काठमाडौं: राष्ट्रिय सभा बैठकमा सांसदहरूले बाढीपहिरोका कारण देशभर क्षति बढ्न थालेपछि क्षति न्यूनीकरणका लागि काम गर्न सरकार समक्ष माग गर्नुभएको छ । सांसद गोपाल भट्टराईले रुपन्देहीमा तिनाउ नदीले खतराको चिन्हपार गरेकाले सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद जगप्रसाद शर्मा, तारामान स्वाँर, तुलसाकुमारी दाहाल, भगवती न्यौपाने, मृगेन्द्रकुमार सिंह यादव, शारदादेवी भट्ट, विमला घिमिरे, शेखरकुमार सिंह, सुमित्रा बिसीले मुग्लिन–नारायणगढ सडकको विकल्प खोजिनुपर्नेमा जोड दिनुभयो । बाढीपहिरोले सातै प्रदेशमा धेरै क्षति भइसकेको उल्लेख गर्नुहुँदै उहाँहरूले अझै यसमा सरकारले तत्काल ध्यान दिन माग गर्नुभयो । सांसद इन्दिरादेवी गौतमले सोमबारको कार्यक्रममा प्रधानमन्त्रीले ‘मलाई प्रधानमन्त्री बनाउन उहाँ धेरैपटक दिल्ली जानुभएको छ’ भनेको विषय सार्वभौम मुलुकका लागि ठीक नभएको उल्लेख गर्नुहुँदै प्रधानमन्त्रीले बैठकमा आएर जवाफ दिनुपर्ने माग गर्नुभयो । रासस
काठमाण्डौ: काठमाण्डौ महानगरपालिकाले हनुमानढोका परिसरभित्र गाडी निषेध गरेको छ । महानगरका मेयर बालेन्द्र शाहले यहाँको चिनारी नै प्राचीन सम्पदा भएकाले तिनको मौलिकता जोगाउन आवश्यक भएको बताउनुभयो । ‘विश्वलाई गौरवसाथ देखाउन सक्ने, हामीले शानसँग अँगाल्न सक्ने भनेकै यिनै सम्पदा र यिनको प्राचीन मौलिकता पनि हुन्’, उहाँले फेसबुकमा लेख्नुभएको छ, ‘अनुभव गर्न र रमाउन लाखौँ पर्यटक आउन सक्छन् ।’ वसन्तपुर क्षेत्रमा दैनिक हजारौँ पर्यटक आउने गरेका उल्लेख गर्दै उहाँले सामाजिक सञ्जालमार्फत भविष्यमा लाखौँ पर्यटक आउनसक्ने सम्भावना रहेको उल्लेख गर्नुभएको छ । मौलिकता, सौन्दर्य र परिसरको वातावरण शान्त, स्वच्छ र सुरम्य हुन अत्यावश्यक रहेको उल्लेख गर्दै हनुमानढोका परिसरभित्र गाडी निषेध गरिएको मेयर शाहले बताउनुभयो ।
दाङ: दाङमा १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दाङको तुलसीपुर उपमहानगरपालिका–१७ बस्ने ४२ वर्षीय बीरबहादुर विक रहेका छन् । उनलाई उजुरीको आधारमा इलाका प्रहरी कार्यालय होलेरीबाट खटिएको प्रहरीले सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । उक्त घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
काठमाडौं: मंगलबार सुन र चाँदीको मूल्य बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा ४००, तेजावी सनुको मूल्य तोलामा ३५० र चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले बढेको छ । आज छापावाल सुनको मूल्य एक लाख १० हजार रुपैयाँ प्रतितोलाबाट बढेर एक लाख १० हजार ४०० रुपैयाँ कायम भएको छ । तेजावी सुनको मूल्य एक लाख ९ हजार ५०० रुपैयाँबाट बढेर एक लाख ९ हजार ८५० रुपैयाँ पुगेको छ । चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा तोलामा पाँच रुपैयाँले बढेर एक हजार ३७५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
