्र भोलि साँझसम्म नतिजा आउँछ ।’’ गत चैत १७ गतेदेखि सञ्चालित परीक्षामा चार लाख ८५ हजार ३९६ विद्यार्थी सहभागी थिए । यसअघि सोमबार बसेको बोर्ड बैठकले गत वर्षकै निर्णयको आधारमा यसपालि पनि पुरानै निर्देशिकाअनुसार नतिजा प्रकाशन गर्ने निष्कर्ष निकालेको छ । गत वर्ष लेटर ग्रेडिङ निर्देशिका–२०७८ कार्यविधि लागू भए पनि २०७२ अनुसार नै नतिजा प्रकाशित गरिएको थियो ।
पोखरा: उपभोक्ता समितिका अध्यक्षलाई हातपात गरेको आरोप लागेका कास्कीको माछापुच्छ्रे गाउँपालिका ८ का वडाध्यक्ष रामबहादुर गुरुङ प्रहरी नियन्त्रणमा पुगेका छन् । उपभोक्ता समितिका अध्यक्ष अमृत भण्डारीले आफुलाई हातपात गरेको भन्दै वडा प्रहरी कार्यालय बगरमा मंगलबार जाहेरी दिएको आधारमा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो । त्यसपछि प्रहरीले वडाध्यक्ष गुरुङलाई सम्पर्क गरेपछि आफै प्रहरी कार्यालय आएको कास्की प्रहरीका प्रवक्ता तथा डिएसपी श्रवण कुमार बिकले बताए । उनका अुनसार अभद्र व्यवहार कसुरमा मुद्धा दर्ता भइ घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ । खोरामुख–इदीखोला सडक (नाली बनाउने र जाली भर्ने काम) का लागि पूर्वाधार विकास कार्यालय कास्कीले २१ लाख ५० हजार रुपैयाँ विनियोजन गरेको थियो । सोही उपभोक्ता समितिका अध्यक्ष अमृत भण्डारीले आफुलाई हातपात गरेको भन्दै प्रहरीकहाँ उजरी दिएका थिए । यद्यपी वडाध्यक्ष गुरुङले भने आफुले हातपान नगरेको बताउदै आएका छन् । ‘मलाई स्थानीयस्तरबाट काम भएन भन्ने भएपछि अनुगमनको क्रममा सामान्य भनाभन भएको हो, हातपात गरेको होइन,’ वडाध्यक्ष गुरुङले सुनगाभा न्यूजसँग भनेका थिए । पीडित पक्षले वडाध्यक्षलाई कारवाहीको माग गर्दै वडा कार्यालयमा नेकपा एमालेका कार्यकर्ताहरुले तालाबन्दी गरेका थिए । वडाध्यक्ष गुरुङ आफै प्रहरी नियन्त्रणमा पुगेपछि ताला खोलिएको छ ।