पोखरा: गण्डकी प्रदेश सभाका सदस्य प्रकाश बरालले स्नातक तहको प्रश्नपत्र नेपालीमा बनाउन माग गरेका छन् । प्रदेश सभाको मंगलबार बसेको बैठकको शून्यमा समयमा बोल्दै सांसद बरालले स्नातक तहको परिक्षामा प्रश्नपत्र अङ्गेजी र उत्तर नेपालीमा दिने व्यवस्था छ अब प्रश्नपत्र पनि नेपालीमा हुने व्यवस्था गर्न माग गरेका हुन् । ‘स्नातक तहको परिक्षामा प्रश्नपत्र अङ्ग्रेजीमा, उत्तर नेपालीमा दिन पाइने व्यवस्था छ’, सांसद बरालले भने, ‘यो प्रश्नपत्र अङ्ग्रेजीमा हुने कुराले विद्यार्थीहरुले आफ्नो ज्ञान प्रस्फुटन गर्न अप्ठेरो भएकाले यो प्रश्नपत्र पनि नेपाली विषयमा बनाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराउनु चाहान्छु ।’ यसअगाडि संघीय संसदमा पनि प्रश्नपत्र नेपालीमा बनाउन सांसदले माग गरेका थिए ।
अर्घाखाँचीको पाणिनी गाउँपालिकामा पहिरोले घर पुरिँदा एकै घरका तीन जना बालबालिकाको ज्यान गएको छ । एक जना घाइते भएका छन् । बिहान ५ बजेतिर खसेको पहिरोले पाणिनी गाउँपालिका १ गोवनपानीका गंगा रास्कोटीको घर पुरिँदा उहाँका तीन जना नातिनातिनाको ज्यान गएको हो । पाणिनी गाउँपालिकाका अध्यक्ष टेकराज न्यौपानेका अनुसार पहिरोमा परेर १० वर्षका धनबहादुर रास्कोटी, १२ वर्षका खुमबहादुर रास्कोटी र ११ वर्षकी मञ्जु रास्कोटीको ज्यान गएको हो । ज्यान गुमाएका बालबालिका दाजुभाइका छोराछोरी भएका उहाँले बताउनुभयो । पहिरोमा पुरिएका अर्का १४ वर्षका बालक सचिन रास्कोटी घाइते भएका छन् । उनको उद्धार गरी उपचारका लागि अस्पताल लगिएको छ । पाणिनी गाउँपालिकाका अध्यक्ष टेकराज न्यौपानेका अनुसार सुतिरहेका बेला उनीहरु पहिरोमा परेका हुन् ।
काठमाडौं: नेपालले एसिसी यू-इस्ट जोन कपको फाइनलमा घरेलु टोली मलेसियालाई २ सय २१ रनले हराउँदै उपाधि जितेको छ । नेपालले तेस्रो पटक उपाधि जितेको हो । जितको लागि २ सय ५३ रनको विशाल विजयी लक्ष्य पछ्याएको मलेसिया १४.४ ओभरमा ३१ रनमा अल आउट भयो । मलेसियाका मोहम्मद अक्रमले १० रन बनाए । अन्य कुनैपनि ब्याटरले नेपाली बलर सामु दोहोरो अंकमा रन बनाउन सकेनन् । नेपालको जितमा कप्तान अभिषेक तिवारीले ६ ओभरमा १ मेडनसहित ७ रन खर्चेर ५ विकेट लिए । सन्तोष यादवले ३ ओभरमा २ मेडनसहित ९ रन खर्चेर ३ विकेट लिए । सागर गैरेले ५ ओभरमा १३ रन खचेर १ विकेट लिए । त्यसअघि बायोमास ओभल मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित ३५ ओभरमा ८विकेट गुमाउँदै २ सय ५२ रन बनाएको थियो । नेपालको जितमा शीर्षक्रमका ब्याटर नरेन भट्ट ८९ बलमा १० चौका र २ छक्कासहित १ सय १२ रनको सानदार अविजित शतकीय इनिङ खेले । उनले ८२ बलमा शतक पूरा गरेका थिए । उनी जारी प्रतियोगितामा शतक हान्ने पहिलो नेपाली खेलाडी बनेका छन् । ओपनर निरज यादव ४९ बलमा ६ चौकासहित ४७ रनमा आउट भएका थिए । निरज मोहम्मद फथुल मुइनको बलमा एलबीडब्लू आउट हुन पुगेका थिए । दोस्रो विकेटका लागि निरज र नरेन भट्टले ५५ बलमा ५५ रनको साझेदारी गरेका थिए । त्यसअघि नेपाललाई ओपनर सुर्यांशु कोइराला र निरज कुमारले पहिलो विकेटका लागि ७.२ ओभरमा ४१ रन बनाउँदै राम्रो सुरुवात दिलाएका थिए । सुर्यांशु तीव्र गतिका बलर एरिन अकिलको बलमा ठूलो सट खेल्ने धुनमा टप एज लागेर हम्जा पांगीबाट समातिन पुगे । सुर्यांशुले २३ बलमा २ चौकासहित १८ रन बनाए । सन्तोष यादव २९, अशोक धामी ११ र दिपु कुमार ५ रनमा आउट भए । मलेसियाका मोहम्मद अक्रमले ७ ओभरमा ४५ रन खर्चेर ३ विकेट लिए । समूह चरणमा नेपालले थाईल्यान्डलाई २ सय २५ र मलेसियालाई ८४ रनले हराउँदै सेमिफाइनलमा स्थान बनाएको थियो । सेमिफाइनल खेलमा नेपालले सिंगापुरलाई ९७ रनले हराउँदै फाइनल खेलेको थियो । यसअघि नेपालले २०१७ र २०१९ मा पनि यू१६ को उपाधि जितेको थियो । यसअघिको दुई संस्करण भने यू१६ रिजनको नामले थिए ।
दार्चुला: गएरातिको वर्षाका कारण पहिरो खसेपछि दार्चुलाको महाकाली लोकमार्ग अन्तर्गत खलङ्गा–गोकुलेश्वर सडक खण्ड अवरुद्ध भएको छ । सडक माथिबाट पहिरो खसेपछि मङ्गलवार आज बिहानदेखि यो सडकको पनेबाजदेखि ऐरिछानासम्मको खण्ड अवरुद्ध भएको हो । हिलोसहित ढुङ्गा खसेपछि सडक अवरुद्ध हुँदा गाडी सञ्चालन हुन नसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार यो सडक खण्डको विभिन्न ठाउँमा पहिरो थुप्रिएको छ । सडक अवरुद्ध भएपछि जिल्लाबाट बाहिरिने र भित्रिने गाडी बाटोमै रोकिएका छन् । पटक–पटक पहिरोका कारण अवरुद्ध हुने यो लोकमार्गमा छोटो दूरीका गाडी समेत सञ्चालन हुन नसक्दा यात्रुले सास्ती भोग्नु परेको छ । बिहानैदेखि डिभिजन सडक बैतडी पाटनले पहिरो हटाउने प्रयास गरिरहेको भए पनि अवरुद्ध लोकमार्ग खुलाउन अझै केही समय लाग्ने प्रहरीले जनाएको छ ।
काठमाडौं: एसिसी यू–१६ इस्ट जोन कपको फाइनल खेलमा शीर्षक्रमका ब्याटर नरेन भट्टको सानदार शतकमा घरेलु टोली मलेसियालाई २ सय ५३ रनको विशाल लक्ष्य दिएको छ । बायोमास ओभल मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित ३५ ओभरमा ८विकेट गुमाउँदै २ सय ५२ रन बनायो । नेपालका नरेन भट्ट ८९ बलमा १० चौका र २ छक्कासहित १ सय १२ रनको सानदार अविजित शतकीय इनिङ खेले । उनले ८२ बलमा शतक पूरा गरेका थिए । उनी जारी प्रतियोगितामा शतक हान्ने पहिलो नेपाली खेलाडी बनेका छन् । नेपालका ओपनर निरज यादव ४९ बलमा ६ चौकासहित ४७ रनमा आउट भए । निरज मोहम्मद फथुल मुइनको बलमा एलबीडब्लू आउट भएका हुन् । दोस्रो विकेटका लागि निरज र नरेन भट्टले ५५ बलमा ५५ रनको साझेदारी गरेका थिए । नेपाललाई ओपनर सुर्यांशु कोइराला र निरज कुमारले पहिलो विकेटका लागि ७.२ ओभरमा ४१ रन बनाउँदै राम्रो सुरुवात दिलाएका थिए । सुर्यांशु तीव्र गतिका बलर एरिन अकिलको बलमा ठूलो सट खेल्ने धुनमा टप एज लागेर हम्जा पांगीबाट समातिन पुगे । सुर्यांशुले २३ बलमा २ चौकासहित १८ रन बनाए । सन्तोष यादव २९, अशोक धामी ११ र दिपु कुमार ५ रनमा आउट भए । मलेसियाका मोहम्मद अक्रमले ७ ओभरमा ४५ रन खर्चेर ३ विकेट लिए ।

